नारायणी किनार बचाऊ !- विचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नारायणी किनार बचाऊ !

भरतपुर महानगरले दिएको अनुमति र तत्परतामा उद्योग वाणिज्य संघमार्फत नारायणी नदीकिनारामा फालिएको एक सय पचास टनको फोहोरको मूल्यमा भोलि प्रकट हुने राष्ट्रिय–अन्तर्राष्ट्रिय चासो, बहस र सार्वजनिक जवाफदेहीको कठोर सवाल सम्बन्धित सबैका लागि ‘महँगा’ पर्नेछन् ।
सरिता तिवारी

केही दिनयता चितवनका पर्यावरणकर्मीहरू भरतपुर महानगरतर्फ फर्किएर महानगर स्वयं संलग्न एउटा गम्भीर त्रुटिपूर्ण पर्यावरणीय मुद्दाको जवाफदेही खोजिरहेका छन् । त्यो जवाफदेही औद्योगिक र व्यावसायिक समृद्धिको लक्ष्यसँगै जोडिएर आउने पर्यावरण र मानव संरक्षणमुखी दीर्घकालीन विकासको चिन्ताले प्रेरित छ ।

यसबाहेक त्यसमा कुनै राजनीतिक निहितार्थ या साध्य साध्ने गतिविधिको गन्ध अहिलेसम्म भेटिएको छैन । तर स्थानीय सरकार सम्हालेका मानिसहरू भने आफूले गरेका/ गर्न लगाएका गतिविधिमाथि प्रश्न उठ्नासाथ त्यसलाई राजनीतिक विरोधीहरूका निहित स्वार्थप्रेरित क्षणिक आलोचनाभन्दा फरक अर्थमा बुझ्न तयार देखिँदैन ।

मुद्दा हो- केही दिनअघि नारायणी किनारस्थित प्रदर्शनी मैदानमा गएका वर्षहरूमा बाढीले बनाएका खाल्डा पुर्ने भन्दै झन्डै एक सय पचास टन फोहोर ओछ्याइएको प्रकरण । उद्योग वाणिज्य संघ, चितवनको अगुवाइमा हरेक दुई वर्षमा आयोजना हुने चितवन महोत्सव यस पटक पुस २५ देखि माघ ४ सम्म गर्ने निश्चित भएपछि प्रदर्शनीस्थल तयार गर्ने क्रममा यसो गरिएको थियो । यस विषयमा सार्वजनिक प्रश्न उठ्दा भरतपुर महानगरपालिका, सहरी विकास मन्त्रालय, नारायणी तटबन्धन आयोजना कार्यालय र पर्यटन विभागसमेतको संलग्नता र सल्लाहमै यसो गरिएको भन्ने नगरप्रमुख रेणु दाहालको नामबाट फेसबुक टिप्पणी आयो । यसलगत्तै बेटर चितवन लगायतका पर्यावरणीय सरोकारमा कार्यरत संस्थाका अभियन्ताहरूले लगातार नारायणी किनार र महानगरपालिका परिसरमै शान्तिपूर्ण विरोध प्रदर्शन गरिरहेका छन् । चितवनका संरक्षणकर्मी, पत्रकार, बुद्धिजीवीले सार्वजनिक वृत्तमै राखिरहेका चासो र प्रश्नहरूलाई बेवास्ता गर्दै सम्बन्धित निकायहरूले देखाएका व्यवहार भने भरतपुर महानगरपालिका स्वयंले बनाएका संरक्षण ऐन, प्रारम्भिक वातावरणीय परीक्षण सम्बन्धी कार्यविधिका साथै नारायणी नदी व्यवस्थापन र सञ्चालन कार्यविधिको खिलाफमा छन् ।

नदीको तटक्षेत्र जहाँसुकैको होस्, त्यो आफैंमा मानव र जीवजन्तुका लागि संवेदनशील स्थल हुँदै होÙ त्यसमा पनि नारायणी नदीले सँगेटेको किनाराको भूभाग अढाई दशकयता मानिसहरूको नियमित चहलपहल हुने, गर्मीमा शीतल हावाका लागि र जाडोमा घाम ताप्न नगरवासी र आगन्तुकको समेत प्रिय थलो बन्दै आइरहेको छ । पछिल्लो समय विभिन्न औद्योगिक प्रदर्शनी, आमसभा, धार्मिक कार्यक्रम, सांगीतिक कन्सर्ट र महोत्सवहरूका लागि भरतपुर क्षेत्रमा रोजिने पहिलो ठाउँ यही हो । पर्यटन प्रवर्द्धनका कोणबाट समेत राम्रै मुनाफा आर्जन गर्न, नदीजन्य र नदीकिनारामा कारोबार गराउन स्थानीय तह र उद्यमी–व्यवसायीको ध्यानाकृष्ट भइरहेको र चहलपहल पनि बढिरहेको तथ्य नारायणी किनारको उपयोग सम्बन्धी बनाइएका नीति र गतिविधिहरूले बताउँछन् ।

