पाठ्यसामग्री छनोटको मापदण्ड के ?- विचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पाठ्यसामग्री छनोटको मापदण्ड के ?

नेपाली विषयका पाठ्यपुस्तकहरूमा धेरैजसो सामग्री आवश्यकता र निष्पक्षताभन्दा भागबन्डा, पहुँच, नातासम्बन्ध आदिकै माध्यमबाट समाविष्ट भएका पाइन्छन् ।
साधना प्रतीक्षा

मेरा एक मित्रलाई उनको छोराले नेपालीको पाठ नबुझेर साह्रै हैरान पारेछ । अरू सबै विषय बुझ्ने छोराले नेपाली भने पढ्नै मान्दो रहेनछ । परीक्षा नजिकिँदै गर्दा मित्रले फकाएर छोरालाई आफैंले पढाउन थालेछन् । त्यसपछि त छोराले नबुझेर पढ्नै नमानेका पाठ पनि ‘ए, यो त यस्तो राम्रो पाठ पो रहेछ’ भन्न थालेछ । त्यो सुनेर चकित भएका मित्रले छोरालाई सोधेछन्, ‘तिम्रा शिक्षकले राम्ररी पढाउँदैनन् र ? उनी त नाम चलेका शिक्षक मानिन्छन् ।’

जवाफमा छोराले बेलीविस्तार लाएछ— उसका शिक्षकले पाठ पढाउनुभन्दा पाठका लेखकको आलोचना बढी गर्ने र पाठको मूल विषयमै प्रवेश नगरी सतही व्याख्या गरेर छाड्दा रहेछन् । नेपाली विषयमा आफ्नो पनि सरोकार रहेको हुँदा मैले त्यसबारे खोजी गरें अनि थाहा पाएँ, पाठ्यक्रममा समाविष्ट पाठका लेखक तथा पढाउने शिक्षकबीच कट्टर वैचारिक भिन्नता रहेछ । त्यति मात्र होइन, ती शिक्षकलाई प्राथमिक तहदेखि उच्च माध्यमिक तहसम्म एउटै सर्जकका सृजनाहरू पढाउनुपर्दा पनि नमीठो लागेको रहेछ । उनले चाहेर वा नचाहेर गरेको हेलचेक्य्राइँको प्रत्यक्ष दुष्प्रभाव भने विद्यार्थीले भोगेका रहेछन् । पाठ्यसामग्री र त्यसका रचनाकारप्रतिको दृष्टिकोणका कारण विद्यार्थीलाई हानि पुर्‍याउने शिक्षक दोषी हो वा जहाँ पनि एउटै व्यक्तिका सामग्री समावेश गर्ने पाठ्यक्रम निर्माता ?

