विश्वविद्यालयमा प्राज्ञिक अन्तरप्रजनन- विचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विश्वविद्यालयमा प्राज्ञिक अन्तरप्रजनन

जसरी आनुवंशिक हिसाबले भिन्नभिन्न व्यक्तिबीच हुने मैथुनले शौर्यवान् ठिमाहा जन्माउँछ, त्यसरी नै प्राज्ञिक उत्कृष्टताका लागि पनि भिन्न विचार, संस्कार र विश्वदृष्टि भएका प्राज्ञिक व्यक्तिहरूबीच प्राज्ञिक मैथुन जरुरी छ ।
उत्तमबाबु श्रेष्ठ

सन् २०११ मा नेचर जर्नलमा एउटा लेख छापियो, जसमा अमेरिकाको रट्गज विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले दक्षिणी केन्याको रिफ्ट भ्याली क्षेत्रको तर्कना ताल किनारको पुरातात्त्विक क्षेत्रमा ‘ढुंगे औजार फेला पारेको’ रिपोर्ट थियो । करिब २० सेमि लम्बाइ, सिरानमा चुच्चो र फेदमा गोलाकार, धारिलो र बांगोटिंगो किनारा भएको उक्त ढुंगा चानचुने थिएन ।

मानव पुर्खा होमो इरेक्ट्सले प्रयोग गरेको ठानिएको १७ लाख वर्ष पुरानो उक्त ‘ढुंगे बन्चरो’ हालसम्म फेला पारिएकोमध्येकै सबैभन्दा पुरानो ढुंगे युगको हतियार थियो ।

उक्त ढुंगे बन्चरो नेपाली खुकुरीजस्तै मासुलाई टुक्र्याउन, रूखका हाँगाबिँगा छिमल्न र जनावरलाई मार्न उपयोगी हुन्थ्यो । मानव पुर्खाहरूले त्यस्तै ढुंगे हतियार प्रयोग गरेर आफूभन्दा शक्तिशाली घोडा, गैंडाजस्ता जनावर मात्रै होइन, आफैंलाई सिध्याउन सक्ने बाघ, भालुको सिकार गरेर बाँचे र पृथ्वीभर फैलिए । अफ्रिका महादेशका केन्या, इथियोपिया, दक्षिण अफ्रिकाका थुप्रै पुरातात्त्विक क्षेत्रहरूमा विभिन्न समयमा भेटिएका आदिम ढुंगे हतियारहरूका प्रमाणले भन्छन्— मानव पुर्खाहरू आफ्नो उत्पत्तिको लाखौं वर्षसम्म पनि एकै खाले प्रविधिको प्रयोग गरेर बाँचे । उनीहरूले प्रयोग गर्ने आदिम प्रविधिमा लामो कालखण्डसम्म पनि कुनै सुधार भएन ।

लेखक म्याट रिड्लेले आफ्नो पुस्तक ‘र्‍यासनल अप्टिमिस्ट हाउ प्रस्परिटी इभोल्भ’ मा मानव पुर्खाको शारीरिक परिवर्तनभन्दा पनि सुस्त गतिमा परिवर्तित त्यस्ता ढुंगे प्रविधिलाई छिनछिनमै परिवर्तन भइरहने अत्याधुनिक प्रविधिसँग दाँजेका छन् । उनको तर्क छ— आदिम मानवले प्रयोग गर्ने ढुंगे बन्चरो र आधुनिक मानिसले चलाउने कप्युटरको माउस आकारमा उस्तै एक हातले चलाउने मानवनिर्मित प्रविधिहरू नै हुन् तर ढुंगे युगको प्रविधि एकल मस्तिष्कको उपज थियो भने कप्युटरको माउस असंख्य मस्तिष्कबीचको मैथुनको नतिजा ।

