भूमिहीन दलित कहाँ लाग्नु ओत !- विचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भूमिहीन दलित कहाँ लाग्नु ओत !

मधु शाही

काठमाडौंस्थित सिनामंगलको सुकुम्बासी टहरामा बस्छन्, २५ वर्षीय शिव सार्की । उनले आफ्नो पुर्ख्यौली थलो सिन्धुलीमा रहेको सुनेका छन् तर जानेबुझेदेखि नै सुकुम्बासी छन् । बाबुआमाले मजदुरी गरेर उनलाई १२ कक्षासम्म पढाए । त्यहाँबाट शैक्षिक उकालो लाग्न उनलाई आर्थिक अवस्थाले दिएन ।

साँझबिहान छाक टार्नुपर्ने बाध्यतामाझ पढाइको उचाइ उनीजस्ता भूमिहीन दलितका लागि दुःस्वप्न नै हो । झरी पर्दा चुहिने छानोमुनि रात बिताउँदा शिवलाई त्यति पीडा भएन, जति आर्थिक अभावकै कारण फार्मेसी पढ्ने उनको रहर अपुरो रह्यो । ‘जग्गा मात्रै भएको भए बैंकमा धितो राखेर भए पनि पढ्न पाउँथें,’ उनी भन्छन्, ‘जग्गा नहुँदा न पेटभरि खान पाइएको छ, न पढ्न ।’

भूमिमाथिको स्वामित्व नहुँदा लाखौं दलितका सपना अपुरै छन् । शिक्षा लिन होस् या अर्थोकमा, भूमि अपरिहार्य छ । बाँकेस्थित कोहलपुर नगरपालिकाको प्रेमनगरका दिनेश परियार तीन पुस्तादेखि जग्गाविहीन छन् । उनका बाजे दैलेखबाट जीविकोपार्जनका लागि भारत पुगे । भारतमै मजदुरी गर्दै उतै जीवन बिताए । दिनेशका आमाबुबा बाँकेमा सुकुम्बासी भई बस्न थाले । ऐलानी जग्गामा छाप्रो बनाएका उनीहरू पटक–पटक लखेटिँदै, फेरि बस्दै आएका छन् । बासकै ठेगान नहुनुको पीडामा दिनेशको पढाइ अलपत्र छ । ९ कक्षासम्म मात्रै पढ्न सकेका उनी परम्परागत सिलाई पेसा गर्दै आएका छन् । अब कतैबाट पैसा जुटाएर बिदेसिने सुर कस्दै छन् । विदेशको कमाइले जग्गा किन्ने उनको ठूलो इच्छा छ । भूमिहीन दलितहरूलाई सरकारले जग्गा दिने भन्दै धेरै पटक नेताले आश्वासन दिए, दिनेशहरूले भोट हालेर जिताए पनि । तर, अब थाकिसके । ‘जग्गाले आत्मनिर्भर बनाउँथ्यो होला’, उनी भन्छन्, ‘बास छैन, गाँस छैन । शिक्षा त झन् परैको कुरो हाम्रो लागि ।’

भूमि नभएकै कारण समाजमा दिनेशहरूले अनेक थरीका विभेद भोग्दै आएका छन् । भूमिमाथिको स्वामित्व नहुँदाको पीडा शिव र दिनेशजस्ता मुलुकका झन्डै ७० प्रतिशत दलितले भोग्दै आएका छन् । राष्ट्रिय जनगणना–२०६८ अनुसार दलितको कुल जनसंख्या १३.८ प्रतिशत अर्थात् ४१ लाख २४ हजार ३९ छ । संविधानले दलितमाथि गरिने सामाजिक विभेदको निर्मूल गरी समाजलाई समतामूलक बनाउन पर्याप्त अधिकार प्रत्याभूत गरेको छ । तैपनि सामाजिक तथा सांस्कृतिक, शैक्षिक, मानव विकासका दृष्टिले बहिष्करण र वञ्चितीकरणमा परिरहेकै छन् उनीहरू ।

