१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

जनता ब्युँझिएका बेला

सम्पादकीय

निर्वाचन तथा मतदानका क्रममा देखिएको नागरिक–निराशाको नतिजास्वरूप मतपरिणाम भने केही चाखलाग्दो आएको छ । आम नागरिकलाई पनि खल्तीको गोटी ठानेर निर्वाचनलाई ‘प्राविधिक वैधता’ हासिल गर्ने संयन्त्र मात्र बनाउन उद्यत राजनीतिक दल र नेताहरूले ठूलै चोट भेटेका छन्  ।

जनता ब्युँझिएका बेला

अन्तिम परिणाम आइसक्न बाँकी भए पनि अहिलेसम्मको गणना–गणितले दिएको सन्देश प्रस्टै छ— नागरिकहरूले देशमा सुधार चाहेका छन् । देशको मुहार फेर्न संसद् र सरकारमा पुग्ने अनुहारहरू बदल्न चाहेका छन् । स्थापित शक्तिहरू खिइनु एवं नयाँ राष्ट्रिय र क्षेत्रीय शक्तिहरू उदाउनु यसकै परिणति हो । अघिल्लो चुनावका तुलनामा एमाले र माओवादी केन्द्रको सिट संख्या नै उल्लेख्य घट्ने देखिएको छ भने कांग्रेसले पनि समानुपातिक मत राम्रैसँग गुमाउँदै छ । यस क्रममा केही महिनाअघि मात्र खुलेको राष्ट्रिय स्वतन्त्र पार्टी माओवादी हाराहारीको नयाँ शक्ति बनेर उदाउँदै छ । उता मधेशमा जनाधार भएका जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी खुम्चिँदै गर्दा त्यहाँ जनमत पार्टी उदाएको छ भने सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीले जग हाल्दै छ ।

मतपरिणामले स्पष्ट भन्छ— लामो समयदेखि आलोपालोजसरी शासनसत्ता चलाउँदा पनि राष्ट्रोन्नति गर्न अक्षम नेताहरूसित नागरिकहरू वाक्कदिक्क छन् । त्यही भएरै आफ्नो सार्वभौम नागरिक शक्तिको उनीहरूले विवेकपूर्ण प्रयोग गरेका छन्, भलै केही अझै दोहोरिएका छन् । कैयौं वर्षदेखि समाजमा जरा गाडेका र ‘नेटवर्किङ बिजनेस’ जस्तै लाभको सम्बन्धका रूपमा माथिदेखि तलसम्म जन्जाल फैलाएका दलहरूका सबका सब ठूला नेताहरू — मुलुक समुन्नत नहुनुमा जो बढी जिम्मेवार छन् — लाई हराउन पक्कै सम्भव हुँदैनथ्यो । फेरि संयोग यस्तो छ कि धेरैजसो प्रमुख नेताका गृहजिल्ला तथा निर्वाचन क्षेत्र ठूला सहरबाहिर छन्, जहाँ तुलनात्मक हिसाबले चलायमान मतदाता कम हुन्छन् । कोही ठूला नेताले त्यस्तै सहज निर्वाचन क्षेत्र खोज्दै आफूलाई सुरक्षित बनाएका छन् । यति हुँदाहुँदै पनि परीक्षित, उत्साहहीन र सपनाविहीन दल तथा नेताहरूबाट ठूलो संख्यामा मतदाता टाढिएका छन् । कतिपय स्थापित नेताहरूको शासकीय सपनालाई नागरिक विवेकको मत–आँधीले उडाइदिएको छ ।

अचम्म त, यस चुनावले राजनीतिक–सामाजिक आन्दोलनको पृष्ठभूमि र कुनै उल्लेख्य विरासत नै नभएको गत असारमा मात्र दर्ता गरिएको राष्ट्रिय स्वतन्त्र पार्टीलाई जसरी नयाँ शक्तिका रूपमा स्थापित गरेको छ, त्यो नेपाली राजनीतिक इतिहासको अभूतपूर्व घटना हो । २०१५ सालको मुख्य शक्ति कांग्रेस सात सालमा क्रान्ति गरेको पार्टी थियो भने नेपाल राष्ट्रवादी गोरखा परिषद्ले राणाहरूको विरासत बोकेको थियो । २०४८ सालपछि एमालेसित पञ्चायतविरुद्ध संघर्षको पृष्ठभूमि थियो भने राष्ट्रिय प्रजातन्त्र पार्टीले पञ्चायतकै विरासत बोकेको थियो । २०६२/६३ सालपछि माओवादीसित सशस्त्र विद्रोहको पृष्ठभूमि जोडिएको थियो भने मधेशवादी दलहरूसित मधेश आन्दोलनको । यस परिप्रेक्ष्यमा राष्ट्रिय स्वतन्त्र पार्टी सर्वथा जादुयी ढंगबाट उदाएको छ । नेपालको राजनीतिक विकासमा यो आफैंमा एक विस्मयकारी परिघटना भए पनि यसका केही आधार भने अवश्य छन् ।

