अबको शासकीय र विधायिकी तस्बिर- विचार - कान्तिपुर समाचार

अबको शासकीय र विधायिकी तस्बिर

अच्युत वाग्ले

मुलुकको नयाँ प्रधानमन्त्री बन्ने बाजी नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल मारेका छन्, अत्यन्तै नाटकीय ढंगमा । उनले संविधानतः एक महिनाभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्नेछ । विगत एक सातामा अनेक रङका सत्ता गठबन्धनको समीकरण बन्ने र भत्किने अनगिन्ती कोसिस भए ।

नेपाली कांग्रेस, नेकपा माओवादी, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी र राष्ट्रिय जनमोर्चाको गठबन्धन राष्ट्रपतिसमक्ष सरकार बनाउने दाबी पेस गर्ने अन्तिम घडी, आइतबार अपराह्न पाँच बज्नुभन्दा केही घण्टाअघि मात्र, छिन्नभिन्न भयो । अन्ततः संविधानको धारा ७६(२) बमोजिम ‘दुई वा सोभन्दा बढी दल’ को समर्थनमा सरकार बनाउने अंकगणित साना चार दलसहित मूलतः एमाले–माओवादी छदलीय गठबन्धनले राष्ट्रपतिलाई बुझाएको छ । सरकार बनाउने अथवा सत्ता गठबन्धन जोगाउने खेलमा मुलुकको राजनीति सम्पूर्णतः सत्ताकेन्द्रित भइदिँदा राष्ट्रका अहं चासो एवं प्राथमिकताहरू राजनीतिक बहसको मूलधारबाट टाढै छन् । सरकार बनाउने गठजोडका लागि सबै दलले प्रदर्शन गरेको चरम सिद्धान्तहीन र आधारहीन सत्ता राजनीति क्षणिकजस्तो देखिए पनि त्यो अबका पाँच वर्ष राज्य सञ्चालनमा देखिने प्रवृत्तिहरूको पर्याप्त एवं चिन्ताजनक पूर्वसंकेत हो ।

राजनीतिक स्थायित्व दिने नारा लिएर गठबन्धन बनाउँदै चुनावमा गएका सत्ता र विपक्षी खेमाका दलहरू चुनावी नतिजा आउनेबित्तिकै आफू समावेश भएको गठबन्धनप्रतिको नैतिक साङ्लो चुँडालेर सत्तामा छिटो पुग्न नयाँ समीकरणहरू निर्माणको कसरतमा लागे । त्यो ऊहापोहमा कम्तीमा वैचारिक वा दार्शनिक रूपले नजिक भएकाहरू अथवा राष्ट्रिय प्राथमिकता र मुद्दाहरूलाई हेर्ने दृष्टिकोणमा समानता भएका शक्तिहरूबीच सहकार्य गर्ने न्यूनतम राजनीतिक संस्कारको हेक्का कतै भएन । जनमतका आधारमा प्राप्त हैसियत अनुसार उच्च राजनीतिक पदहरू दाबी गर्ने वा चुनाव हारेपछि पदीय महत्त्वाकांक्षाबाट अलग बस्ने सामान्य लोकतान्त्रिक मर्यादाको पनि कतै पालना भएन । आकर्षक संवैधानिक र कार्यकारी पदहरू निर्णायक दलका मुख्य नेताहरूबीच बाँडफाँट गर्न सम्पूर्ण राजनीतिक ऊर्जा खर्चिइएको देखियो । यस्तो संस्कारहीन राजनीति विगतदेखि नै फैलिँदै गएको रोग हो र अबचाहिँ यो लिकमा फर्काउनै नसकिने गरी भीरको बाटो लागेजस्तो देखिन्छ ।

दलहरूका नाममा लोकतन्त्रवादी, कम्युनिस्ट, समाजवादी, उदारवादी, स्वतन्त्र आदि जे फुँदो थपे पनि उनीहरू सबै त्यो नामसम्मत विचार बोक्न सर्वथा अक्षम प्रमाणित भएका छन् । अथवा अर्को शब्दमा, सबै आफ्ना वैचारिक रूढाग्रहलाई त्यगेर बहुदलीय संसदीय व्यवस्थाको मूलधारमा एकाकार भएका छन् पनि भन्न सकिन्छ । वैचारिक पहिचानको संकट नै परेको भए पनि गठबन्धन बनाउने र भत्काउने आधार मुलुकले अहिले खेपेका गम्भीर प्रकृतिका आर्थिक एवं शासकीय समस्याहरूलाई हेर्ने र सम्बोधन गर्ने दलहरूबीचका दृष्टिकोण वा नीतिहरू हुन सक्थे । तर, कुनै पनि दलको त्यो गठबन्धनमा सामेल हुने वा नहुने आधार राष्ट्रिय चासो र महत्त्वका विषय परेनन् । यसले, नयाँ जनादेश लिएर आएको व्यवस्थापिका र त्यसले बनाउने सरकारले पनि अरू पाँच वर्ष सत्ताको हानथाप र छिनाझपटीमा मात्र खेर फाल्ने र मुलुकका समस्या ज्युँका त्युँ रहने जोखिम देखाएको छ ।

