२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५
सम्पादकीय

मुलुकको भविष्य मतदाताका हातमा

सम्पादकीय

आवधिक निर्वाचनको नियमित अभ्यास गरिरहेका परिपक्व लोकतन्त्रहरूमा पनि चुनावको आफ्नै महत्त्व हुन्छ । नियमित निर्वाचन एक सुखद संयोगजस्तो मात्रै भएको हाम्रोजस्तो देशमा त यसको झनै महत्त्व छ । २०१५ सालमै पहिलो पटक संसदीय निर्वाचनमा सहभागी भएका नेपालीले त्यसयता आजसहित सातवटा मात्रै बहुदलीय संसदीय निर्वाचनमा भाग लिन पाएका छन्, संविधानसभाका निम्ति भएका दुई चुनावसमेत गरेर ।

मुलुकको भविष्य मतदाताका हातमा

प्रजातन्त्र अविच्छिन्न रहेको भए अहिलेसम्म यस्ता निर्वाचन कम्तीमा १४ वटा भैसक्थे । नेपालमा प्रजातन्त्र आउनुभन्दा तीन वर्षअघि मात्रै स्वतन्त्र भएको भारतले लोकसभाका निम्ति १७ वटा निर्वाचन गरिसकेको छ । लोकतान्त्रिक अधिकारकै निम्ति पटक–पटक लड्नुपर्दा नेपालीहरू भने आज केवल आठौं पटक संसदीय चुनावमा सहभागी हुँदै छन् । लोकतन्त्र आएयता दोस्रो संसदीय निर्वाचन भैरहेको छ, मतदाताले प्रदेशसभाका निम्ति दोस्रोपटकै भोट खसाल्दै छन् । यसर्थ संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न पनि यो निर्वाचन आफैंमा अर्थपूर्ण छ ।

चुनाव लोकतन्त्रमा शान्तिपूर्ण सत्ता हस्तान्तरणको अनिवार्य अस्त्र त हुँदै हो, त्योभन्दा बढी आम बालिग नागरिकले आफ्नो सार्वभौम शक्ति प्रयोग गर्ने अवसर पनि हो । परम्परागत परिभाषामा आफ्ना लागि ‘शासन गर्नेहरू’ आफैं छान्ने महान् मौका हो यो, आजको मान्यतामा आफ्ना लागि सही सेवक छान्ने सुनौलो अवसर हो । यस अर्थमा आम नागरिकले आफ्ना आकांक्षाहरू आरोपित गरेको उम्मेदवारलाई मतदान गर्ने आजको दिन लोकतन्त्रको एक विशेष उत्सव हो । त्यसैले नागरिक मनोकांक्षाहरूलाई आवाज दिन र देशको लोकतन्त्रलाई सुदृढ तुल्याउन आज बढीभन्दा बढी मतदाताले मतदान गर्न आवश्यक छ । र, सही उम्मेदवारलाई विजयी तुल्याउन हरेक मतदाताले कुनै व्यक्तिगत लोभलालचभन्दा माथि उठी र कसैको डरत्रासमा नपरीकन भोट खसाल्न अपरिहार्य छ ।

मतदातालाई थाहै छ- मतदानमार्फत उनीहरूले केवल उम्मेदवारहरूको जितहारको छिनोफानो मात्र गरिरहेका हुँदैनन्, कम्तीमा आगामी पाँच वर्षका निम्ति आफ्नो र मुलुकको पनि भाग्य र भविष्यको फैसला सुनाइरहेका हुन्छन् । कम्तीमा पाँच वर्ष किन भनिएको भने, चुनावमार्फत राम्रा उम्मेदवारहरूले जिते भने संसद् र सरकार दुवै राम्रो बन्न सक्छन्; उनीहरूले पाँच वर्ष मात्रै होइन, सुदूर भविष्यसम्मकै निम्ति राष्ट्रको सम्मुन्नतिको आधारशिला खडा गर्न सक्छन्; कथं खराब उम्मेदवारहरूले जिते भने संसद्को बनोट बिग्रन्छ, राम्रो सरकार बन्न सक्दैन । र, उनीहरूले मुलुकलाई अझ पछाडि धकेल्ने सम्भावना पनि उत्तिकै हुन्छ, जसलाई सच्याउन अरू पाँच वर्षले पनि नपुग्न सक्छ । तसर्थ, चुनावमा हरेक मतदाताले आफ्नो मतको सही उपयोग गर्न अति आवश्यक छ ।

