मानव अधिकार आयोगको पुनरुत्थान- विचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मानव अधिकार आयोगको पुनरुत्थान

नेपालले वाचा गर्छ, वाचा दोहोर्‍याउँछ तर पूरा गर्दैन भन्ने छाप अन्तर्राष्ट्रिय जगत्मा पनि अमिट बन्दै गएको छ । गानरीले घटुवाका लागि सिफारिस गर्दा औंल्याएका कारणहरूको सम्बोधनबिना राष्ट्रिय मानव अधिकार आयोगको वैधता र विश्वसनीयता पुनःस्थापित हुँदैन ।
राजुप्रसाद चापागाईं

हामीले हालै मताधिकारको सामूहिक अभ्यास गर्‍यौं, जसका कारण संघीय र प्रादेशिक तहमा आगामी पाँच वर्षका लागि संसद् र सरकार बन्दै छन् । लोकतान्त्रिक यात्रामा यो अर्को फड्को सबै नेपालीका लागि खुसीको कुरा हो । 

‘मानिसले विद्रोहको सहारा नलिऊन् भन्ने हो भने उनीहरूका अधिकार कानुनी शासन अन्तर्गत संरक्षित हुनुपर्छ’ भन्ने इतिहासको पाठ बोध गर्दै सन् १९४८ मा जारी मानव अधिकारको विश्वव्यापी घोषणापत्रले १० डिसेम्बरमा ७५ वर्षमा प्रवेश गर्दैगर्दा यसपालिको नारा ‘सबैका लागि मर्यादा, स्वतन्त्रता र न्याय’ भने चुनौतीपूर्ण नै छ । जनसंख्याको ठूलो हिस्सा मानव अधिकारका बग्रेल्ती चुनौती भोग्न बाध्य छ । विगतदेखिका कति चुनौती झाँगिँदै गएका छन् ।

आम अपेक्षाचाहिँ नवनिर्वाचित संसद् र सरकार पूर्वाधारमुखी विकासको महत्त्वाकांक्षी सपनातिर अनावश्यक रूपमा नबरालिऊन् भन्ने छ । ती आम नेपालीका गम्भीर मानव अधिकार समस्या (जस्तै— बहुआयामिक भेदभाव, बहिष्करण, आर्थिक–सामाजिक अधिकारबाट वञ्चिति, सशस्त्र द्वन्द्वपीडितलाई सत्य, न्याय र परिपूरणबाट वञ्चिति) सम्बोधन गर्नपट्टि केन्द्रित होऊन् ! मानव अधिकारको रखवारी गर्ने संवैधानिक कार्यादेश पाएको राष्ट्रिय मानव अधिकार आयोगको शीघ्र पुनरुत्थान त्यतातर्फको प्रस्थानविन्दु बन्नुपर्छ ।


बढ्दो सान्दर्भिकता, गिर्दो साख

राष्ट्रिय मानव अधिकार आयोगको सान्दर्भिकता अखण्डित छ । संविधानसभाभित्र र बाहिर व्यापक छलफल भएरै आयोगको संवैधानिक हैसियत यथावत् राखिएको हो । गठनपश्चात्का वर्षहरूमा गतिलो कार्यसम्पादनका कारण आयोग आफ्नो औचित्य स्थापित गर्न सफल भएको थियो । सशस्त्र द्वन्द्वकालीन कठिन समयमा पनि स्वतन्त्र र प्रभावकारी उपस्थिति जनाएको थियो, जसका कारण आयोगको स्थायित्वका लागि व्यापक सहमति बन्न बल पुगेको हो । तदनुरूप यसले अन्तरिम संविधानमार्फत संवैधानिक हैसियत पाएको थियो । सशस्त्र द्वन्द्वका दुवै पक्षको विश्वास जितेका कारण नै विस्तृत शान्ति सम्झौता कार्यान्वयनको अनुगमन गर्ने जिम्मेवारी आयोगले पाएको थियो (सम्झौताको दफा ९.४) । त्यति बेला आयोगको वैधताको स्थिति दर्साउने यो महत्त्वपूर्ण सूचक हो ।

देश अहिले संघीय प्रणाली अन्तर्गत चलेको छ । मौलिक हकको संवैधानिक प्रत्याभूतिमा बढोत्तरी भएको छ । आर्थिक–सामाजिक अधिकारलाई महत्त्वपूर्ण स्थान दिइएको छ । हिंसात्मक द्वन्द्वको इतिहास नदोहोर्‍याई समाजवाद र सामाजिक न्यायका आधारमा दिगो शान्ति र समतामूलक समृद्धि हासिल गर्ने अभीष्ट संविधानमा अंकित छ । यसले अझै आयोगको औचित्य र आवश्यकता बढाएको छ । तीनै तहका सरकारलाई संवैधानिक वाचाप्रति जवाफदेह बनाउन सशक्त आयोगको विकेन्द्रित उपस्थिति सार्थक हुन्छ । यही अग्रपंक्तिमा रहेर जनताका हकअधिकारका कुरा उठाउने वैध संस्था हो ।

