कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

आमाहरूको स्वास्थ्यको अर्थ

सरिता तिवारी

मंसिरको दोस्रो साता उक्लिँदै थियो । भर्खरै सकिएको चुनावको तीव्र तातो बाफ घरको चुलोदेखि सामाजिक सञ्जालको भित्तोसम्म गुम्बजझैं बाक्लिएर उडिरहेका बेला साथीले सुझाएको एउटा नौलो स्वादको किताब पढ्ने हुटहुटीले म नारायणगढस्थित ‘सम्पूर्ण किताब’ को रिसेप्सनसम्म हुर्रिंदै पुगेकी थिएँ । र किताबको औपचारिक विमोचन पनि नहुँदै हात लागेको थियो ‘शून्यको मूल्य’ । 

आमाहरूको स्वास्थ्यको अर्थ

शून्य भन्नासाथ शून्यवाद अर्थात् ‘निहिलिज्म’ वा ‘जिरो’ याद आउने लत लागेको मथिंगलमा किताबको शीर्षक आफैं एउटा रोचक पहेलीजसरी घुमिरहेको थियो । तर जसै किताबको दैलोभित्र छिरियो, शून्यका हिसाबकिताब प्रकट हुँदै गए । किताबका विषय, भूगोल र पात्र कर्णाली क्षेत्रसँग जोडिँदै व्यक्त भएकाले यसलाई ‘कर्णाली चिन्ने किताब’ नै भन्न पनि सकिन्छ तर यो त यसको एउटा आयाम मात्रै हो । अथाह गरिबी, भोक, दुःख र ती सबैसँग लड्ने बेहिसाब संघर्षको कथा भन्ने कुनै किताब या सिनेमा कहाँ उभिएर लेखिन्छ वा कुन ठाउँमा टेकेर खिचिन्छ, त्यो स्थानिक मात्रै हुँदैन, खास गरी नेपालजस्तो देशका सन्दर्भमा । केही थान पात्र र तिनले भोगिरहेका कठोर स्थितिहरूका माध्यमबाट समकालीन समाजको सिंगो अनुहार र कमजोर अर्थतन्त्रका लुला गोडामाथि उभिएको देशको गति अनुभूति गराउने यस किताबले ‘विकास’ को प्रचलित मानकमाथिको हेराइ नै बदल्दिने दृष्टि दिन्छ ।

त्यो दृष्टि जसलाई ठूलठूला ‘प्लानर’ हरूले चटक्कै छोडिदिएका छन् । अर्थशास्त्री र समाजविज्ञानीहरूले समेत ‘नोटिस’ गरिदिएका छैनन् । राजनीतिक नेतृत्व र तिनका कार्यकर्ताले त सुगारटाइजस्तो वर्ग असन्तुलनका मोटामोटा नारामै मात्र अलमल्याएर वर्षौंदेखि समाजलाई गन्तव्यहीन अलपत्र यात्री बनाएकै छन् । आर्थिक वृद्धि, सामाजिक समावेशीकरण र वातावरण संरक्षणलाई आधार मानेर दिगो विकासको लक्ष्य निर्धारण गर्ने संयुक्त राष्ट्रसंघले सम्म हेक्का राख्न नसकेको त्यो दृष्टि रहेछ- एउटा समाजले, एउटा समृद्ध विश्वको कल्पना गर्ने पुस्ताले विकासको पूर्वाधारका रूपमा सबैभन्दा पहिले सूचीबद्ध गर्नुपर्ने प्रारम्भिक काम के हो भन्ने कुरा । र त्यो रहेछ- बलिया आमाहरू निर्माण गर्ने काम । बलिया आमाहरू अर्थात् शारीरिक, मानसिक, सामाजिक सबै स्थितिले स्वस्थ, सकुशल आमाहरू । बलिया आमाहरू अर्थात् तिनले निर्माण गर्ने पूर्ण स्वस्थ पुस्ता, सन्तुलित र उज्यालो सामाजिकता ।

