अर्थात् भद्र अवज्ञा- विचार - कान्तिपुर समाचार

अर्थात् भद्र अवज्ञा

हामी राजनीतिमा परिवर्तन चाहन्छौं भने त्यसको पहिलो सर्त हो- हाम्रो मतमा परिवर्तन । भोट कसलाई हाल्ने, तपाईंको विवेकले काम गरोस् । तर यस पटक हामी पुरानो ढर्राबाट भने निस्कनैपर्छ । यसका लागि हामीले आफैंसँग विद्रोह गरौं ।
केशव दाहाल

आउने निर्वाचनमा भोट कसलाई दिने ? सरल तर महत्त्वपूर्ण प्रश्न हो यो । स्पष्ट छ, प्रश्नहरू सरल हुँदैमा कमजोर हुँदैनन् । त्यसो त यो प्रश्न यसकारण पनि गम्भीर छ कि, छनोटका लागि उम्मेदवार धेरै छन् । सबैका कुरा मीठा छन् । सबैका कुरा रसिला छन् । पार्टीका उम्मेदवार त सम्पूर्ण शक्तिका साथ राजनीतिको जादु देखाउँदै नै छन्, स्वतन्त्रहरूको मायाजाल पनि कमजोर छैन ।

सम्मोहनको पूर्वैया चलेको छ यत्रतत्र । यस्तो बेला आलोचनात्मक चेतनाको बिर्को खोलौं र मनले आफ्नै मनलाई सोधौं, भोट कसलाई ? त्यसपछि बन्नेछ यो प्रश्न एक विद्रोह । अर्थात्, भद्र अवज्ञा ।

आम गुण

निर्वाचनमा भोट हाल्ने महत्त्वपूर्ण आधार उम्मेदवार वा पार्टीका इतिहास, विचार, काम, घोषणापत्र र दलीय प्रतिबद्धताहरू नै हुन् । तर जब राजनीतिमा इतिहास, विचार, काम र घोषणापत्रहरूले काम गर्न छोड्छन्, त्यसपछि भोट हाल्ने अरू पनि आधारहरू खोज्नुपर्ने हुन जान्छ, जसले उम्मेदवारलाई परख गर्न सजिलो बनाओस् ।

दुर्भाग्य, नेपाली राजनीति यति धेरै स्खलित भयो, नेता बनाउन सजिलो छ तर नेतालाई मान्छे बनाउन गाह्रो देखिँदै छ । अतः भोट हाल्ने पहिलो सर्त हो- उम्मेदवारको मानविय गुण । असल चरित्र । सरल व्यक्तित्व । नैतिकतावान्, प्रेमिल, मिजासिलो । अर्थात्, हामीले खोज्ने नेता प्रथमतः मान्छे जस्तै होस्Ù असल, सभ्य र इमानदार । दुरुस्तै मान्छेजस्तो । न राक्षसजस्तो, न त ईश्वरजस्तो । भोट हाल्ने पहिलो सर्त हो यो । त्यसपछि हामीले विचार गर्नुपर्छ उसमा निहित विशेष गुण । अर्थात्, नेतृत्वको गुण ।

विशेष गुण

कुनै पनि मान्छे असल, इमानदार, शिष्ट हुँदैमा नेता हुँदैन । किनभने यी त आम मान्छेका गुण हुन् । जस्तो— हामीलाई शिक्षक पनि असल चाहिन्छ, कर्मचारी पनि । हामीलाई प्रहरी पनि इमानदार चाहिन्छ, डक्टर, खेलाडी र लेखक पनि । वस्तुतः आदर्श समाजमा प्रत्येक मान्छे सभ्य हुनैपर्छ । अतः यी गुणहरू मान्छेका गुण हुन् । नेताका पनि, मतदाताका पनि । यति मात्र गुणले नेता बनिँदैन । जस्तो- जोगी इमानदार होला तर नेता नहुन सक्छ । शिक्षक ज्ञानी होला तर नेता नहुन सक्छ । कोही अब्बल डक्टर होला तर राजकाजमा योग्य नहुन सक्छ । कुनै लेखक सृजनशील, शिष्ट र सरल होला तर नेता नहुन सक्छ ।

