भद्रगोल नेपाली वामपन्थ- विचार - कान्तिपुर समाचार

भद्रगोल नेपाली वामपन्थ

हरि रोका

प्रचण्ड कुन तिकडम खेलेर प्रधानमन्त्री भए, पुरानो गठबन्धन किन भत्कियो, ओलीले बाजी मार्न मौकामा कसरी चौका हाने, देउवा चाहिनेभन्दा बाठो भएकाले कसरी तीन बल्ड्याङ खाए, कसले जित्यो र कसले हार्‍यो भन्नेबारे बहस जारी छ ।

बजार गरम छ । तर यो पंक्तिकारका विचारमा, ‘उदारवादमा आधारित वामपन्थ’ तीन दशकयता अहिले सबैभन्दा बढी संकटग्रस्त छ ।

वामपन्थको ऐतिहासिक उदय

आफूलाई वामपन्थी भनाउने कतिपय नेता–कार्यकर्तालाई ‘वामपन्थ’ शब्दकै उचित परिभाषा थाहा नभइरहेको अवस्थामा ‘उदारवादमा आधारित वामपन्थ’ शब्दले झन् उल्झन पैदा गर्न सक्छ । अझ अचेल केही होनहार विश्लेषकहरू वामपन्थ र दक्षिणपन्थबीच केही अन्तर रहेन र रहनु हुन्न भन्ने बहस छेडिरहन्छन् । त्यसमाथि आफूलाई वामपन्थी भन्ने ठूला पार्टीहरूका ठूला र मझौला कदका नेताहरू ‘राजनीतिमा कोही दीर्घकालीन शत्रु र मित्रु हुँदैन’ भन्ने दर्शन छाँट्छन्, सोही बमोजिम अराजनीतिक तथा न्यूनतम सहमति पनि नबनाई गठबन्धन बनाएर निर्वाचन लड्छन् अनि पछि निजी र पार्टी स्वार्थका आधारमा सत्ता साझेदारी गर्छन् । यस्तो सिद्धान्तहीन क्रियाकलापलाई राजनीतिक भाष्यमा ‘दक्षिणपन्थ’ भनेर बुझिन्छ । यथार्थमा ‘वामपन्थ’ र ‘दक्षिणपन्थ’ शब्दले बोक्ने अर्थ फ्रान्सेली क्रान्तिदेखि नै भिन्न–भिन्न परिवेशमा भिन्न तरिकाले परिभाषित हुँदै आएको छ । जस्तो- फ्रान्सेली क्रान्ति हुनुभन्दा ठीक अघि राजनीति दुई ध्रुवमा विभाजित थियो । जस्तो— क्रान्तिको जग तयार हुँदै गर्दा सुरुमै वामपन्थीहरूले राजा–महाराजाको, तिनलाई समर्थन गर्ने सम्भ्रान्त भारदारहरू तथा तिनको भारदारी शासनको विरोध गरेका थिए । त्यो समयका वामपन्थीहरूले उदार पुँजीवादी राजनीतिक संस्था (बुर्जुवाजी इन्स्टिच्युसन) तथा संवैधानिक सरकार (कन्स्टिच्युसनल गभर्नमेन्ट) बनाउन संघर्ष गरे । बेलायती इतिहासकार एरिक हब्सबामका अनुसार, नेपोलियनको समयमा वामपन्थी भन्नेबित्तिकै ‘परिवर्तनका लागि पार्टी’ (पार्टी अफ चेन्ज) र दक्षिणपन्थी भन्नेबित्तिकै ‘राजनीतिक स्थायित्वका लागि पार्टी’ (पार्टी अफ स्टाबिलिटी) भनेर चिनिन्थे । अलि पछि वामपन्थीलाई ‘पार्टी अफ प्रोग्रेस’ र दक्षिणपन्थीलाई ‘पार्टी अफ अर्डर’ भन्न थालियो ।

उन्नाइसौं शताब्दीको उत्तरार्द्धमा सर्वसाधारण कामदार वर्ग (वर्किङ क्लास) र विभिन्न आर्थिक हैसियत भएका शासक वर्ग (रुलिङ क्लास) बीच कसलाई रोज्ने भन्ने कुरा बलशाली भएर उठ्यो । यस्तो वर्गीय अन्तरविरोधले गर्दा शासक वर्गविरुद्ध संगठित आन्दोलनमा होमिने वातावरण बन्यो । पेरिस कम्युन त्यसैको उपज थियो ।

बीसौं शताब्दीको सुरुमा वामपन्थीहरूले संवैधानिक सरकार, राजनीतिक लोकतन्त्र र आम सर्वसाधारणको हक–हितका लागि लड्नुपर्ने प्रण दोहोर्‍याए । समाजवादीहरूको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनपछि सुधार कि क्रान्ति, अन्तर्राष्ट्रिय समाजवादी क्रान्ति कि राष्ट्र्रिय मुक्तिका नाममा युद्ध भन्नेबारे अन्तरविरोध चर्कियो । पहिलो विश्वयुद्धपछि मातृभूमिको रक्षार्थ भनेर उभिनेहरू सामाजिक जनवादी (सोसल डेमोक्र्याट) भनेर चिनिए र समाजवादी क्रान्तिका पक्षधरहरूले आफूलाई कम्युनिस्ट पार्टीका नाममा उभ्याए ।

अक्टोबर क्रान्तिपछि समाजवादलाई कसरी संस्थागत गर्ने, अर्थतन्त्रलाई कसरी सामाजिकीकरण गर्ने भन्नेबारे बहस सुरु भयो । त्यसअघि निजी पुँजीको राष्ट्रियकरण गर्नमा लगभग सबै समाजवादीबीच मतैक्य थियो, यद्यपि सामाजिकीकरण कसरीे भन्ने विषयमा चाहिँ अलमल देखिन्थ्यो । लेनिनकै नेतृत्वमा सन् १९२१ मा न्यु इकोनोमिक पोलिसी तयार पारेर तय गरिएको योजनाबद्ध सामाजिकीकरण अभियान स्टालिनको कार्यकाल सुरु भएदेखि नै पार्टीको प्रशासनीकरण (ब्युरोक्रेटाइजेसन) र योजना निर्माणमा केन्द्रीकरण (सेन्ट्रलाइजेसन अफ प्लानिङ) तर्फ उन्मुख गराइयो । यसले गर्दा जनमानसले विकासकार्य तथा प्रतिफलप्राप्तिका निर्णयमा सहभागिता जनाउन सक्ने अवस्था लगभग समाप्त भयो । वास्तवमा त्यसअघिका सबै खाले समाजवादीले आम सर्वसाधारण, किसान तथा मजदुरहरूको निर्णायक सहभागिताको ग्यारेन्टी अनि भुइँतहदेखिकै संगठन बनाउने कुरामा कुनै विमति राखेका थिएनन् । यद्यपि तत्कालीन सोभियत संघले शिक्षा, स्वास्थ्य र खाद्य सुरक्षाका क्षेत्रमा राज्यका तर्फबाट गरेको आम ग्यारेन्टी, आवास तथा पूर्वाधार निर्माणमा सहभागितापूर्ण अभियानका कारण पुँजीवादी विश्वमा समेत नयाँ लहर सुरु भएको थियो ।