अहिलेसम्म केही भएन भन्ने निराशाका माझ पनि, उम्मेदवारहरूका नाम र सम्भावित नतिजाले अतिरिक्त उत्साह नजगाएका भए पनि आज सम्भव भएसम्म सबै बालिग नागरिकले आफ्नो मताधिकार प्रयोग गर्नैपर्छ । जति धेरै मत खस्न सक्यो, त्यति नै सही उम्मेदवार छनोट हुने सम्भावना बढी हुन्छ । र, निर्वाचनको नतिजामा नागरिकको सार्थक हस्तक्षेप हुन सक्छ । यसका निम्ति सुयोग्य उम्मेदवार छनोटमा मतदाताले आफ्नो उच्चतम विवेक प्रदर्शन गर्नुपर्छ । विगतको कार्यसम्पादन र भविष्यमा मुलुक निर्माणका लागि गर्न सक्ने योगदानको कसीमा उम्मेदवारको मूल्यांकन गर्नुपर्छ । उपलब्ध भएसम्म त्यस्तो राम्रो उम्मेदवारलाई जिताउनुपर्छ, जसले जितेपछि संसद्मा जनताको आवाज गुन्जाओस्, राष्ट्रिय आवश्यकताका कानुन निर्माणमा सक्रिय होस्, जनप्रतिनिधिमूलक सर्वोच्च संस्थाको ओज राखोस्, र समग्रमा यो संसदीय लोकतान्त्रिक व्यवस्थालाई बलियो बनाओस् । राम्रा उम्मेदवार नभएमा खराबमाझ पनि कम खराबलाई जिताउनुपर्छ, ताकि यो व्यवस्था नै अधोगतितर्फ नजाओस् । प्रत्यक्षतर्फ मात्र नभएर समानुपातिकतर्फ पनि, प्रतिनिधिसभाका लागि मात्र नभएर प्रदेशसभाका लागि पनि यस्तो हेक्का मतदाताले राख्नैपर्छ ।

सही जनादेशका लागि मतदाताले निर्भयका साथ मतदान गर्न पाउने वातावरण निर्वाचन आयोगले सुनिश्चित गर्नुपर्छ । निर्वाचनअघिको शान्तिसुरक्षाको अवस्था तुलनात्मक हिसाबले यसपालि शान्त नै रह्यो, मतदानको दिन आज पनि यो क्रम अक्षुण्ण रहनुपर्छ । मतदाताहरू बिनारोकटोक र डरत्रास घरबाट मतदानस्थल जान–आउन सक्ने अवस्था हुनुपर्छ । मतदानस्थलमा पनि कसैको दबाब–प्रभावमा नपरी पूर्ण गोपनीयताका साथ मताधिकार प्रयोग गर्न पाउनुपर्छ । बलपूर्वक बुथ क्याप्चर गर्ने वा दबाब–प्रभावमा धेरैजनाको भोट कुनै अमुक व्यक्तिले खसाल्ने कार्य हुन नदिन मतदान र अनुगमनमा खटिएका कर्मचारी र सुरक्षाकर्मीहरू कटिबद्ध रहनुपर्छ । स्वच्छ र स्वस्थ प्रतिस्पर्धाका निम्ति स्वतन्त्र लगायत चुनावमा सहभागी दल तथा तिनका उम्मेदवारका प्रतिनिधिहरू पूर्ण प्रतिबद्ध रहनुपर्छ । अर्को महत्त्वपूर्ण पक्ष, वृद्धवृद्धा र अपांगता भएका मतदातालाई पनि सहजै मतदानस्थलसम्म पुग्न र मतदान गर्न निर्वाचन कार्यालयले सघाउनुपर्छ ।

मतदान प्रक्रिया मात्र होइन, मतगणना पनि निष्पक्ष तवरबाट गर्न र यस क्रममा विगतका जस्ता कतिपय दुष्कर्महरू दोहोरिन नदिन आयोग लगायत सबै सरोकारवाला सम्पूर्ण रूपमा प्रतिबद्ध र प्रयत्नशील रहनुपर्छ । मुख्य सवाल भने फेरि पनि देशको विधि निर्माणको थलोमा कसलाई पठाउने भन्ने नै हो, त्यसमा आम मतदाता सचेत रहनुपर्छ । आगामी पाँच वर्षसम्म सकेसम्म पछुताउनु नपर्ने गरी मात्रै उनीहरूले आफ्नो अभिमतको स्वस्तिक छाप प्रयोग गर्नुपर्छ । अनि मात्रै लोकतन्त्रको यो उत्सव सबै अर्थमा सार्थक हुनेछ ।

प्रकाशित : मंसिर ४, २०७९ ०६:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?