त्यसो त बढ्दो सहरीकरणसँगै त्यहाँ बसोबास गर्ने मानिसहरूबाट उत्पादित फोहोरको व्यवस्थापन जहाँसुकै चुनौतीको विषय भइरहेकामा दईमत छैन । गाउँहरू क्रमशः खाली हुने र सहरहरू भरिँदै जाने वा गाउँहरूले अर्धसहरीकरण र नगरोन्मुख हुँदै रूप फेर्ने क्रम बढिरहँदा हरेकजसो स्थानीय तहका लागि त्यहाँ उत्पादित फोहोरको उचित व्यवस्थापन एउटा जटिल मुद्दा बन्ने गरेकामा पनि द्विविधा छैन । ससाना विकास आयोजनालाई समेत विदेशीको मुख र मुड हेर्नुपर्ने नियति बेहोरिरहेका आम नेपालीजनलाई आफैंले घर, होटल र उद्योग क्षेत्रबाट निकालेका फोहोरको उचित व्यवस्थापन, व्यवस्थित प्रशोधन र पुनर्नवीकरण गर्न विदेशी सहयोग र सदाशय नै कुर्नुपर्ने लाचार स्थिति पनि कसैबाट लुकेको छैन । यस्तो परिस्थितिमा भरतपुर महानगर मात्रै यसबाट अछुतो रहनुपर्छ भन्ने जिकिर गरिएको होइन तर अघिल्लो कार्यकालमै विश्व बैंकको दस करोड रुपैयाँ सहयोगमा पच्चीस करोड रुपैयाँ लागतको व्यवस्थित ल्यान्डफिल साइट निर्माण गर्ने भनी दाबी गरिएको परियोजनात्मक लक्ष्य अलपत्र पारेर भरतपुर महानगर फोहोर व्यवस्थापनमा लगातार चुकिरहेको तथ्य भने यहाँनेर स्मरण गर्नैपर्ने हुन्छ ।

जनसंख्याका दृष्टिले देशको तेस्रो ठूलो स्थानीय तह भए पनि भरतपुर अहिलेसम्म स्थानीय चिनारीका लागि राज्यपक्षले निर्माण गर्ने पूर्वाधार र सुविधाको जग बसाउन नसकेको ठाउँ नै हो । विगतमा कृषि र कृषिजन्य उत्पादनका लागि ख्याति कमाएको पश्चिम चितवनसमेत समेटिएको भरतपुर अहिले घडेरी व्यवसायको उर्वर थलो बनेको छ । यहाँको जमिन टुक्रिएर सकिँदै छ । जनसंख्याको चाप लगातार बढ्दै छ । कृषिजन्य उत्पादनका आधारहरू क्रमशः निख्रने क्रममा छन् । तर यो चिन्ताभन्दा पर ‘दक्षिण एसियाकै उत्कृष्ट मोडलको सहरी विकास गर्ने’ भन्दै भोट माग्दा दोस्रो कार्यकालका लागि पनि नगरवासीले रेणु दाहाललाई नै अनुमोदन गर्नुको अर्थ सडक, शिक्षा, स्वास्थ्य, पर्यटन लगायत फोहोर व्यवस्थापनसमेतका पूर्वाधारहरू स्थापित गर्न उनले घोषणा गरेका र लक्ष्य लिएका योजना र कामहरूको परिणामकै लागि थियो । अहिले नै उनीमाथि धेरै नकारात्मक भैहाल्नु आवश्यक थिएन, काला बादलमा चाँदीको घेरा देख्ने पर्खाइ अझै कायम छ, तर महानगरले लगातार अघिल्लो र यो कार्यकालको यतिन्जेलको समय फोहोर व्यवस्थापनमा दीर्घकालीन परियोजनाको विषयलाई आश्वासन र पर्खाइमै झुलाएको मात्र नभई आफैंले बनाएका संरक्षणमुखी, पर्यावरणमैत्री ऐन र कार्यविधिको मर्म मर्ने गरी वर्षौंदेखि नारायणीका दुई भँगालाबीचको नगरवनमा फोहोर विसर्जन गर्दै आइरहेको तथ्य भने बिर्सन सकिँदैन ।

