नेपालमा कलकारखानाको दयनीय स्थिति- विचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपालमा कलकारखानाको दयनीय स्थिति

आयातबाट राजस्व आएकै छ, आयातका विभिन्न पक्षबाट कमिसन र घूस आएकै छ अनि विद्रोही हुन सक्ने युवाहरुलाई देशबाहिर पठाउन पाइएकै छ । यति सजिलो संरचना हुँदाहुँदै निर्यात वृद्धि, आयात प्रतिस्थापन उद्योगको विकास र आन्तरिक रोजगारीको विस्तार किन गर्ने !
जग्गाको भाउ मात्रै बढ्नु र यस्तो क्षेत्रमा बैंकको लगानी एकोहोरिनु आर्थिक विकासको मापदण्ड होइन । ठोस उत्पादन र निर्यात वृद्धिबिनाको वित्तीयकरणको विस्तारले अन्ततोगत्वा बैंकहरूलाई संकटमा पुर्‍याउँछ र विदेशी मुद्रा सञ्चितिमा संकट ल्याउँछ ।
प्रकाशचन्द्र लोहनी

आर्थिक विकासका क्रममा सामान्यतया अर्थतन्त्रको संरचनामा व्यापक परिवर्तन हुन्छ । राष्ट्रिय उत्पादनमा कृषिको योगदान घटेर जान्छ भने, गैरकृषि क्षेत्रमा विशेषतः उद्योगको योगदान वृद्धि हुन्छ । यसबाट सेवा, यातायात, घरजग्गा तथा अन्य आधारशिला निर्माणका क्षेत्रमा बढोत्तरी देख्न पाइन्छ ।

कृषिबाट विस्थापित श्रमशक्तिले बिस्तारै यी नयाँ क्षेत्रहरूमा काम पाउँछ र अर्थतन्त्रमा श्रमको उत्पादकत्व वृृद्धि हुन्छ जुन आर्थिक विकासको वृद्धिदरमा प्रतिविम्बित हुन्छ ।

कलकारखानाको दुर्गति

नेपालको आर्थिक विकासको स्वरूप माथि उल्लेख गरिएको चित्रभन्दा फरक छ । नेपालमा उद्योग र विशेषतः कलकारखाना (म्यानुफ्याक्चरिङ सेक्टर) को योगदान राष्ट्रिय उत्पादनमा घट्दै गएको छ (हेर्नुस्— तालिका १) ।

नेपालका योजनाहरूमा उत्पादन र रोजगारी वृद्धिको एउटा महत्त्वपूर्ण कडी कलकारखानाको विस्तारलाई प्राथमिकता नदिएर यस्तो दुर्गति भएको होइन । दसौं योजना (सन् २००२–०७) सम्ममा राष्ट्रिय आयमा कलकारखाना क्षेत्रको योगदान २० प्रतिशत पुर्‍याउने लक्ष्य थियो तर यो असफल भयो । नेपाली रोजगारीमूलक उद्योगको अधोगतिको सबभन्दा जबरजस्त उदाहरण जुट उद्योग हो । विक्रम संवत् २०३०–४० सालको समयमा यो उद्योगलाई टेवा दिन जुट विकास केन्द्र खडा गरियो । तराईको ५४,००० हेक्टरमा जुटको खेती थियो । ७०,००० टन जुट उत्पादन हुन्थ्यो । अहिले जुट खेती घटेर १०,००० हेक्टरमा सीमित भएको छ । थुप्रै मिल बन्द छन् । जुन चलेका छन्, तिनले पनि कच्चा पदार्थ भारत र बंगलादेशबाट ल्याउँछन् । यसले गर्दा किसानको आम्दानीको स्रोत हरायो, निर्यात घट्यो र हजारौंको रोजगारी गुम्यो ।

राष्ट्रिय उत्पादनमा माथिको तथ्यांकले के देखाउँछ भने, नेपालका कलकारखानाको योगदान १५ वर्षदेखि निरन्तर घट्दै गइरहेको छ । स्वभावतः आयात प्रतिस्थापन र निर्यात उद्योगहरू घट्दै गएका छन् । यसको प्रत्यक्ष असर देशको थेग्नै नसक्ने व्यापार घाटामा देखिएको छ ।