मानव अधिकारको मूल आधार भूमि हो । भूमिले बास र गाँस दुइटैमा पहुँच स्थापित गर्छ । सामाजिक र शैक्षिक प्रतिष्ठा जोड्ने तत्त्व पनि भूमिमै छ । राष्ट्रिय मानव अधिकार आयोगले तयार पारेको दलित समुदायको मानव अधिकारको अवस्था प्रतिवेदन (२०७६–७७) अनुसार पहाडमा १५.३२ प्रतिशत र तराईमा ४४ प्रतिशत दलित भूमिहीन अवस्थामा छन् । यसमा पनि कृषि भूमिहीन दलित पहाडमा ७७ प्रतिशत र तराईमा ९० प्रतिशत छन् । त्यस्तै, राष्ट्रिय दलित आयोगले कुल जनसंख्याको २३ प्रतिशत दलितसँग एक टुक्रा पनि जग्गा नभएको दाबी गर्दै आएको छ ।

अनुसन्धानकर्ता पूर्ण नेपालीका अनुसार, ८७ प्रतिशत दलित भूमिहीन छन् भने १३ प्रतिशत गैरदलित भूमिहीन छन् । भूमिमाथि पहुँच नभएकै कारण दलितहरू जमिनदारकहाँ कामदार बनेका छन् । अधिकांश दलित कि त भूमिहीन सुकुम्बासी कि अत्यन्त कम जग्गा भएका किसान छन् । आफ्नो जग्गाजमिनको उत्पादनले जीविकोपार्जन हुँदैन । त्यसैले अरूका जग्गामा काम गरी हातमुख जोर्नुपर्ने बाध्यता छ ।

अधिकारकर्मी आहुति दलित वर्णव्यवस्था सुरु भएदेखि नै दलित भूमिहीन भएको बताउँछन् । झन्डै तीन हजार वर्षदेखि दलितलाई राज्यले नै सुव्यवस्थित तवरमा भूमिहीन बनाउँदै आएको हो । २०६२–६३ सालपछिको राजनीतिक परिवर्तनसँगै भूमिहीन दलित समुदायलाई क्षतिपूर्तिस्वरूप जग्गाजमिन उपलब्ध गराउनुपर्ने नीतिगत निर्णयहरू भएका छन् । नेपालको संविधानले दलितको भूमि अधिकारमा विशेष व्यवस्था गरेको छ, राज्यले भूमिहीन दलितलाई कानुन बनाएर एक पटक भूमि उपलब्ध गराउनुपर्ने भनेको छ । सुकुम्बासी आयोग नै गठन गरिएको छ । दलितको भूमिमाथिको अधिकार मौलिक हकमा सुनिश्चित गरेर राज्यले सकारात्मक विभेदको सन्देश दिन खोजे पनि कानुन बनाएर भूमि दिने भन्ने शब्दावलीले फेरि दलितको हकमाथि अंकुश लगाउन खोजिएको आहुतिको बुझाइ छ । कानुन बनाएरै कसलाई जमिन दिने या नदिने भन्ने नियमबाट दलित समुदायको मौलिक अधिकार कुण्ठित हुन सक्ने उनको तर्क छ । ‘कानुन बनाएर ढिलाइ गर्न पाइने, राज्यको निम्ति बाध्यकारी नहुने भयो’, उनी भन्छन्, ‘यी शब्द भूमिहीन दलितका लागि घातक छन् ।’

सरकारले गरेको गरिबी सम्बन्धी विश्लेषणमा आर्थिक वर्ष २०७४–७५ मा नेपालको करिब १८.७ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि छ । त्यसमा पनि दलित समुदाय सबैभन्दा पीँधमा छ । गरिबी निवारणका सरकारी नीतिहरूमा विपन्न र गरिब वर्गप्रति विभिन्न स्वरूपमा हुने सबै प्रकारका विभेदको अन्त्य गर्ने उद्देश्य राखिने गरेको छ । तर त्यस्ता उद्देश्य पूर्तिका लागि पनि भूमिहीन दलितका समस्या समाधान हुन आवश्यक छ ।