विचारहरूको मैथुन

संसारमा यतिखेर मानव जनसंख्याले ८ अर्ब नाघेको छ । तर १ लाख वर्षअघि मात्रै पनि पृथ्वीमा मानव प्रजातिको जनसंख्या केही हजारमा सीमित थियो । तिनीहरू मुस्किलले २० वर्षदेखि ३५ वर्षसम्म बाँच्थे र अफ्रिकाभित्रै सीमित थिए । अहिले पृथ्वीमा मान्छेको जनसंख्या मात्रै होइन, मान्छेले उपयोगी ठानेको घरपालुवा जनावरको संख्या पनि उल्लेख्य बढेको छ । हाल संसारभरका स्तनधारी जीवहरूको कुल जनसंख्याको ३४ प्रतिशत हिस्सा मानिसले, ६२ प्रतिशत मानिसले पालेका गाईबस्तुले र बाँकी ४ प्रतिशत मात्रै जंगली जनावरले ओगटेका छन् । मानिसले पृथ्वीका बस्न मिल्ने–नमिल्ने सबै ठाउँ ओगटेको मात्रै होइन, पृथ्वीमा करोडौं वर्षदेखि चलिआएको आनुवंशिक, जैविक र रासायनिक प्रक्रियालाई पनि हेरफेर गरिदिएको छ । हुन त पृथ्वीमा मानव प्रजातिको यस्तो एकल दबदबा थुप्रै स्तनधारीसहित अन्य जनावरको सामूहिक विनाश र ठूलो वातावरणीय मूल्य चुकाएर भएको हो तर पनि उत्पत्तिको हिसाब (आफू बाँच्ने र आफ्नो अनुवंश सन्तानमा सार्ने) ले हेर्ने हो भने मानव पृथ्वीको अहिलेसम्मकै सबैभन्दा सफल प्रजाति हो ।

मानिसभन्दा ठूलो मस्तिष्क भएका, औजार पनि प्रयोग गर्ने, बढी सामाजिक र बलिया जनावरहरू यस पृथ्वीमा आए अनि बिलाए र कतिपय अहिले पनि अस्तित्वमा छन् । तर मानव प्रजातिको जस्तो फैलावट, सुखसयल र समृद्घि अन्य कुनैले पनि हासिल गर्न सकेनन् । मानव प्रजातिले हासिल गरेको यस्तो चामत्कारिक सफलताको पछाडि मानिसले गरेका अभिनवहरू (इनोभेसन्स) को ठूलो देन छ । र, मानिसले गरेका ती अभिनवहरूका पछाडि मानिस–मानिसबीच हुने विचार र प्रयासहरूको मैथुनको हात छ । म्याट रिड्लेको तर्क छ— जसरी जैविक संसारमा मैथुन हुँदा फरकफरक व्यक्तिबाट भिन्न प्रकारका अनुवंशहरू (जिन) आउँछन् र तिनीहरूको मिलनले पैदा गर्ने नयाँ पुस्ता पुरानोभन्दा उन्नत र अनुकूली हुन्छन्, त्यसरी नै भिन्न विचारहरूबीच मैथुन हुँदा त्यसबाट उत्पादित नयाँ विचार पुरानोभन्दा थप परिष्कृत बन्दै जान्छ । थप, जसरी कम्प्युटर हार्डवेयर र सफ्टवेयरको जोडले, इन्टरनेट र स्मार्टफोनबीचको मिलनले अनि छापाखाना र कागजबीचको संयोजनबाट यी वस्तुहरूको एकल योगदानको योगभन्दा बढी समग्र प्रतिफल प्राप्त हुन्छ, त्यसरी नै मानव सृजनशीलतालाई अकल्पनीय उचाइमा लग्न भिन्न विचारहरूबीचको मैथुन जरुरी छ । त्यसकारण मानव प्रजातिले हासिल गरेका तमाम प्रगतिका पछाडि यो प्रजातिका व्यक्तिहरूबीच हुने वैचारिक मैथुन प्रमुख कारक हो । रिड्लेपछि ‘स्यापियन्स’ का लेखक युवल नोहा हरारीले पनि मानवहरूबीचको सहकार्यलाई मानव प्रभुत्वको मुख्य कारक मानेका छन् ।

अन्तरप्रजनन मैथुनको प्रभाव

संसारमा मैथुनिक (सेक्सुअल) र अमैथुनिक (असेक्सुअल) प्रजनन गर्ने जीवहरू अस्तित्वमा छन् । लगभग सबै बहुकोषीय जीवहरू मैथुनिक प्रक्रियाबाट सन्तानोत्पादन गर्छन् । जीवहरूको उद्विकास एककोषीय अमैथुनिकबाट बहुकोषीयमा भएको हो । किनभने अमैथुनिक प्रजनन प्रक्रियाले जीवहरूलाई बदलिँदो वातावरणमा अनुकूलन हुन सघाएन । तर मैथुनिक प्रजननमा भिन्न स्रोतव्यक्तिबाट जिन प्रसारण हुने भएकाले सन्तानहरूमा त्यसले आनुवंशिक विविधता ल्याउँछ । त्यस्तो विविधताले प्रजातिहरूलाई नयाँ वातावरणमा अनुकूल हुन सघाउँछ । र, रोगव्याधि लागिहालेमा पनि उक्त प्रजातिको सबै जनसंख्या मर्दैन । त्यसैले मैथुनिक प्रजनन वातावरणसँग अनुकूलन भएर बाँच्ने क्रममा उद्विकासको निगाहबाट प्राप्त गुण हो ।

