त्यो रापताप, यो स्खलन- विचार - कान्तिपुर समाचार

त्यो रापताप, यो स्खलन

किशोर नेपाल

सरकार र माओवादीबीच बृहत् शान्ति सम्झौता भएपछि नेपालको परम्परागत राजनीतिमा आउने परिवर्तनलाई लिएर देशका बुद्धिजीवीहरू निकै आशावादी थिए । त्यति बेला बृहत् शान्ति सम्झौताले ल्याउन सक्ने ‘सकारात्मक’ परिवर्तनबारे प्रश्न गर्दा राजनीतिक चिन्तक प्रदीप गिरिचाहिँ त्यति आशावादी देखिनुभएको थिएन ।

उहाँको विचारमा संसारमा विकसित हुँदै गइरहेको नयाँ सभ्यतालाई मानिसको विचार र ज्ञानले होइन, ‘लिंग र उदर’ ले निर्देशित गरेको छ । विश्वका ‘विकसित’ समाजतिर लिंग र उदरको चाप अलि कम होला तर अविकसित समाजका मानिसहरूको चिन्ता लिंग र उदरको परिपोषणमा अल्झिएको छ । गिरिको यो व्याख्याको अन्तरंग पाटो बुझ्न कठिन थिएन । तर, त्यस्तो पाटो बुझिरहने धैर्य भने कसैमा थिएन ।

सत्य हो, भाले–पोथी दुवै थरी मानिसको चिन्ता लैंगिक सन्तुष्टि र उदरको प्रसन्नतामा केन्द्रित छ । नेपाली समाजमा दिनहुँ देखिने असन्तुष्टि, पीप भरिएर पनि फुट्न नसकी कचल्टिएको घाउजस्तो निरन्तरको राजनीतिक विद्रोह र त्यसको उपसंहारका रूपमा उल्लेख गरिने समानता लगायतका आदि–इत्यादि कुराहरूको छिनोफानो पछि नै होला । अहिलेका लागि लिंगोदर सभ्यताको बिनासर्त अनुगमन नै एक मात्र बाटो हो भन्नेमा प्रायः सबै घागडान राजनीतिज्ञहरू ढुक्क देखिएका छन् । उनीहरूमा कुनै द्विविधा देखिएको छैन ।

अहिले नेपाली समाज त्यस्तो अवस्थामा पुगेको छ जसको भविष्य धमिलो बादलले छोपिएको छ । समाजको गतिमा कुनै सुनिश्चितता छैन । कता जाने हो भन्ने पनि थाहा छैन । किन जाने हो भन्ने पनि ज्ञान छैन । यो सत्य हो, सात–आठ दशकपहिले यो देशमा विकासका केही रेखा कोरिएका थिए । ती रेखाका केही किरमिर धर्सा वा डोबहरू अहिले पनि देशका उपत्यका, हिमाल, पहाड र मधेशतिर देखिन छाडेका छैनन् । विकासका ती रेखाहरू सय वर्ष ननाघेका भए पनि पुराना पक्कै हुन् ।

अहिलेका मानिसहरूले आफ्नो बाँच्ने मूल आधार र त्यसका लागि चाहिने आवश्यक वातावरण दुवै बिर्सिएका छन् । देशबाट राणाशाहीको उन्मूलनपछि सुरु भएको लोकतान्त्रिक राजनीति पहिलो चरणमै प्रतिगमनको बाटामा लागेको थियो । त्यस बेलादेखि नै नेपाली राजनीति लोकतन्त्र र प्रतिगमनको लुकामारीमा छ । देशको अर्थशास्त्रले नीति–वचन र व्यवहार दुवैको उपेक्षा गरेको छ । मानिसहरू लिंगोदर सभ्यताको झिलिमिलीमा रमाएका छन् । पाटी, पौवा, सडक, चौतारो सबैतिर रमाइलो छरिएको छ । मानिसहरू सधैं जात्राको मनस्थितिमा देखिएका छन् । उनीहरूको चाहना छ- जात्रा कहिल्यै नटुंगियोस् । यो साँझ मदमस्त भई नाच्न पाइयोस् । जीवनमा दिनहुँ आउने नियमित त्रासदीको सामना गर्नु नपरोस् ।