संसद्को अंकगणित, दलहरूको अराजनीतिक व्यवहार, उच्च तहका पदाकांक्षीहरूको निरन्तरको तिकडम, सांसद किनबेच र ठूलो खर्चमा चुनाव जितेर आएका सांसदहरूको जसरी पनि भइसकेको चुनाव खर्च ‘आकर्षक मन्त्रालय’ को मन्त्री भएर असुल्ने लगायतका विकृतिहरूलाई सीमित गर्ने हतियार मुलुकले अझै फेला पारेको छैन । धेरै प्रभावशाली हैसियतमा उदाएका तर सम्बन्धित क्षेत्रको विधि निर्माणमा संलग्न हुँदा प्रत्यक्ष स्वार्थ बाझिने पेसा–व्यवसाय गरिरहेका सांसदहरूको उपस्थिति संघीय र प्रदेश संसद्हरूमा उल्लेख्य छ । यो क्रम पछिल्लो डेढ दशकयता जुन गतिमा बढेको छ, त्यसले नीतिगत भ्रष्टाचारलाई थप गहिर्‍याउँदै लगेको छ ।

विधायिका बन्ला संसद् ?

गत पुस ७ गते नवनिर्वाचित संघीय सांसदहरूको शपथग्रहण सम्पन्न भएको छ । संसद्मा धेरै नयाँ अनुहारहरू आएका छन् । तीमध्ये युवाहरू नै अत्यधिक नभए पनि सामान्य बहुमत सक्रिय उमेरका व्यक्तित्वहरूकै छ । मुलुकको भाषिक, धार्मिक, जातीय र क्षेत्रीय विविधताको प्रतिनिधित्व भएको दर्शाउने तस्बिरहरू आम सञ्चारका माध्यमहरूमा आए । प्रदेशसभाहरूको सामान्य तस्बिर पनि धेरै फरक छैन । तर, यो शपथ ग्रहणपछि संघीय संसद्का सदस्यहरूले आफ्ना कार्ययोजना र भूमिकाबारे दिएका प्रक्रियाहरू भने आसलाग्दा, खास गरी उनीहरूको विधि निर्माण वा विधायिकी भूमिकाको सुझबुझ झल्काउने प्रकृतिका छैनन् ।

उनीहरूमा, केही अपवाद छोडेर, आफ्नो सम्पूर्ण जिम्मेवारी कानुन निर्माण मात्रै हो भन्ने अनुभूति भएको देखिएन । आफ्नो चुनाव क्षेत्रको विकासे एजेन्टका रूपमा पहिलो र विधायकका रूपमा दोस्रो भूमिकामा रहने प्रवृत्ति साझा देखियो । विधायकहरूले विकासमा निर्णायक नै भूमिका खोजेका हुन् भने पनि त्यो पहिले विधिका रूपमा पारित गर्नु र त्यसको लाभ आफ्ना मतदातासम्म पनि स्वतः पुग्ने परिपाटीलाई संस्थागत गर्नु आवश्यक छ । सडक, खानेपानी, बिजुली, विद्यालय आदि खुद्रे आयोजना आफ्ना चुनाव क्षेत्रमा पार्न जनप्रतिनिधिहरूले दौडधुप गर्ने परिपाटी पञ्चायती निर्दलीय शासनको विरासत हो । वास्तवमा पञ्चायतकालमा, जति बेला सबै कानुनको र शासनको स्रोत दरबारिया हैकम थियो, राष्ट्रिय पञ्चायतका सदस्यहरूलाई पञ्चायती मोडलको ‘विकासको संवाहक’ बनाइनु स्वाभाविक हुँदो हो । तर बहुदलीय व्यवस्था पुनःस्थापना भएपछिका सांसदहरूले पनि यो अभ्यास झन्डै निरन्तर रूपमा गरे । अझ, गणतन्त्र आएपछि त सांसद विकास कोषका नाममा उनीहरूले करोडौं रुपैयाँको एकमुस्ट थैली नै आफूखुसी परिचालन गर्न पाउने गैरसंसदीय अभ्यास मुलुकको ढुकुटीमाथि जबर्जस्ती थोपरियो । यसले गर्दा उनीहरूको विधायिकी भूमिका सर्लक्कै छायामा पर्‍यो । अबका पाँच वर्षको अभ्यास यस्ता विकृति सुधार्न कति सक्षम हुन्छ, विधायिकी प्रभावकारिता त्यति नै अनुपातमा बढ्नेछ ।