जब एउटा मान्छेमा विशेष गुणहरू हुन्छन् तब ऊ नेता बन्छ । यहाँनेर विशेष गुण भनेर कुनै चामत्कारिक गुण खोजिएको होइन । विशेष गुणको अर्थ पालनहार त झन् हुँदै होइन । जनता भनेका दुःखी, याचक र कमजोर प्राणी हुन्, उनीहरूको ‘डुबती नैया’ लाई पार लगाउन एउटा ईश्वरको आवश्यकता छ भनेर यहाँनेर नेताको चर्चा गरिएको पनि होइन । अहिले कहीँकतै नेतालाई ईश्वर बनाउने होडबाजी छ । खासमा नेतालाई बा, दाइ वा भाग्यविधाता बनाउने काम चाकरहरूको हो । तर जनतालाई न ईश्वर चाहिएको हो, न त काका, बा र दाइ । ईश्वरलाई मन्दिर छँदै छ, बाहरू घरमै बसून् । हामीलाई चाहिएको हो- योग्यतम सांसद । यस्तो नेता जो हामीसँगै होस्, हामीसँगै हिँडोस् र थकानमा लडखडाउँदा हाम्रा हात समाओस् । अर्थात्, साथीजस्तो नेता ।

नेताको खोजी न पहलमानको खोजी हो, न त पालनहारको । यो हो विशेष मान्छेको खोजी । के हुन् त ती गुणहरू ? स्पष्टीकरण के भने, माथिका आम गुण भएको मान्छे असल मान्छे हुन सक्छ, नैतिकतावान् मान्छे हुन सक्छ, इमानदार मान्छे हुन सक्छ, भद्र मान्छे हुन सक्छ । निश्चय नै यी गुणहरू नेता बन्ने आधारभूत गुण हुन् । यसर्थ, राजनीतिक नेतृत्वमा आम गुण त हुनैपर्छ । साथमा हुनुपर्छ केही विशेष गुण । सूत्रमा भन्दा- ‘आम गुण प्लस विशेष गुण अर्थात् नेता’ ।

सपना देख्ने : नेतामा हुनुपर्ने सर्वाधिक महत्त्वपूर्ण गुण हो, दूरदृष्टि । निश्चय नै नेताले इतिहास, भूगोल, जनजीवन र मुद्दाहरू बुझ्नुपर्छ तर मुख्यतः नेता हुनुपर्छ स्वप्नदर्शी । समाजलाई बुझ्ने चेतना, अवसरहरूको लेखाजोखा गर्ने ज्ञान र सपना देख्ने गुण । जस्तो कि, सय वर्षपछि हाम्रो समाज कहाँ पुग्ला ? आर्थिक समृद्धि, विकास र सामाजिक न्यायको अवस्था कस्तो होला ? सहर कस्ता होलान् ? गाउँहरू कस्ता होलान् ? हाम्रो सभ्यता कस्तो होला ? विश्वमञ्चमा देशको प्रतिष्ठा के होला ? के भावी पुस्ताले हामीमाथि गर्व गर्ला ? यावत् प्रश्नसहित समाज बदल्ने सपना शिरमा बोकेर जब कुनै मान्छे हजारौंको भीडमा उभिन्छ, त्यो नेता हो । अर्थात्, ‘यस्तो मान्छे नेता हो जोसँग सपनाहरू हुन्छन् ।’

लोकतान्त्रिक राजनीतिमा योग्य नेता त्यो हो, जसले समाजका सपनाहरू बुझ्छ, समयको संगीत सुन्छ र युगको आवाजलाई आत्मसात् गर्छ । योग्य नेता त्यो हो जसले सामूहिक सपना, सामूहिक क्षमता, सामूहिक प्रयत्न र सामूहिक परिणाममा विश्वास गर्छ । यो अर्थमा हामीलाई सपना देख्ने मान्छे त चाहिन्छ नै, साथसाथै चाहिन्छ मान्छेका सपनाहरूसँग आफूलाई एकाकार गर्ने मान्छे । विचार गरौं, जब मान्छे सपनाहीन हुन्छ, ऊ जतिसुकै इमानदार, ज्ञानी र चरित्रवान् भए पनि नेता हुँदैन । किनभने सपनाबिनाको मान्छेमा गति हुँदैन । हुटहुटी हुँदैन । जाँगर हुँदैन । र, स्वभावतः गतिहीन मान्छे नेता हुँदैन । यसर्थ, हामीलाई आज चाहिएको छ दृढ र गतिशील स्वप्नद्रष्टा ।

