दुर्गमको स्वास्थ्य अवस्था र सरकारी घोषणा - विचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दुर्गमको स्वास्थ्य अवस्था र सरकारी घोषणा 

ढुण्डीराज पौडेल

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारी अस्पतालहरूमा देखिएका बेथिति, ढिलासुस्ती र अव्यवस्थालाई उजागर गरिदिँदै हालै शल्यक्रियाका लागि महिनौं कुर्नुपर्ने बाध्यता कहिले अन्त्य हुने भनेर प्रश्न गरेका छन् । प्रधानमन्त्री दाहाल स्वयंले नै वीर, कान्ति लगायत सार्वजनिक अस्पतालको स्थलगत अध्ययन गरी सुधार्ने प्रतिबद्धताका साथ यो सवाल गरेका हुन् भने अवश्य सुधारका ढोकाहरू खुल्नेछन् । 

नत्र विगतका अन्य प्रतिबद्धताजस्तै यो पनि विस्मृतिमा हराउनेछ । अस्पतालको बहिरंग विभागको टिकट लाइन हटाउन सामान्य विद्युतीय प्रविधिबाटै सम्भव हुन्छ । तर शल्यसेवाको महिनौं पर्खाइलाई हटाउन प्रधानमन्त्रीको निर्देशनबाट मात्र सम्भव छैन । शल्यसेवामा वृद्धि गर्न कक्ष या भवन, उपकरणसँगै पूर्णकालीन दक्ष विशेषज्ञ एवम् अन्य चिकित्साकर्मीको अपरिहार्यता आत्मसात् गरे मात्र यस्तो अभिव्यक्ति सार्थक हुनेछ । हााजिर गरेको भरमा जागिर पाक्ने र पार्टी या नेताको ताबेदारी गरे लाभहरू पाइने परिस्थिति रहँदासम्म कसरी स्वास्थ्य सेवालाई सुधार्न सकिन्छ ?

‘एक चिकित्सक, एक संस्था’ को अवधारणा अनुसार युवा विशेषज्ञ चिकित्सकहरूलाई पूर्णकालीन रूपमा काममा लगाउन सके शल्यक्रिया सेवामा उल्लेख्य सुधार गर्न सकिन्छ । तर, सरकारी अस्पतालहरूका वरिष्ठ चिकित्सकहरूको निजी क्षेत्रसँग स्वार्थ गाँसिएकाले यो नीति कार्यान्वयन हुन सकिरहेको छैन । दाहाल नेतृत्वको माओवादीले पटकपटक शिक्षासँगै स्वास्थ्य मन्त्रालय पनि सम्हालिसकेको छ । तर सार्वजनिक अस्पतालको चिकित्सा सेवाको गुणात्मक एवम् मात्रात्मक प्रवर्द्धनलाई महत्त्व दिएन । निजी क्षेत्रकै पक्षपोषण गर्नेहरू त्यहाँ पनि हावी हुन पुगे । संविधानमै उल्लेख गरिएको आकस्मिक सेवालाई निःशुल्क बनाउने प्रावधान व्यावहारमा उतार्न सक्नुपर्थ्यो । अन्तर्राष्ट्रिय मान्यता अनुसार पनि कुल बजेटको दस प्रतिशत स्वास्थ्यमा छुट्याउनुपर्ने माग पटकपटक उठेको हो, जसको सुनुवाइ भएको छैन । सीमित बजेटको ठूलो अंश चुहाहट हुने वा ‘फ्रिज’ हुने अवस्था यद्यपि छ । वर्तमान सरकारले स्वास्थ्यबारे अमुर्त र लामालामा नीतिहरू घोषणा गरे पनि जटिल प्रसूतिको हवाई उद्धारबाहेक अनिवार्य आकस्मिक सेवा सम्बन्धमा ठोस कार्यक्रमहरू प्रस्तुत गरेको छैन । कम्तीमा सहज यातायातको व्यवस्था भएको स्थानमा एम्बुलेन्स र सो नभएको स्थानमा चोटपटक एवम् अन्य गम्भीर अवस्थाका बिरामीहरूको तत्काल उद्धार र उपचारबारे ठोस कार्यक्रम घोषणा गर्नुपर्थ्यो ।

