कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९
सम्पादकीय

मतगणनामा अनपेक्षित अलमल

सम्पादकीय

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले गत बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि प्रत्यक्षतर्फको मतगणना तीन दिनभित्र सार्वजनिक गर्ने गरी तयारी भैरहेको जानकारी गराएका थिए । पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको नतिजा सार्वजनिक गरेको पाँच दिनभित्र समानुपातिकतर्फको पनि मत गनिसक्ने जनाएका थिए ।

मतगणनामा अनपेक्षित अलमल

तर, मतदान सम्पन्न भएको तेस्रो दिन बुधबार साँझ सात बजेसम्म प्रतिनिधिसभाका २३ स्थानको मात्र नतिजा घोषणा गरिएको छ भने १२९ स्थानको मतगणना जारी छ । १३ स्थानको गणना सुरु गरिएकै छैन । प्रदेशहरूको गणना पनि लगभग यही अनुपातमा छ ।

अहिले निर्वाचन अधिकृतको कार्यालयले प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिकको एक–एक ठाउँमा तथा प्रदेशसभाको प्रत्यक्ष र समानुपातिकको एक–एक ठाउँमा गणना गरिरहेका छन् । मतदानका क्रममा एउटा सभाको मतपत्र अर्को सभाको मतपेटिकामा खसेको गुनासो आएका कारण प्रतिनिधिसभा र प्रदेशसभाका प्रत्यक्ष र समानुपातिक गरी चारवटै पेटिकाका मत एकै पटक गन्नुपरेकाले लक्ष्य अनुसार गणना नसकिएको आयोगको स्पष्टोक्ति छ । खसेको मत खेर नजाओस् भनेर दुवै सभाको प्रत्यक्ष र समानुपातिक मत एकै पटक गणना गर्नु सकारात्मक नै छ, तर यहीअनुरूप गन्दा पनि गति बढाउनु आवश्यक छ ।

अचम्म त, सबै मतपेटिकाहरू पहिल्यै संकलन भैसकेका दोलखा र स्याङ्जामा मतगणना थालिएकै छैन । निर्वाचनमा धाँधली भएको आरोप सम्बन्धी उजुरीमा आयोगले निर्णय दिन ढिलाइ गरेकाले विलम्ब भएको हो । निश्चय पनि सम्बन्धित क्षेत्रका राजनीतिक दल र उम्मेदवारहरूको जायज चासोको सम्बोधन गरेर मात्रै आयोगले गणना थाल्नुपर्छ, तर यसका निम्ति लामो समयसम्म अनिर्णयको बन्दी भइरहनु भने हुन्न । यसमा आयोग अविलम्ब उचित निर्णयमा पुगी पुनः मतदान वा गणनाको प्रक्रिया थाल्नुपर्छ । यस अतिरिक्त, हिंसात्मक घटनाका कारण बाजुराको बुढीनन्दा नगरपालिकामा पुनः शान्तिपूर्ण मतदानको व्यवस्था मिलाउनुपर्छ ।

अनपेक्षित रूपमा ढिलाइ भैरहेमा सम्बन्धित निर्वाचन अधिकृतहरूको मात्र होइन, निर्वाचन आयोगकै समग्र व्यवस्थापन कौशलमा प्रश्न उठ्नेछ । गत स्थानीय तह निर्वाचन लगायत विगतका पाठबाट सिकेर पनि आयोगले यो पक्षमा ध्यान पुर्‍याउनुपर्छ । अहिलेको मतपत्र स्थानीय चुनावको जस्तो गन्न समय लाग्ने लम्बेतान छैन । एउटा मतपत्रमा एउटा मात्रै उम्मेदवारलाई छाप लगाउनुपर्ने भएकाले स्वाभाविक रूपमा स्थानीय चुनावको जति ढिलाइ नभए पनि जुन गतिमा गणना भैरहेको छ, त्यो नै पनि अपेक्षित छैनÙ आयोगको पूर्वयोजना अनुसार पनि यसलाई स्वाभाविक मान्न सकिँदैन ।

यति बेला सिंगै देश अन्तिम मत परिणाम सुन्न आतुर छ । सुरुआती नतिजाले संसद्को बनोट कस्तो बन्दै छ भन्ने कौतूहल सबैमा बढाएको छ । गणना टुंग्याउन विलम्ब हुँदा उम्मेदवार र दलसम्बद्ध नेता–कार्यकर्ताको व्यग्रता मात्र बढिरहेको छैन, परिणामप्रतिको गहिरो जिज्ञासाका कारण मतदाता तथा आम नागरिकको ऊर्जाशील समय पनि खेर गैरहेको छ । देशै एक हिसाबले ठप्पजस्तो छ । त्यसैले मंसिर २२ गतेसम्म राष्ट्रपतिसमक्ष प्रतिवेदन बुझाउने लक्ष्य भए पनि आयोगले यथाशीघ्र गणना सक्ने रणनीति अपनाउनुपर्छ । मतगणना निष्पक्ष अवश्य हुनुपर्छ, तर थोरै टोलीले गन्दा मात्र यसको सुनिश्चितता हुने होइन । अधिकतम गणक टोली बनाएमा मत गन्न आवश्यक स्रोत र व्यवस्थापन कुशलताबाहेक अर्थोक चाहिँदैन । त्यसैले आयोगसित स्रोतको व्यवस्था मिलाउन लगाएर निर्वाचन अधिकृृतहरूले आवश्यक तारतम्य मिलाउनुपर्छ । र, दुवै सभाका प्रत्यक्ष र समानुपातिक दुवैतर्फको मतगणना समयमै सक्नुपर्छ ।

अर्को, निर्वाचन आयोगले मतपरिणामको सूचना दिन आफ्नो वेबसाइटलाई पहिलेका तुलनामा निकै व्यवस्थित तुल्याए पनि यसको सञ्चालन छिटोछरितो छैन । आधिकारिक निकायबाट समयमै सूचना नआउँदा नागरिकहरू सामाजिक सञ्जाल लगायत अनेकौं स्रोतमा निर्भर हुन बाध्य छन्, जहाँ प्राप्त सूचना सही नभएका उदाहरण बग्रेल्ती छन् । यसबाट मतदाता भ्रममा पर्न गएका छन् । तसर्थ, नागरिकलाई सही सूचना यथासमय प्रवाह गर्न आयोगले पहिलो सूचना आफ्नो वेबसाइटमा तुरुन्तै राख्ने व्यवस्था मिलाउन जरुरी छ । यसो भएमा सोझै आयोगको वेबसाइट वा उक्त स्रोत अनुसार सूचना दिने अरू सञ्चारमाध्यमबाट नागरिकले बेलैमा सही सूचना पाउन सक्छन् ।

यसर्थ, सबै क्षेत्रमा मतगणना थाल्ने प्रबन्ध मिलाउन, एकाध घण्टामै गणना सक्न र त्यस सम्बन्धी आधिकारिक सूचना बेलैमा प्रवाह गर्न आयोगले आफ्नो कार्यशैलीमा सुधार ल्याउनु अपरिहार्य छ ।

प्रकाशित : मंसिर ८, २०७९ ०७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?