मानव अधिकारका सन्दर्भमा न्यायालयको भूमिका पनि अहं रहन्छ नै, तर न्यायालयका आफ्ना सीमा र बन्देज छन् । अदालत आयोगजस्तो गरी जनसाधारणको सहज पहुँचमा रहन्छ भन्ने छैन । हकअधिकारको संरक्षण र प्रवर्द्धनमा अग्रसक्रिय भूमिका खेल्न न्यायालयको अन्तर्निहित स्वभाव र प्रकृतिले पनि दिँदैन । आयोगले भने मानव अधिकार संरक्षणमा न्यायपालिकाको भूमिका बढाउनसमेत काम गर्न सक्छ । न्यायिक कामकारबाही मानव अधिकारमैत्री भए–नभएको विषयलाई अनुगमनको दायरामा ल्याउन सक्छ । आयोगको सिफारिसका आधारमा न्यायिक सुधार र न्यायमा पहुँच अभिवृद्धिका प्रयास अगाडि बढ्न सक्छन् । अन्य मुलुकका अनुभवहरूले पनि यही भन्छन् ।

सान्दर्भिकता बढेसँगै आयोग प्रभावकारी हुँदै गएको छ त ? विडम्बना, त्यसो हुन सकेको छैन । बरु उल्टो प्रगति भएको छ । आयोगको साख गिर्दो छ । राष्ट्रसंघले मान्यता दिएको ‘राष्ट्रिय मानव अधिकार संस्था सम्बन्धी सिद्धान्त’ (पेरिस सिद्धान्त, सन् १९९३) ले राष्ट्रिय मानव अधिकार संस्थाहरूको स्वतन्त्रता र विश्वसनीयताको मापदण्ड तोकेको छ । उक्त मापदण्डको पालना भए–नभएको मूल्यांकन गरेर मानव अधिकार संस्थाहरूको ग्रेडिङ गरिँदै आएको छ । सन् १९९३ मा राष्ट्रिय मानव अधिकार संस्थाहरूको सम्मेलनले सृजना गरेको ‘राष्ट्रिय मानव अधिकार संस्थाहरूको अन्तर्राष्ट्रिय समन्वय समिति’ ले ग्रेडिङको काम गर्थ्यो । सन् २०१६ मा समन्वय समितिलाई ‘ग्लोबल एलाइन्स अफ नेसनल ह्युमन राइट्स इन्स्टिच्युसन्स’ (गानरी) का रूपमा नामकरण गरिएको हो ।

सुरुआती समयदेखि निरन्तर ‘क’ श्रेणीको हैसियत आर्जन गरेको आयोगलाई गानरीको मान्यता (अक्रेडिटेसन) उपसमितिले गत अक्टोबरमा ‘ख’ श्रेणीमा घटुवाका लागि निर्णय गरी कारणसहित सिफारिस गरेको छ । कारणहरू सम्बोधन नभए गानरीको विधान बमोजिम आगामी अक्टोबरदेखि श्रेणी घटुवा लागू हुनेछ ।

प्रतिवेदनमा श्रेणी घटुवाका कारणहरू स्पष्ट उल्लेख छन् । पदाधिकारीहरूको पछिल्लो नियुक्ति (२०७७ मंसिर ३० को सिफारिस बमोजिम) गर्दा पेरिस सिद्धान्तका मान्यता लत्याइएकोलाई नै मूल आधार बनाइएको छ । अपारदर्शी र स्वेच्छाचारी नियुक्तिले आयोगको स्वतन्त्रतामा नकारात्मक असर पारेको, स्थायित्व र विश्वसनीयतामै खतरा सृजना गरेको प्रतिवेदनमा औंल्याइएको छ ।

कानुन संशोधन गरेर स्पष्ट, पारदर्शी र सहभागितामूलक छनोट तथा नियुक्ति प्रक्रियालाई स्थापित गर्न भनेको छ । छनोटका लागि सार्वजनिक विज्ञापन गरेर आवेदन माग्नुपर्ने तथा पूर्वनिर्धारित मानकका आधारमा आवेदकको मूल्यांकन गर्ने प्रक्रिया सुनिश्चित गर्नुपर्ने त्यसमा उल्लेख छ । मानव अधिकारका समस्याहरूलाई सम्बोधन गर्नेतर्फ पनि आयोग अक्षम देखिएको औंल्याइएको छ ।

गानरीले उठाउने प्रश्नलाई लोकतान्त्रिक मुलुकहरूले गम्भीर रूपमा लिने गरेका छन् । उदाहरणका लागि, गानरीले प्रश्न उठाएपछि नै अस्ट्रेलियाले मानव अधिकार आयोग कानुन संशोधन (छनोट र नियुक्ति) विधेयक–२०२२ अगाडि बढाएको छ । दुवै सदनबाट हालै पारित विधेयकमा सार्वजनिक, पारदर्शी र स्वतन्त्र नियुक्ति प्रक्रियाको अवलम्बनलाई अनिवार्य बनाउने व्यवस्था छ । साथै सात वर्षभन्दा बढी एकै व्यक्ति आयुक्त हुन नसक्ने प्रबन्ध छ । पछिल्लो विकासक्रम त्यहाँ आयोगको ‘क’ श्रेणीलाई नवीकरण गर्ने बलियो आधार भएको छ ।