सुन्दा सामान्यजस्तो लागे पनि उपर्युक्त प्रसङ्गले हाम्रो पाठ्यक्रम तथा पठनपाठन सम्बन्धमा एउटा गहन बहसको आवश्यकताबोध गराएको छ । यसको उठान केही प्रश्नबाट गर्न सकिन्छ— पाठ्यक्रममा समावेश गरिने सामग्रीहरू पाठ्यक्रमको उद्देश्य, शैक्षिक आवश्यकता एवम् विद्यार्थीको क्षमता अभिवृद्धिका लागि चयन हुनुपर्ने हो या कुनै व्यक्तिलाई स्थापित गराउने नियतका साथ चयन गरिनुपर्ने हो ? हाम्रो शैक्षिक निकाय यसप्रति अनभिज्ञ छ त ? पक्कै छैन । किनकि हाम्रो शैक्षिक क्षेत्र राजनीतिनिरपेक्ष कहिल्यै रहन सकेन । पञ्चायतकालीन पाठ्यसामग्रीहरू हेर्ने हो भने तिनमा व्यवस्थाप्रति कट्टर आस्थावान्हरूकै एकछत्र रजाइँ देखिन्थ्यो । त्यति बेला पाठ्यपुस्तक लेख्नका लागि विषयविज्ञताको नभएर सत्तास्तुतिको आवश्यकता हुन्थ्यो । त्यसैले त त्यो बेलाको सामाजिक शिक्षा पुस्तकका लेखकलाई थानकोटबाहिर पनि नेपाल भएको देख्दा आश्चर्य लागेको प्रसङ्ग उनकै समकालीन व्यक्तिले सुनाउँदा हामी त्योभन्दा बढी आश्चर्यमा परेका थियौं । यति मात्र होइन, राजतन्त्रमा राजसंस्थाको महिमागानका सामग्रीहरू नै अब्बल मानिने हुँदा सोही अनुसारका लेखक तथा तिनका सृजनाले पाठ्यक्रममा स्थान पाएको यथार्थ जगजाहेरै छ । त्यसैले त्यति बेला पनि चेतनशील शिक्षकहरू आफ्नो पेसाप्रति नै वितृष्णा लागेको तर पेसागत धर्म अनुरूप पढाउनुपरेको दुखेसो गर्ने गर्थे । उनीहरू ती सामग्री पढाउन मन नलागे पनि नपढाउन भने सक्दैनथे । त्यसैले त्यति बेलाका विद्यार्थीहरू पढ्ने अधिकारबाट वञ्चित देखिँदैनथे । अहिले भने आग्रही र पूर्वाग्रही वैचारिकताको जुँगे लडाइँको मारमा विद्यार्थीहरू परिरहेका छन् ।

एकदलीय राजनीतिको दुष्प्रभाव मुलुकका आर्थिक, सामाजिक, शैक्षिक आदि क्षेत्रहरूमा परेको हुँदा विकासले गति लिन नसकेको भन्दै जनताको ठूलो त्याग र बलिदानबाट व्यवस्था परिवर्तन गरियो । तर दुर्भाग्य, उपर्युक्त क्षेत्रहरू अग्रगामी सोचका साथ अघि बढ्ने आशा गरेका हामी नेपालीहरू पुनः निराशातर्फ नै धकेलिँदै गयौं । किनकि, दलीय राजनीति सर्वसाधारणका लागिभन्दा दलगत स्वार्थका लागि मात्र फलिफाप देखियो । अन्य पक्षलाई थाती राखेर शिक्षा क्षेत्रलाई मात्र हेर्ने हो भने दलगत राजनीतिको प्रत्यक्ष दुष्प्रभाव यसले झेलेको छ । शैक्षिक निकायहरूलाई विशुद्ध प्राज्ञिक बनाउनुपर्ने मान्यताविपरीत विद्यालयदेखि विश्वविद्यालयहरूलाई राजनीतिक अखडामा रूपान्तरण गर्ने अभियान थालियो । प्रज्ञाप्रतिष्ठानदेखि साझा प्रकाशनजस्ता सरकारी निकायहरूसम्म दलीय राजनीतिको प्रतिस्पर्धा गर्ने केन्द्र बन्न पुगे । त्यसैको प्रतिफल आज साझा प्रकाशन धिकिरधिकिर गरिरहेको छ । हरेक शैक्षिक निकायमा हुने दलीय कोटा र राजनीतिक नियुक्तिको प्रत्यक्ष प्रभाव मुलुकको शैक्षिक पद्धति एवम् पठनपाठनमा पर्न गयो । छयालीस सालपछि आरम्भ भएको यो विसङ्गति बैसट्ठी–त्रिसट्ठीपछि निकै झाँगिन पुग्यो । त्यसैको उपलब्धि हो सायद, पाठ्यक्रम तथा पाठ्यसामग्री सम्बन्धी उपर्युक्त तिक्तता ।

