पढाकु प्राध्यापक खोइ ?- विचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पढाकु प्राध्यापक खोइ ?

उज्ज्वल प्रसाई

नेपालका विश्वविद्यालय परिवर्तन गर्ने हो भने, आवश्यक संख्याको आधाजति शिक्षक नेपालबाहिरबाट ल्याउनुपर्छ । विदेशी प्राध्यापकका लागि यहाँ ठाउँ बनाउनुपर्छ ।’ यो भनाइ त्रिभुवन विश्वविद्यालयमा दशकौंदेखि प्राध्यापन गरिरहेका समाजशास्त्री चैतन्य मिश्रको हो । गत साता मार्टिन चौतारीको एउटा कार्यक्रममा बोल्दै प्राध्यापक मिश्रले नेपालको उच्च शिक्षा सुधार्ने केही सूत्र अघि सारेका थिए ।

तिनैमध्येको एउटा महत्त्वपूर्ण सूत्रका रूपमा उनले विदेशी प्राध्यापकको खाँचो औंल्याएका हुन् । मिश्रोक्तिबारे थप टिप्पणी गर्नुअघि भारतको एउटा विश्वविद्यालयको अनुभव हेरौं ।

कथा पश्चिम बंगालको शान्ति निकेतनस्थित विश्वभारती विश्वविद्यालयको हो । स्थापना भएको सालदेखि चार दशकसम्मको इतिहास खोजेर हालसालै किताब लेखेकी छन्, सोही विश्वविद्यालयकी प्राध्यापक स्वाती गाङ्गुलीले । ‘टैगोर्स युनिभर्सिटी ः अ हिस्ट्री अफ विश्व–भारती, १९२१–१९६१’ शीर्षक यस इतिहासमा ज्ञानोद्यमका उच्च आदर्श र मूल्यका आधारमा रवीन्द्रनाथ टैगोरले गरेका अथक प्रयत्नको सिलसिलेवार कथा भनिएको छ जसमा वर्णित केही रोचक घटना सुनेपछि नेपालका विश्वविद्यालय सुधार्न प्राध्यापक मिश्रले किन त्यस्तो सूत्र अघि सारेछन् भनेर बुझ्न सहज होला ।

जर्मनीमा नाजीको जगजगी थियो, क्याम्ब्रिज विश्वविद्यालयमा पढिरहेका जर्मन नागरिक अलेक्स अरोन्सन चिन्तातुर थिए । हिटलरले यहुदीमाथि गरेका क्रूरतम दमनहरूबारे सुनेर यहुदी अरोन्सनले कसरी सन्तोष मानून् ? त्यस्तो उद्विग्न मनोदशामै भएका बेला ११ फेब्रुअरी १९३७ मा अरोन्सनको भेट एक चिनियाँ नागरिकसँग भयो । ती चिनियाँले भारतको शान्ति निकेतनका कथा हाल्दै भने, ‘त्यहाँ स्वर्ग पुनर्प्राप्त भएको छ, एक भव्य नयाँ संसार ।’

भारतको एउटा कुनामा स्थापित नयाँ ज्ञानशालाको कथा सुनेर हौसिएका अरोन्सनले शान्ति निकेतनका संस्थापक रवीन्द्रनाथ टैगोरलाई चिठी लेखे, अध्यापन अवसरको खोजी गर्दै । केही दिनपछि सकारात्मक जवाफ आयो । त्यसैबीच अरोन्सनले शान्ति निकेतनसँग नजिक रहेका अमिया चक्रवर्ती र सीएफ एन्ड्र्युजसँग लन्डनमा भेटे । टैगोरले शान्ति निकेतनमा स्थापना गरेको विश्वविद्यालयका उच्च आदर्शबारे यी दुवैले अरोन्सनलाई बताएनन्, नत्र ती आदर्शको भव्यताबाट वशीभूत भएर उनी अवसर छोप्न तुरुन्त नकुद्न पनि सक्थे ।

