सबैका आँखा राष्ट्रपतिमा- विचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सबैका आँखा राष्ट्रपतिमा

राष्ट्रपति निर्वाचनलाई अत्यधिक राजनीतीकरण गर्नु गणतन्त्रको फैलिँदो जरालाई काट्न खोज्नुसरह हो।
चन्द्रकिशोर

राष्ट्रपति । देशको प्रथम नागरिक । संविधानको प्रमुख संरक्षक । दलीय राजनीतिभन्दा माथिको स्थान । संविधानले परिकल्पना गरे बमोजिम आम नेपालीका लागि यस्तो प्रिय नायक पदको निर्वाचन नजिकिँदै छ । तर बहस अबको राष्ट्रपति को हुनेभन्दा पनि कुन दलले त्यो पद कब्जा गर्ने भन्नेमा बहकिएको छ ।

गणतन्त्र संस्थागत हुँदै भुइँमान्छेको आकर्षणको केन्द्र बन्न अझै लामो यात्रा बाँकी छ । यस्तोमा राष्ट्रपति संविधानको संरक्षकका रूपमा प्रस्तुत हुने व्यक्ति हुनुपर्छ, दलविशेषको हितरक्षा गर्ने देखिनु हुँदैन । राष्ट्रपति राष्ट्रिय सरोकारसँग अवगत तथा मजबुत नेपालको चेहरा बन्ने क्षमताको हुनुपर्छ । टाकुराको यस पदमा उक्लिने व्यक्ति देशको आदर्श अभिभावक हुनुपर्छ ।

‘प्यादे सों फर्जी भयो’

नेपालको संवैधानिक व्यवस्थामा मर्यादाक्रममा सबैभन्दा श्रेष्ठ पद राष्ट्रपति हो । पछिल्लो समय राष्ट्रपतिको निर्वाचनलाई लिएर जसरी राजनीति भइरहेको छ, त्यसले यो पदको गरिमा क्षरण गरेको छ । आम चुनावपछि, स्वतन्त्र कि राजनीतिक पात्रको खोजी होस् वा पर्दापछाडिबाट अमुक पात्रलाई छान्ने चेष्टा, कुनै पनि कार्य विवादरहित रहेन । आफ्नो अनुकूलको पात्रलाई त्यस पदमा पुर्‍याउने दाउपेच चल्दै छ । र, यो अचानक भएको होइन ।

सिद्धान्ततः राष्ट्रपतिमा चुनिइसकेपछि व्यक्तिविशेषको कुनै निजी विचारधारा रहँदैन; जे कुराले लोकतन्त्र र देशको हित हुन्छ, त्यही उसको विचारधारा र सिद्धान्त बन्नुपर्छ । पछिल्ला वर्षहरूमा भित्र्याइएको प्रवृत्तिले यो संस्थालाई ‘साबिक’ को राजसंस्थाजस्तै शक्तिको स्रोत मान्यो । सत्तारूढ दलहरूले यही मानसमा मलजल गरे । संविधानको अन्तर्य एउटा देखियो, अभ्यासबाट अर्को नजिर बनाइयो । कालान्तरमा त्यही नजिर परम्परा बन्ने भयो ।

हामीले राष्ट्रपति रामवरण यादव र विद्यादेवी भण्डारीको कार्यकाल भोग्यौं । यादवको कालखण्डको संविधान र दायित्वभन्दा पृथक् अवस्थामा वर्तमान राष्ट्रपति छिन् । पहिला अन्तरिम संविधान थियो, शान्ति प्रक्रिया र संविधान निर्माणलाई पूर्णता दिनु थियो । मूलप्रवाहीकरणका लागि कोलाहल मच्चाइरहेका अनेकौं समुदायलाई भरोसा दिनु थियो । सेना सशंकित थियो, जसलाई आश्वस्त पार्नु थियो । अन्तर्राष्ट्रिय रूपमा नेपालको विश्वास बढाउनु थियो । दोस्रो राष्ट्रपतिको समयमा संविधान आइसकेको थियो । संविधान कार्यान्वयनको आयतनलाई फराकिलो बनाउँदै मुलुकको भावनात्मक एकीकरण गर्नु थियो । राष्ट्रपतिलाई एउटा आदर्श एवं विश्वसनीय संस्थाका रूपमा उजिल्याउनु थियो तर यो गुरुतर कार्यभारमा कतै रिक्तता रह्यो । यो रिक्ततालाई आफ्नो शक्ति सञ्चयका लागि अवसर देख्ने शक्तिहरू अहिले राष्ट्रपतिमा आफ्नो कठपुतली खोज्दै छन् कि भन्ने चिन्ता भुइँतहमा व्याप्त छ ।

