कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

सहिदको सपना र प्रेमको आत्मदाह

राजाराम गौतम लेख्छन्– के सहिदले यस्तै कुरूप समाज निर्माणका खातिर जीवनको आहुति दिएका हुन्, जहाँ केही गरूँ भन्ने हुटहुटी बोकेको युवाले विकल्पहीन भएर आत्मदाहको बाटो रोज्नुपर्छ ? सहिदको बलिदानको योभन्दा ठूलो अपमान र अवमूल्यन अरू के हुनसक्ला ?
राजाराम गौतम

हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए
बन्दैन मुलुक दुई–चार सपूत मरेर नगए
जब–जब सहिदहरू सम्झनामा आउँछन्, भूपी शेरचनको यो कालजयी सृजनाले तिनीहरूको उत्सर्गको अर्थ र औचित्य बोध गराउँछ । अनि, राष्ट्र निर्माणको बलिवेदीमा चढेका ती इतिहासनिर्माताको बलिदानप्रति गर्व महसुस हुन्छ, सम्मानले शिर निहुरिन्छ ।

सहिदको सपना र प्रेमको आत्मदाह

आज सहिद दिवसका दिन त्यो गरिमामय इतिहास सम्झिँदा गर्वभन्दा बढी पीडा महसुस भइरहेको छ । इलामका एक युवा उद्यमी प्रेमप्रसाद आचार्य जिउँदै जलेको घटनाका कारण मन मर्माहत छ । बेचैन मनमा प्रश्नका पत्रैपत्र छन् । के सहिदले यस्तै कुरूप समाज निर्माणका खातिर जीवनको आहुति दिएका हुन्, जहाँ केही गरूँ भन्ने हुटहुटी भएका युवाले विकल्पहीन भएर आत्मदाहको बाटो रोज्नुपर्छ ? सहिदहरूको बलिदानको योभन्दा ठूलो अपमान र अवमूल्यन अर्को के हुन सक्ला ?

लेख्न त हामीले समाजवादोन्मुख संविधान लेख्यौं । तर, न समाजले न त राजनीतिले नै समाजवादको भारी बोक्न सकेको छ । बरु नेपाली समाज राजनीतिक, आर्थिक, नैतिक सबै हिसाबले चरम भ्रष्टीकरणको बाटामा अग्रसर छ । तलदेखि माथिसम्म र माथिदेखि तलैसम्म भ्रष्ट मानसिकता जड भएर बसेको छ । एक–दुई व्यक्ति वा संस्थाले गरेका आदर्श प्रयासहरू छायामा छन् । आम निराशाका बीच समाजमा ‘म खाऊँ, मै लाऊँ’ प्रवृत्ति हावी छ ।

सत्ता र शक्तिमा पुग्ने होड सर्वत्र छ । जसरी पनि सम्पत्ति जोड्ने, भौतिक सुखसयल प्राप्त गर्ने दौडमा मानवीयता–सामाजिकता विलुप्त हुँदै छ । समाज दोहोरो मानसिकता र प्रवृत्तिमा बाँचेको छ । सीमित टाठाबाठा र सत्तानिकटले स्रोत र साधनमा रजाइँ गरिरहँदा एउटा जनसाधारण (कमन म्यान) असमानता र विभेदका बीच अनेक हन्डर–ठक्कर खान विवश छ । अभाव, असन्तुष्टि, निराशा र कुण्ठा चरमोत्कर्षमा पुगेपछि ‘कमन म्यान’ का लागि जीवन पनि बोझ हुँदो रहेछ । त्यसैले त प्रेमले जीवनसँग हार खाएर देह बिसाए । उनले जाँदाजाँदै नेपालको अर्थराजनीतिक व्यवस्था, समाज र प्रशासनको कुरूप पाटो उजागर गरिदिएर इहलीला समाप्त गरे ।

संसद्भवन अगाडि प्रेमको चीत्कार सुनेर जोकोही भावुक हुन्छन् । त्यो हृदयविदारक दृश्य सम्झिँदा मुटु नै काम्छ । तर, भावुकतामा बगेर उनको मृत्युको महिमा गाउने बेला होइन यो । बरु, उनको मृत्यु पछाडिका अन्तर्निहित कारणको खाजी गर्ने, त्यसमाथि बहस गर्ने र यो सामाजिक रोगलाई बढ्न नदिनेतर्फ आवश्यक सचेतता अपनाउने बेला हो ।