देशको आमूल परिवर्तनका लागि संसदीय बाटो साँघुरो भएको ठहर गरेर त्यसविरुद्ध जनयुद्ध गर्नुपर्ने निष्कर्षमा पुगेका थिए पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तत्काल उनी जनयुद्धको संयोजनका लागि जंगल पसेका थिए । माओवादीका सुप्रिम कमान्डरका रूपमा प्रचण्डले दिव्य बाह्र वर्षसम्म देशको आमूल परिवर्तनका लागि ‘अडान’ लिएका थिए, जसलाई माओवादीका नेता–कार्यकर्ता ‘चट्टानी अडान’ भन्ने गर्थे । यति बेला, संघीय गणतन्त्र नेपालमा दोस्रो राष्ट्रिय चुनावको समाप्तिसँगै प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री बनेका छन् । अघिल्ला दुई पटक प्रधानमन्त्री हुँदा उनले के गरे ? ‘मीनमेख’ निकाल्ने बेला यो होइन, तर एउटा कुरा सत्य हो, ‘निमेसिस’ का रूपमा स्थापित भएका एमाले अध्यक्ष केपी ओलीको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डको ‘चट्टानी अडान’ गर्ल्यामगुर्लुम ढलेको छ । प्रचण्डको चट्टानी अडानको भेउ राजा वीरेन्द्रले पनि पाउन सकेनछन् । बित्थामा जनता खोचेमा परेछन् ।

प्रचण्ड नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको कोक्रोबाट उछिट्टिएर एमाले अध्यक्ष ओलीको कोक्रोमा पुगेका हुन् । देउवा होऊन् अथवा ओली, अथवा प्रचण्ड नै किन नहोऊन्, जो भए पनि, सबै पात्रको मूल प्रवृत्ति एउटै देखियो विगत दुई दशकमा । झन् अहिले त प्रचण्डले पहिरनको पहिलो अनुभवका रूपमा भर्खरै सेतो रंगका मयलपोस सुरुवाल लगाएका छन् । बिचरा अध्यक्ष कामरेडले हेक्का राख्न सकेनन्, नेपालको शाही शासक वर्ग घीउ रंगका लबेदा–सुरुवालसँग रमाउने भएकाले सेतोको संवैधानिक हैसियत अरूको भन्दा कम हुन्छ । सरकारी कर्मचारी रहिसकेका मेरा केही जानिफकार मित्रहरूका अनुसार, गणतन्त्र नेपालभन्दा पहिलेको राज्य व्यवस्थामा सेता दौरा–सुरुवालको हैसियत राजपत्रांकित तेस्रो दर्जाका कर्मचारीसँग जोडिएको हुन्थ्यो । तर, त्यसो भन्दैमा न प्रचण्डले लगाएका सेता दौरा–सुरुवालको हैसियत खुम्च्याउन मिल्छ, न त उनले धारण गरेको प्रधानमन्त्री पदको अवमूल्यन गर्न नै ।

प्रचण्ड देउवाको कोक्रोबाट एकाएक छलाङ मारेर ओलीको कोक्रोमा पुगेपछि कांग्रेस, एमाले र माओवादी पार्टीमा एकै प्रकारका ‘जातीय’ प्रतिक्रियाहरू उत्पन्न भएका छन् । यी सबैमा सबभन्दा सरस एमाले अध्यक्ष ओलीको भनाइ छ । उनका भनाइहरू नबुझिने पनि छैनन् र उनीबाहेक अरूले व्याख्या गर्न मिल्ने खालका पनि छैनन् । ओलीको कुरा स्पष्ट छ— एमालेका सर्वोच्च नेता ओलीले माओवादीका सर्वोच्च नेता प्रचण्डलाई प्रधानमन्त्री बनाएर उनको राजनीतिक जीवन अक्षुण्ण बनाइदिएका छन् । अब रायमाझी कम्युनिस्टदेखि प्रचण्ड कम्युनिस्टसम्म नेपालका सर्वहारा कम्युनिस्ट सबै एक भएका छन् । यो घटनापछि, संसारभरि हल्ला मच्चाउन सफल भएको गिरिजाप्रसाद कोइराला नेतृत्वको नेपाल सरकार र माओवादी विद्रोहीबीचको, बृहत् शान्ति सम्झौताको निरर्थकता पनि साबित भएको छ । त्यसलाई प्रचण्ड स्वयंले साबित गरेपछि ओली र एमाले दुवैको कुनै गुनासो बाँकी रहने अब ठाउँ छैन । कम्युनिस्टविरोधीहरू डाचामा बसेर भोद्काको स्वाद लिइरहेका कामरेड ब्रेझनेभको फोटो देखाउँदै भन्ने गर्छन्— कम्युनिस्टहरूका लागि सरकार भनेको ऐश–आराम, मोज–मज्जा र मनोरञ्जन गर्ने डाचा मात्रै हो । नेपालका कम्युनिस्टहरूमा ऐश–आरामको ‘हवस’ निकै चर्को छ । कम्युनिस्टहरूमा मात्रै होइन, यो हवस कांग्रेसीहरूमा पनि उत्तिकै ‘उष्ण’ छ । अहिलेका अधिकांश दिग्गज र शीर्षस्थानमा रहेका कांग्रेसी नेताहरू ‘रोमान्टिक’ रहेको चर्चा कहिले पनि सेलाएको छैन ।

