दार्जिलिङको आँखाबाट नेपाल- विचार - कान्तिपुर समाचार

दार्जिलिङको आँखाबाट नेपाल

जनतालाई आफ्नो जागिर सम्झेर हेला गर्नेहरूलाई प्रजातन्त्रमा अन्तिम शक्ति भनेको जनता नै हुन् जो स्थायी छन् अनि नेता अस्थायी, यदि जनताले चाहे तथाकथित शक्तिशालीहरूलाई सडकमा झारिदिनसक्छन्’ भन्ने आभास मात्र दिलाउन सके पनि चुनावको महत्त्व केही हदसम्म पूरा हुन्छ ।
हर्कबहादुर छेत्री

नेपालको चुनावसित दार्जिलिङलाई कुनै वास्ता भएको या त दार्जलिङे आम जनताले चासो राखेको मलाई थाहा छैन । कम–से–कम अघिका चुनावहरूबारे यो कुरा निर्धक्कसित भन्न सकिन्छ । सन् १९८६ अघि राजनीतिमा दार्जिलिङ–कालेबुङका आम मानिसको चासो थिएन ।

सायद चासोभन्दा चेतना नै थिएन भन्नु उचित होला । सन् १९८६ पछि आएको राजनीतिक चेतनाबारे पनि लामै तर्क गर्न सकिन्छ । सन् १९८६ अघि राजनीतिमा जाति महत्त्वपूर्ण थिएन । सन् १९८६ पछि जातिबाहेक अर्को कुनै कुरा पनि राजनीतिको चासोको विषय भएर उभिन सकेन । यही समयदेखि दार्जिलिङले नेपाललाई एउटा राजनीतिक शत्रुका रूपमा हेर्न सुरु गर्‍यो । भारतमा नेपालीहरूको दमन र शोषणको कारक बनेको नेपालको कमजोर राजनीति अनि सन् १९५० को भारतसितको मैत्री सन्धिलाई कोस्याउन थाल्यो । यस्तो परिवेशको सबैभन्दा धेर सिकार आदिकवि भानुभक्त भए जब विभिन्न ठाउँमा तिनको मूर्ति तोडियो ।

नेपाल शक्तिशाली अनि समृद्ध भएको मन नपराउने कुनचैं नेपाली होला र ! सिक्किम, दार्जिलिङ, आसाम, डुवर्स अनि देहरादूनतिर नेपालीहरू जति नै बलियो भए पनि नेपाली स्वाभिमानका निम्ति नेपाल नै दह्रिलो हुनुपर्छ । सामाजिक सञ्जालले पिटेको यो समय अर्को महत्त्वपूर्ण कारण हुन सक्छ जसले गर्दा नेपालका घटनाहरू संसारका घटनाहरूझैं स्वतः सञ्जालमा देखिन थालेपछि बिस्तारै चासो लाग्न सुरु भयो । हर्क साम्पाङ र बालेन शाहहरू चर्चाको विषय भए । काठमाडौंलाई सफा र खुला बनाउन बालेनको डोजर चल्न थालेपछि ‘नेता त त्यस्तो होस् न’ भनेको कालेबुङ–दार्जिलिङतिर पनि सुनिन थाल्यो । पछिबाट तिनै नामहरूमा रवि लामिछाने र सागर ढकालहरू जोडिन पुगे । विदेशतिर पढेर उच्च शिक्षा हासिल गरी नेपाल फर्केकाहरू चाकरीको पछि लाग्नुको साटो देश बनाउने उद्देश्यले राजनीतिमा ओर्लेको देख्दा यतातिर पनि आम मानिसमा जाँगर पलाउनु स्वाभाविक थियो ।