विद्यालयको होस् वा विश्वविद्यालयको, पाठ्यक्रम निर्माणको जिम्मेवारी पाएकाहरूको दायित्व हो— उपयुक्त र प्रभावकारी सामग्री चयन गरी पाठ्क्रममा समावेश गर्नु; समय अनुसारको शैक्षिक आवश्यकतालाई सम्बोधन गर्न सक्ने, विद्यार्थीको रुचि र चाहना अनुरूपको एवम् उनीहरूमा अन्तर्निहित प्रतिभा प्रस्फुरण गराउन सक्ने सामग्रीहरूलाई प्राथमिकतामा राख्नु । यसका लागि पाठ्यक्रम विकास केन्द्रले त्यस्ता सामग्रीको खोजी, सङ्कलन गरी पाठ्यक्रममा समावेश गर्ने तथा तिनलाई अद्यावधिक गर्दै लैजानुपर्छ । अहिले हामीकहाँ यस्तो हुन सकिरहेको छैन । यहाँ त जिम्मेवार निकायका पदाधिकारीहरूको नजरमा परेका, नातासम्बन्ध वा वैचारिक आबद्धता भएका व्यक्तिका सामग्रीहरू नै प्राथमिकतामा परेका देखिन्छन् । सन्दर्भ नेपाली विषयको, केही सामग्री पुराना तथा असान्दर्भिक लागे पनि स्थापित स्रष्टाको सम्मानका लागि निरन्तरतामा देखिएका छन् । त्यसबाहेक अन्य सामग्री भने आवश्यकता र निष्पक्षताभन्दा भागबन्डा, पहुँच, नातासम्बन्ध आदिकै माध्यमबाट समाविष्ट भएका पाइन्छन् । त्यसैले त तल्लोदेखि माथिल्लो तहसम्मका पाठ्यपुस्तकका फरकफरक विधामा पनि एउटै सर्जकका सृजनाहरूको पठनपाठनबाट शिक्षक तथा विद्यार्थी हैरान भएका छन् ।

यस्तो किन भइरहेको छ त ? प्रश्न गम्भीर छ । के नेपाली साहित्यमा एकदुईबाहेक स्तरीय लेखकहरू छैनन् ? या विद्यार्थीहरूले तीबाहेक सर्जकका सृजना पढ्न रुचाउँदैनन् ? यदि यस्तो हो भने पनि यसको आधार के हो ? यस सम्बन्धी सर्वेक्षण कसले र कहिले गर्‍यो ? अझै विडम्बनाको कुरा त के छ भने, कैयौं स्तरीय कृति लेख्ने असंख्य स्रष्टा हुँदाहुँदै जसले कुनै विधामा जीवनभर एउटा मात्र सृजना प्रकाशित गरेको छ सोही सृजनालाई पाठ्यक्रममा समावेश गरिएको पनि पाइएको छ । यसैबाट छर्लङ्ग हुन्छ, सो निकायको निष्पक्षता र आग्रह । यसै गरी नयाँ–पुराना सर्जकहरू आफ्ना रचनाहरू लिएर त्यहाँका अधिकारीहरूको अघिपछि गरिरहेको दृश्य पनि कम रोचक देखिँदैन । यथार्थमा पाठ्यक्रममा समावेश गर्न उपयुक्त सामग्री त कसैको सम्बन्ध, वैचारिकता, भागबन्डा आदिका आधारमा स्रष्टा स्वयम्ले बोकेर लाने होइन,

पाठ्यक्रम विकास केन्द्र तथा सम्बन्धित विषय समितिहरूले खोजेर, रोजेर अनि स्रष्टाको अनुमति मागेर पो त्यहाँ समावेश गरिनुपर्ने होइन र ?