आर्थिक विकासको आधार भनेको पुँजी–श्रम र प्रविधिको सम्मिश्रणबाट हुने उत्पादकत्व वृद्धि (ग्रोथ इन टोटल फ्याक्टर प्रोडक्टिभिटी) हो । नेपालको कलकारखाना क्षेत्रको उत्पादकत्व घटेर जानु चिन्ताको विषय हो । एक अध्ययन अनुसार, सन् २००६–०७ देखि पाँच वर्षभित्र उत्पादकत्व १३ प्रतिशतले घट्यो । यसरी पुँजी–श्रम र प्रविधिमा निहित कुल उत्पादकत्व (टोटल फ्याक्टर प्रोडक्टिभिटी) घट्नुको अर्थ नेपाली उत्पादनले अन्य देशका उत्पादनसँग प्रतिस्पर्धा गर्ने क्षमता गुमाउँदै जानु हो । यो यथार्थता नेपालको न्यून अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक क्षमता (ग्लोबल कम्पिटिटिभनेस इन्डेक्स) मा देखिएको छ (हेर्नुस्— डेभलपमेन्ट अफ म्यानुफ्याक्चरिङ इन्डक्सन्स इन नेपाल : करेन्ट स्टेट एन्ड फ्युचर च्यालेन्जेज, एनडीसी, २०१४) ।

राष्ट्रिय आयमा कलकारखानाको योगदान देखिन आर्थिक विकासका क्रममा कृषिबाट उद्योगमा श्रमशक्ति स्थानान्तरण हुन आवश्यक र झन्डै अनिवार्य हुन्छ । आधुनिक प्रविधि, व्यवस्थापन र कलकारखानाको विस्तार आर्थिक संरचनाको रूपान्तरणका अनिवार्य अंग हुन् । यस सन्दर्भमा एसियाका अन्य विकासोन्मुख देशहरूका तुलनामा नेपालको अवस्था मात्र नराम्रो भएको हो (हेर्नुस्— तालिका २) ।

माथिको तालिकाबाट के स्पष्ट देखिन्छ भने, रोजगारी र उत्पादकत्व वृद्धिको जगमा अडेको आर्थिक वृद्धिका लागि कलकारखाना क्षेत्रको विस्तार जरुरी हुन्छ । यस क्षेत्रमा चीनले नयाँ कीर्तिमान राखेको छ र कृषिबाट स्थानान्तरित हुने जनशक्तिलाई रोजगारी दिन सकेको छ । भारतमा आर्थिक वृद्धि राम्रो भए पनि यस क्षेत्रमा रोजगारीको ठूलो समस्या छ । नेपालको अवस्था भने दयनीय छ । उद्योग क्षेत्रको कमजोरीले यस क्षेत्रमा रोजगारीको स्थिति निराशाजनक छ (हेर्नुस्— तालिका ३) ।

कलकारखानाको घट्दो अवस्था व्यापक बेरोजगारीको एउटा मूल कारक हो । हालसम्म यो समस्याले राजनीतिक रूप अझै लिइसकेको छैन किनभने नयाँ श्रमशक्ति देशभित्र काम नपाए पनि देशबाहिर जान पाएको छ । तर त्यसबाट आउने विप्रेषणबाट उपभोगमा आधारित आर्थिक वृद्धि दिगो हुन गाह्रो छ । हुन त विप्रेषण आयलाई पुँजी निर्माणमा प्रयोग गर्न नसकिने होइन तर त्यस्तो लक्ष्य या प्रयास देशमा देखा परेको छैन । यस यथार्थतालाई दृष्टिगत गर्दै हामी निम्न प्रश्नहरूबारे विचार गर्नु आवश्यक छ— किन देशभित्र कलकारखानामा उत्पादन घट्दै गएको छ ? सरकारले ऐन र कानुनमा निरन्तर सुधारको दाबी गरेको छ, समय–समय निजी क्षेत्रले स्वागत गरेको समेत छ तैपनि निरन्तर ह्रासको स्थिति किन ? कलकारखानामा लगानी नगरी आयाततर्फ किन झुकाव ? के हाम्रा उद्योगपतिहरूले नेपालमा उद्योग विकासको उपेक्षा गरेका हुन् ?