उदार वामपन्थ भर्सेस मध्यपन्थ

विश्वव्यापी मन्दी (ग्रेट डिप्रेसन, सन् १९२९–३३) पछि बेलायती अर्थशास्त्री जोन मिन्यार्ड किन्सको सैद्धान्तिक तथा कार्यक्रमिक पहलमा मध्यपन्थ (सेन्ट्रिजम) को प्रतिपादन भयो । पछि यो मध्यपन्थलाई कहीँ सामाजिक जनवाद त कहीँ प्रजातान्त्रिक समाजवाद भन्न थालियो । सैद्धान्तिक–वैचारिक हिसाबले यो पुँजीवादमा आधारित लोककल्याणकारी राज्यको परिकल्पना थियो । दुइटा महायुद्धपछि ध्वस्त भएको पुँजीवादी विश्वलाई संयुक्त राज्य अमेरिका लगायतका पश्चिमा पुँजीवादले विभिन्न नाममा स्वीकार गरे । जस्तो— ‘न्यु–डिल’ मार्फत अमेरिकाले र अन्य सामाजिक प्रजातन्त्रमार्फत युरोपले सार्वजनिक शिक्षा, स्वास्थ्य, भूमिसुधार र औद्योगिकीकरण एवं औद्योगिकीकरणमार्फत पूर्ण रोजगारी, खाद्य सुरक्षा लगायतका कार्यक्रमहरू राज्यको दायित्वभित्र पारे । प्रगतिशील कर लगाएर जनताबीचको आर्थिक असमानतालाई फैलिनबाट रोकियो । खास गरी स्क्यान्डिनेभियन मुलुकहरूमा यी कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न गरिए । ती मुलुकहरूले निश्चित हदसम्म अर्थतन्त्रको व्यवस्थापन तथा स्वामित्व दुवै क्षेत्रमा राज्यको हस्तक्षेप बढाए । पुरानो परिभाषा अनुरूप ती सबै कामकारबाही वामपन्थको कार्यक्षेत्रभित्र पर्थे ।

निर्वाचन पद्धतिमार्फत गरिएका यी सुधारात्मक कार्यक्रमलाई ‘उदार वामपन्थ’ नाम दिइयो । यद्यपि नोर्डिक सोसियल डेमोक्र्याट होऊन् या पूर्वी युरोपेली समाजवादी, सोभियत संघको विघटनपछि आफूलाई लचकदार सामाजिक जनवादको सैद्धान्तिक–वैचारिक धरातलमा उभ्याइरहन सकेनन् ।

एक्काइसौं शताब्दीको सुरुआतसँगै आम निर्वाचनमार्फत ल्याटिन अमेरिकामा वामपन्थी पार्टीहरू दोहोरिएर निर्वाचित भएका छन्, जसलाई लाल (रेड) भनिँदैन कि गुलाबी (पिंक) वामपन्थ भन्ने गरिन्छ । संरचनागत परिवर्तनको लक्ष्य अनुरूप सुधार गर्न तम्सिनेहरू लोकप्रिय मतबाट फेरि निर्वाचित भएका छन् । सुधार गर्न नसक्नेहरू पराजित भएका छन् । यथार्थमा उत्पादन र वितरणमा आम जनताको निर्णायक सहभागिता नहुँदा वा व्यवस्था गर्न नसक्दा गुलाबी होऊन् या सोसियल डेमेक्र्याटिक वामपन्थीहरू, अस्थिर राजनीतिको सिकार हुने गरेका छन् ।

समष्टिमा, वामपन्थ र उदारपन्थ अर्थात् वाम र उदारवादीबीच के फरक छ भनेर नेपालका स्वघोषित वामपन्थीहरूले थाहा पाउन जरुरी छ । उदारवाद वामपन्थभन्दा संकुचनवाद (कन्जर्भेटिजम) सँग व्यावहारिक तथा सोचका हिसाबले एकदमै नजिक हुन्छ । राजनीतिक, सामाजिक, सांस्कृतिक, आर्थिक तथा नैतिक सोच निर्माणमा होस् या व्यवहारमा लागू गर्न, वामपन्थीहरूले सामूहिकताको हित हेर्ने सहभागिताको विकासका लागि सार्वजनिक बहस र त्यसपछि नीतिनिर्माणमा समेत निर्णायक सहभागितामूलक प्रतिनिधित्वको वकालत गर्छन् भने उदार दक्षिणपन्थीहरूले आफ्नो हितलाई शिरमा राखेर व्यक्तिको स्वतन्त्रताको जप गर्ने गर्छन् । उदारवादीहरूले सधैं पुँजीवादको पक्षपोषण गर्छन्, पुँजीवादी उत्पादन पद्धतिमार्फत गरिबी निवारण हुन्छ भन्ने तर्क गर्छन् । आम गरिबी, आम अशिक्षा वा बेरोजगारी र अस्वस्थता हटाउन राज्यको भूमिका हुनु हुँदैन भनेर वकालत गर्छन् । उनीहरू समाजवादका पक्षमा कहिल्यै उभिन्नन् । जबकि वामपन्थको मूल्य नै पुँजीवादविरुद्ध सतीसालझैं खडा हुनुमा, समाजवादका पक्षमा वकालत गर्नुमा हुने गर्छ । कथित उदारवादीहरू सधैं राष्ट्रवादको नारा लगाएर राष्ट्रिय राज्यको वकालत गर्न उभिन्छन् र पछि राष्ट्रिय हित गर्नबाट चिप्लिन्छन् । जबकि वामपन्थीहरू जहाँसुकैको भए पनि वर्गीय हितका पक्षमा, कडा संघर्षको समर्थनमा ऐक्यबद्धता जनाउँछन् । विश्वव्यापी रूपमा आजसम्मको कथित राष्ट्रवादको जगमा जातिवाद, नस्लवाद, नाजीवाद तथा फासीवाद हुर्कने गरेको इतिहास छ; एउटा जातिविरुद्ध वा धर्मविरुद्ध युद्ध उक्साउने गरिएको छ । जबकि वामपन्थले धर्मनिरपेक्षताको, अहस्तक्षेप र राष्ट्रहरूबीच सामाजिक न्याय तथा ऐक्यबद्धताको वकालत गर्छ ।