केही साताअघि पंक्तिकार चिकित्सकीय सेवा एवम् तालिम दिन कर्णालीको कालीकोट एवम् सुदूरपश्चिमको बझाङको साइपाल क्षेत्र पुग्दा नागरिकका लागि प्राथमिक सेवासमेत दुरूह रहेको अनुभूति भयो । गरिबीको स्वरूप या स्तर तराईमा झनै विकराल भए पनि विशेष गरी आकस्मिक स्वास्थ्य समस्या आइपर्दा पहुँच या यातायातका कारण हिमाल एवम् पहाडका निवासीहरूको जीवन ज्यादा कष्टकर हुने गर्छ । एउटै वडाभित्रको प्राथमिक स्वास्थ्य सेवा एकाइमा पुग्नसमेत कैयौं घण्टाको कठिन यात्रा गर्नुपर्ने स्थिति छ । कर्णाली तथा सुदूरपश्चिम प्रदेशका कतिपय जिल्ला सदरमुकाममा भरपर्दो सडक यातायात छैन । अन्य ग्रामीण क्षेत्रको हालत झन् नाजुक छ । यस्तो स्थानमा स्वास्थ्य संस्थाको स्थापना यथासम्भव पायकमा पर्ने गरी बनाउनु या सम्भव नभए विशेष गरी चोटपटकसहितका गम्भीर र आकस्मिक समस्या आइपर्दा निःशुल्क उद्धारको दायित्व सरकारहरूबाट निर्वाह हुनुपर्छ ।

स्वास्थ्य संस्थाको भौतिक संरचना

सबै भौगोलिक क्षेत्रमा स्वास्थ्य मन्त्रालयले तोकेको एकै मापदण्डको भवनहरू बनाउन व्यावहारिक छैन । जस्तो, साइपालमा निर्माणाधीन अस्पताललाई हेलिकप्टरबाट सिमेन्ट, छड ओसारिरहिएको छ । अनुमान गरेको १० करोडको लागत भवन मात्रै तयार गर्दा २० करोड नाघ्ने अझै अस्पताल सञ्चालन गर्दा ३० करोड रुपैयाँ पुग्ने सम्भावना छ । त्यसपछि आवश्यक उपकरणसहित चिकित्सक एवम् स्वास्थ्यकर्मीको व्यवस्था पनि हुनुपर्‍यो । तसर्थ भूकम्प प्रतिरोध हुने गरी स्थानीय काठ एवम् कच्चापदार्थ प्रयोग गरी वैकल्पिक प्रविधिहरूबाट हल्का खालका भवनहरू निर्माण गर्दा सहज र स्थानीयलाई पनि फाइदा पुग्छ ।

विशेषज्ञ चिकित्सकहरूको व्यवस्था कसरी ?

अहिले चिकित्सकहरूले जुनसुकै विशेषज्ञता हाासिल गरे पनि (सीमित खुला पदबाहेक) स्थायी हुन आठौं तहको ‘जेनरल हेल्थ सर्भिसेज’ को परीक्षामा सामेल हुनुपर्छ, जुन उनीहरूका निम्ति कठिन र असान्दर्भिक पनि हुन्छ । विशेषज्ञता हासिल चिकित्सकहरूका लागि सम्बन्धित विषयमा परीक्षा लिनु वाञ्छनीय हुन्छ । यसबाहेक अहिलेको द्वितीय श्रेणीको नवौं या दसौंको सट्टा नेपाल प्रहरीमा कायम, दुवै तहको छुट्टाछुट्टै दरबन्दी राख्नुपर्छ । यसलाई अपनाउन स्वास्थ्य मन्त्रालयमा कायम विशेषज्ञ चिकित्सकहरूको दरबन्दी दुई गुणा जति बढाउन सकिन्छ ।