भूमिहीन दलितले हातमुख जोर्नै समस्या झेल्नुपरेका बेला शिक्षाको खुट्किला चढ्नु असम्भवजस्तै हो । यद्यपि संविधानको धारा १८ ले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहको शिक्षा अनिवार्य हुनुपर्ने व्यवस्था गरेको छ । माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने हकको व्यवस्था गरेको छ । मानव अधिकारको प्रतिवेदनले पनि भूमिहीनता, गरिबी र आर्थिक अभावका कारण दलितका अन्य सामाजिक पाटासँगै शैक्षिक विकासमा बाधा पुगेको प्रस्ट पारेको छ । दलितहरूको साक्षरता दर ५२.४ प्रतिशत मात्र छ जबकि राष्ट्रिय औसत ६५.९ प्रतिशत छ । त्यसमा पनि तराईका दलितको साक्षरता दर जम्मा ३४.५ प्रतिशत छ । प्राथमिक तह पढ्ने दलितहरू अलि बढी नै देखिए पनि १० कक्षासम्म पुग्नेहरूको संख्या १.६ प्रतिशत छ । त्यो दर स्नातकसम्म पुग्दा ०.८ प्रतिशत पुग्छ । दलित महिलाको साक्षरता दर ४५.५ प्रतिशत मात्र छ ।

पूर्ण नेपालीको शोध पुस्तक ‘एक्सेस अफ दलित कम्युनिटी टु ल्यान्ड एन्ड दलित इन्क्लुजन एन एनालाइसिस फ्रम इन्टरसेक्सनालिटी पर्स्पेक्टिभ’ अनुसार, भूमिहीन दलितको संख्या मधेश प्रदेशमा सबैभन्दा बढी ५८.४१ प्रतिशत छ । सातै प्रदेशको अध्ययन गर्दा पहाडे दलितमध्ये २९.७४ प्रतिशत भूमिहीन छन् । दार्चुला जिल्लामा ४२ प्रतिशत दलित भूमिहीन छन्, भूमि भएकासँग पनि कृषियोग्य जग्गा २ रोपनीभन्दा कम छ । त्यस्तै, कैलालीमा ७१ प्रतिशत दलित समुदायसँग जग्गाधनीपुर्जा छैन, तीमध्ये जम्मा १.१ प्रतिशतले भूमिका लागि सुकुम्बासी आयोगमा निवेदन दिएका छन् । भूमि नभएकै कारण उनीहरू शैक्षिक, सामाजिक, आर्थिक र समावेशीकरणजस्ता विषयमा पछि परेका छन् ।

नेपाल मधेश फाउन्डेसनको ‘सिचुएसन अफ मधेशी दलित्स अफ मधेश प्रोभिन्स’ शीर्षक अनुसन्धान अनुसार, मधेशमा ६४.१ प्रतिशत दलित साक्षर छैनन् । स्नातक गरेका १.२ प्रतिशत मात्रै छन् । अनुसार मधेशी दलितको सामाजिक स्तर कमजोर देखिनुको मूल कारण आर्थिक अभाव भएको अनुसन्धानकर्ता एवं अधिकारकर्मी हीरालाल विश्वकर्मा बताउँछन् । आर्थिक अभाव हुनुको मूल कारण भूमिहीन हुनु नै हो । मधेशका ५५.२ प्रतिशत दलितले मोही, गुडी, जमिनदार, ऐलानीका रूपमा बिनालालपुर्जा जग्गा उपभोग गरिरहेका छन् ।

संविधानले दलितलाई एक पटक भूमि दिने नीति ल्याए पनि त्यसको व्यावहारिक कार्यान्वयन हुन सकेको छैन । आर्थिक रूपले सबल नहुँदासम्म कुनै पनि समुदायको अस्तित्वरक्षा जटिल हुन्छ । त्यसैले भूमिहीन बनाइएका सीमान्तीकृत दलित समुदायलाई न्याय भनेकै जमिन उपभोग गर्ने वातावरण बनाइदिनु हो । बस्ने थलो नभएका समुदायले समाजमा कस्तो परिवर्तन ल्याउलान् ? र राज्यले उनीहरूको समृद्धिको अपेक्षा कहिलेसम्म गर्न मिल्छ ?