७ नोभेम्बर १९३७ मा शान्ति निकेतन आइपुगेका अरोन्सनले अंग्रेजी साहित्य र जर्मन भाषा पढाउन थाले । बंगाली भाषामा पकड नभएकाले उनी सोचेजसरी त्यहाँ भिज्न सकेनन्, तर आफ्नो काममा खरो उत्रिए । शान्ति निकेतनको माहोलसँग थोरै दूरीमा रहे पनि, त्यहाँ हुर्कंदै गरेका प्रतिभासँग उनको घनीभूत सम्बन्ध स्थापित भयो । स्नातक तहमा अध्यापन गर्ने उनका विलियम शेक्सपियरबारेका कक्षाको उँचो प्रशंसा गर्दै उस बेलाका विद्यार्थीले आफ्ना संस्मरणमा उल्लेख गरेका छन् ।

अरोन्सन र चर्चित सिनेमा निर्देशक सत्यजित रेको भेट पनि शान्ति निकेतनमै भयो । विश्वभारतीमा कलाका विद्यार्थी रे र शिक्षक अरोन्सनको साझा रुचि भने पश्चिमा संगीत थियो । यी दुईले मोजार्टका धुन सुनेर कैयौं साँझ सँगै बिताए । अरोन्सन र टैगोरका छोरा एवं सोही विश्वविद्यालयका शिक्षक रथीन्द्रनाथबीच पनि उत्तिकै गाढा सम्बन्ध स्थापित भयो । रथीन्द्र कुशल कलाकार र कृषि–अर्थतन्त्रका विज्ञ थिए, कालान्तरमा उनी सो विश्वविद्यालयले सरकारी मान्यता प्राप्त गरेपछिको पहिलो उपकुलपति बने ।

अरोन्सन आफैं विश्वभारती आइपुगे, अर्का फ्रान्सेली अनुसन्धाता तथा विद्वान् सिल्भाँ लेभीलाई भने टैगोरले नै निम्त्याए । पेरिस विश्वविद्यालयमा ६ वर्षसम्म संस्कृत भाषासाहित्य पढेका लेभीले ‘द इन्डियन थिएटर’ विषयमा विद्यावारिधि गरेका थिए । बौद्ध शिक्षा अध्ययन गर्न उनले चिनियाँ र तिब्बती भाषामा पनि पकड बनाइसकेका थिए । साथै, सन् १८९४ देखि अध्यापन पनि गर्न थालेका उनी कुशल प्राध्यापकका रूपमा चिनिएका थिए । ज्ञानोद्यममा लेभीको प्रमाणित मेधाबाट प्रभावित टैगोरले उनलाई ‘भिजिटिङ प्रोफेसर’ का रूपमा आइदिन आग्रह गरे ।

लेभीलाई सोही समयमा प्रतिष्ठित हार्वर्ड विश्वविद्यालयले पनि बोलाएको थियो, जसलाई नकार्दै विश्वभारती आउन मन्जुर हुनु आफैंमा रोचक थियो । टैगोरको व्यक्तित्व, सृजनात्मकता र शिक्षाबारेका अवधारणाबाट प्रभावित भएरै लेभी बंगाल आइपुगेका थिए । नोभेम्बर १९२१ मा शान्ति निकेतन आइपुगेलगत्तै लेभीले संस्कृत र बौद्ध शिक्षाबारे कक्षा सञ्चालन गर्न थाले । अन्य शिक्षक र श्रीलंकाबाट अध्ययनार्थ आइपुगेका भिक्षुहरू पनि उनका नियमित विद्यार्थी थिए । सोही क्रमममा लेभीको नेतृत्वमा विश्वभारतीमा इन्डोलोजी विभाग सुरु गरियो ।

