गठबन्धन संस्कृतिको अर्थ–राजनीतिक औचित्य- विचार - कान्तिपुर समाचार

गठबन्धन संस्कृतिको अर्थ–राजनीतिक औचित्य

नेपाली अर्थतन्त्रमा संरचनागत समस्याको थुप्रो लागेको छ, जसको समाधान खोज्नुपर्ने हुन्छ र त्यो राजनीतिमार्फत मात्र सम्भव हुन्छ ।
हरि रोका

मतगणना सुरु नहुँदै एमाले अध्यक्ष केपी ओलीले नेपाली कांग्रेससँग सत्ता साझेदारी हुन सक्ने घोषणा गरेका थिए । चुनावको अन्तिम नतिजा नआउँदै मुस्किलले तेस्रो शक्तिका रूपमा उभिएको नेकपा माओवादीले पदाधिकारी बैठकपछि ‘सरकार बनाउन’ सबै विकल्प खुला रहेको इस्तिहार जारी गर्‍यो ।

कांग्रेसभित्र प्रधानमन्त्री पदमा ‘म सर्वथा योग्य उम्मेदवार’ भनेर हुँकार भर्नेहरूको लाइन लामै देखिन्छ । २०५३ सालदेखि प्रधानमन्त्री शेरबहादुर देउवाको आचरण र व्यवहारको साक्षी रहेकाहरूका लागि उनी कुन हद नाघेर विपक्षीलाई माथ दिन सक्छन् भन्ने वास्तविकता छिपेको छैन । राजनीतिको कखरा छिचोलेका सर्वसाधारणका लागि एमाले र माओवादी कतिसम्म केटाकेटी हर्कतमा रमाउँछन् भन्ने बुझ्न महाभारत पढिरहनुपर्दैन ।

अहिलेको त्रिशंकु संसद् (हङ पार्लियामेन्ट) का कारण २०५२–५६ सालको त्यही दर्जाको फोहोरी राजनीतिक परिपाटी दोहोरिने हो कि भन्ने आशंका व्याप्त छ । मनमोहन अधिकारी नेतृत्वको सरकार गिराउन राप्रपाको बलमा कांग्रेसले जुन भूमिका निर्वाह गर्‍यो, त्यसलाई पछि एमालेले उल्ट्यायो । यसबाटै नेपाली संसदीय अभ्यासमा विकृत राजनीतिक खेल सुरु भयो । संसदीय राजनीतिको मूलधारमा रहेका कांग्रेस र एमालेबीचको संस्कारहीन राजनीतिक प्रतिस्पर्धा र सिद्धान्तहीन अवसरवादी मेलमिलाप संविधानसभाको पहिलो निर्वाचनपछि पनि रोकिएन । प्रजातान्त्रिक समाजवाद र मार्क्सवादी समाजवादको आवरणमा अवसरवादी राजनीतिक संस्कार प्रवृत्तिका रूपमा मौलाउन पुग्यो । लगत्तै माओवादी अध्यक्ष प्रचण्ड पनि त्यही खेलमा सामेल भए । त्यसपछिको कुनै पनि सरकारमा सामेल हुँदा पार्टीहरूमा दर्शन र विचारधारामा आधारित आर्थिक–सामाजिक रूपान्तरणका कार्यक्रमहरूप्रति प्रतिबद्धता देखिएन । संसदीय व्यवस्थामा पूर्ण होस् या अर्ध–समानुपातिक प्रतिनिधित्व, एकल पार्टीको बहुमत सरकार कठिन हुन्छ । त्यही भएर यो प्रणाली अभ्यासरत मुलुकहरूमा पार्टीहरू न्यूनतम सैद्धान्तिक तथा कार्यक्रमिक आधारमा सहमति बनाएर निर्वाचनमा होमिन्छन् । यस्ता गठबन्धन ‘सेन्टर–टु द–लेफ्ट’ र ‘सेन्टर–टु द–राइट’ भनेर चिनिने गरेका छन् । नेपालमा पहिले नै आर्थिक तथा राजनीतिक कार्यक्रमका आधारमा गठबन्धन बनाइँदैन । यस अर्थमा गठबन्धनप्रति पार्टीहरू प्रतिबद्ध रहिरहँदैनन् । तर यसबाट तिनीहरूको राजनीतिक साख बाँकी रहँदैन ।

अहिले खडा भएको प्रश्न सैद्धान्तिक र राजनीतिक विचारसँगै सम्बन्धित छ । के सरकार बनाएर राज गर्न निश्चित अर्थ–राजनीतिक कार्यक्रम आवश्यक पर्दैन ? हिजो संविधानविरुद्ध प्रतिक्रान्ति गर्न खोज्यो भनेर लगाइएको आरोप चुनाव सकिनासाथ औचित्यहीन बनिसक्यो ? परमादेशी भनेर हियाइएका पार्टीहरू अब चोखिए ? अझ नेपाली अर्थतन्त्रले निकै लामो समयदेखि आर्थिक मन्दी झेलिरहेको छ, राज्यले छुट्याउने विकास बजेट प्रत्येक वर्ष कमजोर हुँदा आम जीवनयापनमा मुस्किल परिरहेको छ, मुलुकभित्र उत्पादन र रोजगारी घट्ने क्रम जारी छ, वैदेशिक ऋणको साउँ–ब्याज गर्न धौ–धौ परिरहेको छ; यस्तो अवस्थामा पोस्ट–इलेक्सन डिस्कोर्सकै रूपमा भए पनि गठबन्धन सरकार बनाउँछु भन्नेहरूले वा नेतृत्व गर्छु भन्नेहरूले तत्कालीन तथा दीर्घकालीन नीति–कार्यक्रम र योजनाको खाका अगाडि सार्नुपर्दैन ?