केही वर्षअघि इराकमा अमेरिकी कम्पनीमा काम गर्न गएका नेपाली श्रमिकहरूलाई विद्रोहीहरूले पक्रेर जमिनमा सुताई गोली हानी मारेको बीभत्स दृश्य देखेर हामी मर्माहत भएका थियौं । बिचरा, अनपढ नेपाली श्रमिकलाई अन्तर्राष्ट्रिय राजनीति र धार्मिक कट्टरपन्थी परिवेशको के जानकारी थियो होला र ! रोजगार कमाउन गएकाहरूले ज्यान गुमाउनुपरेको त्यो दृश्यले धेरै दिन हाम्रो पनि मन अमिलो भएको थियो । त्यो दृश्य भाइरल भएपछि मानिसहरूले चर्चा गरेको सुनियो, ‘इराकमा एउटा अमेरिकी या त युरोपियन नागरिक मारियोस् त, उनीहरूको देशले फौज पठाउँछ आक्रमण गर्नुलाई । तर जाबो एउटा अमेरिकन टिसर्ट लाएको दोषमा कसरी निर्दयतापूर्वक मार्‍यो नेपाली नागरिकलाई ! गर्‍यो क्यै नेपालले ? विरोधसम्म जनाउने आँट गरेन । गरिब देशको कमजोर कूटनीतिको सिकार भए बिचरा श्रमिकहरू ! कसैले त पत्याउँदैन नेपाललाई !’

‘इन्डियामै पनि काँ पत्याउँछ र हामीलाई ! पत्याउने भए सानो–सानो मागका निम्ति त्यत्रो आन्दोलन गर्दा पनि खोइ त दिएको ?’ यस प्रकारका गुनासाहरू प्रायै सुनिन्थे ।

सायद त्यसैले गर्दा होला, भारतीय नेपालीहरूले स्वयंलाई नेपालदेखि अलग देखाउने प्रयासमा गोर्खाल्यान्डको आन्दोलन गरे जो अझै जारी छ । सुवास घिसिङको आन्दोलनको मूल विचार यही थियो, ‘हामी नेपाली होइन तर गोर्खा हौं । आफैंलाई नेपाली भन्नसाथ हामी नेपालसित जोडिन पुग्छौं । यो शब्दले भाषा होइन तर नागरिकता बोक्छ । जबसम्म नेपालसित सबै सम्बन्ध तोडिँदैन तबसम्म भारतले हामीलाई शंकाको नजरले हेर्न छोड्दैन ।’

यही धारणालाई मूल मन्त्र बनाएर जाति गोर्खा, भाषा गोर्खा भन्ने प्रचार गरियो । रामकृष्ण शर्माजस्ता चिन्तक अनि कलकत्ता उच्च न्यायालयका न्यायाधीशको ओहोदामा बसेका व्यक्तिले सन् १९५० को सन्धि कुनै हालतमा पनि भारतीय गोर्खाहरूको पक्षमा छैन भन्ने लेखे । सन् १९५० को सन्धिको कारण भारतमा नेपाली अनुहार नै नेपालीको ठेगाना अनि परिचयपत्रजस्तो शंकास्पद विषय भयो । दार्जिलिङमा हुने परिचयको प्रत्येक आन्दोलनलाई दिल्लीले सन् १९५० को धमिलो चस्माले हेर्ने काम गर्‍यो जो अझै पनि परिवर्तन भएको छैन ।

अमेरिका र युरोपमा चुनाव हुँदा दार्जिलिङले निक्कै चासो लिएर हेर्छ, चर्चा गर्छ । नेपालमा चुनावको कुनै चर्चा यो पासपोर्ट र भिसा नलाग्ने बोर्डरबाट त्यसरी छिर्दैन, जसरी धुलाबारीबाट विदेशी जिन्स, कम्बल, ज्याकेट र फ्लासहरू छिर्छन् । कालेबुङ–दार्जिलिङबाट प्रकाशित हुने पत्रपत्रिकामा संसारका खबरहरू छापिँदा नेपालको चुनावको कतै उल्लेख देखिँदैन । ओबामा, ट्रम्प र बाइडेनदेखि थ्याचर, मेजर र जोन्सनहरू लोकप्रिय हुँदा अधिकारी, देउवा र कोइरालाहरू चर्चामा आउँदैनन् । माओवादी आन्दोलनको समय प्रचण्ड चर्चामा थिए । ‘नेपालीले पनि भूमिगत आन्दोलन गर्न सक्दो रहेछ त’ भन्ने सोचेर एक थरी आन्दोलनकारीहरू उत्साहित थिए । सायद भारतको ठूलदाइजस्तो हेप्ने बानीमा केही लगाम लगाउन प्रचण्ड सफल भएयता भारतीय नेपालीहरूको पनि केही इज्जत बढ्ने थियो भन्ने धारणा पनि कतैकतै थियो कि भन्ने लाग्छ ।

