कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

गान्धीजीसँग मेरो तीन पटकको भेट

गान्धीजीको निधन भो । कसैले भने, ‘राष्ट्रपिताको मृत्यु भो’; कसैले ‘विश्वको नै प्रकाशस्तम्भ ढल्यो’ पनि भने । अंग्रेजहरूले भने, ‘हामीले आफ्नो जातिको सबभन्दा ठूलो मित्र गँवायौं’; अमेरिकीहरूले यसमा अर्को विश्वव्यापी युद्धको खतरा देखे । जिन्नाले भने, ‘हिन्दूहरूका ठूला नेता मरे’; मुस्लिम जनताले कराई भन्यो, ‘हाम्रा सबभन्दा ठूला त्राता खोसिए ।’ हामी नेपालीले के भन्ने ? गान्धीजीको मृत्युले भरखर पलाउन लागेको नेपाली जनआन्दोलनको कत्रो ठूलो क्षति भो, त्यो हामीले नेपाली जनतालाई के गरी बताउने ?

गान्धीजीसँग मेरो तीन पटकको भेट

हो, मैले पनि युगका यी सर्वश्रेष्ठ पुरुषसँग तीन पटक भेट गरेको हुँ । होइन, दर्शन पाएको हुँ भनौं ।

तीनै पटकका भेटमा उहाँले जुन धैर्यका साथ मेरा कुरा सुन्नुभो, जस्तो सहानुभूतिका साथ आफ्नो सहायता दिने वचन मलाई दिनुभयो, त्यो सारा विश्वका प्रति मंगल कामना राख्ने उहाँजस्ता महात्माको नै अनुरूप थियो ।

गत वर्षको अगस्त महिना कलकत्तामा ठूलो दंगा चल्दै थियो । साथै महात्मा गान्धीको शान्तिको प्रयोग पनि अनवरत रूपले जारी थियो । दानव र मानवको यस घोर खिचातानीमा यसपालि पनि दानवको नै विजय होला कि जस्तो लाग्थ्यो । गान्धीजी सबभन्दा बेसी दंगा हुने मुस्लिम क्षेत्रमा गै, मुसलमानको नै अतिथि बनी बस्नुहुन्थ्यो । त्यसताक उहाँ बेलियाघाटामा बस्नुभएको थियो । यता श्री विश्वेश्वरप्रसाद कोइरालाजीको स्वास्थ्यको विषयमा दिनदिनै चिन्ताजनक समाचार आउँदै थिए । कैन्सरको बिमारी, झन् नेपालजस्तो चिकित्साको सम्पूर्ण साधन नभएको ठाउँ । बडो चिन्ता थियो, सारा साथीहरूको मुख निन्याउरो भैसकेको थियो । हामीहरू एक प्रकारले निराशजस्तै भैसकेका थियौं । के गर्ने, कसो गर्ने, केही पनि मगजमा चढ्दैनथ्यो । एकाएक विचार भो— गान्धीजी यहीँ हुनुहुन्छ, उहाँले नेपालको आन्दोलनलाई पहिले आफ्नो आशीर्वाद पनि दिनुभएको हो, उहाँको आन्दोलनका प्रति भएको चाखको पत्ता पनि हामीलाई थियो ।


डाक्टर लोहियाकहाँ पुगें । उहाँले गान्धीजीको नाउँमा एउटा पत्र लेखिदिनुभयो । पत्र ली बेलियाघाटा पुगें≤ साथमा श्री गणेशमानजी पनि हुनुहुन्थ्यो । अनेक ठूला–साना ढोकाहरू पार गरी, रक्षक र स्वयंसेवकहरूलाई असफल विश्वास दिलाउने प्रयत्न गर्दै, कि हामी धेरै जरुरी कामले आएका छौं, केही गरी एउटा दलानमा पुग्यौं ।

गान्धीजीका सेक्रेटरीले अरू सब जनाको भेटलाई स्थगित गराई हाम्रो भेटको बन्दोबस्त मिलाइदिए । बाहिरको कोठामा अरू धेरै मानिसहरूका साथ आफ्नो नाउँ सुन्न कान तिखो पारी बस्यौं ।

