असमान कार्बन उत्सर्जन- विचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

असमान कार्बन उत्सर्जन

नेपालसहित ४६ अल्पविकसित देशहरुले अहिले विश्वको कुल कार्बन उत्सर्जनमा केवल १.१ प्रतिशत योगदान गर्छन्, जुन अमेरिकामा गुड्ने कारहरुले उत्सर्जन गर्ने परिमाणभन्दा पनि आधा कम हो ।
उत्तमबाबु श्रेष्ठ

शनिबार, ५ नोभेम्बर २०२२ । नेदरल्यान्डको राजधानी आम्स्टर्ड्यामस्थित युरोपकै छैटौं व्यस्त मानिने स्किपोल अन्तर्राष्ट्रिय विमानस्थल । साइकलमा सवार करिब २०० जना जलवायु अभियन्ताहरू सुरक्षाघेरालाई लत्याउँदै विमानस्थलमा हुरुरु छिरे । र, विमानस्थलको निजी विमान पार्किङ गर्ने इलाकामा पुगेर पार्क गरिरहेका जहाजहरूलाई फन्को लगाउँदै केही बेर साइकल कुदाए ।

त्यसपछि पार्किङमा रहेको निजी विमानको अगाडि धर्ना कसेर बसे । उक्त प्रदर्शनको तीन घण्टापछि सुरक्षा अधिकारीहरूले अभियन्ताहरूलाई गिरफ्तार गरी बसमा कोचेर लगे । वातावरण सक्रियतावादी संस्थाहरू ग्रिनपिस र एक्स्टिङ्सन रिबेलियनको संयुक्त आह्वानमा विश्वका विमानस्थलहरूमा प्रदर्शन गर्ने क्रममा उनीहरूले आम्स्टर्ड्याममा त्यस्तो हर्कत गरेका थिए । इजिप्टको सार्म एल सेखमा आयोजित विश्व जलवायु सम्मेलन (कोप–२७) को पूर्वसन्धामा जलवायु अभियन्ताहरू ‘स्किपोल विमानस्थलले निजी विमानको प्रयोग रोकेर प्रदूषण रोक्नुपर्छ’ भन्दै आफ्नै विमानमा संसार चहारेर पृथ्वीलाई फोहोर पार्ने अर्बपतिहरूमाथि खनिएका थिए । अभियन्ताहरूले निजी विमान चढ्ने धनाढ्यहरूमाथि निसाना साध्नुको कारण हो- न्यून संख्यामा रहेका विश्वका अति धनाढ्यहरूको विलासी जीवनशैलीका कारण हुने अत्यधिक कार्बन उत्सर्जन । भनिन्छ, एक सामान्य युरोपेली नागरिकले वर्षभरिमा उत्सर्जन गर्नेजति कार्बन निजी विमानमा सयर गर्नेले चार घण्टामै गर्दछ ।

कार्बन अर्बपतिहरू

जलवायु परिवर्तनको मुख्य कारक कार्बन उत्सर्जनमा धनाढ्यहरूको योगदान उल्लेख्य रहेको विभिन्न अध्ययनले देखाएका छन् । इन्डियाना विश्वविद्यालयका अध्येता बेट्रिज बारोज र रिचर्ड विल्कले सन् २०२० को फोर्ब्स सूचीमा समाविष्ट विश्वका २,०९५ अर्बपतिमध्येबाट मिडियामा छाइरहने २० जना चर्चित अर्बपतिहरूको व्यक्तिगत कार्बन उत्सर्जन परिमाणलाई मापन गरेका थिए । उक्त अनुमानित गणनामा अध्येताहरूले ती अर्बपतिहरूका घर, गाडी, निजी विमान, निजी पानीजहाज (याट) को विवरण सार्वजनिक रूपमा उपलब्ध स्रोतबाट खोजेर त्यसको कार्बन पदचिह्न (कार्बन फुटप्रिन्ट) को हिसाब गरे । छानिएका अर्बपतिहरूमा रुसी धनाढ्य तेल व्यापारी रोमन अब्रामोभिचदेखि गुगलका संस्थापकद्वय सर्गे ब्राइन र लेरी पेजसम्म, फेसन दुनियाँका बादशाह इटालीका जर्जियो अमानीदेखि अमेजनका संस्थापक जेफ बेजोज र टेस्लाका सीईओ इलन मस्कसम्म र अमेरिकी क्यासिनो किङ सेल्डन एडेल्सन (हाल मरिसके) देखि लुई भिटनका संस्थापक फ्रान्सेली बर्नार्ड अर्नलसम्म थिए ।