संघीयता र सुशासन

मुलुकले सङ्घीय शासन प्रणाली अवलम्बन गर्नुको मुख्य औचित्य नै यस्ता विकास–निर्माणसम्बद्ध नीतिनिर्माणका बहुधा काम प्रदेश सरकारहरूले गरून् एवं स्थानीय तह योजना कार्यान्वयन र सेवा प्रवाहमा केन्द्रित होऊन् भन्ने हो । खास गरी संघीय व्यवस्थापिका मुलुकलाई आवश्यक पर्ने कानुनहरू समयानुकूल र शीघ्र बनाउन मात्र केन्द्रित होस् भन्ने अभिप्राय हो । सुशासन, अर्थ–व्यापार, परराष्ट्र सम्बन्ध, औद्योगिकीकरण, ठूला पूर्वाधार, सहरीकरण, जलवायु परिवर्तन, वातावरण संरक्षण, राष्ट्रिय जीवनमा प्रविधिको अवलम्बन, सार्वजनिक शिक्षा, संघीय एकाइहरूमा कर्मचारी परिचालन आदि क्षेत्रमा दशकौंदेखि निरन्तर अभाव खट्केका कानुनहरू संघीय संसद्ले (प्रदेशले पनि) अब ढिलो नगरी पारित गरिदिए मुलुकले ठूलो राहत पाउने थियो । यस दिशामा दलहरूको संस्थागत संयन्त्र र निर्णायक नेताहरूको विगतको जस्तै निःस्पृह व्यवहारले अझै पनि मूल्यवान् समय बरबाद हुने जोखिम कम नगराएको देखाउँछ ।

संघमा राष्ट्रिय सभा र संसद्हरूमा समानुपातिक निर्वाचन प्रणालीको अवलम्बन प्रतिनिधित्वको झारा टार्न (टोकनिजम) का लागि संविधानमा घुसाइएको होइन । त्यसका पछाडि समावेशी विकास र सामाजिक न्यायको उन्नत आदर्श छ । तर सबै दलको स्वार्थमा राष्ट्रिय सभाको स्वत्वलाई ध्वस्त पारिसकिएको छ । सीमान्तीकृतहरूको समानुपातिक प्रतिनिधित्व उस्तै पाखण्डपूर्ण हुँदै गएको छ । सीमान्तीकृतको परिभाषामा पर्ने तर सनातन राजनीतिमै प्रभावशाली हैसियत बनाइसकेका, सम्भ्रान्त र सामन्तहरूले समानुपातिक प्रतिनिधित्व प्रणालीलाई कब्जा गरेको अवस्था छ । यस्तो प्रतिनिधित्व सार्थक हुनका लागि ती प्रतिनिधिहरूले आफ्ना वर्ग र समुदायका विशिष्ट आवश्यकताहरूलाई मुखरित गर्ने समावेशी कानुन निर्माणमा योगदान गर्न सक्नुपर्छ । संविधानको मर्म र भावना यही हो । नामको पछाडि कुनै थर जोडिँदैमा वा खास वेशभूषामा तस्बिर खिचाउँदैमा व्यवहारमा समावेशिता र समानता हासिल हुँदैन । यो कोटिका नयाँ विधायकहरूले आफ्नो विधायिकी भूमिकालाई पहिचान गर्न सक्नुपर्नेछ ।

सिद्धान्ततः सुशासनका लागि अधिकार–निक्षेपित संघीय प्रणाली मात्रै विकेन्द्रितभन्दा आदर्श मानिन्छ । किनभने, यो प्रणालीमा सार्वजनिक सेवाप्रदायकको जिम्मेवारीमा बस्ने निर्वाचित कार्यकारीहरू बढी अधिकारसम्पन्न र सापेक्षतः जनताको सोझै चिनजान, सम्पर्क र निगरानीमा हुन्छन्Ù आफ्ना मतदाताको आकांक्षालाई राम्ररी बुझ्छन् र सोही अनुरूप कार्य गर्छन् । यो दृष्टिकोणबाट, अब मुलुकको विकासले अपेक्षित गति समात्नुपर्ने हो ।

भर्खरै सम्पन्न पालिकास्तरीय र दुवै तहका संसद्मा निर्वाचित प्रतिनिधिहरूमध्ये, जुनसुकै दलबाट प्रतिनिधित्व गरे पनि, अधिकांश शिक्षित र उत्साहित युवाहरू छन् । समयको पदचाप बुझेको यो पिँढीले स्वच्छ शासन दिने र विकास योजनाहरूको प्रभावकारी कार्यान्वयन गर्ने दिशामा आफ्नै दल वा नेताको अनुचित हैकमसमेतलाई नाघेर जनहितमा काम गर्ने हैसियत प्रदर्शन गरून् भन्ने आम चाहना छ । अहिले नै आलोचना गरिहाल्नु चाँडो होला, तथापि यो पंक्तिले भ्रष्टाचाररहित शासन र राज्य संयन्त्रको प्रभावकारिता अभिवृद्धिमा अटल चासोका साथ काम गर्ने सुझबुझ र प्रतिबद्धता प्रदर्शन गरेका उदाहरणहरू असाध्यै कम छन् । उनीहरू पनि कतै दलीय हैकमवादका पिछलग्गु वा पृष्ठपोषक मात्र भएर रहिदिए भने मुलुकका अरू पाँच वर्ष खेर जानेछन् ।

