अन्तिम किस्ता ‘प्रचण्ड’- विचार - कान्तिपुर समाचार

अन्तिम किस्ता ‘प्रचण्ड’

सरिता तिवारी

नेपाली राजनीतिमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहजै ‘पोट्रेट गर्न’ सकिने पात्र होइनन् । उनी इतिहासका खास प्रकरण र परिघटनाहरूको नेतृत्व गरी विद्रोहको बाटोबाट संसदीय राजनीतिमा संक्रमण गर्दै लगातार हस्तक्षेपकारी बन्न आइपुगेका विषम पात्र हुन् ।

न उनी विगतमा हिँडेको बाटो सरल छ न समकालीन राजनीतिमा उनले खेल्ने भूमिकाको नालीबेली सजिलो छ । प्रतिकूलतालाई आकस्मिक र आश्चर्यकारी अनुकूलतामा बदल्नका लागि जस्तोसुकै जोखिम मोल्ने हुँदा उनीमाथिका कतिपय पूर्वधारणा खण्डित भएका उदाहरण धेरै छन् । ती ‘अनुकूलता’ वामपन्थी राजनीतिको दीर्घकालीन प्रतिकूलताका सूत्रधार र उनको व्यक्तित्वकै विचलनका ‘डिपार्चर’ समेत बन्न पुगेको पनि टड्कारो सत्य नै हो । सामाजिक–राजनीतिक आन्दोलनहरूको आयाम निकै परसम्म पुग्ने दीर्घकालीन चरित्रको हुन्छ र त्यसका लाभमाथिको हिस्सेदारी व्यक्तिगत कम सामूहिक (जनस्तरको) ज्यादा हुन्छ भन्ने कुरा पछिल्ला सत्ता–राजनीतिका घर्षणमा न उनले आत्मसात् गरेको महसुस हुन्छ न उनको दलले नै । यो कुरा सत्ता साझेदारी र समीकरणका तमाम प्रयत्न र संघर्षहरूले आफैं बोल्छन् ।

हुन त, प्रचण्डलाई हेर्ने वा मूल्यांकन गर्ने आधार इतिहासको बोधसापेक्ष छ भन्ने हेक्का पनि राख्नैपर्छ । माओवादी आन्दोलनलाई समर्थन गर्ने धेरैका लागि उनी सामन्तवादी चरित्रको राज्यविरुद्ध सशस्त्र विद्रोहका अगुवा थिए (र आज पनि हुन्) । त्यो विद्रोहले नेपाली समाजका आधारभूत अन्तरविरोधका जराहरू उधिनेर सतहमा प्रकट गरायो । सामाजिक विविधता र बहुलतालाई गहिरो राजनीतिक–सांस्कृतिक अर्थमा बुझाइदियो । दमित/वञ्चित वर्ग र समुदायलाई भाषिक, लैंगिक, जातीय, क्षेत्रीय लगायतका विभेदविरुद्ध लड्न मानसिक रूपले तयार बनाइदियो । तर तिनै प्रचण्ड अरू कतिपयका लागि भने ‘सत्र हजार मानिसको रगत मुछिएको हात’ लिएर सत्ताको लेनदेन गर्दै संसदीय नाफाघाटाको खेल दोहोर्‍याउने खेलाडी मात्रै भएका छन् । र अझ देशको आमूल परिवर्तनको सपनामा उनले अगुवाइ गरेको बाटो हिँडेका कतिपयका लागि चामत्कारिक नायकदेखि धोकेबाज/प्रतिक्रान्तिकारी/खलनायकसम्म सबै भएका छन् । उमेरले सत्तरीको

खुड्किलामा टेक्न लागेका, केही थकित र अलि धेरै हताश मुद्रामा देखिने, राजनीतिक कोर्समा झन्डै एजेन्डाविहीन, कतिपय प्रस्ट देखिने सीमाहरू र कतिपय अगोचर बाध्यताहरूको आवर्तनले बोझिलो लाग्ने भंगिमाको जम्माजम्मी योग हुन् आजका प्रचण्ड । र यो समग्र ‘प्रचण्ड’ को अन्तिम किस्ता पनि हो । सत्ता समीकरण र भोगको पछिल्लो परिदृश्यमा देखिने प्रचण्ड पुरानो संस्करणका सबै किस्ता ‘प्रचण्ड’ का प्रतिपादसमेत हुन् ।