सन् २०२१ मा प्रकाशित उक्त लेख अनुसार, ती २० अर्बपतिमध्ये सबैभन्दा फोहोरी (कार्बन उत्सर्जन बढी गर्ने) अर्बपति रोमन अब्रामोभिच थिए । उनले सन् २०१८ मा ३३,८५९ टन कार्बन उत्सर्जन गरेका थिए, जबकि संसारका कतिपय देशकै वार्षिक कार्बन उत्सर्जन परिमाण त्योभन्दा कम छ । विश्वमा हाल प्रतिव्यक्ति वार्षिक औसत कार्बन उत्सर्जन लगभग ५ टन छ । अमेरिकामा त्यो १५, चीनमा ७, भारतमा २ र नेपालमा १ टनभन्दा पनि कम छ । उक्त अनुसन्धान अनुसार ‘हाउ टु अभोइड क्लाइमेट डिजास्टर’ पुस्तक लेख्ने माइक्रोसफ्टका संस्थापक बिल गेट्सको वार्षिक कार्बन उत्सर्जन परिमाण ७,४०८ टन थियो ।

बारोज र विल्कको अनुसन्धानमा अर्बपतिहरूको विलाशी जीवनशैलीका कारण उत्सर्जित कार्बनको हिसाबकिताब गरिएको भए पनि उनीहरूको लगानीबाट उत्सर्जित कार्बनको मापन भने गरिएको थिएन । बेलायतस्थित अन्तर्राष्ट्रिय गैरसरकारी संस्था अक्सफामले हालै सार्वजनिक गरेको ‘कार्बन बिलिनायर्स’ प्रतिवेदनमा विश्वका १२५ अर्बपतिको लगानीले उत्सर्जन गर्ने कार्बन मापन गरिएको छ । प्रतिवेदन अनुसार, ती १२५ अर्बपतिको संयुक्त कार्बन उत्सर्जन परिमाण ६ करोड ७८ लाख जनसंख्या भएको फ्रान्सको भन्दा पनि बढी छ । अर्थात्, अध्ययनमा समावेश एक अर्बपतिले वार्षिक ३१ लाख टन कार्बन उत्सर्जन गर्ने गर्दछन् जुन आम्दानीको हिसाबले पीँधका ९० प्रतिशत मानिसले गर्ने उत्सर्जनभन्दा लगभग १० लाख गुणा ज्यादा हो । तथापि संसारका थुप्रै अर्बपतिको कार्बन पदचिह्न अझसम्म यकिन हुन सकेको छैन ।

फ्रान्सेली अर्थशास्त्री थोमस पिकेटी र लुकास च्यान्सिलले कार्बन उत्सर्जनमा भएको विश्वव्यापी असमानतालाई थप केलाएका छन् । उनीहरूको अध्ययन अनुसार, सन् १९९० देखि २०१९ सम्म विश्वका धनी १० प्रतिशत ७७ करोड मान्छेले गर्ने उत्सर्जनले विश्वको कुल कार्बन उत्सर्जनको लगभग आधा (४८ प्रतिशत) हिस्सा ओगट्छ तर विश्वको सबैभन्दा गरिब ५० प्रतिशत जनसंख्याले विश्वको कार्बन उत्सर्जनको मात्रै १६ प्रतिशत हिस्सा ओगट्छ । थप, विश्वका १ प्रतिशत उपल्ला धनाढ्य ६ करोड व्यक्तिहरू — जसको वार्षिक आम्दानी १ लाख ९ हजार डलरभन्दा बढी छ- ले गर्ने कार्बन उत्सर्जनले पृथ्वीमा हुने कुल उत्सर्जनको २३ प्रतिशत हिस्सा ओगट्छ । धनाढ्यहरूको कार्बन उत्सर्जन परिमाण कहाली लाग्ने गरी अत्यधिक मात्रै छैन, सन् १९९० यता त्यो निरन्तर बढ्दो छ । सन् १९९० देखि हालसम्म उपल्ला १ प्रतिशत धनीहरूको वार्षिक कार्बन उत्सर्जन २६ प्रतिशतले र उपल्ला ०.०१ प्रतिशत धनीहरूको ८० प्रतिशतले वृद्घि भएको थियो । जबकि सोही अवधिमा विश्वमा प्रतिव्यक्ति सरदर कार्बन उत्सर्जन २ प्रतिशतले मात्रै बढेको थियो ।