राष्ट्रपति पदमा आकर्षण

विगतका केही अभ्यासको समीक्षा गर्न पनि अब ढिलो गर्नु हुन्न । नेपालको संविधानले स्वविवेकीय अधिकार प्रयोग गर्ने, राज्यशक्तिको आफैं प्रयोग गर्ने राष्ट्रपतिको कल्पना गरेको छैन । विगत चौध वर्षको गणतन्त्रको अभ्यासमा राष्ट्रपतिले राज्यशक्तिको अभ्यास वा प्रयोग गरेको तर यसप्रति निर्णायक प्रतिरोध कतैबाट पनि नभएको देखिन्छ । संविधानको धारा ६१ ले राष्ट्रपति नेपालको राष्ट्राध्यक्ष हुने र राष्ट्रिय एकताको प्रवर्द्धन गर्ने एवं संविधानको पालन र संरक्षणलाई ‘राष्ट्रपतिको प्रमुख कर्तव्य’ भनेको छ ।

कुन कदमलाई संविधानको पालना र संरक्षण मान्ने भन्ने विषयमा कानुनी प्रस्टता छैन । तत्कालीन राष्ट्रपति रामवरण यादवले प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली सेनाका प्रमुख रुक्माङ्गद कटवाललाई हटाउन खोज्दा हस्तक्षेप गरेका थिए । यो प्रकरणमा दाहालले नै प्रधानमन्त्रीबाट राजीनामा दिए । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो मातृ पार्टी नेकपा एमाले र खास गरी केपी शर्मा ओलीको राजनीतिक स्वार्थ अनुरूप कैयौं अध्यादेश जारी गर्ने वा रोक्ने कार्यमा स्वविवेकीय अधिकार प्रयोग गरेको देखियो । उनले एक पटक अनुमोदन नगरेर संसद्मा फिर्ता पठाएको नागरिकता विधेयक संघीय संसद्ले दोहोर्‍याएर पारित गरी अनुमोदनका लागि पठायो । संविधान अनुरूप उनले त्यसमा लालमोहर लगाउनुको विकल्प थिएन । तर, अहिलेसम्म लगाएकी छैनन् । र, पदमा पनि बहाल छिन् । दलहरू यो सबै देखेको नदेख्यै गरेर बसेका छन् ।

बरु उल्टै, अहिले विभिन्न दल र दलहरूभित्रकै शक्तिकेन्द्रहरूबीच पद बाँडफाँटमा राष्ट्रपति पद उच्च सौदाबाजीको सर्त बनेको छ । अहिलेसम्मको अभ्यासबाट शक्तिलिप्त पात्रले राष्ट्रपतिकै कुर्सीमा बसेर पनि कार्यकारी प्रमुखकै शैलीमा राज्यशक्तिको प्रयोग गर्न सक्ने रहेछ भन्ने देखियो । वर्तमान राष्ट्रपतिले देखाएको विलासिता र तामझाम मोह एवं नेपाली सेनाको परमाधिपतिका हैसियतमा गरेको अप्रत्यक्ष राज्य चलाउने अभिलाषाले विकृत आकर्षण सृजना गरेको छ । यो वर्तमान संविधानले परिकल्पना गरेको परिपाटी (एरेन्जमेन्ट) प्रतिकूल राजनीतिक विकासक्रम हो । वर्तमान पद्धति सुचारु गर्न र उच्च कार्यकारी तहमा शक्तिको द्वन्द्व बढ्न नदिन यस्तो अस्वाभाविक कसरतलाई अन्त्य गर्नु आवश्यक छ ।

अन्त्यमा, आगामी पाँच वर्षका लागि सरकारको नभए पनि शासकीय स्थायित्व र संघीय गणतन्त्रात्मक प्रणालीको सुदृढीकरणका लागि केही अहं टुटेका कडीहरूलाई जोड्नु अपरिहार्य छ । विधायकहरूको विधायन प्रक्रियासँग, नीतिनिर्माणको तथ्य र प्रमाणसँग, प्रशासनिक संयन्त्रको सेवाप्रदायको जिम्मेवारीसँग तथा सुशासनका मानकसँग, अर्थतन्त्रको उत्पादकत्वसँग, शिक्षाको रोजगारीसँग र आदर्श एवं विद्वत्ताको राजनीतिसँगको साइनो चटक्कै टुटेको छ । यी सबै कडीलाई सबल ढङ्गले समेट्न र जोड्न नसक्ने हो भने अर्को पाँचवर्षे अवधि पनि बिनाप्रगति, अविकासका पुराना गन्थन दोहोर्‍याएर मात्रै बित्नेछ ।