अर्थ–राजनीतिको खेल

माथि उठाइएका प्रश्नहरू नेपालको अर्थ–राजनीतिक संरचनासँग जोडिएका छन् । आर्थिक विकासको गति देशको राजनीतिक मूल्य–मान्यता र संरचनासँग गासिएको हुन्छ । यो संरचनालाई सार्वजनिक नीतिनिर्माताहरूले कुन लक्ष्यका लागि प्रयोग गर्छन् भन्ने बुँदा महत्त्वपूर्ण हुन्छ । सरकारको नीति निर्माण र उद्यमशीलताको प्रवर्द्धन जब एकै लयमा अगाडि बढ्छ, त्यस बखत आर्थिक वृद्धिले गति लिन स्वाभाविक हुन आउँछ ।

बजारमा आएको नयाँ श्रमशक्तिको व्यवस्थापन देशभित्रै गर्नुपर्ने बाध्यता भएको भए निश्चय पनि सत्ताधारीहरूका लागि आयात प्रतिस्थापन र निर्यातमूलक उद्योगको विकास अनिवार्य हुने थियो । अन्यथा बेरोजगार युवाहरूको आवाज र संघर्ष सडकमा आउने थियो । तर यो अवस्थालाई वैदेशिक रोजगारीमा वृद्धि र यसबाट विप्रेषण आम्दानीमा आएको नयाँ स्रोतले टारिदिएको छ अनि देशमा रोजगारी वृद्धि नभए पनि शासन चलाउन र विकासको नारा दिन सजिलो भएको छ । विप्रेषणको आम्दानीले बैंकहरूमा सञ्चिति बढ्यो र बैंकहरूको आकार ठूलो हुँदै गयो । यसरी बढेको सञ्चितिको उपयोगमा लगानी र उपभोगबीच सन्तुलन राख्ने प्रयास भएन । नेपाल सरकार र वित्तीय व्यवस्थाले नयाँ सञ्चितिलाई खुला दिलले उपभोगमा खर्च गर्‍यो । भारतमा बैंकिङ व्यवस्थाले उपभोगलाई दिएको ऋणसँग नेपालको तथ्यांक तुलना गरेर हेरे यो स्पष्ट हुन्छ । स्वभावतः नेपालका बैंकहरूले कर्जामा गरेको व्यापक विस्तार औद्योगिक र कृषिपट्टि नभएर विदेशी सामान आयातमा केन्द्रित रह्यो । नेपालको शासक वर्गले यो नीति प्रोत्साहन गर्‍यो किनभने यही नीतिबाट छोटो समयमा आयात भन्सारका माध्यमले राजस्व वृद्धि गर्न सकिने भयो । स्वभावतः देशको अर्थतन्त्र आयात व्यापारकेन्द्रित हुँदै गयो र यसको अनुपातमा व्यापार घाटा बढ्दै गयो । व्यापार घाटा र विप्रेषणको वार्षिक तथ्यांक हेरे यो स्पष्ट हुन्छ । अर्थात्, निर्यात निरुत्साहित हुने र आयात बढ्ने अघोषित नीति लागू भयो । औपचारिक रूपमा निर्यात बढाउन अध्ययन र कार्यक्रमहरू तयार भए पनि नीतिहरू लागू गर्ने चासो अथवा बाध्यता सरकारलाई रहेन । आयातबाट राजस्व आएकै छ, आयातका विभिन्न पक्षबाट कमिसन र घूस आएकै छ र विद्रोही हुन सक्ने युवाहरूलाई देशबाहिर पठाउन पाएकै छ । यति सजिलो संरचना हुँदाहुँदै किन निर्यात वृद्धि र आयात प्रतिस्थापन उद्योगको विकास र आन्तरिक रोजगारीको विस्तार गर्न सुशासनका लागि चाहिने सार्वजनिक नीति लागू गर्ने ? स्वभावतः नेपालमा उद्योगको विनाश हुन थाल्यो । कृषि र उद्योगको अन्तरसम्बन्ध बढाउने प्रयास भएन र बैंकमा आएको अधिकांश रकम विदेशबाट आयात गर्न खर्च भयो । यसलाई प्रोत्साहन गर्न राष्ट्र बैंक, नेपाल सरकार र बैंकिङ क्षेत्र सबै केन्द्रित भए । सजिलै पाइने ऋणको प्रयोग नाफा गर्ने क्षेत्रहरू (जग्गा कारोबार, सेयर बजार इत्यादि) अगाडि बढे । स्मरणीय छ, जग्गाको भाउ मात्रै बढ्नु र यस्तो क्षेत्रमा बैंकको लगानी एकोहोरिनु आर्थिक विकासको मापदण्ड होइन । ठोस उत्पादन र निर्यात वृद्धिबिनाको वित्तीयकरणको विस्तारले अन्ततोगत्वा बैंकहरूलाई संकटमा पुर्‍याउँछ र विदेशी मुद्रा सञ्चितिमा संकट ल्याउँछ । अलिकति इमान भएको सामान्य मानिसले पनि बुझ्ने कुरा हो यो, धेरै ठूलो अर्थशास्त्री हुनु पर्दैन । यस दृष्टिले विप्रेषण आम्दानीमा अलिकति धक्का लाग्यो भने जग्गाको भाउ घट्न र सेयर बजार खस्कन सक्छ अनि बैंकहरू अहिले कल्पना नगरेको संकटमा पर्न सक्नेछन् । यसले राज्य व्यवस्थामा कस्तो असर पर्ला ? कल्पना गर्नसम्म गाह्रो छ । आखिर अमेरिका जस्तो देशमा पनि सन् २००८ को आर्थिक संकट नआउन्जेल अर्थशास्त्रमा दिग्गज मानिनेहरू, नोबेल पुरस्कार जित्ने अर्थशास्त्रीहरू पनि त्यसबारे बेखबर थिए ।