केही दिनअघि मात्रै प्रचण्डले देशको सरकार प्रमुखको कार्यभार प्राप्त गरेका छन् । प्रधानमन्त्रीका रूपमा यो उनको तेस्रो कार्यकाल हो । यति बेला कसै गरी पनि, जुनै हठबाट पनि उनको प्रधानमन्त्रित्व अनिवार्य थियो वा थिएन, यसबारे प्रस्तुत लेखले छलफल गर्दैन । उनी एकाध महिनाभर पनि सत्ताबाहिर बस्न तयार हुने, आलोचनात्मक र रचनात्मक प्रतिपक्ष बन्न सक्ने मानिस हुन् कि होइनन्, यो समयले बारम्बार पुष्टि गरिसकेको कुरा हो । आन्तरिक (पार्टीभित्रका) वा बाह्य (देशीय र विदेशी) कारण जेसुकै होऊन्, लगातार सत्ताकेन्द्रको ‘मानी’ बनिरहनुपर्ने स्थितिले नै शान्ति प्रक्रियादेखि यता आजसम्म प्रचण्डको सार्वजनिक छवि निर्धारण गरिआएको छ । यो कति व्यक्तिगत महत्त्वाकांक्षा हो र कति आन्तरिक (दलीय) दबाब, कि प्रचण्ड जान्दछन् कि उनको दलका मुख्य कर्ताहरू । तर २०६४ यता लगातार ‘लिटरल्ली’ सत्ताधारी बन्दै आएका माओवादी र स्वयं प्रचण्डसमेतको यस पटकको जिकिर सुनियो- अलि लामो समयको प्रधानमन्त्रित्व नपाएर पनि उनी आफ्नो सही ‘पर्फर्मेन्स’ प्रदर्शन गर्नबाट वञ्चित भए, कार्यकारी बन्ने सबै ल्याकत भएर पनि उनी ‘किङ मेकर’ मात्रै बनिरहेÙ तर यस पटक उनी अनिवार्य रूपले प्रधानमन्त्री बन्नैपर्थ्यो । दुई वर्षअघि गठबन्धनको गाँठो कसेर आफूले प्रधानमन्त्री बन्न सघाएका कांग्रेस सभापतिले प्रचण्डको यो दिलासा पूरा नगरेपछि त्यतिखेर ‘प्रतिगमनकारी ठहर भएका’ केपी शर्मा ओलीको सहयोगमा अहिले प्रचण्डको नयाँ सत्तारोहण हुन पुग्यो । जतिसुकै आश्चर्यकारी भए पनि इतिहासमा घटना मुख्य हुन्छन्, घटक सहायक । यस अर्थमा सत्ता समीकरणको पछिल्लो घटना आकस्मिक होइन, सम्भवतः अनिवार्य थियो । यसको बीउ २०७४ को चुनावमै ओलीसँग पालैपालो प्रधानमन्त्री बन्ने ‘सहमति’ का रूपमा रोपिएको थियो ।

०००

जनयुद्धपछि एक अन्तर्वार्तामा प्रचण्डले भनेका थिए– आफ्ना ‘धेरै नामहरू भए पनि परिस्थितिको गम्भीरता र राजनीतिको राप अनुसार यतिखेर प्रचण्ड नै आफूलाई मन पर्ने नाम हो तर स्थिति बदलिँदै जाँदा यो नाम पनि फेरिने सम्भावना छ ।’ त्यो उत्तरमा शान्ति प्रक्रिया हुँदै गतिशील लोकतन्त्रको मार्गमा हिँड्ने भएपछि युद्धकालीन रापताप र हावाहुन्डरी जनिने प्रचण्ड नाम इतिहासको एउटा अर्थपूर्ण प्रतीक बनिरहोस् भन्ने आशय रहेको अनुमान गर्न सकिन्छ । तर त्यो अन्तर्वार्ता र आजका बीचको समयले प्रचण्ड–छायाछविका धेरै रङ पखालिसकेको छ । यसो भन्नुको अर्थ उनी युद्धकालमा वा युद्ध सकिएलगत्तै जे थिए वा जस्ता थिए, अहिले पनि हुबहु त्यस्तै हुनुपर्थ्यो भन्ने होइन । तर जेजस्ता शैली र सम्झौताबाट पाँच वर्षयता ‘पावर सेयरिङ’ को दैनन्दिन राजनीतिमा उनी हेलिएको देखिन्छ, त्यही क्रियाकलापलाई नै जसरी ‘व्यावहारिक राजनीति’ र लचकता–रणनीतिको नाम दिने गरिएको छ, यसबाट उनी स्वयंले हिँडेर आएको प्रतिबद्धताको राजनीतिका लगभग सबै बाटा कटेका छन् ।