बालुवाटारमा रहेको देउवा शिविरबाट प्रचण्डको पलायनपछि पक्ष र प्रतिपक्षमा बाँडिएको कांग्रेसमा हाहाकार उत्पन्न भएको छ । संवैधानिक राजतन्त्र तथा बहुदलीय प्रजातन्त्र अन्तर्गत पहिलो प्रधानमन्त्री बनेका गिरिजाप्रसाद आफ्नै पार्टीको बहुमतको सरकार चलाउन असफल भएपछि सरकार चलाउने पालो आयो देउवाको । उनले एमाले अध्यक्ष मनमोहन अधिकारी नेतृत्वको सरकार विस्थापन गर्न राप्रपालाई साथ लिएर कांग्रेस–राप्रपा गठबन्धन बनाए । स्मरणीय छ, अहिले एमाले अध्यक्ष ओलीले पनि राप्रपासँग सैद्धान्तिक सहमति लिएर प्रचण्डका लागि गठबन्धन बनाएका छन् । इतिहास दोहोरिएको छ ।

देउवा नेतृत्वको तत्कालीन गठबन्धन सरकारको उपलब्धि वा योगदान थियो- महाकाली सन्धि । त्यति बेला अहिलेका एमाले अध्यक्ष ओली महाकाली सन्धिको अनौपचारिक प्रवक्ता नै बनेका थिए । तत्कालीन भारतीय राजदूत केभी राजनसँग उनको सम्बन्ध प्रगाढ थियो । यो सन्धिका पक्षमा आएका उनका विचार र वक्तव्यले एमालेमा निकै भीषण तरंग निम्तिएको थियो । जानकारहरूका अनुसार, देउवा र ओलीबीच रहेको भनिएको कथित अन्तरंग सम्बन्धको कारण पनि महाकाली सन्धि नै थियो ।

यति बेला कांग्रेसका जल्दाबल्दा युवा नेताहरू देउवाको विस्थापनका लागि होइन, विपक्षमा जुटेका छन् । गगन थापा, विश्वप्रकाश शर्मा, चन्द्र भण्डारी, धनराज गुरुङ देउवाविरोधी नेताहरूको अग्रपंक्तिमा देखिएका छन् । तर, कांग्रेसमा नेतृत्व हस्तान्तरणको प्रक्रिया त्यति सजिलो छैन । नेतृत्व खोसेर लिने परम्परा सुरु गरेका थिए गिरिजाप्रसादले । बीपी कोइरालाको अवसानपछि पार्टीमा नेतात्रयको अवधारणाको लगभग अन्त्य भएको थियो । तर, पार्टीका अध्यक्ष कृष्णप्रसाद भट्टराईले सांकेतिक हिसाबले पार्टीमा बीपी र उहाँको विचारको संलग्नता देखाउन गिरिजाप्रसादलाई समेटेर नेतात्रयको अवधारणा कायम राख्नुभयो । गणेशमान सिंह भट्टराईको निर्णयमा सहमत हुनुहुन्थेन । तर, उहाँ मौन रहनुभयो ।

यसपछि कांग्रेसमा कसरी गिरिजाप्रसादको एकाधिकार स्थापित भयो, ती तथ्यहरू लुकेका छैनन् । २०५२ सालमा गठबन्धन सरकारको रिङ नियन्त्रणमा लिँदै पार्टी नेतृत्वमा पुगेका देउवा कसरी शैलजालाई उछिनेर कांग्रेसको नेतृत्वमा स्थापित भए ? रामचन्द्र पौडेल किन र कसरी स्खलित भए ? यी घटनाक्रमसँग चन्द्र भण्डारी अनभिज्ञ छैनन् । पार्टीको विभाजन, शाही कालमा प्रधानमन्त्री, पार्टीमा फिर्ता भएपछि भूमिकाको अपेक्षा, संविधान निर्माणपछि अवसरको खोजी । देउवाका जागरुकता र जाँगर असंख्य छन् ।

