३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

बुटवलको दुःख चुरे

अमृता अनमोल

बुटवलको शिरमा छ चुरे पहाड । केही वर्षअघिसम्म यहाँबाट उत्तरतिर देखिने हरिया पहाडहरूलाई अहिले पहिरोले छियाछिया पारेर सेतै बनाएको छ । चुरेका पत्रे चट्टानहरू हेर्दै अत्यास लाग्ने गरी भासिएर तल खसेका छन् । तिनाउ नदीवारि र पारिका चुरेबाट बस्तीतिर सोझिएर पहिरो खसेको छ ।

बुटवलको दुःख चुरे

बर्खामा पहिरो खसेर बीचमा अडिएको भाग हिउँद लागेपछि पनि झर्छ । कति बेला कहाँबाट कत्रो पहिरो खस्छ, टुंगो छैन । पहिरोले अघिल्ला दुई वर्षमा बुटवल–३ का ज्योतिनगर र लक्ष्मीनगरमा क्षति पुर्‍यायो । ज्योतिनगर क्षेत्रमा मात्रै करिब ७० हेक्टरमा पहिरो गएको छ । त्यसको ठ्याक्कै तल २ हजारजति घर छन् । त्यहाँका कतिपय घरपरिवार बर्खामा सुरक्षित ठाउँमा डेरा सर्छन् र हिउँदमा फर्कन्छन् । यस्तै अवस्था रहे भीमकाय पहिराको तलको बुटवल सहरको भविष्य पनि के हुन्छ भन्न सकिँदैन ।

विज्ञहरूले चुरेछेउका बस्तीहरू स्थानान्तरण गरेर मात्रै पहिरोको दीर्घकालीन संरक्षण गर्न सुझाव दिएका छन् । कति ठाउँमा पहाड पहिरोले चिराचिरा परेर अडिएको छ । अडिएको भाग ढिलोचाँडो खस्छ नै, दीर्घकालीन रूपमा रोक्न सकिँदैन, त्यसैले साटो तल खसेको पहिरो काटेर दीर्घकालीन समाधान गरे ठूलो क्षति जोगाउन सकिने विज्ञहरूको राय छ ।

बर्खामा निरन्तर पहिरो खसेपछि दुई वर्षअघि पहिरोमुनिको बस्ती हटाउने कि भन्नेबारे स्थानीय बासिन्दाबीच बहस पनि चल्यो । तर, बजारछेउका बस्तीहरू जोखिम भए पनि सर्न तयार छैनन् । विकल्प दिएर सरकारले सार्ने प्रस्ताव पनि ल्याएको छैन, बरु टालटुले काममा लागेको छ । स्थानीय बासिन्दा बस्ती जोगाउन आफैं अल्पकालीन संरक्षण र व्यवस्थापनमा जुटेका छन् । स्थानीय बासिन्दाले गठन गरेको तिनाउ चुरे संरक्षण समितिले बस्ती जोगाउने गरी पहिरो व्यवस्थापन गर्न तीन तहकै सरकारसँग हारगुहार गरिरहेको छ ।

पहिरोबारे राष्ट्रपति चुरे तराई संरक्षण विकास समितिले गत वर्ष प्रारम्भिक अध्ययन गरेको थियो । अध्ययनले चुरे क्षेत्रमा भएको पानीको मूलको सही व्यवस्थापन नभएकाले, चुरेको दोहन र कमजोर क्षेत्रमा पूर्वाधार निर्माणले खलबलिएर पहिरो झर्ने र भासिएर पहाड तल खस्ने गरेको बताएको छ । बुटवलमाथिको चुरे क्षेत्रमा पानीका मूल धेरै छन् । ती मूलको अव्यवस्थित सतही बहाव र चुरे अतिक्रमण अर्थात् पूर्वाधार निर्माणले यस क्षेत्रमा पहिरो खसेको अध्ययनले औंल्याएको छ । चुरे जोगाउन र पहिरो नियन्त्रण गर्न मूलहरूबाट बगेको पानीलाई पोखरी बनाएर एकै ठाउँमा जम्मा गर्नुपर्छ वा बगाउनुपर्छ ।

चुरेको भूबनोट नै कमजोर भएकाले दीर्घकालीन रूपमा बुटवलको भिरालो क्षेत्र यत्तिकै बसोबासका लागि उपयुक्त छैन । यद्यपि चुरेमाथि रहेका पानीका मुहानहरू व्यवस्थापन गर्ने र खहरे–खोल्साहरूलाई बस्तीबाहिर कटाएर बायो इन्जिनियरिङ प्रविधिको उपाय लगाउने हो भने पहिरो व्यवस्थापन र बस्ती संरक्षण गर्न सकिने अध्ययनले देखाएको छ । त्यसले विपद् रोक्न विस्तृत अध्ययनसँगै एकीकृत र दीर्घकालीन योजना ल्याउनसमेत मार्गनिर्देश गरेको छ ।

