बहुउपयोगी औट्याङ्गा जोगाऔं

दुर्लभ औट्याङ्गाको बीउलाई चुरे र त्यस आसपासका तराई क्षेत्रमा रोप्न उपयुक्त हुन्छ ।
कमल मादेन

केहीअघि सुनसरीको रामधुनी नगरपालिका–६ स्थित आफन्त टोल तथा कुमरखत सामुदायिक वनमा औट्याङ्गाको बिरुवा रोपिएको थियो । गत वर्ष इटहरीका मित्र माधव कोइरालाले जंगली फल भन्दै यसको बोट देखाएका थिए, जुन १२/१५ फिट अग्लो थियो । ६–७ वर्षअघि कतैबाट ल्याएर रोपिएको रहेछ ।

बहुउपयोगी औट्याङ्गा जोगाऔं

यसको फलबाट बनाइने परिकार ज्यादै स्वादिष्ट हुन्छ भन्दा उनी तीनछक परेका थिए । तराई र पहाडतिर उल्लेख्य मात्रामा हुने टाँटरी भनिने वनस्पतिको सहगोत्री हो यो । पात र काठ काटीकुटी टाँटरीसँग मिल्छ । तर, पात अलि सानो र फल भने हत्केलाभरिको हुन्छ । हात्तीले औट्याङ्गाको फल खुबै खोजीखोजी खाने रहेछ र आकार पनि स्याउजत्रो हुने गरेकाले यसलाई ‘एलिफेन्ट एप्पल’ पनि भनिँदो रहेछ ।

उपयोगी वनस्पति : तीन वर्षअघि झापास्थित जलथल जंगलमा औट्याङ्गाको १/२ रूख रहेको मित्र लीलानाथ शर्माले बताएका थिए । त्यसको एक वर्षपछि उनैसँग हल्दीबारी गाउँपालिका पुगियो । जलथल जंगलको अधिकांश भाग यो गाउँपालिका पर्छ, सोही नजिक रहेको अर्पण राईको बगैंचामा औट्याङ्गाको बोट भेटियो । स्थानीयले यसलाई ‘ठाइडिठ’ भन्दा रहेछन् । राईले झन्डै २० फिट अग्लो बोटबाट केही फल टिपेर दिए । खुकुरीले फोरेर फलको भित्री भाग हेरियो । फल भनिए पनि वास्तवमा यसको करिब दुईतिहाइ हिस्सा फूलमा हुने ‘सेपल’ अर्थात् पुष्पदल हुने रहेछ । यस्तो फल टाँटरीमा पनि हुन्छ । यस्तै, पातलो पुष्पदलबाट गोलभेंडे झार (फाइजालिज प्रजाति) को फल पनि ढाकिएको हुन्छ । बेलचन्डाको फल पनि रातो पुष्पदलले ढाकेको हुन्छ । अन्य वनस्पतिमा भने प्रायः परागसेचनपछि पुष्पदल र पुष्पपत्र ओइलाएर झर्छ । तर औट्याङ्गामा परागसेचनपछि पुष्पदल हौसिएर बढ्छ र फलको आकृतिमा परिणत हुन्छ । पाँचवटा पुष्पदल जोडिएर फलको आकृति बनेका कारण यसलाई पाँचफल पनि भनिन्छ ।

राई आफन्त भेटन आसाम जाँदा रहेछन् । त्यहाँ औट्याङ्गाको तरकारी तथा अचारको स्वाद मन परेर बिरुवा ल्याएछन् । उनको भान्सामा यसको अचार आँपको अचारझैं बट्टामा राखिएका थिए । स्वाद साह्रै मीठो, सबै चपाएर खान सकिने । यसको पुष्पदल माछाको तरकारी बनाउँदा हालिँदो रहेछ । मासु वा अन्य तरकारीमा हाल्दा पनि यो निकै मीठो बन्दो रहेछ । राईका अनुसार आसाम र आसपासका गाउँमा हिजोआज प्रायः घरमा यसको बोट भेटिन्छ ।

औट्याङ्गा औषधिका रुपमा पनि उपयोगी छ । यसको बोक्रा तथा पातको रस मधुमेय उपचारमा प्रयोग गरिन्छ । पुष्पदलको सेवनले पेट गडबड भएको सन्चो हुन्छ । फलको लेसाइलो पदार्थले स्याम्पु पनि बन्छ, नियमित लगाए कपाल झर्न रोकिन्छ भनिन्छ । लोकरञ्जन भट्टको ‘वाइल्ड इडिबल फ्रट्स अफ नेपाल, सन् २०२१’ पुस्तक अनुसार यसको फलमा भिटामिन सी, प्रोटिन, क्याल्सियम, फाइबर, फसफोरस मनग्यै छ, फ्याट भने शून्य दशमलव शून्य २६ प्रतिशत मात्र छ (पृष्ठ ६९) । तसर्थ मुटुरोगीका लागि यो वनस्पति अत्यन्तै उपयोगी छ ।