महानगरबाट निस्कने फोहोरको डम्पिङ र फोहोर वर्गीकरण गरेपछि प्रतिदिन चार हजार केजी मल र अठतीस सिलिन्डर ग्यास उत्पादन गर्ने गरी निर्माण हुने भनिएको प्रोजेक्ट बेवारिस हुँदा नारायणी नदीका बीचमा टापुजसरी रहेको नगरवन झन्डै डेढ लाख टन कुहिने/नकुहिने मानव मलमूत्रसमेत मिश्रित फोहोरको थुप्रोका कारण नजिकैको बस्ती मात्र होइन, वनजन्य र नदीजन्य जीवहरूका लागि खतराक्षेत्र बन्दै गइरहेको तथ्य पनि छँदै छ । यो तथ्यतर्फ धेरै कम मानिसहरूको मात्र आँखा पुगेको छ । भरतपुरका सडक र अन्य ‘देखिने विकास’ का अगाडि पर्यावरणमाथिको यो विनाशकारी गतिविधिबारे सरोकार राख्ने, प्रश्न सोध्ने र जवाफ खोज्ने मानिसहरूको वृत्त सानो भएकाले पनि यसमा सरकारी तहको लाजमर्दो उपेक्षा सम्भव भएको छ ।

सडक सञ्जाल लगायतका भौतिक निर्माण मात्रै ‘विकास’ हुन् भन्ने भाष्यले मतदाता र मत माग्ने दल, तिनका नेता–कार्यकर्ता सबैको ध्यान त्यतै खिचेको स्थितिमा दीर्घकालीन पर्यावरणीय प्रभावका विषय किनारामा धकेलिनु नयाँ कुरो होइन, तर यसरी प्रकृति, पर्यावरण र मानवीय संरक्षणलाई उपेक्षा गरेर सतहमा देखिने ‘विकास’ खतरनाक मोडतर्फ बढ्न लागेको पनि महसुस नगर्नुचाहिँ विडम्बना नै हो । यसमा राज्यको मात्रै होइन, जनसाधारणको विवेकसमेत पुगेको देखिन्न । तर अहिले आएर चितवन महोत्सव आयोजना गर्ने भन्दै नदीछेउमा रहेको प्रदर्शनीस्थलका खाल्डा पुर्नसमेत महानगरबाट निस्केको फोहोर प्रयोग गरिनु भरतपुर महानगरपालिका र सहरी विकास मन्त्रालयसहित राज्यका जिम्मेवार संस्थाहरूको हदैसम्मको विवेकहीनता र अदूरदर्शिता हो भन्न धेरै सोच्नै पर्दैन । माटो वा ग्राभेलले खाल्डा पुर्दा महँगो पर्ने भएकाले सुरुमा फोहोर ‘फिलिङ गर्ने’ र त्यसमाथि मात्रै माटाले सम्याउने गरी स्थानीय सरकार र सहरी विकास मन्त्रालयको संरक्षकत्वमा उद्योग वाणिज्य संघमार्फत गरिएको यो हर्कतबारे जानकारी हुनासाथ चितवनको एक तप्काका नागरिक पंक्ति र वातावरणकर्मीले आलोचना गरेकै हुन् । उक्त फोहोरलाई माटोले पुरिनसक्दै फोहोर निकालेर पुनः ढुंगामाटाले नै पुर्न सुझाव पनि दिएकै हुन् । तर ती आलोचना र सुझावलाई अटेर गर्दै आलोचकहरूलाई ‘नाटक नगरेको बेस’ भन्ने अशोभनीय जवाफ दिएरै पेल्नका लागि सामाजिक सञ्जालमा स्वयं नगरप्रमुखको नाम प्रकट हुनु अत्यन्तै दुःखद कुरा हो ।

यसै पनि भरतपुर महानगरपालिकाले फोहोर फाल्न हाल उपयोग गरिरहेको नगरवन क्षेत्र नै ‘नदी प्रणाली, ताल, सिमसार क्षेत्र, वन्यजन्तुको बासस्थल, धार्मिकस्थल, सम्पदा क्षेत्र लगायतका संवेदनशील स्थलमा फोहोर विसर्जन गर्न नहुने’ आधारभूत मान्यताविपरीत छ । यसमा आवाज उठ्दा वैकल्पिक स्थानको खोजी भइसकेको र कोरियाली सरकारको सहयोगमा छिट्टै आधुनिक ल्यान्डफिल साइट बन्ने आस्वासन दिएर महानगरले फोहोरको विषयलाई टालटुल पारिरहेको आरोप लगाउँदै संरक्षणकर्मीहरूले सार्वजनिक विरोधको आह्वानसहित विज्ञप्ति नै जारी गरेका छन् । नदीको इकोसिस्टमलाई गम्भीर क्षति गर्ने, जलीय प्रजातिलाई विषाक्त र नष्ट गर्ने, पानीमा हानिकारक विषादी मिसिएर त्यसको असर सतहको पानीमै समेत देखिने भएकाले हाल प्रदर्शनी मैदानका खाल्डा पुर्न उपयोग गरिएको फोहोर वातावरण र उपभोक्ता हितविपरीतको डरलाग्दो कदम हो भन्दै उनीहरूले तुरुन्तै त्यहाँको फोहोर निकालेर सुरक्षित विधिमार्फत सुरक्षित स्थानमै व्यवस्थापन गर्न आग्रह गरेका छन् । तर यस्तो आग्रहपछि पनि आफ्नो त्रुटिमा लज्जाबोध गर्दै यो विवेकहीनताको समीक्षा गरेर जनसरोकारलाई सम्बोधन गर्ने मुडमा न महानगर देखिन्छ न त उद्योग वाणिज्य संघ ।