कोर्नेल विश्वविद्यालयमा कृषि विज्ञान पढेका लियोनार्ड नाइट एल्महर्स्टजस्ता युरोपेली तन्नेरी होऊन् वा भियनाको कला इतिहासमा पारंगत स्टेला क्रामरिस्च, टैगोरको आग्रह स्विकारेर विश्वभारतीमा काम गर्न लेभीजस्तै आइपुगेका थिए । एल्महर्स्टले आफ्नो कौशल उपयोग गरेर सुरुल गाउँमा कृषि अभियान मात्रै सुरु गरेनन्, त्यसलाई द्रुत बनाउन एक अमेरिकी धनाढ्य डोरोथी स्ट्रेटमार्फत उल्लेख्य आर्थिक सहयोग पनि जुटाए । टैगोरको अनुरोधमा क्रामरिस्चले भने विश्वभारतीका विद्यार्थीलाई समग्र युरोपेली कलाको इतिहासबारे शृंखलाबद्ध प्रवचन दिइन् ।

युरोपेली र अमेरिकी मात्रै होइन, चिनियाँ विद्वान्देखि मणिपुरी कलाकारसम्मको खोजी गरेर विश्वभारतीलाई व्यापक र गहन ज्ञानशालाका रूपमा स्थापित गर्न टैगोर कटिबद्ध थिए । राज्य तहमा भारत–चीन सम्बन्ध बरफिलो बन्दासम्म बौद्धिक विनिमय बेरोकटोक चलिरहने अवस्था बनेको थियो विश्वभारतीमा । बर्मामा रहेका चिनियाँ विद्वान् लिन ङो–चियाङलाई टैगोर आफैंले भेटेर ‘चाइनिज स्टडिज’ स्थापना गरिदिन आग्रह गरेका थिए । सन् १९३७ मा चिना भवन नामक चिनियाँ भाषा, इतिहास, संस्कृति अध्ययन गर्ने विभाग पनि सुरु गरिएको थियो । डा. लिनले चिनियाँ कविता, आख्यान र भाषाशास्त्रका कोर्स बनाएर अध्यापन गराएका थिए ।

कहिले टैगोरले आफैं निम्त्याएर, कहिले ठाउँ–ठाउँ चहारेर र कहिले भने अरोन्सन जस्ताको चिठी पाएर, अनेक ठाउँका अनेक विषयका विज्ञ प्राध्यापकहरू विश्वभारतीमा भेला गराइएका थिए । त्यसरी अनेकतिरबाट विविध विज्ञता, रुचि र सामर्थ्य भएका मानिस भेला हुनु भनेको भारत र विश्वको संवाद स्थापना हुनु हो भन्ने टैगोरले बुझेका थिए । भारतका विद्वान्मा मात्र भर पर्न खोज्दा यति विघ्न विविधतापूर्ण ज्ञानकर्मी भेला गर्न सम्भव थिएन । अध्यापनको क्षेत्र फराकिलो बनाउन भारतका पढालेखा नागरिक मात्रले पुग्दैन थियो । त्यसो त विश्वविद्यालयमा आवश्यक पर्ने सांस्कृतिक विनिमयका लागि पनि विद्यार्थी र शिक्षक दुवैमा विविधता हुनुपर्छ ।

युरोपेली, अमेरिकी, चिनियाँ वा मणिपुरी विद्वान् र कलाकारका लागि काम गर्ने ठाउँ बनाउँदा बंगालले आफ्नो भाषा, संस्कृति, इतिहास र दर्शन गुमाउँछ भन्ने राष्ट्रवादी भ्रममा टैगोर थिएनन् । त्यसो त राष्ट्रवादका साँघुरोपनमाथि उनले सन् १९१७ मै गहकिलो बौद्धिक प्रहार गरिसकेका थिए । पूर्ण आत्मविश्वासका साथ ज्ञानका अन्य विविध स्रोतसँग बंगालको साइनो स्थापना गर्न सक्नुका पछिल्तिर टैगोर आफैंले लेखेको राष्ट्रवादको आलोचना पनि बलियो आधार बनेको हुनुपर्छ । अरूसँग भयभीत नभई, आफ्नो कथा भन्ने आत्मविश्वासी उद्यमकै कारण विश्वभारती सरकारी मान्यता नपाउँदा पनि प्रतिष्ठा कमाउन सफल बनेको थियो ।