चुनौतीका खात

नेपाली अर्थविज्ञहरूले दर्जनजति बुँदाहरू चुनौतीका रूपमा अघि सारेका छन्, जुन नौला छैनन् । जस्तो- महँगी बढ्यो, ब्याज बढ्यो, तरलता अभाव छ, विकास खर्च भएन, राजस्व घट्यो, आयात चुलियो, उत्पादन भएन, ऋण बढ्यो र सदुपयोग भएन, उत्पादन र माग घट्यो, उद्योग र व्यापारमा गिरावट भयो, अन्तर–निकाय समन्वय अभाव रह्यो आदि । संकटबाट बाहिरिन के गर्नुपर्छ भन्नेबारे पनि उनीहरूले केही टिप्स सुझाएका छन् । जस्तो- अर्थनीतिमा सुधार, स्थिर सरकार, अर्थतन्त्र सम्हाल्न सक्ने नेतृत्व, आर्थिक एजेन्डालाई उच्च प्राथमिकता, विकास–निर्माणमा जोड, उत्पादन वृद्धि र रोजगारीमा सृजना, लगानीमैत्री कानुन, जग्गा समस्या समाधान, मूल्यवृद्धि नियन्त्रण, आर्थिक विकासमा निकास आदि (‘अस्थिर सरकारको संकेत, कसरी सुधार्ने अर्थतन्त्र,’ अन्नपूर्ण पोस्ट, २०७९ मंसिर १६) । मुख्य राजनीतिक पार्टीहरूका घोषणापत्रमा पनि यस्तै बुँदाहरू सूत्रबद्ध गरी मुलुकको सर्वांगीण विकासको परिकल्पना गरिएको छ । तर अर्थतन्त्रको लामो चक्र (कोन्ड्राटिएभ साइकल) को अन्तिम चरण पनि समापन हुने अवस्थामा, सामान्य चक्रमा जस्तो सस्ता फाइनान्सियल ट्रिक र टिप्सबाट संरचनागत कारणले बिमार नेपाली अर्थतन्त्रको आरोग्य सम्भव छैन । नेपाली अर्थतन्त्रमा संरचनागत समस्याको थुप्रो लागेको छ, जसको समाधान खोज्नुपर्ने हुन्छ र त्यो राजनीतिमार्फत मात्र सम्भव हुन्छ ।

यो समय अन्तर्राष्ट्रिय तथा राष्ट्रिय अर्थराजनीतिमा बहुपक्षीय संकट (पोली–क्राइसिस) निम्तिएको छ । पोली–क्राइसिस भन्नाले बहुसंकटहरूको सँगालो मात्र होइन, त्यस्ता सबै संकट मिलेर हुने विस्फोटक अवस्थालाई इंगित गर्छ (आदम टुज, ‘वेलकम टु द वर्ल्ड अफ द पोली–क्राइसिस,’ फाइनान्सियल टाइम्स, २८ अक्टोबर २०२२) । कोरोना संक्रमण, मुद्रास्फीति, मन्दी, भोकमरी, जलवायु तथा वातवरणीय परिवर्तन, रुस–युक्रेन युद्ध, आपूर्ति सञ्जाल संकट र लोकप्रियतावादीहरूले निम्त्याउन खोज्ने प्रतिक्रान्तिजस्ता यति बेलाका संकटहरूलाई उदाहरणका रूपमा लिन सकिन्छ । नेपाललाई यी सबैबाट अलग्ग राखेर हेर्नु हुन्न । हाम्रा नवउदारवादी बजारशास्त्रीहरूले अन्तर्राष्ट्रिय रूपमा बढेको मुद्रास्फीति र आपूर्ति सञ्जाल संकटका कारण अर्थतन्त्रमा समस्या निम्तिएको हो भनेर गुड्डी हाँक्दैमा संकटको गहिर्‍याइमा पुग्न सकिन्न; न दशकौंदेखि भट्याइने गरेको तर पूरा हुन नसकेको बहुराष्ट्रिय कम्पनीहरूले भित्र्याइदिने लगानीको सम्भावना देखिन्छ न त विद्यमान आर्थिक संरचनाजस्ताको तस्तै राखेर उत्पादन र रोजगारी नै वृद्धि हुन्छ ।

वर्तमानमा समष्टिगत आर्थिक संकटसँग जुध्न नयाँ अर्थ–राजनीतिक रणनीति अख्तियार गर्नुको विकल्प छैन । कस्तो नयाँ, कुन वर्ग र समुदायका जनतालाई केन्द्रविन्दुमा राखेर नयाँ रणनीति बनाउने र लागू गर्ने भन्नेबारे बाह्य संसारमा झैं नेपालमा पनि तीन किसिमका मत राख्नेहरू छन् । पहिलो, लेसेज–फियरमा आधारित नवउदारवादी बजारका पक्षधरहरू जो दशकौंदेखि नेपाली अर्थतन्त्रमा हावी हुँदै आएका छन् । दोस्रो, राज्य पुँजीवादमा आधारित लोककल्यणकारी राज्य अर्थात् किन्सियानिजममा आधारित मिश्रित अर्थतन्त्रका पक्षपोषकहरू जो सत्ताभित्र र बाहिर दुवै ठाउँमा अवसरवादी भएर देखा परे पनि भूमिका निर्वाह गर्न असमर्थ छन् । तेस्रो, यस्ता समाजवादीहरू, जसको अस्तित्व नीतिनिर्माण तहमा शून्य छ । तर अब संरचनागत समस्याले उग्र रूप लिन सक्ने अवस्थाका सन्दर्भमा वर्ग वा समुदायको झुकावका आधारमा पार्टीहरू आ–आफ्ना कार्यक्रमको ठोस पक्षधरता देखाउन बाध्य बन्ने क्षण आउँदै छ । एकल बहुमतको सरकार बन्न नसक्ने अवस्थामा यही आर्थिक–सामाजिक पक्षधरताका आधारमा न्यूनतम साझा सहमतिको कार्यक्रम तय गरेर अगाडि नबढे कुनै पनि गठबन्धन सरकारको कार्यकाल लम्बिन सक्दैन । त्यसैले अब सिद्धान्तको खोल ओढेर, ब्रान्डनेम निधारमा टाँसेर मात्र कुनै पनि पार्टीको अस्तित्व जोगिने देखिन्न ।

अर्थतन्त्रको कुन क्षेत्र बढी संवेदनशील ?

सामान्यतया अर्थतन्त्रका सबै क्षेत्र संवेदनशील छन् भन्नेमा दुईमत नहोला । किनकि मुख्य क्षेत्र संकटमा पर्नासाथ सबै क्षेत्र संकटग्रस्त बन्छन् नै । यद्यपि आ–आफ्ना वर्गीय दृष्टिकोणका आधारमा नीतिनिर्माताहरूले क्षेत्रविशेषलाई प्राथमिकतामा पार्ने गर्छन् । यस पंक्तिकारका विचारमा, नेपालको कृषि क्षेत्र सबैभन्दा संवेदनशील बन्न पुगेको छ । कुल श्रमशक्तिको ६१ प्रतिशत क्रियाशील रहेको तथा कुल जनसंख्याको झन्डै ७५ प्रतिशत आश्रित रहेको कृषिको योगदान प्रतिवर्ष घटिरहेको छ । जुन अनुपातमा योगदान खस्किरहेको छ, त्यही हिसाबमा आश्रित तथा श्रमिकको संख्या घटेको छैन । कृषि क्षेत्रमा जीविका नचल्ने अवस्थामा रहेका साना तथा मझौला किसान र खेती मजदुरहरू तीव्र गतिमा बसाइँ सरिरहेका छन् । यसले गर्दा एकातर्फ खाद्यान्न उत्पादन र उत्पादकत्वमा ह्रास आइरहेको छ, अर्कातर्फ तराई–मधेश र उपत्यकामा जनसंख्याको चाप बढिरहेको छ । एकातर्फ खाद्यमा बाह्य परनिर्भरता बढिरहेको छ, अर्कातर्फ बेरोजगारी र आम रूपमा आर्थिक असमानतामा वृद्धि भइरहेको छ । करोडौं जनताको खाद्यसुरक्षा र स्वरोजगारी अर्थात् जनजीविकासँग जोडिएको कृषि क्षेत्रलाई बेलैमा सकारात्मक ढंगले संरचनागत परिवर्तनतर्फ उन्मुख नगराइँदा अनेक आर्थिक–राजनीतिक संकट बेहोर्नुपर्ने हुन सक्छ । किनकि पेटको आगो निभाउन सजिलो हुन्न ।

