१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२२

सांसदज्यू, खेतीपाती सपार्न लाग्नुहोस्

आम्दानी र रोजगारीका लागि नेपाली युवा भारत र अरबका मरुभूमिमा खेतीकर्म गर्न गएका छन् । यता कृषिउपज पनि ठूलो मात्रामा आयात गर्नुपर्ने अवस्था छ ।
कृष्णप्रसाद पौडेल

माननीय सांसदज्यूहरू, सर्वप्रथम नीति निर्माण गर्ने थलो संसद्को सदस्यमा निर्वाचित हुनुभएकामा खुसी व्यक्त गर्दै कार्यकाल सफलताको शुभकामना दिन चाहन्छु । हुन त, सामाजिक सञ्जाल र सञ्चारमाध्यममा अरूले हार्दिक बधाई दिएको देखे–सुनेको छु ।

सांसदज्यू, खेतीपाती सपार्न लाग्नुहोस्

तर क्षमा गर्नुहोस्, बधाई त कार्यकाल सफल भए मात्रै दिने हो, मैले अहिल्यै त्यो आँट गरिनँ । सांसदका हैसियतले निर्वाह गर्नुपर्ने भूमिकाबारे यहाँहरूले पक्कै हेक्का राख्नुभएकै छ । सँगै, तपाईंलाई उम्मेदवार बनाउने पार्टी र तपाईंका आफ्नै चुनावी घोषणापत्रसमेत बिर्सनुभएको छैन होला । ती घोषणा पूरा गर्ने काममा यहाँ निरन्तर लाग्नुहुनेछ भन्ने अपेक्षा छ ।

यति भन्दाभन्दै पनि, धेरैका आफ्नै एवं आबद्ध पार्टी र नेतागणका घोषणा, वाचा र भाषण सुन्दा तपाईंहरूलाई आफ्नै भूमिकाबारे राम्ररी थाहा नभएझैं लागेको छ । अप्ठ्यारो नमान्नुहोस्, यहाँहरूको काम विकास बाँड्ने हैन, बरु यस्तो कामलाई न्यायपूर्ण, समतामूलक र दिगो बनाउन आवश्यक नीति बनाउने हो, जसको कार्यान्वयनको मापदण्ड र कार्यप्रगतिमा पृष्ठपोषण गर्ने हो । पहिलेका सांसदले यस्ता काम ठीक ढंगले नगरेको हुँदा मतदाताले यस पटक तपाईंहरूमध्ये कतिपय नयाँलाई छानेका हुन् । उनीहरूले लामो धैर्यपछि तपाईंहरूप्रति भरोसा गर्दै नसुध्रेका पार्टी र उम्मेदवारविरुद्ध घण्टी बजाएका हुन् । तपाईंले यो कुरा राम्ररी विचार नगरेमा अर्को पटक अरूलाई छान्न हामी मतदाता बाध्य हुनेछौं ।

यो देशको उन्नति र आम जनसमुदायको खुसीका लागि अरू कुरासँगै विकासलाई प्रकृतिसम्मत र स्थानीयतामा आधारित बनाउने, यसका लागि जनचेतना र क्षमता बढाउने सरकारका प्राथमिक काम हुन् । यो काम गर्न मुख्य दायित्व बोकेको प्रशासनिक नेतृत्वको पुनःसंरचना र खरिद ऐनजस्ता सार्वजनिक विकासका प्रक्रिया अद्यावधिक गर्न आवश्यक छ । यी काम नगरी आम नेपालीका खाना, नाना, छाना, शिक्षा र जनस्वास्थ्यजस्ता प्राथमिक सवालहरू सम्बोधन हुँदैनन् र सविधानमा प्रस्तावित समाजवादको परिकल्पना अर्थहीन हुन्छ । यिनै कामको सम्बोधनका लागि कानुन सुधारमा दिशाबोध गर्नुभएकै होला । अहिले भने खाना र खेतीपातीका थप सन्दर्भ उठाएर यहाँहरूलाई हाम्रो जीवनको मूल आधार उन्नत बनाउन आफ्नो जिम्मेवारी बोध गर्न आग्रह गर्न चाहन्छु ।