अवसरवादी नेपाली वामपन्थ

नेपालका राजनीतिक पार्टीहरूमध्ये पुरानो नेपाली कांग्रेसले २०१२ सालदेखि घोषित रूपमा आफूलाई प्रजातान्त्रिक समाजवादी अर्थात् उदार वामपन्थीका रूपमा चिनाउँदै आएको थियो । तर उसले समाजवादलाई न राजनीतिक रूपमा न त आर्थिक रूपमै कहिल्यै व्यवहारमा उतार्‍यो । सन् १९९० को परिवर्तनपछि ऊ पूर्ण रूपमा उदार बजारवादी भयो । भरखरै उसले छापेको चुनावी घोषणापत्र पढ्दा आधारभूत रूपमा ऊ नवउदारवादी बजार वा पपुलिस्ट दक्षिणपन्थभन्दा बाहिर छैन भन्ने निष्कर्ष निकाल्न सकिन्छ । त्यसै गरी, २००६ सालमा गठन भएको नेपाल कम्युनिस्ट आन्दोलनले सात दशकभन्दा बढी व्यतीत गरिसकेको छ । यसका विभिन्न चिराले २०४८ सालयता निरन्तरजसो नेपाली राजनीतिमा प्रभावशाली हस्तक्षेप गर्दै आएका छन्, सत्तारूढ र प्रमुख प्रतिपक्षी बन्दै आएका छन् । कहिले बहुमत त कहिले अल्पमतको सरकारको नेतृत्व गरेका छन् । तर माथि उल्लेख गरिएको सैद्धान्तिक–वैचारिक अवधारणा अनुरूप उनीहरू आफूलाई ‘लाल वामपन्थ’ (रेड कम्युनिस्ट) को के कुरा, ‘गुलाबी वामपन्थ’ (पिंक लेफ्टिजम) मा उभ्याउन पनि असमर्थ रहे । अर्को शब्दमा, वामपन्थ कहलाउनका लागि उनीहरूसँग न्यूनतम चरित्र वा कार्यक्रमिक गुण देखा परेन, चाहे ती वर्तमान राजनीतिको मूलधारमा रहेका एमाले र माओवादी केन्द्र होऊन् या अन्य हाँगाबिँगाका रूपमा उभिन संघर्षरत कथित कम्युनिस्टहरू ।

आफूलाई वामपन्थी भनेर नाक फुलाउने नेपाली राजनीतिक पार्टीहरूले स्थानीय तह, प्रदेश तथा संघमा सत्तारूढ हुँदा कामदार वर्गका मानिसहरूका हकहितमा, उत्पादनका साधनमा पहुँच पुर्‍याउनमा कुनै नयाँ पहल गरे त ? भूमिसुधार र व्यवस्थापन तथा प्रगतिशील कर व्यवस्थापनका लागि संस्थागत पहल गरे त ? सार्वजनिक हितमा सस्तो र सुलभ यातायात तथा सञ्चारका माध्यमहरूको उचित व्यवस्थापन गरे त ? स्तरीय शिक्षा र जीवनोपयोगी स्वास्थ्य सेवामा आम मानिसको नैसर्गिक हक–अधिकार स्थापित गर्न कुनै वैकल्पिक संस्थागत विकासको पहल गरे त ? खाद्य सुरक्षासहित अन्य सामाजिक सुरक्षामा पहुँच पुर्‍याउन, स्थानीय पुँजी र प्रविधिको विकास गर्दै आम रोजगारीको सृजना र व्यवस्थापनका लागि जन्ड सुधारको संस्थागत परिपाटी बसाल्न बितेका २८ वर्षमा एकीकृत योजना निर्माण तथा संस्थागत व्यवस्थापनका लागि केही गरे त ? नेपालका स्वघोषित वाम पार्टीहरूले अनेक नारा जरुर लगाए तर कहिल्यै अभ्यासमा खरो उत्रिने कोसिससम्म गरेनन् ।

हामी सबैलाई थाहा छ, बुर्जुवा वर्गका लागि यस्ता सुधारहरूको अर्थ हुँदैन । उनीहरूलाई सम्पत्तिको स्रोत प्रकृति र मानव श्रम हो भन्ने थाहा छ । मानवीय श्रमबेगर प्राकृतिक स्रोत दोहन गर्न असम्भव हुन्छ भन्ने उनीहरू भलिभाँति जान्दछन् । उत्पादन कार्यमा मेसिन र जमिनको उपयुक्त उपयोग गर्न बौद्धिक तथा वैज्ञानिक अन्वेषण आवश्यक हुन्छ, जसले सामाजिक उत्पादकत्व वृद्धिमा सहयोग पुर्‍याउँछ । यही प्रक्रिया र प्रविधिले नै पुस्तौंपुस्ता जनतासँग सम्पत्ति वितरणका लागि विशेष पहल गरेर आम जीविकोपार्जनमा मद्दत पुर्‍याउँछ । तर प्रगतिशील शक्तिका नाममा सत्तामा पुगेका कथित वामपन्थीहरूले सामाजिक उत्पादकत्व वृद्धि गर्न, सहभागितामूलक उत्पादन पद्धतिको थालनी गर्न न योजना बनाए, न संरचना निर्माणमा पहल गरे न त यस्ता आम उपयोगी कार्यका लागि अनुसन्धान तथा नयाँ खोजको प्रबन्ध नै मिलाए । जनताबाट वा जनताका नाममा जम्मा भएको राष्ट्रिय ढुकुटीको दुरुपयोग मात्रै गरे । कथित बुर्जुवा पुँजीवादीहरूको जत्ति पनि अक्कल उनीहरूले विगतमा देखाएनन् । यो मिथ्या आरोप होइन, उनीहरू सत्तामा रहँदाका परिणामहरूको समीक्षा गर्दा यस्तै निष्कर्ष निस्किन्छ । आफूलाई वामपन्थी भन्ने पार्टीहरू मुख्यतः कर्पोरेट दुनियाँका व्यापारी र ठेकेदार तथा आफ्नो हित हेर्ने क्रोनिजहरूका कठपुतली बनिरहे । उनीहरूकै हितमा नियम–कानुन बनाए जसले मुलुकमा उत्पादक होइन पराश्रयी पुँजी निर्माण र पुँजी पलायनको क्रियाकलापलाई मार्गदर्शन गर्थे, सोही भूमिका निर्वाह गरिरहेका छन् । नेपाली जनताले त्यस्तो नकारात्मक भूमिका निर्वाह गर्ने वामपन्थ खोजेका थिएनन् । त्यस्तो उत्पादन पद्धति बसाउने, त्यस्तै वित्त व्यवस्थापन गर्ने र त्यस्तै अनियमित बजारलाई नै केन्द्र मान्नका लागि वामपन्थ चाहिँदैन । त्यो त हिजोका सामन्त र आजका पुँजीवादी पार्टीहरूले गरेकै थिए र आज पनि कुशलतापूर्वक गर्न सक्छन् ।