दार्जिलिङबाट प्रकाशित हुने सञ्चारमाध्यममा नेपालको चुनावको चर्चा गर्नलाई अर्को पनि अप्ठ्यारो छ । कतै हाम्रो नागरिकतामाथि शंका गर्ने अझ दह्रिलो हतियार त हामी सरकारको हातमा थमाउँदैनौं ? प्रशान्त तामाङ तेस्रो इन्डियन आइडलको प्रतिस्पर्धामा हुँदा दार्जिलिङमा आयोजित तिनको कार्यक्रममा सहभागिता जनाउन नेपालबाट पनि दर्शकहरू आएका थिए । नेपालको राष्ट्रिय ध्वजा चौरस्तामा लहराइएको थियो । भारतीय मिडियाहरूले त्यसको सक्दो दुष्प्रचार गरे । ग्रेटर नेपालको काल्पनिक आन्दोलनसित लगेर जोडे त्यो विशुद्ध सांगीतिक कार्यक्रमलाई । त्यसै त घिसिङको आन्दोलनको समय भारतका रक्षा विशेषज्ञ भरत बर्माले गोर्खाल्यान्डको आन्दोलनमा नेपाल र चीनको हात भएको रिपोर्ट लेखेका थिए, नेपाली चुनावमा चासो देखाउँदा परिस्थिति कति जटिल बन्न सक्छ भन्ने कुरा आम जनतालाई पनि स्पष्ट छ ! यस्तो पूर्वाग्रहयुक्त अनि वैमनस्यतापूर्ण मानसिकता भएका व्यक्तिहरू देशको महत्त्वपूर्ण ओहोदामा बसेकै कारण भारतीय गोर्खाहरूले आफ्नो राजनीतिक आन्दोलनलाई होसियारीसित जोगाएर अघि बढ्नुपर्ने आवश्यकता हुन्छ । परिस्थितिलाई बुझेर आवश्यकता अनुरूपको रणनीति बनाउन सक्ने नेतृत्वको दार्जिलिङमा अझै कमी छँदै छ ।

भर्खरै बेलायतमा ऋषि सुनक प्रधानमन्त्री हुँदा दिल्लीमा कस्तो चहल–पहल देखिन्थ्यो ! ‘अब बेलायत भारतको अधीनमा आयो’ भन्ने प्रकारको वातावरण थियो दिल्लीमा । २०० वर्षको उपनिवेशको बदला लियो भन्ने प्रकारको सन्तुष्टि थियो । थोरैले मात्र यो सोचे होला कि त्यो त उनीहरूको स्वस्थ र सबल प्रशासनिक व्यवस्थाका कारण सम्भव भएको थियो जहाँ निर्वाचनमा जाति होइन, व्यक्तिको योग्यता नै आधार थियो । तर परिणामलाई लिएर चर्चा गर्ने अनि पद्धतिलाई नजरअन्दाज गर्ने हाम्रो प्रवृत्ति छ । यस्तो परिस्थितिमा सोसियल मिडियाले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको देखिन्छ । भारतमा अहिलेजस्तो सरकार छ, मिडिया पनि त्यस्तै छ । एउटै पनि सञ्चारमाध्यम भरोसायोग्य छैन । सरकारसित नजिकको सम्बन्ध भएका उद्योगपतिहरू प्रायै इलेक्ट्रोनिक अनि प्रिन्ट मिडियाका मालिक छन् । यदि सोसियल मिडिया नहुँदो हो त भारतको प्रजातन्त्रको आजसम्म अन्त भइसकेको हुने थियो । त्यही सोसियल मिडियामार्फत हामी भारतमा बसेका गोर्खाहरू, अनि विशेष रूपले कालेबुङ–दार्जिलिङकाहरू नेपालको चुनावको खबर अनि त्यहाँका जनताको आशा, आकांक्षा र उत्साह हेर्न पाइरहेका छौं ।