तपाईंहरूलाई थाहै छ, कृत्रिम रसायन, विषादी, खनिज ऊर्जा र प्रकृति दोहनका कारण निरन्तर विघटित प्रकृति, प्रदूषित हावापानी र पर्यावरणले हाम्रो जीवन नै संकटग्रस्त बन्दै गएको छ । माटो निरन्तर निर्जीव हुँदै गएको छ । यसैबीच गत वर्ष मात्र रुसले युक्रेनमा युद्ध सुरु गरेपछि विश्व बजारमै खानेकुराको संकट गहिरिएको छ । भारत लगायत कतिपय देशले केही खानेकुरा निर्यातमा रोक लगाउने कुराले मात्र हामीलाई आतंकित बनाउँदै महँगीको मारमा पारेको यहाँहरूले याद गर्नुभएकै होला । यी सबै कुराले हाम्रो खानेकुराको भविष्य कति जोखिमपूर्ण छ भनिरहन नपर्ला । यस्तो संकट झनै बढ्दै जाने कुरा मनन गर्न यो प्रसंग उठाइएको हो ।

अहिले जलवायु परिवर्तनले हाम्रो जीवनमा संकट चुलिँदै गएको छ । गत वर्ष वर्षाले मनाङदेखि मेलम्चीसम्म ल्याएको वितण्डा र धानबालीमा भएको क्षति सम्झनुहोस् त । चुरे दोहनले निम्त्याएको संकटबारे त यहाँहरूलाई सम्झाउनै परेन । यसरी वर्षैपिच्छे अतिवृष्टि, अनावृष्टि, बाढी, पहिरो, डुबानले चुरे–भावर, तराई–मधेशका लाखौं पविवारको जीविकाको मुख्य आधार तहसनहस हुँदै गएको छ । एक छिन सोचौं त, यस्तै वर्षा र उस्तै खडेरी आउने वर्षमा पनि दोहोरिरहे भने हाम्रो जीवन के होला ? यी संकट सम्बोधन गर्ने अपेक्षा गरिएका राष्ट्रिय–अन्तर्राष्ट्रिय सम्मेलनहरू यसतर्फ इमानदार पहल गर्ने प्रतिबद्धता–कार्ययोजनाबिनै समापन हुने गरेका छन् । नखाएको विषले प्रभावित हामीजस्ता करोडौंको जीवन यसबाट थप कष्टकर भएको छ । अतः यसबारे सरकारलाई दिशानिर्देश गराउन यहाँहरूले भूमिका खेल्न जरुरी छ ।

अर्को कुरा, कृषिप्रधान देशकै बहुसंख्यक नेपाली किनेर खान विवश छौं । आम्दानी र रोजगारीका लागि नेपाली युवा भारत र अरबका मरुभूमिमा खेतीकर्ममा सघाउन गएका छन् । यता कृषिउपज पनि ठूलो मात्रामा आयात गर्नुपर्ने अवस्था छ । यसप्रति तपाईंहरूले राम्रै चिन्तनमनन गर्नुहुनेछ भन्ने विश्वास लिएको छु । बाँझो जमिन, जलवायु परिवर्तनको बढ्दो जोखिम, खानेकुरामा रसायन र विषादीको समस्या, उत्पादक साना तथा सीमान्त किसानका लागि उत्पादनका आवश्यक स्रोतसाधन, उन्नत बीउ, मल र चिस्यानको जोहो र दलालमुक्त बजार बन्दोबस्त कृषि विकासका आधारभूत सवाल हुन् । कृषि शिक्षा, अनुसन्धान, प्रसार र प्रशासन संयन्त्रको पुनःसंरचना, सरकारी तथा गैरसरकारी क्षेत्रमा कार्यरत कृषि प्राविधिकको क्षमता वृद्धि र हाम्रो आफ्नै भौगोलिक तथा पर्यावरणीय विशेषतामा उपयुक्त कृषि प्रविधि विकास पनि उत्तिकै महत्त्वपूर्ण छन् । दीर्घकालीन सोचसहित यी विषयको सम्बोधन नगरी हाम्रो कृषि क्षेत्रको रूपान्तरण सम्भव हुँदैन । विडम्बना, तपाईंहरू र आबद्ध पार्टीहरूले बाँडेका घोषणापत्र नामका ग्यारेन्टीपत्रमा यी आधारभूत सवाल सम्बोधन गर्ने उपयुक्त प्रस्तावहरू छैनन् भन्नुपर्दा मलाई रमाइलो लागेको छैन ।