विभिन्न विधाका शल्यचिकित्सकसहित अन्य विधाका चिकित्सकहरूलाई उचित सुविधासहित उच्च मनोबलका साथ मोफसलका जिल्लाहरूमा पठाउन सकिन्छ । अहिले मोफसलका चिकित्सकहरूलाई केन्द्रमा थुपारिएको छ । तिनलाई बस्ने कुर्सी पनि छैन, काम पनि छैन । मातहतका कतिलाई कुन अस्पतालहरूबाट केकति विशेषज्ञ सेवा प्रदान गरियो, अझै कति नियमित शल्यक्रिया तथा आकस्मिक सेवाहरू सम्पादित भए ? किन र कति अन्यत्र प्रेषित भए ? कुन विशेषज्ञले केकति विशेषज्ञ सेवा दिए ? यसको सुपरिवेक्षण र कामका आधारमा पारिश्रमिक र पारितोषिकको व्यवस्था लागू हुन सकेको छैन ।

छात्रवृत्ति र अनिवार्य करारको प्रावधानले जिल्लाहरू चिकित्सकविहीन बन्न परेको छैन । विगतमा नरुचाइने सरकारी स्वास्थ्य सेवा विशेषज्ञ चिकित्सकहरूका लागि पहिलो रोजाइ बन्न पुगेको तथ्य हालै नाक कान घाँटी समूहको एघारौं तहको १ पदको खुला विज्ञापनमा ४४ जनाले दरखास्त दिएका र २५ जना जति परीक्षामा संलग्न हुनुले प्रस्ट हुन्छ । केही महिनाअघि सोही समूहको नवौं तहमा पनि यस्तै प्रतिस्पर्धा भएको थियो । एकातिर ठूलो संख्यामा विशेषज्ञ चिकित्सकहरू बेरोजगार या अर्धबेरोजगार छन् अर्कातिर स्वास्थ्य मन्त्रालय अन्तर्गत सरकारी स्वास्थ्य सेवामा अत्यन्तै न्यून विशेषज्ञ चिकित्सकहरू छन् । विशेषज्ञ चिकित्सकहरू मुख्यतः औषधिद्वारा उपचार गर्ने फिजिसियन (जेनरल, बालरोग, अति विशिष्ट), शल्यक्रिया (जेनरल, अति विशिष्ट सर्जन, हाड जोर्नी, स्त्री रोग आदि), बेहोस गर्ने एनेस्थेसियोलोजिस्ट, रोग निदान गर्ने रेडियो प्याथोलोजिस्ट आदि विभिन्न समूहका रहने गर्छन् । विशेषज्ञ सेवाप्रवाहका लागि यी सबै विशेषज्ञता परिपूरक हुन् । चिकित्सा सेवालाई एकांकी रूपमा विकास गर्न नसकिएजस्तै कुनै विशेषज्ञतालाई पनि सोहीअनुरूप हेर्नु हुन्न । स्तरीय विशेषज्ञ सेवाको प्रवाहमा विभिन्न विशेषज्ञताबीच समन्वय आवश्यक पर्छ । यो सबै विषय प्रधानमन्त्री दाहालले बुझेका छन् त ?