उपयुक्त र आग्रहबिनाको नीति कार्यान्वन हुन नसकेकैले होला, अहिले पाठ्यसामग्रीप्रति शिक्षक असन्तुष्ट देखिएका र त्यसको दुष्प्रभाव विद्यार्थीमा परेको । यसबाट विश्वविद्यालय तह पनि पूर्णतः मुक्त देखिँदैन । विषय समितिले समयसापेक्ष पाठ्यक्रम परिमार्जन गर्न नसक्नु, पाठ्सामग्रीको प्रभावकारिताका उपयुक्त आधारहरू नखोजिनु, नाम मात्रको प्रयोगात्मक हुनु बाँकी सबै सैद्धान्तिक रूपमा अघि बढाइनु आदिजस्ता समस्याबाट विश्वविद्यालयको पठनपाठन पनि जेलिएको देखिन्छ । त्यसैले त सेमेस्टर प्रणाली लागू भएपछि पनि अपेक्षित प्रायोगिक तथा गुणात्मक शिक्षा पाउन नसकेको गुनासो विद्यार्थीहरूमा देखिन्छ । दलीय राजनीतिले भित्र्याएको भागबन्डाको नीतिले नराम्ररी प्रभावित क्षेत्र विश्वविद्यालय नै हो । हरेक शैक्षिक निकायमा सत्ता–प्रतिपक्ष, अझ पछिल्लो समय विभिन्न गठबन्धनको साझेदारी हुनुपर्ने स्वघोषित प्रावधानका कारण त्यहाँका सही विज्ञहरू किनारिँदै गएका छन् । दलहरूनिकट व्यक्तिहरू नै विज्ञ बन्ने प्रवृत्ति मौलाएको छ । विभिन्न विषयमा विशेष दक्षता र विशेषज्ञता भएका साथै प्रशासनिक क्षमता भएका भन्दा राजनीतिको लिगलिगे दौडमा अघि पुग्नेहरूको उपस्थितिले शैक्षिक क्षेत्रको भविष्यमाथि नै प्रश्न उठाइरहेको छ ।

विश्वविद्यालयजस्तो उच्च शैक्षिक निकायको केन्द्रमै शिक्षकलाई कक्षा दिँदा उसको विषयविज्ञता नहेरी आस्थाका आधारमा वक्रदृष्टि राखिन्छ भने अन्यत्रको अवस्था कस्तो होला ? शिक्षणसंस्थाजस्तो पवित्र स्थानमा जानुअघि आफ्नो आस्था, विचार एवम् आग्रह–पूर्वाग्रह बाहिरै राख्नुपर्नेमा विद्वान्हरू सो सबै बोकेर भित्र जाने अनि उपयुक्त मौकामा त्यसको प्रयोग गरिहाल्ने प्रवृत्ति शैक्षिक क्षेत्रमा मौलाएको अदृश्य रोग हो । यो रोग शिक्षकका माध्यमबाट विद्यार्थीमा सर्दै जाने हुँदा यो झनै डरलाग्दो देखिन्छ । अनुसन्धान तहमा पनि विशुद्ध विषयविज्ञताको प्रयोग भएको कमै पाइन्छ । त्यसैले त अनुसन्धाताहरू अलमलमा परेको गुनासो गर्छन् ।

आफ्नो विचारभन्दा भिन्न विचारलाई सम्मान गर्न हिचकिचाउने विद्वान्हरूका कारण अनुसन्धान तहका कैयौं विद्यार्थीले विज्ञहरूको वैचारिक टक्करमा आफूहरूले दुःख पाएको गुनासो गर्दै आएका छन् ।

विगतमा जे भयो र वर्तमानमा जे हुँदै छ, त्यसबाट भविष्य मुक्त हुनुपर्छ । अहिलेको शिक्षा आफैंमा चुनौतीपूर्ण छ किनकि यसबाट विद्यार्थीहरूले आफूलाई हरेक क्षेत्रको कडा प्रतिस्पर्धामा सफल बनाउनुपर्ने हुन्छ । त्यसैले अबको शिक्षा नीति व्यावहारिक र निष्पक्ष हुनुपर्छ । यद्यपि, शैक्षिक विज्ञताका आधारमा भन्दा दलीय भागबन्डा मिलाउन शिक्षामन्त्री नियुक्त हुने हाम्रोजस्तो देशमा यस प्रकारको आशा काकाकुलको तिर्खा नहोला भन्न सकिन्न । यसो भए पनि अबको पाठ्यक्रम तथा पठनपाठन बिनाकुनै आग्रह प्रभावकारी बन्नुपर्छ । शिक्षाक्षेत्र अब पनि वैचारिक आग्रह एवम् संकुचित मानसिकताबाट मुक्त हुन नसके कहिले हुने ?

