कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

सत्तामोह र जनअपेक्षा

लोकराज बराल

राजनीति, पैसा र यौनबाट मानिसले हतपत मुक्ति पाउँदैन । तृष्णा मेटाउन धेरै ठूलो त्याग र दृढ संकल्प चाहिने रहेछ । शक्ति र लोकप्रियताको चुचुरोमा पुगिसकेका, मलेसियाका भूतपूर्व प्रधानमन्त्री मोहम्मद महाथिरले ९७ वर्षको उमेरमा संसदीय चुनाव लड्दा आफ्नो जमानतसम्म गुमाए ।

सत्तामोह र जनअपेक्षा

उनले मलेसियाको विकासमा उल्लेख्य योगदान गरेका थिए र बारम्बार प्रधानमन्त्री पनि बनेका थिए । यतिले उनको तृष्णा मेटिएनछ र यो उमेरमा पनि संसदीय चुनाव लडे । चुनाव परिणामले उनले जनताको मनोविज्ञान बुझ्न नसकेको पुष्टि गर्‍यो ।

निकै थोरै नेताहरू मात्र राजनीतिक शक्ति पहिचान गरी सत्ताबाट अलग हुन सक्छन् । नेल्सन मन्डेलाले जनप्रियताको उचाइमा पुगी एकपल्ट राष्ट्रपति भएपछि अर्को कार्यकाल चाहेनन् । यसले गर्दा उनको इज्जत विश्वव्यापी रूपमा झन् बढ्यो । यदि उनी सत्तालिप्सामा लागेका भए यो सम्मान सधैंका लागि रहने थिएन । यही उदाहरणमा भोटाङका राजा जिग्मे सिंगे वाङचुकलाई पनि लिन सकिन्छ । निरंकुश राजतन्त्र भएको देशमा आफू आजीवन राजा हुने सम्भावना रहे पनि उनी ५४ वर्षको उमेरमा छोरालाई गद्दी सुम्पिएर साधनामा लागे । महात्मा गान्धीले चाहेका भए आफैं राष्ट्रपति र प्रधानमन्त्री बन्न सक्थे । नेपालमा पनि गणेशमान सिंहले राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न आग्रह गरे पनि आफ्ना कठिनाइ सुनाउँदै कृष्णप्रसाद भट्टराईको नाउँ सिफारिस गरे । आज पश्चिमेली देशका धेरै नेताहरू आफ्ना दलले चुनाव हारे या आफैंले लिएको निर्णय जनताले नरुचाए सहज रूपमा सत्ता वा दलको नेताबाट अलग भएका प्रमाणहरू पाइन्छन् । राहुल गान्धीले आफ्नो दलले निर्वाचनमा कमजोर प्रदर्शन गरेपछि दलको अध्यक्षबाट राजीनामा गरे तर उनी आज भारतीय कांग्रेस (आई) लाई जगाउन भारत यात्रामा लागेका छन् । हालै ताइवानकी राष्ट्रपतिले आफ्ना उम्मेदवारले चुनाव हारेकाले कार्यकारी राष्ट्रपतिजस्तो शक्तिशाली पदबाट राजीनामा दिने घोषणा गरिन् ।

लोकतन्त्र सञ्चालन कानुनी वा तकनिकी आधारमा मात्र सम्भव हुँदैन, केही न केही मात्रामा नैतिकता या सिद्धान्त अनुसरण गर्नैपर्छ । नेपालमा चाहिँ कानुनी छिद्र खोज्दै वा कानुनलाई आफ्नै अनुकूल व्याख्या गर्दै राज्य सञ्चालन गर्नपट्टि लाग्दा व्यवस्थापकीय मर्यादा सकिने र अस्थिरता हावी हुने प्रवृत्ति बढ्ने गरेको छ । राजा ज्ञानेन्द्रले संविधानको धारा १२७ को प्रयोग गर्दै सत्ता विकृति बढाएर वा राष्ट्रपतिले नागरिकता विधेयक अनुमोदन नगरेर वा केपी ओलीले प्रतिनिधिसभा विघटन गरेर संविधानको मर्म पछ्याए भन्न ठ्याम्मै मिल्दैन । नेपालमा आफ्ना दलले नराम्ररी चुनाव हार्दा पनि शीर्ष नेताहरूले राजीनामा गरेको उदाहरण पाइँदैन । मीनेन्द्र रिजालले कांग्रेस महामन्त्रीको पदमा हारेपछि रक्षामन्त्रीबाट राजीनामा दिएका थिए । पञ्चायतकालमै पनि चित्त नबुझ्दा वा अरू सन्दर्भमा नैतिकताका आधारमा राजीनामा गर्नेहरू थिए ।