प्रकाशित : माघ ८, २०७९ ०७:२४
प्रतिक्रिया
पठाउनुहोस्

जाडोको कहर

ढुण्डीराज पौडेल

स्वास्थ्यकर्मीका रूपमा ३९ वर्षअघि पुसको चिसोमा म मध्यपश्चिम पहाडी जिल्ला पुगेको थिएँ । हरेक जाडो मौसममा मलाई त्यही गाउँको सम्झना हुने गर्छ । छेत्रीहरूको बाहुल्य रहेको सो गाउँका प्रायः पुरुष मजदुरीका लागि अन्यत्र गएका थिए । दुई साथी र मैले बल्लबल्ल बास पाएको घरको अवस्था निकै दयनीय थियो । ससाना चार बालबालिका हामी पुग्दा अगेनामै टाँसिइरहेका थिए । तिनका हातहातमा कोदाका रोटी थिए । 


उनीहरू परालकै ओछ्यान, परालकै ओढ्नेका भरमा रात कटाउने रहेछन् । रातभरि अगेनामा धूवाँ पुतपुताइरहेको हुन्थ्यो । धूवाँले तातो हुन्छ भनेर सम्झाउँदै आमाले छोराछोरी सुताउन खोज्थिन् तर रातिको चिसोले बालबालिका सुत्न सक्दैनथे । रोइरहेको आवाज आइरहन्थ्यो । मध्यबेंसी तथा बेंसीमा घर–खेत हुनेहरू पहाडको टाकुराबाट जाडो छल्न झर्ने गर्थे तर यो परिवारको कतै केही थिएन ।

आज चार दशकपछि पनि यस्तो स्थितिमा परिवर्तन आएको छैन । वैदेशिक रोजगारीमा गएकाहरूले आफ्नो आर्थिक अवस्थालाई थोरै उकासे पनि धेरै परिवारको हालत यस्तै छ । जाडोबाट जोगिन पनि तिनलाई गाह्रो हुने गर्छ । आर्थिक अवस्था कमजोर भएका देशैभरिका लाखौं परिवारको जीवनमा हिउँद सुरु हुनेबित्तिकै कष्ट थपिने गर्छ ।

पहिले बस्ती नजिकका वनजंगलबाट दाउरा सहजै ल्याउन सकिन्थ्यो । अहिले धेरै ठाउँमा सामुदायिक वनले गर्दा चाहिएका बेला दाउरा पाइन्न । जाडोका लागि त महिनौंअघिदेखि दाउराको जोहो गर्नुपर्छ । जोहो गर्न नसक्ने परिवारको हालत निकै नाजुक हुन्छ । पहाड मात्र होइन, तराई–मधेशका आर्थिक रूपमा कमजोर परिवारलाई पनि जाडोबाट जोगिन मुस्किल पर्छ । घर निकै कमजोर हुन्छ । बर्सेनि शीतलहरमा धेरै व्यक्तिले ज्यान गुमाउने गर्छन् । विशेष गरी बालबालिका र वृद्धवृद्धालाई शीतलहरबाट जोगाउन हम्मे हुन्छ । प्रत्येक दिन मजदुरी गरेर परिवारको आवश्यकता पूरा गर्नुपर्नेहरूलाई स्याँठको परबाह नगरी काममा निस्कनुपर्ने हुन्छ, जति बेला उनीहरूका आङमा न्यानो लुगा पनि हुँदैन ।

शरीरको तापक्रम ४१.५ डिग्री सेल्सियसमाथि वा ३५ डिग्री सेल्सियसभन्दा कम हुनु घातक हुन सक्छ । एक्कासि २९ डिग्रीभन्दा कम हुन गए ‘हाइपोथालामस’ ग्रन्थिको तापक्रम नियमन प्रणाली नै असफल हुने सम्भावना हुन्छ । तापक्रम अत्यन्तै न्यून हुँदा रक्तकोषसहित मुटु, मस्तिष्क, मृगौला आदिमा रक्तप्रवाह अवरुद्ध हुन गई व्यक्तिको मृत्यु हुन सक्छ ।