नेपाल प्रहरीको रेकर्ड अनुसार, एक दिनमै सरदर बीस मानिसले आत्महत्या गर्छन् । तर, आत्मदाह ! विरलै सुनिन्छ । यो नेपाली सन्दर्भमा नौलो घटना हो । हुन त आत्मदाह आत्महत्या अर्थात् सामाजिक अपराध नै हो, तर पनि प्रेमको आत्मदाहलाई मानसिक रूपमा विक्षिप्त भएर गरिने ‘आत्महत्या मात्रै’ भनेर बुझियो र त्यही श्रेणीमा राखियो भने त्यो एकांगी धारणा हुनेछ । आत्मदाहमार्फत प्रेमले सरकार र समाजलाई थुप्रै कुरा भन्न खोजेका छन् । आत्मदाह गर्नुअघि सामाजिक सञ्जालमार्फत सार्वजनिक उनको लामो ‘सुसाइड नोट’ ले ती कुरा उजागर गर्छ । तसर्थ, अवसादबाट गुज्रेका उनले जाँदाजाँदै जे भनेर गए, जे गरेर गए, त्यो बेवास्ता गर्न मिल्ने विषय होइन । छत्तीस वर्षीय महत्त्वाकांक्षी युवा किन र कसरी खुला सडकमै ‘अग्निस्नान’ गर्ने हदमा ओर्लिए ? सामाजिक न्याय, लोकतन्त्रजस्ता अग्रगामी मुद्दाको पैरवी गर्ने समाजका लागि यो लज्जास्पद कुरा हो । यो हाम्रो समग्र राज्यप्रणालीकै असफलता हो ।

उनको ‘सुसाइड नोट’ मा दुःखका पोकैपोका छन् । ती पोका खोतल्दा थाहा लाग्छ, उद्यममा असफल भएपछि उनीभित्र चरम निराशा हुर्कंदै थियो । थपिँदो ऋणको बोझ, साथीभाइ–आफन्तबाट बहिष्कृत हुँदै जाँदा उनले न टेक्ने लौरो भेटे न समाउने हाँगो । कतिसम्म भने, नियमित जीविकोपार्जन र औषधिमुलोकै लागि वित्तीय संकट आउन थालेपछि ‘डिप्रेसन’ मा पुगेका उनी आत्महत्याको बाटो हिँड्ने निष्कर्षमा पुगे ।

मनोविद्हरू भन्छन्, मानसिक रूपमा विक्षिप्त भएका मानिसले क्षणिक आवेगमा आएर आत्महत्याको बाटो समाउँछन् । तर, प्रेमले क्षणिक आवेगमा आएर आत्मदाह गरेको देखिँदैन । उनले योजना बनाएरै यो बाटो रोजेको देखिन्छ । जब उनलाई लाग्यो आफ्ना लागि सबै ढोका बन्द भए, त्यसपछि आत्मदाहमार्फत आफ्ना पीडा र भोगाइ समाजलाई बताउने निधो गरे ।

यो आत्मदाह निदाएको अभिनय गरेर बसेको समाज र सरकारको कानैमा पड्किएको धमाका हो । उनले आत्मदाह गरेर नदेखेको, नसुनेको र सुतेको अभिनय गर्ने सरकारलाई झकझकाउन चाहेका छन् । नेपालको अर्थराजनीतिक व्यवस्थामा एउटा सामान्य उद्यमीले बेहोर्नुपर्ने भुक्तमान कति पीडादायी हुँदो रहेछ, उनको ‘सुसाइड नोट’ ले प्रस्ट पार्छ । कृषि अनुदानमा पहुँचवालाको रजाइँ र पक्षपात, बिमा–बैंकिङ क्षेत्र उद्यमीमैत्री हुन नसकेको सन्दर्भ, ठूला व्यापारीको घानमा साना उद्यमीको पिसाइ, कृषकको पसिनामा बिचौलियाको रजाइँ लगायतका थुप्रै मुद्दा व्यक्ति र संस्थाहरूको किटानीसहित प्रस्ट उल्लेख गर्दै उनले सरकारको ध्यान खिच्न खोजेका छन् ।