आफूले नेतृत्व गरेको उत्पीडित–पक्षीय राजनीतिको ऐतिहासिक परिघटना र त्यसैको प्रतिदानस्वरूपको ठूलो सांस्कृतिक उथलपुथललाई सबै किसिमका सत्ताकांक्षीहरूसँग मोलमोलाइको ‘ब्याक–अप’ का रूपमा उपयोग गर्दागर्दा उनीमाथिको उत्पीडित–वर्गीय राजनीतिक विश्वासले भुइँ छोडिसकेको छ । यो विश्वासलाई पुनःस्थापित गर्न गाह्रो मात्रै छैन, असम्भवप्रायः पनि छ । यो कुरा उनको पछिल्लो किस्ताको रुप र भावभंगीले आफैं पुष्टि गरिरहेको छ । जनताको आधारभूत विश्वासबाट पर हुत्तिएपछि शासक वर्गको पत्याउँदो बन्न उनैको रूपरङ, आचरण र पहिरन वरण गर्नु अस्वाभाविक पनि होइन ।

यस पटक प्रधानमन्त्रीका रूपमा शपथ लिने क्रममा प्रचण्ड लबेदा–सुरुवालमा प्रकट भए । झट्ट हेर्दा धेरैका लागि उनको यो पहिरन अनौठो र अप्रत्याशित थियो तर यो त ताछिँदै–ताछिँदै गएका प्रचण्डको अन्तिम रूप, आखिरी किस्ता थियो । यो हुनु नै थियो । सत्ता राजनीतिमा अनुकूलित हुन उनले आत्मिक रूपमा केकति कुरा ताछेर फाल्दै यहाँसम्म आउनुपर्‍यो, त्यो देख्नेलाई भन्दा बढी उनी स्वयंलाई थाहा छ । सत्ता–प्रबन्धको आन्तरिक र बाह्य खेलमा उनका छोडिन बाँकी बोक्रा अब सायदै होलान् । अहिले आएर आङमा एक जोर दौरा–सुरुवाल थपिनु प्रचण्डको गुरुत्व समाप्त हुनुको अन्तिम ‘मेनिफेस्टो’ मात्रै हो । उनैको सिको गर्दै माओवादी केन्द्रका अन्य नेता पनि चुनावपछि शपथग्रहण र बधाई साटासाटमा दौरा–सुरुवालमै प्रकट भए । यो घटनालाई सामूहिक सांस्कृतिक विचलनको प्रतीकात्मक अभिव्यक्तिका रूपमा पछिसम्म सम्झना गरिनेछ ।

प्रचण्डले प्रधानमन्त्रीका रूपमा शपथग्रहण गरेकै दिन भारतीय पत्रकार/सम्पादक आनन्दस्वरूप वर्माले अर्थपूर्ण टिप्पणी गर्दै लेखेका थिए, ‘तपाईंले (प्रचण्डले) सबै सीमा पार गर्नुभो, यो दलदलको सतह कहाँ छ ?’ त्यसो त वामपन्थी भनेरै चिनिने ओली वा माधवकुमार नेपाल लगायत धेरै नेता–कार्यकर्ताका लागि सामान्य र सहज देखिने यो ‘ड्रेसकोड’ उनका लागि असहज देखिनुपर्ने होइन । उनी ओली वा नेपालभन्दा अब कुन अर्थले भिन्न भए र ! देशका प्रधानमन्त्री, मन्त्री लगायतका शासक र कथित ‘उच्च ओहदा’ का प्रशासकहरूले राष्ट्रिय पोसाकका रूपमा प्रचलित गर्दै पहिरिँदै आएको यो परिधान शासकवर्गीय सामन्ती सत्तापोषकको प्रतीक हो भन्दै सांस्कृतिक बहुलता र वञ्चित वर्गको पहिचानको मुद्दा मुखरित गरेको तत्कालीन माओवादीका मुख्य नेता उनै भएकाले स्वाभाविक रूपमा उनी टिप्पणीको निसाना भए । तर उनीमाथिका यी टिप्पणीको पनि अब तात्त्विक अर्थ रहेन ।