फोहोरी धनी देश

व्यक्तिगत रूपमा मात्रै होइन, देशहरूको तुलना गर्दा पनि कार्बन उत्सर्जनको विश्वव्यापी योगदानमा धनी देशहरूको मात्रा उल्लेख्य रूपमा बढी छ । विश्वमा जलवायु परिवर्तन हुनुको मुख्य कारक हो- मानिसले पृथ्वीको कार्बन सञ्चित गर्ने क्षमताभन्दा बढी उत्सर्जन गर्नु । अर्थात्, औद्योगिक क्रान्तिपछिको मानवीय गतिविधिका कारण उत्सर्जित कार्बनले पृथ्वीको सीमा (प्लानेटरी बाउन्ड्री) लाई पार गर्दा पृथ्वीमा तापमान वृद्घि हुन पुग्यो । पृथ्वीको तापमानलाई औद्योगिक क्रान्तिपूर्वको अवस्थामै राख्न यहाँको वायुमण्डलमा ८५० गिगाटनभन्दा बढी कार्बन उत्सर्जन गर्नु हुँदैन थियो तर हालसम्म मान्छेले पृथ्वीको वायुमण्डलमा २,५०० गिगाटन कार्बन फालिसकेको छ ।

युनिभर्सिटी अफ लन्डनका अध्येता जेसन हिकलले सन् १८५० देखि २०१५ सम्म विश्वका मुलुकहरूले गरेको उत्सर्जनको परिमाण तुलना गरेर प्रत्येक देशले आफ्नो वास्तविक हिस्साभन्दा (जनसंख्याका आधारमा) बढी/कम उत्सर्जन गरेको हिसाब निकालेका छन् । उनका अनुसार, हालसम्म पृथ्वीको क्षमताले धान्न सक्नेभन्दा बढी कार्बन उत्सर्जन गर्नेमा सीमित राष्ट्रहरू मात्रै छन्, जसमा जी–८ राष्ट्रहरू (अमेरिका, युरोपियन युनियन, रुस, जापान र क्यानडा) को हिस्सा ८५ प्रतिशतभन्दा माथि छ । तीमध्ये अमेरिका एक्लैको योगदान ४० प्रतिशत र युरोपियन युनियनको २९ प्रतिशत छ । हिकलका अनुसार, अमेरिका, रुस, जर्मनी, बेलायत, जापान, फ्रान्स, क्यानडा र युक्रेनले आफ्नो हिस्साको भन्दा अधिक कार्बन उत्सर्जन गरिसकेकाले उनीहरू कार्बन ऋणात्मक छन् भने चीन, भारत, बंगलादेश, इन्डोनेसिया, नाइजेरिया, पाकिस्तान, इथियोपिया, भियतनाम आफ्नो हिस्साको भन्दा हालसम्म कम कार्बन उत्सर्जन गरेकाले कार्बन धनात्मक छन् । तथापि वर्तमानमा यी राष्ट्रहरूको कार्बन उत्सर्जन मात्र अधिक र बढ्दो छ । नेपालसहित विश्वका ४६ अल्पविकसित देशहरूले अहिले विश्वको कुल कार्बन उत्सर्जनमा केवल १.१ प्रतिशत योगदान गर्छन्, जुन अमेरिकामा गुड्ने कारहरूले उत्सर्जन गर्ने परिमाणभन्दा पनि आधा कम हो ।

देश समृद्घ होस् वा कंगाल, व्यक्ति धनी होस् या गरिब, सबैले उत्सर्जन गरेको कार्बन अन्ततः पृथ्वीको वायुमण्डलमै थुप्रिन्छ । तथापि वायुमण्डलमा थुप्रिएको कार्बनले पार्ने प्रभावमा भने समृद्घ र कंगाल देशमा, धनी र गरिब मान्छेबीचमा धरती–आकाशको अन्तर छ । जलवायु परिवर्तनको प्रभावबाट गरिब देश र गरिब मान्छे बढी पिल्सने गरेका छन्, जसको जलवायु परिवर्तन हुनमा कुनै भूमिकै छैन । बाली नलाग्ने, बाढी आउने, सुक्खा पल्टिने, अधिक गर्मी हुनेजस्ता जलवायु परिवर्तनका प्रभावहरूबाट धेरै प्रभावित हुने भनेका गरिब देशका गरिब र सीमान्तीकृत मानिसहरू नै हुन् । यो वर्ष पनि जलवायुजन्य घटनाहरूमा बंगलादेश, पाकिस्तान, सुडानमा मर्ने र घरबारविहीन हुनेहरूमा गरिबहरू नै धेरै थिए । नेपालमा पनि जलवायु परिवर्तनको असर सीमान्तीकृत समुदायमा बढी परेको छ ।

