निर्वाचन, प्रधानमन्त्री र राष्ट्रपतिका उम्मेदवारहरू- विचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

निर्वाचन, प्रधानमन्त्री र राष्ट्रपतिका उम्मेदवारहरू

प्रत्यक्षको मतले ठूला दलहरुका ठूला नेताहरुलाई ‘तपाईं अब घरै बस्नुहोस्, राजनीतिबाट संन्यास लिनुहोस्’ भन्ने सन्देश दिएको छ ।
बलराम केसी

आम निर्वाचन र अन्तरिम सरकार
आम निर्वाचन सम्पन्न भयो । नेपाली कांग्रेसले समानुपातिकसमेतको बलले ८९ र विपक्षी एमालेले ७८ सिट ल्याए । मत बाँडिएकाले सरकार स्थिर नहुने संकेत देखिइसक्यो । यो लेख लेख्दालेख्दै वर्तमान कामचलाउ सरकारले दुइटा संवैधानिक उल्लंघन गर्‍यो ।

कैद सजाय भोगिरहेकालाई जेलमुक्त गरेर राजनीतिक फाइदा लिने प्रयत्न गर्‍यो । असंवैधानिक नै भए पनि राष्ट्रपतिबाट अध्यादेश इन्कार गरिनाले फर्मुला नमिलेको तर उत्तर ठीक भएको गणित भयो । संविधानविपरीत पूर्वप्रधान न्यायाधीशलाई राष्ट्रपति बनाइने भन्ने सार्वजनिक भयो, जसको चर्चा अलि पछि गरिनेछ ।

सरकार गठन र स्थिरता

संसदीय व्यवस्था भएको बेलायतमा निर्वाचन परिणाम आएपछि राजाले बढी मत पाउने प्रमुख दलको नेतालाई राजदरबारमा शिष्टाचार भेटमा बोलाई सरकार गठनको सुरुआत गर्ने परम्परा छ । हाम्रोमा संविधानको धारा ७६ ले उपधारा १ देखि ५ सम्म कुन दलको नेतालाई सरकार गठनमा प्राथमिकता दिने भन्ने स्पष्ट लेखिएको छ । बहुमत कुनै पनि दलको नभएकाले धारा ७६(१) निष्क्रिय हुने भयो । घटनाक्रम हेर्दा सत्ता गठबन्धनभित्र मारामार नभएमा उपधारा (२) को हकदार कांग्रेस सभापति शेरबहादुर देउवा नै हुने सम्भावना छ (संसदीय दलको नेता आजकै कायम रहेमा र गठबन्धन नफुटेमा) ।

देशमा स्थायित्व होस् भनेर संसद् विघटन गर्न नपाउने गरियो । संसद् पाँच वर्ष टिक्ने लक्षण देखिँदैन । सांसदहरूमध्ये २५ जना कार्यकारीमा परिणत हुन्छन् । जसरी विपरीत र विभिन्न विचारका पाँच व्यक्ति धैर्य गरेर पाँच वर्ष एक ठाउँमा बस्न सक्दैनन्, त्यसरी नै विपरीत विचारधाराका पाँच दल मिलेर पाँच वर्ष सरकार चलाउलान् भन्नेमा शंका छ । सत्ता र शक्ति नपाए छटपटाउनु एमालेको चरित्र नै हो । उसले सरकारबाट बाहिरिएपछि बिनाकारण छ महिना भत्ता खाएर संसद् अवरुद्ध गर्‍यो ।

धारा ७६ को उपधारा (५) को अवस्थामा पुग्नुपर्दा पनि सरकार गठन हुन नसके मात्र संसद् विघटन हुने व्यवस्था छ । धारा १०० को उपधारा (४) मा प्रतिबन्धात्मक वाक्यांश थपेर सरकार गठन भएको पहिलो दुई वर्ष र एक पटक अविश्वासको प्रस्ताव असफल भएमा अर्को एक वर्ष प्रस्ताव ल्याउन बन्देज लगाइयो । सरकारको स्थायित्वका लागि लेखेर गर्न सकिएजति सबै व्यवस्था यही हो । नेताहरूमा नैतिकता छैन । सत्ता चलाएको दलले चुनाव हार्दा, इमानदारी छ भने दलबाटै राजीनामा गर्नुपर्ने, र नगरे पनि अनुशासित भएर ‘छाया सरकार’ मा बसेर सरकार चल्न दिनुपर्ने हो; तर चुनावमा धाँधली भयो भनेर झुटा आरोप लगाई संसद्मा टेबल–मेच भाँच्ने, माइक फोर्ने, संसद् अवरुद्ध गर्ने वा रोस्टम घेर्ने गरिन्छ । एमालेको यो चरित्र सर्वविदितै छ । सरकार चुक्यो भने ‘इस्यु’ मा अनुशासित विवाद गरेर संवैधानिक प्रक्रियाबाट सरकार गिराएर सत्तामा जानु स्वाभाविक हो । सरकारले जतिसुकै राम्रो काम गरे पनि पाँच वर्ष टिक्न नदिने संस्कार भयो । विगतमा राजालाई बिन्तीपत्र हालेर, विशेष अधिवेशन बोलाएर, सांसद किनबेच गरेर, सांसद लुकाउन बैंकक पुर्‍याएर र नेपालमै पनि पाँचतारे होटलमा लुकाएर, फर्जी बहुमत पुर्‍याएर, अविश्वासको प्रस्ताव पास गरेर, सरकार गिराएर आफू सत्तामा जानैपर्ने परम्परा भएको देश हो यो ।