बालरोग विशेषज्ञका आँखाबाट समकालीन समाज पढ्ने चेष्टामा हामी कस्ता देखिँदा रहेछौं ? हाम्रा योजना, राज्यको रातो किताबले खाकामा राखेका विकास लक्ष्य, विकासको ‘ग्लोबल मिसन’ र हामीले भुक्तमान काटिरहेको परिवेशबीच टुप्लुक्क आइपुगेर एउटा डाक्टरले हामीतिर फर्केर गर्ने संवाद कस्तो हुने रहेछ ? समाजका फक्ल्याँटा चिरेर, यी हेर्नुस् यो हो हाम्रो असफलता र हामीले व्यक्तिगत/संस्थागत जागरुकता र जिम्मेवारीका ससानै प्रयत्न गर्दा पनि हात लाग्ने सफलता यीयी हुन् भन्न कुन स्तरको संवेदनशीलता चाहिन्छ ? यी सबै कुराको उत्तर डा. नवराज केसीले दिएका रहेछन् आफ्नो किताबमार्फत ।

०००

‘शून्यको मूल्य’ मा मूलतः तीनवटा सरल प्रस्ताव छन् । राज्यले विकास र समृद्धिका नाममा फूलबुट्टे शब्द खिपेर, रातो किताबका पाना भरेर मात्रै समय र पैसा खेर नफालोस् । विकासलाई मानवीय मूल्य र विवेकको उत्थानसँग जोडेर कर्णालीजस्ता राज्यको आँखाबाट कोसौं पर रहेका ठाउँमा साधारण प्रयत्नले फत्ते गर्न सकिने ती प्रस्ताव हुन्- एक, नागरिकमाथि लगानी गर र त्यसका लागि बालबालिकाबाट थाल । दुई, गुणात्मक मातृत्वका लागि बलिया र सुरक्षित महिलाको निर्माण गर । अनि तीन र सम्भवतः यसअघि कुनै पनि सरकार र योजनाकारले नभनेको प्रस्ताव हो- भविष्यको सबल अर्थतन्त्रका लागि पहिलो र तेस्रो पुस्ताको बाक्लो संवाद हुने परिवार संरचनालाई प्रोत्साहित गर ।

स्वस्थ र सम्पूर्ण रूपले गुणात्मक क्षमता भएका नागरिक उत्पादनका लागि सही ठाउँमा लगानी हुनुपर्छ भन्नेमा विकासको आधारभूत प्रयत्न जोडिनुपर्छ भनेर राज्यले कहिल्यै आत्मबोध गरेन । हामीकहाँ नागरिकमाथिको लगानी शून्य बराबर छ । संघीय प्रणालीमा गैसक्दा पनि प्रदेश तहका सरकारलाई असफल साबित गर्न संघीय सरदारहरू आफैंले कतिपय अग्राधिकार लिएर बसेका छन् । क्षेत्रीय, लैंगिक र कठोर भौगोलिक असमानताको महासामन्त बनेर लामो समयदेखि काठमाडौंमा विदेशी सहयोगको ‘घाँस’ पाउर मार्ने शासकहरूले कति कर्णालीवासीका सपना खर्लप्प निलिदिए, त्यसको हिसाब कहाँ होला ? यो किताबका कथाजस्तै कथामै मात्रै कि अन्यत्र पनि ? कर्णालीका भीर–अक्करमा चरम सामाजिक–सांस्कृतिक अवहेलना खेप्दै मातृत्वको परीक्षा दिइरहेका आमाहरू र तिनका धूलिधुसर लडाइँका नालीबेलीमा अड्केका यी कथाको मजबुनमा लेखक भन्छन्- आमाहरूमाथि लगानी गर । आमाहरूमार्फत नयाँ आउँदो पुस्ता अर्थात् निर्माणाधीन नागरिकहरूमाथि लगानी गर ।

यहाँ वर्णित आमाहरूले प्रकृतिवत् रहेका चट्टानी पहरामा लतारिँदै–लछारिँदै गरेका देखिने संघर्ष त छँदै छन्, तीेभन्दा बढी जातीय र मनोसामाजिक संरचनामा ठडिएको महाकाय अर्थराजनीतिक संकटको समस्याभित्र हेलिँदै मान्छेको जुनी वरण गर्न तिनले बेहोरेका नदेखिने खली कम भयानक छैनन् । भुनभुनेकी आमा (जसको नाम उनैलाई समेत थाहा छैन), बुधेकी फुपूआमा, भेडिनी कान्छी, पुतली आमा - यी प्रत्येक आमाको कथाका गुम्फनमा तपाईं खास वाद र सिद्धान्त त भेट्न सक्नुहुन्न तर यतिचाहिँ बुझ्नुहोस्, यी सबै पात्रले बाँचेको जीवनलाई साक्षी बनाएर ‘विकास’ का प्रचलित मानकको समीक्षा गर्न र राज्यका असफलताको जरो कारण पहिल्याउन लेखकले गरेको जमर्को भने साधारण छैन । पढ्नेहरूको होस–चेत उडाउने यी कथा लेख्ने डाक्टरभित्र संवेदनाका कति विकट रचनागर्भ र त्यसका तहहरू होलान् !