जलवायु न्यायको सम्बोधन

कार्बनको असमान उत्सर्जन मात्रै होइन, जलवायु परिवर्तनको प्रभावको वितरण पनि असमान भएकाले जलवायु परिवर्तन वातावरणीय मुद्दा मात्रै होइनÙ यो सामाजिक न्याय, मानव अधिकार र अन्तरपुस्तागत न्यायको प्रश्न पनि हो । त्यसैले यो असमानतालाई न्यायपूर्ण सम्बोधन नगरी यो मुद्दाको हल निस्कँदैन । त्यस कारण सन् १९९० मा संयुक्त राष्ट्रसंघीय जलवायु महासन्धि भएसँगै जलवायुजन्य असमानताका विषय उठ्दै आएको थियो । जलवायु परिवर्तनको असरबाट गरिब राष्ट्रका गरिब जनता थप मारमा पर्दै जाँदा धनी देशहरूले त्यसको जिम्मेवारी वहन गर्नुपर्ने र त्यसको क्षतिपूर्ति तिर्नुपर्ने कुरा जलवायु सम्मेलनहरूमा उठ्न थाले । कोपनहेगन (कोप–१५) मा धनी राष्ट्रहरू गरिब राष्ट्रहरूलाई जलवायु अनुकूलनमा सघाउन वार्षिक १०० अर्ब डलर बराबरको अनुकूलन कोष बनाउन राजी भए । तथापि उनीहरूले कबुल गरे अनुरूपको रकम अझैसम्म पनि जुटेको छैन । उनीहरूले दिने भनेको अधिकांश रकम पनि अनुदान होइन, ऋणका रूपमा दिने गरिएको छ ।

पछिल्लो समय ‘पोलुटर मस्ट पे’ (जसले फोहोर गर्‍यो, उसैले सोहोर्नुपर्छ) भन्ने मान्यता जबर्जस्त उठ्ने गरेको छ । धनी राष्ट्रहरूले गरिब राष्ट्रहरूलाई जलवायुजन्य हानि–नोक्सानी (लस एन्ड ड्यामेज) का लागि क्षतिपूर्ति दिनुपर्छ भन्ने मत दोहा (कोप–१९) मा पहिलोपल्ट बंगलादेशले उठायो । त्यसपछिका कोपहरूमा चर्को बहस र विवादको विषय बन्ने गरे पनि उक्त मुद्दाले आधिकारिक एजेन्डाका रूपमा प्रवेश पाएको थिएन । अहिले इजिप्टमा जारी कोपमा उक्त विषयले आधिकारिक रूपमै प्रवेश पाएको छ । तथापि यो विषयको निरूपण न्यायपूर्ण रूपमा हुन्छ वा हुँदैन, त्यो हेर्न बाँकी नै छ ।

जलवायु परिवर्तन सम्बन्धी पेरिस सम्झौता अनुरूप पृथ्वीको तापमानलाई १.५ डिग्री सेल्सियसभित्रै सीमित राख्न हालको प्रतिव्यक्ति उत्सर्जनलाई दुईतिहाइले घटाउनुपर्छ । त्यसमा आम मान्छेको भन्दा उच्च कार्बन उत्सर्जन गर्ने अर्बपतिहरूको भूमिका ठूलो हुन्छ । उनीहरूको फोहोरी जीवनशैलीलाई कर वा अन्य माध्यमले लगाम लगाउने र लगानीलाई हरित क्षेत्रमा मोड्ने हो भने मात्रै पेरिस सम्झौताको लक्ष्य भेटिन्छ । पिकेटीका अनुसार, अधिक कार्बन उत्सर्जन गर्नेहरूलाई कार्बन कर लगाउने हो भने वार्षिक १५० अर्ब डलर सजिलै उठ्न सक्छ जुन जलवायु परिवर्तनबाट प्रभावित हुने राष्ट्र र मानिसहरूलाई बाँड्न सकिन्छ । तर त्यस्तो कानुनी नत्थी लगाउने व्यवस्थामा धनी राष्ट्र र अर्बपतिहरू अहिले नै सहजै राजी हुने अवस्था देखिन्न । सार्म एल सेखमा धनीहरूका पक्षमा माहोल बनाइरहेका सयौं पैरवीकर्ताको संख्याले त्यो पुष्टि गर्दछ । तर कार्बन उत्सर्जनको असमानतालाई सम्बोधन नगरी यो विषयको टुंगो सजिलै लाग्नेवाला पनि छैन ।

प्रकाशित : मंसिर २, २०७९ ०७:४४
प्रतिक्रिया
पठाउनुहोस्

कुलतकारी स्मार्टफोन

इन्टरनेट र सामाजिक सञ्जालभित्र पस्दा भेटिने मन पर्ने/नपर्ने, रमाइलो लाग्ने/नलाग्ने, प्रासंगिक/अप्रासंगिक, चाहेका/नचाहेका, रुचिका/अरुचिका सामग्रीहरूको अनिश्चितताले हामीलाई त्यसको भुमरीमा लामो समयसम्म घुमाइराख्छ र सञ्जालभित्र घण्टौं समय बिताइराख्ने कुलत लगाउँछ ।
उत्तमबाबु श्रेष्ठ