चुनौतीसँग लड्ने : सपना देखेर मात्र पुग्दैन । सपना पूरा गर्न नेताले अविचलित प्रयत्न गर्नुपर्छ । अतः नेतामा हुनुपर्छ इच्छाशक्ति र लगन । जगजाहेर छ, सपनाहरू सजिलै पूरा हुँदैनन् । अप्ठ्यारो छ । चुनौतीहरू छन् । नेतामा यावत् संकट सामना गर्ने तागत हुनुपर्छ । विचार गरौं त, हिजो सपना देखाउनेहरू कता हराए ? हिजो चुनावमा ठूलठूला वाचा गर्नेहरू पाँच वर्ष कता गए ? हिजो हामीले भोट हालेर जसलाई सिंहदरबार पुर्‍यायौं, ऊ स्वयंले सपनाहरूको लिलामी किन गर्‍यो ? नभुलौं, सत्तासँग सपना बेच्नेहरू राजनीतिका खलनायक हुन्, नायक होइनन् । अतः यो पटक नेता छान्दा तिलस्मी कथा र नाराको भर नपरौं । खोजौं, नेताको दृढता र संकल्प । हेरौं, नेताको निष्ठा र प्रतिबद्धता । यो नेतामा हुनुपर्ने सर्वाधिक विशेष गुण हो ।

हामीले इतिहासमा आउने योग्यतम मान्छेहरूका कुरा सुनेका छौं । बीपी, मनमोहन, मदन, पुष्पलाल, कृष्णप्रसाद । उनीहरूले आफ्ना सपनाहरूको रक्षाका लागि कसरी जीवन समर्पित गरे ! हामी बीपी, मनमोहन, मदन, पुष्पलाल, कृष्णप्रसाद त नभेटौंला तर चुनौतीहरूसँग लड्ने अविचलित नेता हाम्रो खोज हो । यस्तो सानदार नेता, जसले हाम्रा सपनाहरू जोगाओस् । र, चुनौतीहरूसँग लडेर परिणाम निकालोस् । किनभने सबैलाई थाहा छ, संसार सपना देख्ने मान्छेहरूले बनाउँछन्, तर त्योभन्दा धेरै संसार बनाउँछन् सपना पूरा गर्न संघर्ष गर्नेहरूले ।

त्यागको साधना : अवसर र त्यागका क्षणहरू नेताको जीवनमा आउने परीक्षाका क्षणहरू हुन् । नेताका अगाडि सधैं चुनौतीहरू मात्र आउँदैनन्, आउँछन् अनेकौं अवसर पनि । यस्तो बेला नेतामा व्यक्तिगत लाभबाट निवृत्त हुने र सामाजिक हितमा डटेर लाग्ने गुण आवश्यक पर्छ । भनिन्छ, सत्ता, शक्ति, सम्पत्ति, गृहस्थी, सन्तान, नातागोता र सेवकहरूको लोभ र बन्धनमा फसेको मान्छे नेता होइन । आम मान्छे हो । आम मान्छेमा लोभ स्वाभाविक हुन्छ । तर नेता यसकारण विशेष हो कि उसमा त्याग गर्ने शक्ति हुन्छ ।