हाम्रो सन्दर्भमा अहिलेको परिस्थितिमा मौलिक परिवर्तन नल्याउने हो भने त्यो सिफारिस बमोजिम आयोगको ओरालो यात्रा निश्चित छ । समयसँगै आयोगको छवि गिरेको मात्रै होइन, देशकै मानव अधिकार स्थिति ओरालो लाग्ने क्रम रोकिएको छैन । राष्ट्रसंघीय मानव अधिकार परिषद्मा दुई पटक (सन् २०१७ र २०२०) निर्वाचित नेपालले घरेलु स्थितिमा सुधार ल्याउन सकेको छैन । कागजी प्रतिबद्धताको चाङ देखाएर अब कोही झुक्किँदैन । यथार्थमा बदलिएको वस्तुगत आधार देखाउन सक्नुपर्छ । संक्रमणकालीन न्याय सुनिश्चित गर्ने दायित्व लत्याइएको छ । पीडितको सत्य, न्याय र परिपूरणको वैध आकांक्षामाथि निरन्तर खेलवाड भएको छ । लैंगिक, जातीय लगायतका आधारमा हुने हिंसा र भेदभावको उन्मूलन नारामा सीमित छ ।

भोको पेट र उठीबासको त्रास भोग्दै आएका जनताको पीडामा मल्हमपट्टी गर्न ठोस आधार सृजना गर्ने खाद्य अधिकार तथा खाद्य सम्प्रभुता ऐन–२०७५ र आवासको हक सम्बन्धी ऐन–२०७५ जस्ता जनमुखी कानुनलाई बेकामे बनाइएको छ । ऐन कार्यान्वयनका लागि चाहिने नियमावली बनाउने आधारभूत कामसम्म ओली र देउवा सरकारले गरेनन् । भुइँतहका जनताको हकअधिकार प्रवर्द्धन गर्नतर्फ प्रदेश र पालिका सरकारहरूको खासै रुचि रहेन । कतिपय पालिका सरकारले त कानुन कार्यान्वयनका नाममा विपन्न जनतामाथि शत्रुतापूर्ण व्यवहार गरेको देखिएको छ । प्रतिबद्धता र यथार्थताबीचको खाडल गहिरिँदै जाँदा विपन्न, सीमान्तीकृत वा विभेदित समुदायमा ठूलो निराशा छाएको छ ।

नेपालले वाचा गर्छ, वाचा दोहोर्‍याउँछ तर पूरा गर्दैन भन्ने छाप अन्तर्राष्ट्रिय जगत्मा पनि अमिट बन्दै गएको छ । यस स्थितिमा अर्थपूर्ण भूमिका खेल्नुपर्ने आयोग भने पदाधिकारी नियुक्ति विवादका कारण सृजित वैधता संकटको भुमरीमा परेको छ ।


निर्विकल्प पुनरुत्थान

हाम्रो खाँचो कार्यकारीको तप्केनीमा ठिम्रिँदै गएको आलंकारिक संस्थाको होइन; संवैधानिक कार्यादेश अनुरूप मानव अधिकारको संरक्षण र प्रवर्द्धनमा खरो उत्रन सक्ने स्वतन्त्र, स्वायत्त र चलायमान आयोगको हो । तसर्थ आयोगको शीघ्र पुनरुत्थानको विकल्प छैन । यो राष्ट्रिय आवश्यकता हो ।

गानरीले औंल्याएजस्तै कपटपूर्ण रूपमा (संवैधानिक परिषद्को बैठकको गणपूरक संख्या घटाएर २०७७ मंसिर ३० मै अध्यादेश जारी गर्ने र ४८ घण्टाअगाडि बैठकको सूचना दिनुपर्ने कार्यविधि उल्लंघन गरेर त्यसै दिन नियुक्तिका लागि सिफारिस गर्ने) आयोगका पदाधिकारी नियुक्त गरिएदेखि आयोगको विश्वसनीयता र वैधतामा खग्रास ग्रहण लागेको छ । आयोगको पुनरुत्थानाका लागि शीघ्रातिशीघ्र उक्त ग्रहण उतार्न जरुरी छ ।

ग्रहण उतार्ने उपायस्वरूप सरोकारवालाहरूबाट आयोगका पदाधिकारीहरूको राजीनामाको माग चौतर्फी उठेको छ, जुन तार्किक, व्यावहारिक र औचित्यपूर्ण छ । आयोगका पूर्वपदाधिकारीहरूको एउटा समूहले गत कात्तिक ३० गते प्रेस विज्ञप्ति जारी गरेरै राजीनामा गर्न सुझायो । कतिपय राष्ट्रिय मिडियाले समेत आयोगको साख जोगाउन पदाधिकारीको बहिर्गमन अपरिहार्य भएको सम्पादकीय धारणा प्रकाशन गरे । नागरिक समाज र मानव अधिकार समुदायले नियुक्तिका लागि सिफारिस गरेदेखि नै यस किसिमको माग दोहोर्‍याउँदै आएका छन् । आयोगका कर्मचारीहरूले समेत राजीनामाका लागि पदाधिकारीहरूमाथि दबाब बढाएका समाचारहरू बाहिर आएका छन् ।