प्रकाशित : पुस ११, २०७९ ०८:०१
प्रतिक्रिया
पठाउनुहोस्

उत्तरवैचारिक र सत्योत्तर राजनीति

अच्युत वाग्ले

नेपालको संघीय संविधान लागू भएपछिको दोस्रो संसदीय चुनाव सकिएर नतिजा आएको छ । संघीय र सातै प्रादेशिक संसद्मा कुनै एउटा दलको एक्लै सरकार बनाउन पुग्ने बहुमत नआएकाले मिलीजुली गठबन्धन सरकार बनाउने अंकगणितीय सम्भावनाहरूबारे लेखाजोखा सुरु भएको छ ।

संघीय संसद्मा सबभन्दा ठूलो दल बनेको नेपाली कांग्रेस र दोस्रो ठूलो दल एमालेको सिट संख्या क्रमशः ८९ र ७८ छ र सरकार निर्माणका लागि चाहिने १३८ को संख्या जुटाउन दुवैलाई सहज छैन । सत्ताको च्याँखे दाउमा निर्णायक हुने अरू साना दलहरूको राजनीतिक दलाली फुर्तीसाथ अगाडि आएको छ ।

नयाँ गठबन्धन बनाउन कसले बाजी मार्ला अथवा हिजोको पाँचदलीय गठबन्धन टिक्ला कि नटिक्ला भन्ने जोडघटाउको खेल बडो उत्सुकताका साथ हेरिएको छ । केन्द्रमा बन्ने गठबन्धनको प्रकृतिले प्रदेशहरूमा सरकार बन्ने समीकरणहरू प्रभावित हुनेछन् । चर्चा पनि कोरा अंकगणितकै मात्र छ । कुनै पनि दल अर्को कुन दलसँग मिल्छ वा छुट्टिन्छ भन्ने अनुमान लगाउन यस्तो मुस्किल र समीकरणहरू यति धेरै तरल किन भएका छन् भने, कुनै पनि दल सत्ता समीकरणमा सामेल हुने अथवा नहुने आधारका रूपमा दार्शनिक, नैतिक र व्यावहारिक सामीप्य वा दूरी प्रस्ट छैनन् । सबै स्थापित भनिएका दलहरू वैचारिक धरातल पूर्णतः शून्य भएझैं सत्ताप्राप्तिलाई आफ्नो एकल लक्ष्य बनाइरहेका देखिन्छन् ।

नयाँ उदाएका साना दलहरू, खास गरी राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको वैचारिक झुकाव अझै वामपन्थ, दक्षिणपन्थ वा मध्यमार्ग के हुन्छ, स्पष्ट किटान भइसकेको छैन । नयाँ गठबन्धन बन्ने वा नबन्ने आधार सम्भावित साझेदारहरूका मुलुकका जल्दाबल्दा मुद्दाहरूलाई हेर्ने र समाधान गर्ने साझा दृष्टिकोण वा कार्यक्रमहरू पनि तयार भइरहेका छैनन् । बौद्धिक विलासिताका लागि यी बन्ने–बिग्रने गठबन्धनहरू वैचारिक रूपले प्राकृतिक वा संगतिपूर्ण भए वा भएनन् भन्ने बहस पनि किनारामा भइरहेका छन् । यदि सबै दल विचारशून्य नै भइसकेका हुन् भने बहसको यो कोण नै असान्दर्भिक छ । मूल प्रश्न नेपाली राजनीति विचार र मुद्दाहरूभन्दा कति टाढा पुग्यो भन्ने हो । विश्वराजनीतिको बदलिँदो परिदृश्यको छाया पनि यसमा कुनै न कुनै रूपमा परेको छ नै ।

विचारहरूको मृत्यु

जापानी मूलका अमेरिकी राजनीतिशास्त्री फ्रान्सिस फुकुयामाले ‘इतिहासको अन्त्य’ शीर्षकको आलेख (द न्यासनल इन्ट्रेस्ट जर्नल, अंक १६, ग्रीष्म संस्करण, सन् १९८९) मार्फत, बर्लिनको पर्खाल भत्किएर सोभियत संघको विघटन भएपछि संसारबाट बहुल राजनीतिक विचारधाराहरूको पनि अन्त्य भएको तर्क गरे । उनले ठोकुवा गरे, खास गरी वंश परम्पराको राजतन्त्र, फासीवाद र पछिल्लो समयमा साम्यवादलाई परास्त गरेपछि उदारवादी लोकतन्त्रको वैधानिकताले अबको शासन प्रणालीका रूपमा विश्वव्यापी सहमतिको रूप धारण गरेको छ । र, उदारवादी लोकतन्त्र नै ‘मानवजातिको वैचारिक क्रमिक विकास (इभोलुसन) को अन्तिम विन्दु’, ‘मानवीय शासनको अन्तिम स्वरूप’ र, यसर्थ, ‘इतिहासको अन्त्य’ भएको छ । अरू शासन प्रणालीहरू गम्भीर कमजोरी, अन्तरविरोध र असंगतिहरूका कारण पतन भए अनि उदार लोकतन्त्र यस्ता विरोधाभासहरूभन्दा आधारभूत रूपले नै फरक हो ।

