हिमालको पर्यावरणीय साँघु

हिमाली भेगमा भारी बोक्ने र दूध दिने उराङ र उराङमा शताब्दियौंदेखि हिमालका उत्तरी र दक्षिणी पाखाका पर्यावरणीय र अर्थ–सामाजिक सम्बन्धको साँघु बनिआएका छन् तर कोभिड महामारीसँगै बन्द नेपाल–चीन सीमाले यो परम्परालाई नै कमजोर बनाइदिएको छ ।
नारायण कोजु

दोलखाको बिगु गाउँपालिकामा पर्ने हिमाली गाउँ लप्चीका बासिन्दा तीन वर्षदेखि बेचैन छन् । कोभिड महामारीसँगै चीनले नाका बन्द गरेपछि यो छटपटीको सुरुआत भएको हो जसको कारकमा भने चौंरी जोडिएको छ ।

हिमालको पर्यावरणीय साँघु

नक्सामा हेर्दा तिब्बतभित्र छिरेको जस्तो देखिने यो गाउँ हिमालका उत्तरी र दक्षिणी पाखा जोड्ने साँघु पनि हो । यो बस्ती १,१०० वर्षअघि बौद्ध धर्मको तिब्बती हाँगो महायानका प्रसिद्ध गुरु मिलारेपासँगै बसेको विश्वास गरिन्छ । ६५ वर्ष नेपाल र चीनबीच औपचारिक सीमांकन र सीमा सन्धि नहुँदासम्म लप्ची तिब्बतमै पर्थ्यो । नेपाल–चीन सीमांकनका क्रममा त्यति बेला नेपाली सरहदभित्रका कतिपय बस्ती तिब्बततिर पुगे भने उताका कतिपय बस्ती यता आए । राजनीतिक सिमानाले दुई देशमा बाँडिए पनि पर्यावरणीय हिसाबले भने हिमालको उत्तरी काखमा पर्ने तिब्बती पठार र दक्षिणी काखमा पर्ने नेपाली उच्च हिमाली क्षेत्र वर्षौंदेखि एकअर्कासँग विभिन्न माध्यमले जोडिएका छन् । देख्दा अभेद्य लाग्ने हिमाली शृंखलाबीच उभिए पनि यी दुई भूभागलाई एकअर्कासँग जोड्ने अनेकौं साँघु छन् । तीमध्ये एउटा हो— चौंरी । ३३ घरधुरीमा ३०० भन्दा कम मानिस बस्ने लप्चीमा चौपाया भने ५०० भन्दा बढी छन् । हरेकजसो परिवारले ३० देखि ५० वटासम्म चौंरी पालेको छ ।

शेर्पाबहुल यो बस्तीको तिब्बतसँग बिहेबारीको सम्बन्ध छ । त्यसैले सीमावारिपारि तिनका आफन्त छन् । त्यो नातालाई अझ बलियो बनाइरहने अर्को माध्यम चौंरी नै हो । कोभिड सुरु नहुँदासम्म लप्चीका बासिन्दाले तिब्बतमा चौंरी बेच्ने गर्थे । यताका चौंरी किनेर तिब्बतीहरूले कृषिकर्म लगायत सम्पन्न गर्ने गरेका थिए । कोभिडसँगै चीनले सबै सीमानाका बन्द गरेपछि यताका चौंरीले बजार पाउन सकेका छैनन् । उताका आफन्तले पनि चौंरीको अभावमा कष्टदायी जीवन बिताइरहेका होलान् भन्ने पीर झनै चर्को छ ।

विडम्बना, यो पिरलो केवल लप्चीमा सीमित छैन । हिमालको दक्षिणी पाखोका बासिन्दाले उत्तरी पाखोका बासिन्दालाई चौंरी बेच्ने यो प्रचलन लप्चीको मात्र विशेषता होइन । हिमालय शृंखलाभरि नै यो प्रचलन शताब्दियौंदेखि चलिरहेको छ, हिमाली पर्यावरण र यी हिमाली गाई–गोरुको आनुवंशिक विशेषताका कारण ।

के हो चौंरी ?

