भाषाको लैंगिक राजनीति- विचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भाषाको लैंगिक राजनीति

सरिता तिवारी

यस पटक निर्वाचित एक संघीय सांसदले महिला सांसद/नेतालाई ‘चेली’ भनिएकामा प्रश्न गर्दै संसद्को पोडियमबाट सोधिन्, ‘महिलालाई चेली भन्ने हो भने के हामी पुरुषलाई चेला भन्छौं ?’ उनले आत्मीयताकै भावमा पनि ‘चेली’ शब्द ग्राह्य छैन भन्ने सन्दर्भमा थपिन्, ‘यदि आत्मीय ठानेर हो भने तेत्तीस प्रतिशत किन, संसद्मा पचासै प्रतिशत महिला ल्याऔं न त !’

यो प्रसंगले गर्दा केही दिन भाषाको लैंगिक तटस्थताबारे उठ्ने आवाजको ‘भोल्युम’ बढेको महसुस भयो । तर सार्वजनिक छलफलका प्रकरणहरूमा तीव्र गतिले देखिने विषयान्तरका घानहरूले यो विषयको छलफल पनि छिटै ओझेलमा पारिदिए ।

उसै पनि सामूहिक संवेदना, प्राथमिकता र स्मृतिका रिल अनवरत कुदिरहने वर्तमान समयमा कुन विषयलाई पक्रने र कुनलाई छोड्ने भन्ने कुरा कुन मुद्दा कसको सरोकारका हुन्, कुन मुद्दामा कोको बोल्ने/को चुप लाग्ने भन्ने आवश्यकता मुताबिक हुन्छ भन्ने हामीलाई थाहै छ । भाषिक प्रचलनमा गाँसिएको लैंगिक उत्पीडनको राजनीति आफैंमा एउटा ज्वलन्त मुद्दा हो भन्ने महसुस नै कति मान्छेले गर्छन् ? ककसका लागि यो बहस र अविलम्ब सुधारको प्राथमिक मुद्दा हो, ककसका लागि अनावश्यक ‘गन्थन’ हो ? लैंगिक विशेषाधिकार र सहुलियतले जन्मसिद्ध नाफामा रहेका पुरुषलाई यस्ता विषयमा सार्वजनिक बहसको खाँचो अपवादमा मात्रै महसुस होला । ‘चलेकै चलन त हो, बोलेर पनि तत्कालै त के पो हुने हो र !’ भन्ठान्ने महिलालाई पनि त यो नबोली नहुने मुद्दा नलाग्न सक्ने भयो ।

त्यसो भए बोल्ने को ? जसलाई यस्ता शब्दले पटकपटक घोच्छन् र जसको ‘सिंगो, सम्मानित मानव’ बन्ने कल्पनामा अतिक्रमण गर्छन्Ù चोट लाग्नेले नै ऐया भन्नुपर्ने भएकाले यस्ता विषयको उठान र सामूहिक प्रतिकार महिलाहरूबाटै हुनुपर्ने हो । र भयो पनि । तर यसरी भयो कि यसमाथि हुने विमर्श महिलाको मात्रै सरोकार हो भनेजस्तो देखियो । त्यसो त यस्ता विषयमा प्रतिकार मात्रै होइन, लैंगिक हसाबले तटस्थ शब्दको प्रचलन गर्ने कि लैंगिक भिन्नता (विभेद होइन भिन्नता) जनिने शब्द, क्रियापद र अवधारणाका भाष्यलाई नै मर्यादित रूपमा संस्थाकरण (इन्स्टिच्युसनलाइज) गर्दै समाज–भाषाबाट समेत तिनलाई स्थापित गर्ने भन्ने व्यापक स्तरको बहस, लेखन र निरूपण गर्न अगाडि आउनुपर्ने स्थिति छ । उदात्त मनोसामाजिक पर्यावरण र न्यायपूर्ण समाज निर्माणको कल्पना गर्ने तपाईं–हाम्रो सरोकारको समवेत मुद्दा नबनी कम्तीमा यस्ता विषयको छलफल गाह्रो छ भन्ने सबैले बुझ्नुपर्छ । किनभने हामी यस्तो समाजमा छौं जहाँ नाबालिग स्त्रीले प्रहरी र अदालतभित्र प्रवेश गरेर बलात्कार मुद्दाको जाहेरी गर्दा उसमाथि आँखाले देख्न र कानले सुन्न असह्य हुने शब्दको नयाँनयाँ आविष्कार हुने क्रम बढ्दो छ । यस्तो ठाउँमा स्त्रीका लागि सहज, सुविधाजनक र मर्यादित भाषाको कल्पना सजिलो छैन ।

