मतदाताको मौन विद्रोह

मधु राई

यसपल्ट आम निर्वाचनमा प्रदेश १ मा ६० प्रतिशत मत खस्यो भने मोरङमा मात्र ६६ प्रतिशत । निर्वाचन आयोगका अनुसार, ७ लाख ३५ हजार ५२५ जना मतदाता रहेको मोरङमा २ लाख ४८ हजार ४७८ जनाले मतदान गरेनन् ।

मतदाताको मौन विद्रोह

यसबाट आम मतदातामा ‘आ, जसले जिते पनि खै के पो हुन्छ र’ भन्ने मनोभावको विकास हुँदै गएको देखिन्छ । मोरङमा जस्तै अन्य जिल्लामा पनि लाखौं मतदाताले मतदान बहिष्कार गरेर यसपालि मौन विद्रोह गरेको पाइयो ।

अनेकौं द्विविधाबीच केही मतदाताले पुराना दलका खराबमध्येका कम खराबलाई मत दिए भने कतिपयले स्वतन्त्रलाई दिए । साबिकका ‘जता मल्खु उतै ढल्कु’ प्रवृत्तिका हुँदा खाने मतदाताहरूले आफ्नो अमूल्य मत क्षणिक लाभसँग साटे । कतिपयले राम्रालाई हैन हाम्रालाई मत दिए । स्थापित दलहरूले एक्लाएक्लै चुनावमा होमिने आँट नगरेकाले पनि बहुसंख्यक मतदाताहरू त्यति उत्साहित देखिएनन् । यसबीच दलीय राजनीतिबाट आजित बनेका मतदाताहरूलाई स्वतन्त्र उम्मेदवारहरूले आकर्षित मात्र गरेनन्, कतिपय ठाउँमा उनीहरू विजयीसमेत बने । यस अर्थमा कतिपय पुराना दलमा आस्था राख्ने मतदाताहरूले समेत युवा र स्वतन्त्रलाई रोजे । यस्तै, स्थानीय तह निर्वाचनमा काठमाडौं प्रमुखमा बालेन्द्र शाह, धरान प्रमुखमा हर्कराज साम्पाङ र धनगढी प्रमुखमा गोपाल हमाललाई सचेत मतदाताहरूले अमूल्य मत दिएर विजयी बनाएकाले पनि हालैको चुनावमा स्वतन्त्र उम्मेदवारहरूले बलियो उपस्थिति देखाएका छन् ।

धरानका मेयर हर्कराज साम्पाङले जनमुखी शासनको अनुभूति दिलाउने प्रयास मात्र गरेका छैनन्, श्रम संस्कृतिको थालनी गरेर आफ्ना मतदाताहरूलाई विकासका सारथिसमेत बनाएका छन् । पटकपटक सत्ताको बागडोर सम्हाल्ने अवसर पाएका प्रमुख दलहरूका उम्मेदवारहरूले चुनावी घोषणापत्रमा गरेका प्रतिबद्धताहरू बिर्सने गरेकाले यसपालि विशेष गरी युवा र सचेत मतदाताहरू नयाँ दलतर्फ आकर्षित भए । चुनावअघि दलका उम्मेदवारहरूले मतदाताहरूलाई ‘जनता जनार्दन’ भने पनि चुनाव जितेपछि जनताका पीरमार्का बुझ्नेभन्दा सत्ताकै जोडघटाउमा समय र ऊर्जा खर्चने गरेकाले पनि तीमध्ये धेरैजसोले अप्रत्याशित रूपमा हार बेहोरे ।

पछिल्लो समय दलहरूभित्र मौलाउँदै गएको अन्तर्घात लगायतका कारण बहुसंख्यक मतदातामा राजनीतिप्रति नै नैराश्य छाउँदै गएको छ । हुन पनि आस्था एकातिर मतदान अर्कातिर गर्न बाध्य पार्ने दलहरूले मतदाताहरूलाई नै दिग्भ्रमित बनाउँदै लगेका छन् । मतदाताहरूको अमूल्य मत नेता र नेतृत्वलाई भर्‍याङ चढाउने साधन मात्र बन्दै आएको छ । मतदाताहरूको अमूल्य मत ‘खोला तर्‍यो लौरो बिर्स्यो’ सरह भएको छ । यसरी पटकपटक अमूल्य मतलाई विजयी उम्मेदवारहरूले लौरोसरह व्यवहार गर्न थालेपछि पनि मतदाताहरू दलप्रति आजित भएका हुन् ।

सिद्धान्तबिनाको राजनीति गर्ने अधिकांश राजनीतिकर्मीको सत्तामोहकै कारण मतदाताको जनजीविका लगायत यावत् समस्या पीँधमा परिरहेकै छन् । राजनीतिभित्र मौलाउँदै गएको परिवारवाद र नातावादले पनि कतिपयको राजनीतिक यात्रामै विराम लागेको इतिहासलाई वर्तमानका राजनीतिकर्मीहरूले बिर्संदै गएका छन् । इतिहासबाट पाठ सिकेर सच्चिनेभन्दा पनि सोही गल्ती बारम्बार दोहोर्‍याउने दलहरू र तिनका कतिपय हेभिवेट भनिएका राजनीतिकर्मीहरूप्रति यसपालि सचेत मतदाताहरूले असन्तुष्टि व्यक्त गरे ।