फुकुयामाले वास्तवमा विचारधारहरूको प्रतिस्पर्धाको अन्त्यको तर्कको आधार वैचारिक महान् भाष्य (मेटा न्यारेटिभ्स), समाजवाद, साम्यवाद, फासीवाद, अधिनायकवाद आदिको अन्य भएको र सबैलाई उदार लोकतन्त्रले विस्थापित गरेको जिकिर गरेका थिए । अथवा, उदार लोकतन्त्रको एउटा महान् भाष्य निरन्तर रहने परिकल्पना थियो । फुकुयामाले पछिल्लो समय आफ्ना यी निष्कर्षहरूलाई सच्याएको दाबी गरेका छन् । तर पनि, राजनीतिक विचारधाराहरूको अन्त्यबारे उनले सुरु गराएको बहस अनेकौं रूप र गाम्भीर्यमा निरन्तर भइरहेको छ । सन् १९९० को दशकमा विकसित ‘पहिचान (आइडेन्टिटी) र स्वीकृति (रिकग्निसन)’ को राजनीतिको उत्तरवैचारिक युगले भने उदारवादी लोकतन्त्रसहित सबै महान् भाष्यहरूको औचित्यलाई चुनौती दियो । यो बहसका अनेकौं कोण र तर्क थिए र छन् । पहिचानले विचारको महत्त्वलाई विस्थापित नै गरेको हो या घटाएको हो ? कि सांस्कृतिक आदि पहिचानहरूलाई महत्त्व नदिएका पुराना राजनीतिक विचारधाराहरूलाई स्वीकृतिको राजनीतिले उछिनेको हो ? यी नयाँ प्रश्नहरूले पहिचानको राजनीति र विचारको राजनीतिलाई विपरीत ध्रुवमा उभ्याएको देखिन्छ ।

यो द्वैधतालाई अमेरिकी दार्शनिक रिचर्ड रोर्टीले विचारमा आधारित राजनीति (आइडियोलोजिकल पोलिटिक्स) र मुद्दामा आधारित राजनीति (इस्यु पोलिटिक्स) लाई क्रमशः आन्दोलन (मुभमेन्ट) र अभियान (क्याम्पेन) मा वर्गीकरण गरेर पर्गेल्न चाहे (हेर्नुस्— जर्नल अफ डिसेन्ट, मुभमेन्ट्स एन्ड क्याम्पेन्स, हिउँद अंक, सन् १९९५) । विविध विचारधाराहरू फरक आन्दोलन हुन्Ù मार्क्सवाद, साम्यवाद वा उदारवाद आदि सबै । तिनले सामाजिक रूपान्तरणको कुनै महान् र महत्त्वपूर्ण लक्ष्य राखेका हुन्छन् । ती अनन्तकालसम्म सान्दर्भिक रहने अघोषित मान्यता छ । खास संगठनहरूका राजनीतिक क्रियाकलाहरूलाई यिनै विचार वा आन्दोलनले निर्देशित गर्छन् । उपलब्धि जे–जस्तो होस्, यसमा लागेकाहरूलाई यो आन्दोलनको आदर्श र नाम नै सबै थोक र सर्वप्रिय लाग्छ ।

मुद्दामा आधारित राजनीति मौसमी हो । वातावरण संरक्षण, अल्पसंख्यकको अधिकार, भ्रष्टाचार नियन्त्रण, सुशासन, सस्तो शिक्षा, आरक्षण वा न्यून करका मुद्दाहरू राजनीतिक शक्ति आर्जनका माध्यम बन्न सक्छन् । त्यो विशुद्ध अभियानको राजनीति हो । अढाई दशकयता विश्वभर नै यस्तो पहिचान र स्वीकृतिको राजनीतिले विशुद्ध विचारको राजनीतिको शौर्य र आकर्षणलाई धेरै हदसम्म खुम्च्याइदिएको छ ।