भाषा समाजले बनाउँछ । र हामीलाई राम्रोसँग थाहा छ, समाज पुरुषकेन्द्री–पुरुष सहुलियतको मनोविज्ञानबाट परिचालित छ । हजारौं वर्षदेखि समाजका सबै संरचना पितृवादी संस्कृतिका अनुकूलनमा बुनिएका छन् जसले सामाजिक र निजी जीवनको हरेक आयाममा पुरुषलाई सुविधाजनक महत्ता दिँदै आएका छन् अनि महिलालाई पुरुषमा आश्रित र परिधीय सहभागी मात्रै बनाउँदै ल्याएका छन् । माथि उल्लेख गरिएकी सांसदको अभिव्यक्तिले समाजको जिब्रामा बसेको भाषाको यही पुरुषकेन्द्री सुविधाजनक महत्ता र ‘आदत’ विरुद्ध प्रश्न उठाएको हो । तथापि, आदतका सिकार हाम्रा जिब्रा र अहिले मोबाइलका किबोर्ड चलाउने औंला मात्रै भने होइनन्Ù हाम्रो सामूहिक चेत हो, हाम्रो सोच हो । यो सोचको जरो लैंगिक वर्चस्व र ‘प्राधिकार’ को घोर हिंसात्मक मनोविज्ञानमा छ, यही मनोविज्ञान नै ‘सत्य’ हो, वर्षौंदेखि चलिआएकाले ‘परम्परा’ र ‘संस्कृति’ हो भन्ने आधिपत्यकारी हठमा समेत छ । यसले पुरुषलाई पैतृक स्रोतसाधन, सम्पत्ति, विचार, ज्ञान सबैको अंशियार र मूल कर्ता मान्छ अनि महिलालाई पुरुषकै दया–कृपा र संरक्षणमा बाँच्ने, पिता वा दाजुभाइले ‘मन पग्लिएर’ दिएको दान–दक्षिणा, दाइजो–पेवा लिने, खाने अधीनस्थ ‘चेली’ का रूपमा चिन्छ/चिनाउँछ । यसले दया–कृपा पलाउँदा ‘चेली’ ठानेका महिलालाई हिंसा र आक्रोशका बेला के ठान्छ, यहाँ भनिरहनुपरेन ।

भाषा महिलालाई अधीनस्थताको राजनीतिमा पददलित गर्ने पितृसत्ताको नरम कूटनीतिकै एउटा आयाम हो । यसमा दुईमत छैन । समाजले दैनिक रूपमा बोलिरहेका शब्दको जाँच गर्दा यो स्वतः बुझिन्छ । उदाहरण, महिलालाई सम्बोधन गर्दा पुरुषवाचक आधार शब्दमा प्रयोग गरिने ‘नी’ वा ‘ई’ जस्ता लैंगिक संकेतक प्रत्ययमार्फत हेरौं । महिलाको निजत्व र अस्तित्वको आधार पुरुष नै हो भन्ने कुरालाई समाजको भाषिक संस्कार वा प्रचलित बोलीले कसरी व्यक्त गर्छ, यिनै कुराबाट देखिन्छ । हुँदाहुँदै महिला आफैंले लेखपढ गरेर आर्जित ज्ञानका कारण अपनाउने पेसा वा पहिचानसूचक शब्दमा समेत ‘नी’ को पुच्छर जोडिदिने बोलीचालीका आम शब्द नै प्रशस्त छन् । ‘प्रोफेसनल’ जनिने नामवाची शब्द डाक्टर, हाकिम, मास्टर, वकिल लगायतमा ती पेसाका महिलालाई ‘नी’ जोडेर बोल्दा भाषाको पुरुषकेन्द्री संरचनात्मक मनोविज्ञानले हाम्रो भाषामा लैंगिक तटस्थताको ‘बदहाली’ कस्तो छ भन्ने देखाउँछ ।