दुई वर्षअघि पहिरो व्यवस्थापनमा राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास कार्यक्रमले साढे ५ करोड रुपैयाँ बजेट छुट्याएको थियो । त्यसमध्ये २ करोड ११ लाख रुपैयाँमा केही पर्खाल निर्माणका काम त भए, तर ती पर्खालले पहिरोको वेग थाम्न सकेनन् । अघिल्लो वर्ष २ करोड ४५ लाख रुपैयाँ बजेट ज्योतिनगर, लक्ष्मीनगर र पाखापानीका लागि क्षेत्रगत रूपमा बाँडफाँट गरियो । ज्योतिनगरका लागि १ करोड २५ लाख, लक्ष्मीनगरका लागि १ करोड ५ लाख र पाखापानीका लागि १५ लाख रुपैयाँबाट पहिरो रोकथामका काम भए ।

पहिरो क्षेत्रमा चेक ड्याम तथा सहायक संरचना निर्माण, तारजाली लगाइए । बुटवल उपमहानगरपालिकाले पहिरो प्रभावित क्षेत्रको माटो सफा गरी बस्तीभित्र कल्भर्ट निर्माण र खोल्सी सुधारमा १ करोड रुपैयाँ खर्च गर्‍यो । यसबाट चुरेको माथि रहेका पानीका मुहानहरू व्यवस्थापन गरेर चिडियाखोलामा पठाउने प्रारम्भिक काम भयो । तर, यत्तिले मात्रै पहिरो धानिने अवस्था छैन ।

कमजोर चुरे पहाडको चरित्र अनुसार थप दीर्घकालीन रोकथाम र व्यवस्थापन योजना ल्याउनुपर्छ । स्थानीय बासिन्दा तीन तहकै सरकारलाई यस वर्ष पनि बजेट विनियोजन गरिदिन झकझकाउन थालेका छन् । बुटवल उपमहानगरपालिकाले समपूरक अनुदानमार्फत संघीय सरकारसँग ५ करोड रुपैयाँ माग गरेको छ । प्रदेश र संघीय सरकारले भने एक सुको छुट्याएका छैनन्, बरु यसबारे अनजान बनिरहेका छन् ।

बुटवलमाथिको चुरे पहिल्यैदेखिको जोखिम क्षेत्र हो । पहिरोले छियाछिया बनेपछि आर्थिक वर्ष २०३४–३५ सालमा राजा वीरेन्द्रको निर्देशनमा चिडियाखोला, ज्योतिनगर, भूताहा, चिसापानी, माकर लगायतका बस्तीलाई स्थानान्तरण गरिएको थियो । त्यहाँका बासिन्दाहरूलाई तामनगर र बर्दघाट क्षेत्रमा जग्गा उपलब्ध गराइएको थियो । सरकारले नयाँ ठाउँमा जग्गा उपलब्ध गराए पनि पुरानो ठाउँको जग्गा सरकारीकरण गरेन । यसैको फाइदा उठाउँदै बिस्तारै जग्गा किनबेच हुन थाल्यो र बस्ती बस्दै गयो । २०५५ सालमा पुनः ठूलो पहिरो खसेको थियो । त्यस बेला जाइकाको अध्ययनले ठूला रूख काट्न सुझाव दिएको थियो ।

विज्ञहरूका अनुसार, चुरे करिब ४ करोड वर्षपहिले हिमालयको उत्पत्तिका क्रममा नदीजन्य पदार्थहरू थुप्रिएर बनेको सबैभन्दा कान्छो पहाड हो । खुकुलो पत्रे चट्टान र महाभारत पर्वतबाट निस्केका नदीहरू चुरे क्षेत्र भएरै तराईतर्फ बग्छन् । यसैले प्राकृतिक रूपले चुरे अत्यन्तै संवेदनशील मानिन्छन् । ३७ जिल्लाका चुरे नजिकका बस्तीहरू जोखिममा छन् । तीमध्ये बुटवल बढी जोखिमयुक्त छ । यस्तोमा सरकारले टालटुले काम गर्नभन्दा पहिरो रोकथामको दीर्घकालीन काम गर्न जरुरी छ ।

प्रकाशित : माघ ९, २०७९ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?