समानुपातिक प्रणालीको गणितीय सूत्र र प्रयोग

पूर्ण समानुपातिकताको वकालत गर्नेको संख्या धेरै छ, सँगै यसमा कसरी सिट संख्या निर्धारण गरिन्छ भन्ने जनकारी कमैलाई हुने गर्छ ।
शान्ता मरासिनी

निर्वाचन आयोग प्रतिनिधिसभा तथा प्रदेशसभाको मत परिणाम छिटोभन्दा छिटो घोषणा गर्न आतुर छ । मतगणनास्थलमा उम्मेदवारहरू तथा देशभरिका मतदाता नतिजाको प्रतीक्षामा छन् । यो निर्वाचनमा प्रतिनिधिसभातर्फ विभिन्न राजनीतिक दलका र स्वतन्त्र गरी २ हजार ४ सय १२ तथा प्रदेशसभाका लागि ३ हजार २ सय २४ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

समानुपातिक प्रणालीको गणितीय सूत्र र प्रयोग

त्यस्तै प्रतिनिधिसभामा समानुपातिकका लागि २ हजार १ सय ९९ र प्रदेशसभातर्फ ३ हजार ७ सय ८ उम्मेदवार प्रतिस्पर्धामा छन् । यो निर्वाचनमा प्रतिनिधिसभाका लागि २७५ र प्रदेशसभाका लागि ५५० सांसद चयन हुनेछन् ।

मतदान सम्पन्न भई मत बाकसहरू निर्वाचन अधिकृतको कार्यालयमा आउनेबित्तिकै गणना सुरु गरिन्छ । र, यो प्रक्रिया अत्यन्तै संवेदनशील र जटिल छ । सदर मतलाई दल वा उम्मेदवारको विजयी सिटमा रूपान्तरण गर्न गणितीय सूत्रलाई प्रयोग गरिन्छ, खास गरी समानुपातिक प्रणालीका लागि । निर्वाचन प्रणालीको प्रकार र प्रकृतिका आधारमा सूत्रहरूको निर्क्योल गरिन्छ । यहाँ देशलाई एउटै निर्वाचन क्षेत्र मानी राजनीतिक दललाई मत दिने अर्थात् समानुपातिक प्रणाली अन्तर्गतको मतलाई सिटमा रूपान्तरण गर्ने सूत्रहरूको चर्चा गरिएको छ ।

हेयर कोटा विधि

सन् १८५१ मा बेलायती विद्वान् थोमस हेयरले प्रतिपादन गरेको यो सिद्धान्त सर्वप्रथम डेनिस मन्त्री आन्ड्रेले सन् १८५५ मा प्रयोग गरेका थिए । कुनै निर्वाचन क्षेत्रमा खसेको मतमध्ये कुल सदर मतलाई पूर्ति गरिनुपर्ने स्थान (सिट संख्या) ले भाग गरिन्छ । यसले शेष विधि बढीभन्दा बढी प्रयोग गर्छ ।

ड्रुप कोटा विधि

सन् १८६८ मा गणितज्ञ तथा कानुनविद् हेनरी आर ड्रुपले विकास गरेका हुन् । यो समानुपातिक प्रणालीमा प्रयोग गरिने फरक खालको कोटा विधि हो, जसले पनि अधिक शेष विधि नै प्रयोग गर्छ । कुल सदर मतलाई पूर्ति गर्नुपर्ने सिट संख्याले भाग गरी थप एकको हिसाबमा सिट निर्धारण गरिन्छ । यो सूत्र प्राथमिकीकरण भोटिङमा बढी प्रयोग हुन्छ— मत संख्या / (निर्वाचित हुने सिट + १) + १

इम्पेरियाली कोटा विधि

कुल सदर मतलाई निर्वाचन क्षेत्रमा पूर्ति गर्नुपर्ने स्थानले भाग गरी थप दुईको हिसाबमा परिभाषित समानुपातिक प्रणालीमा प्रयोग गरिने फरक कोटा विधि हो यो, जसले अधिक शेष विधि नै प्रयोग गर्छ— सदर मत संख्या / (निर्वाचित हुने सिट + २)

उच्च औसत विधि

उच्च औसत विधिले सूचीमा आधारित समानुपातिक प्रणालीमा मतलाई सिटमा रूपान्तरण गर्छ । एक निर्वाचन क्षेत्रमा कुल सदर मतको सबैभन्दा बढी मत ल्याउने दल वा समूहलाई एक स्थान छुट्ट्याई दलले जितेको सुरुको मत विभाजन गरेर घटाइन्छ । विभाजकहरूको प्रयोग गरी स्थान बाँडफाँट गर्ने सबैभन्दा सामान्य विभाजक डी हरेन्ट सेन्ट लगको सूत्र हो । यसमा दल वा समूहले पाएको सदर मतलाई १.४, २, ३, ४... गरेर क्रमशः भाग गरी स्थानमा बाँडफाँट गरिन्छ ।

