शासक फेर्न अक्षम लोकतन्त्र- विचार - कान्तिपुर समाचार

शासक फेर्न अक्षम लोकतन्त्र

अच्युत वाग्ले

लोकतन्त्रको शाब्दिक अर्थ सीधै छ, लोक अथवा जनताको शासन । अढाई हजार वर्षयता यो परिभाषा बदलिएको छैन । तथापि, यसका अभ्यासगत स्वरुपहरूमा विविधता आएको छ । गणतन्त्र, संघीयता, प्रत्यक्ष वा परोक्ष प्रतिनिधित्व, प्रत्यक्ष निर्वाचित कार्यकारी वा संसदीय सर्वोच्चता आदि स्वरुपका शासनलाई जनमतको अनुमोदन दिलाउने विधि, अभ्यास र पद्धति बसालिएका छन् । तर, यी सबैमा जनताको अभिमतसम्मत शासनको समान सार छ र यही सर्वस्वीकृत लोकतान्त्रिक मानक भएको छ ।

तथापि, लोकतन्त्रको यति लामो इतिहास र बालिग मताधिकारमा आधारित आधुनिक लोकतन्त्रको अभ्यास भएको २४३ वर्ष (फ्रान्सेली राज्य क्रान्तिबाट गणना गर्दा) बितिसक्दा समेत संसारमा पूर्ण लोकतन्त्रमा दर्ता हुनयोग्य मुलुकहरूको संख्या जम्मा २० को हाराहारी मात्र छ । खोटपूर्ण लोकतान्त्रिक शासन भएका मुलुकहरूसमेत जोड्दा यो संख्या बल्ल ७४–७५ पुग्छ । संयुक्त राष्ट्र संघको सदस्यताका आधारमा विश्वमा १९३ सार्वभौम मुलुक छन् । तीमध्ये जम्मा ३८ प्रतिशत मुलुकमा मात्र स्वीकार्य प्रकृतिको क्रियाशील र राज्य सञ्चालन प्रणालीका रूपमा स्थायित्व पाएको लोकतान्त्रिक शासन छ । (हेर्नुस्, डेमोक्रेसी इन्डेक्स–२०२१)

निर्विवाद छ, लोकतन्त्र मानव सभ्यताले विकसित गरेको सबभन्दा आदर्श शासन प्रणाली हो । किन्तु, यसको अवलम्बनको यो दुरवस्था किन छ ? ठूलो जनसंख्या भएका भारत र संयुक्त राज्य अमेरिकाजस्ता मुलुकमा पनि लोकतान्त्रिक अभ्यास किन खोटरहित हुन सकेको छैन ? यी आधारभूत प्रश्नका अतिरिक्त आर्थिक विकास, लोकहित र सामाजिक न्यायका लागि लोकतन्त्र नै अपरिहार्य हो कि होइन भन्ने अर्को बहसको निर्णायक निप्टारा भएको छैन । चीन र भियतनामजस्ता गैरलोकतान्त्रिक एकदलीय कम्युनिस्ट शासन भएका मुलुकहरूले पछिल्ला दशकमा चामत्कारिक गतिमा आर्थिक उन्नति गरेपछि यो प्रश्न विकास र लोककल्याणको बहसमा थप गुरुत्वको भएको छ । यसले उग्रदक्षिणपन्थी र उग्रवामपन्थी अधिनायकवादको वकालत गर्नेहरूलाई थप हौस्याएको छ ।

सामान्यतः अर्थशास्त्रीहरूले शासन प्रणाली र खास गरी तात्कालिक आर्थिक वृद्धिबीचको प्रत्यक्ष सकारात्मक सहसम्बन्ध (पोजिटिभ कोरिलेसन) बारे अविभाजित निष्कर्ष दिएका छैनन् । तर, लोकतन्त्रले दीर्घकालीन (लङ टर्म) आर्थिक वृद्धिमा सकारात्मक असर पार्ने कुरा धेरैवटा चर्चित र विश्वसनीय अध्ययनहरूले स्थापित गरेका छन् । अस्ट्रेलियाको डियकिन विश्वविद्यलायका प्राध्यापकहरूले सन् २००६ मा गरेको ‘डेमोक्रेसी एन्ड इकोनोमिक ग्रोथ’ शीर्षकको फराकिलो ‘मेटा एनालाइसिस’ ले आर्थिक विकासमा लोकतन्त्रको प्रत्यक्ष प्रभाव नदेखिए पनि अप्रत्यक्ष रूपले लोकतन्त्रमार्फत हासिल हुने उच्च मानव पुँजी, न्यून मुद्रास्फीति, न्यून राजनीतिक अस्थिरता र उच्च राजनीतिक स्वतन्त्रताले आर्थिक वृद्धिलाई सघाउने निष्कर्ष दिएको छ ।