एक दशकयता सत्योत्तर राजनीति (पोस्ट–ट्रुथ पोलिटिक्स) ले वैचारिक र केही हदसम्म पछि जन्मिएको पहिचान एवम् मुद्दाको राजनीतिलाई पनि छायामा पारिरहेको छ । सूचना प्रविधिको तीव्र विकास र सामाजिक सञ्जालहरूको व्यापक प्रयोगले भ्रम र उग्र राष्ट्रवादी भावना उद्वेलनको ‘पोस्ट–ट्रुथ’ राजनीति गर्नेहरूलाई सहज भएको छ । पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शैली (मोडस अपरान्डी) पोस्ट–ट्रुथ राजनीतिको मुख्य मानक भएको छ । ‘फेक न्युज’ को बाढी नै छ । कुनै पनि जानकारीबारे तथ्यको गहिराइमा नपुगी र सत्यको परख नगरी निर्णयमा पुग्ने पुस्ता अहिले मूलधारका मतदाता छन् । पोस्ट–ट्रुथबाट पर, थोरै सचेतहरू पनि मुद्दाको राजनीतिभन्दा माथि उक्लिएका छैनन् । यसबाट अगाडि बढेर कम्तीमा पहिचान वा सकेसम्म वैचारिक राजनीतिमै उक्लिने प्रयास नेपालका नयाँ–पुराना राजनीतिक दलहरूले वर्तमानमा गरेको देखिएको छैन ।

पोस्ट ट्रुथको अहम् चरित्र हो- यसले ‘वैचारिक’ र ‘मुद्दा’ दुवै प्रकृतिको राजनीतिक बहसको वातावरण र ‘स्पेस’ लाई लगभग निमिट्यान्नै पारेको छ । अन्य आम सञ्चारका माध्यमको सीमित पहुँच र अपुष्ट सामाजिक सञ्जालले पस्कने जानकारीको मात्रै दबदबा भएको नेपालजस्तो मुलुकमा पोस्ट ट्रुथको प्रभाव झन् बढी छ । नेपालमा नयाँ उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीको पृष्ठभूमिमा पोस्ट ट्रुथको योगदान अत्यधिक देखिन्छ । नागरिक उन्मुक्ति र जनमत पार्टीहरूको राजनीतिचाहिँ अझै पनि पहिचानप्रधान नै छ । यी दुइटै अवयवको मिश्रित योगदान पनि छुट्ट्याउन मुस्किल हुने गरी चुनावी परिणामहरू आएका छन् । पश्चिमा मुलुकहरूमा फणा उठाएको दक्षिणपन्थी र बहुलप्रभुत्ववादी (मेजोरिटेरियन) राजनीतिमा पोस्ट ट्रुथ धेरै हदसम्म जिम्मेवार छ । नेपालमा ≈वात्तै बढेको दक्षिणपन्थी रुझानको राजनीतिलाई पनि त्यससँग तुलना गर्दा अन्यथा हुनेछैन । असहिष्णु शैली र शीघ्र एवम् तीव्र प्रतिक्रियामा आधारित ‘पपुलिजम’ पोस्ट–ट्रुथ पोलिटिक्सको मौलिक प्रवृत्तिका रूपमा देखिएको छ ।

वास्तवमा अहिले जसरी लामो इतिहास भएका राजनीतिक संगठनहरूबारेका चर्चा र बहस विचार, मुद्दा, पहिचान, उद्देश्य आदिप्रति बिलकुलै निरपेक्ष भएर अनुहार, पुस्ता, अंकगणित र समीकरणमा घनीभूत भएका छन्, त्यो पनि पोस्ट–ट्रुथ पोलिटिक्सकै एउटा रूप हो । यसले आम मानिसलाई समस्या समाधानको बाटो यही हो कि जस्तो लाग्ने गरी भावनात्मक बहसमा ल्याउन सक्छ । तर, मूल राजनीति नै व्यवहारवादका नाममा विचार, कार्यक्रम र मुद्दारहित ढंगले परिचालित भइरहने हो भने पुस्ता वा पात्र परिवर्तनले तात्त्विक फरक पार्दैन ।

विचारमा ऐंजेरु

महान् भाष्यमा आधारित भनिएका राजनीतिक शक्तिहरूले चाहेर–नचाहेर वा स्वाभाविक–अस्वाभाविक रूपमा ‘पहिचान’, ‘स्वीकृति’ र ‘मुद्दा’ मा आधारित राजनीतिक एजेन्डाहरूलाई आफ्ना विचार, कार्यक्रम र घोषणाहरूमा जोडजाड गर्ने र फुँदो–फुर्को थपेर आफ्नो वैचारिक पहिचानको सग्लो वृक्षमाथि ऐंजेरु थप्ने क्रम व्यापक छ । नेपालका दलहरूको उदाहरण यो प्रवृत्ति पहिल्याउन पर्याप्त छ । वैचारिक महान् भाष्यप्रति निःस्पृह तर पहिचान र स्वीकृतिको जगमा मधेशबाट उठेको संघीयता एवम् आरक्षणको मुद्दा र खासै बहसमा नल्याई संविधानको अंश बनाइएको धर्मनिरपेक्षतालाई पुराना र वैचारिक धरातलमा उभिएको दाबी गर्ने सबै साम्यवादी, लोकतान्त्रिक समाजवादीदेखि उदारवादीसम्मले, बाध्यतावश नै सही, आफ्नो वैचारिक आधारको अंश बनाएका छन् । उदाहरणका लागि, जनवादी केन्द्रीयताले क्रियाशील हुने मार्क्सवाद र राज्यशक्तिको निक्षेपीकरण गर्ने संघीयता सिद्धान्ततः परस्पर बेमेल अवधारणाहरू हुन् । तर यो ऐंजेरु विचारको मौलिक वृक्षभन्दा बढी आयतनको देखिँदै छ । साथमा, पहिचान र स्वीकृतिको मात्रै राजनीतिबाट उदाएका शक्तिहरू, दार्शनिक रोर्टीले भनेझैं, ‘आन्दोलन’ बन्न नसकेर क्रमशः पातलिँदै गएको ‘अभियान’ मा सीमित हुँदै छन् । तराई–मधेशबाहेकको पहिचान र स्वीकृतिको राजनीति (जस्तै— जनजाति, क्षेत्रीय पहिचान आदि) ले नेपालमा उल्लेख्य जनमत पाउन सकेको छैन ।