आयोगका लागि यो असामान्य अवस्था हो । वैधताको प्रश्न यस रूपबाट उठेको अवस्थामा आयोगले आफ्नो संवैधानिक कार्यभार वहन गर्न सक्ने अनुमान पनि गर्न सकिँदैन । आयोग नै दिनानुदिन गहिरो संकटमा धकेलिँदै जाने छनक देखिएको छ ।

राष्ट्रिय मानव अधिकार आयोगलाई संवैधानिक आयोगहरूमध्ये एक ठानेर यसको वैधता र विश्वसनीयताको प्रश्नलाई सामान्यीकरण गर्नु गलत हुन्छ । यसको अन्तर्राष्ट्रिय मानव अधिकार प्रणाली अन्तर्गत अलग मान्यता र पहिचान छ । यसको साख बढ्दा राष्ट्रको साख बढ्छ, यसको साख घट्दा राष्ट्रको साख घट्छ । गानरीले घटुवाका लागि सिफारिस गर्दा औंल्याएका कारणहरूको सम्बोधनबिना गरिने अन्य प्रयत्नले आयोगको वैधता र विश्वसनीयता पुनःस्थापित हुँदैन । किनकि संस्थाको विश्वसनीयता र वैधता मूलतः संस्थाका नेतृत्वदायी पदाधिकारीहरूको वैधतामा धेरै हदसम्म निर्भर गर्छ ।

नियुक्तिको विवाद सर्वोच्च अदालतमा विचाराधीन छ । विवादको शीघ्र निरूपण अपेक्षित थियो । अनुचित विलम्ब भइरहेको छ । तर यही यान्त्रिक कारण देखाएर जिम्मेवार पदाधिकारीहरूको तहबाट बहिर्गमनको वैध माग अनदेखा गर्नु उपयुक्त हुँदैन । संस्थाको जीवनमा गम्भीर संकट आएको कुरा राम्रोसँग पर्गेल्न सक्ने व्यक्तिहरू नै अहिले पदाधिकारी छन् । आयोगलाई यथोचित सहयोग गर्ने नैतिक जिम्मेवारीबाट उनीहरू चुक्नु हुँदैन । मानव अधिकार आयुक्तको पद निजामती सेवाको जागिरजस्तो होइन । यसलाई व्यक्तिगत लाभहानिको विषय बनाउनु हुँदैन ।

अन्तर्राष्ट्रिय मानव अधिकार दिवसलाई अवसरका रूपमा लिएर बृहत् संस्थागत हितका लागि बहिर्गमनको बाटो रोज्दा संस्थाको पुनरुत्थानका लागि ठूलो सहयोग पुग्नेछ । अदालतले नियुक्तिलाई असंवैधानिक भनिनसकेको भन्ने तर्कमा अडिएर बस्नु व्यक्तिगत रूपमा पदाधिकारीका लागि राम्रो हुन्न । यथास्थिति लम्बिँदा नागरिक संघसंस्था तथा मानव अधिकार समुदायमा असन्तुष्टि झाँगिँदै गई त्यो संगठित विरोधमा परिणत नहोला भन्न सकिँदैन । यतातर्फ पनि हेक्का राख्न जरुरी छ ।

पुनर्नियुक्ति हुनुपर्छ भन्नुको अर्थ खाली ठाउँमा अरू एक थान आयुक्तहरू नियुक्त हुनुपर्छ भन्ने होइन; पेरिस सिद्धान्तको पूर्ण परिपालना हुने गरी खुला र पारदर्शी प्रक्रियाबाट आयोगको संवैधानिक कार्यादेश र जिम्मेवारीले मागे अनुरूपका व्यक्तिहरूमध्येबाट योग्यतम व्यक्तिको नियुक्ति होस् भनेको हो; विगतमा जस्तो आयोगमाथिको राजनीतिक दाउपेच नदोहोरियोस् भनेको हो । अहिलेकै पदाधिकारीहरूमध्ये पनि खुला र पारदर्शी प्रक्रियाबाट आउन नसक्ने भन्ने पनि हुँदैन ।

आयोगको प्रभावकारिताका लागि पुनर्नियुक्ति मात्रै सब थोक भने होइन । सरकार र आयोगले गर्नुपर्ने थुप्रै काम छन् । अयोगका सिफारिसको कार्यान्वयन लत्याउँदै जाने ठूलो समस्या छ । गठन भएदेखि २० वर्षसम्मको अवस्था मूल्यांकन गर्दा कार्यान्वयनको दर १४ प्रतिशत हाराहारी मात्रै छ ।

हामीले सातौं संविधान दिवस मनाइसक्यौं, तर नयाँ संविधानिक परिपाटी अनुरूप आयोगको ऐन (२०६८) संशोधनको काम थाती नै छ । संशोधनका लागि विगतमा विधेयक अगाडि बढाए पनि संशोधनमार्फत आयोगलाई सशक्तीकरण गर्ने होइन, उल्टै कमजोर तुल्याउने सरकारी रवैया देखियो ।