वर्तमान राष्ट्रिपतिसँग निकट अतीतको अभ्यासबाट प्राप्त गोरेटोलाई लोकमार्ग बनाउने प्रशस्त मौका थियो, तर उनी चुकिन् । राष्ट्रपति भण्डारी आफ्नो पूर्वको मातृसंस्था र त्यसका अध्यक्षप्रतिको अतिरिक्त रुझानले कतिपय अवस्थामा राष्ट्रले अपेक्षा गरे अनुसार तटस्थ रहन सकिनन् । फलतः राष्ट्रपति संस्था लिकबाट उछिट्टियो । उसो त उनको कार्यकालमा शीतलनिवासमा केही ‘अच्छा’ कामहरू गर्ने यत्न भयो तर त्यो पनि उनकै कारणले ओझेलमा पर्‍यो ।

उसो त यादवको समयमा राष्ट्रपति संस्था भूराजनीतिक व्यूहमा परिसकेको थियो । तर त्यसपछि अन्तर्राष्ट्रिय शक्तिकेन्द्रको घर्षणमा पर्‍यो । संसद्, प्रधानमन्त्री, अदालत वा अन्य आन्तरिक शक्तिकेन्द्रहरूलाई भन्दा राष्ट्रपति संस्थालाई अनुकूल बनाउने सोच बढ्यो । राष्ट्रपतिलाई प्रभावमा लिन सके अनेकौं मूर्त–अमूर्त योजना सम्भव हुन सक्ने सन्देश फैलियो । यसले पनि राष्ट्रपति पदमा सबैको चासो बढाएको छ ।

गणतन्त्रको जरा

सत्तापक्ष र प्रतिपक्षले आम सहमति बनाएर राष्ट्रपतिको उम्मेदवार छनोट गरे, एकदम आदर्श स्थिति भैहाल्यो । नयाँ चुनिएर आउने राष्ट्रपतिको चालु संवैधानिक व्यवस्थामा त्यत्तिकै सम्मान र अधिकार संरक्षित रहन्छ, जति यस परम्पराका अरू व्यक्तिहरूको रह्यो । वञ्चित एवं शोषित समाजसँग जोडिएको व्यक्ति कुनै संवैधानिक पदमा आसीन हुन्छ भने उसले त्यस समाजलाई स्पन्दित मात्र गर्दैन, मुख्य धारासँग जोड्न पनि सघाउँछ । लोकतन्त्रमाथि त्यस समुदायको विश्वास मजबुत हुन जान्छ । सँगै, अनुभवले भन्छ— वञ्चित समुदायको व्यक्ति यो पदमा पुग्नु मात्रले यसको गरिमा बढ्दैन, न त राष्ट्रपतिको संवैधानिक अधिकारमा कुनै बदलाव आउँछ । नयाँ राष्ट्रपति थारू, दलित, जनजाति वा जोकोही बने पनि उसले खासै केही गर्न सक्दैन; मनोवैज्ञानिक प्रभाव मात्र दिने हो । गर्ने त वास्तवमा संसद्ले हो । त्यसैले राष्ट्रपति निर्वाचनलाई अत्यधिक राजनीतीकरण गर्नु गणतन्त्रको फैलिँदो जरालाई काट्न खोज्नुसरह हो ।

रोजिएको राष्ट्रपति संस्था

विज्ञहरूका अनुसार, राष्ट्रपति प्रणाली तीन प्रकारका हुन्छन् । पहिलो, राष्ट्रपति प्रणाली जसमा राष्ट्रपति राज्य र सरकारप्रमुख हुनुका साथसाथै राष्ट्रिय सेनाका प्रमुखसमेत हुन्छन् । दोस्रो, अर्धराष्ट्रपति प्रणाली जसमा राष्ट्रपतिले प्रधानमन्त्रीका साथ काम गर्छन् । तेस्रो, संसदीय प्रणाली जसमा राष्ट्रपति केवल राज्यका प्रमुख हुन्छन् तथा प्रधानमन्त्री सरकारका अगुवा । नेपालको संविधान अनुसार राष्ट्रपति देशको प्रथम नागरिक हो भने प्रधानमन्त्री कार्यपालिकाको नेता ।