विश्वचर्चित पुस्तकहरू ‘ह्वाई नेसन्स फेल’ र ‘द न्यारो करिडोर’ का लेखकद्वय डेरोन एजेमोलु र जेम्स रबिन्सनसहितका चार अर्थशास्त्रीले सन् २०१९ मा गरेको बृहत् अध्ययनले लोकतन्त्रीकरण र आर्थिक वृद्धिबीच सकारात्मक सहसम्बन्ध रहेको द्विविधारहित निष्कर्ष दिएको छ । उनीहरूको शोधफत्रको शीर्षक नै ‘डेमोत्रेसी डज कज ग्रोथ’ (लोकतन्त्रले आर्थिक वृद्धि गराउँछ) छ । १७५ मुलुकको सन् १९६० देखि २०१० बीचका ५० वर्षको तथ्यांकका आधारमा गरिएको यो अध्ययनले लोकतन्त्रीकरणले दीर्घकालमा २० प्रतिशतसम्म प्रतिव्यक्ति आयवृद्धिमा योगदान गर्ने निष्कर्ष दिएको छ । उनीहरूले ‘चीनले गैरलोकतान्त्रिक शासन अन्तर्गत हासिल गरेको असाधारण आर्थिक वृद्धि, अरब स्प्रिङको ग्रहण अनि पछिल्लो समय युरोप र संयुक्त राज्य अमेरिकामा देखिएको लोकरिझ्याइँ राजनीतिको उदयसँगै प्राज्ञिक र नीति संवादका दुवै क्षेत्रमा लोकतान्त्रिक संस्थाहरू अति सकारात्मक भएर सोच्दा असान्दर्भिक भएको र खराबै दृष्टि राख्दा आर्थिक वृद्धिका लागि अड्चन भएका दृष्टिकोणहरू लोकप्रिय हुँदै गएको सन्दर्भ’ मा नै यो अध्ययन गरेका हुन् । यही कारण पनि यसको थप सान्दर्भिकता छ । (हेर्नुस्, जर्नल अफ पोलिटिकल इकोनोमी, पूर्णांक १२७, अंक १, २०१९)

लोकतन्त्र जनताको शासन हो भन्नुको तात्पर्य जनताले आफ्नो चाहाना अनुसार शासक बदल्छन् भन्ने हो । शासकहरू बदलिने आधार उनीहरूले मुलुकलाई उन्नतिको मार्गमा डोर्‍याउन प्रस्तुत गर्ने दृष्टिकोण र कार्यक्रम हुन्छन् । ती कार्यक्रमहरू जनमतमार्फत अनुमोदित भएपछि नयाँ फेरिएका शासकहरूले सुशासन र समृद्धिका लागि काम गर्छन् । अपेक्षा र प्रतिबद्धताअनुरूप काम गर्न नसके जनमतद्वारा फेरि फालिन्छन् । जुन मुलुकहरूमा यस्तो राजनीतिक चक्र निर्बाध चलिरहेको छ, ती लोकतन्त्रहरू उन्नत छन् । अथवा, जति सहज ढंगले यो चक्र चलेको छ, त्यही अनुपातमा लोकतन्त्र संस्थागत भएको छ । ती मुलुकहरूको आर्थिक प्रगति भएको छ । खास गरी, आवधिक चुनाव भए पनि अकर्मण्य र अलोकप्रिय शासकहरू जनताले चाहेर समेत परिवर्तन गर्न नसक्ने अवस्था बन्यो भने त्यस्ता शासन प्रणाली नाम र आवरणमा मात्र लोकतन्त्र रहन्छन् । सारमा अधिनायकवाद अथवा आंशिक लोकतन्त्र एवम् अधिनायकवादको ठिमाहा शासनमा रूपान्तरित हुन्छन् । शासनमा दृष्टिकोण, योग्यता र इमानदारीको स्थानलाई हैकम, अयोग्यता र चाप्लुसीले विस्थापित गरिदिन्छ । नयाँ आउने राजनीतिक अनुहारहरू पुरानै प्रवृत्तिको विस्तारका थप माध्यम बन्छन् । लोकतान्त्रिक संस्थाहरू तिनै जडवत् भइसकेका शासकहरूको करदाताको खर्चमा सुखभोग र सेवासुविधा वृद्धिको निरन्तरताका लागि मात्र सहयोगी हुन्छन् । तत्कालको जनजीविका र मुलुकको दिगो भविष्य दुवै संकटग्रस्त बन्छन् ।