लेखिका, परिचारिका, नायिका, गायिकाजस्ता ‘इता’ वा ‘इका’ प्रत्यय लाग्ने संस्कृत व्याकरणका शब्दलाई देखाएर पूर्वीय सभ्यताको महिमागान गर्न त सकिएला तर यी पनि भाषाको कुलीन र ‘संस्कृतनिष्ठ’ विचलन मात्रै हुन्, आम प्रचलनका शब्द होइनन् । उपलब्ध पुरुष–सहुलियतका स्थापित शब्दमा ‘नी’ लगाउने कुरामा त सामूहिक मनोविज्ञान अघोषित रूपले सहमत हुँदै आएको छ । कतिसम्म भने, पुरुषवाचक ‘हिरो’ शब्दलाई स्त्रीवाचक बनाउँदा ‘हिरोनी’ भनिदिने हाम्रो मनोविज्ञानले सामान्यतया महिलावाचक ‘नर्स’ शब्दलाई समेत ‘नर्सनी’ बनाइदिन्छ । केही वर्षअघि कवितावाचन गर्न जाँदा धादिङको जबाङ गाउँका बासिन्दाले ‘कवि र कविनीज्यू’ भनेको स्मरण ताजै छ । सभ्य भनिएको भाषाका सम्बोधन के हुन् भन्ने थाहा नपाएका अबोध चेपाङ दाजुले बोलेको कुरा सुनेर त्यति बेला त हामीले हाँस्दै मुखामुख गर्‍यौं तर स्त्री अस्तित्व र पहिचानको प्रश्नमा आधार (मूल) र प्रत्यय (गाँसिने तत्त्व) ले खेल्ने भूमिका कस्तो रहेछ, पुरुष ‘मूल’ र महिला त्यसको ‘अंश’ का रूपमा ‘नी’ मात्रै ठानिइँदा कस्तो सुनिँदो रहेछ भन्ने कुराले निकै दिनसम्म गहिरो गरी रन्थनाइरह्यो । यस्तै खालको रन्थनाइ तपाईं–हामीमध्ये धेरैले अनुभूति गरेका हौंला ।

यी प्रसंगबाहेक, अत्यन्तै ‘सभ्य र भद्र’ सुनिने कतिपय शब्द विशिष्ट रूपले स्त्रीसूचक भएरै पनि लैंगिक केन्द्रवादी मान्यताबाहिर कतै परिधिमा घुमिरहेका दोस्रो दर्जाका लाग्छन् जसले पितृसत्ताद्वारा निर्मित अधिकारयुक्त र केन्द्रीकृत भाषालाई नै प्रवर्द्धन गर्छ । दृष्टान्तका रूपमा ‘नेतृ’ वा ‘कवयित्री’ शब्दलाई लिऔं । यिनले ‘नेता’ वा ‘कवि’ शब्दलाई मूल मानेर तिनले ध्वनित गर्ने अर्थको केन्द्रबाहिर घुमिरहेको दोयम अस्तित्वको व्यक्तिका रूपमा नेतृ वा कवयित्री भनिएका व्यक्तिविशेषलाई चिनाउँछन् । बीसौं वर्षदेखि शब्दहरूभित्र घुसेको यो राजनीतिको विरोध गर्ने र लैंगिक हिसाबले तटस्थ शब्दको प्रयोग गर्न बल गर्ने एक पात्र आफू स्वयंसमेत भएकाले शब्दमार्फत भाषामा खेलिएको राजनीतिमा कठोर इन्कारको राजनीति कति अर्थपूर्ण छ, यसको अनुभव मैले राम्रोसँग गरेकी छु । पछिल्ला वर्षहरूमा आएर सर्जकलाई लिंगभेदकारी शब्दले सम्बोधन गर्नु हुँदैन भन्ने चेत कम्तीमा नेपाली साहित्यमा स्थापित हुँदै छ । सुरुसुरुमा कविगोष्ठी र लेखकहरूका अनौपचारिक जमघटमा यस्तो असहमति र विरोधको आवाज उठाउँदा ‘फलानी त महिला भएरै पनि यतिसम्म अभिमानी छे’ भनेर ईख साध्ने अग्रज र समकालीन पुरुषहरूसँग गरेको संघर्षको प्रतिफल आज साझा रूपमा पाइएको छ । कुनै विषयमा स्पष्ट र निर्णायक मत राख्ने हक पुरुषलाई मात्रै छ, महिला त स्थापित र प्रचलित मान्यताको चाबीभित्र फिट हुने मात्रै हो भन्ने सोचविरुद्ध लड्दै आजसम्म आइपुग्दा महिला–पुरुष दुवैलाई लेखक, कवि, कलाकार आदि शब्दले पुकारिने दिन देखियो । तर राजनीतिक वृत्तमा भने अहिले पनि नेतृ (अझ हामी कतिपय त ‘महिला नेतृ’ समेत भन्न पछि पर्दैनौं) शब्द व्यापक प्रचलित छ । यो शब्दको पनि अविलम्ब प्रतिस्थापन जरुरी छ । नेता र नेतृ शब्दले ध्वनित गर्ने व्याकरणको अर्थभेद सम्मानजनक नै होला तर समाजले बुझ्ने अर्थ अब्बल र दोयम कोटिको हुन्छ भने ‘नेता’ शब्दलाई लिंगनिरपेक्ष रूपमा स्वीकार र प्रचलन गर्नु वान्छनीय छ ।