प्रधानमन्त्री र मन्त्री पदको लोभ गर्ने संस्कार विकास भयो । पदमा बस्ने भनेको सुशासन दिन, भ्रष्टाचार नियन्त्रण गर्न वा विकास गर्न होइन; जनतालाई झुक्याउन हो भन्ने भएको छ । पुरानै घोषणापत्रका अधिकांश कुरा भाषा फेरेर सारिन्छ । विदेशीको चोर्ने चलन पनि आयो । विदेशको सारेको त प्रमाण नै छ । एमालेको घोषणापत्रमा ‘मेक इन नेपाल’ पर्‍यो । सबैलाई थाहा छ, यो घोषणा भारतका नरेन्द्र मोदीको अभियान ‘मेक इन इन्डिया’ को हो । राम नेपालमा जन्मेको भनेर कसैले नपत्याउने गरी भ्रामक प्रचार गरियो । भारतमा रथयात्रा भएको देखेर यहाँ पनि केपी ओली प्रधानमन्त्री हुँदा कोरोना महामारीकै बीच ५०० गाडीको रथयात्रा बालुवाटारबाट नक्कली राम जन्मभूमितर्फ चलाइयो । भारतमा मोदीले हिन्दु भोट बैंक बनाएजस्तै ओलीले पनि नेपाललाई हिन्दु भोट बैंक बनाउन चाहेका थिए । धर्मनिरपेक्ष नेपालमा भोटका लागि भारतको हिन्दु भोट देखेर गरिएको बदमासी थियो त्यो । भारतबाट यसरी सिक्दै जाँदा कुनै दिन नेपालमा पनि धार्मिक हिंसा फैलियो भने के गर्ने ? अर्काको सारेको वा देखासिकी गरेको दिमागले काम गर्दैन । राज्यको नीति र निर्देशक सिद्धान्त लागू गर्ने हो भने पनि घोषणापत्र चाहिँदैन र अरूको चोर्नुपर्दैन ।

पाँच वर्षमा दुई दलको लेखाजोखा

पाँच पटक प्रधानमन्त्री भएका देउवा र दुई पटक प्रधानमन्त्री भएका ओलीको भिजन, क्षमता, इमानदारी र कामप्रतिको लगन केकस्तो छ, जनताले छर्लंग देखिसके । भर्खरै सम्पन्न चुनावमा प्रत्यक्षतर्फको मतमै पनि त्यो देखियो । ओली कार्यकालको अधिकांश समय तानाशाही चल्यो । भ्रष्टाचार बढ्यो । धेरै काण्ड भए । मिडियालाई नियन्त्रण गर्ने प्रयत्न गरियो । संविधान अनुसार तटस्थ हुनुपर्ने निकायलाई आफू अन्तर्गत ल्याइयो । अध्यादेश जारी गरी संसदीय सुनुवाइ छलेर भागबन्डामा मनपरी नियुक्ति गर्नुबाहेक अरू केही काम भएन । संसद् दुई पटक विघटन गरियो ।

कोरोना महामारीमा ओली शासनकालमा दर्जनौं काण्ड भए । सरकारी ढुकुटीको व्यापक दुरुपयोग भयो । दलको भेला बालुवाटार सरकारी निवासमा गरेर करोडौं सरकारी रकम सिध्याइएको भनेर मिडियाले लेख्यो । बालुवाटार निवास नेकपा एमालेको कार्यालय नै भयो । त्यही बेला कोरोना लागेर गरिब नेपाली अस्पतालमा बेड नपाएर, औषधि नपाएर छटपटाइरहेका थिए । गोकर्ण रिसोर्टको अवधि समाप्त हुनु छ वर्षअगाडि नेपाल ट्रस्टको सम्पत्ति नवीकरण काण्ड, ओम्नी काण्ड, कोरोनाको औषधि खरिद काण्डजस्ता काण्डैकाण्ड कति भए कति, हिसाब गरेर सम्भव छैन ! विपक्षीका नेता देउवाले विरोध गरेनन् ।

बनाउन गाह्रो हुन्छ, बिगार्न सजिलो हुन्छ । विपक्षमा भएका देउवाको कमजोरी र नालायकीका कारण ओलीलाई संवैधानिक र नैतिकताको सीमा नाघ्न झन् बल मिल्यो । देउवा नेतृत्वको सरकारले ओलीबाट भएका गल्तीहरू नगर्ने आम आशा थियो । तर बिग्रेकामा विपक्षमा हुँदा विरोध गर्न नसक्नेले सरकारमा बसेर बनाउँछ भन्ने कसरी आशा गर्ने ? देउवा सरकारबाट राम्रा काम होलान् भन्नु नै भ्रम थियो ।

डीएनए परीक्षणद्वारा पितृत्व, मातृत्व र बच्चा कसको हो भन्ने पत्ता लाग्छ । राजनीतिमा डीएनए परीक्षण विकास भएको छैन । यदि मानिसमा जस्तै राजनीतिमा पनि डीएनए गर्न सकिने भए नेतृत्व दिने भिजन नभएको र भ्रष्टाचार बढाउने काममा देउवा र ओली राजनीतिक जुम्ल्याहा दाजुभाइ हुन् भन्ने पक्कै पुष्टि हुन्थ्यो । यो लेख लेख्दै गर्दा देउवाले आफ्नै निजी सम्पत्तिजस्तो गरेर सरकारी ढुकुटीबाट करोडौं रुपैयाँ बाँडेको सार्वजनिक भयो । एकातिर गरिबहरू खाना र औषधि नपाएर मरिरहेका छन्, अर्कातर्फ देशको प्रधानमन्त्री एकतन्त्रीय शासनमा राजा–महाराजाले जसरी ठूला दलहरूका नेता र आफ्ना आसेपासेलाई सरकारी ढुकुटी बाँड्दै छन् । नेपालको संविधानको, कानुनको अगाडि सबै बराबर भनेको यही हो ?

प्रधानमन्त्री पद ओली र देउवाको म्युजिकल चेयर हो ?

