कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

मतदानको सुखानुभूति

झमक घिमिरे

यही मंसिर ४ गते भएको संघीय र प्रदेशसभा निर्वाचनमा मतदान गर्ने मानिसहरू विगतको तुलनामा कमै देखिन्थे । किनभने गणतन्त्र आएपछि पनि जुन राजनीतिक दल सरकारमा पुगे पनि झुठा आश्वासन र झुठा सपनाहरू बाँड्ने कामभन्दा केही गर्न जानेनन् ।

मतदानको सुखानुभूति

त्यसैको परिणामस्वरूप आम नागरिकहरूको निराशा र आक्रोशको अभिव्यक्ति थियो- मतदानमा कम सहभागी हुनु र सहभागी भए पनि स्थापित राजनीतिक शक्तिलाई मत नदिनु । यसपालिको निर्वाचनले पुराना राजनीतिक शक्तिहरूलाई सुध्रिन र जनतालाई सधैं भोट बैंकको रूपमा मात्र नहेर्न सन्देश दिएको छ ।

जनताको मन–मस्तिष्कमा सधैं परिवर्तनको चाहना भइरहन्छ । त्यसैको परिणाम नयाँ राजनीतिक शक्तिको उदय भएको हो । चुनावमार्फत नेपाली राजनीतिक इतिहासमा नयाँ अनुहार नयाँ जोस, जाँगर लिएर आएका छन् । यिनीहरूको जोस–जाँगरलाई अबका संसद् र सरकारहरूले उचित ढंगले व्यवस्थापन गर्न हिच्किचाउनु हुँदैन । नत्र उनीहरूले नै यसको मूल्य चुकाउनुपर्छ । युवा पंक्ति भनेका हिजोका राजनीतिक आन्दोलनहरूमा सहभागी हुने मात्र होइन, देश र जनताका लागि सही नेतृत्व गर्न सक्ने शक्ति पनि हो । युवा शक्तिले नेतृत्व गर्नुपर्छ भन्ने समयको मागलाई गम्भीर भएर सुनेनन् भने भोलि हाम्रा राजनीतिक शक्तिहरूले पछुताउनुपर्नेछ । यस्तो जनभावना बुझेन भने अबको सरकार जनताबाटै बहिष्कारको सिकार हुनेछ ।

यो पंक्तिकार पनि भोट हाल्नका निम्ति नजिकको मतदान केन्द्र पुग्दा मान्छेको घुइँचो पहिलाजस्तो थिएन । तर जति आएका थिए एकदमै अनुशासित भएर मतदानमा सहभागी भइरहेका थिए । आफ्नो मत दिइसकेपछि म त्यहाँ बसेर वरिपरिको वातावरण नियालें सबै शान्त ढंगले मतदान गरिरहेका थिए । मनमा एक प्रकारको खुसीको अनुभूति भयो । आफ्नो ठाउँ, गाउँमा यति सहज रूपमा मतदान भइरहेको देख्दा कसको मन खुसी नहोला र ? ठाउँ–ठाउँबाट झडपका खबरहरू आइरहेका थिए यहाँ भने यति शान्तिपूर्ण वातावरणमा सचेत नागरिकहरू मतसँगै मौन विचार पनि प्रकट गरिरहेका थिए । ती मत नदिने नागरिकहरूलाई मतले प्रश्न गरिरहेका थिए, आखिर किन हामीले लामो संघर्ष गरेर ल्याएको व्यवस्थाप्रति यति वितृष्णा ? राजनीतिक दलका सबै नेताहरू खराब पनि छैनन् । गल्ती गर्नेहरूलाई नदिए पनि सज्जनलाई मत किन दिएनन् ? त्यसमा किन कन्जुस्याइँ गरे ? यस्तैयस्तै प्रश्नहरू खेलिरहे मनमा । बाहिर भने शान्त र मौन रहेरै हाँसेर बसिरहें ।

जिन्दगीमा धेरै कुराको अनुभूति गरियो । किन–किन यो मन निर्वाचनमा मतदान गर्दा त्यसै रमाउँछ, फुरुंग हुन्छ । लोकतन्त्र, प्रजातन्त्रप्रति आस्था राख्ने मान्छे भएको हुनाले होला । मतदान गरेर बस्दै गर्दा एक जना सञ्चारकर्मीले सोधिहाले, ‘किन मत दिनुहुन्छ ?’ जवाफ दिइहालें, ‘म मत विचार दिन दिन्छु र सचेत नागरिकको कर्तव्य पूरा गर्न दिन्छु ।’ उनी चुपचाप लागेर मेरो अनुहारतिर हेरिरहे, म मुसुक्क हाँसिदिएँ । अब छिट्टै सरकार बनाउने खेल सुरु हुँदै छ । यो खेल सुरु हुनु पहिला अब सरकार बनाउनेहरूले सोच्नुपर्छ- देश र जनतासँग गरेका प्रतिबद्धताहरू के कसरी पूरा गर्ने ? युवाहरूको प्रतिनिधित्व कसरी गराउने ? उनीहरूका मुद्दाहरू के कसरी सम्बोधन गराउने ? जनताले जनमत एक दललाई मात्र सरकार बनाउने गरी दिएका छैनन्, सबै मिलीजुली सरकार बनाउन दिएका छन् । कसको नेतृत्वमा सरकार बन्ला, यो हेर्न केही दिन बाँकी छ । जसको नेतृत्वमा सरकार बने पनि जनता र देशप्रति इमानदार भएनन् भने अब जनताले यिनलाई जनमत मार्फत मौन पाराले सजाय दिने निश्चित छ । यो देश र जनतालाई कसैले पनि आफ्नो स्वार्थको भाँडो नबनाऊन् ।

प्रकाशित : मंसिर १३, २०७९ ०७:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?