पुरुषलाई सिंगो र स्वायत्त जनाउने, मूल जनाउने र महिलालाई मूल (आधार) माथि निर्भर, त्यसमा जोडिएर मात्रै पहिचान खुल्ने आश्रितका रूपमा जनाउने शब्दको परम्परा संस्कृत मूलस्रोत भएका दक्षिण एसियाली भाषाहरूमा मात्रै छैन, अंग्रेजी लगायत विश्वका कतिपय प्रभावशाली भाषामा पनि छ । बरु नेपालका केही आदिवासी, जनजाति समुदायका भाषामा लिंगभेद छैन । तिनका क्रियापदमा समेत लिंगभेद सुनिँदैन । हुन सक्छ त्यसैकारण, उनीहरूले आपसमा मातृभाषामै बोल्न सहज मानेको देखिन्छ । भाषामा संस्कृतिको सोझो आवर्तन हुने हुँदा एउटा कुरा के मान्नुपर्छ भने, लैंगिक हिसाबले विभेदकारी र अवहेलनाकारी शब्द नहुनु भनेको तत्तत् भाषाका जाति–समुदायमा महिलाको स्थिति पुरुषबराबर अधिकारसम्पन्न हुनु नै हो । त्यसैले हामीले बोलिरहेको, लेखिरहेको यो भाषा आफैंमा विभेदकारी राजनीतिको माध्यम बनिरहेको छ भन्ने बिर्सन मिल्दैन । यसमा सुधार गर्न भाषिक समताको राजनीति चाहिन्छ ।

भाषामा पुरुष–वर्चस्वकारी शब्द र परिभाषाहरू रहनुलाई स्त्री–अध्ययनले फेलोसेन्ट्रिज्म (पुरुषकेन्द्रवाद) भन्छ । यसको विरोध गर्दै साहित्यमा नारीवादीहरूले गाइनो–क्रिटिसिज्म (स्त्री–समालोचना) को बहस थालेकै पचास वर्ष भइसकेको छ । नेपालमा पनि भाषाको एक–केन्द्र भत्काउने छलफलहरू नचलेका होइनन् । पुस्तान्तरसम्म आइपुग्दा लैंगिक भेद नझल्कने युनिसेक्सुअल (उभयलिंगी) भाषाको प्रयोग बढ्न थालेको पनि छ तर यो स्थापित हुन सकेको छैन । त्यति सजिलै र छिटै स्थापित भैहाल्ने पनि देखिन्न । किनभने भाषा सयौं–हजारौं वर्षदेखि बसेको विस्तृत र बृहत् स्तरको आदत हो । यो आदत छुट्न अर्थ–राजनीतिक आयामले बुनिएको समाज–मनोविज्ञान भुइँदेखि टुप्पासम्मै फेर्नुपर्छ जसले भाषिक व्यवस्थाको सन्दुक खोल्ने चाबीको काम गर्छ । यसो गर्न समाजका साना–ठूला एकाइपिच्छेका संगठन, संस्था र अवयवहरूभित्र ठूलो संख्यामा महिलाहरूको निर्णायक उपस्थिति र हस्तक्षेप हुनुपर्छ । त्यसलाई खुला हृदयले स्वीकार र आत्मसात् गर्ने पुरुषहरूको संख्या पनि उत्तिकै हुनुपर्छ ।

हुन त सहनशील, भद्र र मौन ‘चेली’ बनिदिएरै जो मिलेको पारिवारिक स्नेह र सद्भाव बटुल्दा खुसी हुनुपर्छÙ बाआमा र दाइभाइको सम्पत्तिमाथि ‘आँखा लगाएर’ पाउने अंशमा होइन दुई छाक मीठोमसिनो दर, दान, उपहारमा चित्त बुझाउनुपर्छÙ अन्यथा समाज भाँडिन्छ, परिवारहरूमा विग्रह आउँछ र परिणामतः सांस्कृतिक सन्तुलन नै भताभुंग हुन्छ भन्ने पनि सुनिन्छ, तर आखिरमा यी सबै तर्क महिलाको पूर्ण मानवीय अस्तित्व अस्वीकार गर्ने अतीतमुखी बहानाबाजी मात्रै हुन् । सुन्दा ‘चेलीहरूलाई ठाउँ दिनुपर्छ, अगाडि बढाउनुपर्छ’ भनेको कति उदार र स्नेही प्रतीत हुन्छ, तर राजनीतिमा होस् या आर्थिक–सामाजिक क्षेत्रमा, पुरुष ‘मूली’ हरूबाट बाँडफाँट गरिएका ठाउँमै थान्को लागेर प्राप्त सुविधा लिएरै आजको परिपाटीले महिला सहभागिता र समावेशी चरित्र सिद्ध गरेको छ । यो ‘ग्रान्टेड’ स्थान ब्राह्मणवादी पितृसत्ताका चरित्र र परम्पराकै उत्तरदानसिवाय केही होइन । अतीतमा विवाहका कानुन, उत्तराधिकार र सम्पत्ति सम्बन्धी कानुन, धर्म–संस्कार र संस्कृतिभित्र बुनिएका नियमभित्र महिला जुन स्थितिमा बाँधिएका थिए, आज कागजमा जेजे लेखिए पनि दलीय संरचना र राज्य चलाउनेहरूको मनोविज्ञानमा तिनै कानुन र नियम छन् ।