जहाँसम्म नेपालका उद्यमीहरूको प्रश्न छ, तीमध्ये अधिकांश उद्योगमा लागेर दीर्घकालीन नाफाका पछाडि लाग्नुको सट्टा सत्तामा बस्नेहरूको खल्ती भर्दै छिटो नाफा हुने व्यापारतिर दौडेका छन्; कोही आफैं सत्तामा पुगेर सत्ता र सम्पत्तिबीचको दूरी हटाउने प्रयासमा छन् । समष्टिमा खर्बौंको आयातसँग आउने कुत नै आजका सत्ताधारीहरूलाई पर्याप्त थियो । त्यसैले औद्योगिक क्षेत्र र रोजगारी विस्तारका लागि चाहिने कार्यकुशलता र प्रतिस्पर्धात्मक क्षमता बढाउने नीतिहरूको निर्माण र कार्यान्वयन व्यवहारमा कहिल्यै हुन सकेन । अग्रगमन र जनताका नाममा इमानदारी र अनुशासनका ठूला भाषण भए तर व्यवहारमा पाखण्डले जरो गाड्दै गयो । सार्वजनिक र निजी क्षेत्रका उद्योगहरू बिरामी हुँदै गए तर त्यो चासोको विषय रहेन किनभने आयात–उन्मुख अर्थतन्त्रमा सार्वजनिक नीतिनिर्माण र निर्णय जनताको हितका लागि नभएर शासकको शक्ति र सम्पन्नतामा केन्द्रित रह्यो । यो पाखण्ड अहिले झन् बढेको छ । फलस्वरूप, जहानियाँ शासनमा शोषण थेग्न नसकेर उन्नाइसौं शताब्दीमा मुग्लान पसेका नेपालीहरू आज खाडी मुलुकमा भौंतारिन बाध्य भएका छन् । नेपालका शासकहरूलाई यसमा चासो छैन र नेपाल आज औद्योगिकीकरणको सट्टा उल्टो बाटामा हिँडिरहेको छ र बेरोजगारी विकराल अवस्थामा छ ।

आशा गरौं, नयाँ सरकारले समस्या समाधानमा ध्यान दिनेछ । अब विगतका वर्षहरूमा जस्तो राष्ट्रदोहन गर्ने छुट छैन । पहिलेजस्तै दोहन प्रक्रिया कायम रहे श्रीलंकामा जस्तो प्रधानमन्त्री र अर्थमन्त्रीहरू भाग्नुपर्ने अवस्था आएमा आश्चर्य हुनेछैन ।

लोहनी राप्रपा निर्देशन समितिका अध्यक्ष हुन् ।

प्रकाशित : मंसिर १४, २०७९ ०७:५५
प्रतिक्रिया
पठाउनुहोस्

जुम्लाको स्याउको पीडा

भुइँ किसानको स्वार्थमाथि नेपालको अर्थराजनीतिले निरन्तर चरम उपेक्षा गरे पनि गरिब र समाजवादको नाराले भने नेपाली आकाश सधैं गुञ्जायमान छ ।
प्रकाशचन्द्र लोहनी