माथि भनेझैं, प्रतिकूलताहरूकै बीचमा खेलेर परिणामलाई तत्कालका लागि अप्रत्याशित रूपले आफ्ना पक्षमा ल्याएको देखाउन सक्ने उनको ‘क्षमता’ लेनिनको प्रसिद्ध उक्ति ‘एक कदम अगाडि दुई कदम पछाडि’ जस्तो होइन, बरु ‘लम्हों ने खता की, सदियों ने सजा पाई’ भनेजस्तो इतिहासको गम्भीर प्रश्न हो । अहिलेको सत्तासंघर्ष सफल भएकाले मखलेल माओवादी पंक्तिलाई यसो भनेको मन नपर्न सक्छ । वञ्चित वर्गका निकै लामा संघर्ष, बलिदानका इतिहास, अपेक्षा र भाष्यलाई सट्टापट्टा गर्न तयार भएबापत उनको दौरा–सुरुवाल अवतारका भ्रूणभित्र जेजे पृष्ठभूमि बुनिएका छन्, ती प्रश्नबाहिर हुन सक्दैनन् । आफूमाथि आइलाग्ने प्रश्नका उत्तर टाल्नकै लागि हुन सक्छ, भर्खर चितवनमा एउटा विद्यालयको हीरक जयन्ती समारोहमा आएर प्रचण्डले अब भाषण होइन, समृद्धि र सुशासनका काम गर्छु भनेका छन् । तर मुख्य कुरा त के हो भने, हिजो आफैंले मुख फर्काएर भाषण गर्ने सबै शक्तिकेन्द्रका ढोका र दिशामध्ये कसैलाई पनि ‘बेखुस’ बनाउने स्थितिमा उनी छैनन् । चुपचाप प्रधानमन्त्रीको कुर्सीमा बस्नु र ‘आपसी समझदारी’ बमोजिमको काम गर्नुबाहेक उनीसँग विकल्पै छैन ।

त्यति मात्रै होइन, उनीसँग तत्कालै दिनुपर्ने यी साधारण प्रश्नकै समेत उत्तर छैन- ओलीको संसद् विघटनको कदमलाई आफैंले ‘प्रतिगमनकारी’ करार गरेर दुई वर्षभर प्रतिमगनविरोधी भाष्य बनाउँदै प्रचार गरिएका तथ्य र कथ्य सही हुन् कि गलत ? प्रतिगमनविरुद्धको लगातार संघर्षका लागि ‘अग्रगामी वाम–लोकतान्त्रिक गठबन्धन’ भन्दै स्थानीय तहदेखि अस्ति भर्खरको चुनावसम्ममा जानु सत्तानाटकको ‘टेक्निक’ मात्रै हो कि यसको अर्को अर्थ पनि छ ? सत्ता संघर्षका दाउपेचमा बुनिएका भाष्यहरू र तिनैको वरिपरि रहेर न्यायालयदेखि अखबार र टेलिभिजनसम्म फिँजिएका विचार, संसद् र चुनावी सभासम्म बोलिएका रापतापका अभिव्यक्तिको प्रयोजन प्रचण्डको सत्तारोहणसँगै अप्रासंगिक भएको हो कि अझै पनि तिनको मूल्य छ ? यी प्रश्नलाई ‘अब इतिहास भए, यता नजाऊँ’ भन्ने जवाफ दिएर कुनै पत्रकारले त छिनभरलाई सुख देला तर आफ्नै इतिहासले सुख दिँदैन ।

०००

यी सबै थोकका बावजुद प्रचण्डसँग एउटा अन्तिम अवसर भने छ, त्यो हो- प्राप्त समयबीच गर्न सक्ने आधारभूत आत्मसमीक्षा र त्रुटिमोचनका प्रयत्न । हुन त कतिपयलाई साइत हेरेर बालुवाटार छिरेका, दक्षिणपन्थीहरूले घेरिएका (र स्वयं धेरै अर्थमा त्यतै ढल्केका देखिने) प्रचण्डको यो अन्तिम बिसौनीको ‘स्खलन’ पछि अब केही पनि हुन सक्दैन भन्ने लाग्ला, तर समाप्त हुने सबै बाटो तुरिएपछि मान्छेमा एकाएक ‘बुद्धत्व’ जाग्ने र मोहमाया त्यागिने सम्भावना नकार्न सकिन्न । जीवनका ऊर्जावान् वर्षहरूका खुनपसिना, आन्दोलन र बलिदानका कठोर स्मरण गरेर आजका भुलचुक सुधार गर्ने सापेक्षिक प्रयत्न थाल्न धेरै बोल्नैपर्दैन, उनैले भनेझैं, काम गरे पुग्छ । त्यसको सुरुआत परिवारको अति मोह–त्यागबाट हुन सक्छ । ठेकेदार र बिचौलिया वर्गसँगको सान्निध्य तोडेर हुन सक्छ । आफूलाई शासनयोग्य बनाउने सहिद, घाइते र बेपत्ताका परिवारको सम्मानजनक व्यवस्थापनका कार्यक्रमले हुन सक्छ । आफूलगायत मुख्य नेतृत्वको आर्थिक–सांस्कृतिक पारदर्शिताबाट हुन सक्छ । जनजीविका र सरोकारका दैनिक मुद्दाहरूको यथोचित सम्बोधनबाट हुन सक्छ । न्यायालयदेखि र प्रशासन संयन्त्रसम्म पहुँचवालाको मात्रै रजगज हुने र दलित, महिला, अल्पसंख्यक लगायतका पहुँच नहुने मानिसहरूले दुःख पाइरहनुपर्ने स्थितिको अन्त्य गरेर हुन सक्छ । आप्रवासी श्रमिक र विद्यार्थीको माग सुन्ने र तत्कालको निकास खोज्ने कामबाट हुन सक्छ । सानै बजेटका तर प्रभावकारी योजनामार्फत राष्ट्रिय पुँजी निर्माणको प्रयत्न गरेर हुन सक्छ । यसो गर्दा ठूला परियोजना दिने विदेशी मालिकहरूलाई बेखुस बनाउनुपर्दैन । सत्तासाझेदार घटकसँग हच्किनु पनि पर्दैन ।