दोस्रो महत्त्वपूर्ण क्षेत्र हो- उद्योग–व्यवसाय । कुनै समय उद्योगले कुल अर्थतन्त्रको १६ प्रतिशतसम्म हिस्सा ओगट्थ्यो भने अहिले ओरालो लागेर ५ प्रतिशत हाराहारी मात्र योगदान पुर्‍याइरहेको छ । बढ्दो बेरोजगारी, घट्दो आयआर्जन र जनजीविकाको समस्या हल गर्न रोजगारीमूलक औद्योगिकीकरणको विकल्प देखिँदैन । उद्योगमा पनि सबैभन्दा बढी आयात प्रतिस्थापन उद्योगलाई प्राथमिकतामा राख्दा कृषि क्षेत्रको विकासमा, खास गरी दिगो र भरपर्दो स्वरोजगारी तथा खाद्यान्न तथा कृषिजन्य उपभोग्य सामग्री उत्पादनमा आत्मनिर्भर तुल्याउन सहयोग पुग्न सक्छ । त्यसै गरी कृषि र पशुजन्य उत्पादन वृद्धि गरी निर्यात नेतृत्वको आर्थिक वृद्धिको ढोका खोल्न पनि सक्नुपर्छ ।

तेस्रो, पूर्वाधार निर्माण तथा विकास क्षेत्र । यसले तत्कालका लागि रोजगारी एवं भविष्यका लागि लगानी र उत्पादन व्यवस्थापनमा सहजकर्ताको भूमिका निर्वाह गर्छ । निर्माणमा आयातित औजारको अत्यधिक उपयोगका कारण पूर्वाधार विकासको वर्तमान मोडल विकृत देखिएको छ । दिगो र भरपर्दो विकासका लागि हावापानी र वातावरणीय सुरक्षा अपरिहार्य ठानिइरहेको यो समयमा अन्धाधुन्ध वन फँडानी र डोजरे विकासले गर्दा मुलुक बाढी, पहिरो, डुबान र कटानबाट आक्रान्त हुन थालेको छ । वातावरणीय प्रभावलाई ख्याल नगरी गरिएको यस्तो विकासबाट कृषि, वन, नदीनाला सबैमा नकारात्मक असर परिरहेको छ । त्यसैले पनि पर्यावरण सुरक्षाका लागि नयाँ पूर्वाधार विकास रणनीति अख्तियार गर्नुपर्छ ।

चौथो हो- पर्यटन । नेपालको पर्यटन क्षेत्रले कुल रोजगारीको ११.५ प्रतिशत उपलब्ध गराएको छ । सन् २०२१ को तथ्यांक अनुसार ३ लाख ७१ हजार रोजगार पर्यटन क्षेत्रमा क्रियाशील थिए । होटलको संख्यामा सन् २०१२–१३ का तुलनामा २०१९–२० मा ५४.३ प्रतिशतले वृद्धि भएको छ, तारे होटलहरूको संख्या पनि सो अवधिमा २९ प्रतिशतले बढेको छ । यद्यपि पर्यटनलाई नेपाली कृषि तथा घरेलु उद्यमसँग जोड्न जरुरी छ । यसरी जोडिएमा स्तरीय उत्पादनका साथै रोजगारी प्रवर्द्धन र वृद्धिदर बढ्न सक्छ । सँगसँगै अर्थतन्त्रका अन्य क्षेत्रसँग समन्वय हुँदा तिनको विकासका लागि लगानी भित्र्याउन पनि पर्यटन क्षेत्रको भूमिका खोज्न सकिन्छ ।

यी उत्पादन तथा रोजगारीमूलक उद्यमका मुख्य क्षेत्रको द्रुततर विकासलाई केन्द्रविन्दुमा राखेर अर्थतन्त्रका अन्य अवयवको नीति तयार गर्नुपर्ने हुन्छ । उदाहरणका लागि, अबको शिक्षा नीति तय गर्दा कृषि उत्पादन एवं पूर्वाधारमा सडक, जलविद्युत्, रेलवे, विमानस्थल, म्यानुफ्याक्चरिङ, खनिज तथा खानी आदिमा कतिकति म्यानपावर चाहिने हो, त्यही अनुसार संस्थागत विकासलक्ष्य तय गर्नुपर्ने हुन्छ । अर्को अर्थमा, विकास गरिनुपर्ने मूल केन्द्रलाई ध्यानमा राखेर धेरै नीति एकसाथ एकीकृत तवरमा तय गर्न आवश्यक छ, बेग्लाबेग्लै होइन । भूमिसुधार तथा व्यवस्थापन, रोजगारी, आम साक्षरता, शिक्षा, विशेषज्ञ शिक्षा, डिजिटलाइजेसन, सार्वजनिक स्वास्थ्य, बैंक तथा वित्तीय संस्था र कर्जा लगानी, आयात तथा निर्यात व्यापार सम्बन्धी सबै नीति मुख्य क्षेत्रसँग तालमेल हुने गरेरै तय गर्नुपर्छ ।