विश्वभारतीको इतिहास पढिसकेको केही सातामा यस इतिहासकी लेखक स्वाती गाङ्गुलीलाई भेट्न म शान्ति निकेतनस्थित विश्वविद्यालयकै हातामा रहेको उनको बासस्थान पुगें । अध्यापन र लेखनका अलावा सडकमा फेला परेका बिरामी कुकुरहरू स्याहार्न समय लगाइरहेकी गाङ्गुलीले टैगोरको विश्वविद्यालय–सपना कसरी राष्ट्रवादको साँघुरो वैचारिकीमा कैद हुन सक्दैन भनेर थप व्याख्या गरिन् । उनले भनिन्, ‘अचेल चर्चा हुने मल्टीडिसिप्लिनेरी अप्रोच भनौं वा पेडागोजी अफ द अप्रेस्डजस्ता किताबका मजबुन भनौं, यस्ता चर्चा हुनुभन्दा धेरै पहिले शान्ति निकेतनमा यी अभ्यास गर्ने कोसिस भएका थिए ।’ राष्ट्र र जातिका कैदखानाभन्दा अलि भिन्न विश्वको एउटा सानो प्रतिरूप यहाँ खडा गर्ने प्रयत्न भएको उनले दाबी गरिन् ।

मैले उनलाई सोधें, ‘विश्वभारती आफैंमा टैगोरको गैरराष्ट्रवादी सोचको उपज थियो ? त्यसो हो भने, अहिले के भयो त ?’ उनले केही बेर सोचेर जवाफ दिइन्, ‘सायद त्यसो भन्न मिल्छ । कुनै राष्ट्रको महिमा गाउने, वा अर्को राष्ट्रको विरोध गर्ने संस्थाका रूपमा निर्माण गरिएको थिएन विश्वभारती । खासमा यो युनिभर्सिटीभन्दा पनि नलेज कम्युनिटी बनाउने कोसिस थियो । त्यसैले यो गैरराष्ट्रवादी कर्म नै हो ।’ समयक्रममा विश्वभारतीको त्यो ज्ञान–समुदाय बनाउने सपना खिइँदै गएको दुःखदायी इतिहासका केही मोड पनि उनले सुनाइन् । सन् १९६० पछिका दशकको कथा भने आफूले लेख्न नसक्ने बताइन् । त्यसो भन्दा उनको अनुहारमा उदासी र खिन्नता पोतिएको थियो ।

विश्वभारतीको इतिहास पढिसकेपछि प्राध्यापक मिश्रको माथि उद्धृत सूत्रबारे सोच्यो भने भन्न सकिन्छ- यो कसैले नगरेको, कहिल्यै नभएको र हुन नसक्ने काम होइन । बरु हिजोभन्दा आज बढी आवश्यक हो । रवीन्द्रनाथ टैगोरले जति दुःख नगरी विश्वविद्यालयलाई विश्वसँगको गतिलो संवाद गर्ने थलो बनाउन अब सम्भव छ । पढालेखा बेरोजगारको संख्या दिन–प्रतिदिन बढिरहेको सन्दर्भमा विदेशीलाई जागिर दिने सवाल आफैंमा विवादास्पद बन्न सक्छ । तर, प्राध्यापन, अनुसन्धान, लेखन र बौद्धिक अभ्यासलाई केवल जागिर खाने मेसो बनाउन खोज्नु कति समस्याग्रस्त छ भनेर बुझ्न पछिल्ला केही दशकका हाम्रै अनुभवहरू पर्याप्त हुन्नन् र ? यो सूत्र अघि सार्नुभन्दा पहिले प्राध्यापक मिश्रले भनेका थिए, ‘आफूले पढाउने कोर्स आफैं बनाउन सक्ने क्षमता भएका प्राध्यापकहरू हामीसँग कत्ति पनि छैनन् । हामीलाई पढाकु प्राध्यापकको साह्रै ठूलो खाँचो छ ।’

प्रकाशित : मंसिर २३, २०७९ ०७:५७
प्रतिक्रिया
पठाउनुहोस्

प्रयास के पर्याप्त छ ?