राष्ट्रपति मुलुकको सर्वोच्च पद हो भने प्रधानमन्त्री सबैभन्दा शक्तिशाली व्यक्ति । राष्ट्रपतिले विधेयकहरूमाथि आफ्नो सहमति, सुझाव र सिफारिस गर्ने हो । राष्ट्रपतिको सहमतिबिना विधेयक कानुन बन्दैन । यता प्रधानमन्त्रीले सदनले पारित गर्ने नीति तथा विधेयकहरूलाई हेर्छ । राष्ट्रपतिले सामान्यतः राजनीतिक प्रकृतिका अपराधमा माफी दिन सक्छ । त्यसमा नाम राष्ट्रपतिको भए पनि सिफारिस नेपाल सरकारको हुन्छ । नेपालको संविधान उल्लंघन गरे बहालवाला राष्ट्रपतिलाई महाभियोगका माध्यमबाट हटाउन सकिन्छ । यता प्रतिनिधिसभामा पेस गरिएको अविश्वास प्रस्ताव पारित भए प्रधानमन्त्री पदमुक्त हुन सक्छ ।

प्रधानमन्त्रीको नियुक्ति राष्ट्रपतिद्वारा गरिन्छ तर उसले संसद्को विश्वास देखाउनुपर्ने हुन्छ । प्रधानमन्त्री मन्त्रिपरिषद्का प्रमुख, राष्ट्रपतिका मुख्य सल्लाहकार तथा मुलुकको सरकारका प्रमुख पदाधिकारी हुन्छ । प्रधानमन्त्रीको पद ग्रहण गर्नुअघि राष्ट्रपतिद्वारा पद तथा गोपनीयताको शपथ दिलाइन्छ । राष्ट्राध्यक्षका रूपमा उसको कर्तव्य हुन्छ— सरकारका नीतिहरू संविधानका आदर्श एवं लक्ष्य अनुरूप नभएको लागेमा नीतिगत मामिलामा प्रधानमन्त्रीलाई सल्लाह दिनु । राष्ट्रपतिमा प्रधानमन्त्रीसमक्ष आफ्नो विचार राख्न सक्ने नैतिक साहस हुनुपर्छ, त्यसलाई चुनिएको सरकारले मन पराओस् कि नपराओस् । राष्ट्रपति लोकरिझाइँको गोलचक्करमा फस्नु हुँदैन । उसले कुनै दलको नारालाई भन्दा बढी नागरिकलाई ध्यान दिनुपर्छ ।

हाम्रै निकटको अनुभवले राष्ट्रपति त्यस्ता राष्ट्रिय सवालहरूमा मौन रहन्छ, जहाँ उसमाथि आफूलाई निर्वाचित हुन टेवा दिने दलको दबाब हुन्छ । यसले गर्दा राष्ट्रपति संस्था विवादमुक्त रहन सकेन । त्यसैले राष्ट्रपतिमा यस्तो व्यक्तिको खोजी गरिएको छ, जसको निर्णय प्रक्रियालाई लिएर विपक्षी दलहरूसमेत विश्वस्त रहून् । किनकि कैयौं पटक सत्ता गठबन्धनको खिलाफ राष्ट्रपतिको ध्यानाकर्षण गराउनुपर्ने हुन्छ । व्यक्तिविशेष राष्ट्रपति भैसकेपछि, त्योभन्दा माथिको पद रहन्न; यस्तोमा राष्ट्रपति संविधानको संरक्षकका रूपमा देखिनैपर्छ । सँगै उसले नेपाल विविधता बोकेको समाज हो भन्ने पनि बिर्सनु हुन्न ।

प्रधानमन्त्री–राष्ट्रपति समीकरण

प्रधानमन्त्री–राष्ट्रपति सम्बन्ध संविधानमा परिभाषित गरिएको छ । तर, यो सम्बन्धमा चिरा पर्ने गरेको सन्दर्भ पटकपटक बाहिरिने गरेको छ । मुलुकले दुई राष्ट्रपतिलाई बेहोरिसक्यो । प्रधानमन्त्री र राष्ट्रपतिबीच कटु–मधु सम्बन्ध भइरह्यो । अनुभवले भन्छ, यो सम्बन्धले नयाँ व्याख्या खोजेको छ । राष्ट्रपति सेवानिवृत्त भएपछि प्रधानमन्त्रीको अभिव्यक्ति केवल शाब्दिक वा आलंकारिक देखिनु हुँदैन । यो सम्बन्धको संवैधानिक पवित्रता कायम राख्नु आवश्यक छ ।