आवधिक चुनाव परिवर्तनका लागि हो । अघिल्ला पाँच वर्षको काम सन्तोषजनक भएमा जनताले नेता परिवर्तन गर्न चाहँदैनन्, असफल भएका रहेछन् भने फाल्छन् । भर्खर सम्पन्न निर्वाचनमा प्रत्यक्षतर्फको मतको तौल जनमतसंग्रहसरह हुन्छ । प्रत्यक्षको मतले ठूला दलहरूका ठूला नेताहरूलाई ‘तपाईं अब घरै बस्नुहोस्, राजनीतिबाट संन्यास लिनुहोस्’ भन्ने सन्देश दिएको छ ।

प्रत्यक्षको मतले देउवा र ओली दुवैलाई इन्कार गरेको छ । प्रत्यक्षबाट ठूलो मतद्वारा इन्कार र बहिष्कृत हुँदाहुँदै पनि प्रधानमन्त्री बन्ने हो भने ‘ओल्ड वाइन इन द न्यु बोटल’ हुने भयो । रक्सी उही बोतल नयाँ ! २०३० सालमा कीर्तिनिधि विष्ट प्रधानमन्त्री थिए, सिंहदरबार आगलागी भएपछि नैतिक जिम्मेवारी लिएर राजीनामा गरे । हावाहुरीका कारण दशरथ रंगशालामा भागदौडमा परेर मानिसहरू मर्दा शिक्षामन्त्री केशरबहादुर विष्टले पनि नैतिकताका आधारमा राजीनामा गरे । नैतिकता छ भने, प्रत्यक्षको मत संख्या हेरेर दुइटै ठूला दल नेपाली कांग्रेस र एमालेका दुवै नेता देउवा र ओलीले पनि राजीनामा गर्नुपर्ने हो ।

देउवा र ओलीले आफूले पाएको मतको संख्या मात्र हेर्ने होइन, आफ्नो दलले पाएको समग्र मतसमेत हेर्नुपर्छ, खास गरी प्रत्यक्षतर्फको । हाम्रो प्रणाली अनुसार प्रत्यक्ष र समानुपातिक मतको भार संसद्मा मतदान हुँदा समान हुने भए पनि नेतृत्वको अक्षमताको मूल्यांकन प्रत्यक्ष मतका आधारमा गर्नुपर्छ । प्रत्यक्षमा पाएको मतलाई नेता र नेतृत्वविरुद्धको जनमत मान्नुपर्छ । प्रत्यक्षमा सूचित, चनाखो एवं सही र गलत छुट्याउन सक्ने निःस्वार्थी मतदाताले आफ्नो मनमस्तिष्कले दलहरूका कामको मूल्यांकन हेरेर मत खसाल्ने हो; समानुपातिक त्यस्तो होइन । संविधानले प्रत्यक्षतर्फ १६५ सिट छुट्याएको छ, जसमध्ये एमालेले ४४ सिट मात्र पायो । ओलीले मिडियामा १०० सिट जित्ने ठोकुवा गरेका थिए । प्रत्यक्षमा १६५ मध्ये ४४ सिट पाउनु भनेको ७५ प्रतिशतले ओलीको नेतृत्व नरुचाउनु हो । नेपाली कांग्रेसको प्रत्यक्षतर्फ १६५ मध्ये ५४ सिट भनेको ६५ प्रतिशतले देउवालाई नरुचाउनु हो ।

प्रत्यक्ष मतदानमा नरुचाइएपछि ठूला नेताहरूले आफू असफल भएको घोषणा गर्नुपर्ने हो । तर, प्रत्यक्षतर्फ असफल प्रमाणित नेता पुनः नेतृत्व गर्न तम्सेकाले नेपाली निराश बनेका छन् । ओली हालै एउटा समारोहमा आफूले चुनाव हारेको होइन कांग्रेसले भोट चोरेको हो भन्दै थिए । ‘भोट चोर्‍यो’ भन्ने कुरा उनले सायद ट्रम्पबाट सिके । अमेरिकाका पूर्वराष्ट्रपति ट्रम्पले आजसम्म चुनाव हारेको मानेका छैनन् । उनले पनि बिनाआधार डेमोक्र्याटिक पार्टीले भोट चोर्‍यो भनिरहेका छन् ।

केही दिनअगाडि ताइवानमा स्थानीय निकायको चुनाव भयो । सत्ताधारी राष्ट्रपतिको दलले चुनाव हार्‍यो । त्यसपछि राष्ट्रपतिले दलको अध्यक्षबाट तुरुन्त राजीनामा गरिन् । हामीकहाँ भने स्थानीय तह चुनावमा मात्र होइन, संघीय चुनावमा समेत नराम्रो हार हुँदाहुँदै राजीनामा गर्दैनन् । दलका नेताहरू ‘सम्पत्ति’ अर्थात् ‘एसेट’ बन्नुपर्छ न कि ‘ऋण’ अर्थात् ‘लायबिलिटी’ । प्रत्यक्षतर्फको मत हेर्दा देउवा र ओली आआफ्ना दलको मात्र होइन, राष्ट्रकै ‘लायबिलिटी’ बनेको प्रमाणित भयो ।

पूर्व प्रधान न्यायाधीशको राष्ट्रपति दौड

संविधानको धारा १३२(२) ले सर्वोच्च अदालतको न्यायाधीश वा पूर्व प्रधान न्यायाधीशलाई राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष पदबाहेकमा काम लगाउन निषेध गरेको छ । तत्कालीन बहालवाला प्रधान न्यायाधीश खिलराज रेग्मी एकैसाथ मन्त्रिपरिषद्को अध्यक्ष पनि बने, जुन हास्यास्पद थियो । त्यही घटना पहिलो र अन्तिम हुनुपर्ने थियो तर पुनः दोहोरिने देखियो । राष्ट्रपति बन्न दुई पूर्व प्रधान न्यायाधीश तम्सेका छन्- खिलराज रेग्मी र कल्याण श्रेष्ठ । संविधान उल्लंघनमा दुवैको चर्चा गर्नैपर्छ ।

बाधा–अड्काउ फुकाएर रेग्मी मन्त्रिपरिषद्को अध्यक्ष र प्रधान न्यायाधीश बन्नु आफैंमा संविधानको घोर उल्लंघन थियो । अर्का पूर्व प्रधान न्यायाधीश श्रेष्ठले पनि न्याय परिषद् अध्यक्षका हैसियतले ६ महिनाको दूधे बालकसरहको नेपालको संविधान–२०७२ उल्लंघन गरेर न्यायिक इतिहासमा रेकर्ड नै राखेका हुन् । धारा १५३ मा पाँचसदस्यीय न्याय परिषद्को व्यवस्था थियो । संविधानले ‘यदि वा तर वा प्रतिबन्धात्मक वाक्यांश’ राखेर तीन जनाले मात्र पनि न्याय परिषद् गठन हुन्छ भनेको थिएन । नेपाल बारको प्रतिनिधि र प्रधानमन्त्रीको प्रतिनिधिलाई नबोलाई आफू, वरिष्ठतम न्यायाधीश र कानुनमन्त्री तीन जना मात्र बसेर अपारदर्शी तरिकाले रातारात भागबन्डामा सर्वोच्च अदालतमा न्यायाधीश नियुक्त गरिएको रेकर्ड श्रेष्ठमा छ ।