तथापि मैथुनिक प्रजननमा पनि अनुवंशको स्रोतव्यक्ति आनुवंशिक हिसाबले नजिकका नातेदार भएको खण्डमा अर्थात् हाडनाताबीच अन्तरप्रजनन भएको अवस्थामा सन्तानमा विविधताको सट्टा एकरूपता (होमोजाइगोसिटी) बढ्छ, जसका कारण सन्तानहरूमा प्रभावशालीको साटो लुप्त गुण (रिसेसिभ ट्रेट) हरू देखिने खतरा हुन्छ । यसले गर्दा सन्तानको जैविक तन्दुरुस्ती र अनुकूलन क्षमतामा ह्रास आउँछ, जसलाई वैज्ञानिक भाषामा अन्तरप्रजनन अवसाद (इनब्रिडिङ डिप्रेसन) भनिन्छ । अन्तरप्रजनन अवसादले सन्तानहरूको बाँच्ने सम्भाव्यतालाई पनि घटाउँछ ।

विभिन्न प्रजातिमा गरिएका अध्ययनहरूले अन्तरप्रजननबीच हुने प्रजननले सन्तानको बाँझोपन बढाउने, कद घटाउने, आयु छोट्याउने देखाएको छ । मानिसमा पनि हाडनाता प्रजननबाट जन्मेका सन्तानको कम उमेरमै मृत्यु हुने, संज्ञानात्मक क्षमतामा कमी हुने र विभिन्न रोगले च्याप्ने देखाएको छ । त्यसैले मानव समाजमा हाडनाताबीचको मैथुनिक प्रजननलाई विभिन्न सांस्कृतिक, सामाजिक र कानुनी बन्देजहरू सृजना गरेर निषेध गर्ने गरेको पाइन्छ । मानिसमा मात्रै होइन, जीव र वनस्पतिका विभिन्न प्रजातिमा पनि अन्तरप्रजनन नहोस् भन्ने

हिसाबले विभिन्न क्रियाविधि — जस्तै : हाडनाताको पहिचान (किन रेकग्निसन), फरक समयमा यौनिक परिपक्वता देखिने (डिलेड म्याचुरेसन) — विकसित भएका हुन्छन् ।

प्राज्ञिक अन्तरप्रजनन

जसरी जैविक जगत्मा हाडनाता प्रजननले सन्तानलाई नोक्सान गर्छ, त्यसरी नै शैक्षिक जगत्मा हुने प्राज्ञिक अन्तरप्रजननले शैक्षिक संस्थानलाई हानि पुर्‍याउँछ । सामान्यतया प्राज्ञिक अन्तरप्रजनन भन्नाले विश्वविद्यालयले प्राध्यापक भर्ती गर्दा आफ्नै विश्वविद्यालयमा अन्तिम पढाइ सकेका विद्यार्थीहरूबाटै प्राध्यापकको छनोट गर्ने प्रक्रियालाई बुझिन्छ । नेपालमा त्रिभुवन लगायतका विश्वविद्यालयहरूमा अहिले प्राध्यापकहरूको अवस्था हेर्ने हो भने प्राज्ञिक अन्तरप्रजननको समस्या चर्को देखिन्छ । आफूलाई पढाउने गुरु र आफूले पढाएका चेला सँगै प्राध्यापन गर्ने प्राध्यापकहरूको बाहुल्य यतिखेर त्रिविमा छ । त्रिविमा मात्रै होइन, पछि खुलेका काठमाडौं विश्वविद्यालयबाहेकका विश्वविद्यालयहरूमा पनि प्राज्ञिक अन्तरप्रजननको समस्या व्याप्त देखिन्छ । त्यसले हाम्रा विश्वविद्यालयहरूमा प्राध्यापकहरूबीचको आपसी सम्बन्धलाई समकक्षी (पिअर्स) को भन्दा पनि आफूलाई पढाएकोलाई पुज्ने र आफूले पढाएकोबाट पुजिन खोज्ने दर्ज्यानी (हाइरार्किकल) गुरु–चेलाको सम्बन्धमा रूपान्तरित गरेको छ ।