७ जनवरी २००७, अमेरिकाको सान फ्रान्सिस्कोस्थित मस्कोनी सम्मेलन केन्द्रमा आयोजित ‘म्याकवर्ल्ड’ सभाको स्टेजमा एप्पल कम्पनीका संस्थापक तथा सीईओ स्टिभ जब्स आफूले सार्वजनिक कार्यक्रममा सधैं लगाउने चिरपरिचित नीलो जिन्स र कालो भेस्टमा उपस्थित भए । एप्पलले आफ्नो नयाँ उत्पादन सार्वजनिक गर्न आयोजना गरेको उक्त कार्यक्रममा सम्बोधन गर्दै जब्सले भने, ‘एप्पल कम्पनी निकै भाग्यशाली कम्पनी हो । यसले सन् १९८४ मा म्याकिन्टोस कम्प्युटर बजारमा ल्यायो, जसले सिंगो कम्प्युटरको दुनियाँलाई बदलिदियो । सन् २००१ मा एप्पलले आइपड बजारमा ल्याएपछि संगीतको पूरै बजार फेरियो र आज हामी एकैसाथ तीनवटा त्यस्तै क्रान्तिकारी उत्पादनहरू सार्वजनिक गर्दै छौं ।’

उनले थपे, ‘पहिलो ठूलो टच स्क्रिन भएको आइपड, दोस्रो मोबाइल फोन र तेस्रो इन्टरनेट चलाउन मिल्ने साधन । तर यी तीनै साधन फरकफरक होइनन्, यी सबैलाई मिलाएर हामीले एउटै बनाएका छौं, जसलाई हामीले आइफोन भन्छौं ।’ बोल्दाबोल्दै स्टिभले पाइन्टको गोजीबाट उक्त ‘क्रान्तिकारी आइफोन’ निकाले र थपे, ‘यो अहिलेसम्म बनेको सबैभन्दा उत्कृष्ट स्मार्टफोन हो ।’

स्मार्टफोन र कुलत

एप्पलका अघिल्ला उत्पादनहरूले कम्प्युटरको संसार र संगीतको दुनियाँ मात्रै बदले तर आइफोन र पछिका विभिन्न ब्रान्डका स्मार्टफोनहरूले यतिखेर सिंगो मानव समुदायको आनीबानी र दैनिकीलाई फेरिदिएका छन् । सम्भवतः आजको मान्छेले जीवनमा सबैभन्दा धेरै समय बिताउने साधन बनेको छ स्मार्टफोन, जुन खाँदा, बस्दा, हिँड्दा र सुत्दा हमेसा हामीसँगै हुन्छ अनि अफिसमा, घरमा, भेटघाटमा, बाटामा र ट्वाइलेटमा हामीसँगै जान्छ । उत्पादनपछिको छोटो समयमै यसले मानिसहरूले परम्परागत रूपमा गर्दै आएका खाना पकाउने, खाने, सुत्ने, कसरत गर्ने, सामान किन्ने, डेटिङ गर्ने, अन्तरक्रिया गर्ने, गाडी चलाउनेजस्ता दैनन्दिन क्रियाकलापमा उथलपुथलकारी परिवर्तन ल्याइदिएको छ । औद्योगिक क्रान्तिपछि संसारमा सबैभन्दा चाँडै अंगीकार गरिएको कुनै उत्पादन छ भने त्यो स्मार्टफोन नै हो । विश्वभर करिब ६ अर्ब ६४ करोड थानभन्दा बढी बिक्री भइसकेको स्मार्टफोनलाई कतिपयले औद्योगिक क्रान्तिपछिकै सबैभन्दा सफल औद्योगिक उत्पादन पनि भन्ने गर्छन् । यसबारे धेरथोर विवाद गर्न त सकिन्छ तर स्मार्टफोन हालसम्म आविष्कार भएको सबैभन्दा कुलतकारी साधन भएकामा भने अब विवाद छैन । यसले संसारका मानिसहरूको समय व्यवस्थापन गर्ने क्षमता, शारीरिक ऊर्जा र मानसिक एकाग्रतालाई चकनाचुर पारिदिएको छ ।