यति बेला हामीले भारतमा बसेर उत्सुकतासित पढिरहेका नामहरू हुन्— साम्पाङ, शाह, लामिछाने र ढकालहरू नै । कताकता नेपाल बुढ्यौलीदेखि तन्देरीमा झरेको अनुभव हुँदै छ । युवाहरूको आक्रोशित तर्क सुन्दा आशा लाग्नु स्वाभाविक हो । सबैतिर, जहाँ पनि परिवर्तनका निम्ति आन्दोलन भएको छ, त्यहाँ शिक्षित र निर्भीक युवाहरू नै परिवर्तनको मूल हतियार भएका छन् । युवाहरू त यता दार्जिलिङमा पनि प्रशस्तै थिए तर अर्ध र अल्पशिक्षितहरू बहुमतमा भएका कारण परिवर्तनको आन्दोलनले सही दिशा लिन सकेन । मलाई तर फेसबुकमा देखिएका, नेपाली चुनावमा प्रतिस्पर्धा गरिरहेका शिक्षित युवाहरूको तर्क सुन्दा आम आदमी पार्टीका सुरुआती दिनहरूको याद आयो । त्यसताका दिल्लीमा भारतभरिका शिक्षित युवाहरू भेला भएका थिए । कवि, लेखक अनि चिन्तकहरू एकत्रित थिए । देशले स्वच्छ, पारदर्शी अनि इमानदार राजनीतिको सपना देखाएको थियो । आज ठीक त्यस्तै परिवेश नेपालमा हामी साम्पाङको जाँगर अनि शाहको आँटमा देखिरहेका छौं । लामिछाने र ढकालमा त्यही जोस देखिरहेछौं । नेपालको चुनाव जति नै अर्को देशको भनेर नकारे पनि जातीय स्वाभिमान र आत्मसम्मानको कुरा शक्तिशाली नेपाल राष्ट्रद्वारा मात्र विश्वभरिका नेपालीहरूका निम्ति सम्भव छ भन्ने हामी बुझ्छौं किनकि संसारमा जतैका पनि नेपालीलाई बाँकी संसारले नेपालसित जोडेरै हेर्छ । नेपाल हाम्रो सांस्कृतिक राजधानी भएको कुरा कसैले नकार्न सक्दैन ।

अब आऔं राजनीतिक यथार्थको कुरामा । अहिले देखिएका उत्साह र आक्रोशहरू परिवर्तनका निम्ति यथेष्ट छैनन् भन्ने कुरा दार्जिलिङमा हामीले भोगेका दुईवटा आन्दोलनले स्पष्ट पारिसकेका छन् । राष्ट्रव्यापी संगठन अनि राष्ट्रव्यापी कार्यक्रमसितै एउटा बलियो दलीय संविधान अनि त्यस्तो अक्षरशः पालनाको अभावमा जनसमर्थनको बाढीबाट विकासको ऊर्जाको साटो विनाशको बाढी मात्र सम्भव हुन्छ । दल अनुशासित नभए समर्थन खेरो जान्छ । नेतृत्वलाई जतिसुकै बलियो जनसमर्थन होस् तर नेतृत्वसित नीतिगत दर्शनको अभाव भए त्यही समर्थनले भ्रष्टाचारलाई निम्तो दिन्छ । सुवास घिसिङ र विमल गुरुङका आन्दोलनहरूमा हामीले भोगिसकेका छौं यी कुराहरू । त्यही नीति र दर्शनको कमजोरीका कारण आम आदमी पार्टीबाट कुमार विश्वास र योगेन्द्र यादवहरू बाहिरिए । साम्पाङ र शाहहरूले यसबाट पाठ लिनु जरुरी छ ।

सन् १९८६ मा दार्जिलिङको राजनीतिक मानचित्रमा घिसिङ देखा पर्दा आम जनताको उत्साह चरममा थियो । सिकार मर्ने प्रबल सम्भावना देखएपछि ब्वाँसोहरू हूल बाँधेर दलमा पस्छन् । आन्दोलनको आडमा त्यही व्यक्ति स्वार्थी अनि जनविरोधी क्रियाकलापमा लिप्त हुन्छ । यसो हुँदा दलको छवि बिस्तारै धूमिल हुँदै जान्छ । आम मानिसमा सुरुमा देखिएको दलप्रतिको आस्था खस्किँदै जान्छ । यस्ता तत्त्वहरूदेखि नेतृत्व सतर्क रहनुपर्‍यो । आपराधिक पृष्ठभूमि भएका व्यक्तिहरूलाई दलमा प्रवेश दिनु भएन ।