यति गर्न धेरै ‘क्रान्तिकारी’ भैहाल्नुपर्दैन, प्रतिबद्ध मात्रै भए पुग्छ । प्रचण्ड अब दायाँबायाँ कतै पनि फर्कन नसक्ने, कुनै पनि भाष्य र भाषाले जोगिन नसक्ने निर्विकल्प स्थितिमा छन् । आनन्दस्वरूप वर्माले भनेजस्तो, उनी भासिने सबै दलदल अब परीक्षण भैसकेका छन् । अब भासिने होइन, उत्रिने सतह खोज्नुपर्छ । कम से कम आफूले हिँडेर आएको इतिहासको लाज राख्न भए पनि !

प्रकाशित : पुस १९, २०७९ ०८:००
प्रतिक्रिया
पठाउनुहोस्

आमाहरूको स्वास्थ्यको अर्थ

सरिता तिवारी

मंसिरको दोस्रो साता उक्लिँदै थियो । भर्खरै सकिएको चुनावको तीव्र तातो बाफ घरको चुलोदेखि सामाजिक सञ्जालको भित्तोसम्म गुम्बजझैं बाक्लिएर उडिरहेका बेला साथीले सुझाएको एउटा नौलो स्वादको किताब पढ्ने हुटहुटीले म नारायणगढस्थित ‘सम्पूर्ण किताब’ को रिसेप्सनसम्म हुर्रिंदै पुगेकी थिएँ । र किताबको औपचारिक विमोचन पनि नहुँदै हात लागेको थियो ‘शून्यको मूल्य’ । 

शून्य भन्नासाथ शून्यवाद अर्थात् ‘निहिलिज्म’ वा ‘जिरो’ याद आउने लत लागेको मथिंगलमा किताबको शीर्षक आफैं एउटा रोचक पहेलीजसरी घुमिरहेको थियो । तर जसै किताबको दैलोभित्र छिरियो, शून्यका हिसाबकिताब प्रकट हुँदै गए । किताबका विषय, भूगोल र पात्र कर्णाली क्षेत्रसँग जोडिँदै व्यक्त भएकाले यसलाई ‘कर्णाली चिन्ने किताब’ नै भन्न पनि सकिन्छ तर यो त यसको एउटा आयाम मात्रै हो । अथाह गरिबी, भोक, दुःख र ती सबैसँग लड्ने बेहिसाब संघर्षको कथा भन्ने कुनै किताब या सिनेमा कहाँ उभिएर लेखिन्छ वा कुन ठाउँमा टेकेर खिचिन्छ, त्यो स्थानिक मात्रै हुँदैन, खास गरी नेपालजस्तो देशका सन्दर्भमा । केही थान पात्र र तिनले भोगिरहेका कठोर स्थितिहरूका माध्यमबाट समकालीन समाजको सिंगो अनुहार र कमजोर अर्थतन्त्रका लुला गोडामाथि उभिएको देशको गति अनुभूति गराउने यस किताबले ‘विकास’ को प्रचलित मानकमाथिको हेराइ नै बदल्दिने दृष्टि दिन्छ ।

त्यो दृष्टि जसलाई ठूलठूला ‘प्लानर’ हरूले चटक्कै छोडिदिएका छन् । अर्थशास्त्री र समाजविज्ञानीहरूले समेत ‘नोटिस’ गरिदिएका छैनन् । राजनीतिक नेतृत्व र तिनका कार्यकर्ताले त सुगारटाइजस्तो वर्ग असन्तुलनका मोटामोटा नारामै मात्र अलमल्याएर वर्षौंदेखि समाजलाई गन्तव्यहीन अलपत्र यात्री बनाएकै छन् । आर्थिक वृद्धि, सामाजिक समावेशीकरण र वातावरण संरक्षणलाई आधार मानेर दिगो विकासको लक्ष्य निर्धारण गर्ने संयुक्त राष्ट्रसंघले सम्म हेक्का राख्न नसकेको त्यो दृष्टि रहेछ- एउटा समाजले, एउटा समृद्ध विश्वको कल्पना गर्ने पुस्ताले विकासको पूर्वाधारका रूपमा सबैभन्दा पहिले सूचीबद्ध गर्नुपर्ने प्रारम्भिक काम के हो भन्ने कुरा । र त्यो रहेछ- बलिया आमाहरू निर्माण गर्ने काम । बलिया आमाहरू अर्थात् शारीरिक, मानसिक, सामाजिक सबै स्थितिले स्वस्थ, सकुशल आमाहरू । बलिया आमाहरू अर्थात् तिनले निर्माण गर्ने पूर्ण स्वस्थ पुस्ता, सन्तुलित र उज्यालो सामाजिकता ।