नेपाली समाजमा अझै पनि उमेर, जात, लिंग, क्षेत्र, कनिष्ठता–वरिष्ठताका आधारमा ठूलो–सानो मान्ने सामन्ती संस्कार व्याप्त छ । हामीलाई औपचारिक–अनौपचारिक रूपमा पद, उमेर, जात र वरिष्ठताका आधारमा ठूला भनिएका सामु आज्ञाकारी र चाप्लुस बन्न सिकाइन्छ । गुरुलाई प्रश्न गर्नेलाई भन्दा पनि पुज्नेलाई संस्कारी मान्ने चलन छ । तर विश्वविद्यालय भनेको स्वतन्त्रतापूर्वक अनुसन्धान गर्ने, प्रश्न गर्ने, एकअर्काका कमीकमजोरी औंल्याउने र प्राज्ञिक वाद–प्रतिवाद गर्ने थलो हो । प्रश्न र बहस प्राज्ञिक अनुसन्धानको आधारभूत तत्त्व हो । प्रासंगिक प्रश्नहरूले नै उत्कृष्ट अनुसन्धान जन्माउँछन् । तर हाम्रा विश्वविद्यालयमा विद्यमान गुरु–चेलाको श्रेणीगत संरचनाले प्रश्न गर्ने आधारलाई नै समाप्त पारिदिएको छ । त्यसैले हाम्रा विश्वविद्यालयका प्राध्यापकहरूबीचमा गुण र दोषका आधारमा प्रश्न उठाउने प्रचलन न्यून छ । गुरु–चेलाका सबलता र दुर्बलता दुवैलाई थाहा भइसकेको हुनाले एकअर्काका कमजोरी केलाउने, त्यसलाई सुधार्न छलफल गर्नेभन्दा पनि तैं चुप मै चुपको यथास्थितिमा रमाउने चलन छ । यसले गर्दा हाम्रा विश्वविद्यालयमा उत्कृष्ट अनुसन्धान हुनु त परको कुरा, अनुसन्धान नैतिकताको पनि खडेरी लागेको छ । त्यसैले त्यहाँ थेसिस किनबेच, बौद्घिक चोरी र प्राध्यापकका यौन दुराचारका मुद्दाहरू सार्वजनिक हुँदासमेत आवाज उठाउनेहरू हतपती भेटिँदैनन् । त्यसकारण हाम्रा विश्वविद्यालयहरूमा कैयौं वर्षदेखिका समस्या समाधान हुनुको सट्टा थुप्रिँदै जानुमा अन्य थुप्रै कारणमध्ये प्राज्ञिक अन्तरप्रजनन पनि एक हो ।

अध्ययनहरूले प्राज्ञिक अन्तरप्रजननले निकृष्ट विद्वत्तालाई जन्माउने, विचार र विज्ञताको फैलावटलाई रोक्ने र प्रज्ञिक क्षमतालाई भुत्ते बनाउने देखाएका छन्, जुन त्रिविमा यतिखेर प्रस्ट रूपमा देखिन्छ । केही दशकपहिले त्रिविका अनुसन्धान केन्द्रहरू जीवन्त थिए । देशका जल्दाबल्दा मुद्दाहरूमा त्यहाँ छलफल, बहस र अनुसन्धान हुने गर्थे । त्यहाँका प्राध्यापकहरू पनि विचार निर्माण गर्नमा, ट्रेन्ड सेट गर्नमा अग्रणी देखिन्थे । तर पछिल्ला समयमा विभिन्न प्रणाली अन्तर्गत त्रिविमा भर्ती गरिएका प्राध्यापकहरूले आफ्नै संस्थाको समस्याबारे बोल्न सक्ने अवस्था छैन भने देशको समस्या त परको कुरा ! उनीहरूले नयाँ पुस्तालाई आफूजस्तो रोल मोडल बन्नुपर्छ भनेर उत्प्रेरित गर्न सकिरहेका छैनन् । विश्वविद्यालयको आत्मा मरिसकेकाले होला, त्रिविको वर्तमान अवस्थाबारे पूर्वउपकुलपति केदारभक्त माथेमाको ठम्याइ छ— यो मृत भइसक्यो ।