यतिखेर सिंगो मानव समुदाय नै स्मार्टफोनमा बज्ने तारन्तारको घण्टी, सन्देश, भाइब्रेसन र विभिन्न सूचनाले विचलित छ । तथापि योबिना मान्छे बाँच्न नसक्ने र यसलाई छोड्न नसक्ने भएको छ । हार्वर्ड विश्वविद्यालयले गरेको एउटा अध्ययन अनुसार, ७३ जना मानिसले आफूसँग फोन नहुँदा तनाव बढ्ने बताएका थिए । त्यसै गरी बेलोर विश्वविद्यालयले गरेको एउटा अनुसन्धान अनुसार, अमेरिकाका ६० प्रतिशत कलेज विद्यार्थीहरूले आफूलाई मोबाइल फोनको कुलत लागेको बताएका थिए । कुलत भनेको स्वयंलाई वा अरूलाई हानि गर्ने अनियन्त्रित व्यवहार वा वस्तुसेवनको लत हो । स्मार्टफोनको कुलतले मानसिक तनाव र डर बढाउने, चिडचिडाहट र एक्लोपन जगाउने, एकचित्त भएर कुनै काम गर्न नसक्ने हुने र निद्रा नलाग्नेजस्ता स्वास्थ्यलाई नकारात्मक असर पार्ने थुप्रै अध्ययनले देखाएका छन् । तथापि स्मार्टफोनको बिक्री, पहुँच र प्रयोग विश्वव्यापी रूपमा बढ्दो छ ।

नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार, नेपालमा ३ करोड ८६ लाख मोबाइल फोन प्रयोगमा छन् । २ करोड ७७ लाख मानिससँग इन्टरनेट पहुँच छ । डिजिटल रिपोर्ट–२०२२ अनुसार, १ करोड ३७ लाख नेपालीले सोसल मिडिया प्रयोग गर्छन् । तीमध्ये फेसबुक प्रयोगकर्ता मात्रै १ करोड २३ लाख छन् र नेपालका फेसबुक प्रयोगकर्तामध्ये ९० प्रतिशतले स्मार्टफोनमा यसलाई हेर्छन् । नेपालमा मानिसहरूले दैनिक कति घण्टा समय स्मार्टफोनमा बिताउँछन् भन्ने भरपर्दो तथ्यांक उपलब्ध छैन तर मोबाइल एप अनुगमन गर्ने एपएनी अनुसार, सन् २०२२ मा विश्वका मानिसहरूले प्रतिदिन सरदर ४ घण्टा फोनमा बिताइरहेका छन् । दैनिक फोनमा बिताउने उक्त समय एसियाली मुलुकहरूमा अझै बढी छ । उदाहरणका लागि, इन्डोनेसियामा दैनिक ६ घण्टा र भारतमा लगभग ५ घण्टा मानिसहरूले फोनमा समय बिताउँछन् । ग्लोबल इन्टरनेट ट्रेन्ड सर्भे अनुसार, मान्छेहरूले औसतमा दैनिक १५० पटक आफ्नो स्मार्टफोन अनलक गर्ने गर्छन् । र, युनिभर्सिटी अफ पेन्सिलभेनियाले गरेको अध्ययन अनुसार, २५ प्रतिशत मानिस राति निद्रामा बिउँझिएर फोन हेर्ने गर्छन् ।

स्मार्टफोन अर्थात् डोपोमिन पम्प

स्मार्टफोनलाई छिनछिनमै र निद्रामा बिउँझिएर समेत हेरिराख्न मन लाग्नुका पछाडि तीन मुख्य कारण छन् । पहिलो, स्मार्टफोनको सजिलो डिजाइन र त्यसभित्रका एप; दोस्रो, हरदम उपलब्ध इन्टरनेट र सञ्जाल जसभित्रका सामग्रीमा लुकेको अनिश्चितता; र तेस्रो, सामाजिक सञ्जाल जसले मानिसको सामाजिक प्रमाणीकरण खोज्ने उत्कण्ठालाई पूरा गर्न सघाउँछ ।