केही दिनअगाडि जुम्लाका मेरा नजिकका मित्र बिर्खबहादुर कठायतसँग भेट भयो । बिर्खजी राप्रपा जुम्लाका नेता मात्र नभएर स्याउ खेती गर्ने किसान पनि हुन् । उनले ३ सय बोट स्याउ लगाएका छन् । स्वभावतः मैले सोधें, ‘यसपालि स्याउ खेतीबाट राम्रै फाइदा भयो होला । स्याउको मूल्य पनि एकदमै बढेको छ ।’ यो सुनेपछि उनले निराश स्वरमा भने, ‘हामी स्याउ किसानहरूका लागि स्याउ नफले पनि दुःख, फले पनि दुःख ।’

मैले कुरो बुझिनँ । यो त राजनीति, अर्थशास्त्र र कृषि विज्ञान सबैलाई चुनौती दिने समस्या देखा पर्‍यो । उनी भन्दै गए, ‘स्याउ नफलेको बेलामा स्याउ फलेन भन्ने समस्या हुन्छ, प्राविधिक सल्लाह पाइँदैन, राम्रोसँग स्याउ फले आधाभन्दा बढी कुहिएर जान्छ ।’ अनि हामी किसानले के गर्ने ?

व्यापारिक स्तरमा नेपालमा स्याउ खेती मुस्ताङको मार्फामा १९६० को दशकमा त्यस क्षेत्रमा बागवानी केन्द्र खडा भएपछि सुरु भएको हो । कर्णाली क्षेत्रमा सबैभन्दा बढी स्याउ खेती जुम्लामा २ हजार ९ सय हेक्टरमा गरिन्छ । त्यस्तै मुगुमा ९ सय ५० हेक्टर, डोल्पामा ८ सय ५० हेक्टर, हुम्लामा ४ सय ५० हेक्टर र कालीकोटमा १ हजार ६ सय ५० हेक्टरमा यो खेती गरिन्छ । जुम्लामा १९७० को दशकमा स्याउ खेती सुरु गरियो, अहिले यो जिल्लाभरि हुन्छ ।

२०१७ मा कृषि मन्त्रालयको प्रतिवेदन र यस सम्बन्धी प्राज्ञिक अध्ययन अनुसार २०१५/१६ मा नेपालमा ५ हजार ६ सय २५ हेक्टरमा ४१ हजार टन स्याउ फल्यो भने नेपालबाहिर मुख्यतः चीन र भारतबाट ६६ हजार टन आयात गरियो । हाम्रो आन्तरिक उत्पादन नै आन्तरिक खपतको एकतिहाइ मात्र छ । तथ्यांकबाट के देखिन्छ भने जुन गतिमा उत्पादन बढेको छ त्यसले आयात घटाउने लक्षण छैन । २०१०/११ मा नेपालमा स्याउ उत्पादन ४२ हजार टन थियो भने आयात ४५ हजार टन । अर्थात्, देशमा स्याउ उत्पादन घटेको या यथास्थितिमा छ र यसको वृद्धि गर्न सरकारी ध्यान गएको छैन, अनि आयात बढ्दो छ ।

किन उत्पादन बढ्न नसकेको ? उत्तर स्पष्ट छ । नेपालका नवसामन्तहरूका लागि कृषि ‘मालदार’ मन्त्रालयमा पर्दैन । ‘अग्रगामी’ राजनीतिज्ञहरूको नजरमा ‘मालदार’ मन्त्रालय निर्माण यातायात, जलस्रोत, गृह, अर्थजस्ता हुन् जहाँ धेरै खरिद र निर्माणको बजेट छ र जनताको करमाथि खेलो गर्ने ठाउँ मिल्छ । त्यसैले कसैलाई पन्छ्याउन पर्‍यो भने कृषिमा पठाइन्छ जबकि जनताको जीवनयापनको दृष्टिले कृषि सबभन्दा महत्त्वपूर्ण मन्त्रालय हो ।

कसरी उत्पादन बढ्छ ?