नेपालका नफेरिएका शासकहरू
नेपालको वर्तमान नियति र संकट ठ्याक्कै यस्तै छ । प्रचारित लोकतन्त्र र आवधिक निर्वाचनको कर्मकाण्ड राज्य सञ्चालन गर्ने राजनीतिक दलका ‘शासकहरू’ फेर्न सर्वथा अक्षम साबित भएको छ । यो परिस्थिति सृजना हुनुमा अनेकौं कारण छन् । राजनीतिक दल र त्यसका नेताहरूको मात्र होइन, मतदाताको आफ्नो चाहनाको शासक चुन्ने अयोग्यता पनि नेपालको लोकतन्त्रको भविष्य जोखिममा पार्न उत्तिकै जिम्मेवार कारक छ । दलहरूभित्र निमिट्यान्नै भएको आन्तरिक लोकतन्त्रले राजनीतिक प्रणालीमा जुम्ल्याहा जोखिम जन्माउँछ भन्ने विश्व राजनीतिक इतिहासले सिद्ध गरेको छ । पहिलो, निर्वाचित हुने तथाकथित ‘स्थापित’ नेताहरूको जीवनभरि नै शासनसत्ता ओगटिरहने निरन्तरको ध्येयले नयाँ स्वरूपको अधिनायकवाद, भ्रष्टाचार र स्वार्थ–बझान (कन्फ्लिक्ट अफ इन्ट्रेस्ट) लाई प्रवर्द्धन गरेको छ । दोस्रो, ती वृद्ध पात्रहरू राजनीतिक परिदृश्यबाट ओझेल परेसँगै ती राजनीतिक संगठनहरू नै विघटन–उन्मुख हुन्छन् । भारतको कांग्रेस आईदेखि नेपालको माओवादी शक्तिको खण्डीकरणसम्म त्यसका ताजा उदाहरण हुन् । संघीय गणतन्त्र भनिएको नेपालमा अहिले देखिएको पञ्चायतका भूतहरूको हुँकार कसै गरी स्वाभाविक होइन । तर त्यो ‘स्पेस’ गणतन्त्रवादी भन्न रुचाउने तिनै नफेरिएका शासकहरूको सत्तास्वार्थले उपलब्ध गराएको हो । नयाँ अस्तित्वमा आएका राष्ट्रिय स्वतन्त्र पार्टीजस्ता शक्तिहरू पनि क्षणिक र अस्वाभाविक सत्तामोहबाट थोरै दूरीमा पनि बस्न त सकेनन् नै, स्वार्थ बाझिने र अनैतिक राजनीति गर्ने सवालमा समेत पुराना शासकवृत्तका नेताहरूभन्दा बिलकुलै फरक देखिएनन् । यसका अध्यक्ष रवि लामिछानेको नागरिकताको मुद्दाको कानुनी पटाक्षेप के हुन्छ, अलग पाटो हो, तर प्रश्न उठेपछि त्यसको निरूपण नहोउन्जेल गृहमन्त्री पदमा नबस्ने न्यूनतम नैतिक अपेक्षामा त उनी पराजित भइसकेका छन् । उनले सत्तामा भएको लाभ उठाउने संकेत पनि देखिएकै छ । जब सत्तास्वार्थ यसरी हावी हुन्छ, मुलुकको प्राथमिकता त स्वतः ओझेलमा पर्छ नै । पात्र फेरिए पनि शासकीय प्रवृत्ति फेरिने सम्भावना टाढा क्षितिजमा पनि नदेखिएपछि नयाँ शक्तिका नाममा शंकाको लाभ दिने ठाउँ पनि रहँदैन ।

उमेर, नियत र प्रवृत्तिले रूढाग्रही भइसकेका शासकहरूलाई आफू सत्तामा रहुन्जेल मुलुकको लोकतान्त्रिक भविष्य र आर्थिक उन्नतिको परिदृश्य निराशाजनक छ भन्ने स्विकार्न चरम अहंकार र लज्जाले दिएको छैन । जबकि, उपलब्ध भएसम्मका सबै विश्वसूचकांकले नेपाललाई फर्काउनै नसक्ने गरी ओरालो लागेको मुलुकको कोटिमा पुगेको देखाएका छन् । लोकतान्त्रिक सूचकांकमा १०१ औं स्थान, बजार प्रतिस्पर्धी सूचीमा १०८ औं स्थान, भ्रष्टाचार नहुने मुलुकमध्ये ११७ औं स्थान, प्रतिव्यक्ति आयमा १५९ औं स्थान, मानव विकास सूचकांकमा १४३ औं स्थान, राहदानी (स्वीकार्यता) इज्जतमा १८६ औं स्थान, शासकीय सूचकांकमा १३९ औं स्थान र नवप्रवर्द्धन (इन्नोभेसन) सूचकांकमा १११ औं स्थानजस्ता सूचकले नेपालको अत्यासलाग्दो वर्तमान, यसको राष्ट्र (नेसन स्टेट) बन्ने चुनौती र सामान्यतः अन्धकार भविष्य सबैलाई एकसाथ उजागर गर्छन् । आन्तरिक तथ्यांक र प्रवृत्तिहरू उत्तिकै भयावह छन् । कुशासन, व्यापार घाटा, युवा जनशक्ति र पुँजी पलायन, सम्पूर्णतः धराशायी भएको उच्च एवम् व्यावसायिक शिक्षा एवं शून्योन्मुख औद्योगिक उत्पादन र रोजगारी सृजनाजस्ता प्रवृत्ति उल्टाउनै नसकिने भय किन घनीभूत भएको छ भने, शासन र नीतिनिर्माणमा बस्ने कसैमा पनि यो परिस्थितिप्रति चासो र चिन्ताको झिल्कोसम्म कतै देखिँदैन ।