अन्त्यमा, जसरी आनुवंशिक हिसाबले भिन्नभिन्न व्यक्तिबीच हुने मैथुनले शौर्यवान् ठिमाहा जन्माउँछ, त्यसरी नै प्राज्ञिक उत्कृष्टताका लागि पनि भिन्न विचार, संस्कार र विश्वदृष्टि भएका प्राज्ञिक व्यक्तिहरूबीच प्राज्ञिक मैथुन जरुरी छ । विकसित देशका विश्वविद्यालयहरूले प्राध्यापक भर्ती गर्दा प्राज्ञिक अन्तरप्रजननलाई रोक्ने गरेका हुन्छन् । किनभने शैक्षिक गुणस्तर र अनुसन्धान उत्कृष्टताका लागि प्राध्यापकको चयन विश्वविद्यालयका लागि सबैभन्दा महत्त्वपूर्ण निर्णय हो । विश्वविद्यालयको निर्माणको सुरुआती अवस्थामा प्राज्ञिक अन्तरप्रजनन नै अपनाउनुपर्ने बाध्यता भए पनि विश्वविद्यालयको परिपक्वतासँगै प्राध्यापकहरूको छनोटमा प्राज्ञिक अन्तरप्रजनन नहोस् भन्नेमा सजगता अपनाउनैपर्छ । त्रिवि लगायतका नेपालका विश्वविद्यालयहरूमा यतिखेर अनगिन्ती समस्या छन् । र, तीमध्ये हतपती चर्चामा नआउने तर अन्यत्रका विश्वविद्यालयमा गम्भीर रुपमा लिइने प्राज्ञिक अन्तरप्रजनन पनि यहाँको प्रमुख समस्या हो, जसलाई समाधान गर्न ढिलो भइसक्यो ।

प्रकाशित : पुस १४, २०७९ ०८:२२
प्रतिक्रिया
पठाउनुहोस्

जलवायु परिवर्तन र जैविक विविधता

उत्तमबाबु श्रेष्ठ

इजिप्टको शर्म अल–शेखमा दुई हप्ता चलेको संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–२७) को समापन मंसिर ३ मै भए पनि त्यहाँ गरिएको जलवायुजन्य क्षति र नोक्सानीको निर्णयले संसार अझै तरंगित छ । उक्त सम्मेलनमा धनी देशहरू आफूहरूबाट उत्सर्जित हरितगृह ग्यासका कारण जलवायु परिवर्तन भएको र त्यसको मारमा गरिब देशहरू परेको यथार्थलाई स्वीकार गरी जलवायुजन्य क्षति र नोक्सानी सम्बोधनका लागि छुट्टै कोष बनाएर पीडित देशहरूलाई सहयोग गर्न राजी भएका थिए ।

गरिब राष्ट्रहरूले एक दशकभन्दा बढी

समयदेखि उठाउँदै आएको यो मुद्दाको यथोचित सम्बोधन भएकाले जलवायु परिवर्तनको विश्ववार्ताहरूमा कोप–२७ लाई पेरिस सम्झौता गरिएको कोप–२१ पछिको ऐतिहासिक सम्मेलन भनिएको छ । तथापि उक्त क्षति र नोक्सानी कोष (लस एन्ड ड्यामेज फन्ड) को सञ्चालन विधि र त्यसमा पहुँचका थुप्रै सवालको विस्तृत विवरण तयार हुन बाँकी नै छ ।

अहिले विश्वले जलवायु परिवर्तनसँगै जैविक विविधता ह्रास र वायु प्रदूषणको समस्यालाई एकैसाथ भोगिरहेको छ, जसलाई संयुक्त राष्ट्रसंघले तीन महाविपद् (ट्रिपल प्लानेटरी क्राइसिस) भनेको छ । यी तीन महासंकटले विश्वको अर्थतन्त्र, मानव प्रगति, जनस्वास्थ्यलाई नकारात्मक असर मात्रै पारेका छैनन्, सम्पूर्ण मानव प्रजातिको अस्तित्वमाथि नै प्रश्नचिह्न खडा गर्न खोजेका छन् । विश्वमा उच्च रक्तचाप र धूमपानपछि मानवमृत्युको तेस्रो प्रमुख कारक वायु प्रदूषण रोक्न बाध्यकारी वैश्विक सम्झौता अझै भएको छैन तथापि जलवायु परिवर्तन र जैविक विविधता ह्रास रोक्न विश्वका सरकारहरूबीच तीस वर्षअघि नै दुई महासन्धि भएका थिए । सन् १९९२ मा ब्राजिलको रियो द जिनेरियोमा भएको पृथ्वी सम्मेलनका दुई उपलब्धिमध्येको एउटा हाँगो विश्व जलवायु महासन्धिका पक्षराष्ट्रहरू (यूएनएसीसीसी) को सम्मेलन (कोप–२७) जुन हालै इजिप्टमा सकियो ।

दोस्रो हाँगो, जैविक विविधता महासन्धिका पक्षराष्ट्रहरू (सीबीडी) को सम्मेलन (कोप–१५) जुन अहिले क्यानडाको मोन्ट्रियलमा जारी छ । कोभिडका कारण चार पटक सरेर हाल जारी उक्त सम्मेलनमा १९६ देशका प्रतिनिधि, जैविक विविधता विज्ञ र अभियन्ताहरूले भाग लिइरहेका छन् ।