माथि उल्लिखित मुख्य क्षेत्रमा सुधार नगरी, नेपाली श्रमबजारमा प्रतिवर्ष भित्रिने औसत ५ लाख ७० हजार युवालाई स्वदेशमै रोजगारी उपलब्ध गराउन सम्भव हुँदैन । अहिले सहज परिस्थिति हुँदा प्रतिवर्ष औसत ३–४ लाख श्रमिक विश्व–श्रमबजारमा हेलिने गरेका छन्, तर अब विश्वपरिस्थिति हेर्दा शारीरिक श्रम गर्नेहरूको माग विश्व श्रम बजारमा घट्न सक्ने हेक्का राख्नुपर्छ । कोभिड–१९ पछि ५५ प्रतिशतले खस्केको श्रमबजार बिस्तारै उकासिँदै गइरहे पनि र यसले विप्रेषणका रूपमा हाल नेपाली अर्थतन्त्रमा झन्डै २१ प्रतिशत योगदान गरिरहे पनि त्यो दीर्घकालीन समाधान होइन भन्ने बुझ्नु जरुरी छ । कृषिमा आश्रित जनसंख्या र रोजगारहरू सालिन्दा पलायन हुने गरेका छन् । तिनकै लागि हो रोजगारीमूलक औद्योगिकीकरणको आवश्यकता पर्ने । त्यस्तो औद्योगिकीकरणको सुरुआत कृषिबाटै जम्मा हुने सञ्चित पुँजी (एक्युमुलेटेड क्यापिटल) मार्फत गर्नुपर्छ । कृषिमा आधारित प्रशोधन, कृषिमा उपयोग हुने मेसिनरी तथा औजार, उत्पादन हुँदै उपभोग्य सामग्री एवं पछिल्लो समय थप सञ्चिति र बाह्य लगानीमार्फत हुने पुँजीगत वस्तु उत्पादनमा आधारित उद्योगहरूको स्थापनाबाट रोजगारी प्रवर्द्धन गर्न सकिन्छ । पूर्वी एसियाली मुलुकहरूले सन १९५० देखि ८० को दशकसम्म यसकै रणनीतिक अभ्यास गरेका थिए भने चीनले १९७९ देखि हालसम्म यही नीति अख्तियार गरिरहेको छ ।

सिद्धान्तमा टेकेको राजनीतिको आवश्यकता

प्रजातन्त्र पुनःस्थापनादेखि आजसम्म नेपालका राजनीतिक पार्टीहरूले स्थापनाकालमा राखिएका मूल्य–मान्यता, आर्थिक नीति तथा तीमार्फत हासिल गर्ने लक्ष्य र उद्देश्य केही बाँकी राखेनन् । यो समयमा मुख्यतः कांग्रेस, एमाले र माओवादी पार्टीहरू किन्सियानिजममा आधारित लोककल्याणमिश्रित पुँजीवादमा समेत अडिएनन् । आफूलाई प्रजातान्त्रिक समाजवादी भनाउने एक हूल विद्वान्हरू नवउदारवादी बजारीकरण र निजीकरण अभियानलाई शाश्वत सत्य र फलदायी विकासको बीजारोपण भन्दै प्रशस्तिगान गरिरहेका छन्; लाखौं मजदुरलाई नवदासका रूपमा बाहिर पठाएर मुलुकलाई युवाविहीन र शून्य उत्पादनतर्फ उन्मुख बनाएको वास्तविकतालाई झुठो ठहर्‍याउन नाभिदेखिको बल लगाइरहेका छन् । ती कुकर्मलाई पनि प्रजातान्त्रिक समाजवादको खास्टोले छोप्ने प्रयत्नले उदार प्रजातन्त्रको खिल्ली उडाएको छ (नेपाली कांग्रेसको संकल्प, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन–२०७९) ।

उदार पुँजीवादले समेत शिक्षा र स्वास्थ्यजस्ता संवेदनशील विषयहरू राज्यको दायित्वभित्र पारिनुपर्छ भनी जिम्मेवारी वहन गरिरहेको अवस्थामा एउटा मूलधारको कम्युनिस्ट पार्टीका विज्ञ केन्द्रीय सदस्य तथा पूर्वअर्थमन्त्रीले ‘शिक्षा र स्वास्थ्यमा निजी क्षेत्रको लगानीलाई अपराध ठान्ने मानसिकता त्यागौं’ भनेर सार्वजनिक स्वास्थ्यको व्यापारीकरणको निरन्तरताको आह्वान गर्नुलाई के ठान्ने (नेपाल वाच, २०७९ मंसिर १९) । दुईतिहाइ नजिकको कम्युनिस्ट सरकार जीवनयापनको साधनका रूपमा रहेको खेतीयोग्य जमिनको व्यापारीकरण गर्न भूमिसुधार तथा व्यवस्थापनको साटो भूमि बैंकको अवधारणा अगाडि सार्छ भने त्यसलाई कुन शब्दमा समाजवाद–उन्मुख भनेर व्याख्या गर्नु ? स्वाधीन अर्थतन्त्रको विकासमा राज्यको भूमिका बढाएर सार्वजनिक पुँजी निर्माणमा सर्वसाधारण जनताको सहभागिता बढाउनुको सट्टा क्रोनिजहरूको व्यवस्थापन गर्न सार्वजनिक सम्पत्तिको निजीकरण र अन्धाधुन्ध ऋण लिएर खर्च गर्नेहरूबाट सामाजिक न्यायको के कल्पना गर्नु (नेकपा एमाले घोषणापत्र, २०७९) ? एउटा कम्युनिस्ट पार्टी, जो जनताको जीवनस्तर सुधार्न एउटा जण्ड सुधारको कार्यक्रमको सर्तसम्म नराखी घोर दक्षिणपन्थी हुन लालायित छ, सत्तामा सामेल भएर बिनाएजेन्डा मोजमस्ती गर्न मात्र चाहन्छ भने कुन हिसाबले त्यसले आफूलाई माओवादी कहलाइरहन सक्छ ?

विचार वा राजनीतिक सिद्धान्त भनेको बकवास होइन; आचरण, व्यवहार, नैतिकता, विधि विधान र समाज र दुनियाँप्रतिको दृष्टिकोणको मूल स्रोत पनि हो- सिद्धान्त । जब सिद्धान्त हुन्न, कार्यक्रम र लक्ष्य पनि बरालिन्छन् । त्यसपछि फगत अवसरवादी–अनैतिक राजनीति बाँकी रहन्छ । सिद्धान्त हुँदा मात्र त्यसको जगमा अनुशासित पार्टी, कार्यक्रम र कार्यान्वयनका लागि संस्थाहरू निर्माण हुन्छन् । गएको निर्वाचनले ठूला दलहरूका सिद्धान्तहीन खोल केही हदसम्म फ्यालिदिएको छ । अब पनि नकाब नउतार्ने हो भने थेग्न नसकिने आन्दोलनको ज्वारभाटा बेहोर्नुपर्ने निश्चित छ ।