यति बेला सार्वजनिक वृत्तका छलफलहरूमा भने नदीकिनाराका खाल्डा पुर्न चाहिने माटो नपाइएको भन्दै माटोको विकल्पमा फोहोरले खाल्डा पुर्ने काममा मुख मिलेका महानगर र उद्योग वाणिज्य संघको अटेरी र जनमतको अनादरलाई अर्थपूर्ण रूपमा विश्लेषण गरिएको छ । आमजनको सबैभन्दा नजिकमा रहेको स्थानीय सरकार सञ्चालन गर्ने वर्ग जनताले चुनेर पठाएका आफ्ना घरदैलामा ठोक्किइरहने प्रतिनिधिहरूको हो र उनीहरूले गर्ने सानाठूला सबै क्रियाकलापको ‘वाचडग’ र रचनात्मक प्रतिपक्षीका रूपमा सानै संख्यामा किन नहोस्, जागरुक नागरिकको तप्का सरकारबाहिर सतर्क अवस्थामै हुन्छ भन्ने हेक्का जनप्रतिनिधिलाई हुनैपर्छ । गर्भबाटै राज्याधिकार पाएर जन्मेको राजासमेत विवेकप्रेरित लोकमतको सम्मान गर्न नजान्दा आफ्ना पितापुर्खाले ‘आर्ज्याको सिंहासन’ बाट च्युत भएको भर्खरैको इतिहास देखेका शासकहरू आफ्नो तजबिजी अधिकारको दुरुपयोग गर्दै आम नागरिककका स्वस्थ आलोचना र विरोधलाई ‘नाटक नगर्ने’ चेतावनी दिन अलिकति पनि नहिचकिचाउनुलाई सहभागितामूलक लोकतन्त्रको मजाक उडाएको अर्थमै बुझिन्छ । यो आत्मकेन्द्री र निरंकुश शासनको बेरोकटोक अभ्यास गर्न पाउनुपर्छ भन्ने जिरह पनि हो । यस्तो जिरहलाई कुनै पनि तर्कबाट सही ठहर गर्न सकिन्न ।

आमजनको स्वास्थ्य, नदीको पारिस्थितिकीय प्रणाली र जैविक विविधताजस्तो गम्भीर प्रश्नमा हेलचेक्य्राइँ गर्दै आफूबाट भएको गल्ती स्वीकार गर्ने र त्यसलाई एक दिन पनि ढिलो नगरी सच्याउने विनम्रताबाहेक यो मुद्दाको अर्को निकास छैन भन्ने कुरा सम्बन्धित पक्षले राम्रोसँग बुझून् । होइन भने सार्वजनिक महत्त्वका विषयमा प्रश्न उठाउने र समाधान खोज्ने नागरिक अधिकारका न्यायिक मार्ग अरू पनि छन् । ‘घरदैलोको सरकार’ का रूपमा रहेको स्थानीय तहका प्रतिनिधिले आफैंले बनाएका कानुन र कार्यविधिको समेत बलमिच्याइँ गरेर नागरिकका आवाजलाई बेवास्ता गर्दै पेलेर अघि बढ्नु आफूबाहेक अरूको अस्तित्व र अभिमतलाई भुसुनाबराबर ठान्दै अस्वीकार र खारेज गर्न खोज्नु हो । भरतपुर महानगरले दिएको अनुमति र तत्परतामा उद्योग वाणिज्य संघमार्फत नारायणी नदीकिनारामा अहिले भएको यो सार्वजनिक अन्यायलाई तुरुन्तै सच्याइयोस् । अन्यथा यहाँ फालिएको एक सय पचास टनको फोहोरको मूल्यमा भोलि प्रकट हुने राष्ट्रिय–अन्तर्राष्ट्रिय चासो, बहस र सार्वजनिक जवाफदेहीको कठोर सवाल सम्बन्धित सबैका लागि ‘महँगा’ पर्नेछन् ।