धेरै पार्टीका घोषणापत्रमा नेपाली भूगोल र समाजको विशेषता, बदलिँदो आर्थिक सामाजिक परिवेश, कृषिक्षेत्रमा परिरहेको भूमण्डलीकरणको असर, क्षेत्रीय भूराजनीतिक प्रभाव र यिनको कृषिक्षेत्रमा पर्ने भविष्यको सम्भाव्य जोखिमको आकलन गरी गर्नुपर्ने दृष्टिबोध र रणनीतिक मार्गचित्र स्पष्ट छैनन् । नेपाली समाज उन्नत बनाउने दृष्टिकोणबिनै शब्दजालको खेतीबाट देश विकासको आकासे फल देखाउने यी ग्यारेन्टीपत्र विकासे बीउजस्तै अनुत्पादक छन् ।

अहिले साढे ३ खर्बको कृषिउपज आयात भइरहेको छ । यो घटाउनेभन्दा निर्यात बढाउने कुरा सबैको प्राथमिकतामा छ । धेरैको घोषणापत्रमा विकासे बीउ र कारखानामा बनाइने कृत्रिम मलमार्फत कृषि उत्पादन बढाइने जिकिर गरिएको छ । मल–विषादीका कारखाना र विकासे बीउ नभएर कृषि नसुध्रेको भाष्य तिनमा पाइन्छ । सबै घोषणामा भूउपयोग र भूमिसुधारले राम्रै ठाउँ ओगटेका छन् । तर माटो र समग्र प्रकृति विघटन भैरहेको यो अवस्थामा कृषि जमिनका यी संरचनागत सवालसँगै माटो बचाउने चुनौतीको सामना गनुपर्नेछ । बाँझो जमिन र चाक्लाबन्दीका विषय पनि सबैका घोषणापत्रमा कुनै न कुनै हिसाबले उठाइएका छन् । यी कुनै नयाँ प्रस्ताव हैनन् । जमिन बाँझो भएकै दुई दशक भैसक्यो । यो निरन्तर बढिरहेको छ । तर कुनै पनि पार्टीको घोषणापत्रमा हरित कृषिको बाटो र असफल कृषि मन्त्रालय र मातहतको पुनःसंरचनाबारे चर्चा गरिएकै छैन । अन्यथा नलिनुहोला, पुराना पार्टीका पुरानै घोषणा नपत्याउने कुरा स्वाभाविकै हो तर नयाँ पार्टीका घोषणा पनि भरोसा गर्नलायक देखिएका छैनन् ।

सांसदज्यूहरू, मूल कुरा तपाईंहरूले फूलमाला लगाएर छिरेको संसद्ले स्वस्थ खानेकुरा, स्वच्छ माटो, पर्यावरण, ग्रामीण समुदायको जनजीविका, किसानको स्वाभिमानी जीवनशैलीजस्ता कृषिका मूलमर्मलाई सम्बोधन गर्न उपयुक्त नीति, ऐन कानुन बनाउन र सरकारले ल्याउने आवधिक तथा वार्षिक योजना र कार्यक्रममा रचनात्मक सुझाव र पृष्ठपोषण गर्न के कस्तो विचार पुर्‍याउँछ भन्ने नै हो । जनजीविका, विकास र सुशासनका अन्य सवालसँगै खाना र खेतीपाती उन्नत बनाउनका निम्ति नीति निर्माण गर्न तपाईंहरूले केकस्तो भूमिका खेल्नुहुन्छ भन्ने हो । इच्छाशक्ति भएमा तपार्इंहरूले नीतिगत पहल गर्न सक्नुहुन्छ । कृषि सपार्ने ध्येयका लागि मुख्य कार्यभार यी हुन सक्छन्:

- नेपाली नागरिकको खाद्य तथा पोषण सुरक्षा सम्बन्धी संविधानप्रदत्त हकको प्रत्याभूतिका लागि खाद्यमा आत्मनिर्भर र तुलनात्मक कृषिउपजको प्रवर्द्धन गर्ने नीतिको पक्षमा लाग्नु तपाईंहरूको पहिलो दायित्व हुनुपर्छ । कृषिक्षेत्रलाई क्रमशः प्रकृतिमैत्री बनाउँदै कृषि तथा साना पशुपक्षीजन्य प्रमुख खाद्य वस्तुहरूको उत्पादन तथा उत्पादकत्व वृद्धि गरी मुलुकमा भैरहेको खानेकुरा लगायत कृषिजन्य आयातलाई प्रतिस्थापन गर्दै लैजाने दिशामा तपाईंहरूले रचनात्मक भूमिका खेल्नुपर्छ ।

- दिगो कृषि विकासका मापदण्डका आधारमा खाद्यमा आत्मनिर्भर र तुलनात्मक लाभका कृषि उपजबाट रोजगारी र आम्दानी बढाउन पर्यावरणीय कृषि विकासको ढाँचामा आधारित कृषि पद्धति अपनाउन र सोही अनुरूप कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा दृष्टि पुर्‍याउनु तपाईंहरूको दोस्रो कार्यभार हुनुपर्छ ।

- नेपालजस्तो विविध कृषि प्रणालीमा स्थानीय विशेषतामा आधारित ढाँचाहरू अवलम्बन गर्नुको विकल्प छैन । यसका लागि तत्कालै कृत्रिम रसायन तथा रसायनमा आधारित विषादीहरूबाट कृषिक्षेत्र लगायत मानव स्वास्थ्यमा परिरहेको बढ्दो जोखिम न्यूनीकरणका लागि नियमन, अभिमुखीकरण र जनचेतना अभिवृद्धिका कार्यक्रमहरू सञ्चालन गर्ने व्यवस्था मिलाउन उपयुक्त उपाय सुझाउनु यहाँहरूको तेस्रो कार्यभार हुनुपर्छ ।

- रसायन र विषादीमा रोक लगाउँदै रासायनिक मल अनुदान कटौती गर्ने प्रांगारिक मल, गोठ सुधार, कम्पोस्ट मल र जैविक मल र विषादी बनाउन आवश्यक प्रविधि र क्षमताको विकास गर्ने र यो प्रणालीलाई उन्नत बनाउन तत्कालै पहल गराउनु तपाईंहरूको चौथो कार्यभार हुनुपर्छ ।

- कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतका निकायहरूको संरचनागत समीक्षा गरी तीनै तहका संरचनाहरू पुनर्गठन र कार्यादेश परिमार्जन गर्ने प्रबन्ध मिलाउन नसके यी सबै कुरा भाषणमा मात्र सीमित हुन्छन् । अतः यिनका साथै सरकार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघ–संस्थाबाट खाद्य तथा कृषिक्षेत्रमा सञ्चालित परियोजनाको प्रभावकारिता र उपलब्धिको स्वतन्त्र समीक्षा गरी यिनको कार्यक्रम र कार्यविधि परिमार्जन गर्दै खानाका लागि खेतीपातीको मार्गचित्र बनाउन आवश्यक कदम चाल्न लगाउनु तपाईंहरूको पाँचौं कार्यभार हो ।

कृषि आफैंमा बृहद् क्षेत्र हो । यो जीवनका सबै आयामसँग जोडिएको छ । यसको सम्बोधन एकाकी तवरबाट हुन सक्दैन । तसर्थ यसलाई एकीकृत सामाजिक अर्थव्यवस्था, शिक्षा, जनस्वस्थ्य र दिगो प्रकृतिको अन्तरसम्बन्धको बृहद् चित्रमा हेरिनुपर्छ । यो कुराको मर्म बुझ्नु नै भएको होला भन्ने आशा गरेको छ । हाम्रो उन्नतिका लागि जिम्मेवारी बोध गर्नुभएको छ भन्ने भरोसा जागेरै यो पत्र लेखेको हुँ ।

प्रकाशित : मंसिर १३, २०७९ ०७:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

केन्द्रमा सत्ता गठबन्धन फेरबदल हुँदा प्रदेश सरकारमा समेत त्यसको असर पर्नुको सन्देश के हो ?