‘भूपाल से जो आए हैं, वे कृपाकर मिलने जायें’ भन्दै आभा गान्धी बाहिर आइन् । हामी स्तब्ध हृदयले भित्र पस्यौं । उज्ज्वल खद्दरको भुइँबिछौनामा गान्धीजी बस्नुभएको थियो । अलि टाढा एउटा अर्का सज्जन चुपचाप पलेंटी कसी बसिरहेका थिए । पछि थाहा भो— उनी बंगालका तत्कालीन प्रधानमन्त्री श्री सोहराबर्दी थिए ।

कोठामा पस्नासाथ आदरसाथ नमस्कार गरी मैले डाक्टर लोहियाले लेखेको पत्र उहाँलाई दिएँ । गान्धीजीले सोध्नुभो, ‘कृष्णप्रसाद उपाध्याय को हौ ?’ लोहियाजीले पत्रमा मेरो नाउँ लेखी भन्नुभएको थियो कि यिनले नेपालको वर्तमान अवस्थाको विषयमा र श्री विश्वेश्वरप्रसाद कोइरालाको विषयमा विशद रूपमा तपाईंलाई बताउनेछन् ।

मैले टाउको हल्लाई आफ्नो स्वीकृति दिएँ । अनि नेपालको वर्तमान परिस्थिति र श्री कोइरालाजीको बिमारीको सम्बन्धमा कुरा भयो । बढ्दो असाध्य बिमारी, नेपालमा उपयुक्त चिकित्साको असम्भाव्यता र सर्वोपरि नेपालीहरूका लागि कोइरालाजीको आवश्यकताको कुरा मैले उहाँलाई सुनाएँ ।

सारा कुरा सुनिसकेपछि गान्धीजीले भन्नुभो, ‘म यसमा तपाईंको के सहायता गर्न सक्तछु र ? जवाहरलालजीले पो त यसमा तपाईंहरूको सहायता गर्न सक्नुहुनेछ, सरकारी तवरबाट ।’

मैले भनें, ‘जवाहरलालजीको सद्भावना त हाम्रा लागि छँदै छ, तपाईंको पत्रले सम्भव छ नेपालका शासकहरूको मन फेर्न सक्ला कि ? हाम्रो त विश्वास छ, यदि तपाईंले एउटा पत्र पनि लेखिदिनुभो भने शासकहरूमा त्यसको निकै प्रभाव पर्नेछ, साथै जनताको नैतिक साहस पनि बढ्नेछ ।’

गान्धीजीले हामीलाई चकित तुल्याउँदै अलि विचारपूर्ण मुद्रा बनाई सोध्नुभो, ‘कोइरालाजी त पटनैमा बस्दथे ह्वैन ?’ हामी अत्यधिक चकित थियौं, गान्धीजीलाई हाम्रा सम्बन्धमा कति

बढ्ता कुराहरू थाहा रहेछ ।

मैले उत्तर दिएँ, ‘यता १९४५ ई. देखि, जब उहाँ पटना जेलबाट छुट्नुभो, पटनैमा बस्नुहुन्थ्यो । घरखेती जम्मै विराटनगर (नेपाल) मा छ ।’

गान्धीजीले भन्नुभो, ‘त्यसो भए म यो लेखूँ कि कोइरालाजीलाई छाडिदेऊ, उहाँ छुटेपछि पटना आई बस्नुहुनेछ, नेपालभित्र बस्नुहुनेछैन ?’