प्रकाशित : पुस १७, २०७९ ०८:२९
प्रतिक्रिया
पठाउनुहोस्

चाडपर्व र महिला

सहकार्य र सहभावको संस्कृति हरेक पुरुषको मानसिकतामा विकसित हुने हो भने महिलाले हाम्रा मौलिक सांस्कृतिक पर्वहरूप्रति वितृष्णाबोध गर्नुपर्नेछैन । अझ, कामकाजी महिलाहरूले त दसैंतिहारजस्ता पर्वमा पाएको बिदामा रमाउँदै आफ्नो वर्षदिनभरिको थकान र तनावसमेत बिर्सन पाउनेछन् ।
साधना प्रतीक्षा

दसैंलगत्तै भेटिएकी एक परिचित दिदीलाई मैले सोधेकी थिएँ, ‘दसैं कस्तो भयो नि ?’ उनले उमंगरहित स्वरमा भनिन्, ‘कस्तो हुनु र बहिनी ! आइमाईको दसैं चुलो र जुठेल्नु त हो नि ! मलाई त यो दसैं कहिल्यै नआए पनि हुन्थ्योजस्तो लाग्छ ।’ यस्तै केही गुनासा अनि निराशाहरू पोखेर उनी बाटो लागिन् । पढे–लेखेकी अनि कामकाजी उनी दसैं मनाउन पुर्ख्यौली घर गएर आएकी थिइन् ।

यस्ती महिलाको त दसैं सम्बन्धी धारणा यस्तो छ भने आम महिलाको भोगाइ कस्तो होला, जसको जीवन नै ‘चुलो र जुठेल्नु’ मा अल्झिरहेको हुन्छ ? उनीहरूले चाडपर्वमा रमाइलो र आनन्दको अनुभूति कसरी गर्दा हुन् ? यही प्रश्नसँगै जोडिएर होला, अहिले हाम्रा चाडपर्वहरू रहर नभएर बाध्यताजस्तो बनिरहेका छन् । राष्ट्रको बहुसांस्कृतिक पहिचानका रूपमा रहेका यस्ता पर्वहरूप्रति यसरी वितृष्णा जाग्नुलाई सामान्य रूपमा लिइनु हुन्न ।

सनातन परम्पराले महिलालाई उच्च स्थानमा राखेको छ । यसको उदाहरण हो— शक्ति, वैभव, विद्याजस्ता जीवनका तीन महत्त्वपूर्ण पक्षमा महिलालाई प्रतिष्ठापित गरी महाकाली, महालक्ष्मी र महासरस्वतीका रूपमा देवीको पूजा गर्ने परम्परा । देवी वा शक्तिको आराधना गरिने दसैंमा घरघरका कति देवीहरू कामको चटारोले सताइएका हुन्छन् अनि मान्यजन तथा पुरुषहरूको सेवाटहल गर्दागर्दै अस्वस्थसमेत बन्न जान्छन् भन्नेतर्फ सायदै कसैको ध्यान जान्छ । किनकि, महिलाहरू पीडा लुकाएर हाँस्छन् अनि व्यथा बोकेर बाँच्छन् र त्यही व्यथाले किचिएर अन्ततः जीवनबाटै विमुख पनि हुन्छन् ।