अवकाशपछि सर्वोच्च अदालतको पूर्व प्रधान न्यायाधीश वा न्यायाधीशलाई अन्य काममा रोक लगाउने धारा १३२(२) को मनसाय, उद्देश्य र व्यवस्था हो । उमेर ६५ वर्ष पुग्नुअगाडिदेखि नै राजनीतिक नेताहरूको चाकडी नगरोस्, राजनीतिक शक्तिकेन्द्रहरूले पनि बहालवाला न्यायाधीशलाई हात लिएर ६५ वर्ष पुगेपछि अन्य राजनीतिक पदको लोभ देखाई न्याय खरिद–बिक्री गरेर तलमाथि पार्न नपाऊन् भनेर राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्षमा बाहेक सरकारी ढुकुटीबाट तलब र सुविधा पाउने नेपाल राज्यभित्रको अर्को जुनसुकै पदमा ढोका बन्द गरिएको हो । धारा १३२(२) मा परेको ‘सरकारी पद’ को ‘सिल्ली व्याख्या’ गर्न हुँदैन, त्यो शब्दावलीको धारा १३२(२) को उद्देश्य, मनसाय, सन्दर्भ र प्रसंगसँग मिलाएर ‘हार्मोनियस’ व्याख्या गरिनुपर्छ । संकुचित र सिल्ली व्याख्या गर्ने हो भने अस्पतालको आईसीयू कक्षअगाडि रहने महिला नर्सले ‘कृपया चुप’ भनेको चित्रलाई केवल महिलाले मात्र चुप लाग्नुपर्ने, पुरुष, बालक, वृद्ध आदिले चाहिँ होहल्ला गर्न हुने भनी अर्थ्याउनुपर्ने हुन्छ । यस्तो व्याख्या कसले गर्छ, यो भनिरहनु नपर्ला ।

यस सन्दर्भमा केहीले उपराष्ट्रपति परमानन्द झाको उदाहरण दिएका छन् । उनीहरूले सर्वोच्च अदालतमा न्यायाधीश स्थायी र अस्थायी गरी दुई वर्गका थिए भनी बुझेनछन् । आचार संहिता दुवैका लागि एउटै भए पनि अवकाशपछिको हैसियतमा भिन्नता थियो । न्यायाधीश पवन ओझाको म्याद थपिएन, अस्थायीमै अवकाश भए; अवकाशपछि सर्वोच्च अदालतमा बहस गर्न आए । तर स्थायी न्यायाधीशलाई बहस गर्न बन्देज थियो । धेरै कमलाई थाहा होला, प्रचण्डराज अनिल - जो भर्खर दिवंगत भए - ले २०४७ सालमा अवकाशपछि पनि केही मुद्दामा वकालत गरेका थिए । त्यसैले उपराष्ट्रपति झाको उदाहरणको कुनै अर्थ छैन ।

राष्ट्रपति पदको उम्मेदवार भनिएकामध्ये एक कल्याण श्रेष्ठलाई विदेशी शक्तिले प्रस्ताव गरेको भन्ने सार्वजनिक भयो । श्रेष्ठलाई प्रस्ताव गर्ने दुई विदेशी शक्ति रहेछन्- एउटा विदेशी शक्ति प्रस्ताव गर्ने, अर्को विदेशी शक्ति विरोध गर्ने । राष्ट्रपति पदमा पनि विदेशी चलखेल हुने ? यो गम्भीर विषय हो । यो घटनाले विदेशी शक्ति नेपालको शक्तिकेन्द्रभित्र कति हदसम्म छिरेको रहेछ भन्ने देखिन्छ । यस घटनालाई हल्कासँग लिनु हुँदैन । प्रधानमन्त्री, विपक्षी दलका नेता र सम्पूर्ण सांसद आ–आफ्नो सैद्धान्तिक मतभेद बिर्सेर राष्ट्रको सार्वभौमसत्तासँग गाँसिएको यो विषयका लागि एकजुट हुनुपर्छ । गुप्तचरका अधिकारीहरू र आम नेपाली पनि सजग हुनुपर्छ । कसरी, किन र के उद्देश्यले विदेशी शक्तिले कुनै व्यक्तिको नाम राष्ट्रपति बनाउन प्रस्ताव गर्न सक्यो ? प्रधानमन्त्री र राष्ट्रपति चयन गर्ने निर्वाचकमण्डलले संविधानको धारा ८१ र त्यसको मर्म राम्रोसँग मनन र अध्ययन गर्नुपर्‍यो । एक पटक राष्ट्रपतिमा चुनिएपछि पाँच वर्ष स्थायी हुन्छ, बीचमा हटाउन सकिँदैन । त्यस्तो पदलाई नेपालको सुरक्षानीतिदेखि लिएर सेना, प्रहरी, मन्त्रिपरिषद्का सम्पूर्ण निर्णय एवं नीति, भावी सुरक्षा योजना लगायत मागेका सम्पूर्ण विवरण मन्त्रिपरिषद्ले अनिवार्य उपलब्ध गराउनुपर्छ । त्यसैले, मिडियामा विदेशी शक्तिले प्रस्ताव गरेको भनिएको कुनै पनि व्यक्तिलाई राष्ट्रपति बन्न दिन र बनाउन हुँदैन । यदि विदेशी शक्तिद्वारा प्रस्तावित व्यक्ति राष्ट्रपति बनेमा उसले त्यसको गुन तिर्न धारा ८१ अनुसार आफूलाई प्राप्त भएका अति संवेदनशील सम्पूर्ण विवरण जानकारी गराएमा देश के हुन्छ ? सार्वभौमसत्ता के हुन्छ ? त्यसैले विदेशीले सिफारिस गरेको व्यक्तिलाई संविधान उल्लंघन हुने गरी राष्ट्रपति नबनाऔं ।