प्रकाशित : मंसिर २०, २०७९ ०७:३७
प्रतिक्रिया
पठाउनुहोस्

टाक्सिँदो लोकतन्त्र, खस्किँदो चुनाव

सरिता तिवारी

आजको व्यवस्थाको हजार दोषहरूले भरिए पनि हामीसँग तत्काल यसको विकल्प छैन । देखेभोगेकै कुरा हो, उन्नत लोकतन्त्रको आधारशिला स्थापित गर्दै त्यसको मूल्य र गरिमा कायम राख्न दलहरू असफल भइरहेका छन् । लोकतन्त्र दिन–प्रतिदिन क्षय र विनाश मात्रै भोग्दै छ ।

दलविशेष या नेतृत्वविशेषका आधारभूत परिचय र चरित्र झन्डै गायब भएका छन् । उनीहरूले एकअर्काभन्दा फरक देखिने विभाजक रेखा नै हराएका छन् । सत्ताभोगका लागि जोसुकै पनि साझेदार र सहकारी बन्न सक्ने, चुनावी जितका लागि जो–जोसँग पनि मिल्न सक्ने भएपछि दलहरू केवल सत्तासुखका साध्य साध्ने प्रोजेक्ट मात्रै साबित भइरहेका छन् । हुँदाहुँदा दलहरूप्रति आलोचनात्मक हुँदै, सुशासन र भ्रष्टाचारविरोधी क्याम्प बनाउने भन्दै खोलिएका ‘स्वतन्त्र पार्टी’ का कथित ‘स्वतन्त्र’ लाई समेत यही बाटो ठीक लागेको छ । यस्ता गतिविधिबाट विचार र लोकतान्त्रिक मूल्यको क्षय त भएकै छ, रोजगारी, आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको निर्माणका लागि उद्यमशीलताको विकास र आम वर्गलक्षित न्यायोचित सामाजिक समृद्धिको अपेक्षित गति पनि दिन–प्रतिदिन धीमा हुँदै कतिपय अवस्थामा त उल्टो बाटोतिर समेत मुखर हुन थालेको छ ।

२०६२–६३ को जनआन्दोलन, मधेश आन्दोलन लगायतको पृष्ठभूमिमा पहिलो संविधानसभाताका जुन उत्साह र जोसको वातावरण थियो, दोस्रो संविधानसभा हुँदै संविधान निर्माण र कार्यान्वयनको चरणमा संक्रमण हुँदा त्यो उत्साह र जोस क्रमैसँग धमिलिएको छ । आफैं हिँडेर आएको बाटामाथि घात गर्ने दलहरूकै प्रवृत्तिका कारण उनीहरूमाथिको विश्वास र भरोसा संकटमा छ । राज्यका सबै क्षेत्र र संस्थामा भ्रष्टाचार नाप्नै नसकिने गरी चुलिएको छ । पार्टीसत्ता वा सरकारसँग सम्बन्ध र स्वार्थ जोडिएका ‘बलिया’ हरूले जसलाई जे गरे पनि हुने स्थिति छ । थरीथरीका सत्ताहरूसँग स्वार्थ बाझिएको स्थितिमा बाहेक ऐन, नियम–कानुनमाथि कोही कसैप्रति जवाफदेह हुनुपर्दैन । यिनै स्थितिहरूबीच आइपुग्ने चुनावहरूले लोकतन्त्र–गणतन्त्रको हविगत छर्लंग देखाउन अझै बढी योगदान दिने गरेका छन् । दलहरूका फेर समातेरै जिन्दगी चलाउने केही मुठ्ठीभर मान्छेबाहेक धेरैलाई हर्ष न विस्मातको सामान्य घटना मात्रै हुने भएपछि राज्यकोषबाट अर्बौं खर्चिएर सम्पन्न हुने चुनावको उपादेयता के रह्यो त भन्ने प्रश्न हरेकपल्ट उठ्ने गरेको छ ।