‘आँगनीको छेउ पनि धान सुकाउन चाहिन्छ/जाऊ चेली आफ्नै घर अंश पाइन्छ’ भनेर सबै ठाउँमा पेल्दै/पेलिँदै आएको संस्कृतिमा राजनीतिकर्मी होऊन् या समाज जीवनका अन्य स्पेसहरूमा स्थान बनाउन हिँडेका जोसुकै महिला, एउटा पूर्ण मान्छे बनेर आफ्नै साथीहरू, दाजु–भाइ, कमरेड, सहकर्मीहरूसँग कठोर प्रतिवाद, प्रतिकार र संघर्ष नगरी आफूले ‘डिजर्भ’ गर्ने ठाउँमा पुग्न र कार्यक्षमता प्रदर्शन गर्न सम्भव छैन । दल या सरकार चलाउने ‘मुली’ हरूले भने भनेकै मान्दा पनि स्पेसहरू सुरक्षित गर्न सकिने त देखियो तर त्यसो गर्दा ‘पठाउने’ हरूकै रबरस्ट्याम्प र पपेट बनिन्छ भन्ने स्पष्ट छ । ‘चेली’ र ’नेतृ’ जस्ता शब्दको उन्मूलन होस् भन्ना खातिर महिलाहरूले भाषिक राजनीतिको जरो चिन्ने आँट गर्नुपर्छ । समाजको कानुनी, आर्थिक र मनोसांस्कृतिक संरचनाको जरो नचिनी शब्द र भाष्यहरूको राजनीति चिर्न सम्भव छैन । आज प्रश्नको मोहरी बोकेर राजनीतिमा होमिएका युवाहरूले यो तथ्य राम्ररी मनन् गरून् ।

प्रकाशित : माघ १७, २०७९ ०८:०४
प्रतिक्रिया
पठाउनुहोस्

त्यो सडक अनि तीन घर

मल्ल के. सुन्दर

काठमाडौं सहरको भित्री भाग इन्द्रचोकबाट भेडासिं भई उत्तरतिर लाग्ने एउटा सीधा बाटो छ, जुन माथितिर बांगेमुढा हुँदै ठँहिटि पुग्छ । त्यसो त उपत्यकाको नगरीय संरचना अन्तर्गत यस्ता बाटा, चोक, दोबाटा, बहाः, बहिहरू थुप्रै भेटिन्छन् ।

भेडासिंदेखि बांगेमुढासम्मको त्यो बाटोको लम्बाइ पुग–नपुग तीन–चार सय मिटर होला, तर त्यही बाटोछेउको एउटा तीनतले घरको पहिलो तलाको झ्यालबाहिर अलि ठूलो आकारको साइनबोर्ड टाँगिएको हुन्थ्यो— आर्य समाज । त्यतिखेर त्यस खाले साइनबोर्ड नेपालमा बन्दैनथ्यो र त्यो कलकत्तादेखि ल्याइएको थियो रे !

भारतमा इस्ट इन्डिया कम्पनी सरकारविरुद्ध सुरु गरिएको जनजागरण अभियानको अगुवाइ गर्दै आएको एउटा मजबुत मोर्चा थियो— आर्य समाज । सन् १८२५ मा बम्बईमा यसको गठन गरिएको थियो । नेतृत्वमा थिए दयानन्द सरस्वती । तत्कालीन भारतीय समाजलाई परम्परा, कर्मकाण्ड, पूजा–विधिका नाउँमा नराम्रोसंग जकडिएको रूढता, सामन्ती संस्कार संस्कृतिबाट उन्मुक्ति दिलाउन आफ्नै शैलीमा हौसिएको अग्रणी संस्था थियो— आर्य समाज । त्यही अभियानबाट एक नेपाली बौद्धिक व्यक्तित्व माधवराज जोशी प्रभावित थिए र उनैद्वारा आफ्नै घरमा खोलिएको थियो आर्य समाजको नेपाल शाखा ।