लोकतन्त्र सञ्चालन गर्ने तरिकामा नौलानौला प्रयोग भइरहेका छन् जुन लोकतन्त्रकै लागि घातक हुनेछन् । राजनीतिमा सिद्धान्त गौण भएको छ, नेतातन्त्र नै लोकतन्त्र भएको छ । नेताहरूले जस्तोसुकै अक्षमता देखाए पनि जनताले तिनैलाई जिताउने गरिरहेका छन् । एकातिर नेताको विकल्प खोजिएको छ, अर्कातिर तिनै दलका नेताहरू कुनै न कुनै रूपमा सरकार बनाउने प्रपञ्चमा लागेका छन् । तिनै सीमित व्यक्तिहरूमध्ये कोही एक जना सरकारको नेतृत्व गर्न आतुर छन् ।

२०७९ सालको आम निर्वाचनले केही नयाँ संकेत दिए पनि राजनीतिको मूल स्वरूपमा कुनै नौलोपन आउने सम्भावना देखिँदैन । दोस्रो पंक्तिका केही नेता हारे, केही नयाँ दल उदाए । ती नयाँ दलको धरातल अझै तय भइसकेको छैन । आक्रोश र निराशाको लहरले परिवर्तनको संकेत देखाए पनि ती कति स्थायी र व्यवस्थित हुन सक्छन्, अहिले नै ठोकुवा गर्ने आधार पाइँदैन । मानिस उमेरले मात्र बूढो हुने होइन । कुनै युवा शारीरिक रूपमा योग्य भए पनि सोच र सिद्धान्त अग्रगामी छैन भने उसबाट के आशा गर्ने ?

अहिले नयाँ दलहरूको उत्पत्ति र भविष्यबारे चर्चा चल्न थालेको छ । कुनै पनि दलको उत्पत्ति कि क्रान्ति सम्पन्न गर्न र पछि व्यवस्थापकीय भूमिका खेल्ने उद्देश्यले हुन्छ, कि त व्यवस्थाभित्र नै अभ्यासक्रममा दलहरू अस्तित्वमा आउँछन्; जस्तो- बेलायत, अमेरिका र अन्य देशमा । अथवा, क्षेत्रीय मुद्दाका आधारमा क्षेत्रीय दलहरू गठन भई बिस्तारै सम्पूर्ण राजनीतिलाई प्रभाव पार्ने भूमिकामा रहने हुन्छन् । भारतमा क्षेत्रीय दल गठनका आधार क्षेत्रीय–जातीय विषयले निर्धारण गरेको र यिनै क्षेत्रीय दलले राष्ट्रिय राजनीतिलाई प्रभाव पारेको वा कुनै बेला क्षेत्रीय दलकै वर्चस्व बनेको पाइन्छ । घोर निराशा, आक्रोश र बेथितिले गर्दा केही जोसिला युवाले ल्याएको यथास्थितिविरोधी लहर (वेभ) का कारण पनि जन्मन्छन् राजनीतिक दलहरू । मधेश आन्दोलनको लहरले ल्याएका दलहरू खिइँदै गए पनि अझै आफ्ना भूमिका खेलिरहेकै छन् । यसपल्टको चुनावले केही नयाँ दल जन्माएको त छ तर तिनको जनाधार, जनताका आक्रोश र निराशा हेर्दा ती दलका नेताहरूले कसरी जनताका आकांक्षा पूरा गर्लान् र दलीय स्थायित्वका लागि योग्य होलान्, अहिल्यै केही भन्न सकिन्न । नयाँं दलहरूले स्थायित्व पाएका उदाहरण धेरै छैनन् । पाकिस्तानमा जुल्फिकर अली भुट्टोले गठन गरेको पाकिस्तान पिपल पार्टी (पीपीपी) वा भारतका केही प्रमुख क्षेत्रीय दलबाहेक लोकप्रियतावाद वा आक्रोश वा निराशाले जन्माएका दलहरू चाँडै असान्दर्भिक भएका उदाहरण धेरै छन् । दलविशेषको अस्तित्व नेताको भूमिका, जनताको दृष्टिकोण, कार्यसम्पादन क्षमता र इमानदारीमा धेरै भर पर्छ । नेपालमा मधेशी दलहरूले मधेशका मुद्दा उठाउन र निर्णायक भूमिका खेल्न सके पनि नेताहरूको सत्तामोह, समर्पणवादी ढुलमुले नीतिले जनताको आशा र भरोसामा तुषारपात भएकाले ती दल दिन–प्रतिदिन खुम्चिरहेका छन् । त्यसको विकल्प पनि त्यति आशालाग्दो छैन । मधेशमै उदाएको जनमत पार्टीको भावी भूमिका के हुन्छ, सत्ताको खेलमा नेताको कार्यशैली र इमानदारी कति टिक्छ, यकिन हुन समय लाग्छ । त्यस्तै, थरुहटमा नागरिक उन्मुक्ति पार्टी आएको छ, जसको शक्तिको स्रोत जेलजीवन बिताइरहेका रेशम चौधरी हुन् । यो दल विशुद्ध थारू समुदायमा आधारित भएकाले यसको उद्देश्य पनि सीमित क्षेत्र र समूहमा लक्षित छ । तर व्यापक सोच र सही रूपमा जनताको मुक्तिको काम गरे यो भोलि अरू क्षेत्र र समुदायको पनि दल बन्न सक्छ । रेशम चौधरीको जेलजीवनपछिको राजनीति कस्तो हुन्छ र उनी शक्तिलिप्साबाट कति टाढा रहन सक्लान्, त्यसमा यो धेरै भर पर्छ । तर यस्ता समुदायले आफ्ना अधिकारका लागि दल बनाई हाँक दिन सक्नु लोकतन्त्र सबलीकरणका सन्दर्भमा सकारात्मक पक्ष हो ।