अपुरा क्रान्ति

नेपाल किन यसरी अविकास र कुशासनलाई उल्टाउन नसक्ने अक्करे दुश्चक्रमा फस्यो ? यो व्यापक एवम् बहुआयामको गम्भीर समीक्षा र बहसको विषय हो । तर, सहजगम्य एउटा अहं पक्षचाहिँ नेपालमा पटकपटक भएका राजनीतिक परिवर्तनहरूले क्रान्तिको स्वरूप ग्रहण गर्न नसक्नु र ती परिवर्तनबाट प्राप्त उपलब्धिहरू संस्थागत हुनुपूर्व नै विघटनको भीरमा पुग्नु हो । २००७ सालको क्रान्तिको उद्देश्य र वैचारिक मार्गचित्र प्रस्ट थियो— संवैधानिक राजतन्त्रसहितको बहुदलीय संसदीय व्यवस्थालाई संवैधानिक तवरले स्थापित गर्ने । राजतन्त्रको मूर्खताका कारण त्यो उद्देश्य प्राप्त हुन सकेन । दस वर्षको अराजकतापछि संसदीय चुनाव भयो र त्यसको अठार महिनामै निर्वाचित सरकारमाथि राजा महेन्द्रले सैनिक ‘कु’ गरे । दरबारले यी दुई मूर्खतापूर्ण दुस्साहस नगरेर संवैधानिक राजतन्त्रसहितको लोकतन्त्रलाई संस्थागत गर्न सघाएको भए सम्भवतः नेपालबाट शाहवंशीय राजतन्त्र यत्ति छिट्टै हट्ने थिएन । लोकतन्त्रले दिने अर्थ–सामाजिक लाभ जनताले पाएका भए २०३६ साल र २०४६ सालका आन्दोलनहरूको आवश्यकता सम्भवतः पर्ने थिएन ।

दशक लामो माओवादी सशस्त्र हिंसा पनि राजनीतिक क्रान्ति थिएन । त्यसैले त्यो पनि २०६२–६३ को आन्दोलनपछिको सत्ताको लाभ लेनदेनमा विलय भयो । क्रान्ति (उपनिवेशहरूका हकमा स्वतन्त्रता संग्राम) को औचित्य त्यसको आह्वानकै चरणमा सूत्रबद्ध गरिएका विचारले प्रस्तावित गर्ने राज्यको वैकल्पिक शासकीय स्वरूप, अर्थव्यवस्था, सामाजिक र सांस्कृतिक रूपान्तरणको खाकाले स्थापित गर्छन् । त्यही खाकाका आधारमा स्थापित व्यवस्थाविरुद्ध जनपरिचालन हुने हो । क्रान्तिले शासनसत्ता फेरेपछिको नयाँ शासकहरूको जिम्मेवारी र कार्यसूचीलाई नै कार्यान्वयन गर्ने हो । यस अर्थमा पनि माओवादीको विद्रोहले क्रान्तिको रूप धारण गर्न सम्भव थिएन । त्यो संगठनले विद्रोहका लागि तयार पारेको ‘विस्तारवाद र साम्राज्यवादको विरोध, जनवादी शिक्षा, त्यागमा आधारित पदलोलुपतारहित राजनीतिक चरित्र, रूढिग्रस्त सांस्कृतिक मूल्यहरूको विस्थापन र सामन्तवादी अभ्यासहरूको अन्त्य’ आदि नारा समेटिएको ‘विचार’ प्रकारान्तरमा आडम्बर मात्र ठहरियो । यथार्थमा त्यो शक्तिसँग आर्थिक–सामाजिक रूपान्तरण कसरी गर्ने भन्ने कुनै मार्गचित्र थिएन । तदर्थवादी परीक्षणकै बीच बनेको संघीय लोकतान्त्रिक संविधानलाई नै पनि बिनासर्त कार्यान्वयनमा लैजाने र त्यसका पक्षधर शक्तिहरूसँग मात्रै राजनीतिक सहकार्य गर्ने न्यूनतम नैतिक आधारसमेत बाँकी नभएको अहिले देखिएको छ । त्यसको एउटा मात्र प्रस्ट एजेन्डा गणतन्त्र स्थापनाको थियो, त्यसको सैद्धान्तिक धरातल पनि राप्रपासँगको सत्ताको लगनगाँठोले समाप्त पारेको छ ।

अबको नेपाली समाजको संरचना र त्यसका आकांक्षा गिजोलिएका छन् । ती दुवैलाई संश्लेषण गरेर अर्को क्रान्तिको भाष्य निर्माण गर्ने शक्तिको अभाव छ । त्यसैले नेपालको लोकतन्त्रलाई आफ्ना शासक फेर्न अर्को क्रान्तिबारे सोच्नचाहिँ नसक्ने, पटकपटक उनै पात्र र उस्तै प्रवृत्तिलाई सत्ताको बागडोर सुम्पने अनि तिनैमाथि गुनासाका कथा भनेर आनन्द लिने जनताको धिङ्न्याहा जडतन्त्रले निल्नै लागेको छ । शासक त फेर्न नसक्ने खण्डहर भएको प्रणालीबाटै मुलुकको अर्थ–सामाजिक मुहार फेरिने अपेक्षा गर्न पक्कै सकिँदैन ।