उत्पादन वृद्धिको सबभन्दा महत्त्वपूर्ण तत्त्व भनेको मानव सृजनशीलता र यसको उपयोग गर्न प्रेरणा दिने वातावरण निर्माण हो । बागवानीको क्षेत्रमा पनि यो लागू हुन्छ । खेती किसानमा पनि अरू व्यवसायमा जस्तै जोखिम हुन्छ र साथसाथै लाभको सम्भावना पनि रहन्छ । उत्पादनमा मानव सृजनशीलता फुल्ने मौका दिन सरकारको आवश्यकता पर्छ किनभने विभिन्न नीति र कार्यक्रम अन्तर्गत सरकारले जोखिममा न्यूनीकरण गर्नुका साथै लाभको सम्भावना बढी सुनिश्चित गर्न सक्छ । जब सरकारले यो काम गर्न सक्तैन, तब उत्पादन र सृजनशीलता खुम्चिन्छ र आर्थिक विकासको सम्भावनामा विराम लाग्छ । यही यथार्थ स्याउ उत्पादनमा देखिएको गतिहीनताले स्पष्ट पारेको छ । यो तर्क स्याउ मात्रै होइन कृषिको अन्य क्षेत्रमा पनि लागू हुन्छ । उदाहरणका लागि बडो धुमधामका साथ हरेक वर्ष धानको खरिद मूल्य तोकिन्छ तर धान किन्ने समयमा सरकारी खरिद गने निकायसँग रकम हुँदैन र किसान बिचौलियाको फन्दामा पर्छन् । स्वभावतः उत्पादक निरुत्सासित हुन्छन् । यो कथा हरेक वर्ष दोहोरिन्छ र कसैले पनि यसको जिम्मेवारी लिँदैनन् ।

अब स्याउमै हाम्रो छलफल सीमित गरौं । स्याउ खेतीको जोखिम घटाउने र नाफा बढाउने हो भने किसानलाई उन्नत बीउ, मल, प्रविधि र यातायात सुविधा हुनुपर्छ, अनि उत्पादनपछि बजार व्यवस्थाको ‘कोल्ड स्टोरेज’ तथा ‘ग्रेडिङ’ र ‘प्याकिङ’ जस्ता सुविधा उपलब्ध हुनुपर्छ । यस्ता सुविधा संस्थागत रूपमा किसान र किसान समूहमा पुर्‍याउने संरचना पनि निर्माण गर्नुपर्छ भने जिल्लाका प्राविधिकहरूलाई किसान समूहप्रति उत्तरदायी हुने प्रावधान पनि निर्माण हुनुपर्छ । यति कुरामा ध्यान पुर्‍याउन सके उत्पादन बढ्ने ग्यारेन्टी गर्न सकिन्छ । अरू देशले पनि विशेषतः चीन र भारतले यस्तै नीति सफलतापूर्वक कार्यान्वयन गरेर नै विश्व बजारमा आफ्नो पहुँच बढाएका छन् । संसारको कुल स्याउ उत्पादन ८.५ करोड टनमध्ये झन्डै आधी त चीनमै फल्छ ।

के छ सरकारी नीति ?

मैले मित्र बिर्खजीलाई सोधेँ, ‘सरकारबाट प्राविधिक सहयोग कति छ ?’ उनको जवाफ थियो, ‘प्राविधिकको त नाक–मुख देख्न पाएको छैन । यसपालि उत्पादन त होला तर त्यसको लाभ कसरी लिने ? १५ दिनभित्र सबै बेचिसक्नुपर्छ । थुपारेर राखूँ भने बिग्रन्छ । त्यसैले ३० देखि ४० प्रतिशत बिग्रेरै जान्छ कि भन्ने डर छ ।’ मलाई लाग्यो यो समस्याको समाधान त शीतभण्डार हो । मैले सोधें, ‘तपाईंहरू सबै मिलेर शीतभण्डारमा स्याउ राखेर भाउ बढेपछि बेचे हुने हो । सरकारले कृषिमा अनुदान दिएको सुनिन्छ ।’ मेरा मित्रको जवाफ थियो, ‘हामीले केको अनुदान पाउनु । फार्म खोलेको भनेर फोटोमा बाख्राभेडा देखाएर पार्टीका कार्यकर्ताले अनुदान पाउँछन् । त्यस्तै गाईगोठ नभएकाले गाईगोठको नाममा थुप्रै पैसा लग्छन्, यी अनुदान कार्यकर्ता मोटाउन हो किसानलाई होइन ।’ कुरो गम्भीर थियो । अनुदानको व्यापक दुरुपयोग भयो भन्ने खबरहरू राष्ट्रिय छापामा मात्र नभएर सरकारी तहबाट पनि भनिएको छ । तर पनि किन भुइँ किसानको स्वार्थमाथि खेलबाड गरिन्छ ? यो प्रश्नलाई नेपालको अर्थराजनीतिले निरन्तर उपेक्षा गरेको छ, यद्यपि गरिब र समाजवादको नाराले नेपाली आकाश सधैं गुञ्जायमान छ ।