केही दिनअघि मैले सामाजिक सञ्जालमा मदनकृष्ण श्रेष्ठ अनि हरिवंश आचार्य पनि यो नयाँ क्रान्तिमा जोडिएको देखें । अर्थात्, हामीले झैं नेपालभित्र बसेर नेपालको भलो सोच्ने सचेत वर्गले पनि अहिलेको परिवेश सम्भावनापूर्ण देखेको छ भन्ने संकेत पाइयो । पुराना नेताहरूमाथि व्यंग्य कसेर बनाइएका गीत र टिकटकहरू पनि प्रचुर मात्रामा देखिँदै छन् । पुराना पार्टी अनि नेताहरूविरुद्ध आम मानिसले पनि आफ्नो आक्रोश सार्वजनिक गरिरहेका छन् ।

‘नक्सामा छैन भने बालेनले दरबार पनि तोड्ने अरे !’

‘ठीकै हो, नेता भनेको त्यस्तो त हुनपर्‍यो, होइन र ? हाम्रोतिर त नेता भएपछि अपराध गर्ने लाइसेन्स पाएझैं हुन्छ, काँबाट हुन्छ त विकास ?’

‘तर मार्छ होला है बिचरालाई यो लुटेर खानु पल्केकाहरूले ?’

‘रवि लामिछानेको गाडीमा त ढुंगामुढा गर्‍यो अरे भन्ने सुनिन्छ नि !’

अनि तुरुन्तै वाटस्यापमा देखा परे रवि लामिछाने । हिन्दी सिनेमाको हिरोजस्तै जोस र आक्रोशसित । तिनलाई देख्दा तिनी कताकता मलाई नेपालको नभएर हाम्रै नेताझैं लागे । राम्रोसित जोडिन कसलाई मन पर्दैन र ? यता फुटबलको मैदानमा सुनील छेत्री र भाइचुङ भुटियालाई देख्दा हामी आफैं खेलको मैदानमा पुग्छौं । नब्बे मिनेटका निम्ति उनीहरू नै हाम्रो भारत हुन्छन् । त्यसै कारण त कालेबुङ–दार्जिलिङमा पनि राजनीतिको चर्चा हुने ठाउँमा अचेल हामीलाई पनि हर्क साम्पाङ र बालेन शाहजस्ता नेता चाहिन्छन् भन्ने कुरा हुन्छ ।

कतिचैं फेरि क्रान्तिकारी हुने (मुखैले मात्र भए पनि) सुयोग देखेर नेपालमाथि जाई लाग्छन्, ‘होइन, बिल्डिङ भत्काउँदा त भुइँमुनि त खोला पो भेटिएछ ! त्यस्तो मुलुकमा आम जनताको समस्याको कुरा कसले गर्ने ? हाम्रो त मूल थलो नै बिग्रेको कारण पनि हामीले दुःख पाएको हो ।’

यस्तो वर्गकाहरू आफ्नै आँगनमा आफ्नै नेताहरूले गरेको मन परी देख्दैनन् तर नेपालको व्यवस्थालाई दोष्याउनमा भने कसै गरेर पनि पछि पर्दैनन् । धरानमा साम्पाङले पानी ल्याएको दृश्य मैले पनि हेरें । आफैं पाइप राख्ने, कुलो खन्ने अनि पाइप बिछ्याउने काम गरिरहेका साम्पाङलाई देख्दा देवकोटाको कवितापंक्ति याद आयो– ‘चुम्दछ ईश्वर काम सुनौला गरिरहेको हात ।’

तिर्खाएका त यता हामी पनि छौं कालेबुङ–दार्जिलिङमा, तर उद्यमी हर्क साम्पाङहरूको अभाव छ ।

तर यी सबै आशा र उत्साहहरूमाझ सतर्क हुनुपर्ने ठाउँहरू पनि प्रशस्तै छन् । सन् १९८६ अनि सन् २००७ मा सुवास घिसिङ र विमल गुरुङलाई हामीले त्यसरी नै हेरेका थियौं जसरी आज नेपालमा बालेन शाह र हर्क साम्पाङलाई हेरिँदै छ । तर जसलाई मानिसले मुक्तिदाता सोचेका थिए, आन्दोलन सकेर व्यवस्थामा बस्नासाथ तिनै मुक्तिदाताहरूको रूप बदलियो । सत्ता सम्हालेको वर्षदिन पनि नपुगी हिरोहरू भिलेन भए । जो व्यक्ति ठाउँमा हुँदैनन्, तीहरू सधैं इमानदार हुन्छन् किनकि बेइमान हुने मौका नै त पाएका हुँदैनन् । ‘द टेस्ट अफ द पुडिङ इज इन द इटिङ’ भनेझैं सत्ताको आगोमा नपरिन्जेल को इमानदार हो भन्ने थाहा पाइँदैन ।