राजनीतिक पद भएकाले नयाँ राष्ट्रपति भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीजस्तो, महिलालाई नै बनाउने हो भने भारतकी वर्तमान राष्ट्रपति द्रौपदी मुर्मुजस्तीलाई बनाऔं । नेपालमा पनि छन् त्यस्ता व्यक्तित्वहरू । खिलराज प्रकरण अब नदोहोर्‍याऔं । स्मरण रहोस्, खिलराज प्रकरण दोहोर्‍याउनु भनेको सर्वोच्च अदालतलाई पुनः भताभुंग बनाउनु हो ।

केसी पूर्वन्यायाधीश हुन् ।

प्रकाशित : पुस ६, २०७९ ०७:०९
प्रतिक्रिया
पठाउनुहोस्

चुनावी गठबन्धनले राजनीति झन् भ्रष्ट हुन्छ

गएका पाँच वर्ष त्यसै गरी नदोहोरिऊन् भन्नका लागि, पदमा हुँदा केही गर्न नसकेको अक्षम, परीक्षित र असफल व्यक्तिलाई मतदान गर्ने गल्ती नगरौं । सच्चरित्र, विद्वान्, इमानदार, जवान, समाजमा सुपरिचित व्यक्ति छानौं । अदालतको पेसी, तारेख, प्रहरीको बयान, कारागारको अनुभव नभएको व्यक्ति छानौं ।
बलराम केसी

संविधान लागू भएको सात वर्ष भयो । दोस्रो आम निर्वाचन हुँदै छ । प्रजातन्त्र स्थापना भएको तेत्तीस वर्ष भयो, राजनीतिक संस्कार बस्न सकेन । पहिला पाँच वर्षमा भ्रष्टाचार र कुशासन झन् बढ्यो । बहुमतको सरकार थियो । विकास गर्न राजनीतिक र प्राकृतिक अवरोध थिएन । प्रधानमन्त्रीमा भिजन र राजनीतिक इमानदारी देखिएन ।


पाँच वर्ष खेर गए । उल्लंघन गरेर घाइते बनाइएको संविधान, भ्रष्टाचारपूर्ण प्रशासन र कुशासन पाँच वर्षका उपलब्धि भए । राजनीति फोहोरी र धमिलो भयो । राजनीति देश बनाउन होइन,

सत्तामा पुगेर शक्तिशाली बन्ने पेसा भयो । फोहोरी र धमिलो राजनीति सुधार्नपट्टि ध्यान गएन । राजनीति शुद्ध र स्वच्छ हुने हो भने कतिपय नेता चुनाव जित्न र राजनीतिमा टिक्न सक्दैनथे । व्यक्तिगत स्वार्थले गर्दा राजनीतिलाई फोहोरी र धमिलो बनाइयो । आफू टिक्न देश र जनताको भलाई हेरिएन । फोहोरी र धमिलो राजनीतिले भ्रष्ट नेता जन्माउँछ । भ्रष्ट नेताले फोहोरी र धमिलो राजनीतिको संरक्षण गर्छ । राम्रो नेता पनि संगतले बिग्रने अवस्था देखियो ।

तीसवर्षे पञ्चायत र सत्रवर्षे बहुदलमा नभएको संविधान उल्लंघन र भ्रष्टाचार पाँच वर्षमा भयो । अहिलेकी राष्ट्रपति नेपालीकी राष्ट्रपति हुन सकिनन्, मातृ दलकी राष्ट्रपति बनिन् । राष्ट्रपति भएर मातृ दलको नुनको सोझो गर्नु आफैंमा गम्भीर संवैधानिक उल्लंघन थियो । दुवै सदनले दुई

पटक बहुमतले पारित गरेर पठाएको नागरिकता विधेयक प्रमाणित नगर्नुमा राष्ट्रपतिले आफूलाई महान् राष्ट्रवादी ठानिन् । केपी ओलीले दुई पटक संसद् विघटन गरे, दर्जनौं अध्यादेश जारी गरे, संसदीय सुनुवाइ नगरी विभिन्न संवैधानिक निकायमा भागबन्डा लगाएर नियुक्ति गरे । आर्थिक होइन, भ्रष्टाचारको विकास भयो ।

विकास र सुशासन हुनुपर्छ, भ्रष्टाचार नियन्त्रण गरिनुपर्छ भन्ने चेत गणतन्त्रको पहिलो प्रधानमन्त्रीमा आएन । प्रचारप्रसार र संविधान उल्लंघनमा पहिला पाँच वर्ष बिते । भ्युटावरे विकास भनिन्थ्यो, धरहरा उद्घाटन प्रमाण बन्यो । अहिलेसम्म धरहराको ७६ प्रतिशत मात्र काम भएको रहेछ । दबाब दिएर अधुरो निर्माणलाई ‘अरूले नगरेको काम मैले गरें’ भनेर प्रचारका लागि बलजफ्ती उद्घाटन गरिएको रहेछ । देशको प्रधानमन्त्री भएर जनतालाई ढाँट्छ, झुक्याउँछ र प्रचारबाजीमा रमाउँछ भने त्यस्तो नेता अवसरवादी हुन्छÙ जनाताको विश्वास गुमाउँछ । अबका पाँच वर्ष पनि पहिलेझैं हुने हो भने देश अराजकतातर्फ जान सक्छ ।

राजनीति मन्त्री हुनकै लागि गरिने भयो । सांसद भएर मात्र चित्त नबुझ्ने भयो । राजनीतिमा दलहरूका अध्यक्षको गुलाम बन्न पनि तयार हुने संस्कार विकास भयो । अध्यक्षसँग टक्कर लिने सांसदले चुनावमा टिकट नपाउने भए । तर, यसमा दोषी हामी पनि हौं । हामीले असल, इमानदार, भिजन भएको, पदको लोभ नभएको, भ्रष्टाचारको विरोध गर्ने व्यक्तिलाई मत नहाल्नाले राजनीति यति फोहोर भएको हो ।