जीवहरूको अस्तित्वमा अभूतपूर्व संकट

तीस वर्षअघि पृथ्वी सम्मेलनताका विश्वका सरकारहरूलाई जलवायु परिर्वतन र जैविक विविधता ह्रासको आसन्न संकटको थोरै अनुमान मात्रै थियो । तर यतिखेर जलवायु परिवर्तन र जैविक विविधता ह्रासको भीमकाय असरबारे भरपर्दो वैज्ञानिक ज्ञान उपलब्ध छ । जलवायु परिवर्तन सम्बन्धी ज्ञानको संश्लेषण जलवायु परिवर्तन सम्बन्धी अन्तरसरकारी प्यानल (आईपीसीसी) ले गर्दछ भने जैविक विविधता सम्बन्धी ज्ञान संश्लेषणका लागि जैविक विविधता र वातावरणीय सेवा सम्बन्धी अन्तरदेशीय विज्ञान नीति संयन्त्र (आईपीबीईएस) बनाइएको छ । यी दुई अन्तरदेशीय निकायहरूले क्रमशः जलवायु परिवर्तन र जैविक विविधताका क्षेत्रमा वैश्विक नीति निर्माणका लागि आवश्यक ज्ञानको संश्लेषण गरेर महासन्धिका पक्षराष्ट्रहरूलाई विज्ञानमा आधारित नीति बनाउन सहयोग गर्दछन् । सन् २०१२ मा स्थापना भएयता आईपीबीईएसले जैविक विविधता र वातावरणीय सेवा सम्बन्धी एक विश्वस्तरीय, पाँच क्षेत्रीय र पाँच विधागत प्रतिवेदनहरू तयार पारिसकेको छ ।

तीमध्ये ‘विश्व जैविक विविधता र वातावरणीय सेवा’ र ‘वन्य प्रजातिको दिगो उपयोग’ गरी दुई प्रतिवेदनको लेखनमा यस पंक्तिकार पनि संलग्न थियो । यी सबै वैज्ञानिक प्रतिवेदनहरूको निष्कर्ष छ— पृथ्वीमा जीवहरूको अस्तित्वमा यतिखेर अभूतपूर्व संकट छ । विश्वका एकचौथाइ जीवहरू लोपोन्मुख अवस्थामा पुगेका छन् । सन् १९७० यता पृथ्वीका जंगली जनावरहरूको संख्यामा ७० प्रतिशतले गिरावट आएको छ । र, ठूलो मात्रामा उष्णप्रदेशीय वन, सिमसार, समुद्री कोरल क्षेत्रहरू नासिएका छन् । दुर्भाग्यवश, यी सबै विध्वंसको प्रमुख कारक मानिस बनिरहेको छ ।

जसरी मानवसृजित जलवायु परिवर्तनको संकट टार्न पृथ्वीको तापमान वृद्धिलाई २ डिग्री सेल्सियसमा सीमित राख्ने पेरिस सम्झौता भएको थियो, त्यसरी नै जैविक विविधता ह्रासको संकट टार्न त्यस्तै प्रकृतिको बाध्यकारी सम्झौताको अपेक्षा जारी कोप–१५ बाट गरिएको छ । कोप–१५ ले जैविक विविधता संरक्षणको दसवर्षे लक्ष्य–ढाँचा (पोस्ट–२०२० बायोडाइभर्सिटी फ्रेमवर्क) लाई अनुमोदन गर्नेछ । किनभने जापानको आइची पर्फेचरमा आयोजित कोप–१० ले अनुमोदन गरेको जैविक विविधता संरक्षणको दसवर्षे (सन् २०१०–२०) लक्ष्य (आइची बायोडाइभर्सिटी टार्गेट) समाप्त भएको पनि दुई वर्ष नाघेको छ र हाल जैविक विविधता संरक्षणका विश्वव्यापी लक्ष्यहरू छैनन् ।