डिन आर थम्पसन

दोस्रो विश्वयुद्धको भयावहपछिको घडीमा ५० भन्दा बढी राष्ट्रहरू एकजुट भए र तिनीहरूले एउटा दस्ताबेज बनाए जसले सबै मानिसका अविच्छिन्न अधिकार हुन्छन् भन्ने कुरालाई मान्यता दियो । मानव अधिकारको विश्वव्यापी घोषणापत्र नामको त्यस दस्ताबेजलाई संयुक्त राष्ट्र संघले १० डिसेम्बर १९४८ मा पेरिसमा अनुमोदन गर्‍यो र त्यसयता उक्त दस्ताबेजले शान्ति, स्वतन्त्रता र समानताका लागि उत्प्रेरकका रूपमा काम गर्दै आएको छ ।

मानव अधिकारको विश्वव्यापी घोषणापत्रमा समावेश गरिएका जम्मा ३० वटा अधिकारहरूमा बाँच्न पाउने अधिकार, स्वतन्त्रता र गोपनीयताको अधिकार; अभिव्यक्ति र धर्मको स्वतन्त्रता; दासत्व, यातना र स्वेच्छाचारी थुनाबाट स्वतन्त्रता; र आफ्नो सरकारमा भाग लिन पाउने एवं स्वतन्त्र तथा स्वच्छ निर्वाचनमा मतदान गर्ने अधिकारजस्ता नागरिक तथा राजनीतिक अधिकार छन् ।

मानव अधिकारको विश्वव्यापी घोषणापत्रमा हस्ताक्षर भएको लगभग ७५ वर्षपछि समेत कुनै पनि राष्ट्रले उक्त घोषणापत्रका आकांक्षालाई पूर्ण रूपमा पूरा गर्न सकेको छैन । पछिल्ला केही वर्षमा मात्रै संयुक्त राज्य अमेरिकाले जातीय समानताका लागि गर्नुपरेको संघर्षको साक्षीका रूपमा सिंगो विश्व उभिएको छ । अमेरिकामा विद्यमान लैंगिक असमानता पुरुष र महिलाको आम्दानीबीचको खाडलबाट स्पष्ट देखिन्छ । र हाम्रो आफ्नै लोकतन्त्रले परीक्षाका कठिन घडीहरू पार गरेको छ । यस वर्षको मानव अधिकार दिवससँगै सबै राष्ट्रले मानव अधिकारको विश्वव्यापी घोषणापत्रको अर्थमाथि चिन्तनमनन गर्ने र यसका सिद्धान्तप्रतिका आफ्ना प्रतिबद्धतालाई पुनर्पुष्टि गर्ने समय आएको छ । उक्त घोषणापत्रमा हस्ताक्षर भएदेखि विश्वले धेरै लोकतान्त्रिक सरकारहरूबाट लाभ लिएको छ र सबै व्यक्तिको अविच्छिन्न अधिकार, समानता र स्वतन्त्रतालाई स्वीकार गर्ने नियममा आधारित विश्व व्यवस्थाबाट धेरै फाइदा उठाएको छ । तर पनि आज विश्वव्यापी रूपमा मानव अधिकारको नियमित हनन भइरहेको छ ।