हिँड्नु, दौडनु, भाग्नु वा हरदम चलायमान भइराख्नु र कुनै नयाँ संकेतले उद्वेलित हुनु मानिसको जन्मजात गुण हो । स्मार्टफोनको टचस्क्रिन मानिसको त्यो आदिम गतिमान स्वभावलाई दोहन गर्ने हिसाबले औंलाले स्क्रोल गर्न सजिलो हुने गरी निर्माण गरिएको छ । साथै मोबाइलभित्रका एपहरूले निरन्तर पठाइराख्ने संकेत (म्यासेज, घण्टी, नोटिफिकेसन इत्यादि) ले हामीलाई त्यसभित्र पक्कै कुनै नयाँ कुरा छ भनेर आकर्षित गर्छन् । आफूले चाहेको/खोजेको/रुचिको चीज पाउँदा मानिसको मस्तिष्कमा डोपोमिनको मात्रा उच्च हुन्छ । डोपोमिन मानव मस्तिष्क प्रणालीमा हुने स्नायु सञ्चारक (न्युरोट्रान्समिटर) हो, जसले मानिसलाई खुसी तुल्याउने काम गर्छ । त्यसैले प्राप्तिपछि पाइने खुसीको भोकले हामीलाई त्यस्तो काम गरौंगरौं लाग्छ । अर्थात्, फोनमा हुने एपको नोटिफिकेसनसँगै फोन खोलौंखोलौं लाग्छ । जब फोन अनलक गरेर इन्टरनेट, सामाजिक सञ्जालभित्र छिरिन्छ, त्यहाँ आफूलाई मन पर्ने/नपर्ने, रमाइलो लाग्ने/नलाग्ने, प्रासंगिक/अप्रासंगिक, चाहेका/नचाहेका, रुचिका/अरुचिका थुप्रै कुरा भेटिन्छन् । जब कुनै कर्म गर्दा त्यसले ल्याउने नतिजा वा फलको अनिश्चितता हुन्छ तब हामीलाई त्यो काम झन् गरौंगरौं लागिरहन्छ । उदाहरणका लागि, जुवातास खेल्दा एकनासले जित्ने वा हार्ने निश्चित नहुनाले त्यो खेलौंखेलौं लागिरहन्छ । जित वा हार निश्चित हुने हो भने हामीलाई जुवातास खेलिरहन मन लाग्दैन । त्यसैले इन्टरनेट र सामाजिक सञ्जालभित्र पस्दा भेटिने मन पर्ने/नपर्ने, रमाइलो लाग्ने/नलाग्ने, प्रासंगिक/अप्रासंगिक, चाहेका/नचाहेका, रुचिका/अरुचिका सामग्रीहरूको अनिश्चितताले हामीलाई त्यसको भुमरीमा लामो समयसम्म घुमाइराख्छ र सञ्जालभित्र घण्टौं समय बिताइराख्ने कुलत लगाउँछ ।

तेस्रो, मानिस सामाजिक प्राणी भएको हुनाले उसलाई समाजसँग अन्तरक्रिया गर्ने र आफूले गरेको कामप्रति अरूको प्रतिक्रिया वा दृष्टिकोण वा स्वीकारोक्ति खोज्ने गर्छ । त्यसैले सामाजिक सञ्जालमा आफूले राखेका फोटा र पोस्टहरूलाई मानिसहरूले के भने वा राम्रो भनिदिए कि भनिदिएनन् भनेर लगातार सामाजिक प्रमाणीकरण (सोसल भ्यालिडेसन) खोजिरहन्छ । त्यो पाउँदा मस्तिष्कको पुरस्कार–प्रेरणा–प्राप्तिको प्रणाली सक्रिय हुने हुनाले मानिसलाई खुसी मिल्छ । सञ्जालका लाइक र कमेन्ट बटनहरू मानिसभित्र हुने त्यो सामाजिक प्रमाणीकरणको चाहनालाई पूरा गरिदिएको भ्रम दिने हिसाबले डिजाइन गरिएका हुन्छन् । त्यसैले आफूले गरेको कर्मबारे समाजको धारणा पाएको भ्रम लिएर मानिस तारन्तार सामाजिक सञ्जालको नोटिफिकेसनलाई हेर्न लालायित रहन्छ । यही मानवीय स्वभावका कारण फेसबुक र इन्स्टाग्रामले कहिल्यै नसकिने फिड अनि नेटफ्लिक्स र युट्युबले नयाँ भिडियोको सिफारिसको जालो फालिरहन्छन्, जसमा हामी परिरहन्छौं । साथै, मानिसमा नकारात्मक भावना बढी भएका बेला (जस्तै— बोर र डर लाग्दा, दिक्क हुँदा, रिस उठ्दा, निद्रा नलाग्दा वा डिप्रेसनमा) मस्तिष्कको डोपोमिन आधारस्तरभन्दा तल पुगेको हुन्छ, त्यसैले त्यस्तो बेला डोपोमिनको मात्रालाई स्वाभाविक अवस्थामा ल्याउनका लागि सजिलो उपाय स्मार्टफोन चलाउन पुग्छ ।

एउटा मानिससँग उसको प्रजातिले उद्विकासका क्रममा हासिल गरेका यस्ता स्वभावजन्य गुण र अवगुणहरूलाई दोहन गर्न मानिसको मनोवैज्ञानिक कमजोरी बुझेका संसारकै चलाख र उत्कृष्ट इन्जिनियरहरूले डिजाइन गरेको प्रणाली हो— स्मार्टफोन । त्यसैले स्मार्टफोन प्रणालीको पृष्ठभागमा बसेर मानिसको ध्यानलाई मुनाफामा बदल्ने स्मार्ट मान्छेहरूका अगाडि सामान्य मान्छेले बनाएको स्वअनुशासनको तगारो सजिलै भत्कन्छ । फलस्वरूप मान्छे ‘स्मार्टफोन’ चलाएर निरन्तर सन्तुष्टि लिइराख्ने ‘डम (मूर्ख)’ बन्छ ।