देउवा राजनीतिमा निर्मम छन् । उनले विमलेन्द्र निधि तथा प्रकाशमान सिंहजस्ता आफूलाई गुन लगाउने नेतालाई जसरी किनारा लगाए, त्यो आफैंमा अविश्वसनीय घटना बनेको छ । देउवाको पछि लाग्ने एनपी सावददेखि नैनसिंह महर लगायतका नेता कति बेला लोप हुनेछन्, कसैले भन्न सक्दैन । अब त्यही नियतिको सिकार हुने सम्भावना छ पूर्णबहादुर खड्काको । खड्का सहज र सरल छन् । तर कुन विन्दुमा उनी भड्किएर देउवाको रिङबाट बाहिरिने हुन्, कसैले भन्न सक्दैन ।

अहिले शक्तिमा नभएको कांग्रेसको सभापति भएर पार्टी चलाउन कि देउवा समर्थ छन् कि डा. शेखर कोइराला । कांग्रेसका यी दुई नेता र केही व्यापारीबाहेक अरू कसैले पार्टी सञ्चालन नै गर्न सक्दैनन् । देउवा र कोइरालाबाहेक हम्मेसी अरू कोही कांग्रेस नेतृत्वमा पुग्न सक्ने सम्भावना पनि देखिँदैन । हुन त, नेपालको राजनीतिमा विदेशी लगानीकर्ताको चासो बर्सेनि बढ्दै आएको छ । यस्तोमा कुन लगानीकर्ताको नजर कुन नायक वा प्रतिनायकमा पर्छ र उसको भाग्य खुल्छ ? कसले भन्न सक्छ ?

तैपनि मान्नैपर्छ— हरेक कालो बादलमा चाँदीको घेरा हुन्छ । देशमा लिंगोदर सभ्यताको प्रभाव जसरी व्यापक भइरहेको छ, त्यसबाट नेपाली समाजलाई कसरी जोगाउने ? अहिलेको विकट समयमा यो नै कांग्रेस वा अरू राजनीतिक पार्टीहरूको चिन्ता हुनुपर्छ । भोकभोकै बसेर भए पनि आफ्ना आदर्श र सिद्धान्तको अनुसरण गर्ने जमाना गुज्रिइसकेको छ । सत्य हो, अहिलेका शीर्ष नेताहरूले नेपाली समाजको राजनीतिक उत्थानका लागि निकै रापताप सहेका छन् तर पछिल्लो समय एकपछि अर्का प्रभावशाली नेता सामाजिक उत्तरदायित्व र राजनीतिक भूमिकाबाट स्खलित हुँदै गएका छन् । नेपाली राजनीतिमा देखिएको यो खतरनाक प्रवृत्तिसँग जनता सतर्क हुनैपर्छ ।

प्रकाशित : पुस २५, २०७९ ०७:४८
प्रतिक्रिया
पठाउनुहोस्

उत्थान र पतनको बाटामा माओवाद

समयसँगै अहिले प्रचण्डको आवाज बदलिएको छ । माओवादी सत्ताको खेलमा लिप्त भएको छ । उनका सहयोगीका रूपमा रहेका नेताहरू यौन अपराधमा मुछिएका छन् । राजनीति र चुनावका नाममा उठतीपुठती गर्नमा माओवादी कार्यकर्ताको संलग्नता बढ्दो छ ।
किशोर नेपाल

संसारमा सर्वाधिक आधिकारिक मानिने सन्दर्भ–ग्रन्थ ‘इन्साइक्लोपिडिया ब्रिटानिका’ को पछिल्लो संस्करणमा माओवादी जनयुद्धका प्रमुख ‘सेनापति’ कामरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ को तस्बिर मार्क्स, एंगेल्स, लेनिन, माओ त्सेतुङ, हो ची मिन्ह, स्टालिन, ट्रटस्की लगायतका दार्शनिक र क्रान्तिकारी व्यक्तित्वहरूको लहरमा सजाएर राखिएको छ ।