नेपाली भाषामा चौंरी भनिने हिमाली गाई–गोरुलाई शेर्पा भाषामा डिम्जो, जो, जोप्क्यो, डिजोमो, जुम आदि भनिन्छ । भालेलाई उराङ, डिम्जो वा जोप्क्यो भनिन्छ भने पोथीलाई उराङमा, डिजोमो वा जुम । खासमा यी हिमालका उत्तरी र दक्षिणी पाखाका गाई–गोरुका ठिमाहा सन्तान हुन् । मानिसले नै यिनको ठिमाहा नस्ल बनाएको हो ।

समुद्री सतहभन्दा ३,००० मिटर माथि चर्ने साँढे याक र गाई नाक हुन् । त्यहीँको हावापानी र बुट्यानमा अभ्यस्त भएका याक–नाक वातावरणीय हिसाबले अनुकूल भए पनि मानवजीवनका लागि पर्याप्त भएनन् । तीव्र गतिमा बहने स्याँठ खप्दै त्यो उचाइमा कम अक्सिजनमा पनि फुर्तीका साथ गह्रुँगो भारी बोकेर हिँड्न सक्ने जीव नभई जिन्दगी चल्दैनथ्यो । भारी बोकेर मात्र पुग्दैनथ्यो, प्रशस्त दूध दिने गाई भए जीवन झनै सहज हुन्थ्यो । आवश्यकताले डोर्‍याएपछि आविष्कारको बाटो पछ्याउनु त मानवजातिको आदिम स्वभाव नै हो । उसले विकल्प खोज्यो । हिमालको उत्तरी पाखोमा चरिरहेका याक र नाक लिएर दक्षिणी पाखोतिर आयो । याक र नाक चर्ने उच्च हिमालभन्दा अलिकति तल, महाभारतका चुचुरामा चल्ने चिसो स्याँठ खप्न सक्ने गाई–गोरु प्रशस्त थिए । ती गाई पामु नामले चिनिन्थे । याक र पामुबीच प्रजनन गराइयो । त्यसरी जन्मिएका ठिमाहामध्ये भालेलाई किर्कोङ र पोथीलाई फलाङ भनियो । दुवैसँग प्रजनन क्षमता भए पनि किर्कोङ र फलाङबीच प्रजनन गराउँदा बच्चा जन्मिएनन्, जन्मिएका पनि बाँच्न योग्य भएनन् । मानिसलाई त बलियो र धेरै दूध दिने घरपालुवा पो चाहिएको थियो !

फेरि याक र फलाङबीच प्रजनन गराइयो । एउटा शुद्ध, अर्को ठिमाहा । यीबाट झनै ठिमाहा सन्तान जन्मिए । भालेलाई लाङ नाम दिइयो, पोथीलाई फलाङ नै भनियो । पहिलो ठिमाहा भाले किर्कोङ र दोसो ठिमाहा भाले लाङ बडो कामका निस्किए । नाकसँग यिनको समागम गराउँदा भाले डिम्जो (जोप्क्यो) र पोथी डिन्जोमो (चौंरी गाई) जन्मिए । तेस्रो ठिमाहा लाङ र फलाङबीच समागम गराउँदा भाले उराङ (जोप्क्यो) र पोथी उराङमा (जुम) जन्मिए । यिनै हुन् हामीले भन्ने गरेका चौंरी जसमध्ये डिम्जो र उराङ दुवै थरी भाले नपुंसक हुन्छन् ।

यसरी इतिहासको कुनै कालखण्डमा, वर्षौंको प्रयोग र परीक्षणपछि मानिसले चौंरीको नस्ल बनाएको थियो । चौंरी उत्पादन गर्ने त्यो परम्परा अहिले पनि चलिरहेको छ । यसैसँग जोडिएर मान्यता र मिथकहरू बनेका छन् ।

जोप्क्यो र डिम्जोसँग याक र लाङको प्रजनन गराए क्रमशः कोकोयाक (भाले), कोकोनाक (पोथी), झुमी तोलु (भाले) र तोलुमा (पोथी) जन्मिन्छन् । यी सबै निर्बलिया र अनुत्पादक हुन्छन् । जति स्याहार गरे पनि खेर जाने भएकाले होला, स्थानीय तिब्बती धर्मले यीबीच प्रजनन वर्जित गरेको छ । याक–नाक र उराङहरूबीच प्रजनन गराए कुलदेवता ‘यु ल्हा’ र ‘लु’ रिसाउने मान्यता छ । यही मान्यताले पनि हिमालको उत्तरी पाखोका बासिन्दालाई दक्षिणी पाखोमा नआई सुखै छैन । यताका बासिन्दाले पनि चौंरी जन्माईवरी नपठाई धरै छैन ।