आयोग बेलाबखत रोइलो गर्नेबाहेक नागरिक समाजलाई विश्वासमा लिएर ऐन संशोधनका लागि सरकारलाई जवाफदेह बनाउन असफल रहँदै आएको छ । साधनस्रोतको अभाव तथा वित्तीय स्वायत्तताको समस्या पनि ज्यूँका त्यूँ छ । ऐन संशोधनमार्फत यो समस्याको हल खोज्नु जरुरी छ ।

आयोगको काम गर्ने तौरतरिकामा व्यापक परिवर्तनको खाँचो छ । आर्थिक–सामाजिक हकहरूले आयोगको अग्रसक्रिय भूमिका खोज्छन् । आयोग भने उजुरीको औपचारिकतामा रुमलिएको छ । राज्य मात्रै नभएर व्यवसाय तथा निजी क्षेत्रलाई पनि मानव अधिकार फ्रेमवर्कभित्र हिँडाउनुपर्ने चुनौती पनि थपिएको छ ।

अन्त्यमा, आयोग आमजनताका लागि बढ्ता आवश्यक संस्था हो । यसलाई राजनीतीकरणबाट मुक्त राखौं । यसको प्रभावकारिता बढाउनमा सबको इमानदार प्रयास होस् !

प्रकाशित : मंसिर २५, २०७९ ०८:२३
प्रतिक्रिया
पठाउनुहोस्

सार्वभौम मतदाता र विवेकपूर्ण इन्साफ

मताधिकारको स्वतन्त्र प्रयोगका लागि हामी आफैं स्वतन्त्र बनौं । आम मतदाता यो वा त्यो दल वा गुटको पछि लाग्न जरुरी छैन । वस्तुगत आधारमा विवेकपूर्ण निर्णय गर्नु नै जनहितकारी हुन्छ ।
राजुप्रसाद चापागाईं

मंसिर ४ नजिकिँदै छ । दलहरूका र स्वतन्त्र उम्मेदवारहरू चुनावी अभियानमा जोडतोडले लागेका छन् । दलहरूले सदाजस्तै आआफ्ना चुनावी घोषणापत्रहरूमार्फत बग्रेल्ति प्रतिबद्धता दोहोर्‍याएका छन्, उम्मेदवारहरूले पनि निर्वाचन क्षेत्रकेन्द्रित वाचाहरू गरेका छन् । मतदातालाई आफूतर्फ आकर्षित गर्न सकेसम्म सबै लागिपरेका देखिन्छन् । 

दलीय चुनावी घोषणापत्रहरूले खासै तरंग ल्याउन सकेका छैनन् । गुणदोषका आधारमा दल छनोट गरेर त्यसै अनुरूप मतदान गर्ने सम्भावनालाई स्वयं दलहरूले क्षीण बनाएका छन् । दर्शन, मिसन, भिजन र नीतिमाथिको मतदानका लागि दलहरू नै तगारा बनेका छन् । दलीय सिद्धान्त, विचार र दृष्टिकोणलाई लत्याएर सत्ताप्राप्तिको भर्‍याङका लागि उनीहरूले रचना गरेका अपवित्र गठबन्धन, तालमेल र गठजोडको परिणाम हो यो । यसर्थ बहुसंख्यक मतदाताको ध्यान अहिले दलभन्दा उम्मेदवारतर्फ केन्द्रित देखिनु र बढ्ता चर्चा उम्मेदवारकै हुनु स्वाभाविक छ ।

तथापि यति बेलाका आम अपेक्षा हुन्- मंसिर ४ केवल निर्वाचनको एउटा रीत पूरा गर्ने मेलो मात्रै नहोस् । मतदानको सर्वोच्च अधिकार अभ्यास गरेर सार्वभौम मतदाताले विवेकपूर्ण इन्साफ दिऊन् । मंसिर ४ पछि राजनीतिप्रति निरन्तरको वितृष्णाको क्रमभंग होस् । समकालीन राष्ट्रिय र अन्तर्राष्ट्रिय परिवेशलाई पर्गेलेर देशको दिशा र दशा बदल्ने ल्याकत भएका जनप्रतिनिधिहरूको शुभागमन होस् । पटकपटक परीक्षित भैसकेका, आफ्नो योग्यता र क्षमता भरपूर उपयोग/दुरुपयोग गरिसकेका एवं स्थानीय, प्रादेशिक वा राष्ट्रिय राजनीतिमा सान्दर्भिकता गुमाउँदै गएका व्यक्तिहरूको पुनरागमन नहोस् । देशको राजनीतिले नयाँ गति लियोस् । राजनीतिमा समन्याय स्थापित होस् । विगतदेखि भोग्दै आएका चरम शासकीय र संसदीय बेथितिको पुनरावृति नहोस् । जनताले बनाएको संविधानको सही कार्यान्वयनले गति लेओस् । समानता र अविभेदका आधारमा सबैले सम्मानपूर्वक बाँच्न पाउने संविधानप्रदत्त हकको निर्बाध उपभोग गर्न सक्ने वातावरण सृजना गर्ने दिशामा शासन तथा प्रशासन उन्मुख होऊन् । दण्डहीनता र कुशासनको संस्कृति कानुनी शासन र जवाफदेहीद्वारा प्रतिस्थापित हुने स्थिति बनोस् । शासकीय कमजोरीको जिम्मेवारी नलिने र राजनीतिक प्रणालीको खोट देखाएर जवाफदेहीबाट पन्छिने संस्कृतिको अन्त्य होस् ।