आदिम सामन्तवादको जालोमा जेलिएको नेपाली समाजलाई साम्यवादी समाजमा रूपान्तरित गर्ने साहसका साथ सशस्त्र अभियानमा लागेका प्रचण्डलाई भाषा–साहित्य र ज्ञान–विज्ञानका सम्पादकहरूले दिएको यो हैसियत वैचारिक, बौद्धिक र व्यावहारिक हिसाबले समेत चानचुने होइन । नेपाललाई सामन्तवादको चंगुलबाट मुक्त गर्ने जनयुद्धका नायकका रूपमा प्रचण्डको राजनीतिक आधिकारिकतालाई उनका मित्र र शत्रु कसैले चुनौती दिएका छैनन् । ब्रिटानिकाको नयाँ संस्करणमा प्रकाशित एक सय जना साम्यवादी नेताका तस्बिरबीच सजाइएको प्रचण्डको तस्बिर अहिलेको नेपालका लागि कति सान्दर्भिक होला अथवा नहोला, यो देशका चेतनशील राजनीतिक वर्ग र सामाजिक विज्ञानका अध्येताहरूले ठम्याउने कुरा हो । यो विवादको विषय पनि हुन सक्छ । तर, नेपाली समाजको चौतर्फी रूपान्तरणको लक्ष्य राखेर अदम्य साहसका साथ जनयुद्धको संयोजन गर्ने अभियन्ताका रूपमा प्रचण्डको योगदानको मूल्यांकन इतिहासले गर्नेछ ।

यो सत्य हो, जनयुद्ध सफल भएको झन्डै दुई दशकपछि प्रचण्डको तस्बिर पहेंलिन थालेको छ । तस्बिर खिच्ने र खिचेको नेगेटिभबाट तस्बिर बनाउने फोटोग्राफरले ‘फिक्स्चर’ राम्ररी पखालेन भने तस्बिर छोटो समयमै पहेंलिन थाल्छ । यद्यपि, अहिलेसम्म प्रचण्ड नेपालमा स्थापित संघीय गणतन्त्रका मेरुदण्डका रूपमै छन् । उनले संसदीय व्यवस्थामा एकाग्र भएर लागेका नेपालका ठूला–साना, कांग्रेस–एमाले सबै थरी राजनीतिक दललाई गणतन्त्रको मूल धारमा घसेटेर ल्याएकै हुन् । त्यसैले पनि परिवर्तनको एक मुख्य पात्रका रूपमा उनको भूमिका स्थापित भएको छ । व्यक्तिगत रूपमा यो नै प्रचण्डको नेतृत्वको उपलब्धि पनि हो । तर, यो उपलब्धि प्रचण्ड एक्लैको मात्रै नभएर सधैं निसासिएर बाँच्न बाध्य भएका नेपाली जनताको संघर्षको प्रतिफल हो ।

स्वदेशमा बसेर राजनीति गर्दा होस् अथवा निर्वासनमा बसेर राजनीतिको खेलमा होमिँदा, जीवनभरि कम्युनिस्टप्रति कटाक्षपूर्ण राजनीति गरेका नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले माओवादीलाई रहरले होइन, बाध्यताले शान्तिको बाटामा ल्याएका थिए । त्यसको विकल्प न तत्कालीन राजासँग थियो, न लोकतान्त्रिक शक्तिको प्रतिनिधित्व गर्ने नेपाली कांग्रेससँग । त्यति बेलाको राजनीतिक परिस्थितिको आकलन गर्ने जोसुकैलाई पनि यसको राम्रो ज्ञान हुनुपर्छ- नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना कुनै एक पार्टीको उपलब्धि थिएन । यो उपलब्धिको मुख्य कारक तत्त्व माओवादीको सशस्त्र संघर्ष थियो । देशमा रहेका कांग्रेस र एमाले लगायतका राजनीतिक शक्तिहरूको निरन्तर योगदानले जनताको आन्दोलनलाई बलियो बनाएको थियो ।

माओवादीका सर्वोच्च कमान्डरका हैसियतले शान्तिवार्तामा आएका प्रचण्ड राजनीतिक विचारधाराहरूबीच समन्वयको खोजीमा थिए । उनी बीपी कोइरालाले खिच्नुभएको नेपाली किसानको आधारभूत आवश्यकताको तस्बिरमा एक थान टेलिफोन र इन्टरनेट मात्रै थपिदिए पुग्ने कुरा गर्थे । तर, समयसँगै अहिले उनको आवाज बदलिएको छ । उनको आफ्नै पार्टी माओवादी सत्ताको खेलमा लिप्त भएको छ । उनका सहयोगीका रूपमा रहेका नेताहरू यौन अपराधमा मुछिएका छन् । राजनीति र चुनावका नाममा उठतीपुठती गर्नमा माओवादी कार्यकर्ताको संलग्नता बढ्दो छ ।