‘एक ब्रह्म सत्य’ अनि चार वेद मात्र धर्मग्रन्थ हुन् भन्ने आर्य समाजी मूल मान्यता अनुसार माधवराज पनि महाभारत, रामायण आदि ग्रन्थलाई केवल मिथक र आख्यान भन्ने गर्थे । मूर्तिपूजामा आस्था नराख्ने उनको तर्क थियो— पशुपतिनाथको मूर्ति केवल पत्थर हो... । चन्द्रशमशेरजस्ता क्रूर, दमनकारी शासकलाई तत्कालीन समाजमा प्रचलित परम्परा र चलिआएको आस्था–विश्वासभन्दा फरक यस्तो कुरा अलिकति पनि पचेन । उनले १९६२ साउन १२ का दिन दरबारको बैठककोठामा राजा पृथ्वीवीरविक्रमकै सामुन्ने बडागुरुज्यूलाई लगाएर आर्य समाजी माधवराजलाई रक्ताम्मे नहुन्जेल लौरोले चुट्न लगाए र अन्ततः कैद सजाय ठेकिदिए ।

माधवराज अनेक जुक्ति लगाएर थुनाबाटै फरार भई रातारात वीरगन्ज पुगे । त्यहाँबाट निर्वासनका लागि बनारस पुगे । एक छोरी र चार छोरालाई उतै पढाए, हुर्काए । शुक्रराज जोशी उनैका माइला छोरा थिए, जसले देहरादूनको अच्युतानन्द गुरुकुलबाट दीक्षित भइसकेपछि आफ्नो नाउँको पुछारमा ‘शास्त्री’ झुन्ड्याए । महात्मा गान्धी अनि नेताजी सुभाषचन्द्र बोससँग साक्षात्कार गरेका शुक्रराज भारतीय भूमिमा त्यतिखेर चर्कंदै गरेको स्वतन्त्रता आन्दोलनबाट निकै प्रभावित थिए । काठमाडौं फर्केपछि उनी आर्य समाजको साइनबोर्ड झुन्ड्याइएको बुबा माधवराजको त्यही घरमा बसे । माधवराजले बीजारोपण गरेको सामाजिक जागरण तथा अग्रगामी चेतनाको उक्त थलोले शुक्रराजलाई पनि परिवर्तनको संवाहक बन्न प्रेरित गर्‍यो । राणाकालको गुम्सिँदो वातावरणबाट आफ्ना स्वजनहरूलाई कसरी उन्मुक्ति दिन सकिएला भन्ने चेष्टामा लाग्न अन्ततः उनी जुरमुराए ।

संयोगको कुरा, शुक्रराजले भेट्टाए वीरगन्जका राजाराम कलवार, काठमाडौंका केदारमान व्यथित अनि गंगालाल श्रेष्ठ लगायतलाई । अनि संगठित पाइला चाल्ने दृढतासहित १९९४ सालमा शुक्रराजको अगुवाइमा मूर्तता पायो नागरिक अधिकार समितिले । त्यही समितिको संयोजनमा १९९५ मंसिर १३ का दिन काठमाडौंको इन्द्रचोकमा भिन्न खाले जनभेला भयो । जनभेलामा उभिएर शुक्रराजले गीताका उक्तिहरू उद्धृत गर्दै निर्भयका साथ राणा शासकहरूविरुद्ध बुलन्द खबरदारी गरे । उनीसँगै उभिएका थिए युवा विद्यार्थी गंगालाल । उनी अझ जोशिला र क्रान्तिकारी देखिए ।

त्यही जनभेला लगायतको आरोपमा दुवै जना पक्राउ परे । १९९७ माघ ७ गते बसेको जुद्धशमशेरको इजलासले उनीहरूमाथि राजद्रोहको आरोप लगायो, सर्वस्वहरण गर्‍यो । ज्यान सजाय दिइयो । दुवैले शहादत प्राप्त गरे ।