अन्यथा जब नेता व्यक्तिगत लोभमा फस्छ, परिवर्तनका अवसरहरू गुम्दै जान्छन् । जस्तो— २०४६, २०६३ र २०७२ सालमा हामीले अनेकौं अवसर गुमायौं । यस्तो भयो कि, जसलाई हामीले नेता भन्यौं, उसले शक्ति र सम्पत्तिका लागि आन्दोलन, इतिहास र बलिदान सबै भुल्यो । उसले त्यागको साधना गरेन । भयो यस्तो कि, श्रीमतीलाई पीए । सम्धीलाई मन्त्री । ज्वाइँलाई ठेक्का । सेवकलाई राजदूत । खै त्याग ? सर्वत्र लालच । यो पटक नभुलौं, लालची मान्छे कहिल्यै नेता हुँदैन ।

सांस्कृतिक शुद्धता : कतिपय मान्छे पदमा पुगेपछि आफैंलाई मात्र ज्ञानी, योग्य र विशेष ठान्छन् । कोही पदलाई शक्ति ठान्छन्, जसले पदसँगै आउने जिम्मेवारीलाई बुझ्दैनन् । केही समाजको विविधतालाई जोड्ने हुन्छन्, कोही विविधतामा विभाजन खोज्ने । राजनीतिक नेतृत्वमा हुर्कंदै जाने यी आम र गम्भीर समस्याहरू हुन् । र, यस्ता समस्याहरू मौलाउँदै जाँदा नेता बिस्तारै अहंकारी हुँदै जान्छ । भ्रष्ट हुँदै जान्छ । मूल्यहीन हुँदै जान्छ ।

तर नेताले यस्ता समस्याहरू बेलैमा देख्नुपर्छ र सधैं स्वयं आफूलाई समेत सांस्कृतिक शुद्धताको अग्निमा परीक्षण गर्नुपर्छ । यो नेतामा हुने विशेष गुण हो । अन्यथा नेता अहंकारी, भ्रष्ट र तानाशाही हुन्छ । जसले राज्य र राजनीतिलाई मात्र बरबाद गर्दैन, समाज र सभ्यतालाई नै फोहोर बनाउँछ । सचेत बनौं, सामाजिक तन्तुहरू भत्किनु निकै खतरनाक कुरा हो ।

विद्रोहको आह्वान

अहिले हाम्रा उम्मेदवारहरू पुलपुलेसा, सडक–बाटो, खानेपानी र बिजुलीका वाचाहरू लिएर घरघर आउँदै छन् । लगातार तीस वर्षदेखि यही भैरहेको छ । तर परिणाम शून्य । यस्तो किन ? वस्तुतः राज्य, राजनीति र प्रणालीहरू ठीक हुने हो भने ती काम गर्न हामीलाई सांसद चाहिँदैन । वडाध्यक्ष वा मेयरले एक कार्यकालमै ती सबै काम गर्न सक्छन् । अतः आजको मुख्य आवश्यकता हो, राज्य र राजनीतिमा सुधार । नीति, सपना र प्रतिबद्धतामा सुधार । नयाँ संकल्प, नयाँ नेतृत्व । त्यसका लागि हामीलाई चाहिन्छ, संसद्मा पुगेर नयाँ आह्वान गर्न सक्ने ताजा नेता । एक प्रतिबद्ध सांसद ।

हामी राजनीतिमा परिवर्तन चाहन्छौं भने त्यसको पहिलो सर्त हो— हाम्रो मतमा परिवर्तन । भोट कसलाई हाल्ने, तपाईंको विवेकले काम गरोस् । तर यस पटक हामी पुरानो ढर्राबाट भने निस्कनैपर्छ । यसका लागि हामीले आफैंसँग विद्रोह गरौं । भद्र अवज्ञा गरौं, आफ्नै राजनीतिसँग । अवज्ञा गरौं ती दरबारहरूलाई जहाँ नातावाद, कृपावाद, कमिसन र दलालीको सहभोज चल्छ । अथवा, यो पटक अवज्ञा गरौं ख्वामितहरूलाई, जसले स्वयं उनीहरूलाई सुध्रन प्रेरित गरोस् । यस्तो होस् कि यो चुनावले राजनीतिको नयाँ सम्भावना उद्घाटित गरोस् । अँध्यारोमा चम्कने टिमटिम ताराझैं । र, त्यो उज्यालो सम्भावनालाई हेरेर हामी सबैले गर्व गर्न सकौं ।