बालरोग विशेषज्ञका आँखाबाट समकालीन समाज पढ्ने चेष्टामा हामी कस्ता देखिँदा रहेछौं ? हाम्रा योजना, राज्यको रातो किताबले खाकामा राखेका विकास लक्ष्य, विकासको ‘ग्लोबल मिसन’ र हामीले भुक्तमान काटिरहेको परिवेशबीच टुप्लुक्क आइपुगेर एउटा डाक्टरले हामीतिर फर्केर गर्ने संवाद कस्तो हुने रहेछ ? समाजका फक्ल्याँटा चिरेर, यी हेर्नुस् यो हो हाम्रो असफलता र हामीले व्यक्तिगत/संस्थागत जागरुकता र जिम्मेवारीका ससानै प्रयत्न गर्दा पनि हात लाग्ने सफलता यीयी हुन् भन्न कुन स्तरको संवेदनशीलता चाहिन्छ ? यी सबै कुराको उत्तर डा. नवराज केसीले दिएका रहेछन् आफ्नो किताबमार्फत ।

०००

‘शून्यको मूल्य’ मा मूलतः तीनवटा सरल प्रस्ताव छन् । राज्यले विकास र समृद्धिका नाममा फूलबुट्टे शब्द खिपेर, रातो किताबका पाना भरेर मात्रै समय र पैसा खेर नफालोस् । विकासलाई मानवीय मूल्य र विवेकको उत्थानसँग जोडेर कर्णालीजस्ता राज्यको आँखाबाट कोसौं पर रहेका ठाउँमा साधारण प्रयत्नले फत्ते गर्न सकिने ती प्रस्ताव हुन्- एक, नागरिकमाथि लगानी गर र त्यसका लागि बालबालिकाबाट थाल । दुई, गुणात्मक मातृत्वका लागि बलिया र सुरक्षित महिलाको निर्माण गर । अनि तीन र सम्भवतः यसअघि कुनै पनि सरकार र योजनाकारले नभनेको प्रस्ताव हो- भविष्यको सबल अर्थतन्त्रका लागि पहिलो र तेस्रो पुस्ताको बाक्लो संवाद हुने परिवार संरचनालाई प्रोत्साहित गर ।

स्वस्थ र सम्पूर्ण रूपले गुणात्मक क्षमता भएका नागरिक उत्पादनका लागि सही ठाउँमा लगानी हुनुपर्छ भन्नेमा विकासको आधारभूत प्रयत्न जोडिनुपर्छ भनेर राज्यले कहिल्यै आत्मबोध गरेन । हामीकहाँ नागरिकमाथिको लगानी शून्य बराबर छ । संघीय प्रणालीमा गैसक्दा पनि प्रदेश तहका सरकारलाई असफल साबित गर्न संघीय सरदारहरू आफैंले कतिपय अग्राधिकार लिएर बसेका छन् । क्षेत्रीय, लैंगिक र कठोर भौगोलिक असमानताको महासामन्त बनेर लामो समयदेखि काठमाडौंमा विदेशी सहयोगको ‘घाँस’ पाउर मार्ने शासकहरूले कति कर्णालीवासीका सपना खर्लप्प निलिदिए, त्यसको हिसाब कहाँ होला ? यो किताबका कथाजस्तै कथामै मात्रै कि अन्यत्र पनि ? कर्णालीका भीर–अक्करमा चरम सामाजिक–सांस्कृतिक अवहेलना खेप्दै मातृत्वको परीक्षा दिइरहेका आमाहरू र तिनका धूलिधुसर लडाइँका नालीबेलीमा अड्केका यी कथाको मजबुनमा लेखक भन्छन्- आमाहरूमाथि लगानी गर । आमाहरूमार्फत नयाँ आउँदो पुस्ता अर्थात् निर्माणाधीन नागरिकहरूमाथि लगानी गर ।