०००

आर्य समाजको कार्यालय रहेकै सडकको पल्लो किनारमा अर्को घर थियो । रैथानेहरूमाझ घरानिया कहलिएको, कुनै समय मल्लराजाहरूका दरबारमा काजी भइसकेको परिवार बस्थ्यो त्यहाँ । माझमा आफ्नै खुला चोक भएको लामो पक्की घर सामान्य घर मात्र थिएन । त्यहाँ धर्मभक्त माथेमा पुग्थे अनि गंगालाल पनि । सिद्धिचरण श्रेष्ठ, पूर्णबहादुर एमए, खड्गमान मल्ल, गोरक्षबहादुर न्हूछेँ प्रधान, टंकविलास वज्राचार्य, चन्द्रमान सिंह मास्के आदि त्यस घरको चोकमा पुग्ने युवाहरू थिए । टंकप्रसाद आचार्यदेखि रामहरि शर्मा र चूडाप्रसादसम्म पुग्ने गर्थे त्यहाँ । त्यस जमातको दायित्व थियो— भरखरका नानीहरूलाई कखरा पढाउनु, ज्ञानगुनका कुरा सिकाउनु । लामालामा सुकुलहरूमा नानीहरू लहरै बसेका हुन्थे । पढ्नका लागि पलेंटी कसेर बसेका नानीहरूका लाइनमा देखिने अनुहार थिए— पुष्पलाल श्रेष्ठ, चित्तरञ्जन नेपाली, जीवनलाल सत्याल, प्रभुनरसिंह राणा, ईश्वरीलाल श्रेष्ठ आदि । महावीर इन्स्टिच्युट नाममा एउटा पाठशाला शिक्षाका माध्यमबाट समाजमा जागरण ल्याउन सकिएला कि भन्ने अभीष्टका साथ आरम्भ गरिएको थियो, त्यस घरको चोकमा । शिवरात्रिको शुभमुहूर्त छानेर विक्रम संवत् १९९३ मा एउटा विशेष कार्यक्रममाझ सञ्चालनमा ल्याइएको त्यस इन्स्टिच्युटको सिकाइ र व्यवस्थापन बेग्लै थियो । प्रत्येक छ महिनामा कक्षा बढोत्तरी गरिने उक्त पाठशालामा विद्यार्थीहरूलाई शारीरिक व्यायाम पनि गराइन्थ्यो अनि शुक्रराजद्वारा तयार गरिएको पाठ्यपुस्तक पढाइन्थ्यो । उनैद्वारा रचित वन्दनापछि पढाइ सुरु गरिन्थ्यो ।

ती सब थोकका मूल योजनाकार थिए— त्यसै घरका सुपुत्र चिनियालाल सिंह । कलकत्तामा भइरहेको अंग्रेजविरोधी गतिविधि उनका लागि प्रेरक प्रसंग थियो । भारतबाट नेपाल फर्केलगत्तै उनले आफ्ना दौंतरीहरूसँग रायसल्लाह गरे । सबैले हौस्याएपछि महावीर इन्स्टिच्युट चलाउने आँट गरे । काठमाडौंमा सञ्चालनमा आएका सार्वजनिक पाठशालाहरूमध्ये त्यो पहिलो थियो ।

तर सशंकित राणा शासकहरूका लागि त्यस खाले सक्रियता र गतिविधि स्वीकार्य थिएन । त्यसमा पनि सुराकीहरूले निरन्तर उस्तै खाले गोप्य सूचनाहरू पुर्‍याइरहेकै हुन्थे । शासकहरूका नजरमा त्यस्ता जागरण, चेतना र शिक्षा प्रसारका कुरा वर्जित थिए । १९९४ कातिक २ गते आठपहरियाहरू त्यहाँ पुगे । चिनियालाल पक्राउमा परे । इन्स्टिच्युटमा पठनपाठन रोकियो । जनतामाझ शिक्षाका माध्यमबाट जागरण ल्याउने चेष्टा गरेको अपराधमा चिनियालालमाथि राजकाज मुद्दा लगाइयो । सर्वस्व खोसियो ।

अन्ततः बन्दी अवस्थामा मधुमेह ग्रस्त भई २००१ असार २६ का दिन चिनियालालले शहादत प्राप्त गरे ।

०००

महावीर इन्स्टिच्युटको सामुन्ने सडकपारि मास्के परिवारहरूकै घरआँगन । मास्केहरू मात्र बसोबास गर्ने त्यस आँगनको पहिचान नै मास्केचोक रह्यो । त्यही चोकको पूर्व, सडकतिर मोहडा गरेको पुरानो शैलीको एउटा घर थियो । हातमा सदैव सिसाकलम बोकिहिँड्ने एक युवा मौका पाउनासाथ कुनै वस्तु, जनावर वा चराचुरुंगीको आकृति कोर्ने गर्थे । विलक्षण प्रवृत्तिका ती युवालाई आफ्ना पुर्खाले जस्तै शासकहरूको खातिरदारी गर्दै नोकरी गर्ने वा काजी भनाउने सोख थिएन । चित्रकारिता उनको एक मात्र रोजाइ थियो । तर अभिभावकहरूको बुझाइमा चित्रकारिता निम्नस्तरीय पेसा थियो, तत्कालीन समाजले त्यस्तालाई इज्जत दिँदैनथ्यो । परिवारजनको लाख निषेधका बावजुद चित्रकला विधामा औपचारिक शिक्षाका उनी बिदेसिन सफल भए । कलकत्तामा पाँच वर्षसम्म बसेर उनी आधुनिक शैली र तैल चित्र कोर्ने कलामा पारंगत बने । उनी थिए— नेपालमा पाश्चात्य शैलीका चित्रकला र तैल रंगको पोट्रेट कोर्ने पहिलो कलाकार चन्द्रमानसिंह मास्के ।