प्रकाशित : मंसिर २८, २०७९ ०७:२९
प्रतिक्रिया
पठाउनुहोस्

मुद्रा तथा बैंकिङ व्यवस्थापनमा राष्ट्रिय चिन्तन

अमेरिका र संयुक्त अधिराज्यजस्ता विकसित मुलुकहरूसमेत आगामी दुई वर्ष लामो आर्थिक मन्दीमा जाने र विश्व अर्थव्यवस्था ‘स्ट्यागफ्लासन’ को चपेटामा पर्ने बताइँदै गरेको अवस्थामा हाम्रा पार्टीहरूले आन्तरिक र बाह्य वित्तीय र मौद्रिक प्रभावसँग जुझ्न कस्तो रणनीति अख्तियार गरेका छन् ?
हरि रोका

सिंगो नेपाललाई महँगीले ढाकेको छ । खाद्यान्न, लत्ता–कपडा र अति आवश्यकीय वस्तुहरू छोइनसक्नु भएका छन् । जीविकाका साधन र वर्तमानमा अपरिहार्य ठानिएको शिक्षा, स्वास्थ्य, आवास, यातायात र सञ्चारसामग्री सबैको मूल्य अकासिएको छ । जनजीविका कष्टकर बन्दै छ ।

किसानका के कुरा, गैरकृषि क्षेत्रका उद्यमी, व्यापारी र व्यवसायीले समेत आफूलाई असुरक्षित महसुस गरिरहेका छन् । जस्तो, केही दिनअघि उद्योग वाणिज्य संघको आधिकारिक ब्यानरमा उद्यमीहरू राजधानी लगायतका मुख्य सहरहरूका सडकमा ओर्लिए । उनीहरूको विरोध वाणिज्य बैंकहरूले बढाएको चर्को ब्याजदरविरुद्ध थियो ।

उद्यमीहरूको आक्रोशबारे बैंकहरूको आधिकारिक प्रतिक्रिया नयाँ थिएन । अमेरिकी डलरको मूल्यमा १० प्रतिशतको वृद्धि, बजारमा तरलताको अभाव र बैंकहरूमा निक्षेप संकलन घटिरहेको आदि कारणले ब्याजदर बढाउनुपरेको भनेर वृद्धिको औचित्य पुष्टि गर्न खोजेका छन् । थप पुष्टिमा बैंकहरू भन्छन्- गत वर्ष ६.६ प्रतिशत रहेको कर्जा ब्याजको आधारदर अहिले ९.७ पुगेको छ, ४६ प्रतिशत मुद्दतीको भार लगभग १२ प्रतिशतले बढेर औसत ६० प्रतिशत पुगेको छ (इमेजखबर, २०७९ असोज ११) । सरसर्ती हेर्दा बैंकहरूले यसरी ब्याजदर बढाउँदा सबैभन्दा बढी मार भने साना घरेलु तथा मध्यमस्तरीय उद्यम र तिनले प्रत्यक्ष वा अप्रत्यक्ष रोजगारी दिइरहेका २७ लाख ४० हजार व्यक्तिलाई परेको छ । किनकि बैंक तथा वित्तीय संस्थाहरूबाट साना उद्यमले १० लाख रुपैयाँभन्दा बढी र मझौला उद्यमले ५० लाख रुपैयाँभन्दा बढी ऋण लिएर कारोबार सञ्चालन गरिरहेका छन् (हाई इन्ट्रेस्ट रेट्स मेक लाइफ हार्ड फर बिजिनेस, काठमाडौं पोस्ट, १ नोभेम्बर २०२२) । हुन त ब्याजको प्रिमियम बढ्नु नेपालमा नयाँ घटना होइन तर सरकार र राष्ट्र बैंक भने यसलाई विशुद्ध अन्तर्राष्ट्रिय प्रवृत्ति, घरेलु उत्पादन पद्धतिको विसंगति ठान्छन् र परिस्थितिलाई दोष दिएर पन्छिन्छन् ।

मुद्रास्फीतिको अन्तर्राष्ट्रिय आयाम

साधारण अर्थमा मुद्रास्फीति भनेको वस्तु र सेवाको मूल्य बढ्नु हो, अर्थतन्त्रका सबै अवयव महँगो हुनु हो । महँगी त्यति बेला निम्तिन्छ जब उत्पादित वस्तु र सेवाको बजारमा आपूर्ति माग बमोजिम हुँदैन । त्यस्तो समयमा अत्यावश्यकीय वस्तु तथा सेवा प्राप्तिका लागि उपभोक्ताहरूकै बीचमा प्रतिस्पर्धा हुन्छ । यही मौका पारेर व्यापारीहरूले वस्तुको बढी दाम ठटाउँछन् । यस्तो नहोस् भनेर जिम्मेवार सरकारहरूले अत्यावश्यकीय वस्तु र सेवाको उत्पादन तथा वितरण राज्यको जिम्मामा लिन्छन् या त आफ्नो कडा निगरानीमा आपूर्ति सञ्जाललाई व्यवस्थित तुल्याउँछन् (इसाबेला एम. वेबर, हाउ चाइना स्केप्ड सक थेरापी ः द मार्केट रिफर्म डिबेट, सन् २०२१, रुतलेज) ।

कोरोना महामारी फैलिएपछि सरकारहरूले समाजलाई नै लकडाउन गरे । यसले गर्दा विश्वव्यापी रूपमा आपूर्ति सञ्जालहरू अवरुद्ध भए । बितेका दुई वर्ष ठूलो कठिनाइ आइलाग्यो । जब महामारी घट्न थाल्यो, तब अत्यावश्यकीय वस्तुहरूको माग ह्वात्तै बढ्यो । तर गत फेब्रुअरीदेखि युक्रेनमा रुसको सैनिक हस्तक्षेपपछि पश्चिमा मुलुकहरूले रुसमाथि आर्थिक प्रतिबन्ध घोषणा गरिदिए । यसले संसारभर ग्यास, पेट्रोलियम प्रोडक्ट, कोइला, रासायनिक मल, हीरा–जवाहरात र खाद्यान्न आपूर्ति असहज बन्यो । यही मौका पारेर पेट्रोलियम तथा खाद्यान्न आपूर्ति गर्ने पश्चिमा बहुराष्ट्रिय कम्पनीहरूले भाउ बढाए । अहिले संसारभर व्याप्त मुद्रास्फीति त्यसैको कमाल हो भन्छन् विज्ञहरू । मुद्रास्फीति बढ्नुका कारणहरू केलाउँदा बहुराष्ट्रिय कम्पनीहरूको योगदानको हिस्सा (२०२० को अप्रिलदेखि २०२१ को डिसेम्बरसम्म) ५३.९ प्रतिशत पुगेको बताइएको छ भने, ‘नन–लेबर इन्पुट कस्ट’ ३८.३ र ‘युनिट लेबर कस्ट’ केवल ७.९ प्रतिशत रहेको जनाइएको छ । इकोनोमिक पोलिसी इन्स्टिच्युटका अर्थशास्त्री जोस विभेनको खोज तथा अनुसन्धानमा आधारित यो तथ्यांक अनुसार उक्त हिस्सा सन् १९७९ देखि २०१९ सम्म क्रमशः ११.४, २६.८ तथा ६१.८ प्रतिशत थियो (द नेसनल इन्कम एन्ड प्रोडक्ट अकाउन्ट अफ द ब्युरो अफ इकोनोमिक एनालाइसिस- बीईए) । यो