डिल्लेनिया इन्डिका : औट्याङ्गा डिल्लेनिया जाति (जिनस) को वनस्पति हो । यसको नाम स्विडेनका कार्ल लिन्नियस राखेका हुन् । युवा छँदा अक्सफोर्ड विश्वविद्यालय जर्मनीका प्रख्यात वनस्पतिविज्ञ जोहन्न ज्याकोब डिल्लेनियसले उनलाई पढाउँदा रहेछन् । सन् १७३६ मा उनी डिल्लेनियसलाई भेट्न बेलायत गए । त्यसपछि उनीहरूबीच मित्रताको सम्बन्ध स्थापित भएछ । एकआपसमा वनस्पतिका नमुना साटासाट गर्थे । लिन्नियसले भारतबाट संकलन गरेको वनस्पतिका नमुना अध्ययन गर्दा

औट्याङ्गा विवरण अन्य कुनै वनस्पति परिवारसँग मेल खाएन । उनले नयाँ वनस्पतिलाई डिल्लेनियसको सम्मानमा वनस्पतिको नयाँ परिवार र जाति क्रमशः डिल्लेनिएसी र डिल्लेनिया राखे । भारतबाट नमुना संकलन गरेकाले प्रजाति नाम अर्थात् ‘स्पेसिस इपिथेट’ चाहिँ ‘इन्डिका’ राखे । फलत, वनस्पति विज्ञानमा औट्याङ्गाको नाम डिल्लेनिया इन्डिका भयो ।

अचेल डिल्लेनिएसी परिवारमा ११ जाति सूचीकृत छन् । तीमध्ये डिल्लेनिया जातिको वनस्पति दक्षिण तथा दक्षिणपूर्व एसिया लगायत अस्ट्रेलिया र मादागास्करमा ५ दर्जन जति प्रजाति छन् । नेसनल हर्बेरियम एन्ड प्लान्ट ल्याबोटोरी, गोदावरीमा डिल्लेनिया औरिया, डिल्लेनिया इन्डिका, डिल्लेनिया पेन्टागाइना (टाँटरी), डिल्लेनिया स्काब्रेल्ला संगृहीत छ । औट्याङ्गा अर्थात् डिल्लेनिया इन्डिका नेपाल, भारतसहित दक्षिणपूर्व एसियाको सुमात्रा द्वीपसम्म पाइन्छ । यो १५ मिटर अग्लो र पात २०–३० सेमि लामो तथा १० सेमि चौडासम्म हुन्छ । पातको वरिपरि अन्य डिल्लेनिया जातिका वनस्पतिझैं आराका धारजस्ता दाँती हुन्छन् । जुनदेखि अगस्टसम्म सानो हाँगाको टुप्पामा अक्सर एउटा फूल राति फुल्छ, दिउँसोसम्म विरलै अडिन्छ ।

डिल्लेनिया इन्डिकाको पाँच पुष्पपत्र सेतो वा घ्यू रङको हुन्छ । फलजस्तो देखिएको संरचना पुष्पदल भएपछि गर्भाशयबाट बनेको वास्तविक फल भित्रपट्टि हुन्छ । त्यो झन्डै सुन्तलाको बोक्रा छिलेको आकृतिजस्तो तर घ्यू रङको हुन्छ । भिन्दाभिन्दै स्त्रीकेशरको गर्भाशयबाट बनेको २० वटासम्म केस्रा हुन्छ । यसको फूलमा पुङ्केशर (भाले प्रजनन अंग) दजैनौं संख्यामा हल्का पहेंलो, भित्रपट्टिको लामो र बाहिरका कडा हुन्छन् । पुष्पदल निकालिएको फलको मुनिपट्टि सुकेको अवस्थामा पुङ्केशर रहन्छ । फूलमा स्त्रीकेशर (पोथी प्रजनन अंग) सेतो हुन्छ, जुन झलक्क हेर्दा फूलभित्र सानो अर्को फूल फुलेको जस्तो देखिन्छ । पुष्पदल निकालिएको फलको टुप्पोतर्फ स्त्रीकेशर छपक्क टाँसिएर रहन्छ । यसको फूल विशेषतः कीराबाट परागसेचन हुन्छ । फल फेब्रुअरीसम्म रहन्छ । सन् २००५ मा भारत सरकारले ५ रुपैयाँको हुलाक टिकटमा यसको फूल राखेको थियो ।