अबका पाँच वर्ष बितेका पाँच वर्ष जस्तै नहोऊन्

सामान्यतः प्रत्येक पाँच वर्षमा एक पटक अठार वर्ष नाघेका नागरिकलाई मताधिकार प्राप्त हुन्छ । अठार वर्ष नाघेपछि उसले जनप्रतिनिधि र २७५ जनप्रतिनिधिहरूको भेला हुने थलो संसद्को काम, महत्त्व र जिम्मेवारी बुद्छ । ऊ फकिँदैन । उसलाई प्रलोभनमा पार्न सकिँदैन, भड्काउन सकिँदैन, खरिद गर्न सकिँदैन । उसले स्वार्थ हेर्दैन, राष्ट्रहित मात्र हेर्छÙ २७५ सांसद मात्र राम्रो छान्न सके तिनै २५ जना मन्त्रीभित्र पर्छन् भन्ने बुझ्छ । उसले २७५ मध्येकै एक जनाले प्रधानमन्त्री बनेर देशलाई लिड गर्छ भन्ने पनि बुझ्छ । उसले के पनि बुझ्छ भने, पोखरीमा एउटा माछा कुहिएको पर्‍यो भने सम्पूर्ण पोखरी गन्हाएजस्तो २७५ सांसदमा एक मात्र गलत व्यक्ति पर्‍यो भने पनि सिंगो देश गन्हाउँछ, संसद् अर्थहीन हुन्छ र देशले दुःख पाउँछ । अठार वर्ष पुगेपछि उसले गलत व्यक्ति सांसद बनेका कारण आफूभन्दा अगाडिको पुस्ताले दुःख पाएका रहेछन् भन्ने पनि बुझ्छ । ऊ आफूले दुःख नपाउन सचेत हुन्छ, नागरिकको हैसियतले आफूले मताधिकार पाएको भन्ने बुझ्छ । मंसिर ४ गते हामीले नागरिकको हैसियत, कर्तव्य र जवाफदेही तथा जिम्मेवारी बिर्सियौं वा बुझेनौं वा प्रलोभनमा पर्‍यौं वा स्वार्थी भयौं भने गलत व्यक्तिलाई मत पर्न सक्छ । अरू पाँच वर्ष पछुताउनुपर्ने हुन्छ । कतिपयले अहिले पाँच वर्षअघिको गल्ती सम्झिरहेका छन् । मानव जातिमा स्वार्थीपन पलाउँछ । ५ वर्षमा १,८२५ दिन हुन्छन् । राष्ट्रहितका लागि हामीले १,८२५ दिनमा १ दिन मंसिर ४ गते स्वार्थीपन मनबाट झिकेर फालौं । केवल १ दिन स्वार्थीपन फाल्दा १,८२४ दिन नेपालीहरूको भलाइ हुन्छ । देशभक्तिको भावनाले गत पाँच वर्ष सम्झिएर सही व्यक्तिलाई मत खसाल्न सकिन्छ ।

संसद्को अवधि पाँच वर्ष कायम गर्ने चलन बेलायतबाट सुरु भयो । हाल प्रायः देशले त्यसैलाई अनुसरण गरेका छन् । पाँचवर्षे अवधि राख्नुको मतलब हो- भाषणमा वा घोषणापत्रमा ‘मलाई भोट दिनुहोस्’ भन्दै जनतासमक्ष भोट माग्नेलाई वाचा पूरा गर्न समय लाग्छ भनेर मौका दिनु । भाषण वा घोषणाको वाचा पाँच वर्षमा पूरा भएन भने धोका दिने त्यस्तो व्यक्तिलाई फालेर नयाँ व्यक्ति छान्नुपर्छ भन्ने मान्यता छ । स्वार्थका कारण नेताविशेषले धोका दिए पनि पुनः उसैलाई मत दिएर जिताउने गल्ती हामीले गरिरहेका छौं । समस्या हामी आफैंले निम्त्याएका हौं । राम्रो व्यक्ति छान्दा विकास र सुशासन सम्भव हुन्छ, भ्रष्टाचार नियन्त्रण हुन्छ । गलत व्यक्ति छान्दा देश विनाश हुन्छ, भ्रष्टाचार बढ्छ ।

गएका पाँच वर्ष त्यसै गरी नदोहोरिऊन् भन्नका लागि, पदमा हुँदा केही गर्न नसकेको अक्षम, परीक्षित र असफल व्यक्तिलाई मतदान गर्ने गल्ती नगरौं । सच्चरित्र, विद्वान्, इमानदार, जवान, समाजमा सुपरिचित व्यक्ति छानौं । अदालतको पेसी, तारेख, प्रहरीको बयान, कारागारको अनुभव नभएको व्यक्ति छानौं । राजनीतिक सुधारमा त्यो पनि योगदान हुनेछ ।


चुनावमा सिद्धान्तहीन तालमेल

गत पाँच वर्षमै चामत्कारिक आर्थिक विकास त सम्भव थिएन, तर राजनीतिक सुधार, स्वच्छ प्रशासन, इमानदार सरकार र पारदर्शिता सम्भव थियो । केही भएन । कुशासन, भ्रष्टाचार, विकृति बढ्दै गए । नैतिकता हरायो । राजनीति र नेताहरूप्रति घृणा बढ्ने अवस्था बन्यो । आस्था स्वाट्टै घट्यो । कुनै पनि नेता जनताको मनको नेता बन्न सकेन । झन्डा, साइरनसहितको महँगो सरकारी गाडी, अगुवा–पछुवाका कारण मात्र कोही नेता बन्यो । सरकार सरकारजस्तो बनेन । सरकारप्रति जनताको आस्था रहेन । ठग्ने उद्देश्यले दर्ता गरेर सहकारी संस्था गठन गर्ने चलन बढेको पृष्ठभूमिमा सरकार पनि सहकारी संस्थाजस्तै भयो, अझ महासहकारी भयो । आम जनतामा सरकार टाठाबाठा र आसेपासेका समूहको शक्तिकेन्द्र हो भन्ने छाप पर्‍यो । सरकारमा बस्नेहरूले सरकार भनेको भ्रष्टाचार गरेर सम्पत्ति आर्जन गर्ने व्यक्तिहरूको नाफामूलक सहकारीे सहकारी होजस्तो भन्ने प्रभाव पारिदिए ।