बिदा हुन लाग्दा राष्ट्रपतिलाई लिएर कुनै प्रधानमन्त्रीले यस्तो अभिव्यक्ति देओस्, ‘सदैव देशलाई तपाईंको भूमिकाप्रति गर्व रहनेछ । तपाईंको विरासतले अहर्निश हामीलाई मार्गदर्शन गरिरहनेछ । तपाईंसँग कदमताल मिलाएर देशहितमा अघि बढ्न पाउँदा गौरव लाग्छ ।’ यो हो आदर्श अवस्था । यस्तो राष्ट्रपति पो चाहिएको हो । तर हामी सञ्चारमाध्यमदेखि संसद्सम्म यी दुई व्यक्तिबीचको विवाद सुन्ने नियतिमा हुर्कियौं । यसो हुनुमा गणतन्त्र ल्याएको दाबा गर्ने दलहरू नै दोषी छन् । नेपाली सत्ताशक्तिको असली साँचो राष्ट्रपति संस्थालाई सुम्पिने अघोषित प्रतिस्पर्धा जो छ । बरु दलहरू प्रधानमन्त्री पद छाड्न तत्पर देखिए तर राष्ट्रपतिमा आफ्नै रोजाइको खोजी गर्न थालियो । यसले गर्दा राष्ट्रपति पद एकाएक सबैको अर्जुनदृष्टिमा पर्‍यो ।

नेपालको संविधानप्रतिको निष्ठा र त्यसमा निहित जिम्मेवारीका रूपमा राष्ट्रपतिले आफूलाई बढाइराखे नेपाली तन्त्रमा राष्ट्रपति–प्रधानमन्त्री विवाद–असहमति अतीतको विषय बन्न सक्छ । राष्ट्रपति–प्रधानमन्त्रीका विचार दुई ध्रुवको जस्तै अलगअलग हुनुपर्छ भन्ने पनि होइन । प्रधानमन्त्री र राष्ट्रपतिबीच कहिल्यै कटुता नदेखिनु नै बेस । संवैधानिक मर्यादाको पालन दुवैले गर्नुपर्छ । के यस पटक अपेक्षित राष्ट्रपति आउने सम्भावना छ ? जवाफ त्यति उत्साहजनक छैन ।

अन्तरात्माको आवाज

सत्तारूढ दलहरूमध्ये एमालेको भागमा सभामुख र राष्ट्रपति पद परेका छन् । उता नेपाली कांग्रेस, एकीकृत समाजवादी लगायतका दलहरूको ‘राष्ट्रिय सहमति’ गर्नुपर्ने आग्रह छ । यहाँनिर दुई थरीको तर्क छ । एक थरीले नेपाली कांग्रेसले गठबन्धन गुमाएपछि त्यसको आस नगर्नु मनासिब ठान्छन् । अर्का थरीले गणतन्त्र संस्थागत गर्न सत्तारूढ घटकभन्दा बाहिरकालाई राष्ट्रपतिमा मौका दिनुपर्ने तर्क राख्छन् । यसले गणतन्त्रको स्वीकार्यता राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा अग्लिने मत छ । नेपाली राजनीतिमा असम्भव त केही छैन तर राष्ट्रपति संस्थालाई दलहरूले आफ्नो अनुकूलताका लागि पारिस्थितिकीय तन्त्र बनाइसकेको परिप्रेक्ष्यमा भुइँमान्छेले सोचे जस्तो हुन गाह्रै छ । राष्ट्रपति निर्वाचनमा अन्तरात्माको आवाज सुन्न सके जडता भंग हुन सक्छ ।

प्रकाशित : माघ ५, २०७९ ०८:०४
प्रतिक्रिया
पठाउनुहोस्

मधेशका आँखामा प्रचण्ड

प्रचण्डले मधेशको ऋण चुक्ता गर्न चाहने हो भने टीकापुरलाई न्याय गर्नुपर्छ । संघीयता र समावेशीकरणमा इमानदार देखिनुपर्छ । नागरिकताबाट वञ्चित युवाहरूको संकट चुँडाल्नुपर्छ ।
चन्द्रकिशोर