त्यो बाध्यता भने पर्यावरणले सृजना गरेको हो । याक र नाक समुद्री सतहभन्दा ३,००० मिटर तल आउन सक्दैनन् । आइहाले कम उचाइ र गर्मीका कारण छिट्टै मर्छन् । यता हिमालको दक्षिणी पाखोमा चर्ने गाई (पामु) समुद्री सतहबाट ४,००० मिटरको उचाइमा पुग्न सक्दैनन् । कसैगरी यताका गाईलाई तिब्बततिर लगेर याकसँग समागम गराए पनि उचाइ र चिसोका कारण गर्भ नै बस्दैन । त्यसैले लाङ, उराङ र उराङमा जन्माउने फलाङ पैदा गर्न याक र नाकलाई दक्षिणी पाखोमा ल्याउनैपर्छ । हिमालका दुइटा भिन्दाभिन्दै पाखामा फरकफरक उचाइमा चर्ने यी गाई–गोरु यसरी इतिहासदेखि मानिसको मित्रताको पुल बनिआएका छन् ।

यो मित्रताको साक्षीचाहिँ धार्मिक परम्परा छन् । चौंरीको पुच्छर चँवर हिमालको उत्तरी पाखोबाट फैलिएर दक्षिण भारतसम्म पुगेको छ । राजा–महाराजालाई हम्कनेदेखि पूजापाठसम्ममा चँवरको उल्लेखनीय स्थान छ । भक्तपुरमा नाचिने नवदुर्गा नाचमा सबै देवीदेवताको कपालका रूपमा चँवर नै प्रयोग गरिएको हुन्छ । पशुपतिनाथदेखि दक्षिण भारतका मुख्यमुख्य मन्दिरको पूजासम्ममा चँवर नै चाहिन्छ । विभिन्न अध्ययनले तिब्बतीहरूले थाङ वंशका चिनियाँ

सम्राट्लाई उपहारका रूपमा चौंरी नै पठाउने गरेको पुष्टि गरेका छन् । केही परम्परा इतिहास भए, केही अझै जीवित छन् तर हिमाली जनजीवनमा चौंरीको उपस्थिति भने आज पनि उत्तिकै महत्त्वपूर्ण छ ।

चौंरी र हिमाली जीवन

यातायातको असुविधा भएको हिमाली भेगमा आज पनि सामान ओसारपसार गर्ने मुख्य साधन चौंरी नै हुन् । दूध, चीज र छुर्पीजस्ता दुग्ध उत्पादनका लागि पनि चौंरीको आवश्यकता हुन्छ । तर यतिमै यिनको उपयोगिता सकिँदैन ।

यी जोप्क्योबिना उच्च हिमाली भेगमा गोठ सारी बस्नेहरूको जीवन नै ठप्प हुन्छ । चौंरी चराउनेहरू बर्खायाममा पाँच–छ महीना उच्च हिमाली भेगमा गोठै सारेर बस्छन् । समुद्री सतहबाट ४,००० मिटरभन्दा माथि दाउरा निकै महँगो हुन्छ किनभने ३,००० मिटरमाथि सामान्यतः ठूला रूख हुँदैनन् । दाउराको जोहो गर्न गोठालाहरू ३,००० मिटरसम्म ओर्लिनुपर्छ । त्यसरी तलमाथि गर्दा भारी बोक्न यी जोप्क्योबाहेक के नै छ र ?

अति कष्टसाथ जोहो गर्नुपर्ने भएकाले उच्च हिमाली भेगमा दाउराको निकै महत्त्व हुन्छ । आँगनमा प्रशस्त दाउरा हुनु सम्पन्नताको प्रतीक बन्छ । दाउराको विकल्पमा खाना पकाउन चौंरीको गोबरका गुइँठाको प्रयोग गरिन्छ । चौंरीकै गोबर हिमाली भेगमा आलु, सिमी र फापरका लागि प्राङ्गारिक मल हो । यही गोबरले ढुङ्गा र ग्रेगर मिसिएको हिमाली माटोलाई मलिलो बनाइदिएको छ । चौंरीको रौंबाट ऊन बनाई, त्यसलाई घुर्रामा घुमाई, काठको सानो तानमा बुनेर चारा तयार पारिन्छ । त्यो चाराको न्यानो लुगा त बन्छ नै, विभिन्न धार्मिक कार्यमा प्रयोग पनि गरिन्छ । त्यस्तै, विभिन्न कारणले मरेका चौंरीको छालालाई जुत्ता बनाउन र सिङलाई बाजा बनाउन उपयोग गरिन्छ ।

