कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

निर्वाचन, पैसा, जाँडरक्सी र समाज

‘गरिब’ लाई निर्वाचनका बेला आफ्नो मत बेच्ने तप्काका रूपमा देख्ने नेता र राजनीतिक विश्लेषकहरूले उनीहरूले अरू बेला जीवन कसरी गुजार्दा हुन् भन्ने प्रश्न कहिल्यै गरेका छन् ?
धीरेन्द्र नाल्बो

निर्वाचनका बेला समाजमा एक खालको भनाइ जताततै सुन्न पाइन्छ– भोट किन्न नेताहरूले व्यापक पैसा खर्च गर्छन् । अर्थात्, जसले भोट किन्ने क्षमता राख्छ, उसैले चुनाव जित्छ । भोट ‘किन्ने’ र ‘बेच्ने’ बीचको सम्बन्धले कस्तो खालको सामाजिक, राजनीतिक र बौद्धिक चिन्तनलाई प्रतिविम्बित गरिरहेको छ ? छलफलमा आउनुपर्ने जति नआएको महत्त्वपूर्ण विषय हो यो ।

निर्वाचन, पैसा, जाँडरक्सी र समाज

यस्तो कुरा गरिरहँदा हामीले कस्तो समुदायप्रति इंगित गरिरहेका छौं ? भोट ‘बेच्नु’ व्यक्तिको इज्जत, इमान र प्रतिष्ठासँग जोडिएको हुन्छ कि हुन्न ? भोट ‘किन्ने’ नेताहरू र भोट ‘बेच्ने’ व्यक्तिहरूबीच तात्त्विक भिन्नता छ ?

प्रायः मुलुकमा झैं नेपालमा पनि चुनाव निरन्तर महँगो र खर्चिलो हुँदै गएको छ । त्यसैले निर्वाचन आयोगले खर्च गर्ने पाउने गरी निश्चित नीति निर्धारण गर्छ, तर त्यसको अक्षरशः पालना दलहरूले सायदै गर्छन् । यसको अर्थ हो- चुनावताका खर्च हुन्छ र नेताहरूले खर्च गर्छन् । तर नेताहरूले खर्च कुन तरिका र उद्देश्यले गर्छन्, त्यो चुनावी हिंसा हो या होइन भन्नेचाहिँ पर्गेल्नुपर्छ । उदाहरणका लागि, चुनाव प्रचार–प्रसारका लागि चाहिने विज्ञापन सामग्री, यातायात इत्यादिमा लाग्ने खर्चलाई- निर्वाचन आयोगले निर्धारण गरेको सीमाभित्र पर्छ भने - स्वाभाविक रूपमा लिन सकिन्छ । तर जब खर्च मतादाताहरूको विवेक तथा इच्छालाई प्रभाव पार्ने उद्देश्यसाथ गरिन्छ, त्योचाहिँ चुनावी हिंसा हो । तर यस लेखको उद्देश्य भोट ‘किन्ने’ र ‘बेच्ने’ प्रक्रिया निर्वाचन आचार संहिताभित्र पर्छ या पर्दैन भन्नेभन्दा पनि यसले कस्तो किसिमको सामाजिक चरित्र र संस्कार तथा राजनीतिक विवेक र अवस्थालाई उजागर गर्छ, त्यसलाई छलफलका लागि प्रस्तुत गर्नु हो ।

मत, पैसा र रक्सी अर्थात् पैसा बोल्छ ‘एक गिलास रक्सी र एक प्लेट मासुमा भोटर बिक्छन्’ अथवा ‘५ सय या हजार रुपैयाँ भोटको अघिल्लो दिन बाँडेको हुनाले फलानाले चुनाव जित्यो’ भन्ने सजिलो निष्कर्ष निकाल्नु हाम्रो समाजको सामान्य चरित्र भएको छ । यो सामाजिक बुझाइलाई मलजल गर्नका लागि, सतही राजनीतिक विश्लेषकहरूले निकै योगदान पुर्‍याएका छन् ।

‘हामी गरिबलाई जसले पैसा दिन्छ उसैलाई (मत) दिन्छौं,’ हालै सप्तरी जिल्लावासी मल्लाह समुदायका एक व्यक्तिले भने । ‘५ सय, हजारले त घरखर्च चल्छ नि,’ अर्का स्थानीयवासीले सुनाए । उनीहरूका कुरा सन्दा लाग्छ, ‘गरिब’ व्यक्तिहरू आफ्नो मत पैसामै बेच्दा रहेछन् । तर तात्त्विक रूपमा गहिरिएर सोच्यो भने भोट ‘किन्ने’ र ‘बेच्ने’ व्यापारले नेपाली समाजको एउटा जटिल सामाजिक, राजनीतिक र आर्थिक अवस्थालाई प्रतिविम्बित गर्छ ।

को हुन् गरिब ?