प्रकाशित : मंसिर २२, २०७९ ०८:००
प्रतिक्रिया
पठाउनुहोस्

‘आमा ! रगत त उसको पनि रातै छ’

हाम्रो आँखामा आँसु थियो । आमाको आँखामा आक्रोशको, मेनुकाको आँखामा विद्रोहको र मेरो आँखामा विभेदको ।
मधु शाही

कक्षामा ऊ अरू विद्यार्थीभन्दा भिन्न थिई । रूपदेखि व्यवहारसम्मै बेग्लै । हेर्नमा अरू सग्ला थिए– नाक, मुख, आँखा, कान, हात–खुट्टा सबै सलक्क परेका । तर, उसका आँखा फरक थिए । तिनलाई सामान्य बोलीचालीमा ‘डेरा आँखा’ भनिन्थ्यो । एकातिर हेर्दा अर्कैतिर हुन्थे आँखाका नानी । उसलाई स्कुलमा सबैले जिस्क्याउँथे, होच्याउँथे– डेरी भन्दै ।

‘डेरी’ हुनु उसको दोष थिएन । तर, समाज उसको एक अंगकै कारण ऊमाथि अपराध–भाव महसुस गराइरहन्थ्यो । ऊ दिक्क मान्थी । भन्थी, ‘यस्ती किन जन्मेकी हुँला है ! बहिनी कत्ति राम्री छ, मचाहिँ... !’ यो आखिर कहिल्यै उत्तर नआउने जटिल प्रश्न थियो ।

आँसुले टम्म भएका उसका आँखा हेर्दै म भन्थें, ‘तँलाई गाजल खुब सुहाउँछ, लगाउन नछुटाएस् है !’ ऊ अर्थात् मेरी प्रिय सखी मेनुका रुँदारुँदै मुसुक्क हाँस्थी । उसलाई थाहा थियो– यस्ता कुरा गरेर म उसलाई खुसी पार्न चाहन्छु । ओठमा लाली र आँखामा गाजल कहिल्यै छुटाउँदिनथिई । स्कुलमा पढ्न होइन, साथीहरूसँग गफिन मन लाग्थ्यो । म स्कुल नगएको दिन उसलाई अँध्यारो–अँध्यारो लाग्थ्यो रे । मेरो पनि उस्तै थियो अवस्था । ऊसँग जति खुसी अरू साथीसँग म हुन्नथें ।

घरमा पाकेको मीठो खाना कापीका पानामा पोको पारेर स्कुल ल्याउँथी ऊ मात्र मलाई चखाउन । रूखमा फलेका अमिलाका डल्ला, बेलौतीका दाना (अम्बा), सिलौटामा पिसेको नुन र चुक ! कहिलेकाहीँ भुटेको मकै–भटमास । उसको र मेरो मित्रतादेखि जल्थे अन्य साथीहरू । केही मेरो कानमा सुटुक्क भन्थे– यो डेरीसँग किन संगत गरेकी ? हामी छैनौं र ?