जंगलमा मासियो : कृष्णकुमार श्रेष्ठ र अरूहरूले लेखेको ‘प्लान्टस अफ नेपाल, सन् २०२२’ पुस्तकमा डिल्लेनिया इन्डिका नुवाकोटमा पनि थियो । यसको नमुना नाथानियल वालिचले सन् १८२१ मा संकलन गरेका थिए । त्यस्तै जापानिज वनस्पति विज्ञको टोलीले यसको नमुना झापाको शनिश्चरेमा सन् १९६३ मा पनि संकलन गरेका थिए । तीर्थबहादुर श्रेष्ठ र टीके भट्टाचार्य तथा टीके भट्टाचार्य र हरिकृष्ण सैंजूले यो वनस्पति क्रमशः सन् १९७२ र १९७५ मा इलामको चुलाचुलीतिरबाट संकलन गरेका थिए । वनस्पति विभागले सन् १९८२ मा प्रकाशन गरेको ‘वाइल्ड इडिबल प्लान्टस अफ नेपाल’ पुस्तकमा यो वनस्पति धरानको दक्षिण पूर्वमा रहेको पञ्चकन्या जंगलमा भेटिएको जानकारी छ । पंक्तिकारले २०५४ सालमा ‘जेनरल सर्भे एन्ड बायोकेमिकल एनालाइसिस अफ दा वाइल्ड इडिबल फ्रुट्स अफ कोसी जोन, इस्टर्न नेपाल’ शीर्षकमा स्नातकोत्तरको शोधकार्य गरेको थियो । उसबेला पञ्चकन्या लगायत चारकोसे झाडीमा यो वनस्पति फेला पार्न सकिएन । त्यसपछि यो वनस्पति पूर्वी नेपालमा प्राकृतिक अवस्थामा मात्र झापाको जलथलमा रहेको जानकारी पाइयो । नेपाल सरकारको वनस्पति विभागको कैलाली र मकवानपुर शाखाले क्रमशः सन् २०१६ र २०१७ मा प्रकाशन गरेको भिन्दाभिन्दै दुई पुस्तक अनुसार यो वनस्पति मध्य तथा पश्चिम नेपालमा अस्तित्वमा छ भन्ने संकेत पाइन्छ ।

विश्वभरिको वनस्पति तथा जन्तुको प्राकृतिक अवस्थाबारे जानकारी दिने संस्था इन्टरनेसनल युनियन फर कनजरभेसन अफ नेचर (आईयूसीएन) ले डिल्लेनिया इन्डिकालाई रातो सूचीमा समावेश गरेको छ । यसको अर्थ यो संकटमा छ । केही सन्दर्भ सामग्रीमा यो वनस्पति हात्तीले खाएर प्राकृतिक रूपमा उम्रन्छ भन्ने छ । यसलाई पत्याउने हो भने हात्तीको चहलपहल घटेका कारण, यसको विस्तार हुन नसकेको हो । तर, योभन्दा भरपर्दो अधार डिल्लेनिया इन्डिका पाउने क्षेत्रमा मानिसको बसोबास बढेको छ । घाँस–दाउराका लागि यसका रूखहरू ढालिए । टाँटरी बन्चराले सजिलै चिरिन्छ । त्यसैले यसको बोट जंगलमा मासिँदै गयो ।

औट्याङ्गाको बीउलाई चुरे र त्यस आसपासका तराई क्षेत्रमा रोप्न उपयुक्त हुन्छ । रोपेको ५/६ वर्षमा फल्छ । तर, नेपालमा यो अत्यन्त दुर्लभ छ । त्यसैले नर्सरी व्यवसायीहरूले यसको बिरुवा उत्पादन गर्न सक्छन् । डिभिजन वन कार्यालयहरूले सामुदायिक वन समूहहरूलाई यो वनस्पति रोप्न गर्न उत्प्रेरणा गर्नुपर्छ । सरोकारवालालाई हेक्का रहोस्— वृक्षरोपण काठ उत्पादन गर्ने बिरुवारोपन मात्र होइन, दुर्लभ वनस्पति जोगाउनु पनि हो । अतः यस्ता वनस्पति संरक्षणप्रति सबैले ध्यान दिनु जरुरी छ ।

प्रकाशित : मंसिर ११, २०७९ ०७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?