खास गरी सुशासन र सार्वजनिक सेवा वितरणजस्ता नागरिक–जीवनसित प्रत्यक्ष जोडिएका सवालमा चुकेका स्थापित दलहरू आफैंले जनतालाई विकल्प खोज्न ठाउँ खाली गरिदिएका हुन् । अतः तुलनात्मक हिसाबले देश–विदेश बुझेका, परीक्षण हुन बाँकी रहेका र जेलनेलको फुर्ती नछाँटेकाहरूलाई पत्याउन नेपाली जनतालाई गाह्रो नपर्नु स्वाभाविक हो । नागरिकको यही मनोविज्ञानलाई नयाँ पार्टीले पुँजीकृत गरेको हो । यहाँ भन्नैपर्ने हुन्छ— आन्दोलन र जेलनेल राजनीतिक परिवर्तनका लागि महत्त्वपूर्ण भए पनि यो मात्रै पटक–पटक संसद् र सरकारमा पुग्ने योग्यता नभएकामा नेपाली जनता अब प्रस्ट भैसकेका छन् । जसपा र लोसपाको जनमत खस्कनुको कारण पनि यही हो । हिजो मधेश आन्दोलन हाँके पनि आज मधेशी जनताको जीवनस्तर र भुइँ–मुद्दा बोक्न उनीहरू विफलप्रायः भएको यथार्थलाई नयाँ दुई पार्टीले अवसरमा परिणत गरेका हुन् ।

आफैं बन्ने क्रममा रहेका यी नयाँ दल–शक्तिहरू कुन रूपमा अघि बढ्छन्, आजै भन्न सकिन्न । तर यति चाहिँ अहिल्यै भन्न सकिन्छ— उनीहरू जुन रूपमा अघि बढ्छन्, नागरिकले आगामी चुनावमा त्यही अनुरूप मत–पुरस्कार वा मत–सजाय दिनेछन् । यस सन्दर्भमा अबको राजनीतिक मार्ग प्रस्ट छ— कि ठूला दलले पाठ सिक्छन् र आफूलाई सुधार्छन्, कि यी नयाँ दलले थप जरो गाड्छन् या आफैं बिलाउँदै जान्छन् र अरू नयाँ शक्ति उदाउँछन्, जसरी अहिले यी दल उदाए । कुरा प्रस्ट छ— समस्याको अतिरञ्जित सैद्धान्तिकीकरण गर्दै बडा–बडा शब्दाडम्बर मात्र सुनाउने तर महसुस हुने गरी सुधारको कुनै प्रयत्न नगर्ने दल तथा नेताहरूसित जनता सम्मोहित भैरहन सक्दैनन् । उनीहरूलाई आफ्ना दैनन्दिन समस्या र जीवनसित सोझै जोडिएका सवालहरूको चिन्ता छ, यही कारण उनीहरू नवतरुणहरूप्रति आकर्षित छन्, र आशावादी पनि ।

यो चुनावसित जोडिएका अरू केही पाटा पनि छन् । जस्तो, निर्वाचनपूर्वको गठबन्धन कति उचित–कति अनुचित छुट्टै बहसको विषय हो, तर अहिलेका गठबन्धन र तालमेललाई मतदाताले सम्पूर्ण रूपमा नरुचाएको बुझ्न मतगणनाको अन्तिम परिणाम कुर्नुपर्दैन । अघिल्लो निर्वाचनपूर्वको वाम गठबन्धन अनुमोदन भएको सन्दर्भमा यतिचाहिँ भन्न सकिन्छ— सैद्धान्तिक आधारमा भएको गठबन्धनलाई मात्रै मतदाताले सहजै स्विकार्दा रहेछन् । पहिलो हुने चुनिने र समानुपातिकतर्फ जसरी मत बाँडिएको देखिन्छ, त्यसबाट अनुमान गर्न सकिन्छ— निश्चित दलमा झुकाव राख्ने मतदाता, जसलाई दलहरूले आफ्नै पोल्टाको सम्झेका थिए, तिनले पनि आफूहरू ‘दलीय दास’ नभएको स्पष्ट सन्देश दिएका छन् । मतदाताको शौर्य र लोकतन्त्रको सौन्दर्य भनेकै यही हो । अर्को, ठूलो खर्च गरेर मात्रै चुनाव जितिने जुन डरलाग्दो प्रवृत्ति पछिल्लो समय मौलाइरहेको थियो, त्यसमा पनि यस पटक थोरै विराम लागेको छ, जुन सकारात्मक सुरुआत हो ।

मुख्य विषय, अब बन्ने संसद् र सरकारले परिणाम दिन सक्नुपर्छ, यसमै दलहरूको भविष्य निर्भर छ । यो चुनावको समवेत सन्देश र आम अपेक्षा यही हो ।

प्रकाशित : मंसिर ९, २०७९ ०८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?