तथ्यलाई रुजवेल्ट इन्स्टिच्युटले पनि पुष्टि गरेको छ । बितेका तीन वर्षमा ठूला बहुराष्ट्रिय निगमहरूको प्रभाव अत्यधिक बढ्यो । किनकि शक्तिशाली र धनीहरूले तय गरेको आपूर्ति सञ्जाल चिर्न स्थानीय साना र मध्यमस्तरीय उद्यमी तथा व्यापारीहरूको हैसियत पुगेन । नेपालमै पनि लकडाउनको समयमा भक्तपुरको साग किन–कसरी काठमाडौं आइपुगेन तर लखनउको आपूर्ति सहज भयो भन्नेजस्ता आपूर्ति सम्बन्धी कथाव्यथाहरू हामी कसैबाट पनि छिपेका छैनन् ।

विश्वव्यापी बनेको मुद्रास्फीति, त्यसले उकासेको मन्दीले संसारभर कस्तो असर पारिरहेको छ र पार्नेछ भन्नेबारे केही दिनअघि अर्थशास्त्री नौरियल रोउबिनीले नयाँ भविष्यवाणी गरेका छन् । उनी लेख्छन्, ‘धेरैवटा संकट गुजुल्टिएर बनेको डरलाग्दो संकट (मेगाथ्रेट्स) निकट भविष्यमै देखा पर्दै छ । रोजगारी, आयआर्जन, सम्पत्ति र विश्वअर्थतन्त्रमाथि मात्र होइन, ७५ वर्षदेखि आर्जन गरिएको सापेक्षित रूपमा शान्ति, समृद्धि र प्रगति पनि खतरामा परेका छन् (द एज अफ मेगाथ्रेट्स, प्रोजेक्ट सिन्डिकेट, ४ नोभेम्बर २०२२) । माथि उल्लिखित कारणहरूले बढिरहेको मुद्रास्फीति नियन्त्रण गर्न बितेको वर्षदेखि अमेरिकी केन्द्रीय बैंक तथा बेलायतले ब्याजदर बढाइरहेका छन् । यसरी ब्याजदर बढाउँदा अमेरिकी तथा युरोपेली लगानीकर्ता मात्र होइन, विकासशील मुलुकहरूका धनाढ्य पुँजीपतिहरूले समेत ब्याजदरको लोभले अमेरिका तथा युरोपमै लगानी फिर्ता लैजान थालेका छन् । यसले गर्दा सन् २०२२ को सुरुआतदेखि ३० सेप्टेम्बर २०२२ सम्मको अवधिमा अमेरिकी डलरका तुलनामा दक्षिण कोरियाली वन १८ प्रतिशतले, इजिप्सियन पाउन्ड २० प्रतिशतले, थाई भाट १५ प्रतिशतले र भारु ८ प्रतिशतले, चिनिया रेमेम्बी १३ प्रतिशतले अवमूल्यन हुन पुगे । चीनबाहेक प्रायः मुलुकमा लगभग त्यही अनुपातमा मुद्रास्फीतिको चाप एक वर्षयता ह्वात्तै बढिरहेको छ (क्युन ली, हाउ टु सेभ इमर्जिङ इकोनोमी फ्रम अनादर क्राइसिस, प्रोजेक्ट सिन्डिकेट, १९ अक्टोबर २०२२) ।

पिपल्स बैंक अफ चाइनाले कोभिड–१९ फैलनासाथ नयाँ संरचनागत मौद्रिक नीति र नयाँ विधि प्रयोगमा ल्यायो । उसले २.३ खर्ब युयान (३४५ अर्ब अमेरिकी डलर) सन् २०२० को सुरुआतमै बैंकिङ बजारमा प्रक्षेपण गर्‍यो । संरचनागत विधि र प्रक्रियामार्फत बैंकहरूबीच एकअर्कालाई आवश्यक पर्दा ऋण उपलब्ध गराउने व्यवस्था गरियो ताकि उपभोक्ताहरूलाई उद्योगमा लगानीका लागि ऋण आवश्यक पर्दा तत्काल प्रवाह गर्न सकियोस् । खास गरी साना र मझौला उद्यमहरूलाई लक्ष्य गरेरै यो कार्यक्रम ल्याइएको थियो । नयाँ प्रविधिको विकासमा र अत्यावश्यक वस्तु आपूर्ति संकटलाई ध्यानमा राखेर गरिने उत्पादनमा लगानी गर्न विशेष जोड दिइयो । चिनियाँ बैंकका गभर्नर यी ग्याङका अनुसार, यो मौद्रिक नीति वित्तीय तथा औद्योगिक नीतिसँग तादात्म्य मिलाएरै अगाडि बढाइएको थियो ताकि बजारमा आत्मविश्वास भइरहोस् र उत्पादन तथा आपूर्ति व्यवस्थाको धागो मजबुतीका साथ अगाडि बढिरहोस् (ब्लुमबर्ग, चाइनाज सेन्ट्रल बैंक हाइलाइट्स स्ट्रक्चरल टुल्स टु एड इकोनोमी, ६ मे २०२२) । आन्तरिक र बाह्य संकट जटिल बन्दै गर्दार् सरकारले खास–खास क्षेत्रमा केन्द्रीय बैंकको सहयोगमा लगानी गर्नुपर्छ भन्ने जोन मिन्यार्ड किन्सको सैद्धान्तिक मान्यतामा आधारित अभ्यास थियो त्यो ।

सन् १९९० को दशकको ‘वासिङ्टन कन्सेन्सस’ भन्दा अघि वित्तीय क्षेत्रको विकास र स्थायित्व केन्द्रीय बैंकको अभिन्न दायित्वभित्र पर्ने गरेको थियो, खास गरी रूपान्तरणतर्फ उन्मुख विकास अर्थतन्त्रमा । त्यसै पनि मौद्रिक नीति ल्याइनुको मूल उद्देश्य अन्तर्राष्ट्रिय भुक्तानी सन्तुलन तथा पुँजीगत प्रवाहलाई प्रभावित गर्नु हो । यद्यपि केन्द्रीय बैंकसँग खास क्षेत्रमा म्याक्रो प्रुडेन्सिएल र वित्तीय नियन्त्रण गर्ने अधिकार हुन्छ । त्यसै अनुसार आफ्ना