थप, आइची टार्गेटका बीस लक्ष्यमध्ये एउटा पनि पूर्ण रूपमा निर्धारित समयमा पूरा भएन र पृथ्वीमा जैविक विविधता ह्रासको अवस्था झनै बिग्रँदै गयो । त्यसैले संसारलाई यतिखेर जैविक विविधता संरक्षणको नयाँ कागजी लक्ष्य मात्रै होइन, नपुगिनहुने स्पष्ट र महत्त्वाकांक्षी गन्तव्य चाहिएको छ । सीबीडीले गत वर्ष सार्वजनिक गरेको मस्यौदा (ड्राफ्ट) प्रतिवेदन अनुसार, कोप–१५ मा छलफलका विषयहरूमा सन् २०३० सम्ममा पृथ्वीको कुल भूभागको ३० प्रतिशत क्षेत्र संरक्षित बनाउने, जैविक विविधतालाई हानि पुर्‍याउने रासायनिक मल र विषादी प्रयोगमा दिइने उत्प्रेरणा (सब्सिडी) खारेज गर्ने, मिचाहा प्रजाति नियन्त्रण गर्ने र जैविक विविधताको उपयोगबाट हुने फाइदाको न्यायपूर्ण वितरण गर्ने लगायतका बाइस लक्ष्य छन् । र, तीमध्ये सबैभन्दा पेचिलो मुद्दा जैविक विविधता संरक्षणका लागि आवश्यक पर्ने रकम (सन् २०३० सम्म प्रतिवर्ष १०० अर्ब डलर) जुटाउने बनेको छ, जुन कुरामा धनी र गरिब देशहरूबीच जलवायु परिवर्तनजन्य क्षति र नोक्सानीजस्तै विवाद छ ।

धनी र गरिब देशबीचको खाडल

जलवायु परिवर्तनको विश्वराजनीतिमा जस्तै जैविक विविधता ह्रासको मुद्दामा पनि विश्वका धनी र गरिब देशहरू दुई ध्रुवमा बाँडिएका छन् । जसरी धनी र गरिब देशबीच जलवायु परिवर्तनको कारक र प्रभावको असमान वितरण छ, त्यस्तो खाडल जैविक विविधतामा पनि छ । जैविक विविधताको विश्वव्यापी वितरण आर्थिक रूपमा सम्पन्न राष्ट्रहरूमा कम र विपन्न राष्ट्रहरूमा धेरै छ । पृथ्वीको कुल क्षेत्रको २.५ प्रतिशत भूभाग ओगटेका ३६ स्थानले विश्वको जैविक विविधताको ६० प्रतिशत हिस्सा लिन्छन् ।

जैविकीय उच्च घनत्वको क्षेत्र (बायोडाइभर्सिटी हटस्पट) भनिने ती भूभाग अधिकांश गरिब देशमा पर्छन् । देशको सीमा अनुसार ब्राजिल, इन्डोनेसिया, कोलम्बिया, चीन, पेरु, मेक्सिको, अस्ट्रेलिया, इक्वेडर, भारत र अमेरिका लगायतका १७ देश (मेगाडाइभर्स कन्ट्री) मा मात्रै पृथ्वीको ६०–८० प्रतिशत जैविक विविधता (पर्यावरण, प्रजाति र आनुवंशिक विविधता) थुप्रिएको छ । तर जैविक विविधता ह्रासको अनुपात गरिब देशहरूमा धेरै छ, जसको कारण धनी देशहरूको अत्यधिक उपभोगयुक्त जीवनशैली हो ।

उदाहरणका लागि, जैविक विविधताको खानी मानिने उष्णप्रदेशीय वन विनाशको प्रमुख कारक युरोप, अमेरिका लगायतका धनी राष्ट्रहरूले कृषिउपज (काकाओ, कफी, रबर, भटमास) र अन्य काष्ठजन्य पदार्थको ठूलो मात्रामा गर्ने आयात हो । त्यसकारण विश्वको जैविक विविधता जोगाउन धनी देशहरू बढी जिम्मेवार बन्नुपर्ने र उनीहरूले गरिब देशमा भइरहेको जैविक दोहनलाई रोक्न सघाउनुपर्ने माग गरिब देशहरूको छ ।