‘सुसाइड नोट’ मा उनले आर्थिक सहयोगको याचना पनि गरेका छन् । यो दुःखद घटनापछि विभिन्न मनकारी व्यक्तिहरूले उनको परिवारका लागि आर्थिक सहयोग गरिराखेका छन् ।

प्रेमको परिवारले एक हदसम्म वित्तीय सुरक्षा त पाउला तर के उनले उठाएका सवाल र सन्दर्भले न्याय पाउलान् ? ढुक्क हुने आधार छैन । किनभने, न सरकारमा यसप्रति आवश्यक संवेदनशीलता देखियो न त समाजमै ।

हाम्रो समाज अनौठो छ । यहाँ मानवीय संवेदना नहुने होइन तर त्यो क्षणिक हुन्छ । घटनाहरूप्रति छिटो प्रतिक्रिया व्यक्त गर्नु, छिटै उद्वेलित हुनु अनि छिटै बिर्सिहाल्नु नेपाली समाजको चारित्रिक विशेषता हो । केही दिनअघि पोखरामा यति एयरलाइन्सको जहाज दुर्घटना हुँदा तरंगित समाजलाई प्रेमको आत्मदाहले एक–दुई दिन पोल्यो । छटपटायो पनि । तर, अब रवि लामिछानेको नागरिकता प्रकरणमा तिनलाई चासो छ । अदालतले लामिछानेको नागरिकता अवैध भन्दै फैसला सुनाएपछि उनका आगामी कदम के होलान् ? समाजको यति बेलाको केन्द्रीय चासो यता सरेको छ । प्रेमको आत्मदाह बिस्तारै विस्मृतितिरै उन्मुख छ ।

सरकारले चाहिँ छानबिन प्रतिवेदन सार्वजनिक गर्ने औपचारिकतासम्म पूरा गर्ला । किनभने, सरकारले जानेकै कर्मकाण्ड हो । यतीको जहाज दुर्घटना हुँदा छानबिन समिति गठनको कर्मकाण्ड पूरा गरेको सरकारले आत्मदाहमा पनि त्यही गर्‍यो ।

संसद्भवनको ढोकैमा ‘आत्मदाह विस्फोट’ भएपछि झसंग भएको सरकारले यो घटनालाई जुन गाम्भीर्यसाथ लिनुपर्थ्यो, लिएन । घटनापछि उसले जर्किन वा बोतलमा मट्टीतेल र पेट्रोल किन्न निषेध गर्ने निर्णय गरेर लाचारी मात्रै देखायो । यो निर्णय ‘टाउकाको औषधि नाइटोमा’ लगाएजस्तै हो ।

त्यसपश्चात् मन्त्रिपरिषद् बैठकले छानबिन गर्न गृह मन्त्रालयलाई अह्रायो । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने परिवारजनलाई संवेदना दिन पुगे । उनले सहसचिवको नेतृत्वमा छानबिन समिति पनि बनाए । छानबिन गर्ने आश्वासन दिए । स्वास्थ्य राज्यमन्त्री तोसिमा कार्कीले लोकप्रियता बटुल्ने चक्करमा आईसीयूको भिडियो प्रचार गरेर केटाकेटी पारा देखाइन् । मन्त्रीका यी गतिविधिको सन्देश हो— सरकारमा नयाँ–पुराना जो गए पनि ती सबै उस्तै कर्मकाण्डी हुन् ।

सहिद दिवसकै कुरा गरौं न ।

सरकारले यो परम्परा धान्न थालेको पनि ६७ वर्ष भइसकेछ । सहिदहरूको सम्मानमा २०१२ माघ १६ गते सरकारले पहिलो पटक यो दिवस मनाउन थाल्यो । जहानिया राणा शासनविरुद्ध लोकतन्त्र र स्वतन्त्रताका लागि आवाज उठाएका कारण शासकले शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई मृत्युदण्ड दिएको थियो । १९९७ माघ १० गते शास्त्रीलाई, १३ गते माथेमालाई र १५ गते श्रेष्ठ र चन्दलाई मृत्युदण्ड दिइएको थियो । तिनै सहिदको सम्मानमा सहिद दिवस मनाइन्छ ।

हरेक सहिद दिवसका दिन नेता/मन्त्री/प्रधानमन्त्री सहिदहरूको बखान गरेर थाक्दैनन् । ती सहिदका सपना पूरा गर्ने प्रतिबद्धता दोहोर्‍याउँछन् । तर, के ती कर्मकाण्डी प्रतिबद्धता गर्नाले मात्र सहिदका सपना साकार भए त ? के शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दजस्ता महान् सपूतले यस्तै समाज निर्माणका लागि आहुति दिएका थिए ?