कुलतको मलजलकर्ता

कुनै मान्छेलाई अम्मली बनाउनका लागि अम्मल लगाउने वस्तुको उपलब्धताबाहेक अन्य कुराले पनि भूमिका खेलेका हुन्छन् । धेरै अध्ययनले देखाएका छन्— कुनै नराम्रो घटनाले पारेको मानसिक आघातको अवस्था, सामाजिक बहिष्करण, गरिबी र बेरोजगारीले कुनै पनि कुलतका लागि अनुकूल वातावरण बनाउँछ । विशेष गरी उन्नत सेवा र सुविधाको अभाव भएका, गुणस्तरीय शिक्षा र स्वास्थ्यमा पहुँच नपुगेका, गरिबीमा डुबेका, सामाजिक सुरक्षाहरूबाट वञ्चित, विवेकपूर्ण निर्णय गर्न नसक्ने समूहका मानिसहरू तत्कालै पीडा भुलाउने सामग्रीको खोजीमा हुन्छन् । त्यस्तो अवस्थामा रमाइलो दिने सस्तो साधन स्मार्टफोनको सजिलै, सहजै र हमेसाको उपलब्धताले उनीहरूलाई कुलतको जोखिमबाट उम्कनै दिँदैन । त्यसैले पढाइ बिगारेर दैनिक थुप्रै टिकटक बनाउने र अन्टसन्ट गरेर भए पनि भाइरल हुने प्रवृत्तिले हामीकहाँ व्यापकता पाएको छ ।

आजको संसारमा सूचना असीमित छ, तर त्यसलाई उपयोग गर्ने मानवीय ध्यान (एटेन्सन) सीमित छ । त्यसैले मानवीय ध्यान वा समय यतिखेरको सबैभन्दा बहुमूल्य वस्तु हो । स्मार्टफोन, सामाजिक सञ्जालपछि विकास भएको आर्थिक प्रणाली अर्थात् ध्यान अर्थतन्त्र (एटेन्सन इकोनोमी) मा संसारभरका मान्छेहरूलाई ‘डिजिटल कोकिन’ को नशामा लठ्याएर जति धेरै उनीहरूलाई फोनमा टाँसिराख्न सक्यो, प्रविधि कम्पनीहरूलाई त्यति नै बढी फाइदा हुन्छ । त्यसकारण संसारका सबैभन्दा उत्कृष्ट भनिएका विश्वविद्यालयमा पढेका मान्छेहरूले मानिसको ध्यानलाई पैसामा बदल्न स्मार्टफोन र एपलाई सकेसम्म अम्मली बनाएर ‘क्रान्तिकारी’ उत्पादन भन्दै बेचिरहेका छन् । उनीहरूलाई थाहा छ, स्मार्टफोनको कुलत खतरनाक छ । त्यसैले उपल्लोस्तरका प्राविधिकहरू आफैंले विकास गरेको प्रविधिसँग यतिखेर डराएका छन् । प्रविधिलाई राम्रोसँग बुझेका सिलिकन भ्यालीका प्राविधिक र इन्जिनियरहरू फोनमा झुन्डिनको साटो योग गर्ने, व्यायाम गर्ने, घुम्न जाने, परिवार, साथीसंगी भेटेर रमाइलो गर्ने गर्छन् । सन् २०१० मा न्युयोर्क टाइम्समा छापिएको अन्तर्वार्तामा स्टिभ जब्सले आफ्ना बच्चाहरूले आइप्याड प्रयोग नगरेको खुलासा गरेका थिए ।

ट्वीटर, मिडियम र ब्लगरका संस्थापक इभान्स विलियम्सले आफूले आफ्ना दुई छोराहरूका लागि आइप्याडको साटो सयौं किताब किनिदिएको बताएका थिए । प्रविधि दुनियाँको मक्का–मदिना मानिने क्यालिफोर्नियाका प्राविधिकहरूले आफ्ना बच्चाहरूलाई डिजिटल ग्याजेटको कुलतबाट जोगाउन प्रविधिमुक्त स्कुलहरूमा भर्ना गरिरहेका बेला कालीकोटका हाम्रा केटाकेटीहरू स्मार्टफोन नहेरी भात नरुच्ने अवस्थामा पुग्नु भनेको सुखद कुरा होइन ।

प्रकाशित : आश्विन ६, २०७९ ०८:००
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×