प्रकाशित : माघ ९, २०७९ ०८:००
प्रतिक्रिया
पठाउनुहोस्

ठिमाहा शासनका अन्तर्निहित जोखिमहरू

अच्युत वाग्ले

विश्वप्रसिद्ध पत्रिका ‘दी इकोनोमिस्ट’ को प्रकाशक ‘इकोनोमिस्ट ग्रुप’ को ‘इकोनोमिक इन्टेलिजेन्स युनिट’ ले फ्रत्येक वर्ष लोकतन्त्र सूचकांक (डेमोत्रेसी इन्डेक्स) सार्वजनिक गर्छ । यो सूचकाङ्कमा सन् २०२१ मा नेपाल १० पूर्णाङ्कमा ४ दशमलव ४१ मात्र अंक ल्याएर १६७ मुलुकमध्ये १०१ औं स्थानमा छ ।

अधिनायकवाद (शून्यदेखि ४), ठिमाहा शासन (४ देखि ६), खोटपूर्ण लोकतन्त्र (६ देखि ८) र पूर्ण लोकतन्त्र (८ देखि १० अङ्क) मध्ये नेपाल अधिनायकवादनजिकै रहेको ठिमाहा शासन (हाइब्रिड रेजिम) वर्गमा परेको छ ।

खास गरी अधिनायकवादबाट लोकतन्त्रमा रुपान्तरित हुन कठीन र लामो संक्रमणकाल खेपेका एसिया र मध्य अफ्रिकाका अधिकांश विकाशोन्मुख मुलुकमा यस्तो ठिमाहा शासन अधिक छ । आवधिक निर्वाचन हुनेमा सधैं संशय रहने वा भएका निर्वाचनमा हुने व्यापक अनियमितताहरूले लोकतन्त्रको मर्यादालाई बारम्बार खण्डित गर्ने, विपक्षको आवाजलाई दबाइने वा विपक्षले पनि सत्ताकै ताबेदारी

गर्ने, न्यायालयहरू स्वतन्त्र र विवादरहित नहुने, व्यापक भ्रष्टाचार हुने, सञ्चार क्षेत्रमा चरम दबाब पर्ने, विधिको शासनको पालना विरलै हुने, सुशासन एवम् सरकारको कार्यशैली अक्सर प्रश्नको घेरामा रहने, राजनीतिक संस्कार विकसित नभएका र उपलब्ध प्राकृतिक स्रोतलाई पनि आफ्नो मुलुकको हितमा सदुपयोग गर्न अक्षम मुलुकहरू ठिमाहा शासनको चक्रव्यूहमा छन् ।

लोकतन्त्रको वैश्विक तेस्रो लहरपछि स्थापित लोतन्त्रहरूलाई मूलतः दुई प्रकारको खिचावले पूर्ण लोकतन्त्रतर्फ स्वाभाविक गतिमा अघि बढ्न दिएको छैन । पहिलो, दार्शनिक आधार नै अधिनायकवाद भएका राजतन्त्रवादीहरू र साम्यवादीहरूले लोकतन्त्रलाई आफ्नो विचार, आचरण एवम् व्यवहारलाई रुपान्तरण गर्ने अवसर वा आवस्यकताभन्दा अनिच्छापूर्ण तथा ‘लादिएको’ राजनीतिक बाध्यताका रुपमा मात्रै लिए । परिणामतः उनीहरूको प्रतिस्पर्धी संसदीय प्रणालीको स्वीकार्यता अत्यन्तै धीमा गतिको छ । दोस्रो, सैनिक ‘कू’ वा निर्वाचित अधिनायकवादी हैकमले, मुख्य गरी धेरै अफ्रिकी देशमा, दशकौंसम्म एक–व्यक्ति–शासनलाई निरन्तरता दिएको छ ।

यी सबै चरित्रसहित, नेपाल वर्षौंदेखि यही ‘हाइब्रिड रेजिम’ को कोटिमा टाक्सिएको छ । यो जडतालाई तोड्न नसकेकै कारण नेपालमा पटक–पटक भएका राजनीतिक परिवर्तनहरूले मुलुकको दुर्दान्त नियतिलाई फेर्न नसकेका हुन् । नेपालका घोषित राजावादीहरू र अघोषित प्रतिगामीहरूलाई कतै लोकतन्त्रवादीहरूले शिरमा राख्न आमन्त्रण दिए त कतै वामपन्थीहरूले किस्तीमा राखेर सत्ताको लड्डु पस्के । मुलुकको वर्तमान अवस्थाले नेपालका आफूलाई लोकतन्त्रवादी भनाउन चाहने राजनीतिक दलहरू र नेताहरूले आफू सत्तामा भएका बेला मुलुकका लागि ठूलै उपलब्धि दिलाएका सबै दाबीलाई सम्पूर्णतः मिथ्या साबित गरिदिएको छ । यतिखेर, गएको संसदीय चुनावको परिणामपछि, राष्ट्रको राजनीतिको तुलो दक्षिणपन्थतर्फ क्रमशः गह्रौं हुँदै गएको छ । यो ती सनातन दल, मुलुक र लोकतन्त्रका लागि अत्यन्तै अनिष्टकारी संकेत हो ।