प्रकाशित : कार्तिक ३०, २०७९ ०७:२२
प्रतिक्रिया
पठाउनुहोस्

ब्वाँसाहरूको प्रीतिभोज

वस्तुतः यो निर्वाचन हो, निरन्तरका असफलताहरूविरुद्ध नयाँ र सृजनशील भविष्यको । यो निर्वाचन हो, भ्रष्टाचारविरुद्ध सुशासनको । यो निर्वाचन हो, नालायक नेतृत्वविरुद्ध ताजा र ऊर्जाशील नेतृत्वको । अर्थात्, यो निर्वाचन हो, अँध्यारोविरुद्ध उज्यालोको । उज्यालो अर्थात् परिवर्तन ।
केशव दाहाल

ब्वाँसाहरूको राजकाज यो रहस्यमय ब्रह्माण्डमा एउटा अचम्मको देश छ । ब्वाँसाहरूको देश । त्यस देशमा तीन खाले प्राणीहरू बस्छन् । पहिलो श्रेणीमा छन् खुँखार रक्तपिपासु ब्वाँसाहरू । सत्ता, शक्ति र सम्पत्तिका मालिक । राता, नीला, पहेंला, खैरा ब्वाँसा, जो स्वयं रंग बदल्नमा माहिर छन् । खान्छन् मान्छेको रगत र पसिना । लुछ्छन् मान्छेका सपनाहरू । दोस्रो श्रेणीमा छन् उनका सेवकहरू, जो हरदम सत्ताको दलाली गर्छन्, मालिकको चाकडी गर्छन् र राज्यस्रोत मस्तीमा उडाउँछन् ।

तेस्रो श्रेणीमा छन् दुःखी मान्छेहरू । किसान, मजदुर, कामदार र गरिबहरू । अथवा, भुइँमान्छेहरू । यो यस्तो देशको कथा हो, जहाँ ब्वाँसाहरू आफैं कानुन बनाउँछन् र आफैं कानुन तोड्छन्, जो स्वयं कानुनभन्दा माथि बस्छन् र कानुनको घोडा चढ्छन्, जो आफूलाई भाग्यविधाता ठान्छन् र भुइँमान्छेका कोमल अपेक्षाहरूमा कोर्रा बजाउँछन् ।

रोचक के भने, ब्वाँसाहरूको देशमा पनि लोकतन्त्र छ । अझ भनौं, छ संघीय लोकतान्त्रिक गणतन्त्र । तर मात्र संविधानमा । व्यवहारमा छ ब्वाँसोतन्त्र । न लोक छ, न तन्त्र । ब्वाँसाहरू, जो दरबारमा बस्छन्, उनीहरूलाई लाग्छ, लोकतन्त्र भनेको उनीहरूको आदेश हो; गणतन्त्र भनेको उनीहरूको परमादेश । ब्वाँसाहरू जब सेता दरबारका अट्टालिकामा बसेर संघीयताको गीत गाउँछन्, तल प्रदेशमा गाईजात्रा चल्छ अधिकारको । आश्चर्य के भने, त्यस देशमा पनि पार्टीहरू छन् । कुनै लोकतन्त्रवादी, कुनै समाजवादी । तर पार्टीभित्र न लोकतन्त्र छ, न छ समाजवाद । मात्र छ गुटतन्त्र, लुटतन्त्र र झुटतन्त्र । हुनलाई त त्यहाँ पनि आवधिक निर्वाचन हुन्छ तर हुन्छ के भने, ब्वाँसाहरू चुनावमा उठ्छन्, उनका सेवकहरूले चुनाव प्रचार गर्छन् र जित्छन् ब्वाँसाहरू नै । कथंकदाचित् झुक्किएर कुनै विवेकी मान्छेले चुनाव जित्यो भने या त ऊ अर्को दिन सानो फ्याउरोमा रूपान्तरित हुन्छ, अथवा ब्वाँसाहरूको दरबारबाट बेदखल गरिइन्छ ।