एक समय यस्तो थियो, जब पुष्पकमल दाहाल प्रचण्डले मधेशलाई साँचो अर्थमा नयाँ बिहानीमा पुर्‍याउँछन् भन्ने सबैको आशा थियो । त्यसो हुनुका विशिष्ट कारण थिए । प्रचण्डको नेतृत्वमा नेपालमा आन्तरिक औपनिवेशीकरणका दिन सकिए भन्ने सन्देश गएको थियो । उनको नेतृत्वमा उठान गरिएका मुद्दाहरूले गर्दा मधेशले हिजोको तीतो अतीतलाई बिर्सिएको थियो । र उनलाई समर्थन दियो ।

नेतृत्वले व्यापक ऐतिहासिक परिप्रेक्ष्यमा काम गरेको हुन्छ । त्यो ऐतिहासिक परिप्रेक्ष्यलाई नसम्झिने हो भने प्रचण्डप्रति अन्याय हुन जान्छ । प्रत्येक सरकार मधेशलाई एउटा पाठ दिएर जान्छ, प्रत्येक नयाँ सरकार एउटा नयाँ उम्मिद लिएर आउँछ । देहातमा भनिन्छ पनि, ‘बीति ताहि बिसार दे, आगे की सुध लेय ।’ प्रचण्डको सरकार शीतलहरमाझ घाम लिएर झुल्किने हो कि भनी आशा गर्नेहरू कम्ती छैनन् । अर्कातिर, सत्तारोहणका लागि उनले अपनाएको भावभंगिमा देखेपछि ‘कुछ नहीं करेगा’ भन्नेहरू पनि प्रशस्त देखिएका छन् ।

राम्रो समाजले नै राम्रो देश बनाउँछ । वर्तमान राजनीतिको सबैभन्दा ठूलो संकट के हो भने, विचारबाट टाढिएर फगत चुनाव जित्नुमा सीमित हुँदै गएको छ । एउटा चुनाव जितेपछि अर्को चुनाव जित्ने तयारी सुरु भैहाल्छ । संसद् अंकगणितमा अल्झिएको छ । चुनाव जित्न अनेकौं जोडघटाउ गर्नुपर्छ र त्यसबाट उदय हुन्छ— सम्झौतामुखी र ‘जुगाडु’ नेता । प्रचण्डका प्रशंसकहरू ‘उनलाई उचित किसिमले प्रयोग र परीक्षण हुने मौका दिइएन’ भन्ने तर्क गर्छन् । तर उनीसँग असहमत हुनेहरूको ठाडो जवाफ हुने गर्छ— प्रचण्ड स्वयंमा अन्तरविरोधका धनी हुन् । जब संघर्षरत कुनै सिपाही सम्झौता गरेर मूलधारको राजनीतिमा आउँछ, उसका मान्यताहरू झन्झन् समृद्ध र परिपक्व भएका छन् । चाहेका भए प्रचण्डको पनि उत्तरोत्तर विकास सम्भव थियो । तर उनको शक्ति तीव्र गतिमा नकारात्मकतामा परिणत हुँदै गएको छ । उनी आफ्नो दल र मूलधारको राजनीतिमा निर्णायक भइरहन चाहन्छन्, त्यसका लागि आफूलाई अन्य पात्र र पंक्तिको समीपमा राखिरहन्छन् । यस्तो भएपछि प्रचण्डलाई अन्य पक्षले आफ्नो अनुकूलमा खेलाउँछन् ।

अहिलेको सरकारलाई कतिपयले ‘बाह्र मसाला तेह्र स्वाद’ को भनेका छन् । तर यो सरकारको साँचो केपी ओलीको हातमा छ । नाम प्रचण्डको, शासन ओलीको । प्रचण्ड ‘किङमेकर’ हुनु र अरूको मर्जीमा गद्दीनसीन हुनुमा फरक छ । अरूको मर्जीमा गद्दीनसीन हुँदा आफ्नो उच्च प्रेरणाशक्ति र मनोबलबाट भन्दा पनि अर्काको निर्देशनमा हिँड्नुपर्ने हुन्छ । प्रचण्ड यसअघि पनि दुई पटक प्रधानमन्त्री भैसकेका हुन् तर कुनै पनि क्षेत्रमा सिन्को भाँचेनन् । यस पटक उनको सत्तारोहण हुँदा प्रशस्तिगान गर्नेहरू मधेशमा समेत देखिए । तर, त्यो घुरको आगो ताप्न झुम्मिएको जमात हो ।