विगत शताब्दीको पचासको दशकयता विकास र अविकासको भाष्य उनेर ‘अविकसित देशहरूलाई माथि उठाउन’ भन्दै गरिएको वैश्विक परजीवीकरणको खेती र असीको दशकदेखि संरचनागत सामञ्जस्य कार्यक्रम (एसएपी) लगायतका ‘दाता देश’ का परनिर्भरमुखी ललिपपहरूको दुष्परिणाम नै नेपालजस्ता देशका यी आमाहरूले भोगिरहेका नियति हुन् भन्न कुनै द्विविधा छैन । तिनैका स्थानीय एजेन्ट बन्न बानी परेका शासकवर्गलाई आफ्नो र आफ्नाहरूको बाहेक अरूको र अझ टाढाको कर्णालीको त रत्ती पनि चिन्ता छैन भन्ने पनि प्रस्टै छ । धनी र गरिबबीचको दूरी घटाउने नाममा बनेका अनेकौं विकासे परियोजना सयौं ठाउँ चुहिने चाल्नीमा पानी भरेजस्तो बेकार भइरहेको कुराले शासकहरूलाई रौं पनि फरक परेको छैन । मानव विवेक र भुइँ तहका मानिसहरूको संरचनात्मक समानतामाथि गर्नुपर्ने आधारभूत लगानीको उपेक्षा गर्दा कस्तो नतिजा निस्कन्छ भन्ने तथ्यांक हुन् डा. केसीले यस किताबमा कुँदेका मानिसका कथा ।

नागरिकमाथि लगानी गर्ने आधार तह हुन्- स्वस्थ आमा र तिनले जन्माउने/हुर्काउने स्वस्थ बालबालिका । स्वस्थ आमा भन्नुको अर्थ आमाहरू मानसिक, सांस्कृतिक र आर्थिक रूपले समेत स्वस्थ हुनुपर्छ भनेको हो । बालबालिकालाई स्वस्थ र तन्दुरुस्त जीवन दिन राज्यले आमाको मानसिक स्वास्थ्यमाथि सबैभन्दा बढी लगानी गर्नुपर्छ भन्ने लेखकको प्रस्तावमा असहमत हुने ठाउँ नै छैन । जुन देशमा आमाहरू घरदेखि समुदाय र समाजसम्म कठोर हिंसामा छन्, जहाँ आज पनि स्त्रीको स्थान ज्यालादारी कामदेखि नागरिकता प्राप्तिसम्मै दोस्रो दर्जामा छ, जहाँ महिलाले आत्मसम्मानसाथ उभिन मात्रै खोज्दा पनि हिंसाको सिकार बन्नुपर्ने अवस्था अझै छ, जहाँ आज पनि महिनावारीजस्तो शरीरको जैविक प्रक्रियालाई विभेदको आधार बनाइन्छ, त्यहाँ महिलाले ‘स्वस्थ आमा’ बन्ने सुविधा कहिले कसरी पाउलिन् ? यो बहस भने बाँकी नै छ ।

बालरोगको पुरुष डाक्टरले स्वभावतः स्वस्थ आमा र गुणात्मक मातृत्वबारे सोच्दा कर्णालीका आमाहरूले आफ्ना सन्तानको जीवनरक्षा गर्न कति गहिरो र अवर्णनीय कष्ट काट्छन् भन्ने अनुभूतिलाई बढी नियालेका छन् । पछिल्लो समय आमा बन्ने स्थिति महिलाको चाहनामा निर्भर हुने कि नहुने भन्ने छलफलसमेत सुरु भैसकेको अवस्थामा यस किताबका कतिपय कुरा हामीमध्येकैलाई ‘परम्परागत’ नै लाग्न पनि सक्छन् । तर मातृत्वमाथि छलफल हुँदा डाक्टरको पेसागत सीमाका बीचबाटै यहाँका कथा र तीमाथि व्यक्त तथ्यगत टिप्पणी पढिनु न्यायोचित ठहरिएला । यद्यपि, मातृत्वको जैविक गुणभित्र बारम्बार महानताको लेपन थपिँदा घरीघरी डाक्टर लेखकका भावुक पङ्क्तिहरूसँग असहमत पनि भइन्छ । यसैबीच पनि उनले प्रस्ताव गरे अनुसार बलियो, नयाँ पिँढी निर्माण गर्न बलिया र सुरक्षित महिलाहरूको सुनिश्चितता हुनुपर्छ भन्ने कुराचाहिँ हरेक कोणबाट सही ठहर्छ ।