यसै गरी सेन्ट लगको सूत्रमा दल वा समूहले पाएको मतलाई क्रमशः १.४, ३, ५, ७... ले भाग गरेर विभाजन गरी स्थानमा बाँडफाँट गरिन्छ । मत परिणाम विभाजक सूत्र अनुसार प्रत्येक दलले पाएको सदर मतलाई शृंखलाबद्ध रूपमा भाग गरिन्छ । यसरी निस्कने नतिजालाई भागफल भनिन्छ । सिट संख्याहरूलाई ठूलो भागफलबाट सानोमा नसकिँदासम्म बाँडफाँट गरिरहिन्छ ।

उदाहरणका लागि, तेह्र सिट पाँचवटा राजनीतिक दललाई भाग लगाउनुपरेमा तिनले पाएको मत परिणामका आधारमा तालिकामा देखाए बमोजिम बाँडफाँट गर्नुपर्नेछ । नेपालमा संविधानसभा सदस्य निर्वाचनमा समानुपातिक प्रणालीतर्फ सेन्ट लग सूत्र प्रयोग गरिएको थियो । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन–२०७४ को समानुपातिक निर्वाचनतर्फका विजयी सिटहरूको निर्धारण पनि यसै विधिबाट गरिएको देखिन्छ ।

प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका–२०७९ मा व्यवस्था गरिएको मत परिणाम विभाजक सूत्र अनुसार प्रत्येक दलका लागि खसेको मतलाई शृङ्खलाबद्ध रूपमा भाग गरिनेछ । यस अनुसार प्रत्येक दलले पाएको मत परिणामलाई धेरै भाजकहरूले भाग गरिन्छ; उदाहरणका लागि १, ३, ५, ७, ९ आदि । यसबाट प्राप्त हुने नतिजालाई दलको भागफल (क्योसेन्ट) भनिन्छ । भागफल पाएपछि सिट सङ्ख्याहरू ठूलो भागफलबाट सानोमा नसकिँदासम्म बाँडफाँट गरिनेछ । यसो गर्दा कुनै दलले जतिसुकै मत पाएको भए पनि, सूचीमा सूचीकृत गरेको उम्मेदवार सङ्ख्यामा सीमित रही पाउने सिट बाँडफाँट गरिन्छ । यसमा कानुन बमोजिमको कोटा कडाइका साथ लागू गरिन्छ ।

सिट बाँडफाँटको कानुनी व्यवस्था

सबै निर्वाचन क्षेत्रबाट समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनको मतगणना भएपछि निर्वाचन अधिकृतले सदर मत जोडी दलविशेषले पाएको कुल मत संख्या यकिन गर्नुपर्ने हुन्छ । र, निर्वाचन अधिकृतले मत परिणाम विभाजक सूत्रका आधारमा दलले पाउने सिट संख्या निर्धारण गरी आयोगसमक्ष पेस गर्नुपर्नेछ । यस्तो सिट संख्या निर्धारण गर्दा दलले पाएको सिट संख्याका आधारमा महिला तथा अन्य समावेशी समूहबाट प्रतिनिधित्व गराउनुपर्ने संख्यासमेत निर्धारण गर्नुपर्नेछ । र मतपरिणाम विभाजक सूत्रका आधारमा कोटा निर्धारण गरिनेछ । विज्ञहरूका अनुसार डिहरेन्ट सूत्रबाट ठूला दललाई र सेन्ट लग सूत्रबाट साना दललाई फाइदा पुग्छ । फिजीमा खुला सूची समानुपातिक प्रणालीमा सिट बाँडफाँट गर्न डिहरेन्ट सूत्र प्रयोग गरेको पाइन्छ, त्यहाँ राष्ट्रिय पार्टी हुन न्यूनतम ५ प्रतिशतको थ्रेसहोल्ड तोकिएको छ । नेपालमा भने यस्तो थ्रेसहोल्ड ३ प्रतिशत छ ।

प्रत्यक्षतर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीमा मत खेर जाने, जित्नेले सम्पूर्ण पाउने, मतदातामा नैराश्य आउनेजस्ता अवगुण हन्छन् भन्ने तर्क राख्दै पूर्ण समानुपातिकताको वकालत गर्नेको संख्या धेरै छ । राज्यले अपनाएको शासकीय स्वरूप तथा निर्वाचन प्रणाली अनुरूप निर्वाचनका सूत्र तथा मत गणना विधि प्रयोगमा ल्याइएको हुन्छ ।

प्रकाशित : मंसिर ८, २०७९ ०७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?