यहाँ वर्णित आमाहरूले प्रकृतिवत् रहेका चट्टानी पहरामा लतारिँदै–लछारिँदै गरेका देखिने संघर्ष त छँदै छन्, तीेभन्दा बढी जातीय र मनोसामाजिक संरचनामा ठडिएको महाकाय अर्थराजनीतिक संकटको समस्याभित्र हेलिँदै मान्छेको जुनी वरण गर्न तिनले बेहोरेका नदेखिने खली कम भयानक छैनन् । भुनभुनेकी आमा (जसको नाम उनैलाई समेत थाहा छैन), बुधेकी फुपूआमा, भेडिनी कान्छी, पुतली आमा - यी प्रत्येक आमाको कथाका गुम्फनमा तपाईं खास वाद र सिद्धान्त त भेट्न सक्नुहुन्न तर यतिचाहिँ बुझ्नुहोस्, यी सबै पात्रले बाँचेको जीवनलाई साक्षी बनाएर ‘विकास’ का प्रचलित मानकको समीक्षा गर्न र राज्यका असफलताको जरो कारण पहिल्याउन लेखकले गरेको जमर्को भने साधारण छैन । पढ्नेहरूको होस–चेत उडाउने यी कथा लेख्ने डाक्टरभित्र संवेदनाका कति विकट रचनागर्भ र त्यसका तहहरू होलान् !

विगत शताब्दीको पचासको दशकयता विकास र अविकासको भाष्य उनेर ‘अविकसित देशहरूलाई माथि उठाउन’ भन्दै गरिएको वैश्विक परजीवीकरणको खेती र असीको दशकदेखि संरचनागत सामञ्जस्य कार्यक्रम (एसएपी) लगायतका ‘दाता देश’ का परनिर्भरमुखी ललिपपहरूको दुष्परिणाम नै नेपालजस्ता देशका यी आमाहरूले भोगिरहेका नियति हुन् भन्न कुनै द्विविधा छैन । तिनैका स्थानीय एजेन्ट बन्न बानी परेका शासकवर्गलाई आफ्नो र आफ्नाहरूको बाहेक अरूको र अझ टाढाको कर्णालीको त रत्ती पनि चिन्ता छैन भन्ने पनि प्रस्टै छ । धनी र गरिबबीचको दूरी घटाउने नाममा बनेका अनेकौं विकासे परियोजना सयौं ठाउँ चुहिने चाल्नीमा पानी भरेजस्तो बेकार भइरहेको कुराले शासकहरूलाई रौं पनि फरक परेको छैन । मानव विवेक र भुइँ तहका मानिसहरूको संरचनात्मक समानतामाथि गर्नुपर्ने आधारभूत लगानीको उपेक्षा गर्दा कस्तो नतिजा निस्कन्छ भन्ने तथ्यांक हुन् डा. केसीले यस किताबमा कुँदेका मानिसका कथा ।

नागरिकमाथि लगानी गर्ने आधार तह हुन्- स्वस्थ आमा र तिनले जन्माउने/हुर्काउने स्वस्थ बालबालिका । स्वस्थ आमा भन्नुको अर्थ आमाहरू मानसिक, सांस्कृतिक र आर्थिक रूपले समेत स्वस्थ हुनुपर्छ भनेको हो । बालबालिकालाई स्वस्थ र तन्दुरुस्त जीवन दिन राज्यले आमाको मानसिक स्वास्थ्यमाथि सबैभन्दा बढी लगानी गर्नुपर्छ भन्ने लेखकको प्रस्तावमा असहमत हुने ठाउँ नै छैन । जुन देशमा आमाहरू घरदेखि समुदाय र समाजसम्म कठोर हिंसामा छन्, जहाँ आज पनि स्त्रीको स्थान ज्यालादारी कामदेखि नागरिकता प्राप्तिसम्मै दोस्रो दर्जामा छ, जहाँ महिलाले आत्मसम्मानसाथ उभिन मात्रै खोज्दा पनि हिंसाको सिकार बन्नुपर्ने अवस्था अझै छ, जहाँ आज पनि महिनावारीजस्तो शरीरको जैविक प्रक्रियालाई विभेदको आधार बनाइन्छ, त्यहाँ महिलाले ‘स्वस्थ आमा’ बन्ने सुविधा कहिले कसरी पाउलिन् ? यो बहस भने बाँकी नै छ ।