नेपाली महिलाहरू बलिया बन्न पाएका छैनन् । सांस्कृतिक, आर्थिक, शारीरिक र मानसिक कुनै पनि स्थितिबाट सुरक्षित बन्न पाएका छैनन् । छन् भने पनि ती असाध्यै थोरै छन् । आर्थिक रूपले बलिया देखिने महिला पनि मनोसांस्कृतिक र शारीरिक रूपले उत्तिकै बलिया छैनन् । गुणात्मक मातृत्वको विकास गर्न यी सबै स्थितिले बलिया र खुसी महिलाको निर्माण गर्नुपर्छ ।

डा. केसीले राखेको तेस्रो प्रस्ताव हजुरआमाहरूले बुढेसकालमा थेग्न सक्ने र बनाउन सक्ने उन्नत अर्थतन्त्रसँग जोडिन्छ । परिवार मनोविज्ञान अनुसार पहिलो र तेस्रो पुस्ताबीच संवाद हुने परिवारका बालबालिका स्वस्थ, प्रतिभाशाली र तीक्ष्ण हुन्छन् भन्ने कुराका लागि डाक्टरले सन् २०१४ मा बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनलाई उद्धृत गरेका छन्, ‘हाम्रा हजुरआमाहरूले आफ्नो जीवनको अन्तिम समयमा पनि यो देशलाई करिब सात अर्ब डलर वार्षिक रूपमा कमाएर दिने गर्छन् ।’ क्यामरुनको यो भनाइसँग ‘अक्सफोर्ड ह्यान्डबुक अफ इभोल्युसनरी साइकोलोजी’ मा उल्लिखित मानवेतर प्राणीहरू हात्ती, डल्फिन र ह्वेलमा समेत हजुरआमाले दिने पोषण र सुरक्षा हजुरआमाबिना हुर्किने बच्चाका तुलनामा दोब्बर हुने तथ्य जोड्दै डाक्टर कल्पना गर्छन्- नेपालका हजुरआमाहरूले बुढेसकालमा नाति–नातिनासँग सामीप्य स्थापित गर्न पाउँदा हाम्रो अर्थतन्त्रमा कत्रो योगदान पुग्ला ?

आफ्नी हजुरआमासँग गहिरो भावले जोडिएकी बच्चीको उपचारका क्रममा उनले विचार गरेका रहेछन्- हजुरआमाले हुर्काएका बच्चा कृषक, डाक्टर, नेता या अरू कोही पनि बनून्, ती हजुरआमाबिना हुर्केका बच्चाभन्दा धेरै स्वस्थ र सक्षम हुन्छन् । त्यसैले नेपालजस्तो देश र कर्णालीजस्तो क्षेत्रमा हजुरआमामाथि गरिने स्वास्थ्य र शिक्षाको खर्च खर्च होइन, आउने पिँढीको समष्टिगत विकासको लगानी हो । रोजगारी र आर्थिक गतिविधिका लागि दिनानुदिन परिवार खण्डीकरण र एकल परिवारको अभ्यास मौलाएको वर्तमान स्थितिमा हजुरआमा र नातिनातिनी पुस्ता सँगै रहनेबस्ने कुरा कति सम्भव होला, यसै भन्न गाह्रो छ । यो परिवार व्यवस्थापनको साधारण समस्या होइन, बृहत् अर्थराजनीतिक जटिलताले घेरिएको विषयसमेत हो । तथापि यो प्रस्तावमाथि सबैको उचित ध्यान जानु जरुरी छ ।

प्रकाशित : पुस ५, २०७९ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?