स्वदेश फर्किंदा चन्द्रमान उताको शैक्षिक योग्यता र शिल्प मात्र बोकेर आएनन्, बंगाली समाजमा जागृत स्वाधीनताको तीव्र आकांक्षाबाट उत्प्रेरणासमेत सँगालेर आए । चन्द्रमानले आफू र सडकपारिको घरका बालसखा चिनियाँलाल अनि उनीभित्रको परिवर्तनको चाहना र चेतनाबीच सामञ्जस्य रहेको पाए । ती दुई छिमेकी युवा विचार र भावनाको आदानप्रदानमा मात्र सीमित रहेनन् । अन्ततः आफ्नै घरभित्र चन्द्रमानले एउटा बैठकको चाँजोपाँजो मिलाए, बैठकको अध्यक्षता आफैंले गरे । निर्णय थियो— महावीर इन्स्टिच्युटको स्थापना गरी मुलुकमा शिक्षाका माध्यमबाट चेतना अभिवृद्धि गर्ने ।

राणा शासकको नजरमा चन्द्रमानसिंह मास्के पनि राजसिंहासन ताक्ने दोषी करार भए । उनी सर्वस्वहरणसहित अठार वर्षको कारावासको भागी बने ।

जुन घरमा महावीर इन्स्टिच्युट सञ्चालित भएको थियो, त्यसमा राणा शासकहरूले १९९४ सालमै ताला लगाइसकेको थियो, तर रमाइलो कुरो, चिनियालालका दाजु फत्तेबहादुरसिंह त्यसै घरको अर्कै कुनामा जागरण तथा चेतना जगाउने बेग्लै उपायको तयारीमा लागे । आफैंले सम्पादन गरेर मातृभाषामा एउटा संग्रह प्रकाशनमा ल्याए । मूलतः कविता संकलन थियो त्यो । श्रीनिवास मल्लदेखि महाकवि सिद्धिदाससम्मका रचनाहरू थिए, कतिपय बुद्ध धर्म र नेपालभाषा पत्रिकामा प्रकाशित भइसकेका कविताहरूलाई पुनर्प्रकाशन गरिएको थियो । ‘नेपाली विहार’ त्यस संकलनको नाम राखियो । उक्त पुस्तकको प्रकाशनभन्दा पनि त्यसभित्र फत्तेबहादुरद्वारा लेखिएको भूमिका थियो । यातना र अन्यायमा पनि प्रतिक्रियाविहीन बनेका, कुम्भकर्ण जस्ता जनसमुदाय तथा अविवेकि राणा शासकहरूतर्फ लक्षित कटु वाक्यहरूको लामो भूमिका समसामयिक परिवेशमा बेग्लै अर्थ राख्ने लिखत ठहरियो । राणा शासकलाई पाच्य भएन । त्यसमा पनि सोही संकलनभित्र समावेश गरिएको सिद्धिचरणले मातृभाषामा लेखेको ‘वर्षा’ शीर्षक कविता झनै आपत्तिजनक ठानियो । त्यस कविताको ‘क्रान्ति विना थन दइ मखु सुख शान्ति...’ भन्ने पंक्ति त अझ बढी संवेदनशील थियो । तसर्थ उक्त संकलनका सम्पादक फत्तेबहादुर सिंह दण्डित बने, जन्मकैद अनि सर्वस्वहरणको सजाय पाए । सिद्धिचरण पनि सोहीसरहको सजायको भागीदार बने । २००७ सालमा राणा शासन ढलेपछि ती दुवैले आममाफी पाई जेलमुक्त भए ।

राणा शासनविरुद्ध प्रतिरोधको झिल्को सल्काइएको काठमाडौंको त्यो एउटा परम्परागत बस्तीको त्यस मूल बाटोलाई स्थानीय बासिन्दाहरू खिँउलँ अर्थात् अँध्यारो बाटाको नाउँले चिन्छन् । तर त्यही अँध्यारो बाटो यथार्थमा चेतनाका प्रकाशपुञ्जहरू उदाउने थलो पो ठहरियो !

प्रकाशित : माघ १७, २०७९ ०८:०४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×