शिशु अवस्थामा कुनै पनि आन्दोलन कलकलाउँदो अनि रहरलाग्दो हुन्छ । हुर्किंदै गएपछि विकृतिहरू देखा पर्न थाल्छन् । ठीक कुकुर र बिरालोका बच्चाहरूजस्तो । काखमा बोकेर हिँड्ने कुकुरको बच्चा ठूलो भएर रछ्यानतिर डुल्न थालेपछि ‘काठा’ मा परिणत हुन्छ । नेपालको चुनावमा देखिएका यी कलकलाउँदाहरूलाई हिरोदेखि काठामा परिणत हुनबाट जोगाउने जिम्मा नेपाली नागरिकहरूको हो । तर त्यसमाथि पनि एउटा कुरा याद राख्नुपर्छ ।

अघिल्ला दलहरू र नेतृत्वले ठूलठूला आश्वासन दिएर आन्दोलन त गरे तर न राष्ट्रलाई अघि लगाउन सके न त आम जनताको जीवन नै केही सजिलो पार्न सके । देश उत्तानो परेको साङ्ले कीराजस्तो भयो । जति नै हात–खुट्टा चाले पनि ऊर्जा त खर्च भयो तर देश र जनता जहाँको तहीँ । राजनीतिमा ‘जुनै जोगी आए पनि कानै चिरेको’ र ‘लंकामा सबै रावण’ भन्ने प्रचलित उखानहरू छन् । जनता न जोगीका बारेमा कुनै जानकारी लिन्छन् न त लंका पुगेर फर्केका अनि लंका जाँदै नगएकाहरूको पर्यवेक्षण गर्छन् । मौका पायो कि एउटा उखानको थाग्रो आफ्नो वक्तव्यको पछि गाडिदिन्छन् अनि त्यसपछि अरू तर्कको सम्भावना नै बन्द हुने गर्छ । पुरानाहरूले नयाँविरुद्ध यी उखानहरू प्रयोग गर्ने नै हुन् अनि त्यसको सिकार पनि केही मानिसहरू हुने नै हुन् । आम जनताले नयाँ भनिएको जोगीको खरानी कति बाक्लो छ या त कान चिरिएको छ कि छैन भन्ने कुरा आफैंले जाँचेर हेर्नुपर्छ । चुनावमा परिवर्तनले जनतालाई भलै केही दिन नसकोस् तर जनतालाई आफ्नो जागिर सम्झेर हेला गर्नेहरूलाई ‘प्रजातन्त्रमा अन्तिम शक्ति भनेको जनता नै हुन् जो स्थायी छन् अनि नेता अस्थायी, यदि जनताले चाहे तथाकथित शक्तिशालीहरूलाई सडकमा झारिदिनसक्छन्’ भन्ने आभास मात्र दिलाउन सके पनि चुनावको महत्त्व केही हदसम्म पूरा हुन्छ । जनताले पुनः एकपल्ट आफ्नो क्षमता थाहा पाउनलाई पनि परिवर्तन आवश्यक हुन्छ ।