अन्तमा, नेपाली उदार वामपन्थ संकटबाट गुज्रिरहेको छ । अचेल, मानिसहरूले मतदाता सूचीमा नाम लेखाउन आवश्यक ठानिरहेका छैनन् । सूचीकृत मतदाताहरूमध्ये ४० प्रतिशत पनि मतदान केन्द्रसम्म नजानु वामपन्थका लागि झनै राम्रो संकेत होइन । त्यसमा पनि निर्वाचनपिच्छे लोकप्रिय मत खस्किनु आफैंमा राजनीतिक साख गुमाउँदै जानु हो । माथि उल्लेख गरिएझैं यति बेला सरकार बनाएका दलहरूसँग कुनै राजनीतिक मार्गचित्र देखिँदैन ।

दलहरूबीच कम्तीमा सैद्धान्तिक र नीतिगत स्पष्टता हुनुपर्छ । सहकार्य गर्ने दलहरूबीच कम्तीमा न्यूनतम सहमतिको कार्यक्रम आवश्यक पर्छ । न्यूनतम सहमतिको कार्यक्रम तयार पार्न आधारभूत संरचनाहरूको संस्थागत परिपाटी तथा सामर्थ्य वृद्धि गर्नुपर्छ । असफलसिद्ध, निष्क्रिय संस्थाहरूलाई विस्थापित गरी समयसापेक्ष नयाँ निर्माण कसरी गर्ने भन्ने विषय हाल अति खट्केको छ । पुँजीगत खर्च प्रत्येक वर्ष कम हुँदै जानु, कुनै पनि परियोजना समयमा सम्पन्न नभएर महँगिनु, त्यसमाथि भ्रष्टाचार फैलिनु आफैंमा घोर अक्षमता हो । न्यूनतम सहमतिको कार्यक्रमबेगर सत्तासीन हुने परिपाटी आफैंमा अवसरवादी शक्तिहरूको गठजोड साबित हुनेछ । यस्तो सरकारले मुलुकका चुनौतीहरू समाधान गर्ने सम्भावना हुन्न । यद्यपि राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारसँग पूर्ण साँठगाँठ भएको भूमण्डलीय पुँजीवादले यस्तै कमजोर र कार्यक्रमविहीन गठबन्धनबाट बनेको सरकार रुचाउँछ, ताकि मुलुकको अर्थराजनीति पूर्ण रूपमा आफ्नो हैकम अनुसार चलाउन सकियोस् । यस्तो राजकाज किमार्थ वामपन्थ–उन्मुख हुन सक्दैन ।

वामपन्थका अगाडि देखिएका सैद्धान्तिक–व्यावहारिक चुनौतीहरूलाई निमिट्यान्न नपार्ने हो भने नेपाली वामपन्थको अवसानका लागि धेरै समय कुर्नुपर्दैन । ती चुनौती हटाउन चाहने हो भने वामपन्थी भनिन रुचाउने शक्ति र व्यक्तिहरूले नयाँ संस्कार र संस्कृति अपनाउनुपर्छ । सबैभन्दा पहिले त आफूभित्र पनि भिन्न वैकल्पिक विचार राख्ने मान्छे हुन्छन् भन्ने बुझ्न जरुरी हुन्छ र तिनको मतलाई सहज तरिकाले लिने वा सहने संस्कार बसाउनु जरुरी छ । दोस्रो, मानवीय मूल्य, ऐक्यबद्धता, आदर–सम्मान र भिन्न मतलाई सम्मान गर्ने परिपाटी विकास गर्न जरुरी छ । प्रकृतिको संरक्षणमा कुनै कसर बाँकी राखिनु हुन्न । अत्यधिक नाफा खोज्ने परिपाटीको अन्त्य गर्दै अनियमित बजारमाथि पूर्ण आत्मसमर्पण गरेर र बजारवादलाई नै निर्देशक सिद्धान्त मानेर वामपन्थी भइरहन सकिन्न भन्ने बुझ्न पनि जरुरी छ ।

प्रकाशित : पुस २०, २०७९ ०८:०४
प्रतिक्रिया
पठाउनुहोस्

गठबन्धन संस्कृतिको अर्थ–राजनीतिक औचित्य

नेपाली अर्थतन्त्रमा संरचनागत समस्याको थुप्रो लागेको छ, जसको समाधान खोज्नुपर्ने हुन्छ र त्यो राजनीतिमार्फत मात्र सम्भव हुन्छ ।
हरि रोका

मतगणना सुरु नहुँदै एमाले अध्यक्ष केपी ओलीले नेपाली कांग्रेससँग सत्ता साझेदारी हुन सक्ने घोषणा गरेका थिए । चुनावको अन्तिम नतिजा नआउँदै मुस्किलले तेस्रो शक्तिका रूपमा उभिएको नेकपा माओवादीले पदाधिकारी बैठकपछि ‘सरकार बनाउन’ सबै विकल्प खुला रहेको इस्तिहार जारी गर्‍यो ।