यसरी चौंरीले जिउँदै र मरेपछि पनि हिमाली जीवनलाई सहज बनाइदिएका छन् । यी चौंरीको अर्थ–सामाजिक सम्बन्ध पनि उत्तिकै बलियो छ ।

हिमाली भेगको मूलतः शेर्पा जातिको प्रमुख पेसामा पर्छ चौंरीपालन । चरनको अभाव हुने भएकाले उनीहरू वर्षैभरि एकै ठाउँमा बसेर चौंरी पाल्दैनन् । ग्रीष्म ऋतु सुरु भएपछि हिउँ पग्लिन थाल्छ । यही मौका छोपेर उनीहरू बिस्तारै कम उचाइबाट उपल्लो भेगतिर लाग्छन् । उच्च हिमाली घाँसे मैदान पुग्न दुई–तीन हप्ता लगाउँछन् । जेठभरिमा उनीहरू हिमाली खर्कमा पुगिसक्छन् । त्यति बेला हिमाली खर्कहरू फूलैफूलले ढकमक्क ढाकिएका हुन्छन् । त्यहाँको पोसिलो घाँस र जडीबुटी खाएर चौंरीहरू हृष्टपुष्ट हुन्छन् । असोज अन्तिमसम्म त्यहाँ बस्दा चौंरीहरू नेपालको सिमानाभित्र मात्रै चर्दैनन् । तिनलाई मानिसले कोरेको राजनीतिक सिमानाको के मतलब ? पर्यावरणीय सिमाना नाघेरै उनीहरू जन्मिएका हुन् । तर गोठालाहरूले भने तिब्बती भूमि प्रयोग गरेबापत वार्षिक कर तिर्छन् । करका रुपमा नौनी, घिउ वा चौंरी नै दिन्छन् ।

चौंरी अर्थोपार्जनको गतिलो माध्यम पनि हुन् । अधिकांश चौंरीपालकले आफ्नो पशु झुन्डमा एउटा याक, एक–दुई नाक, केही जोप्क्यो र धेरै जोम राखेका हुन्छन् । नाक र जोम (डिम्जोमो) दूधका निम्ति पालिन्छन् भने जोप्क्यो भारी बोकाउन । लाङ, याक र नाकचाहिँ अन्तरप्रजननका लागि । याक र नाकको प्रयोग गरी जन्माइएका जोप्क्यो र जोम सानो छँदै तिब्बततिर राम्रै मूल्यमा बेच्ने गरिन्छ । कोभिडअघि जोक्प्यो ८०,००० देखि १ लाख रुपैयाँसम्म र बाच्छी जोम ८०,००० रुपैयाँसम्म बिक्ने गरेको लप्चीका बासिन्दा बताउँछन् । जोप्क्यो र जोमको तिब्बत–व्यापारबाट एउटा परिवारले वार्षिक ४–५ लाखसम्म आम्दानी गर्ने गरेको उनीहरू बताउँछन् । यताका चौंरीपालकहरू पनि केही वर्षको अन्तरालमा उच्च नस्लका याक र नाक तिब्बतबाट किन्छन् ।

अहिले तिब्बतमा मोटरबाटो र ट्याक्टर पुगेको छ । त्यसले चौंरीको हिजोको उपयोगिता घटाएको छ तर प्रयोजन सकिएको छैन । दूध र मासुका लागि चौंरीको निर्यात बढेको अनुभव छ लप्चीवासीको । तर तीन वर्ष भइसक्यो, मानिसले बन्द गरेको नाकाले वर्षौंदेखिको परम्परागत आवागमन नै कमजोर बनाइदिएको छ ।

जीवशास्त्री कोजु हिमाली पर्यावरणका विभिन्न पक्षको अनुसन्धानमा संलग्न छन् ।

प्रकाशित : पुस २९, २०७९ ०८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?