अचेल ‘परिवर्तन’ अनि ‘विकास’ जस्ता शब्दहरू नेताको मुखबाट स्वतः निस्कने थेगोहरू हुन् जसको कुनै अर्थ हुँदैन । वक्तव्यमा क्रान्तिको कुरा पनि टोपीको फुर्का हो जो टाउकोलाई तातो राख्नलाई नभएर वक्तव्य सिँगार्न मात्र प्रयोग गरिन्छ । घिसिङले कोक्रो र गर्भको नानीको भविष्य प्रयोग गरे अनि गुरुङले हराएकी आमाको खोज । परिषद्लाई घिसिङले बाघको बच्चा, डमरु हो अनि बढेर बाघ हुन्छ भने । तर न त डमरु बढेर बाघ भयो न गुरुङले हराएकी आमा नै भेट्टाए । शब्दहरूले अर्थ हराउँदै गएको यो समयमा वक्तव्यकै भरमा कसैलाई विश्वास गर्नु भनेको खाडलमा आफैं हामफाल्नु बराबर हो । वक्तव्यकै भरमा त हर देशमा प्रत्येकपल्ट चुनाव हुँदा यति धेरै राम्रा, इमानदार र जनताप्रति समर्पित मानिस भेटिन्छन् कि आफूमाथि आफ्नै विश्वास हराउँछ । शब्दै त हो, बेइमानलाई इमानदारीको कुरा गर्न केले रोक्नु सक्छ र ? चुनाव भनेको सैतानले पनि धर्मशास्त्र व्याख्या गर्ने उत्सव हो । चुनावको समयमा चेतनामाथि भावना हावी हुने गर्छ । विभिन्न दलका समर्थकहरू पनि धेरजसो दलको पतनको कारण बन्न सक्छन् । भर्खरै मैले नेपाली चुनावकै एक उम्मेदवारलाई तिनका समर्थकहरूले भगवान्को उपाधि दिएको सुनें । अनावश्यक श्रद्धाले मान्छे बिग्रिन्छ । घिसिङलाई पनि ‘गोर्खे पिता, महामहिम, पृथ्वीनारायण शाह, गोर्खा टाइगर’ आदि विशेषणको भारी बोकाउँदा दार्जिलिङले धेरै भोग्नुपरेको थियो । नेपालको राजनीतिक पृष्ठभूमिमा देखा परेका नेताहरूको पनि धेरै विशेषणको बगैंचामा डुल्ने बानी बसेको खण्डमा तिनीहरूलाई जनताले क्रियाको खेतमा भेट्नेछैनन् । नेपालका जनता यसप्रति पनि सतर्क रहून् । अहिले यी युवा नेताहरू निष्कलंक र निश्छल देखिँदै छन् । गोपालप्रसाद रिमालले विक्रम संवत् २००७ सालको क्रान्तिपछि निराश भएर देखेको आमाको सपना एकचोटि फेरि नेपालका आँखामा होला, हाम्रा आँखामा पनि छ । पश्चात्तापमा फेरि त्यही पंक्ति नदोहोरियोस् भन्ने सुझाव अगावै राख्न चाहन्छु– तर त्यो तिमी नै हौला भन्ने मेरो जीवनभरिको सपना थियो ।

भारतको कालेबुङ निवासी छेत्री पश्चिम बंगाल राज्यका पूर्वविधायक हुन् ।

प्रकाशित : मंसिर ८, २०७९ ०७:२६
प्रतिक्रिया
पठाउनुहोस्

पाँचथर प्रदेशसभा २ बाट माओवादीका आङ्वो निर्वाचित

लक्ष्मी गौतम

पाँचथर — पाँचथरको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ बाट सत्ता गठबन्धनका साझा उम्मेद्वार इन्द्रबहादुर आङ्बो विजयी भएका छन् । प्रतिस्पर्धी एमालेका अइन्द्रसुन्दर नेम्वाङलाई ३ हजार ६७ मत अन्तरले पराजित गर्दै आङ्बो दोस्रो पटक प्रदेशसभामा निर्वाचित भएका हुन् । 

प्रदेशसभामा ३४ हजार ७ सय १५ मत खसेको यस निर्वाचन क्षेत्रबाट आङ्बोले १५ हजार ६ सय ७२ मत पाएका थिए । उनका प्रतिस्पर्धी एमालेका नेम्वाङले १२ हजार ६ सय ५ मत पाएका छन् ।

पाँचथरको फिदिम नगरपालिका ११ घर भएका ४० वर्षीय आङ्बो २०७४ सालको आम निर्वाचनमा तत्कालीन वाम गठबन्धनका तर्फबाट यहिँ क्षेत्रबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य रहेका आङ्बो प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री पनि हुन् ।

आङ्बो यसपटक माओवादी केन्द्र, नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादी केन्द्रका तर्फबाट साझा उम्मेद्वार थिए ।

प्रकाशित : मंसिर ८, २०७९ ०७:२५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×