यी परिदृश्यहरूले नेपालमा क्रियाशील दलहरूको विशिष्ट वैचारिक पहिचानलाई धूमिल बनाएका छन् । यसरी, सबै दलको महान् भाष्यमा आधारित राजनीतिक पहिचानको चुरो खोक्रो भएपछि आवरण वा नाममा मात्र उनीहरूले आफू अर्कोभन्दा फरक रहेको दाबी गरिरहेका छन् । यही परिस्थितिलाई पनि बदलिँदो र नयाँ वास्तविकताका रूपमा स्विकारेर ‘मुद्दा’ मा आधारित सहकार्यमा रूपान्तरण गर्ने चेत दलका नेताहरूमा पलाएको भए त्यो पनि मुलुकका लागि बिलकुलै ताजा अवसर बन्न सक्थ्यो । सबै कोणबाट पूर्ण परनिर्भर भएको अर्थतन्त्र, भएको पैसा खर्च गर्न नसक्ने राज्य संयन्त्र, निकम्मा भएको शिक्षा प्रणाली, मौलाउँदो छाया अर्थतन्त्र, दयनीय सार्वजनिक सेवा, न्यून प्रतिव्यक्ति आय, चरम बेरोजगारी, निरन्तर प्रतिभा र पुँजी पलायन, संकटमा पुगेको कृषि, कुरूप सहरीकरण, चर्कंदो जलवायु पविर्तनको जोखिम, बढ्दो क्षेत्रीय एवम् वर्गीय आर्थिक असमानता आदि मुद्दाहरू सम्बोधन गर्ने साध्य र साधनहरूबारेको सहमति–असहमति अबको राजनीतिक सहकार्यको आधार हुन सक्थ्यो । राष्ट्रिय बहस पनि त्यसमै केन्द्रित हुनु वाञ्छनीय थियो ।

तर भइरहेको के छ भने, एकातर्फ दलहरू विचारबाहेक अस्तित्वमै रहन सक्दैनन् भन्ने एक कोटिका बौद्धिकहरूको आग्रहपूर्ण बहस छÙ हिजो चुनावका लागि बनेका र अब नयाँ सरकार गठनका लागि बन्ने दलहरूबीचको गठबन्धन सिद्धान्तनिष्ठ (प्रिन्सिपल्ड) र प्राकृतिक–अप्राकृतिक हो वा होइन भन्ने तर्क–वितर्कमा रुमलिएको छ । अर्कातर्फ, दलहरूले एक चरममा वैचारिक स्वत्व गुमाइसकेको र अर्को चरममा विशुद्ध सरकार गठनको अंकगणितमा मात्रै अर्जुनदृष्टि अड्याएको अवस्था छ । यसरी दलहरूले अँगालेको भनिएका सबै रङका महान् भाष्यहरू वर्तमान नेपाली राजनीति सञ्चालनका लागि असान्दर्भिक साबित भइसकेपछि गठबन्धन निर्माण, सरकार सञ्चालन र राजनीतिक स्थायित्वको व्यावहारिक बृहत् उद्देश्यका लागि मुद्दाहरूका आधारमा सहकार्य गर्ने संस्कार निर्माणको बाटो अख्तियार गर्नु वाञ्छनीय हुन्थ्यो । निर्णायक भनिएका दलहरू मुद्दाको राजनीतिबाट समेत स्खलित भइदिँदा राजनीतिमा जटिलताहरू थपिएका हुन् । जसले जोसँग पनि गठबन्धन गर्ने एउटै कोरा आधार अंकगणित बनाइनुले पोस्ट–ट्रुथको राजनीति गर्नेहरूको मनोबल र प्रभुत्व दुइटै बढेको हो । यसले निम्त्याउने राजनीतिक जोखिमको आकलन राजनीतिक र बौद्धिक कुनै पनि कोणबाट आरम्भ हुन सकेको छैन ।

प्रकाशित : मंसिर २६, २०७९ ०७:२०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×