मेनुकाको शरीर र अंगहरूसँग मेरो चासो, लगाव थिएन बरु लगाव थियो उसको हार्दिकतासँग । उसको हृदय विशाल थियो, साँच्चै विशाल । मानवताको उच्चतम नमुना थिई ऊ । ऊ ब्राह्मण परिवारकी, म दलित परिवारकी । तर, मेनुकाको सोच भिन्न थियो । म दलित हुँ भन्ने आभास उसले कहिल्यै गराइनँ । असलमा ऊ एक क्रान्तिकारी थिई, जो समाज अब फेरिनुपर्छ भन्थी । साथीको आत्मसम्मानका लागि परिवारसँग जुध्ने हिम्मत जुटाएकी थिई । उसको त्यो साहस मेरो स्मृतिमा बेलाबेला ओहोरदोहोर गरिरहन्छ ।

...

हाम्रो स्कुल थियो– पाल्पा, अर्गली–३ साविक तानसेन नगरपालिका–१४ को त्रिभुवन माध्यमिक विद्यालय । मेनुका किसान परिवारकी थिई । घाँस–दाउरा, घर–धन्दा नसके स्कुल आउन मुस्किल थियो उसलाई । घाँस–दाउराको चक्करमा कहिलेकाहीँ त उसको स्कुलै छुट्थ्यो । ‘हिजो स्कुल किन नआएकी ?’, मेरो प्रश्नमा मेनुका निराश हुन्थी, ‘खरबारीबाट घाँस काट्दै ढिला भयो बाई ।’

एक दिनको उसको अनुहारको चमक खुब सम्झना आउँछ । त्यो दिन मेनुका असाध्यै खुसी थिई । स्कुल हाफ छुट्टी भएपछि बारीको डिलमा बसेर खुसी हुनुको राज खोली उसले । उसको हातमा एउटा चिठी थियो । हवाइजहाज उडिरहेको चित्र भएको, रातो र गाढा नीलो घेरा भएको रंगीन खाम मलाई थमाई उसले । त्यसमा के लेखिएको थियो ? मलाई चासो थिएन । तर, मेनुकाको अनुहारमा झल्किएको खुसीले मेरो उत्सुकता बढ्यो चिठी पढ्न ।

‘प्रिय मेनुका... सागरझैं गहिरो माया र सम्झना छ...,’ चिठीको पहिलो हरफ थियो । ऊ मख्ख थिई । ‘बाई उसले माया गर्छ रे मलाई’, ऊ भन्दै गई, ‘भेट्छु भन्छ, म भेट्दिनँ मात्रै लेखेर चिट्ठी पठाउँछु ।’ उसको चित्तमा डर थियो– भेटेपछि आँखाकै कारण उसको प्रेमी छुट्ला भन्ने । ऊ चाहन्थी– आफूलाई माया गर्नेहरू सधैं साथ रहून् । तर, चाहनाले मात्रै के हुन्छ ? उसको र मेरो पनि विछोडको बेला आयो । कक्षा ८ पास गरेपछि थप पढ्न म काठमाडौं जाँदै थिएँ । यो कुराले मेनुकाको मन पोल्यो । ८ कक्षाको नतिजा आएको दिन उसले मलाई आफ्नो घर लिएर गई । घरमा उसकी आमा थिइन्, गोठमा भैंसीलाई कुँडो खुवाउँदै । मेनुका सरासर घरभित्र पसी । स्कुलका लुगा फेरी । म पिँढीमा टुसुक्क बसेकी थिएँ, रातो माटाले लरक्क लिपपोत गरिको चिसो भुइँमा । उसले मलाई चकटी दिई, बस्न भनी । र, मेरै लागि खाजा बनाउन भान्सा पसी ।

गोठमा व्यस्त थिइन् आमा । आमाको आँखा छलेर उसले मलाई भान्सामा बोलाई । म डरले थुरथुर भएँ । गोठतिर हेर्दै मैले उसलाई भान्सा नपस्ने इसारा गरिरहेँ । खै किन हो, त्यो दिन ऊ साह्रै जिद्दी भई । आमाकै अघि घरभित्र बोलाउने आँट गरी । मैले मान्दै नमानेपछि आफैं घरको संघार नाघेर पिँढीमा आई । चपक्क हात समाएर भित्र लैजान खोजी । म अनकनाइरहेँ । उसकी आमाले घर पस्न दैलो टेक्दै गरेको अवस्थामा हामीलाई देखिन् । ‘ऐ अलच्छिनी हो ! तिमारुले के गरेको ?,’ आमा रिसले चर्को स्वरमा कराइन् । मेनुकाले मेरो हात छाडी, मैलेचाहिँ उसलाई तानेर पिँढीमा ल्याएँ ।