कांग्रेसभित्र प्रधानमन्त्री पदमा ‘म सर्वथा योग्य उम्मेदवार’ भनेर हुँकार भर्नेहरूको लाइन लामै देखिन्छ । २०५३ सालदेखि प्रधानमन्त्री शेरबहादुर देउवाको आचरण र व्यवहारको साक्षी रहेकाहरूका लागि उनी कुन हद नाघेर विपक्षीलाई माथ दिन सक्छन् भन्ने वास्तविकता छिपेको छैन । राजनीतिको कखरा छिचोलेका सर्वसाधारणका लागि एमाले र माओवादी कतिसम्म केटाकेटी हर्कतमा रमाउँछन् भन्ने बुझ्न महाभारत पढिरहनुपर्दैन ।

अहिलेको त्रिशंकु संसद् (हङ पार्लियामेन्ट) का कारण २०५२–५६ सालको त्यही दर्जाको फोहोरी राजनीतिक परिपाटी दोहोरिने हो कि भन्ने आशंका व्याप्त छ । मनमोहन अधिकारी नेतृत्वको सरकार गिराउन राप्रपाको बलमा कांग्रेसले जुन भूमिका निर्वाह गर्‍यो, त्यसलाई पछि एमालेले उल्ट्यायो । यसबाटै नेपाली संसदीय अभ्यासमा विकृत राजनीतिक खेल सुरु भयो । संसदीय राजनीतिको मूलधारमा रहेका कांग्रेस र एमालेबीचको संस्कारहीन राजनीतिक प्रतिस्पर्धा र सिद्धान्तहीन अवसरवादी मेलमिलाप संविधानसभाको पहिलो निर्वाचनपछि पनि रोकिएन । प्रजातान्त्रिक समाजवाद र मार्क्सवादी समाजवादको आवरणमा अवसरवादी राजनीतिक संस्कार प्रवृत्तिका रूपमा मौलाउन पुग्यो । लगत्तै माओवादी अध्यक्ष प्रचण्ड पनि त्यही खेलमा सामेल भए । त्यसपछिको कुनै पनि सरकारमा सामेल हुँदा पार्टीहरूमा दर्शन र विचारधारामा आधारित आर्थिक–सामाजिक रूपान्तरणका कार्यक्रमहरूप्रति प्रतिबद्धता देखिएन । संसदीय व्यवस्थामा पूर्ण होस् या अर्ध–समानुपातिक प्रतिनिधित्व, एकल पार्टीको बहुमत सरकार कठिन हुन्छ । त्यही भएर यो प्रणाली अभ्यासरत मुलुकहरूमा पार्टीहरू न्यूनतम सैद्धान्तिक तथा कार्यक्रमिक आधारमा सहमति बनाएर निर्वाचनमा होमिन्छन् । यस्ता गठबन्धन ‘सेन्टर–टु द–लेफ्ट’ र ‘सेन्टर–टु द–राइट’ भनेर चिनिने गरेका छन् । नेपालमा पहिले नै आर्थिक तथा राजनीतिक कार्यक्रमका आधारमा गठबन्धन बनाइँदैन । यस अर्थमा गठबन्धनप्रति पार्टीहरू प्रतिबद्ध रहिरहँदैनन् । तर यसबाट तिनीहरूको राजनीतिक साख बाँकी रहँदैन ।

अहिले खडा भएको प्रश्न सैद्धान्तिक र राजनीतिक विचारसँगै सम्बन्धित छ । के सरकार बनाएर राज गर्न निश्चित अर्थ–राजनीतिक कार्यक्रम आवश्यक पर्दैन ? हिजो संविधानविरुद्ध प्रतिक्रान्ति गर्न खोज्यो भनेर लगाइएको आरोप चुनाव सकिनासाथ औचित्यहीन बनिसक्यो ? परमादेशी भनेर हियाइएका पार्टीहरू अब चोखिए ? अझ नेपाली अर्थतन्त्रले निकै लामो समयदेखि आर्थिक मन्दी झेलिरहेको छ, राज्यले छुट्याउने विकास बजेट प्रत्येक वर्ष कमजोर हुँदा आम जीवनयापनमा मुस्किल परिरहेको छ, मुलुकभित्र उत्पादन र रोजगारी घट्ने क्रम जारी छ, वैदेशिक ऋणको साउँ–ब्याज गर्न धौ–धौ परिरहेको छ; यस्तो अवस्थामा पोस्ट–इलेक्सन डिस्कोर्सकै रूपमा भए पनि गठबन्धन सरकार बनाउँछु भन्नेहरूले वा नेतृत्व गर्छु भन्नेहरूले तत्कालीन तथा दीर्घकालीन नीति–कार्यक्रम र योजनाको खाका अगाडि सार्नुपर्दैन ?

चुनौतीका खात

नेपाली अर्थविज्ञहरूले दर्जनजति बुँदाहरू चुनौतीका रूपमा अघि सारेका छन्, जुन नौला छैनन् । जस्तो- महँगी बढ्यो, ब्याज बढ्यो, तरलता अभाव छ, विकास खर्च भएन, राजस्व घट्यो, आयात चुलियो, उत्पादन भएन, ऋण बढ्यो र सदुपयोग भएन, उत्पादन र माग घट्यो, उद्योग र व्यापारमा गिरावट भयो, अन्तर–निकाय समन्वय अभाव रह्यो आदि । संकटबाट बाहिरिन के गर्नुपर्छ भन्नेबारे पनि उनीहरूले केही टिप्स सुझाएका छन् । जस्तो- अर्थनीतिमा सुधार, स्थिर सरकार, अर्थतन्त्र सम्हाल्न सक्ने नेतृत्व, आर्थिक एजेन्डालाई उच्च प्राथमिकता, विकास–निर्माणमा जोड, उत्पादन वृद्धि र रोजगारीमा सृजना, लगानीमैत्री कानुन, जग्गा समस्या समाधान, मूल्यवृद्धि नियन्त्रण, आर्थिक विकासमा निकास आदि (‘अस्थिर सरकारको संकेत, कसरी सुधार्ने अर्थतन्त्र,’ अन्नपूर्ण पोस्ट, २०७९ मंसिर १६) । मुख्य राजनीतिक पार्टीहरूका घोषणापत्रमा पनि यस्तै बुँदाहरू सूत्रबद्ध गरी मुलुकको सर्वांगीण विकासको परिकल्पना गरिएको छ । तर अर्थतन्त्रको लामो चक्र (कोन्ड्राटिएभ साइकल) को अन्तिम चरण पनि समापन हुने अवस्थामा, सामान्य चक्रमा जस्तो सस्ता फाइनान्सियल ट्रिक र टिप्सबाट संरचनागत कारणले बिमार नेपाली अर्थतन्त्रको आरोग्य सम्भव छैन । नेपाली अर्थतन्त्रमा संरचनागत समस्याको थुप्रो लागेको छ, जसको समाधान खोज्नुपर्ने हुन्छ र त्यो राजनीतिमार्फत मात्र सम्भव हुन्छ ।