फलफूल उत्पादन वृद्धिमा पहिलो पक्ष प्राविधिक हो भने दास्रो पक्ष बजारीकरण । नेपालको स्याउ उत्पादन गर्ने क्षेत्रको विकासमा कृषि उत्पादनका तत्त्वहरू (बीउ, सिँचाइ, मल, यान्त्रिक सुविधा इत्यादि) किसानसमक्ष पुर्‍याउने संस्थागत व्यवस्थालाई कहिले पनि गम्भीरताका साथ लिइएको छैन भने उत्पादनपछिको बजारीकरणलाई पनि व्यवहारमा उपेक्षा गरिएको छ । स्याउको उत्पादन र उत्पादकत्व वृद्धिका लागि बजारीकरण सुनिश्चित गर्न विकसित र विकासोन्मुख देशहरूमा प्रयोग भएको संस्थागत संरचना किसानको स्वामित्वमा रहेको सहकारी व्यवस्था हो । यो संस्थागत संरचनाको सबभन्दा बढी प्रयोग भएका विकसित देशहरू फिनल्यान्ड, नेदरल्यान्ड र डेनमार्क हुन् । डेनमार्कमा कुल कृषिउपजको व्यापार–बजारीकरण गर्ने सहकारीको हिस्सा ७० प्रतिशत छ भने सम्पूर्ण युरोपभित्र यो ४० प्रतिशत छ । भारतमा सहकारी संरचनाले कसरी किसानको आर्थिक जीवन उठाउन सक्छ भन्ने कुरा दुग्ध सहकारीको संरचना माध्यममार्फत अमूल ब्रान्डले स्पष्ट गरेको छ । हाम्रो देशमा धेरै सहकारीको नारा सुनिन्छ । ‘तीनखम्बे’ अर्थतन्त्र भनिन्छ । एउटा खम्बा सरकार, दास्रो निजी क्षेत्र र तस्रो सहकारी तर व्यवहारमा तीनवटै खम्बाहरूलाई बलियो बनाउने, सोच र अनुशासनको निरन्तर अभाव छ ।

कृषि र फलफूल उत्पादनको क्षेत्रमा हेर्ने हो भने पहिलो खम्बाको रूपमा रहेको सरकार कुनै पनि वर्ष किसानलाई मल समयमा पुर्‍याउन सक्तैन । प्रकृतिले हामीमाथि बेइमानी गरेको छैन । यो वर्ष कृषि राम्रो हुने अन्दाज छ तर किसान रोइरहेछन् । किनभने अर्थतन्त्रको पहिलो खम्बाले मल अहिलेसम्म पुर्‍याउन सकेको छैन । बाध्यताले हामी सबै ‘अर्गानिक’ खेतीमा पुग्दै छौं । यो नीतिले देश कसरी संकटमा पर्छ भन्ने यथार्थ श्रीलंकाले देखाइसकेको छ । पहिलो खम्बाको अर्को योगदान अनुदान हो । तर कृषि अनुदान भुइँ किसानले कमै पाउँछन् । पार्टीका कार्यकर्ताले बीचैमा टप्काउँछन् । गरिब ठगिन्छन्, सोर्स–फोर्सवाला मोटाउँछन् । दुईतिहाइभन्दा बढी कृषकसित एक हेक्टरभन्दा कम जमिनको स्वामित्व भएको देशमा साना किसानलाई उत्पादन वृद्धिका लागि चाहिने तत्त्वहरू (मल, बीउ, प्रविधि) को जगेर्ना गर्ने सहकारी विकासमा ध्यान गएको छैन । राज्यले कृषि वृद्धिको नाममा गर्ने खर्चमा राजनीतीकरण बढेर गएको छ । नवसामन्तवादलाई व्यावहारिक राजनीति सम्झने वर्तमान शासकहरूलाई यो कृषि क्षेत्रबारे चिन्ता छैन । किसानको हित भनेको भाषणमा भोटका लागि गर्ने गफ मात्र भएको छ ।