चेतनाको अभावमा मानिसहरू जाडो भगाउन भन्दै रक्सी खाने गर्छन् । रक्सी निलेपछि सीधै आमाशयमै सोसिन जाँदा मानिसमा न्यानोको गलत भ्रम पैदा हुन्छ । रक्सीले रक्तनलीहरू फैलाउनाले रक्त प्रवाह बढ्न जाँदा न्यानोजस्तो लागे पनि चिसोमा उल्टो तापको क्षयीकरण हुन जान्छ । यसरी जाडोमा रक्सीले ‘हाइपोथालामस’ बाट सम्पादित हुने तापक्रम नियन्त्रण एवम् नियमन गर्ने स्वचालित प्रणालीलाई नै असर गर्छ । तसर्थ चिसोमा न्यानोका लागि रक्सी खाँदा झन् असर हुन्छ ।

जाडोले फोक्सो एवम् श्वास प्रणालीमा पनि असर गर्छ । त्यसैले नाक र घाँटीदेखि फोक्सोमा समेत विभिन्न संक्रामक रोग बढ्न थाल्छन् । खोकी, दम बल्झिन सक्छ । त्यसैले बिँडी, चुरोट, तम्बाकुको उपयोग झनै हानिकारक हुन्छ । दम, मधुमेह, उच्च रक्तचाप, मुटु, कलेजो, मृगौला आदिका दीर्घरोगीलाई जाडोले झनै पिरोल्ने गर्छ ।

धेरैजसो घरमा जानकारीको अभावमा जाडो भगाउन झ्यालढोका बन्द गरेर आगो बाल्ने गरिन्छ, जुन काम श्वासप्रश्वास प्रणालीका निम्ति अत्यन्त हानिकारक हुन्छ । वरिष्ठ चिकित्सक मृगेन्द्रराज पाण्डेको करिब ३० वर्ष पुरानो अनुसन्धानले यो तथ्यलाई पुष्टि गरिसकेको छ । धूमपानजस्तै भान्साको धूवाँ पनि अति हानिकारक हुन्छ भन्ने उनको निचोड छ । न्यानोका लागि झ्यालढोका बन्द गरेर आगो बाल्दा, बर्सेनि धेरैले ज्यान गुमाउने गरेका छन् ।

गाउँघरमा मात्र होइन, निकै प्रदूषित वातावरण भएको काठमाडौं उपत्यकामा समेत श्वासप्रश्वासका बिरामी बढ्न थालेका छन् । बिहान हिँड्न बन्देज लगाउनुपर्ने अवस्था आएको छ । चिकित्सकहरूले जाडो महिनामा भरसक काम नपरी घरबाहिर ननिस्कन सल्लाह दिने गरेका छन् ।

पछिल्लो समय शासनसत्तामा लोकतान्त्रिक समाजवाद, कल्याणकारी राज्य व्यवस्थादेखि जनजीविकाको सुनिश्चितताको नारा दिने कम्युनिस्टहरू नै हावी हुँदै आएका छन् । उनीहरूले अपनाएको वितरण प्रणाली, नीति तथा कार्यक्रममा अत्यन्तै विपन्न परिवार तथा बालबालिका समेटिँदैनन् । न्यानो कपडा र आवासको अभावमा कठ्याङ्ग्रिन बाध्य व्यक्तिहरूको जीवनमा सुधार कसरी ल्याउन सकिन्छ ? के नेताहरूलाई भूमिगत अवस्थामा रहँदा दूरदराजका गाउँहरूमा जाडो याममा त्यहाँका विपन्न परिवारले कति कष्ट पाउँथे भन्ने सम्झना छैन ? अहिले विभिन्न तहका सरकार क्रियाशील छन्, उनीहरूले यो मुद्दामा काम गर्नुपर्छ । राजनीतिक दल तथा नेताहरूले यो विषयलाई प्राथमिकतामा राख्नुपर्छ । न्यून आय भएका परिवारको आर्थिक हैसियत कसरी उकास्ने भन्नेमा पनि उत्तिकै चासो लिनुपर्छ । अनि मात्र निम्न वर्गका परिवारलाई जाडोबाट जोगाउन सकिन्छ ।

प्रकाशित : पुस ५, २०७९ ०७:५८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×