बहुदलीय राजनीतिको सत्त्व

सारमा, नेपालको बहुदलीय लोकतान्त्रिक राजनीति सङ्कटमा छ । बहुदलीय राजनीतिको सर्वस्वीकृत पूर्वसर्त भनेकै धेरै वटा प्रतिस्पर्धी विचारका आधारमा संगठित राजनीतिक दलहरूको अस्तित्व र विधिमा आधारित मतको प्रतिस्पर्धा हो । तिनै विचार र विचारसापेक्ष व्याख्या गरिएका राज्य सञ्चालनका नीति (पोलिसी), कार्ययोजना (प्लान) र रणनीति (स्ट्राट्रेजी) हरूबीचको फरकले ती दलहरूको पनि फरक पहिचान र अस्तित्वको औचित्य स्थापित गर्ने हुन् । कुन राजनीतिक दलको अर्को कुन दलसँग सहकार्य वा गठबन्धन हुने वा नहुने भन्ने कुराको आधार र निर्धारक पनि, बहुदलीय राजनीतिको सत्त्व कायम रहुन्जेल, तिनै विचार र आदर्श हुन् । नीति र रणनीति हुन् ।

नेपालको राजनीतिमा बहुदलीय व्यवस्था पुनःस्थापना भएपछिको दोस्रो आम निर्वाचनको लगत्तैदेखि फगत सत्तास्वार्थका लागि विपरीत वैचारिक ध्रुवका दलहरूबीच अस्वाभाविक र अप्राकृतिक गठबन्धन गर्ने अभ्यास शुरु भयो । मुख्य गरी त्यतिखेरको बहुदलीय लोकतान्त्रिक संविधानको विपक्षमा उभिएको राजतन्त्रवादी शक्ति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँगको परिवर्तनका संवाहक भनिएका नेपाली कांग्रेस र नेकपा एमालेले पालैपालो सत्ता साझेदारी गर्ने प्रतिस्पर्धा गरे । यसले राजनीतिक अग्रगमनको मार्ग अवरुद्ध गर्‍यो । कांग्रेसले सत्ता साझेदारी मात्रै गरेका बेला एमालेले अनुदारवादी पूर्वपञ्च लोकेन्द्रबहादुर चन्दलाई प्रधानमन्त्री पद नै दिएर शीरमा राख्यो ।

यदि बहुलीय व्यवस्था ल्याउन क्रान्ति गरेका दलहरूको त्यस्तो लज्जास्पद वैचारिक स्खलन नभएको भए गठबन्धनको त्यो गलत परम्परा शुरु त हुने थिएन नै, प्रतिगामी, विचारनिरपेक्ष एवम् दक्षिणपन्थी शक्तिहरूको राजनीतिक अस्तित्वसमेत क्रमशः कम हुँदै जान्थ्यो । उनीहरू अहिलेको जस्तो शासकीय समीकरण निर्धारणका मियो बनेर चलखेल र सत्ताको सौदावाजीमा सिंहगर्जन गर्न सक्ने हैसियतमा आइपुग्ने थिएनन् ।

त्यही २०५२ सालको गैरवैचारिक सत्ता लुछाचुँडीको नियति थप विकृत रुपमा र फैलँदो आयतनका साथ २०७२ सालको संघीय लोकतान्त्रिक संविधान लागू भएपछि पनि निरन्तर र≈यो । भर्खरै सम्पन्न आम निर्वाचनअघि चुनावी गठबन्धन बनाउने र निर्वाचन परिणामपछि सत्ता गठबन्धन बन्ने र भत्कने क्रममा हालै देखिएका नाटकीय परिदृश्यहरूले नेपाललाई आधारभूत रुपले विचारशून्य राजनीतिको ‘ब्ल्याक होल’ मा ल्याइपुर्‍याएका छन् ।