अब हामीले के भन्ने ? हाम्रो हृदयमा कर्तव्य र प्रेमको भीषण द्वन्द्व मच्न थाल्यो । कोइरालाजीलाई नछुटाउनुको अर्थ हो उहाँको निश्चित मृत्यु≤ छुटाउने प्रयत्न गर्दा गान्धीजी यस्तो भन्नुहुन्छ । हामी दुई जनाले विचारको मौन आदान–प्रदान गर्‍यौं । एक मिनेटमा नै मैले निश्चय गरें । गणेशमानजीको मुखमा हेर्दा उहाँको मुखमा पनि दृढताको साथ उही भाव थियो ।

अन्तमा कर्तव्यको नै विजय भो । मैले भनें, ‘बापू, यस्तो सर्त राखी छुट्नु त एउटा प्रतिबन्ध मानीकन छुट्नु हो, माफी मागेकै जस्तो भो । सन् ’४२ को आन्दोलनमा यस्ता प्रकारको सर्त मानी छुट्ने देशप्रेमीहरूको जनताले कस्तो इज्जत गरेथ्यो र यसले गर्दा आन्दोलनको नैतिक बल कहाँसम्म कमजोर हुन गएथ्यो, त्यो मैले के तपाईंलाई बताउनुपर्दछ र ?’

बापूले उत्तर दिनुभो, ‘मेरो कामबाट अझ त्यसको प्रभाव हराएको छैन । हो, यो त अलि नराम्रो भो ।’

सम्भवतः बापूले हाम्रो परीक्षा लिनुभएको थियो । हामी बापूको प्रथम परीक्षामा सफल भयौं । अनि गान्धीजीले भन्नुभो, ‘यसरी पत्र लेखे कसो होला नि— अहिले कोइरालाजीलाई छाडिदेऊ, उनका पिताको पनि नजरबन्दी अवस्थामा नै मृत्यु भएको हुनाले, यदि उनी पनि जेलैमा मरे भने जनतामा आफ्नो सरकारका प्रति ठूलो घृणा बढ्नेछ । उनको जुन बिमारी छ, त्यसको चिकित्सा केवल बम्बईमा मात्र हुनाले उनी निश्चित छ कि बम्बई नै जानेछन् । फेरि नेपाल गए भने त्यत्रो फौज–पुलिस तिम्रो हातमा छ, जैले खुसी लाग्दछ उनलाई तिमी समात्न सक्तछौ ।’

ध्यानपूर्वक हामी यी कुरा सुन्दै थियौं । स्पष्ट थियो कि कोइरालाजीलाई बिनाकुनै सर्तमा छाडिदेऊ भन्ने कुरालाई गान्धीजी आफ्नो स्वभावगत कुरा घुसाएर राजनीतिक तरिकाले भन्दै हुनुहुन्थ्यो ।

मैले तुरुन्त नै भनें, ‘हो, यो हामीलाई स्वीकार छ ।’

गान्धीजीले फेरि सोध्नुभो, ‘तपाईंले कुरो बुझ्नुभो ?’

मैले बुझें भन्दा उहाँले के बुझ्यौ भनी सोध्नुभयो । मैले उहाँले भनेका कुरा पुनः अक्षरशः दोहोर्‍याउनुपर्‍यो ।

उहाँले भन्नुभयो, ‘यस विषयमा कलकत्तामा रहेका आफ्ना

साथीहरूको पनि सल्लाह ली आउनुहोला । भोलि पुनः आई मलाई भेट्नोस् ।’ अनि उहाँले गोआ र अरू विषयका कुराहरू लोहियाजीलाई भनिदिनू भन्नुभयो । एउटा पत्र पनि उहाँले लोहियाजीका लागि लेखिदिनुभयो, साथै उहाँसँग पनि यस विषयमा सल्लाह गर्नू भन्नुभो ।

राति नौ बजिसकेको थियो, हामी बिदा भयौं ।

अर्को दिन पुनः तीन बजे दिउँसोतिर बेलियाघाटा पुग्यौं । त्यस दिन कलकत्ताका अन्य नेपाली कार्यकर्ताहरू पनि साथमा थिए ।

पुनः उही तवरले गान्धीजीका सम्मुख हामी पुग्यौं । उहाँले सोध्नुभो, ‘तपाईंहरूको के निश्चय भयो ?’