नेपालको सामाजिक विविधता आधुनिक नेपालको जग हाल्नुअगावैको हो । नेपालको दक्षिणी भूगोलमा मधेशीहरूको बसोबास प्राचीन छ । शासक वर्गले मधेशको भूमि जागिर, बिर्ता, बक्सिस, नजराना, बकस, दान, दाइजो आदिका रूपमा बाँडीचुँडी गर्‍यो । मधेशमा बसोबास कम्पनी, सुकुम्बासी आयोग, बस्ती विकास कम्पनी भित्र्याइए; राजनीतिपीडित, बर्मा–भुटानबाट विस्थापित, भारतबाट धपाइएकाहरू बसाइए । तर यहाँका रैथाने बासिन्दाहरूलाई ‘असली नेपाली’ मानिएन । तिनका भाषा, संस्कृति, भेष, भोजनलाई तिरस्कृत गरियो । त्यसका विरुद्ध, प्रचण्ड नेतृत्वको माओवादी सशस्त्र संघर्षका क्रममा आवाज उठाइयो । नेपाली समाजको जातीय, भाषिक, सांस्कृतिक विविधतालाई हिजोसम्मको शासक वर्गले राम्ररी सम्बोधन गर्न सकेन भन्दै प्रचण्डको नेतृत्वमा विभिन्न पहिचानधर्मीका आकांक्षाहरू संघीयताभन्दा कममा सम्बोधन गर्न नसकिने निष्कर्षमा पुगे । संघीयता सबै खाले आकांक्षालाई सम्बोधन गर्न उपयुक्त माध्यम भएको बताए ।

यी कुराहरू दलका दस्तावेजहरूमा राखे, सार्वजनिक भाष्य निर्माण गर्न पार्टी पंक्ति लाग्यो । त्यतिखेर लाग्थ्यो, संघीयता उनका लागि केवल नाराबाजीको विषय हुँदै होइन । प्रचण्ड नेतृत्वको माओवादीले राज्यमा अन्य समुदायको जस्तै मधेशी–थारूहरूको पनि सहज पहुँच स्थापित हुनुपर्ने आवश्यकताबोध गरेको छ । आज कतिपयले प्रचण्ड नेतृत्वको सरकारको सामर्थ्य र सम्भाव्यतालाई हेर्नु र यसबीच मधेशसँग सन्तुलनको पनि खोजी गर्नु जरुरी रहेको बताउँदै छन् । सरकारले आउँदा दिनमा मधेशी–थारूहरूका लागि केही गर्ला कि, हेर्न बाँकी छ ।

विगतमा प्रचण्ड आफ्ना अग्रगामी र प्रगतिमुखी अवधारणाप्रति अडिग रहेनन् । उनी मधेशका हाटबजारमा देखिने त्यस्ता तमासाई (चटके) जस्ता भए, जसले सुरुआतमा त कागजको हवाईजहाज उडाइदिने गफ दिएर मान्छेहरूलाई आफ्नो प्रभावमा पार्छ र अन्तमा सस्ता खाले दन्तमञ्जन बेचेर हिँड्छ । प्रचण्डले मधेशलाई वरेण्य र वाञ्छनीय शक्तिका रूपमा कहिल्यै लिएनन्, मधेशी–थारूहरू उनका लागि सत्ता र शक्ति आर्जनका सोपान मात्र रहे । उनको निर्णायकत्वमा दुई पटक संविधान बन्यो । अन्तरिम संविधान बन्दा उनी संघीयताका सन्दर्भमा मौन बसे । २०७२ को संविधान बन्दा मधेशको असन्तुष्टिप्रति उनी मुक द्रष्टा बनिरहे । मधेशी–थारूमाथि राज्यदमन भैराख्दा त्यसको ‘मौन साक्षी’ रहनुलाई उनको मजबुरी मान्न सकिँदैन । संघीयता र समावेशीकरणको अर्थ एवं आयामलाई संकुचित तुल्याउनेहरूमध्ये उनी पनि एक हुन् ।