बालरोगको पुरुष डाक्टरले स्वभावतः स्वस्थ आमा र गुणात्मक मातृत्वबारे सोच्दा कर्णालीका आमाहरूले आफ्ना सन्तानको जीवनरक्षा गर्न कति गहिरो र अवर्णनीय कष्ट काट्छन् भन्ने अनुभूतिलाई बढी नियालेका छन् । पछिल्लो समय आमा बन्ने स्थिति महिलाको चाहनामा निर्भर हुने कि नहुने भन्ने छलफलसमेत सुरु भैसकेको अवस्थामा यस किताबका कतिपय कुरा हामीमध्येकैलाई ‘परम्परागत’ नै लाग्न पनि सक्छन् । तर मातृत्वमाथि छलफल हुँदा डाक्टरको पेसागत सीमाका बीचबाटै यहाँका कथा र तीमाथि व्यक्त तथ्यगत टिप्पणी पढिनु न्यायोचित ठहरिएला । यद्यपि, मातृत्वको जैविक गुणभित्र बारम्बार महानताको लेपन थपिँदा घरीघरी डाक्टर लेखकका भावुक पङ्क्तिहरूसँग असहमत पनि भइन्छ । यसैबीच पनि उनले प्रस्ताव गरे अनुसार बलियो, नयाँ पिँढी निर्माण गर्न बलिया र सुरक्षित महिलाहरूको सुनिश्चितता हुनुपर्छ भन्ने कुराचाहिँ हरेक कोणबाट सही ठहर्छ ।

नेपाली महिलाहरू बलिया बन्न पाएका छैनन् । सांस्कृतिक, आर्थिक, शारीरिक र मानसिक कुनै पनि स्थितिबाट सुरक्षित बन्न पाएका छैनन् । छन् भने पनि ती असाध्यै थोरै छन् । आर्थिक रूपले बलिया देखिने महिला पनि मनोसांस्कृतिक र शारीरिक रूपले उत्तिकै बलिया छैनन् । गुणात्मक मातृत्वको विकास गर्न यी सबै स्थितिले बलिया र खुसी महिलाको निर्माण गर्नुपर्छ ।

डा. केसीले राखेको तेस्रो प्रस्ताव हजुरआमाहरूले बुढेसकालमा थेग्न सक्ने र बनाउन सक्ने उन्नत अर्थतन्त्रसँग जोडिन्छ । परिवार मनोविज्ञान अनुसार पहिलो र तेस्रो पुस्ताबीच संवाद हुने परिवारका बालबालिका स्वस्थ, प्रतिभाशाली र तीक्ष्ण हुन्छन् भन्ने कुराका लागि डाक्टरले सन् २०१४ मा बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनलाई उद्धृत गरेका छन्, ‘हाम्रा हजुरआमाहरूले आफ्नो जीवनको अन्तिम समयमा पनि यो देशलाई करिब सात अर्ब डलर वार्षिक रूपमा कमाएर दिने गर्छन् ।’ क्यामरुनको यो भनाइसँग ‘अक्सफोर्ड ह्यान्डबुक अफ इभोल्युसनरी साइकोलोजी’ मा उल्लिखित मानवेतर प्राणीहरू हात्ती, डल्फिन र ह्वेलमा समेत हजुरआमाले दिने पोषण र सुरक्षा हजुरआमाबिना हुर्किने बच्चाका तुलनामा दोब्बर हुने तथ्य जोड्दै डाक्टर कल्पना गर्छन्- नेपालका हजुरआमाहरूले बुढेसकालमा नाति–नातिनासँग सामीप्य स्थापित गर्न पाउँदा हाम्रो अर्थतन्त्रमा कत्रो योगदान पुग्ला ?

आफ्नी हजुरआमासँग गहिरो भावले जोडिएकी बच्चीको उपचारका क्रममा उनले विचार गरेका रहेछन्- हजुरआमाले हुर्काएका बच्चा कृषक, डाक्टर, नेता या अरू कोही पनि बनून्, ती हजुरआमाबिना हुर्केका बच्चाभन्दा धेरै स्वस्थ र सक्षम हुन्छन् । त्यसैले नेपालजस्तो देश र कर्णालीजस्तो क्षेत्रमा हजुरआमामाथि गरिने स्वास्थ्य र शिक्षाको खर्च खर्च होइन, आउने पिँढीको समष्टिगत विकासको लगानी हो । रोजगारी र आर्थिक गतिविधिका लागि दिनानुदिन परिवार खण्डीकरण र एकल परिवारको अभ्यास मौलाएको वर्तमान स्थितिमा हजुरआमा र नातिनातिनी पुस्ता सँगै रहनेबस्ने कुरा कति सम्भव होला, यसै भन्न गाह्रो छ । यो परिवार व्यवस्थापनको साधारण समस्या होइन, बृहत् अर्थराजनीतिक जटिलताले घेरिएको विषयसमेत हो । तथापि यो प्रस्तावमाथि सबैको उचित ध्यान जानु जरुरी छ ।

प्रकाशित : पुस ५, २०७९ ०७:५८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×