नेपालमा संघीय गणतान्त्रिक लोकतन्त्रको स्थापनापछि देशमा दुई पटक संघीय र प्रादेशिक चुनावहरू भैसकेका छन् । तर, तीबाट कुनै प्रकारको राष्ट्रिय प्रतिफल आएको छैन जो जनताको सन्तोषको बलियो आधार बन्न सकोस् । माओवादीसहितका राष्ट्रिय पार्टीहरूको हैसियत खस्किँदै गएको छ । कम्युनिस्टहरू मिलेर बस्न चाहँदैनन् । कांग्रेसहरू सत्ताको मोहमा डुबेर मृत्युवरण गर्न चाहन्छन् । केही हुनुपर्ने र केही नभएको अवस्थामा संघीय गणतन्त्रको बिजोग भएको छ । न मधेशमा, न पहाडमा कतै पनि सामञ्जस्य स्थापित हुन सकेको छैन । देशको युवा जनशक्ति वैदेशिक रोजगारीमा जान लालायित छ । उसको मन एकोहोरिएको छ । देशका अग्रणी विद्वान् राजेन्द्र विमलका शब्दमा— राजनीति मूल्यहीन हुँदै गएको छ । सम्पूर्ण देश हाट–बजारमा रूपान्तरित भएको छ । गणतन्त्रको ‘जनाजा’ उठाउन बोरामा नोट खाँदेर बसेका छन् बिचौलियाहरू ।

संघीय गणतन्त्रको स्थापनापछि प्रचण्डको नेतृत्वमा गठन भएको सरकारबाट आर्थिक अवसरको ओइरो लाग्ने आशा राखेका थिए जनताले । माओवादीहरू झन्डै तीन हजार वर्षदेखि सामन्तवादको प्रतीकका रूपमा देशमा जरो गाडेर रहेको निरंकुश राजतन्त्रबाट देशलाई मुक्त गर्न त सफल भए तर त्यो निरंकुश राजतन्त्रलाई आफ्नो स्वार्थरक्षाका लागि धर्मका नाममा, जातिका नाममा र पहाड–मधेशका नाममा टिकाउँदै आएको ‘भूमिगत’ सत्ताको पत्तो नै पाएनन् । मोहन वैद्य किरण, डा. बाबुराम भट्टराई, कृष्णबहादुर महरा, रामबहादुर बादल लगायतका नेताहरू सत्ताभोगको आत्मरतिमा मग्न थिए । जनताले खास गरेर डा. बाबुराम भट्टराईले केही गर्लान् भन्ने आशा राखेका थिए । तर, उनी पञ्चायतकालमा राजा वीरेन्द्रको संकेत र स्वीकृतिमा तत्कालीन अर्थमन्त्री डा. प्रकाशचन्द्र लोहनीले लागू गरेका तथा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको प्रधानमन्त्रित्वकालमा छाया अर्थमन्त्रीका रूपमा डा. रामशरण महतले परिशोधन गरेका विश्व बैंकको ‘स्ट्रक्चरल एडजस्टमेन्ट प्रोग्राम’ को रिमझिममा अल्झिए । त्योभन्दा पर सोच्ने शक्ति थिएन उनमा । माओवादी सत्तामा आएपछि पनि देशमा बजार अर्थ व्यवस्था निर्विघ्न अघि बढ्यो । गरिब जनतालाई बजारसम्म पुर्‍याउन समर्थ बनाउने अर्थ व्यवस्थाको तर्जुमा नै हुन सकेन । आफ्नो प्रतिरक्षामा डा. भट्टराईले नयाँ नारा निकाले— परिवर्तनको प्रतिफल कहीँ पनि रातारात आउँदैन । यसका लागि जनताले निरन्तर संघर्ष गर्नुपर्छ । डा. भट्टराई प्रधानमन्त्री पनि भए । तर, उनको प्रधानमन्त्रित्वकाल मुख्य सचिव लीलामणि पौड्यालसँग सफा वाग्मती नदीको परिकल्पनामा डुबुल्की लगाउँदैमै बित्यो ।