अर्कातिर, कतिपय ठाउँमा बदर मतले गर्दा पनि सदर मतको संख्या घट्यो । उदाहरणका लागि, अन्य जिल्लामा बदर मत ५ प्रतिशत रहेको निर्वाचन आयोगले जनाएको छ । मोरङमा भने बदर मत ५.९५ प्रतिशत रह्यो । मोरङजस्तो सुगम जिल्लामा बदर मतको संख्या बढी हुनुका थुप्रै कारणमध्ये एउटा हो— मतपत्र चारवटा हुनु । शिक्षित मतदाताहरूले चारवटा मतपत्रमार्फत मतदान गरे पनि कतिपय निरक्षर तथा साक्षर मतदाताहरूले एउटै मतपत्रमा चारवटा चिह्नमा स्वस्तिक छाप लगाए । कतिपय मतदाताले चारचारवटा मतपत्रमा स्वस्तिक छाप लगाउन झर्को मानेको पनि पाइयो ।

त्यसो त चुनावअघि उम्मेदवारहरूले आफ्नो पक्षमा माहोल बनाउन प्रचारप्रसार त गरे, अधिकांश उम्मेदवार र दलहरूले मतदानबारे अभिमुखीकरण कार्यक्रम विरलै गरे । सरकारले दिने मतदाता शिक्षा पनि हरेक पटकजस्तै अपुग रह्यो । निरक्षर मतदाताहरू यसपालि पनि केमा भन्दा कसरी मतदान गर्ने भन्नेमै अलमलिए । अधिकांश मतदाताले प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारहरूलाई स्थानीय तहकालाई जस्तो प्रत्यक्ष–अप्रत्यक्ष रूपमा चिनेका हुँदैनन् । यस्ता कारणले गर्दा पनि शिक्षित र सचेत मतदाताहरूसमेत मत किन र कसलाई दिने भन्नेबारे अलमलिए ।

यस्तै, पछिल्लो समय शिक्षित र सचेत मतदाताहरूले बौद्धिक र ऊर्जावान् युवा उम्मेदवार रोज्न थालेपछि दलका उम्मेदवारहरू बहिष्करणमा पर्दै गएका छन् । यसो हुनुको एउटा कारण ठूला दलहरूका शीर्षस्थ नेताहरूको बेलगाम बोलीसमेत हो । ठूला दलहरूका नेताहरूले मतदाताहरूको जनजीविकाबारे चिन्ता गर्नुभन्दा विपक्षीको उछितो काढ्नमै आफ्नो ऊर्जा र समय खर्चिए । शब्दकोशमै नभेटिनेजस्ता निकृष्ट शब्दहरूको प्रयोगमार्फत आफ्नो बौद्धिक दरिद्रता प्रदर्शन गर्न मानौं तँछाड–मछाड गरे । नेताहरूका यस्तो अभद्र बोलीका कारण सचेत र शिक्षित मतदाताहरू परै बसे । बेलगाम बोलीलाई थपडी बजाएर हौस्याउने कार्यकर्ताहरूका कारण यस्ता नेताहरूको मनोबल बढ्दै गएको छ । राष्ट्रहित र मतदाताको जनजीविकाका कुराभन्दा पनि विपक्षीहरूको खैरो खन्ने प्रवृत्ति नेता–कार्यकर्ताहरूमा झाँगिन थालेपछि राजनीतिकर्मीहरूको ओरालो यात्रा सुरु हुन्छ नै । यसप्रति दलपतिहरू र तिनका कार्यकर्ताले सोचेको देखिँदैन ।

ठूला दलहरूका नेताका बेलगाम बोली र व्यवहारकै कारण सचेत र शिक्षित मतदाताहरू टाढिँदै गएको वास्तविकताबारे दलपतिहरू र कार्यकर्तागण चनाखो हुन जरुरी छ । चुनावैपिच्छे घोषणापत्रमार्फत गरिने प्रतिबद्धताहरू पूरा गर्न–गराउन कार्यकर्ताहरूले आफ्ना जनप्रतिनिधिहरूलाई घचघच्याउनुपर्छ । दलहरूले आफ्ना जनप्रतिनिधिहरूलाई आफूले गरेका विकास–निर्माणबारे सार्वजनिक सुनुवाइजस्ता कार्यक्रम गरेर मतदाताहरूको मनोभाव बुझ्न लगाउनुपर्छ । जनप्रतिनिधिहरूले पनि विभिन्न क्षेत्रमा अनुभव हासिल गरेका मतदाताहरूलाई विकास–निर्माणका काममा सहजीकरण गर्न–गराउन सारथि बनाउनुपर्छ । आफ्नो समाजको विकास–निर्माणमा सारथि बन्न पाए मतदाताहरू दलहरूबाट यति साह्रो विरक्त नहोलान् ।

प्रकाशित : मंसिर २५, २०७९ ०८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?