कृषि–फलफूल उत्पादनको दोस्रो पक्ष निजी क्षेत्र हो । निजी क्षेत्र भनेका ठूला मिल र कलकारखाना मात्र होइनन् । एउटा भैंसी पालेर दिनको दुई माना दूध बेच्ने पनि निजी क्षेत्र हो जसलाई ‘भुइँ निजी क्षेत्र’ भनिन्छ । देशभर रहेको यो निजी क्षेत्रको उत्पादन अघि र पछि हुने जोखिम न्यूनीकरण गर्न पहिलो क्षेत्र अर्थात् राज्य निष्क्रिय छ । उल्टो बिचौलियाहरूको बिगबिगी छ र उत्पादन र बजारबीचको मूल्य दूरी घटाउन किसानकेन्द्रित सहकारी संरचनाको विकासमा सरकार निष्क्रिय छ । यस अर्थमा पहिलो खम्बा अर्थात् राज्यका भुइँ किसानहरूप्रतिको उदासीनताले उत्पादन बढाई अधिकतम लाभ लिऊँ भन्ने वातावरण हराएको छ । त्यसैले देशको कृषि क्षेत्रमा रहेका भुइँ किसानहरूका सन्तानहरू बाध्य भएर सस्तो रोजगारीका लागि बिदेसिँदै छन् ।

हराएको तेस्रो खम्बा

हाम्रा समाजवादी–साम्यवादी–नवसामन्तवादी शासकहरूले निरन्तर रट्ने तेस्रो खम्बा सहकारी हो । यथार्थमा सहकारी पनि निजी क्षेत्र नै हो, मात्र संरचना फरक हो । संरचनागत रूपमा व्यक्तिहरूको संयुक्त संगठनमार्फत जोखिम न्यूनीकरण गर्दै बिचौलियाको नाफा किसानमा पुर्‍याउने माध्यम हो यो । नेपालमा ४० को दशकमा एक पटक साना किसान विकास कार्यक्रमको नाममा साना किसानलक्षित यो अवधारणा निकै सक्रियताका साथ अघि बढाइएको थियो । यसको उपलब्धि हेर्न विदेशीहरू आउँथे र नुवाकोट जिल्लाको तुप्चे गाउँ पुग्थे । माओवादी द्वन्द्वमा यिनीहरूलाई ध्वस्त पारियो । यसको विकल्पमा कुनै प्रभावकारी भुइँ किसानसम्म पुग्ने समूहगत संरचना खडा गरिएन, त्यसैले आजको ‘नयाँ नेपाल’ मा सबभन्दा उपेक्षित साना किसान र सुकुम्बासी छन् । उनीहरूले पाउने भनेको अनुदानका लाभग्राही पार्टीका कार्यकर्ताहरू भएका छन् । कृषि अनुदान र लगानीको चरम दुरुपयोग नेपालको कृषि क्षेत्रको विशेषता भएको छ ।

जुम्लाको स्याउको पीडा पनि यही हो । सामान्य बुद्धिले के भन्छ भने स्याउको बजारीकरण गर्न राज्यको पहिलो खम्बा सरकारले स्याउ किसानहरूलाई विभिन्न सहकारीमा समावेश गरी तिनका माध्यमबाट सरकारी अनुदान, ऋण र सहकारीको स्वामित्वमा आधुनिक शीतभण्डार र फलफूल प्रशोधन उद्योग स्थापना गर्नुपर्छ । यसबाट विकासको पहिलो, दोस्रो र तेस्रो तिनै खम्बाको समायोजन भएर किसानको नाफा बढ्छ, र स्याउ खेतीप्रति आकर्षण पनि । तर यस्ता भुइँ किसानको बिकासमा ध्यान दिन कसलाई फुर्सद ? अग्रगमन र विकासको नारामा कूत बटुल्ने महासामन्तहरूको ध्यानमा जनता आज छैनन् । यो यथार्थमा आधारभूत परिवर्तन नआउन्जेल चीन र भारतबाट स्याउको आयात बढ्दै जानेछ र मेरा मित्र बिर्खबहादुरजीजस्ता स्याउ किसानहरू पीडितै भैरहनेछन् । यस्तै प्रवृत्ति रहिरहने अर्थात् राज्यको ध्यान आजजस्तो काठमाडौंका नेताहरूको दम्भ, अहंकार र धनमोहको शोषणमा मात्र केन्द्रित रहने हो भने देशमा कृषि आयात बढ्दै जानेछ र आर्थिक असन्तुलन काबुभन्दा बाहिर गएर श्रीलंकाको स्थितिमा पुग्न धेरै समय लाग्नेछैन ।

लेखक राप्रपाका निवर्तमान अध्यक्ष हुन् ।

प्रकाशित : श्रावण ५, २०७९ ०८:२०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×