केन्द्रीय बैंकहरूलाई सरकारहरूले मूल्य स्थिरता, आर्थिक वृद्धिलाई बल पुर्‍याउने विषय, रोजगारी अभिवृद्धि गर्ने कुरा र भुक्तानी सन्तुलनको समस्या हल गर्ने अधिकार दिने गर्छन् । अनि केन्द्रीय बैंकले पनि सरकारको वित्तीय लक्ष्य हासिल गर्न विभिन्न सरकारी निकायहरूसँग सहकार्य गर्छन् (अनिश चौधरी र जोमो क्वामे सुन्दरम्, डेभलपिङ कन्ट्रिज निड मोनेटरी फाइनान्सिङ, इन्टर प्रेस सर्भिस, २ नोभेम्बर २०२२) । तर राज्य पुँजीवाद अख्तियार गरेका मुलुकहरूबाहेक पुँजीवादी राष्ट्रहरूका केन्द्रीय बैंकहरूले यी नीतिहरूबाट आफूलाई अलग्याए र स्वेच्छाचारी बने ।

सन् २००८–९ को मन्दीपछि अमेरिका लगायतका केन्द्रीय बैंकहरूले जसरी आफूलाई अगाडि बढाइरहेका छन् (जस्तो- क्वान्टिटेटिभ एजिङ, ब्याजदर वृद्धि, अनुत्पादक क्षेत्रमा स्वच्छन्द लगानी आदि), त्यसले संसारको अर्थतन्त्रलाइ बचाउँदैन बरु संकटमै धकेल्नेछ । मुद्रास्फीति घटाउन वा यसको असरलाई कमजोर तुल्याउन ब्याजदर बढाउनुको साटो रोजगारीमूलक उत्पादनमा लगानी बढाउनु, ज्याला वृद्धि गर्नु, सामाजिक खर्चहरू बढाउनु र धनाढ्यहरूको सम्पत्तिमाथि कर लगाउनु श्रेयस्कर हुने ठानिन्छ (आदम टुज, द अल टु रियल रिस्क अफ अ ग्लोबल रेसेसन, न्युयोर्क टाइम्स, ४ अक्टोबर २०२२) ।

पार्टीहरूका घोषणापत्रमा बैंकिङ तथा मौद्रिक नीतिको पुनःसंरचना

नेपालमा बैंक तथा वित्तीय संस्थाहरूका आर्थिक तथा सांगठनिक संरचना कस्ता छन् ? कति नैतिक धरातलमा उभिएका छन् ? बैंकमा कस्ता समूह र वर्गको वर्चस्व छ ? उत्पादनमूलकभन्दा अनुत्पादक क्षेत्रमा बैंकिङ लगानीहरूले किन प्रश्रय पाउने गरेका छन् ? लगभग ४ सय परिवारमा कुल ऋण प्रवाहको करिब ८० प्रतिशत हिस्सा किन केन्द्रित हुने गरेको छ ? करिब ६० लाख घरपरिवार सस्तो ब्याजदरको ऋण पाउनबाट किन वञ्चित हुने गरेका छन् ? यस्ता प्रश्नमाथि सार्वजनिक बहस नगण्य रूपमा हुन्छ । पहिलो संविधानसभा (सन् २००८–१२) मा बाफियालाई लिएर राष्ट्र बैंकको संरचना, काम, कर्तव्य र अधिकारमाथि एक चरण लामै बहस चलेको थियो । बाफियामा राष्ट्रिय वाणिज्य बैंकहरूको संरचनागत स्वामित्व, निक्षेपको जगेर्ना र ऋण–प्रवाह नीतिमाथि छलफल गरेर सहमतिको दस्तावेजका रूपमा फुल–हाउसमा प्रस्तुत गरिए पनि तत्कालीन सरकार र बैंकर्सहरूको मिलोमतोमा त्यो विधेयक तुहाइयो । पछि दोस्रो संविधानसभामा निजी क्षेत्रका बैंकर्सहरूले चाहे बमोजिम बाफिया कानुन बन्यो र मुलुकको आवश्यकता अनुसार बैंक तथा वित्तीय संस्थाहरूको जसरीे लोकतन्त्रीकरण हुन आवश्यक थियो, त्यो कडी टुट्यो । कानुनमा सुधार नहुँदा गणतन्त्रात्मक व्यवस्थामा पनि वाणिज्य बैंकहरूको अनैतिक स्वामित्व (एउटै परिवारले बैंक, उद्योग र इन्सुरेन्सको स्वामित्व आफैं ग्रहण गर्ने परिपाटीलाई ‘अनैतिक’ भन्न खोजिएको हो) मा जकडियो । वास्तवमा त्यो कानुन पास भएपछि जोन मिन्यार्ड किन्सले सन् १९३० मा ‘ट्रिटिज अन मनी’ मा विस्तारपूर्वक वर्णन गरेको वित्तीय प्रवाह (फाइनान्सियल सर्कुलेसन) तथा औद्योगिक प्रवाह (इन्डस्ट्रियल सर्कुलेसन) बीच भिन्नता छुट्याएर अलग्गै कर्जा प्रवाह गर्ने प्रबन्ध मिलाउने काम पनि थाती नै रह्यो ।

नेपालमा किन रोजगारीमूलक औद्योगिकीकरण सम्भव भएन ? किन आर्थिक वृद्धिदरले डबल डिजिटको बाइपंखी घोडा चढ्न सकेन ? मुलुक किन जम्माजम्मी ४.४ प्रतिशतको औसत वृद्धिमा टाक्सियो ? सरकार र केन्द्रीय बैंकको लगानी नीति र बैंक तथा वित्तीय संस्थारूपी संस्थागत औजारहरू कसरी चलिरहेका छन् ? यी प्रश्न मुलुकको दीर्घकालीन रणनीतिसँग जोडिन्छन् । हामी सबैलाई थाहा छ, निजी क्षेत्रका बैंकहरू नाफा आर्जन गर्नकै लागि खोलिन्छन् । नाफा आर्जन गर्नुपर्छ तर नाफाको नैतिक धरातल कसले तय गर्ने ? कुरा वाणिज्य बैंकहरूको मात्र होइन, केन्द्रीय बैंक र उसले तय गर्ने मौद्रिक नीति, सरकारसँगको सहकार्य, वाणिज्य बैंकहरूमाथि उसको निगरानी र नियमनकारी भूमिकामाथि विगतदेखि वर्तमानसम्म बग्रेल्ती प्रश्नहरू उठ्ने गरेका छन् र भोलि पनि उठ्नेछन् ।