यो समय अन्तर्राष्ट्रिय तथा राष्ट्रिय अर्थराजनीतिमा बहुपक्षीय संकट (पोली–क्राइसिस) निम्तिएको छ । पोली–क्राइसिस भन्नाले बहुसंकटहरूको सँगालो मात्र होइन, त्यस्ता सबै संकट मिलेर हुने विस्फोटक अवस्थालाई इंगित गर्छ (आदम टुज, ‘वेलकम टु द वर्ल्ड अफ द पोली–क्राइसिस,’ फाइनान्सियल टाइम्स, २८ अक्टोबर २०२२) । कोरोना संक्रमण, मुद्रास्फीति, मन्दी, भोकमरी, जलवायु तथा वातवरणीय परिवर्तन, रुस–युक्रेन युद्ध, आपूर्ति सञ्जाल संकट र लोकप्रियतावादीहरूले निम्त्याउन खोज्ने प्रतिक्रान्तिजस्ता यति बेलाका संकटहरूलाई उदाहरणका रूपमा लिन सकिन्छ । नेपाललाई यी सबैबाट अलग्ग राखेर हेर्नु हुन्न । हाम्रा नवउदारवादी बजारशास्त्रीहरूले अन्तर्राष्ट्रिय रूपमा बढेको मुद्रास्फीति र आपूर्ति सञ्जाल संकटका कारण अर्थतन्त्रमा समस्या निम्तिएको हो भनेर गुड्डी हाँक्दैमा संकटको गहिर्‍याइमा पुग्न सकिन्न; न दशकौंदेखि भट्याइने गरेको तर पूरा हुन नसकेको बहुराष्ट्रिय कम्पनीहरूले भित्र्याइदिने लगानीको सम्भावना देखिन्छ न त विद्यमान आर्थिक संरचनाजस्ताको तस्तै राखेर उत्पादन र रोजगारी नै वृद्धि हुन्छ ।

वर्तमानमा समष्टिगत आर्थिक संकटसँग जुध्न नयाँ अर्थ–राजनीतिक रणनीति अख्तियार गर्नुको विकल्प छैन । कस्तो नयाँ, कुन वर्ग र समुदायका जनतालाई केन्द्रविन्दुमा राखेर नयाँ रणनीति बनाउने र लागू गर्ने भन्नेबारे बाह्य संसारमा झैं नेपालमा पनि तीन किसिमका मत राख्नेहरू छन् । पहिलो, लेसेज–फियरमा आधारित नवउदारवादी बजारका पक्षधरहरू जो दशकौंदेखि नेपाली अर्थतन्त्रमा हावी हुँदै आएका छन् । दोस्रो, राज्य पुँजीवादमा आधारित लोककल्यणकारी राज्य अर्थात् किन्सियानिजममा आधारित मिश्रित अर्थतन्त्रका पक्षपोषकहरू जो सत्ताभित्र र बाहिर दुवै ठाउँमा अवसरवादी भएर देखा परे पनि भूमिका निर्वाह गर्न असमर्थ छन् । तेस्रो, यस्ता समाजवादीहरू, जसको अस्तित्व नीतिनिर्माण तहमा शून्य छ । तर अब संरचनागत समस्याले उग्र रूप लिन सक्ने अवस्थाका सन्दर्भमा वर्ग वा समुदायको झुकावका आधारमा पार्टीहरू आ–आफ्ना कार्यक्रमको ठोस पक्षधरता देखाउन बाध्य बन्ने क्षण आउँदै छ । एकल बहुमतको सरकार बन्न नसक्ने अवस्थामा यही आर्थिक–सामाजिक पक्षधरताका आधारमा न्यूनतम साझा सहमतिको कार्यक्रम तय गरेर अगाडि नबढे कुनै पनि गठबन्धन सरकारको कार्यकाल लम्बिन सक्दैन । त्यसैले अब सिद्धान्तको खोल ओढेर, ब्रान्डनेम निधारमा टाँसेर मात्र कुनै पनि पार्टीको अस्तित्व जोगिने देखिन्न ।

अर्थतन्त्रको कुन क्षेत्र बढी संवेदनशील ?

सामान्यतया अर्थतन्त्रका सबै क्षेत्र संवेदनशील छन् भन्नेमा दुईमत नहोला । किनकि मुख्य क्षेत्र संकटमा पर्नासाथ सबै क्षेत्र संकटग्रस्त बन्छन् नै । यद्यपि आ–आफ्ना वर्गीय दृष्टिकोणका आधारमा नीतिनिर्माताहरूले क्षेत्रविशेषलाई प्राथमिकतामा पार्ने गर्छन् । यस पंक्तिकारका विचारमा, नेपालको कृषि क्षेत्र सबैभन्दा संवेदनशील बन्न पुगेको छ । कुल श्रमशक्तिको ६१ प्रतिशत क्रियाशील रहेको तथा कुल जनसंख्याको झन्डै ७५ प्रतिशत आश्रित रहेको कृषिको योगदान प्रतिवर्ष घटिरहेको छ । जुन अनुपातमा योगदान खस्किरहेको छ, त्यही हिसाबमा आश्रित तथा श्रमिकको संख्या घटेको छैन । कृषि क्षेत्रमा जीविका नचल्ने अवस्थामा रहेका साना तथा मझौला किसान र खेती मजदुरहरू तीव्र गतिमा बसाइँ सरिरहेका छन् । यसले गर्दा एकातर्फ खाद्यान्न उत्पादन र उत्पादकत्वमा ह्रास आइरहेको छ, अर्कातर्फ तराई–मधेश र उपत्यकामा जनसंख्याको चाप बढिरहेको छ । एकातर्फ खाद्यमा बाह्य परनिर्भरता बढिरहेको छ, अर्कातर्फ बेरोजगारी र आम रूपमा आर्थिक असमानतामा वृद्धि भइरहेको छ । करोडौं जनताको खाद्यसुरक्षा र स्वरोजगारी अर्थात् जनजीविकासँग जोडिएको कृषि क्षेत्रलाई बेलैमा सकारात्मक ढंगले संरचनागत परिवर्तनतर्फ उन्मुख नगराइँदा अनेक आर्थिक–राजनीतिक संकट बेहोर्नुपर्ने हुन सक्छ । किनकि पेटको आगो निभाउन सजिलो हुन्न ।