अर्कातिर, राष्ट्रिय स्वतन्त्र पार्टीको उदय भएको छ । हुन त यसको जनाधार नागरिक उन्मुक्ति पार्टीको भन्दा अस्थिर हुन सक्छ किनभने यो बढी आक्रोश र निराशाले पैदा गरेको हुरीजस्तो हो जो अति क्षणिक हुन्छ । जब परिस्थिति स्थिर हुन थाल्छ अनि यो पार्टीलाई परिपक्वताको कसीमा हेर्न थालिन्छ । रवि लामिछानेको पृष्ठभूमि सञ्चारकर्मीको हो । राजनीतिमा अनुभवै चाहिन्छ भन्ने त होइन, किनभने सिकाइको अभ्यास राजनीतिले पनि गराउँछ, तर लोकप्रियता पहिले प्रेम हुँदा र कालान्तरमा परिवार भएपछिको अवस्थाजस्तै हो । प्रेम गरुन्जेल प्रेमीहरूले अनेक सपना देखेका हुन्छन् तर काल्पनिक रोमान्स सकिएपछि प्रेमीको भूमिका परिवर्तन हुन्छ र कतिपय अवस्थामा प्रेम जीवनको अन्त्य भई विछोड पनि हुन्छ । तर प्रेमको अर्को गहिरो र स्थायी स्वरूप पनि हुन्छ जसले वैवाहिक जीवनको सौन्दर्य र गहिराइलाई झल्काउँछ ।

राजनीतिमा लाग्नेहरू घामपानी, जेलनेल सबै परिस्थितिका लागि तयार हुनुपर्छ । जोखिम र असजिलोपन आउनेबित्तिकै समर्पणवादी हुने हो भने राजनीतिज्ञ बन्न गाह्रो हुन्छ । त्यसैले गान्धीले भने, ‘कातरले राजनीति गर्न सक्तैन । डरले मानिसलाई राजनीतिमा उँभो लाग्ने ठाउँ दिँदैन ।’ आजको राजनीति पहिलेजस्तो जोखिमपूर्ण नभए पनि कर्तव्य र उत्तरदायित्वको ख्याल राख्नैपर्छ । लोकतान्त्रिक राजनीतिले साहस, इमानदारी, दृढता, धैर्य र जनमुखी हुने अटुट विश्वासको अपेक्षा गर्छ । यसकै अभावमा बेथिति बढेकाले, सिद्धान्त लोप हुँदै गएकाले, नेताहरू आत्मकेन्द्रित र लोभी भएकाले राजनीति धमिलो भई जनता विकल्प खोज्नपट्टि लागेका हुन् । नयाँ दलहरूले स्थापित लोकतन्त्रको संवर्द्धन र स्थायित्वका लागि प्रण गर्दै आफूहरूप्रतिको आशंका हटाई जनमानसलाई आश्वस्त पार्न सक्नुपर्छ ।

प्रकाशित : मंसिर १९, २०७९ ०७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?