दसैंकै सन्दर्भमा पुरुषहरूले गर्ने भनेका मार हान्ने वा मासुको व्यवस्था लगायत केही बाहिरी काम हुन्; त्यसपछि उनीहरूको काम साथीभाइसँग घुम्नु, गफ हाँक्नु, इच्छित परिकारको फर्माइस गरी खानु अनि तास खेलेर बस्नु हुन्छ । महिलाको काम भने मालताल जुटाउनु, पकाउनु–खुवाउनु, बालबच्चा स्याहार्नु, पाहुनाहरूको स्वागत सम्मान तथा भोजन आदिको व्यवस्था गर्नु हुन्छ । सम्पन्न वर्गका महिलाहरू भाँडा माझ्नबाट मुक्त भए पनि अधिकांश मध्यम तथा विपन्नवर्गीय महिलाहरू जुठा भाँडासँगै हुन्छन् । यस्तोमा उनीहरू कसरी खुसी हुन सक्लान् ? उनीहरूलाई खुसी बनाउने दायित्व परिवारका पुरुष सदस्यहरूको होइन ?

कुनै कालखण्डमा बाध्यकारी परिवेशका कारण महिलाले निर्वाह गरेको पारिवारिक भूमिकालाई कालान्तरमा पितृसत्ताले सदाका लागि अनुमोदन गरिदियो । त्यसपछि घरेलु भूमिका केवल महिलाका लागि हो भन्ने मान्यता स्थापित हुन गयो । महिलाहरू घरभित्र मात्र सीमित भएको अवस्थामा यस प्रकारको श्रम विभाजन उपयुक्त भए पनि अधिकांश महिला पुरुष हाराहारी बाहिरी भूमिकामा रहेको वर्तमानमा पनि महिलाको घरेलु भूमिकामा परिवर्तन नहुनु न्यायोचित देखिँदैन । यसबाट महिलाहरू श्रमको दोहोरो मारमा परिरहेका छन् ।

केही समययता हाम्रो सनातन संस्कृति तथा त्यससँग सम्बन्धित पर्वहरू महिलाप्रति अनुदार तथा विभेदकारी भएको विचारले ठाउँ पाइरहेको छ । जुन संस्कृतिले नारीलाई आदिशक्तिका रूपमा मानेको छ र नारीको सम्मान हुने ठाउँमा मात्र देवता रमाउँछन् भन्ने मान्यता राखेको छ, त्यो कसरी महिला–उत्पीडक हुन सक्छ ? आखिर कसले बनायो त हाम्रो संस्कृतिलाई नारीद्वेषी ? तिहारमा लक्ष्मीको पूजा गर्ने पुरुषले घरकी लक्ष्मीलाई कुटपिट गरी उसका गहना जुवा खेल्न लैजानु कहाँ भनिएको छ ?

कुन शास्त्रमा लेखिएको छ, चाडपर्वमा पुरुषहरूले खाएको खायै अनि महिलाहरूले पकाउने र जुठा भाँडा माझ्ने काम मात्र गर्नु ? कुन ग्रन्थमा लेखिएको छ, रजस्वला तथा प्रसूति स्त्रीलाई छाउगोठमा राखी यातना दिनु भनेर ? कुन संहितामा उल्लेख छ, पुरुषले घरेलु काममा महिलासँग साझेदारी नगर्नू भनेर ? महिलालाई आराम तथा मनोरञ्जनबाट वञ्चित गराउनुपर्ने अनि परिवारभित्र उसको स्थान केवल दासी, त्यो पनि बिनाश्रमको बनाउनू भनेर हाम्रो धर्मग्रन्थको कुन सूक्तमा उल्लेख छ ? खोजीको विषय यही हो ।

सामन्ती युगदेखि विकसित पुरुषसत्ता एवम् कर्मकाण्डीय पद्धतिले हाम्रो उदार संस्कृतिलाई विकृत पार्दै आयो अनि नारीलाई सदा पुरुषकी दासीका रूपमा राखिराख्नका लागि बनाइए अनेकन् विभेदकारी मान्यताहरू । पाप र धर्मको सही परिभाषा नै नजानेकाहरूले बनाएका त्यस्ता मान्यताको अनुसरण गरेर हामीले आफ्नो संस्कृतिलाई नै विभेदकारी बनाइरहेछौं । नारी र पुरुषबीचको सहकार्य तथा सहअस्तित्वबाट प्रारम्भ तथा विकसित यो मानव सभ्यता र समाज यसरी विभेदकारी बन्नु मानवताकै दुर्नियति हो । यसमा पुरुषहरू मात्र दोषी भने पक्कै छैनन् ।