जैविक विविधता जोगाउनुपर्नाका कारण

विश्वभर करिब ८७ लाख प्रजातिका जीवहरू पाइने अनुमान छ । सबै जीव किन चाहिए, मान्छेलाई चाहिने मात्रै जोगाए भइहाल्यो भन्ने एक थरी चिन्तन पनि छ । तर मान्छेलाई कतिखेर कुन चाहिने र कुन नचाहिने भन्नेमा धेरै कुरा अज्ञात नै छ भन्दा पनि फरक पर्दैन । विज्ञान–प्रविधिको यति विघ्न विकास भएको समयमा समेत पृथ्वीमा भएका जीवहरूको संख्या यकिन हुन सकेको छैन भने सबैको प्रयोग जान्नु त धेरै परको कुरा । अहिलेसम्मको वैज्ञानिक तथ्यहरूले के भन्छन् भने, पारिस्थितिकीय प्रणालीमा एउटा प्रजाति नहुँदा त्यसको असर अकल्पनीय हुन सक्छ । उदाहरणका लागि, दक्षिण अमेरिकी मुलुकहरूमा बढ्दो मलेरियाको प्रकोपको कारक मलेरिया लगाउने लामखुट्टेलाई खाने भ्यागुताहरूको विनाशलाई मानिन्छ । थप, जैविक विविधता कम भएको पारिस्थितिकीय प्रणालीको प्रबलन क्षमता (रेजिलियन्स) कमजोर हुन्छ । त्यसका साथै जैविक विविधताले अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान गर्दछ । मानिसले प्रयोग गर्ने स्वच्छ हावा, शुद्घ पानी र खानादेखि औषधिसम्म सबैको स्रोत प्रकृति र त्यहाँको विविधता नै हो । त्यसैले जैविक विविधता जोगाउनु भनेको विश्वको अर्थतन्त्रलाई सबल बनाइराख्नु मात्रै होइन, मानवजातिको अस्तित्वरक्षाका साथै भविष्यमा आइपर्ने संकटसँग जुध्न सक्नु पनि हो ।

प्राकृतिक वन, माटो, समुद्रले जीवहरूका लागि वासस्थान मात्रै उपलब्ध गराउँदैनन्, जलवायु परिवर्तनको मुख्य कारक कार्बनलाई वायुमण्डलबाट सोस्ने पनि गर्दछन् । वायुमण्डलको कार्बन सोस्ने यस्ता ‘सिंक’ अस्वस्थ हुँदा जलवायु संकट झनै गहिरिन्छ । त्यसकारण प्राकृतिक वासस्थानको रक्षा र जैविक विविधताको संरक्षण जलवायु संकटबाट बच्ने सर्वसुलभ र अत्यावश्यक उपाय हो । जैविक विविधता र जलवायु परिवर्तनबीचको यस्तो पारस्परिक सम्बन्धका कारण यी दुई महासंकटलाई एकैसाथ समाधानको गरिनुपर्छ भन्ने राय यतिखेर बलियो हुँदै गएको छ ।

तर जसरी जलवायु परिवर्तनको विश्वराजनीतिमा केही देशको स्वार्थ र त्यहाँको घरेलु राजनीतिले असर पार्दछ, जस्तै— अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति भएपछि पेरिस सम्झौताबाट हात झिक्ने निर्णयले विश्वव्यापी रूपमा अन्योल छाएको थियो, त्यसरी नै जैविक विविधताको विश्वराजनीतिमा जैविक विविधताका लागि संसारकै अग्रणी ब्राजिलको घरेलु राजनीतिको प्रभाव थियो । त्यहाँको बोल्सोनारो सरकारले वातावरण संरक्षणमा बजेट घटाउने, संरक्षणमा अहं भूमिका खेल्ने आदिवासीहरूको अधिकार खोस्ने र संरक्षण कानुनलाई खुकुलो बनाउने काम गर्‍यो, जसका कारण बोल्सोनारोको शासनकालमा संसारकै फोक्सो मानिने ब्राजिलको अमेजन जंगलको विनाश चुलियो ।

ब्राजिलले इन्डोनेसिया र दक्षिण अफ्रिकासँग मिलेर कोप–१५ का तयारी बैठकहरूमा धनी राष्ट्रहरूले जैविक विविधता संरक्षणका लागि कोष खडा गरेपछि मात्रै अन्य विषयमा छलफल गरिनुपर्ने अड्डी कसेको थियो, जसमा थप बाइस राष्ट्रले समर्थन गरेका थिए । त्यति बेला ब्राजिल अब बन्ने संरक्षण लक्ष्य खुकुलो हुनुपर्छ भन्नेमा थियो ।

तर ब्राजिलमा पछिल्लो आम चुनावमा बोल्सोनारोको हार र वामपन्थी लुलाको विजयसँगै वातावरणीय मुद्दाहरूमा प्रगतिशील कदम चालिने अपेक्षा छ । त्यसका केही संकेत देखिइसकेका पनि छन् । तर पनि कोप–१५ लाई ऐतिहासिक बनाउन जलवायु परिवर्तनको मुद्दामा जस्तै धनी देशहरूले ठूलो छाती पार्न र आफ्नो भागको जिम्मेवारी लिन जरुरी छ । त्यसो भएमा जलवायु परिवर्तनको कोप–२७ जस्तै जैविक विविधताको कोप–१५ पनि ऐतिहासिक हुनेछ ।

प्रकाशित : मंसिर २९, २०७९ ०८:१३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×