उल्लिखित जनअपेक्षाहरू वैध छन्, यसमा विवाद हुने कुरा भएन, तर कुराले चिउरा भिज्दैन रहेछ । अपेक्षा राख्नु मात्रैले सार्थक परिणाम ल्याउँदैन । त्यसतर्फको चेष्टा र कर्म अपरिहार्य छ । मताधिकार प्रयोगको सोच, शैली र संस्कार परिवर्तन पनि जरुरी छ । दलहरू र तिनका नेताहरू बिग्रनुका पछाडि उनीहरू मात्रै कारक होइनन् । हामी मतदाता पनि त्यसका कारक हौं । त्यो जिम्मेवारीबोध अहिले जरुरी छ ।

जसलाई मत दिएर बारम्बार पठाउँदा पनि हाम्रो र देशको अवस्था बदलिएन, बरु थप बिग्रियो, उसैलाई मत दिँदै जाने लत हामीले छाड्ने कि नछाड्ने ? कि हामीले परिवर्तनको अपेक्षा छाड्नुपर्छ वा परिवर्तनको सुरुआत आफैंबाट गर्नुपर्छ । अन्यथा विरोधाभासबीचबाट हामी घुम्दैफिर्दै पुग्ने उही ठाउँमा हौं । यसो भनिरहँदा अल्बर्ट आइन्स्टाइनको यो भनाइ नितान्त मननयोग्य छ, ‘उही कार्य बारम्बार दोहोर्‍याएर फरक परिणामको अपेक्षा गर्नु पागलपन हो ।’ यो प्रवृत्तिबाट आम मतदाता मुक्त हुन जरुरी छ । हामीले धतुरो रोपेर सुन्तलाको आशा गर्न छाड्नुपर्छ ।

यति बेला हामी मतदाता निर्मोही हुन जरुरी छ । सबै आग्रह र पूर्वाग्रह त्याग्नुपर्छ । ‘मेरो दल, मेरो थर, मेरो जात, मेरो जाति, मेरो क्षेत्र, मेरो छिमेक, मेरो फलानो र ढिस्कानो’ को मोह त्याग्न जरुरी छ । हाम्रो होइन, राम्रोको खोजीमा लाग्नुपर्छ । बुद्धको जन्मस्थानको नागरिक हुनुमा गर्व गर्ने हामी उनको शिक्षा अनुसरण गर्न पनि चुक्नु हुँदैन । हाम्रो दृष्टि सम्यक् हुनुपर्छ । हाम्रो निर्णय वस्तुगत, तार्किक र तथ्यमा आधारित हुन जरुरी छ । आम निर्वाचनलाई समग्र नेपालीको सामूहिक भविष्य निर्धारण गर्ने अवसरका रूपमा लिन जरुरी छ ।

यथार्थमा न मत ‘दान’ गर्ने कुरा हो, न त हामी मतका ‘दाता’ नै हौं । हामी मताधिकारको सार्वभौम अभ्यासकर्ता हौं । यो बुझ्नुपर्छ । ‘मतदान’ शब्दको शाब्दिक होइन, लोकतान्त्रिक अर्थबोध जरुरी छ । यस्तो सार्वभौमिक अधिकार अभ्यासको अवसर निर्वाचनबाहेक अघिपछि हामीलाई मिल्दैन । यसको उपयोगमा कुनै सम्झौता गर्नु छैन । लोकतन्त्रको सार र सुन्दरता पनि यही हो ।

हामीले खोजेको परिवर्तन, जुन संविधानमार्फत पनि मुखरित छ, प्रतिनिधित्वको गुणस्तरमा निर्भर गर्छ । हाम्रो हकहितको गुणस्तरीय प्रतिनिधित्व गुणवान् जनप्रतिनिधिबाट मात्रै सम्भव छ । अन्यथा समाजवाद, सामाजिक न्याय, दिगो शान्ति र समृद्धि आकाशको फल नै बनिरहनेछ ।

त्यसैले मताधिकारको स्वतन्त्र प्रयोगका लागि हामी आफैं स्वतन्त्र बनौं । कार्यकर्ता र संगठित सदस्यको सन्दर्भ अलग हो । आम मतदाता यो वा त्यो दल वा गुटको पछि लाग्न जरुरी छैन । वस्तुगत आधारमा विवेकपूर्ण निर्णय गर्नु नै जनहितकारी हुन्छ ।

मताधिकार प्रयोगमा हेलचेक्य्राइँको दुष्परिणामबारे सचेत बनाउँदै अमेरिकी कोशकार तथा राजनीतिक लेखक नोह वेब्स्टरले भनेका छन्, ‘यदि नागरिकले आफ्नो कर्तव्य निर्वाहमा हेलचेक्य्राइँ गरे भने अनैतिक मानिस पदमा पुग्छन्, सरकार भ्रष्ट हुन्छ । सार्वजनिक भलाइका लागि भन्दा पनि निहित स्वार्थपूर्तिमा लिप्त हुन्छन्, राजस्व नालायक मानिसका लागि खर्च हुन्छ, नागरिकका अधिकार उल्लंघन हुन्छन् र तिनको अपमान हुन्छ ।’ हाम्रोमा यस्तै हुँदै आएको छ ।