चुनाव : हान्नेले जान्ने खेल

आफूले जित्न चुनावमा जेसुकै गर्न पनि पछि पर्नु हुन्न भन्ने कुरा सामान्य भैसकेको छ । ‘स्विङ भोटर’ हरूबीच पैसा छर्ने, भोजभतेर गर्ने वा दलाल र बाहुबली पाल्ने प्रचलित तरिकासँगै पछिल्लो समय स्थापित भइरहेको अर्को काइदा छ— राजनीतिक अगुवाहरूलाई नै किन्ने । घोषित गठबन्धन होस् या अघोषित तालमेल, सबै थरीले अपनाएको यो काइदाले साझेदार दलवाला नेता–कार्यकर्तालाई मात्रै होइन, विपक्षी दलका अगुवालाई पनि किनेर अर्को दलमा अन्तर्घात गराउने कामसमेत गर्छ । यसरी अगुवा खरिद्ने काम नगदै पनि हुन सक्छ वा तिनका आफन्तलाई चुनावी पद बाँडेर पनि गर्न सकिने अथवा निर्वाचित भएपछिको सम्भावित सत्तासमीकरण अन्तर्गत कुनै विशेष नियुक्ति दिलाउनेसम्मका समझदारी गर्न सकिने हुँदो रहेछ । कतिसम्म भने, स्थानीय स्तरमा चलायमान अर्धसरकारी संस्था वा सहकारी, वन, दुग्ध उत्पादनजस्ता ठाउँमा पदस्थापन गर्ने गरी समेत चुनावी माहोल आफ्नो पक्षमा पारिनु सामान्य भैसकेको छ । यो असाध्यै गोप्य र गुप्त समझदारीमा हुने भएकाले चुनावअघि यसका ‘क्लू’ हरूको अनुमान गर्नै सकिन्न । चुनावका परिणामदेखि राजनीतिक सामाजिक परिघटनाहरूसम्ममा आएर बल्ल देखिन्छ ।

जितका लागि ‘ब्यालेट बक्स’ बोकेरै भाग्नेदेखि मतपत्र च्यात्नेसम्मका गतिविधिलाई नेपाली समाजले स्विकारिसकेको देखियो । यस्ता विषयमा तपाईंले गर्ने आलोचना र विरोध आदर्शवादी युटोपियाभन्दा बढी नठहरिने भएपछि कसले कतिन्जेल बोलिरहने भन्ने प्रश्न टडकारो हुने रहेछ । चुनावी जितकै लागि मान्छे मार्ने, भट्टीमा डढाउनेहरू नै बारम्बार योग्यताको सिँढी उक्लने भएपछि चुनाव द्रव्यबल र बाहुबलकै जित हो भन्नेमा अब धेरैको सहमति छ । विचार र नैतिक शक्तिले मत पाएर जितेका एकदुई अपवाद नभएका होइनन् तर चुनावलाई जसले हान्यो उसले जान्यो भन्ने भाष्यबाटै हेर्ने मान्यता कहिल्यै उखेलिएन बरु झन्झन् मौलाएको देखिन्छ । यसैकारण जवाफदेह र जिम्मेवार लोकतन्त्रको जग बस्नै नदिने एउटा बलियो कारक बनेको छ चुनाव । पछिल्लो कथित गठबन्धनकारी रणनीति र त्यसको ‘काउन्टर’ मा बनेको तालमेलको जालझेल दुवैको साध्य एउटै हो— जोसुकैसँग मिलेर होस्, चुनाव जित्नैपर्छ । यी दुवै थरीबाट लोकतन्त्र असुरक्षित र संकटापन्न छ । तर हाम्रो विडम्बना यस्तो छ कि, आगामी पाँच वर्षका लागि व्यवस्थाको चाबी यिनैलाई दिन हामी बाध्य छौं ।

फ्री भिसा र हेलिकप्टर ‘सिन्ड्रोम’

दलहरू विचार, सिद्धान्त र योजनाले शून्य र खोक्रा नाम मात्रै हुन् भन्ने पुष्टि हुन अब ठूला प्रकरण खोज्नैपर्दैन; पछिल्ला दिनमा चलेका फ्री भिसा, फ्री टिकट, बिना ढेउबा के, हेलिकप्टर लगायतबाट निस्कने प्रतीकात्मक अर्थ नै पर्याप्त छन् । हरेक दलभित्र व्यवहारवादी–समन्वयवादी–व्यक्ति (मुख्य नेतृत्व) केन्द्री राजनीतिको दबाब यति चर्को देखियो कि, त्यहाँभित्र रहेका रचनात्मक, वैचारिक र सृजनशील राजनीतिक सोचहरू दलभित्रै किनारीकृत भए । यसपछि बाँकी रहने स्तुति, चाप्लुसी र दासतन्त्रले सबैजसो दललाई खर्लप्पै निलिसकेको छ । ताजा, नयाँ र विचार–विवेकयुक्त नेतृत्व निर्माणलाई तगारो लगाइदिएपछि सम्भावित कुशल नेता पनि हेर्दाहेर्दै दलको मुख्य नेताको चाकरमै बदलिने स्थिति रहँदो रहेछ । नेतृत्वमा रहने व्यक्तिका परिवार र आसेपासे नै दलीय सत्तायन्त्रका ठेकेदार हुने र आफूलाई मुख्य नेतृत्वमा टिकाइराख्न चाकर वर्गको लामो शृंखला नै पाल्नुपर्ने स्थिति हेर्दा सिंगो व्यवस्थाको ध्वस्तीकरण कसरी भैरहेको छ यसै थाहा हुन्छ । यसैको अहिले प्रकट परिणाम हो— दलहरूसँग जनतासामु चुनावमा राख्ने आधारभूत एजेन्डासम्म नहुनु । आम वर्ग, उद्यमी– व्यवसायी, युवा, विद्यार्थी कसैलाई पनि आश्वस्त पार्न सक्ने नीति र लक्ष्य त कहाँ हो कहाँ ! देखाउनकै लागि त दलनिकट बुद्धिजीवीले तयार गरेका सुन्दर शब्दशिल्पका घोषणापत्र छन्, तर तिनै शब्दलाई जनताले बुझ्ने भाषामा व्यक्त गर्ने सामान्य सुझसम्म नेता र उम्मेदवारमा देखिएको छैन ।