दोस्रो महत्त्वपूर्ण क्षेत्र हो- उद्योग–व्यवसाय । कुनै समय उद्योगले कुल अर्थतन्त्रको १६ प्रतिशतसम्म हिस्सा ओगट्थ्यो भने अहिले ओरालो लागेर ५ प्रतिशत हाराहारी मात्र योगदान पुर्‍याइरहेको छ । बढ्दो बेरोजगारी, घट्दो आयआर्जन र जनजीविकाको समस्या हल गर्न रोजगारीमूलक औद्योगिकीकरणको विकल्प देखिँदैन । उद्योगमा पनि सबैभन्दा बढी आयात प्रतिस्थापन उद्योगलाई प्राथमिकतामा राख्दा कृषि क्षेत्रको विकासमा, खास गरी दिगो र भरपर्दो स्वरोजगारी तथा खाद्यान्न तथा कृषिजन्य उपभोग्य सामग्री उत्पादनमा आत्मनिर्भर तुल्याउन सहयोग पुग्न सक्छ । त्यसै गरी कृषि र पशुजन्य उत्पादन वृद्धि गरी निर्यात नेतृत्वको आर्थिक वृद्धिको ढोका खोल्न पनि सक्नुपर्छ ।

तेस्रो, पूर्वाधार निर्माण तथा विकास क्षेत्र । यसले तत्कालका लागि रोजगारी एवं भविष्यका लागि लगानी र उत्पादन व्यवस्थापनमा सहजकर्ताको भूमिका निर्वाह गर्छ । निर्माणमा आयातित औजारको अत्यधिक उपयोगका कारण पूर्वाधार विकासको वर्तमान मोडल विकृत देखिएको छ । दिगो र भरपर्दो विकासका लागि हावापानी र वातावरणीय सुरक्षा अपरिहार्य ठानिइरहेको यो समयमा अन्धाधुन्ध वन फँडानी र डोजरे विकासले गर्दा मुलुक बाढी, पहिरो, डुबान र कटानबाट आक्रान्त हुन थालेको छ । वातावरणीय प्रभावलाई ख्याल नगरी गरिएको यस्तो विकासबाट कृषि, वन, नदीनाला सबैमा नकारात्मक असर परिरहेको छ । त्यसैले पनि पर्यावरण सुरक्षाका लागि नयाँ पूर्वाधार विकास रणनीति अख्तियार गर्नुपर्छ ।

चौथो हो- पर्यटन । नेपालको पर्यटन क्षेत्रले कुल रोजगारीको ११.५ प्रतिशत उपलब्ध गराएको छ । सन् २०२१ को तथ्यांक अनुसार ३ लाख ७१ हजार रोजगार पर्यटन क्षेत्रमा क्रियाशील थिए । होटलको संख्यामा सन् २०१२–१३ का तुलनामा २०१९–२० मा ५४.३ प्रतिशतले वृद्धि भएको छ, तारे होटलहरूको संख्या पनि सो अवधिमा २९ प्रतिशतले बढेको छ । यद्यपि पर्यटनलाई नेपाली कृषि तथा घरेलु उद्यमसँग जोड्न जरुरी छ । यसरी जोडिएमा स्तरीय उत्पादनका साथै रोजगारी प्रवर्द्धन र वृद्धिदर बढ्न सक्छ । सँगसँगै अर्थतन्त्रका अन्य क्षेत्रसँग समन्वय हुँदा तिनको विकासका लागि लगानी भित्र्याउन पनि पर्यटन क्षेत्रको भूमिका खोज्न सकिन्छ ।

यी उत्पादन तथा रोजगारीमूलक उद्यमका मुख्य क्षेत्रको द्रुततर विकासलाई केन्द्रविन्दुमा राखेर अर्थतन्त्रका अन्य अवयवको नीति तयार गर्नुपर्ने हुन्छ । उदाहरणका लागि, अबको शिक्षा नीति तय गर्दा कृषि उत्पादन एवं पूर्वाधारमा सडक, जलविद्युत्, रेलवे, विमानस्थल, म्यानुफ्याक्चरिङ, खनिज तथा खानी आदिमा कतिकति म्यानपावर चाहिने हो, त्यही अनुसार संस्थागत विकासलक्ष्य तय गर्नुपर्ने हुन्छ । अर्को अर्थमा, विकास गरिनुपर्ने मूल केन्द्रलाई ध्यानमा राखेर धेरै नीति एकसाथ एकीकृत तवरमा तय गर्न आवश्यक छ, बेग्लाबेग्लै होइन । भूमिसुधार तथा व्यवस्थापन, रोजगारी, आम साक्षरता, शिक्षा, विशेषज्ञ शिक्षा, डिजिटलाइजेसन, सार्वजनिक स्वास्थ्य, बैंक तथा वित्तीय संस्था र कर्जा लगानी, आयात तथा निर्यात व्यापार सम्बन्धी सबै नीति मुख्य क्षेत्रसँग तालमेल हुने गरेरै तय गर्नुपर्छ ।