अपवादलाई छाड्ने हो भने बारम्बार हात जोडर जनतासँग भोट माग्ने र निर्वाचित भएपछि आफूलाई मालिक र जनतालाई सेवकका रूपमा हेर्ने प्रवृत्ति जनप्रतिनिधिमा हावी रहेको गुनासो व्याप्त छ । जनताको इमानदार र विश्वसनीय वारेसको भूमिका निर्वाह गर्नुपर्ने हो जनप्रतिनिधिले । तर त्यसो हुन सकेको छैन ।

कानुननिर्माताको पगरी गुथे पनि ध्यान कानुन र नीति निर्माणतर्फ गएन । न्यायपूर्ण हिसाबले सबै निर्वाचन क्षेत्रमा स्रोतसाधन पुग्ने प्रणालीको स्थापनाका लागि लड्नेभन्दा पनि जेजस्तो तिकडम गरेर भए पनि पूर्वाधारमुखी विकास योजना आफ्नो क्षेत्रमा पुर्‍याएर भावी राजनीतिका लागि जग बलियो बनाउने ध्याउन्न जनप्रतिनिधिहरूमा देखियो । संसद्मा जनप्रतिनिधिको उपस्थिति यान्त्रिक बन्यो । संघीय र प्रादेशिक सभाको भूमिका सेरिमोनियल बन्यो । यो घामजस्तै छर्लंग छ र यसको अन्त्य आवश्यक छ । देशलाई विविध जाति, वर्ग र समुदायका जनताको रंगीचंगी फूलबारी र आफूलाई त्यसको मालीका रूपमा उभ्याउने जनप्रतिनिधिको खाँचो अहिले टड्कारो बनेको छ ।

गुणदोषको लेखाजोखा गरेरै हामीले बहुदलीय संसदीय शासन प्रणाली अंगीकार गरेका छौं । यो प्रणाली प्रतिनिधिमूलक लोकतन्त्रका मान्यतामा आधारित छ । शासनप्रणालीको सफलता जनप्रतिनिधित्वको गुणस्तरमै निर्भर हुने हो । जुनसुकै राष्ट्रिय समस्याको कारक खोज्दै जाँदा हामी अन्ततः गुणस्तरहीन जनप्रतिनिधित्वमै गएर ठोक्किन्छौं ।

यस सन्दर्भमा दलभित्रको लोकतन्त्रले पनि ठूलो माने राख्छ । अपवादबाहेक जनप्रतिनिधिका मूल स्रोत दलहरू नै हुन् । तर प्रतिस्पर्धात्मक प्रक्रियाबाट उम्मेदवार छनोट हुने संस्कार दलहरूमा मूलप्रवाहीकरण हुन सकेको छैन । देश, समाज र समुदायका लागि अरू कुनै उपती गरेको नभए पनि शीर्ष नेताविशेषको विश्वासपात्र, उसले पत्याएको, उसप्रति वफादार र उसलाई खुसी राख्न सक्ने व्यक्ति नै रोजाइमा पर्ने गरेको देखिन्छ । यस स्थितिमा मतदाताका लागि छनोटको सीमितता छ । चाहेर मात्रै गुणस्तरीय जनप्रतिनिधित्व सुनिश्चित गर्ने अवस्था नबन्न सक्छ । तर उपलब्ध विकल्पमध्ये विवेकपूर्ण छनोट गर्दा धेरै हदसम्म क्षति न्यूनीकरण गर्न सकिन्छ, प्रतिनिधित्वको गुणस्तर अभिवृद्धि गर्न सकिन्छ । तसर्थ यथाशक्य असल नत्र खराबहरूमध्ये कम खराब निर्वाचित होस् भन्ने रणनीति हुनुपर्छ । त्यतातर्फ मतदाताको उन्मुखीकरणले भविष्यमा दलहरूको लोकतन्त्रीकरणलाई बाध्य पार्न सक्छ ।

उचित उम्मेदवारको छनोट गर्नुपर्छ भन्न जति सजिलो छ, व्यवहारमा यो त्यति नै चुनौतीपूर्ण हुन सक्छ । जोकोही मतदाताका लागि उम्मेदवारबारेको सूचनामा पहुँच सजिलो नहुन सक्छ । तथापि मतदातामा यथाशक्य सजगता जरुरी हुन्छ ।