‘उसलाई भित्र लान किन हुँदैन र आमा ?’ मनेकाले गम्भीर प्रश्न गरेकी थिई त्यो दिन । आमाको जवाफ थियो, ‘पापिनी धर्मकर्म बिर्सिस् !’ मेनुका क्रान्तिकारी सुनिई, ‘अनि उसको पनि हात काटे रगत रातै आउँछ नि हाम्रोजस्तै ।’

आमा झनै चिढिइन् । गोठका चिरुवा दाउरा ट्याप्प टिपेर अन्धाधुन्ध मेनुकातिर फालिन् । मेनुकाको फ्रक छुँदै दाउरा परतिर हुत्तियो । आमाको रिस अझै मरेन, ‘त्यसो भए भैंसीको रगत पनि रातै हुन्छ, भैंसीलाई घरभित्र राख्छेस् त ?’

आमासँगको युद्धमा मेनुका हारी । तर, उसको हिम्मत र मानवताप्रतिको त्यो सम्मान–भाव सधैं सम्झनयोग्य छ । जात व्यवस्थाले त्यहाँ हामी तीनै जना पीडित थियौं । तीनै जनाको आँखामा आँसु थियो– आमाको आँखामा आक्रोषको, मेनुकाको आँखामा विद्रोहको र मेरो आँखामा विभेदको । दलित भएकै कारण मैले विभेदको त्यस्तो पीडा पहिलो पटक भोगेकी थिएँ । जनावरसँग मान्छेको यसरी तुलना गरिँदा मेरो बालमस्तिष्कमा कस्तो प्रभाव पर्‍यो ? त्यसको हिसाब कसले राख्ने ? अनि त्यो दिन मेनुका रुँदै पिढीमा थचक्क बसी, म रुँदै घरतिर लागेँ ।

आँखा अरुभन्दा फरक भएकैले घरमै विभेद खेपेकी थिई मेनुकाले । तिरस्कारले थोपरेको गहिरो पीडा थियो उसमा । दलित परिवारमा जन्मेकै कारण मेनुकाजस्तै विभेदको पीडामा थिएँ म । दुवैभित्र उस्तैउस्तै घाउ थियो । त्यसैले हामी मित्र थियौं । जीवनमा थुप्रै साथी बने, तर मेनुका सधैं मेरो स्मरणमा छे । पढे–लेखेका, सभ्य भाषा बोल्ने सबै मान्छे चेतनशील हुँदैनन्– ‘सभ्यहरूको सहर’ काठमाडौं आएपछिको मेरो बोध हो यो । ‘छुवाछूत म गर्दिनँ, आमाबुबाको मन दुखाउन सक्दिनँ’ भन्छन् ‘सभ्य’ सहरका अधिकांश युवा ।

एउटा गोष्ठीमा मेरी सहकर्मीले भनेकी थिई, ‘ल हेर्नुस् मैले दलित साथी बनाएकी छु, कहाँ छ विभेद ?’ विभेद शब्दमा छ, आशय र भावमा पनि छ । त्योबेला मैले मेनुकालाई सम्झिरहेँ । उसको निष्कपट विद्रोह सम्झिरहेँ । त्यो विद्रोह केवल मानवताको पक्षमा थियो । चेतनाका हिसाबले सहरका ‘सभ्य’ भन्दा धेरै माथि थिई ऊ । मिस यु मेनुका !

प्रकाशित : मंसिर १७, २०७९ ११:१७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×