जहानियाँ राणा शासनविरुद्ध लड्दा सहिद भएका चार महान् सपूतपछि पनि राजनीतिक संघर्षका क्रममा अरू थुप्रै बलिवेदीमा चढे । निरंकुश पञ्चायती व्यवस्थाविरुद्धको जनआन्दोलन, ज्ञानेन्द्रको राजशाहीविरुद्धको आन्दोलन लगायतका अनेक राजनीतिक विद्रोहहरूमा हजारौं नेपालीले शहादत प्राप्त गरेका छन् । सरकारले झन्डै नौ हजारलाई सहिद भनेर घोषणा गरेको छ । सहिद घोषणामा उचित मापदण्ड पूरा नगरेकाले कतिपय सन्दर्भमा यो विवादित र आलोचित पनि छ । यो बेग्लै बहसको विषय हुन सक्छ । तर, देशमा खुसियाली र समृद्धि ल्याउन आफू जलेर अरूलाई उज्यालो दिने सबै ज्ञात–अज्ञात सहिदको बलिदानले सार्थकता पायो ?

सहिदका सपना वास्तवमा सामान्यजनका सपना हुन् । एउटा सामान्य मान्छेले सम्पूर्ण रूपमा गरिखाने वातावरण पाउनु नै उसको सबैभन्दा ठूलो सपना हो । सहिदले देखेको सपना पनि त्यस्तै नै हो ः एउटा उन्नत समाज, जहाँ व्यावहारमै लोकतान्त्रिक पद्धति स्थापित होस्, जहाँ मानिसका राजनीतिक, आर्थिक, सांस्कृतिक सबै थरी अधिकारको सुनिश्चितता होस्, जहाँ जीविकाको चिन्ता नहोस् । तर, आज एउटा गरिखान खोज्ने उद्यमीले आफ्नै शरीरमा आगो खन्याएर जीवन समाप्त गर्नुपर्ने अप्रिय अवस्था हाम्रो नियति बनेको छ ।

यो चरम निराशाको कारक हो— नबदलिएको राजनीति । संघर्षहरूबाट उपलब्धि हासिल गरे पनि राजनीतिका सञ्चालकहरू जनतामुखी नभई सत्तामुखी भइदिँदा न पद्धति स्थापित भयो न त सामान्यजनले परिवर्तनको आभास नै गर्न सके । हुँदाहुँदा आशा र अपेक्षा गरिएका नवोदित नेताहरू पनि ‘बेइमान हुने अवसर नपाएर इमानदार भएका’ रहेछन् ।

प्रविधिले ल्याएको परिवर्तन, विश्वपरिवेशमा आएको परिवर्तन र समयसँगै स्वतः आएका परिवर्तनबाहेक नेपालीजनले सन्तुष्ट हुने ठाउँ पाएका छैनन् । पटकपटक व्यवस्था बदलिए पनि अवस्था नबदलिँदा समाजमा आक्रोश, असन्तुष्टि र चरम निराशा बढिरहेको छ । राजनीतिक आन्दोलन सकिए, अब मुलुक आर्थिक समृद्धिको बाटामा हिँड्छ भनेर नेताहरूले भाषणबाजी गरे पनि लाग्छ— संघर्षका दिनहरू अझै बाँकी छन् । देश बन्न अझै अरू कति सपूतले आहुति दिइरहनु पर्ने हो ? भूपीले भनेजस्तो दुई–चार होइन, यहाँ हजारौंले जीवनको आहुति दिइसके । र, अझै दिँदै छन् । तैपनि गरिखाने वर्गले चैनको सास फmेर्न सकेको छैन ।

प्रकाशित : माघ १६, २०७९ ०७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?