संसद्को अघिल्लो कार्यकालमा प्रधानमन्त्री केपी ओलीले पटकपटक संसद् विघटन गरेर संविधानको अस्तित्वलाई नै संकटमा पारेकाले त्यो ‘अधिनायकवाद’ विरुद्ध उभिएका पुष्पकमल दाहाल निमेषभरमै ओलीकै बैसाखी टेकेर सत्तारोहण गर्न तयार भए । संघीय गणतन्त्रात्मक संविधानको रक्षक र पक्षधर भएको दाबी गर्ने नेपाली कांग्रेसले राजतन्त्र पुनःस्थापना र संघीयताको खुलेआम विरोध गरिरहेको कट्टर दक्षिणपन्थी चरित्रको राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई प्रधानमन्त्री पद प्रस्ताव गरेको प्रचार राजावादीहरू जोडतोडले गरिरहेका छन् । दाहालले उस्तै विचारशून्य र संघीयताविरोधी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग निर्भर भएर संसद्मा नवगठित सरकारका पक्षमा विश्वासको मत प्राप्त गर्ने रणनीति लिएका छन् ।

जब राजनीतिक दलहरूको विचार एवम् मुलुकको आर्थिक–राजनीतिक रुपान्तरणको फरक दृष्टिकोणको राजनीतिलाई कोरा संसदीय अङ्कगणितको सत्तामुखी राजनीतिले पूर्णतः विस्थापित गर्‍यो, त्यसको दोष विगतमा त्रिशंकु स्वरुपको संसद्ले पायोÙ र, अहिले कुनै एक दललाई विरलै बहुमत प्राप्त हुने संविधानको मिश्रित निर्वाचन प्रणालीले पाएको छ । राजनीतिक स्थायित्वका लागि संविधान संशोधन नै गर्नुपर्ने माग पनि अगाडि आउन थालेको छ । यसका अन्तर्निहित अर्थ गम्भीर छन् । परिवर्तनका संवाहक र अग्रगामी भनिएका राजनीतिक दलहरू प्रकारान्तरले के भनिरहेका छन् भने, ‘हामी सबै परिचालित हुने एकल आधार संविधानमा लेखिएका अक्षरहरूको कोरा व्याख्याले दिने स्पेसमा हुने सत्ताको खेल मात्र होÙ संविधानका भावना, विचार, मूल्य र आदर्श होइनन् । अब राजनीतिमा सत्ताबाहेक यी कुनै पनि पक्षको अर्थ छैन ।’

यही कारण अघिल्लो सत्ता समीकरण टिकाउन नसकेको नेपाली कांग्रेसलाई लोकतन्त्रमा शक्तिशाली र प्रभावकारी प्रतिपक्षको भूमिका पनि कम महत्वको हुँदैन भन्ने बोध कतै भएको छैन । यसका नेता–कार्यकर्ता सत्ता गुम्दा सिङ्गो धरती नै भासिएझैं प्रतिक्रिया दिइरहेका छन् । सत्तारोहण गरेका दाहाललाई यो संघीयताविरोधीहरूसहितको नौमुखे रथ चढेर कुनै सार्थक परिणाम मुलुकका हितमा दिन सकिँदैन भन्ने थाहा नभएको होइन । ओलीलाई आफ्नो सत्तोसराप गरेर नथाकेका दाहाललाई लगाम आफ्नै हातमा भएको घोडामा राख्दा ठूलै आत्मतुष्टि पनि भएको होला । तर यसरी मुलुकलाई कुनै आशावादी मार्गमा अगाडि बढाउन सकिँदैन भन्ने यी पात्रलाई भलिभाँति थाहा छ । स्विकार्ने इमानदारी भने छैन ।

विचारशून्यताका दुष्परिणाम

सत्ताका अगाडि विचारको तेजोवध भएका यी एकाध उदाहरण मात्र हुन् । विगतमा वैचारिक आधारमा संगठित भएका र मुलुकमा राजनीतिक परिवर्तनका लागि भूमिका खेलेका दलहरूले तिनको मौलिक वैचारिक–दार्शनिक चरित्रहरूलाई सत्तास्वार्थमा विनिमय गरेकै कारण आफ्नो भविष्य संकटमा पारेका छन् । रास्वपा र राप्रपाजस्ता शक्तिहरूलाई यो हैसियतको राजनीतिक उपस्थिति दिलाउने खेलमैदान मूलधार भनिएका दलहरूकै अकर्मण्य व्यवहार र बढ्दो अलोकप्रियताका कारण उपलब्ध भएको हो । तर मुलुकको दुर्भाग्य के भने, आफ्ना यी कमजोरीहरूलाई स्विकार्न र सच्याउन यी ऐतिहासिक भनिएका दलहरूका अहंकारी नेतृत्व बिलकुलै तयार छैनन् ।

मतदाताको निराशा कुन तहमा छ र त्यो कसरी अभिव्यक्त भइरहेको छ भन्नेसम्मको आकलन गर्न नसक्ने दृष्टिदोषले नेता र दलहरूलाई गाँज्नुको मूल कारण पनि सत्तान्धता नै हो । उदाहरणका लागि, अहिले गृहमन्त्री रवि लामिछानेको नागरिकता मुद्दा चर्चामा छ । त्यसको न्यायिक निरूपणको आफ्नै बाटो छ । तर, उनलाई मत दिने, बदलिँदो समाजको एउटा ठूलो हिस्साका लागि दोहोरो नागरिकता र यस्ता कागजपत्र मिलाएर देश वा परदेश गरिरहने कुरा कमजोरी