युक्रेनमा रुसको अप्रत्याशित आक्रमणले एउटा लोकतान्त्रिक राष्ट्रलाई उसको सार्वभौमसत्ताबाट र युक्रेनी जनतालाई उनीहरूको जीवन र स्वतन्त्रताको अधिकारबाट वञ्चित गरेको छ । इरानमा अधिकारीहरूले शान्तिपूर्ण नागरिक प्रदर्शनविरुद्ध हिंसा बढाए । र संसारका अन्य भागमा तानाशाही व्यवस्थाहरूले मौलिक स्वतन्त्रताहरूलाई खतरामा पार्ने क्रम जारी नै छ । महामारीले यी चुनौतीहरूलाई झन् बढाएको छ । केही सरकारले आफ्ना नागरिकमाथि थप प्रतिबन्ध लगाउनका लागि संकटकालीन व्यवस्थाको दुरुपयोग गरेका छन् ।

संयुक्त राज्य अमेरिका र अन्य साझेदार तथा लोकतान्त्रिक सरकारहरू सधैं आफ्ना आदर्शहरूलाई हासिल गर्न सफल नभए पनि यस विश्वव्यापी मानव अधिकारप्रतिको हाम्रो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको निरन्तर प्रतिबद्धताका माध्यमबाट हामी मानव अधिकारको विश्वव्यापी घोषणापत्रका सिद्धान्तहरूको उपयुक्त सम्मान गर्न सक्छौं । मानव अधिकारको संरक्षण र समर्थनका लागि नेपालमा सरकार र नागरिक समाजसँग साझेदारी गर्न पाउँदा हामीलाई गर्व लागेको छ । नेपालको संविधानले मानव अधिकार संरक्षणका लागि थुप्रै व्यवस्था गरेको छ । ती सबै व्यवस्थाको सायद पूर्ण कार्यान्वयन भइनसके नि नेपाल सरकार आफ्ना जनताको अधिकारलाई सुदृढ र संरक्षण गर्न निरन्तर प्रयास गर्दै यस क्षेत्रमा एउटा प्रेरणादायी उदाहरण बनेको छ ।

नेपाल सरकार र स्थानीय साझेदारसँगको यूएसएआईडीको विकास कार्यले स्वास्थ्य र शिक्षामा पहुँच बढाएको छ, लोकतान्त्रिक प्रक्रिया र सामाजिक समावेशीकरणलाई बलियो बनाएको छ र आर्थिक विकासका लागि थप अवसर प्रदान गरेको छ । अमेरिका र नेपालका कानुन कार्यान्वयनकर्ताले मानव बेचबिखनविरुद्ध लड्न र विधिको शासनलाई बलियो बनाउन सहकार्य गरेका छन् । पछिल्ला दुई वर्षमा अमेरिकी विदेशमन्त्रीले दुई नेपाली महिला भूमिका श्रेष्ठ र मुस्कान खातुनलाई किशोरी, महिला तथा एलजीबीटीक्यूआई प्लस समुदायको मानव अधिकारका लागि लड्नमा उहाँहरूको नेतृत्वदायी भूमिकाका लागि सम्मानित गर्नुभएको छ । सबै सरकारले आफ्ना जनताको मानव अधिकारको रक्षा गर्नुपर्छ । यो एउटा आधारभूत अवधारणा हो, तर त्यस्तो अवधारणा जसलाई हामीले निरन्तर दोहोर्‍याउनुपर्छ । मानव अधिकारको सम्मान नै राष्ट्रहरूबीचको दिगो शान्ति र समृद्धिको अपरिहार्य अंश हो । यस वर्षको मानव अधिकार दिवसमा हामीले आफैंतिर हेर्नुपर्छ र आफैंलाई सोध्नुपर्छ– मानव अधिकार र सबै व्यक्तिको मौलिक स्वतन्त्रताको सम्मान, प्रवर्द्धन र संरक्षण गर्न हामीले पर्याप्त प्रयास गरिरहेका छौं कि छैनौं ?

थम्पसन नेपालका लागि अमेरिकाका राजदूत हुन् ।

प्रकाशित : मंसिर २३, २०७९ ०७:५६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×