देशमा संविधानसभाको शासन पनि लामै समय चल्यो । यसबीच, प्रचण्डको कृपामा सर्वोच्च अदालतका प्रधान न्यायाधीश खिलराज रेग्मी मन्त्रिपरिषद्को अध्यक्ष भए । उनले संविधानसभाको दोस्रो चुनाव गराए । त्यही समयदेखि माओवादी पार्टी ओरालो लाग्न थालेको हो । त्यति बेलासम्म प्रचण्डले नचाहेसम्म राजनीतिको पत्ता हल्लिँदैनथ्यो । अहिले त्यो स्थिति रहेन । माओवादी पार्टीका सर्वाधिक प्रभावशाली व्यक्तित्व कामरेड प्रचण्डको साख निरन्तर खस्किन थाल्यो । उनको नेतृत्वमा माओवादी पार्टीको चुनावी दायरा पत्याउनै नसकिने हिसाबले साँघुरियो । अहिले देशमा विभिन्न प्रवृत्ति चलायमान छन् । सहर–बजारका मानिसहरू प्रचण्डविरुद्ध आक्रोश ओकल्न थालेका छन् । देशका दोगला बुद्धिजीवीहरू सत्र वर्षपछि आएर पटकपटक जनयुद्धमा ‘मारिएका’ सत्र हजार नेपालीको प्रश्न उठाउन थालेका छन् । विभिन्न दलका ती नेताहरू, जसले नेपाल सरकार र माओवादीबीच भएको बृहत् शान्ति सम्झौतामा हस्ताक्षर गरेका थिए वा साक्षीका रूपमा मूल हस्ताक्षरकर्तापछिको दोस्रो लहरमा बसेका थिए, परिवर्तनप्रति निरपेक्ष बन्न थालेका छन् । पक्कै पनि यो स्वाभाविक होइन । स्वयं माओवादी पार्टीको नेतृत्वमा पनि, केही नेतालाई छाडेर अरूमा, खासै जोस देखिँदैन । देश–विदेशमा ‘अध्यक्ष कामरेड’ को ‘लोकप्रियता’ खस्किएको छैन । तर, देश–विदेशमा नेताको लोकप्रियता जतिसुकै बढे पनि देशमा हुने चुनावमा उम्मेदवार भएको व्यक्तिका लागि विदेशको लोकप्रियता सम्पत्तिका रूपमा होइन, विपत्तिका रूपमा आउन सक्छ ।

माओवादी नेताहरू आफ्नो पार्टीलाई कांग्रेस, एमाले र राप्रपाको जस्तो अवस्थामा रूपान्तरित गर्न हतारिए । हिजो उनीहरूले गाउँघरमा सामन्तहरूका घर लुट्दा सामान्य जनता आँखा चिम्लिने गर्थे । किनभने, त्यो लुटको आयस्ता क्रान्तिकारीको रासनमा खर्च हुने गर्थ्यो । आज माओवादीका लागि चुनाव खर्च जुटाउन कुनै समस्या छैन । एक विश्वसनीय स्रोतले बताए अनुसार, माओवादीको ‘सञ्चालन खर्च’ एमालेको भन्दा कम छैन । कम्युनिस्ट पार्टीको यो ‘विकास’ विरुद्ध सडकमा र्‍याप गीतको सृजना हुनु अस्वाभाविक हुँदैन । सम्भवतः माओ त्सेतुङको दृढ नेतृत्व नभएको भए चीन यति छिटै आर्थिक विकासको उच्च विन्दुमा पुग्ने थिएन होला । स्कुल जाने बच्चाहरूले महेन्द्रमाला किताबमा जिल्ला हाल्न बटुलेका ‘सचित्र चीन’ का पाना नियाल्दानियाल्दै, रेडियो बेइजिङ सुन्दासुन्दै, कनीकुथी ‘बेइजिङ रिभ्यु’ पढ्दापढ्दै नेपालका गरिब जनताले माओवादीको शासन आएपछि आफ्नो देश पनि चीनजस्तै बन्ने आशा राखेका थिए होलान् । अब माओवादीले त्यो आशा धूलधूसरित भएको वास्तविकता स्विकार्ने बेला आएको छ । त्यसो नगर्ने हो भने, माओवादीसँग हिङ होइन, हिङ बाँधेको टालो पनि बाँकी रहनेछैन ।्

प्रकाशित : पुस ३, २०७९ ०८:१६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×