नभएर सबलता हो । अथवा, अवसर र रोजीरोटीका अगाडि त्यो कुनै मुद्दा होइन । यो परिस्थिति निरन्तरको शासकीय अक्षमताका कारण युवा मानसिकतामा व्याप्त मुलुकप्रतिको ओइलाउँदो आशाले निर्माण गरेको हो । यसको जिम्मेवारी दलहरूले लिन चाहेका छैनन् । ठूला दलका नेताहरूलाई अहिले पनि आफूहरू यो मुलुकका भाग्यविधाता नै हौं र जस्तो हर्कत गरे पनि जनताले स्विकार्नुपर्छ भन्ने दम्भले छोपेको छ ।

दोस्रो जनआन्दोलन–२०६२/६३ पछि नेपालमा क्षेत्रीय राजनीतिको उदय हुँदै थियो । संघीयताको एउटा कडी क्षेत्रीय वा अन्य पहिचानलाई संवैधानिक आधार र ठाउँ दिनु पनि हो । क्षेत्रीयता र पहिचान दुवै उदाउँदो उत्तरवैचारिक राजनीतिका ‘विचारधारा’ हुन् । तर, अहिलेको कुनै वैचारिक आधार नभएको अथवा बेमेल विचारहरूको सत्ता गठबन्धनभित्रै उनीहरू पनि हराए (सबस्युम्ड) पछि नेपालको क्षेत्रीय राजनीतिको सम्भावनालाई पनि त्यसले प्रभावतः किनारीकृत गरिदिएको छ ।

यसरी द्रुत गतिमा क्षय हुँदै गएको वैचारिक राजनीतिको अस्तित्व वास्तवमा सामान्य घटनाक्रम होइन । यसले ‘हाइब्रिड रेजिम’ लाई थप अधिनायकवादतर्फ धकेल्ने र शासकीय क्षमतालाई कमजोर बनाउने जोखिम हुन्छ । त्यसको ज्वलन्त प्रतिविम्ब सरकारले बनाएको सत्तारूढ दलहरूको ‘साझा नीति तथा कार्यक्रम’ हो । अत्यन्तै फरक प्राथमिकता भएका अथवा आफ्नो दलको अर्थ–सामाजिक दृष्टिकोण नै निर्माण गर्न नसकेका शक्तिहरूले ल्याएको यो कार्यक्रम समस्याहरू सूचीबद्ध गर्ने यसअघिका दर्जनौं सरकारको भन्दा पटक्कै फरक छैन । देशले खोजेको गम्भीर आर्थिक प्रवृत्ति र जोखिमहरूबारे पुराना समस्याहरूको नयाँ सूचि होइन, तिनको समाधान गर्ने भरपर्दा उपायहरूको प्रस्तावना हो । ती प्रस्तावना कार्यान्वयन गर्न सक्षम नयाँ पात्रहरूको प्रस्तुति र उपस्थिति हो । आर्थिक व्यवस्थापनका लागि भरपर्दा स्रोतहरूको पहिचान हो । यी सबै पक्षमा यो सरकार पनि शंकाको लाभसमेत दिन नसकिने गरी निरीह किन देखिएको छ भने, फगत मिलिजुली सत्ताभोगका लागि कुनै वैचारिक समानता र दृष्टिकोण नझएका बहुरङ्गी दलहरू मिलाएर सरकार निर्माणको कसरत गरिएको छ ।

‘डेमोत्रेसी इन्डेक्स’ मा मात्र होइन, भ्रष्टाचार नियन्त्रण, सम्पत्ति शुद्धीकरण नियन्त्रण, लगानी वातावरण, सुशासन, आर्थिक दीगोपन, समावेशी विकास आदि अनेकौं विश्व सूचकांकमा नेपाल अत्यन्तै दयनीय दर्जामा छ । मुलुकको राजस्वले साधारण खर्च पनि नधान्ने विद्यमान अवस्थामा आर्थिक स्रोत जुटाउने कुनै भरोसायोग्य योजना अघि नसारी यो वा त्यो गर्छु भन्ने सरकारी दाबी चरम लोकरिझ्याइँ मात्र हो । नेपालको साख र छवि एउटा सम्भावनायुक्त मुलुकका रुपमा पुनःस्थापना गर्न विचार र मूल्ययुक्त वास्तविक अर्थमा बहुदलीय राजनीतिलाई पनि फर्काउनु अपरिहार्य छ ।

नेपाललाई ‘हाइब्रिड रेजिम’ को चङ्गुलबाट बाहिर निकालेर लोकतन्त्रीकरणको अविचलित बाटोमा अग्रसर गराउन राष्ट्रिय बौद्धिक बहस पनि सत्ताको अङ्कगणित र पात्रको स्यालहुइयाँबाट मुक्त हुनु जरुरी छ ।

प्रकाशित : पुस २५, २०७९ ०७:४८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×