सामान्यतया उपयुक्त जनप्रतिनिधि छनोटका चार सूचक हुन सक्छन् । ती हुन्- (१) चालचलन वा नैतिक चरित्र, (२) विगतको ट्र्याक रेकर्ड, (३) योग्यता, क्षमता / दक्षता, र (४) सोच तथा भिजन । सामाजिक संस्था दर्ता गर्नुपर्‍यो भने हाम्रोमा चालचलन बुझ्ने परिपाटी छ । जनप्रतिनिधि हुनका लागि औसत मानिसभन्दा उच्च नैतिक चरित्र अपेक्षित हुन्छ नै । अपराधको राजनीतिकरण र राजनीतिको अपराधीकरणको चुनौती बढ्दै गएको सन्दर्भमा आपराधिक मनोवृत्ति वा अपराधउन्मुख चालचलन भएको व्यक्ति जनप्रतिनिधिका रूपमा चुनिने अवस्था किमार्थ बन्नु हुँदैन । उम्मेदवारमा भड्किलोपन, खर्चिलो प्रवृत्ति होइन सरलता र सादगीपूर्ण जीवनशैलीको खोजी हुनुपर्छ । असहिष्णुता र निषेधको राजनीति हावी हुँदै गएको अहिलेको अवस्थामा यथाशक्य विविधताको सम्मान गर्ने, फरक दृष्टिकोणप्रति सहिष्णुता देखाउने व्यक्ति हाम्रो छनोटमा पर्नुपर्छ । अरूका गल्ती औंल्याएर आफैंलाई राम्रो साबित गर्ने होइन कि, आफ्ना राम्रा पक्षलाई मतदातासामु प्रस्तुत गर्ने व्यक्तिलाई प्राथमिकता दिनुपर्छ । लैंगिक, जातीय, क्षेत्रीय पूर्वाग्रहबाट मुक्त समानता र समावेशीका मान्यताबाट मार्गनिर्देशित उम्मेदवार रोजाइ हुनुपर्छ ।

उम्मेदवारको विगत कस्तो छ, त्यतातर्फ पनि ध्यान दिनैपर्छ । विगतका आधारमा उसको भावी रवैया कस्तो रहला भन्ने अनुमान गर्न सकिन्छ । विगतमा निर्वाचित भएको भए उसको कार्यसम्पादन कस्तो थियो, मूल्यांकन हुनुपर्छ । भनाइ र गराइबीचको अन्तर हेरिनुपर्छ । जनप्रतिनिधिबाहेक अन्य कुनै पदमा बसेर काम गरेको पनि हुन सक्छ र त्यहाँ उस्को ट्र्याक रेकर्ड कस्तो थियो भन्ने कुराले पनि अर्थ राख्छ । विगतमा मानव अधिकार उल्लंघनका लागि जिम्मेवार रहेको, प्रत्यक्ष वा परोक्ष रूपमा हिंसा र भेदभावलाई प्रश्रय दिएको, भ्रष्टाचार वा अनियमितताको दाग लागेको व्यक्तिमा कुनै हालतमा मत नजाओस् भन्नेमा विशेष चनाखो हुन जरुरी छ ।

राजनीतिमा कसले कति वर्ष बितायो भन्ने कुराले मात्रै अर्थ राख्दैन । समयसापेक्ष रूपमा उसको योग्यता, दक्षता र क्षमता के छ भन्ने पनि हेर्न जरुरी छ । खास कुनै विशिष्टीकृत शैक्षिक योग्यता हासिल गर्नु उपयुक्तताको मानक होइन । तर उसको योग्यता र उसले आर्जन गरेको दक्षताले पनि धेरै हदसम्म गुणस्तरीय प्रतिनिधित्वका लागि सहयोगी हुन सक्छ । अन्य उम्मेदवारको सापेक्षतामा यो पक्षलाई पनि विचार गर्नु उपयुक्त हुन्छ ।

निर्वाचन क्षेत्रका समस्या, राष्ट्रिय समस्या, नीति तथा कानुन निर्माण र सुधार एवं सुशासनबारेमा उसको सोच कस्तो छ, यसले पनि विशेष अर्थ राख्छ । उसका भावी योजना र प्रतिबद्धताहरू कति यथार्थपरक, कार्यान्वयनयोग्य र आवश्यकतामा आधारित छन् भन्नेलाइ पनि महत्त्व दिनुपर्छ । विकासबारे उसको सोच के छ भन्ने पनि हेर्नुपर्छ । पूर्वाधारको सृजना गर्नु मात्रै विकास होइन । त्यस्तो पूर्वाधारले पुँजी निर्माण गर्छ कि गर्दैन र जनताको जीवनस्तर अभिवृद्धिमा के योगदान पुग्छ भन्नेचाहिँ महत्त्वपूर्ण हुन्छ । सम्मानपूर्वक जीवनयापनका बाधाहरूलाई हटाउनु पनि विकास हो । भैरहेको प्राकृतिक, सांस्कृतिक, धार्मिक सम्पदालाई संरक्षण गर्नु पनि विकास हो । त्यसतर्फको उसको बुझाइ कस्तो छ भन्नेतर्फ पनि ध्यान जानुपर्छ ।

मताधिकारको प्रयोगमार्फत हाम्रो इन्साफ जति स्वच्छ र विवेकपूर्ण हुन सक्छ, त्यति नै देश र जनताको भलाइका लागि मार्गप्रशस्त हुन्छ । मैले मतदानमार्फत सार्वभौमिक अधिकारको अभ्यासमा लापरवाही गरें भने त्यसको खती यो पुस्ताले मात्रै होइन, भावी पुस्ताले पनि बेहोर्नुपर्छ भन्ने चेत प्रत्येक मतदातामा हुन जरुरी छ । यही चेतले नै हामीलाई अग्रगमनतर्फ डोर्‍याउनेछ ।

प्रकाशित : कार्तिक २५, २०७९ ०७:४५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×