मंसिर ४ गतेका लागि दलहरूका निश्चित एजेन्डा र उद्देश्य देखिँदैनन् । शक्ति, पैसा र झुटा आश्वासनबाट भए पनि चुनाव जित्ने मात्र उद्देश्य छ । कुनै दलमा पनि एक्लै चुनाव जित्ने आँट छैन । सत्तामा पुगेपछि सुशासन र विकासमा होइन, भ्रष्टाचार र आसेपासेमा केन्द्रित भएको फल यही हो । दलहरूको घोषणापत्र ओलीको धरहरा उद्घाटनजस्तै धोका हो । घोषणापत्रको आधिकारिक स्रोत संविधानको ‘राज्यको निर्देशक सिद्धान्त, नीति र दायित्व’ हो, तर त्यो कार्यान्वयन नै भएन । घोषणापत्रको स्रोत नै बेवारिसे भएकाले यो केवल लिखित भाषण बन्यो । नेपालका नेताहरूका भाषणको कुनै वजन नभएझैं दलहरूका घोषणापत्रलाई पनि कसैले पत्याउँदैन । त्यसैले दलहरू जसरी पनि सरकार बनाउने अंकगणितीय खेलमा छन् ।

चुनाव जित्ने र आआफ्ना दलहरूका अध्यक्षलाई चाकडी गरेर मन्त्री बन्ने राजनीतिक संस्कार विकास भयो । अनैतिक, अस्वास्थ्यकर चुनावी तालमेल देखियो । मार्क्स र लेनिनवादी दल एवं हिन्दु धर्म र गाईको राजनीति गरेर राजतन्त्रको वकालत गर्ने, पाए देशलाई दलविहीन बनाउने पञ्चायतमा ‘इन डक्ट्रिनेटेड’ भएको दलबीच पनि चुनावी तालमेल रे ! नेपाली कांग्रेस र माओवादीबीच गठबन्धन रे ! विपरीत सिद्धान्त भएका दुई दलबीचको तालमेल घातक हुन्छ । अनैतिक गठबन्धन र तालमेलका दलहरूलाई सरकार बनाउने हैसियतमा पुर्‍याउने हो भने देश विकास हुँदैन, ‘नामी र दामी’ मन्त्रालयका लागि झगडा हुन्छ । मिलेर बसेछन् भने ‘कालेकाले मिलेर खाऔं भाले’ राष्ट्रिय एजेन्डा बन्छ । भागबन्डा मिलेन भने फेरि संसद् विघटन गर्छन् । यिनमा जवाफदेही हुँदैन । मंसिर ४ गते मतदाताहरूले यस कुरामा पनि विचार पुर्‍याउनुपर्छ ।

चुनावी गठबन्धन स्वच्छ राजनीतिका लागि होइन, सत्तामा पुग्नका लागि गरिएको हो । प्रजातन्त्रको जग राम्रोसँग बसेको देश भए दलहरूमा पनि आन्तरिक प्रजातन्त्र हुन्थ्यो, असफल नेताहरूका कारण दल र देशले बदनाम हुनु पर्दैनथ्यो । हाम्रा दलका नेताहरू नेल्सन मन्डेला र अटलबिहारी वाजपेयीका विचार र बुद्धिको हुन सकेनन्, केवल पदका लोभी भए । खारिएको, इमानदार, आफ्नो मान–प्रतिष्ठामा बस्ने महान् राजनेता हुने हो भने प्रधानमन्त्री भैसकेका हाम्रा नेताहरूले आफ्नो अक्षमता र असफलतालाई महसुस गरेर दल र देशलाई बदनाम हुन नदिन देश र जनतासँग माफी माग्दै राजनीति छाड्नुपर्ने थियो । तर हाम्रा नेताहरूलाई यस्ता कुरा ‘भालुलाई पुराण सुनाउनु’ जस्तो हुन्छ । लाजै नमानी पुनः चुनाव लड्दै छन्, फेरि पनि प्रधानमन्त्री पद ताकिरहेका छन् ।

पूर्वप्रधानमन्त्रीहरूलाई सम्मान गर्दै र उनीहरूको उम्मेदवार बन्ने हकलाई पनि सम्मान गर्दै म बेलायतमा प्रधानमन्त्री भएका डेभिड क्यामरुन, थेरेसा मे, बोरिस जोन्सन र हालैकी लिज ट्रस एवं दक्षिण अफ्रिकाका नेल्सन मन्डेलालाई सम्झिन यही लेखमार्फत आग्रह गर्छु । ती बेलायती प्रधानमन्त्रीहरूमध्ये डेभिड क्यामरुनले ब्रेक्जिटको जनमतमा दुई प्रतिशतले हारेका कारण राजीनामा गरे । त्यो हार्नु उनको अक्षमता थिएन । थेरेसा मेले ‘संसद्बाट अत्यधिक बहुमत लिएर युरोपेली युनियनसँग ब्रेक्जिटबारे वार्ता गर्छु’ भनेर आम चुनाव गराइन् । बोरिस जोन्सनलाई कोरोनाको लकडाउनमा भोज गरेका कारण लन्डन प्रहरीले जरिवाना तिरायो, यसरी विवादित बनेपछि उनले पनि राजीनामा गरे । उनीपछिकी लिज ट्रस प्रधानमन्त्री भएको भर्खर डेढ महिना मात्र भएको थियो । काम गर्न नसकेको आरोप लाग्यो, तुरुन्त राजीनामा गरिन् । नैतिकता भनेको त यस्तो पो हुन्छ ! हाम्रा पूर्वप्रधानमन्त्रीहरूले आफूमाथि सिंगो समाज र धेरै राजनीतिक विश्लेषकहरूबाटै ‘विवादित र डेलिभर गर्न नसक्ने’ भनेर आरोप लाग्दालाग्दै पुनः उम्मेदवारी दिँदा उनीहरूलाई व्यक्तिगत फाइदा त होला तर २ करोड ९० लाख नेपाली निराश हुनेछन् । त्यसैले पूर्वप्रधानमन्त्रीहरूलाई सुझाव छ- प्रधानमन्त्री नताकेर आआफ्ना दल सुधार्नपट्टि, दलमा आन्तरिक प्रजातन्त्र स्थापना गराउनपट्टि लागे देशलाई ठूलो योगदान हुनेछ ।