पुँजीवादी लोकतन्त्र अवलम्बन गर्ने तर पुँजी निर्माणका न्यूनतम राष्ट्रिय विकल्पको प्रयत्न नै नगरी दाता देशका रणनीति र अह्रनखटनले चलेरै लोकतन्त्र जगेर्ना गरेको भ्रम छर्ने आजको हरेक दल साम्राज्यवादी दुश्चक्रका रक्षाकवच मात्रै भएको छ भन्न एक सेकेन्ड पनि सोच्नुपर्दैन । ठूलठूला परियोजनाको नाम लिएर हाम्रो सामूहिक सतर्कतामाथि शासन गर्ने यिनै दल ‘फ्री भिसा’ नामको हड्डी फ्याँकेर गरिब जनताको औकात नाप्ने धृष्टता गर्छन् । जजसका मुखबाट फुत्के पनि ‘फ्री भिसा’ नेपालको समकालीन राजनीतिको निकृष्टतम परिणतिको नमुना हो । यस्तो राजनीतिलाई विस्थापन गर्न तत्काल कुनै नयाँ तिलस्मी शक्तिको उदय हुन्छ भन्ने कल्पना त नगरौं तर कम्तीमा दलहरूले आफैंभित्रबाट निफनेर रचनात्मक र प्रखर विवेकशील नेतृत्व स्थापित गर्ने कामको सुरुआतचाहिँ गर्न सक्छन् कि ?

प्रतिनिधित्वको प्रश्न

कतै पढेकी थिएँ— चुनाव लोकतन्त्रका अनेकौं डब्बा बोकेर हिँडेको ट्रेन हो, गन्तव्य होइन । तर नेपालको लोकतन्त्र भने चुनावदेखि चुनावसम्मको सफर मात्रै भएको छ जहाँ चुनाव नामक ट्रेन छ तर ट्रेनले बिसौनी लिने गन्तव्य नै छैन । रमाइलो कुरा त, यो ट्रेन कहाँ जान हिँडेको हो, यसका कथित चालकहरूलाई नै थाहा छैन ! प्रत्यक्षतर्फका चुनावको कुरा गर्दा महिला, दलित या अल्पसंख्यकको प्रतिनिधित्व गर्ने व्यक्तिसँग ‘सामाजिक र सांस्कृतिक पुँजी नहुने’ भनेरै हारिने भय देखाएर टिकटका लागि अयोग्य ठहर गरिने प्रवृत्ति त आजसम्म चलेकै छ; यी वर्गलाई टिकट दिइँदा नै पनि ठूला नेताका छोरी, दिदी–बहिनी वा नेतृत्व रिझाउन सफल र राजनीतिक संघर्षको पृष्ठभूमिसम्म नभएका व्यक्तिहरूकै नाम अगाडि आउने गरेका देखिन्छन् । एकदुई ठाउँमा उम्मेदवार हुने व्यक्तिकै भगीरथ संघर्ष र प्रयत्नले लिएका उम्मेदवारीबाहेक अधिकांश प्रतिनिधित्वमा मुख्य नेतृत्वको मर्जी र शक्तिकै हात देखिन्छ । यस्तो प्रतिनिधित्वलाई उत्पीडित वर्गको प्रतिनिधित्व मान्ने कि नमान्ने ? अझ समानुपातिक र समावेशीजस्तो उत्पीडित समुदाय, क्षेत्र र लिंग समेट्ने गरी बनेको प्रावधानको दुरुपयोग गरेर सांसद पद नै खरिद–बिक्री गर्ने; पहुँचवालाका श्रीमती, आसेपासे र आफन्तलाई ल्याएर स्थापित गर्ने कुराले व्यवस्था परिवर्तनका सबै किसिमका आन्दोलनको मर्म र कर्मलाई उपहास गरेका छन् ।

जब प्रतिनिधित्वमाथि नै गम्भीर अतिक्रमण हुन्छ र त्यस्तो अतिक्रमण अरू कोहीबाट होइन, स्वयं मुख्य नेतृत्वबाटै हुने गर्छ, यो लोकतन्त्र हुनेखाने पहुँचधारी शक्तिशालीहरूकै कृपातन्त्र र गुलामतन्त्र हो भन्ने सिद्ध हुन्छ । मुख्य दलका नेतृत्वहरूले यसलाई बारम्बार पुष्टि गरिसकेका छन् ।