माथि उल्लिखित मुख्य क्षेत्रमा सुधार नगरी, नेपाली श्रमबजारमा प्रतिवर्ष भित्रिने औसत ५ लाख ७० हजार युवालाई स्वदेशमै रोजगारी उपलब्ध गराउन सम्भव हुँदैन । अहिले सहज परिस्थिति हुँदा प्रतिवर्ष औसत ३–४ लाख श्रमिक विश्व–श्रमबजारमा हेलिने गरेका छन्, तर अब विश्वपरिस्थिति हेर्दा शारीरिक श्रम गर्नेहरूको माग विश्व श्रम बजारमा घट्न सक्ने हेक्का राख्नुपर्छ । कोभिड–१९ पछि ५५ प्रतिशतले खस्केको श्रमबजार बिस्तारै उकासिँदै गइरहे पनि र यसले विप्रेषणका रूपमा हाल नेपाली अर्थतन्त्रमा झन्डै २१ प्रतिशत योगदान गरिरहे पनि त्यो दीर्घकालीन समाधान होइन भन्ने बुझ्नु जरुरी छ । कृषिमा आश्रित जनसंख्या र रोजगारहरू सालिन्दा पलायन हुने गरेका छन् । तिनकै लागि हो रोजगारीमूलक औद्योगिकीकरणको आवश्यकता पर्ने । त्यस्तो औद्योगिकीकरणको सुरुआत कृषिबाटै जम्मा हुने सञ्चित पुँजी (एक्युमुलेटेड क्यापिटल) मार्फत गर्नुपर्छ । कृषिमा आधारित प्रशोधन, कृषिमा उपयोग हुने मेसिनरी तथा औजार, उत्पादन हुँदै उपभोग्य सामग्री एवं पछिल्लो समय थप सञ्चिति र बाह्य लगानीमार्फत हुने पुँजीगत वस्तु उत्पादनमा आधारित उद्योगहरूको स्थापनाबाट रोजगारी प्रवर्द्धन गर्न सकिन्छ । पूर्वी एसियाली मुलुकहरूले सन १९५० देखि ८० को दशकसम्म यसकै रणनीतिक अभ्यास गरेका थिए भने चीनले १९७९ देखि हालसम्म यही नीति अख्तियार गरिरहेको छ ।

सिद्धान्तमा टेकेको राजनीतिको आवश्यकता

प्रजातन्त्र पुनःस्थापनादेखि आजसम्म नेपालका राजनीतिक पार्टीहरूले स्थापनाकालमा राखिएका मूल्य–मान्यता, आर्थिक नीति तथा तीमार्फत हासिल गर्ने लक्ष्य र उद्देश्य केही बाँकी राखेनन् । यो समयमा मुख्यतः कांग्रेस, एमाले र माओवादी पार्टीहरू किन्सियानिजममा आधारित लोककल्याणमिश्रित पुँजीवादमा समेत अडिएनन् । आफूलाई प्रजातान्त्रिक समाजवादी भनाउने एक हूल विद्वान्हरू नवउदारवादी बजारीकरण र निजीकरण अभियानलाई शाश्वत सत्य र फलदायी विकासको बीजारोपण भन्दै प्रशस्तिगान गरिरहेका छन्; लाखौं मजदुरलाई नवदासका रूपमा बाहिर पठाएर मुलुकलाई युवाविहीन र शून्य उत्पादनतर्फ उन्मुख बनाएको वास्तविकतालाई झुठो ठहर्‍याउन नाभिदेखिको बल लगाइरहेका छन् । ती कुकर्मलाई पनि प्रजातान्त्रिक समाजवादको खास्टोले छोप्ने प्रयत्नले उदार प्रजातन्त्रको खिल्ली उडाएको छ (नेपाली कांग्रेसको संकल्प, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन–२०७९) ।

उदार पुँजीवादले समेत शिक्षा र स्वास्थ्यजस्ता संवेदनशील विषयहरू राज्यको दायित्वभित्र पारिनुपर्छ भनी जिम्मेवारी वहन गरिरहेको अवस्थामा एउटा मूलधारको कम्युनिस्ट पार्टीका विज्ञ केन्द्रीय सदस्य तथा पूर्वअर्थमन्त्रीले ‘शिक्षा र स्वास्थ्यमा निजी क्षेत्रको लगानीलाई अपराध ठान्ने मानसिकता त्यागौं’ भनेर सार्वजनिक स्वास्थ्यको व्यापारीकरणको निरन्तरताको आह्वान गर्नुलाई के ठान्ने (नेपाल वाच, २०७९ मंसिर १९) । दुईतिहाइ नजिकको कम्युनिस्ट सरकार जीवनयापनको साधनका रूपमा रहेको खेतीयोग्य जमिनको व्यापारीकरण गर्न भूमिसुधार तथा व्यवस्थापनको साटो भूमि बैंकको अवधारणा अगाडि सार्छ भने त्यसलाई कुन शब्दमा समाजवाद–उन्मुख भनेर व्याख्या गर्नु ? स्वाधीन अर्थतन्त्रको विकासमा राज्यको भूमिका बढाएर सार्वजनिक पुँजी निर्माणमा सर्वसाधारण जनताको सहभागिता बढाउनुको सट्टा क्रोनिजहरूको व्यवस्थापन गर्न सार्वजनिक सम्पत्तिको निजीकरण र अन्धाधुन्ध ऋण लिएर खर्च गर्नेहरूबाट सामाजिक न्यायको के कल्पना गर्नु (नेकपा एमाले घोषणापत्र, २०७९) ? एउटा कम्युनिस्ट पार्टी, जो जनताको जीवनस्तर सुधार्न एउटा जण्ड सुधारको कार्यक्रमको सर्तसम्म नराखी घोर दक्षिणपन्थी हुन लालायित छ, सत्तामा सामेल भएर बिनाएजेन्डा मोजमस्ती गर्न मात्र चाहन्छ भने कुन हिसाबले त्यसले आफूलाई माओवादी कहलाइरहन सक्छ ?

विचार वा राजनीतिक सिद्धान्त भनेको बकवास होइन; आचरण, व्यवहार, नैतिकता, विधि विधान र समाज र दुनियाँप्रतिको दृष्टिकोणको मूल स्रोत पनि हो- सिद्धान्त । जब सिद्धान्त हुन्न, कार्यक्रम र लक्ष्य पनि बरालिन्छन् । त्यसपछि फगत अवसरवादी–अनैतिक राजनीति बाँकी रहन्छ । सिद्धान्त हुँदा मात्र त्यसको जगमा अनुशासित पार्टी, कार्यक्रम र कार्यान्वयनका लागि संस्थाहरू निर्माण हुन्छन् । गएको निर्वाचनले ठूला दलहरूका सिद्धान्तहीन खोल केही हदसम्म फ्यालिदिएको छ । अब पनि नकाब नउतार्ने हो भने थेग्न नसकिने आन्दोलनको ज्वारभाटा बेहोर्नुपर्ने निश्चित छ ।

प्रकाशित : मंसिर २८, २०७९ ०७:२९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×