१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

अर्को महत्त्वपूर्ण कोसेढुंगा

सम्पादकीय

संविधानसभानिर्मित संविधान जारी भएयता दोस्रो पटक प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न हुनु मुलुकको राजनीतिक विकासमा अर्को सुखद कोसेढुंगा हो । यसबाट संघमा नयाँ प्रतिनिधिसभा र सरकार मात्र बन्नेछैनन्, प्रदेशमा पनि दोस्रो पटक प्रदेशसभा बनी नयाँ सरकारहरू गठन हुनेछन् ।

अर्को महत्त्वपूर्ण कोसेढुंगा

छ महिनाअघि सम्पन्न स्थानीय तहको निर्वाचनमार्फत बनेका स्थानीय सरकारहरू क्रियाशील नै छन् । स्थानीय तह र प्रदेश तहको यो अविच्छिन्नताको प्रत्याभूतिले मुलुकमा संघीय पद्धतिको थिति बसाल्न नि:सन्देह मद्दत पुगेको छ । ठीक पाँच वर्षको अन्तरमा यसरी आवधिक निर्वाचन सुनिश्चित हुनुले संसदीय व्यवस्थाकै स्थायित्वका निम्ति पनि बल मिलेको छ । समष्टिमा यसबाट संघीय लोकतान्त्रिक गणतन्त्र थप संस्थागत भएको छ ।

नागरिकले आफ्नो सार्वभौम अधिकार प्रदान गर्न पाउने लोकतन्त्रको यो उत्सव धेरै अर्थमा सिकाइको अवसर पनि हो । राजनीतिक दलहरूले आफ्नो कार्यसम्पादन र राजनीतिक वैधताको परीक्षण गर्ने मात्र होइन, मतादेशका प्रकाशमा भविष्यमा आफूलाई अघि बढाउने सुनौलो मौका पनि हो, जहाँ मतदाताले पनि अघिल्लो पटकको आफ्नो निर्णयको समीक्षा गरी तदनुरूप नयाँ जनादेश दिन पाउँछन् । यसर्थ सम्बन्धित सबैले आ–आफ्ना गल्ती सच्याउँदै, सिक्दै र सुध्रँदै जाने सुनौलो अवसर हो चुनाव, जसको निरन्तर र आवधिक प्रयोगबाट लोकतन्त्र मजबुत बन्दै गएको/जाने विश्वास गर्न सकिन्छ ।

राजनीतिक प्रणाली स्थापित भए पनि कतिपय शक्तिबाट यसबीचमा संविधानमाथि नै प्रहार भएको, सरकारमा जो पुगे पनि सार्वजनिक सेवा वितरण प्रणालीमा कत्ति पनि सुधार हुन नसकेको र प्रदेशहरूमा पनि पहिलो कार्यकालमै संघमा जस्तो सत्ताकेन्द्रित विद्रूप राजनीतिको रोग सरेको परिप्रेक्ष्यमा सम्पन्न यो चुनावले कस्तो नतिजा दिन्छ, त्यो केही दिनमा प्रस्ट हुने नै छ । तर, जसरी निर्वाचन आयोगको प्रारम्भिक आँकडा अनुसार देशभर विगतको भन्दा कम मत खसेको देखिएको छ, यो नै पनि आफैंमा ठूलो सन्देश हो, जसबाट खास गरी राजनीतिक दलहरूले पाठ सिक्नैपर्छ ।

स्मरणीय के छ भने, आर्थिक विकासमा जति नै पछि रहे पनि राजनीतिक जागरणमा नेपाल सदैव अघि नै छ । यही चेतनाका कारण जुनै चुनावमा पनि देशभित्र रहेका बालिग नागरिकहरू उत्साहपूर्वक मतदानमा सहभागी भएको विगत छ । प्रतिनिधिसभा र प्रदेशसभाको अघिल्लै निर्वाचनमा पनि करिब दुईतिहाइ मत खसेको थियो । यो चुनावमा त्यो सुखद विगत दोहोरिन सकेन, करिब ६१ प्रतिशत मात्रै मत खसेको आयोगको प्रारम्भिक तथ्यांक छ । गत स्थानीय चुनावमा पनि अघिल्लोका तुलनामा करिब १० प्रतिशत कम मत खसेको थियो । कतिपय विकसित देशहरूका तुलनामा अहिले खसेको मत नै धेरै भए पनि नेपालको तुलना आफ्नै विगतसित हुनुपर्छ । त्यस हिसाबले यस पटकको परिदृश्य सोचनीय छ ।

जुनसुकै दल सत्तामा पुगे पनि आफ्ना र आसेपासेको मात्र हित हेरेका, जनताको जीवन उज्यालो बनाउन कुनै कदम नचालेका र यो निर्वाचनमा विश्वासलाग्दा र दिल छुने मुद्दा पनि अघि नसारेका कारण नागरिकहरू मतदानप्रति विकर्षित भएको बुझ्न मुस्किल छैन । यसका पछाडि राजनीतिक दलहरूबीच गठबन्धन निर्माण र रोजगारीका लागि विदेशिने बढ्दो प्रवृत्ति लगायतका राजनीतिक–सामाजिक कारण पनि छन् भने, त्योचाहिँ अनुसन्धेय विषय हो । यसमा राजनीतिक दलहरूको मात्र होइन, आयोगको पनि ध्यान जानुपर्छ । कारण जे भए पनि लोकतन्त्र आएको यति छोटो अवधिमै मतदानै गर्न मन नलाग्ने गरी नागरिकहरूमा राजनीतिप्रति यसरी वितृष्णा जाग्नु चिन्ताजनक छ । त्यसो त, खसेकै मतले पनि पूर्वस्थापित राजनीतिक दलहरूप्रति कति वितृष्णा छ भन्ने केही छनक पक्कै देला, त्यो भने प्रतीक्षाकै विषय छ ।

समग्रमा, बाजुराको त्रिवेणीमा एक जनाको दु:खद निधन भएलगायत केही छिटपुट अवाञ्छित घटनाका बावजुद देशभर शान्तिपूर्ण रूपमै चुनाव सम्पन्न भएको छ । यो नै आफैंमा लोकतन्त्रको एउटा जित हो । परिणाम जस्तोसुकै आए पनि संविधानसभानिर्मित संविधानले थप एक फड्को मारेको छ । दशकैपिच्छेजसो संविधान फेरेको नेपालमा जनतानिर्मित यो संविधानलाई दिगो तुल्याउनु पनि आफैंमा चुनौती भएको सन्दर्भमा यो फड्को विशेष अर्थपूर्ण छ । लोकतन्त्रप्रति विश्वास राख्दै मतदाताहरूले सार्वभौम अधिकार मात्र प्रयोग गरेका छैनन्, आफ्नो नागरिक दायित्व पनि पूरा गरेका छन् । उनीहरूको यो विश्वासलाई धरमराउन नदिनु विजेता जनप्रतिनिधि लगायत संसद्मा पुग्ने सबै दलहरूको दायित्व हो । जनअपेक्षालाई जीवन्त राख्न उनीहरू आ–आफ्नो संवैधानिक–कानुनी भूमिकामा खरो उत्रनैपर्छ । अनि मात्रै राजनीतिप्रति अहिले व्याप्त वितृष्णा हट्न सक्छ, नत्र यो व्यवस्थाको भविष्यमै प्रश्न नउठ्ला भन्न सकिन्न, जसबारे सम्बन्धित सबै चिन्तित हुनु अपरिहार्य छ ।

प्रकाशित : मंसिर ५, २०७९ ०६:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?