संविधानसभाको दोस्रो निर्वाचनका बेला सिरहाको क्षेत्र नम्बर ५ बाट प्रचण्डले उम्मेदवारी दिनुलाई ‘ब्रिलियन्ट’ निर्णय मानिएको थियो । कुनै पनि राष्ट्रिय नेताको सबै क्षेत्रमा पहुँच र प्रतिनिधित्व हुनुपर्छ भन्ने हिसाबले त्यसको सराहना गरिएको थियो । उनले भनेका थिए, ‘मधेशसँग मेरो लभ परेको छ । मेरो यो मायामा कहिल्यै कमी आउनेछैन ।’ त्यो निर्वाचनमा काठमाडौंको क्षेत्र नम्बर १० मा पराजित भएका उनले सिरहाबाट जिते । तर उनले भुइँतहका मधेशीका भोगाइलाई न्यायिक आधारमा हेर्न सकेनन् । सवाल त्यसपश्चात् उनी चितवन वा गोरखा कहाँबाट चुनाव लडे, त्यो होइन; मूल प्रश्न हो— सीमान्तीकरणको प्रक्रिया रोक्न उनले के गरे ?

यस पटक पनि उनी नेपाली कांग्रेस नेतृत्वको गठबन्धनमा चुनाव लडे । उनले चाहेका भए प्रत्यक्षतर्फ मधेशी दलितलाई प्रतिस्पर्धामा ओराल्न सक्थे, पहाडबाट कुनै मधेशीलाई उम्मेदवार बनाउन सक्थे । उनले नयाँ लिक समातेनन् । मधेशका आँखामा उनी कांग्रेस–एमालेका नेताजस्तै भए । भारतलाई रिझाए मधेश त्यसै शान्त हुन्छ भन्ने बुझाइ प्रचण्डको मानसमा छैन भन्ने अवस्था छैन । रैथाने थारू, सन्थाल, मधेशीहरूको समस्या नेपालका अन्य वञ्चित समुदायको भन्दा मौलिक एवं पृथक् छ भन्ने तथ्यप्रति उनले बुझ पचाएका छन् । अहिले नै उनको सरकारले मधेशी–थारू लगायतका वञ्चित समुदायलाई अवसर दिने कुरा त छँदै छ, त्योभन्दा पनि उनले मधेशको ऋण चुक्ता गर्न चाहने हो भने टीकापुरलाई न्याय गर्नुपर्छ । संघीयता र समावेशीकरणमा इमानदार देखिनुपर्छ । नागरिकताबाट वञ्चित युवाहरूको संकट चुँडाल्नुपर्छ । संकटबाट मुक्त हुनका लागि पूर्वसर्त यही हो । नत्र प्रचण्ड तेस्रो वा चौथो पटक प्रधानमन्त्री बन्नुको औचित्य छैन ।

चुनावमा संघर्षरत शक्तिहरू के–कुन हैसियतका छन् भन्दा पनि तिनीहरूले बोकेको अभिभारा महत्त्वपूर्ण हुन्छ । मुलुकको मध्यमार्गी राजनीतिक स्पेस जोगाउन पनि तिनीहरूका कुरा सुनिनुपर्छ । कुनै बखत कांग्रेस र एमालेले सुनेनन्, त्यसैले माओवादीको उदय भयो । प्रचण्ड पनि यथास्थितिवादी रहिरहे भने भोलि अर्को परिवर्तनकारी शक्ति आउँछ । समय घर्किंदै छ । तर प्रचण्ड सुरुवालको इँजार बाँध्नमै मस्त र व्यस्त छन् ।

आज प्रचण्डको दलभित्र मधेशी–थारूको आवाज को हो ? मधेशबाट पछिल्ला वर्षहरूमा केकस्तालाई भित्र्याइएको छ ? मधेशको जातीय समीकरणभित्र खेल्न उनी कति चाख राख्छन् ? मधेशी–थारू कोणबाट उनी लिटमस टेस्टमा फेल भइसकेका छन् । यतिखेर उनले त्यस्तो परीक्षामा सर्वोत्कृष्ट अंक ल्याउने अभिलाषा राखिँदै छ, जसका लागि तयारी नै गरेका छैनन् । प्रचण्डले ‘अबकी बार कुछ तो करेंगे’ भनी कामना गर्नु ब्ल्यांक चेकमा हस्ताक्षर गरेर दिनुजस्तै हो ।

प्रकाशित : पुस २१, २०७९ ०७:५४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×