तर नेताहरू फोहोरी खेलमा लागेका छन् । प्रधानमन्त्री बन्न अंकगणितीय हिसाबमा बागी वा अवसरवादी वा दोधारेलाई ‘भड्काएर, फकाएर, लोभ देखाएर वा जे गरेर हुन्छ’ आफूतिर तान्न अनैतिक, संसदीय परम्परा र आचारसंहिताविपरीत प्रलोभन दिइरहेका छन् । यस्ता कार्यहरू चुनावी प्रचार–प्रसारमा पर्दैनन् । स्वच्छ निर्वाचनको अन्तर्राष्ट्रिय मापदण्ड तथा कानुन र नैतिकताविपरीतका कार्य हुन् यी ।

प्रजातन्त्र भनेको प्रत्येक चुनावमा नयाँ दल आउनु वा दल फेरिनु होइन, दलहरूले राम्रालाई उम्मेदवार बनाउनु हो । स्थापित प्रजातन्त्र र सिद्धान्तमा चल्ने देशमा दलले एक पटक टिकट दिएको नेता असफल भए उसलाई संरक्षण गर्दैन । त्यस नेताले पनि आफैं बाटो छाड्छ, टिकट स्वीकार गर्दैन । स्वस्थ राजनीतिमा, खास गरी संसदीय व्यवस्थामा अंकगणितीय हिसाबमा बहुमत पुर्‍याउन सके सरकार गठन गरिन्छ, नसके अनुशासित भई विपक्षीमा बस्ने अपेक्षा गरिन्छ । बहुमत भएको दलको सरकार बनोस् भनेर राष्ट्राध्यक्षलाई अनुरोध गरिन्छ । सांसद किनबेच गरिँदैन । तर हामीकहाँ ठूला दलहरूले नै बागीहरूलाई खुलेर भड्काउने, फकाउने गरेर संसदीय व्यवस्थाकै बदनाम गरेका छन् ।

अपराधशास्त्रमा एउटा सिद्धान्त हुन्छ- ‘एक्सेसोरी बिफोर द फ्याक्ट’ । मतलब, अपराध गर्ने गिरोहको लक्ष्य अपराध गर्नु हो । हाम्रा दलहरूको लक्ष्य पनि चुनाव जितेर सरकार बनाउने भन्ने मात्र छ । जसरी ‘एक्सेसोरी बिफोर द फ्याक्ट’ को सदस्यले अपराध सफल पार्न जे पनि गर्छ, हाम्रा नेताहरूले पनि त्यसरी नै चुनाव जितेर प्रधानमन्त्री र मन्त्री बन्ने लक्ष्य राखेका छन् । त्यो लक्ष्य पूरा गर्न हाम्रा नेताहरूले ‘एक्सेसोरी बिफोर द फ्याक्ट’ मा काम गरिरहेका छन् ।

निर्वाचनको पारदर्शिता

निर्वाचन आयोगले गर्नुपर्ने काम गरेको देखिएन । उम्मेदवारबारे सम्पूर्ण कुरा थाहा पाउनु प्रत्येक मतदाताको हक हो, खास गरी सम्बन्धित क्षेत्रका मतदाताहरूको हो । हालै नयाँ पत्रिकाले एक समाचार छापेको थियो जसमा केही उम्मेदवारमाथि अदालतमा अभियोगपत्र दायर भएको, केहीका मुद्दा सुरु अदालतमा विचाराधीन रहेको, केहीले उच्च अदालतमा पुनरावेदन खेपिराखेको विवरण थियो । राजनीतिज्ञका सन्दर्भमा दुई किसिमका अपराध हुन्छन् । एउटा, ‘आस्थाको बन्दी’ का रूपमा पनि जेल परिन्छ । आस्थाको बन्दी हो भने अन्तर्राष्ट्रिय मान्यता र मापदण्ड अनुसार पनि हाम्रै संविधानको धारा ८७(१)(ग) राजनीतिक पेसाका लागि अवरोध बन्दैन । तर घृणित फौजदारी अपराध हो र प्रहरीमा आपराधिक रेकर्ड रहने खालको हो भने उम्मेदवारीमा अवरोध हुन सक्छ । उक्त समाचारमा नाम छापिएका ती सबै उम्मेदवारले संविधानको धारा २०(५) को जिकिर लिएर आफ्नो बचाउ गर्न सक्छन्, कसैले धारा ८७(१)(ग) को जिकिर लिएर बचाउ गर्न सक्छन् । तर प्रश्न के हो भने, संघीय संसद्को चुनाव हुँदै छ, राजनीति फोहोरी छ, यसैले गर्दा सरकार र संसद्प्रति नै जनआस्था गिरेको छ, नेताहरूप्रति जनविश्वास छैन, यस्तो अवस्थामा जेल सजाय पाएको वा मुद्दा खेपिरहेको व्यक्ति उम्मेदवार बन्नु भनेको मतदातालाई मात्र होइन, सम्पूर्ण नेपालीलाई निराश बनाउनु हो । त्यसैले निर्वाचन पारदर्शी र स्वच्छ बनाउन निर्वाचन आयोगले आफूमा अन्तर्निहित अधिकार प्रयोग गरेर कम्तीमा सम्बन्धित उम्मेदवारहरूका निर्वाचन क्षेत्रहरूका बासिन्दा र मतदाताहरू सुसूचित हुने गरी छापा–विद्युतीय सबै मिडियाबाट कसमाथि केकस्तो अपराधमा मुद्दा चलेको वा केकति सजाय भएको हो भन्नेबारे

अनिवार्य रूपले जानकारी गराउनुपर्छ । अनि मात्र निर्वाचनलाई स्वच्छ र स्वतन्त्र मान्न सकिन्छ । पाठकहरूलाई स्मरण होस्, आम निर्वाचनताका यस्ता विवरणहरूबारे सम्बन्धित निर्वाचन क्षेत्रका बासिन्दा, मतदाता र नेपालीलाई सूचित गराउँदा उम्मेदवारले संविधानको धारा १६ बमोजिम सम्मानपूर्वक बाँच्न पाउने हक वा गोपनीयताको हक वा समानताको हक हनन भयो भनेर जिकिर लिन पाउँदैन ।

केसी पूर्वन्यायाधीश हुन् ।

प्रकाशित : कार्तिक १३, २०७९ ०८:३७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×