बाहिर बहिष्कार, भित्र स्वीकार

अघिअघिजस्तै यसपल्ट पनि केही दलले संसदीय व्यवस्थालाई दलालमुखी र जनद्वेषी भन्दै निर्वाचन बहिष्कार गर्ने घोषणा दोहोर्‍याएका छन् । लोकतन्त्रका नाम र आवरणमा चलिरहेको संस्थागत लुट र हरेक क्षेत्रका बेथितिमाथि आलोचनात्मक धारणा राख्ने यी दलले यो व्यवस्थाको विकल्प खोज्नैपर्ने ठहर पनि दोहोर्‍याइरहने गर्छन् । व्यवहारतः यी आफैं कहाँनेर कसरी उभिएका छन् भन्ने समीक्षा पनि इतिहासले गरेकै छ । तैपनि जाततन्त्र, सत्ता–सरकार र समाज संरचना सबैको पितृसत्तावादी चरित्र, राज्यको हरेक तह र संस्थाभित्र रहेको सघन दलालतन्त्रमा टिकेर दमनकारी सामन्ती व्यवस्थाको समेत ‘ह्याङ’ बोक्दै आफूलाई बचाइरहेको यो व्यवस्थाप्रति आक्रोशित भएर यी दलले चुनाव बहिष्कार गर्नुलाई अन्यथा मान्ने कुरा हुँदैन । ‘हार्ने भएपछि बहिष्कार गरेको’ जस्ता ओठे तर्कले कुनै पार्टी या आन्दोलनको अस्तित्वलाई चुनौती दिनु पनि युक्तिसंगत होइन । तर केन्द्रीय नेतृत्वले जेजस्ता निर्णय सार्वजनिक गरेको भए पनि तिनै दलका नेता–कार्यकर्ता भने स्थानीय होस् या प्रदेश र संघीय चुनाव होस्, हरेकपल्ट यिनै चुनावका परोक्ष सहकारी हुने गरेका अनेकौं तथ्य छन् । कतिपय व्यक्तिगत इबी साध्न हिजो सहकर्मी रहेकै मित्रवर्गविरुद्ध जोसुकैसँग पनि साँठगाँठ र सहयोग गर्ने गरी उपयोगितावादी रणनीति तय गरिएका सूचनाहरू चुनावी ‘ग्राउन्ड’ मा यत्रतत्र छन् ।

बाहिर सार्वजनिक नीतिले बहिष्कार गर्ने तर भित्रभित्रै कसैलाई जिताउन वा कसैलाई हराउन चुनावी खेलको एउटा पार्टनर नै बन्ने स्थिति छ । यो स्थानीय राजनीतिको मात्रै प्रवृत्ति हो वा छद्म चुनावी राजनीति गर्न सम्बन्धित दलहरूले अघोषित रूपमा लिएको केन्द्रीय नीतिसमेत हो, थाहा भएन, तर दुवै अवस्थाले यी दलहरूलाई कसरी हेर्ने भन्नेमा शंकाको सुविधा लिने ठाउँ बनेको छ ।

०००

नयाँ संविधानपछिको संघीय र प्रदेशसभाको दोस्रो चुनाव नजिकै आइसकेको छ । चुनाव राजनीतिक मूल्य बोक्ने केवल एउटा परिघटना मात्रै होइन, नागरिक दायित्व र विवेकको अधिकतम उपयोग गरेर लोकतान्त्रिक संस्कृति धान्ने विशेष पर्व नै हुनुपर्ने हो । तर यसलाई हुँदो–नहुँदो जे पनि आश्वासन बाँड्ने, हुने–नहुने जस्तासुकै गठजोड र साँठगाँठ गर्ने अनि त्यसलाई पुष्टि गर्न अनेक थरी भाष्य खडा गर्नुपर्ने अन्तर–बाह्य चापका बीचबाट न दलहरूले वास्तविक लोकतान्त्रिक अभ्यास बन्न दिएका छन् न त मतदाता पंक्तिले नै यस्ता दलहरूलाई अस्वीकार गर्ने खुला चुनौती दिन सकेका छन् । यस्तै दलहरू, यही चरित्र बोकेको भद्रगोल लोकतन्त्र र आजकै शैलीका चुनाव दोहोरिने हो भने लोकतन्त्र अरू कसैका कारण होइन, लोकतन्त्रकै भजन गाएर नथाक्नेहरूका कारण विनाश हुन सक्छ ।

प्रकाशित : कार्तिक २२, २०७९ ०८:१४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×