‘गरिब’ शब्द सुन्ने–पढ्नेबित्तिकै हाम्रा मनमा केही स्पष्ट विम्बहरू आउँछन्; जस्तै- अनपढ, अशिक्षित, निमुखा, पीडित, खान–लाउन नपाएका या यसका लागि प्रत्येक दिन संघर्षरत, बुद्धि नभएका, सोझा र बिचरा इत्यादि । यी विम्बहरू किन र कसरी सामाजिक तथ्यका रूपमा स्थापित भए र कसरी हाम्रो बौद्धिक बुझाइलाई यिनले व्यंग्य गरिराखेका छन् भन्नेबारे अर्को कुनै लेखमा छलफल गर्नुपर्ला, तर यहाँचाहिँ ‘गरिब’ लाई परिभाषित गर्ने विम्बहरूलाई भोट किन्ने र बेच्नेका सन्दर्भमा छलफलको खातिर केही तर्क प्रस्तुत गरेको छु ।

सामान्यतया मानिस होऊन् या अन्य प्राणी, आफूलाई फाइदा या सजिलो होस् भनेर हरबखत प्रयासरत रहन्छन् । व्यापारीले आफ्नो व्यापारिक फाइदाका लागि, राजनीति गर्नेले चुनाव जित्नका लागि, विद्यार्थीले उच्च अंक ल्याउनका लागि, कृषकले राम्रो फसल पाउनका लागि, कर्मचारीले पदोन्नति हुनका लागि इत्यादि । यही सन्दर्भमा ‘गरिब’ ले आफ्नो दैनिक जीवन सहज बनाउनका लागि केही सय रुपैयाँ या खानपिउनका लागि आफ्नो मत विनिमय गर्नुलाई समाजमा व्याप्त नकारात्मक अर्थहरूले भरिएको गरिबको परिभाषाभित्र सीमित राखेर बुझ्नु र त्यसको विवेचना गर्नु कतिको न्यायसंगत हो ? यो त धनी, शिक्षित, शक्तिशाली भनिएकाहरूबाट एक गिलास रक्सी र एक प्लेट मासु या ५ सय–हजारमा ‘बिक्ने’ भनिएका र तदनुरूप नै चिनिएका समुदायहरूको इज्जत र प्रतिष्ठामाथि लगातार प्रहार होइन र ? यस्तो गलत र अन्यायपूर्ण चित्रणले यी समुदायलाई समस्याका रूपमा मात्रै देखिरहनु भनेको ‘गरिब’ हुनु नै उनीहरूका लागि अभिशाप भएझैं पुष्टि गरिरहनु मात्रै होइन कि उनीहरूको विवेक र आफ्नोबारे निर्णय गर्ने अधिकारमाथि नै धावा बोल्नु हो । यसको अर्को पाटो धनी र प्रबुद्ध वर्गले नै ‘गरिब’ को हुन् र को होइनन् भन्ने परिभाषा गर्ने अधिकार राख्नु पनि हो, जुन आफैंमा हास्यास्पद छ । भोट किन्ने व्यक्तिले ती समुदायलाई भोट करेन्सीका रूपमा देख्नु आफैंमा गलत र समस्या होइन र ?

‘गरिब’ माथि वैकल्पिक नजर

माछा मारेर दैनिक जीवन गुजारा गर्ने मल्लाह समुदायका मानिस होऊन् या दलित समुदायका, उनीहरूले आफ्नो सहजताका लागि मतलाई विनिमयका रूपमा लिनुलाई विवेकपूर्ण र रणनीतिक निर्णयका रूपमा किन चित्रण नगर्ने ?

गरिबलाई जहिल्यै समस्याका रूपमा देख्नु आफैंमा गहिरो समस्या हो । निर्वाचनका बेला देखिने ‘गरिब’ सामान्य अवस्थामा अदृश्य हुन्छ । ‘गरिब’ लाई निर्वाचनका बेला आफ्नो मत बेच्ने तप्काका रूपमा देख्ने नेता, राजनीतिक विश्लेषक र समाज बुझ्ने समुदायले उनीहरूले अरू बेला जीवन कसरी गुजार्दा हुन् भन्ने प्रश्न कहिल्यै गरेका छन् ?

‘गरिब’ को विवेक हुँदैन, उसले सही र गलत छुट्याउन सक्दैन किनकि शिक्षित छैन भन्ठान्ने शिक्षित, प्रभुत्वशाली वर्ग, विवेकशील नागरिक र राजनीतिक नेताहरूले सोच्नुपर्छ, उनीहरू आफैंले पनि जीवन सहज बनाउनका निम्ति हरपल प्रयत्न गरिरहेका हुन्छन् । त्यसैले उनीहरूले आफ्नो मतलाई विनिमयका रूपमा लिएको भन्नुमा तात्त्विक फरक देखिन्न । फरक यत्ति हो- ‘गरिब’ ले कमाउने या विनिमय गर्ने मौका धनी, नेता, शिक्षित र प्रभुत्वशाली वर्गले जति पाउँदैनन्, किनकि बाँकी दिन त उनीहरूले आफ्नो दैनिक गुजाराका लागि दस औंला खियाउनुपर्छ, रगत र पसिना बगाउनुपर्छ ।

त्यसैले ‘गरिब’ का लागि निर्वाचन यस्तो मौका हो, जब उनीहरूले शक्तिशाली, प्रभुत्वशाली, नेता र शिक्षित वर्गसँग सीधासीधा भलाकुसारी अनि लेनदेन गर्न पाउँछन् । त्यो भनेको ‘गरिब’ पनि समाजका अरू तप्का र तहका मानिसजस्तै सम्प्रभु र अधिकारसम्पन्न नागरिक हुन पाउनु हो । यसको अर्थ ‘गरिब’ ले आफ्नो मतलाई व्यक्तिगत तथा पारिवारिक स्वार्थका लागि प्रयोग गर्नु, सोझो हुनु हो र ? बिकिनु हो र ? इमान बेच्नु हो र ? सस्तो हुनु हो र ? विवेकशील हुनु होइन र ? रणनीतिक हुनु होइन र ? आफ्नो आवश्यकता बुझ्नु होइन र ? जीवन बुझ्नु होइन र ? समाज बुझ्नु होइन र ? ‘शिक्षित’ हुनु होइन र ?

प्रकाशित : कार्तिक ३०, २०७९ ०७:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?