मैले उत्तर दिएँ, ‘बापूले पत्र लेखिदिनु नै पर्छ ।’

अनि उहाँले भन्नुभो, ‘लौ, म पत्र लेखिदिन्छु, तपाईं यो पत्र ली नेपाल झट्टै नै जानोस् । यस आशयको तार पनि उहाँ दिनुहोला नि ।’ मैले आफ्नो मौन स्वीकृति दिएँ ।

‘लौ, तपाईं भोलि साँझमा आउनोस् र पत्र लग्नोस् । तर तपाईंको रेल कति बजे छुट्छ नि ?’

साथीहरूसँग बुझी मैले उत्तर दिएँ, ‘साँझ छ बजे ।’

‘त्यसो भए भोलि दिउँसो कुनै समयमा आएर पनि पत्र लग्नुहोला ।’ समयका कृपण बापूले हामीलाई कति बढ्ता समय भित्र आउनू भन्नुभएथ्यो । यसले हामीमा भएको उहाँको प्रेमको परिचय पाउन सकिन्छ ।

हामी उठ्दै थियौं, बापूले पुनः सोध्नुभो, ‘ह्वैन, नेपालमा कसलाई पत्र लेख्ने ? प्रधानमन्त्रीलाई कि महाराजाधिराजलाई ? एउटा तपाईंहरूका महाराज, जसले राजगद्दी छाडे, उनले केही तपाईंहरूको मद्दत गर्न सक्छन् भने उनलाई पनि लेखौं, किनभने मैले उनलाई चिनेको छु ।’ महात्माजीले यो युद्ध (जुद्ध) शमशेर जंगबहादुर राणाका विषयमा भन्नुभएथ्यो ।

हामीले उत्तर दियौं, ‘उनको अब नेपालको शासनमा केही पनि अधिकार छैन, उनी केही पनि गर्न सक्दैनन् ।’ उनको विषयमा अनि अरू कुराहरू पनि भए ।

हामी बिदा भयौं । मैले नेपाल जाने तयारी गर्न थालें, साथमा एक जना साथीलाई ली जाने निश्चय गरें ।

अर्को दिन दिउँसो कोइरालाजी छुटेको तार नेपालबाट आयो । पं. जवाहरलालजीले तार दिएको हुनाले कोइरालाजी छुट्नुभएछ ।

तार ली पुनः गान्धीजीकहाँ पुग्यौं । सेक्रेटरीले भने, ‘गान्धीजी अहिले नै बाहिर जानुहुन्छ सोहराबर्दीका साथ । एउटा धेरै नै जरुरी पत्र लेख्दै हुनुहुन्छ र अहिले तपाईंसँग भेट हुन सम्भव छैन ।’

मैले भनें, ‘त्यही पत्रको विषयमा म आएको । गान्धीजीलाई मेरो नाउँ गै भनिदिनोस्, उहाँले बोलाउनुहुनेछ ।’

झट्टै नै गान्धीजीले मलाई भित्र बोलाउनुभो । तार देखाएँ । गान्धीजीको मुखमा सन्तुष्टिको स्पष्ट आभा देखियो । त्यस्तो थियो महामानव गान्धीको सदिच्छा जसको प्रभाव सर्वव्यापक हुन्थ्यो ।

(नयाँ दिल्लीको बिडला हाउसमा ३० जनवरी १९४८ मा महात्मा गान्धीको हत्या भएको दुई हप्तापछि बनारसबाट प्रकाशित हुने गरेको ‘युगवाणी’ पत्रिकाको वर्ष १, अंक २, २००४ माघ ३० गते बिहीबार तदनुसार १२ फरवरी १९४८ को अंकमा छापिएको तत्कालीन नेपाली राष्ट्रिय कांग्रेसका संगठन मन्त्री कृष्णप्रसाद भट्टराई, किशुनजी, को आलेख ।

सौजन्य : विनोदकुमार भट्टराई, महासचिव,

कृष्णप्रसाद भट्टराई प्रतिष्ठान ।)

प्रकाशित : माघ १६, २०७९ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?