धर्म र संस्कृतिका नाममा महिलाहरूका लागि सिर्जिएका अनेक वर्जना र बाध्यकारी नियमहरूको अन्त्यका लागि महिला स्वयम्कै अग्रसरता नदेखिनुले पनि विभेदकारी मूल्यकै पृष्ठपोषण गरेको देखिन्छ । घरभित्रको काममा पुरुषलाई निषेध गरी महिलालाई मात्र जोताउने पनि महिलाहरू नै बढी हुने गर्छन् । धर्म र संस्कृतिका नाममा महिलाहरूका लागि सिर्जिएका अनेक वर्जना र बाध्यकारी नियमहरूको अन्त्यका लागि महिला स्वयम्कै अग्रसरता नदेखिनुले पनि विभेदकारी मूल्यकै पृष्ठपोषण गरेको देखिन्छ ।

संस्कृति र परम्पराको मूलमा हुँदै नभएको विभेदकारी मूल्यलाई अनुसरण गर्दै महिलामाथि गरिने विभेदपूर्ण विधि–व्यवहारको अब अन्त्य गरिनुपर्छ । औद्योगिकीकरणको वर्तमान युग तथा हरेक परिवारले सामना गर्नुपरेको आर्थिक जटिलताबीच परिवार धान्न जसरी महिला–पुरुष दुवै आय आर्जनमा लागेका हुन्छन्, त्यसरी नै घरेलु दायित्व निर्वाहमा पनि दुवैको सहभागिताको आवश्यकता हुन्छ । पुरुषहरू घरेलु भूमिकामा सक्षम हुँदैनन् भन्ने मान्यता पितृसत्तात्मक सोचको उपज हो । त्यसैले त नारीवादीहरू पुरुषलाई नारीकरण गर्नुपर्छ भन्छन् । अहिले होटल म्यानेजमेन्ट पढ्ने अनि सामान्यदेखि तारे होटलहरूमा कुकसम्मको भूमिका निर्वाह गर्ने पुरुषहरू नै हुन्छन् भने पुरुष घरेलु भूमिकामा अदक्ष कसरी हुन्छ ? यो त केवल पुरातन दृष्टिकोणमा परिवर्तन आउन नसक्नुको उपज मात्र हो ।

अहिले जब सामाजिक भूमिकामा नारी–पुरुष सहकार्य गर्दै अघि बढिरहेका छन्, पारिवारिक भूमिकामा पनि किन हातेमालो नगर्ने ? अबका पर्वहरूमा महिलाले बनाएका परिकार खाँदै र उनीहरूको सेवाले मक्ख पर्दै पुरुष रमाएजस्तै पुरुषले बनाएका परिकारको स्वाद लिँदै तथा उनीहरूको थोरै साथ र सहयोगमा महिलाका पसिना पुछिएमा उनीहरूले पनि चाडपर्वको रमाइलो अनुभव गर्न पाउँथे होला ।

सहकार्य र सहभावको संस्कृति हरेक पुरुषको मानसिकतामा विकसित हुने हो भने महिलाले हाम्रा मौलिक सांस्कृतिक पर्वहरूप्रति वितृष्णाबोध गर्नुपर्नेछैन । अझ, कामकाजी महिलाहरूले त दसैंतिहारजस्ता पर्वमा पाएको बिदामा रमाउँदै आफ्नो वर्षदिनभरिको थकान र तनावसमेत बिर्सन पाउनेछन् ।

प्रकाशित : कार्तिक ७, २०७९ ०८:४६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×