द लिभरमा आबद्ध पत्रकार म्याथ्यु कनिङ्घम–कुक तथा एन्ड्र्यु पेरेजले अमेरिकामा मध्यावधि निर्वाचनलाई केन्द्रित गरेर ‘केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदर बढाउने, आम मानिसले जागिर गुमाउने र सत्तारूढ डेमोक्र्याट्सले चुनाव हार्ने’ शीर्षकमा लेख लेखेझैं, नेपालमा बैंक तथा वित्तीय संस्थाले ब्याजको प्रिमियम जथाभावी बढाउँदैमा एवं राष्ट्र बैंकले ब्याजदर, मुद्रास्फीति, लगानी नियमन नगर्दैमा नेपालका सत्तापक्ष र प्रमुख प्रतिपक्षलाई असर गर्दैन भन्ठानेको देखिएको छ । समष्टिगत अर्थतन्त्रमा वित्तीय–मौद्रिक नीति तय गर्दा राष्ट्र बैंकले विगतको भन्दा कसरी भिन्न भूमिका निर्वाह गर्नुपर्छ भन्ने नै उनीहरूले ठानेनन् । किनकि ती दलमा आबद्ध अर्थशास्त्री तथा बैंकर्सहरू केन्द्रीय बैंकलाई स्वतन्त्र निकायका रूपमा छाडा छाड्नुपर्ने मान्यता राख्छन् । हुन त समष्टिगत नीति बनाई त्यसलाई संस्थागत रूपमा लागू गर्नु अर्थ मन्त्रालय र केन्द्रीय बैंकको मूल जिम्मेवारी रहेको विश्वव्यापी मान्यता छ । बैंक र सरकारबीच समन्वय गरिएन भने वित्तीय अस्थिरता हुन्छ, बजार उद्यमीले भरिन्छ र लगानीकर्ताको आत्मविश्वास टुट्छ । वित्तीय नीतिले सरकारी कर र खर्चको व्यवस्थापन गर्छ, त्यसको मूल उद्देश्य दीर्घकालीन आर्थिक वृद्धि र वितरणलाई ध्यानमा राखिन्छ । केन्द्रीय बैंकले मौद्रिक नीति तय गर्दा छोटो अवधिको ब्याजदर र ऋण परिचालनमा सम्भव हुने वृद्धिलाई मापन गर्छ ताकि अत्यावश्यक वस्तु तथा सेवाको मूल्य स्थिरता कायम रहोस् र विनिमय दरको स्थायित्वको जिम्मेवारी वहन हुन सकोस् । जब सरकार र केन्द्रीय बैंकले एकअर्कालाई उपेक्षा गर्छन्, तब आइपर्ने वित्तीय तथा मौद्रिक संकट झेल्न सम्भव हुन्न ।

माथि गरिएको सैद्धान्तिक तथा वैचारिक विश्लेषणका आधारमा के भन्न सकिन्छ भने, नेपाल राष्ट्र बैंक र नेपालका वाणिज्य बैंकहरू सैद्धान्तिक, संरचनागत तथा नैतिक क्रियाकलापका हिसाबले अत्यन्त कमजोर धरातलमा उभिएका छन् । ठीक ठाउमा ऋण तथा कर्जा प्रवाह गर्ने विषयमा होस् या बेला–कुबेला प्रिमियम बढाउन, निक्षेप जम्मा गर्न वा सम्पत्ति अधिग्रहण (लिलाममार्फत कर्जा असुली) गर्नमा, तिनीहरू खोटमुक्त देखिन्नन् ।

आम निर्वाचनमा होमिएका मूल राजनीतिक पार्टीहरू के भन्छन् ? बढ्दो महँगी, हुर्कंदो बेरोजगारी, सुक्दो खेती, उर्लंदो वैदेशिक रोजगारी हल गर्न राज्यलाई कसिलो र भरपर्दो टेवा दिने राष्ट्र बैंक र वाणिज्य बैंकहरूको संस्थागत विकास, सुधार र समन्वय कसरी गर्ने भन्नेबारे तिनीहरूले घोषणापत्रमा कस्तो एजेन्डा उल्लेख गरेका छन् ? जीडीपी सय खर्बको पुर्‍याउने, वैदेशिक लगानी बढाउने र सहुलियत दरको ऋणमार्फत विकास गर्ने गफ दिइरहेका पार्टीहरू बैंक तथा वित्तीय संस्थाहरूको संरचनागत परिवर्तन गरी यिनलाई आम मानिसको पहुँचमा पुर्‍याएर यिनको प्रजातन्त्रीकरण गर्नुपर्छ भन्ने ठान्छन् कि ठान्दैनन् ? तिलस्मी विकासको सपना बाँडेका पार्टीहरूले हाल आर्थिक विचलन र अस्थिरताको साधन बनेका वित्तीय संस्था र ऋण तथा बचत सहकारीका सम्बन्धमा कस्तो नीति लिएका छन् र सार्वजनिक सम्पत्तिको रक्षार्थ कस्तो उपाय सुझाएका छन् ? मुद्रास्फीतिसित लड्न ज्याला तथा मूल्य नियन्त्रण सम्बन्धी नीति के छ ? विश्व डेढ वर्षदेखि मुद्रास्फीतिबाट ग्रस्त छ, अमेरिका र संयुक्त अधिराज्यजस्ता विकसित मुलुकहरूसमेत आगामी दुई वर्ष लामो आर्थिक मन्दीमा जाने र विश्व अर्थव्यवस्था ‘स्ट्यागफ्लासन’ को चपेटामा पर्ने बताइँदै गरेको अवस्थामा हाम्रा पार्टीहरूले आन्तरिक र बाह्य वित्तीय र मौद्रिक प्रभावसँग जुझ्न कस्तो रणनीति अख्तियार गरेका छन् ? सबै पार्टीका घोषणापत्रहरू पढ्नुभयो भने निराशा हात लाग्नेछ । सायद मुख्य पार्टीहरूमा आबद्ध विद्वान् अर्थशास्त्री तथा नीतिनिर्मातालाई समग्र समाजका लागि टाउकोदुखाइ बनेको वित्तीय तथा मौद्रिक क्षेत्रको संस्थागत रूपमा संरचनागत सुधार रुचिकर विषय थिएन । काकताली हो कि संयोग, सबै मुख्य पार्टीका चुनावी घोषणापत्रहरू सैद्धान्तिक र कार्यक्रमिक रूपमा समान छन् । अर्थात्, समान रूपमा हावादारी !

प्रकाशित : कार्तिक २७, २०७९ ०८:०१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×