त्यो अनौठो देशको इतिहासमाथि थोरै परिचर्चा गरौं । कुनै बेला त्यस देशमा सर्पहरूको शासन थियो । गोमन, करेत, धामन, हरेउ आदि अनेक सर्प र अजिंगरहरू सत्तामा बस्थे । उनीहरूको साथमा थिए डरलाग्दा दाह्रे गोहीहरू । उनीहरू ठूलठूला रहस्यमय दरबारमा बस्थे । दुलाजस्ता । ओडारजस्ता । त्यहीँ बसेर उनीहरू आफ्नो चिसो जिब्रो लपलपाउँथे । डस्नु उनीहरूको काम थियो । दरबारनजिकै मैलो र कालो पोखरी थियो । त्यहाँ अजिंगरहरू ढुकेर बस्थे । र, पानी पिउन आउने निर्धा मृग र खरायोहरू समाउँथे । त्यसैलाई उनीहरू सुशासन भन्थे । बेला–कुबेला त्यहाँ पनि चुनाव हुन्थ्यो । सर्पहरू उम्मेदवार हुन्थे । गोमनको प्रतिस्पर्धामा करेत । अजिंगरको प्रतिस्पर्धामा धामन । त्यो यस्तो समय थियो कि मान्छेहरू बोल्न डराउँथे । सर्वत्र अँध्यारो थियो । सर्वत्र छलछाम थियो । अध्यारोमै मान्छेहरू भोट हाल्थे र चुनाव जित्थे सर्पहरूले ।

एक दिन, त्यस देशका मान्छेहरूले विद्रोह सुरु गरे । विषालु सर्पविरुद्ध मान्छेको विद्रोह । अँध्यारोविरुद्ध उज्यालोको विद्रोह । अन्यायविरुद्ध न्यायको विद्रोह । आन्दोलनकारीहरू प्रजातन्त्र ल्याउन चाहन्थे । जीवनमा उज्यालो बाल्न चाहन्थे । र, एक दिन लगभग तीस वर्षको अथक संघर्षपछि मान्छेले जित्यो । अर्थात्, उज्यालोको जित भयो । न्यायको जित भयो । त्यस देशमा प्रजातन्त्र आयो ।

तर दुर्भाग्य, विजयको अबिर नपखालिँदै, सबै कुरा उलटफेर भयो । सडकमा पोखिएको सहिदको रगत नसुक्दै, सर्पहरू भेष बदलेर मान्छेको गोलामा मिसिए । विजयोत्सवमा सर्पहरूले समेत अबिरजात्रा गरे । चोकचोकमा भव्य प्रीतिभोजहरू आयोजना गरिए । भोजमा सर्पहरू पनि आमन्त्रित थिए । त्यसपछि, कतै सर्पले मान्छेसँग मीत लगाए, कतै सर्पले मान्छेलाई सत्ता र सम्पत्तिको सम्मोहनले बाँधे । र, यसरी एउटै आन्दोलनका नायक र खलनायकहरूबीच साइनो कसिँदै गयो । त्यसपछी अनौठो भयो । यस्तो भयो कि बिस्तारै सत्ताको सिंहासनमा बस्ने मान्छेहरू विषालु बिच्छीमा फेरिए । र, त्यो अचम्मको देशमा सुरु भयो बिच्छीहरूको साम्राज्य ।

जब बिच्छीहरूको शासन सुरु भयो, मान्छेहरू फेरि जागे । सडकमा न्यायका नाराहरू घन्कन थाले । लोकतन्त्रको स्वर अजेय बनेर उठ्यो । बिच्छीहरूविरुद्ध मान्छेले विद्रोहको मसाल बाल्यो । र, अन्ततः बिच्छीहरूको कुशासन पनि ढल्यो । त्यस देशमा संघीय लोकतान्त्रिक गणतन्त्र आयो ।

तर दुर्भाग्य सकिएन । आन्दोलन सकिएको अर्को दिनदेखि नै सर्प र बिच्छीले घाँटी जोडे । फेरि यत्रतत्र सत्ताको प्रीतिभोज आयोजना भयो । ठेकेदारीको दिवाभोज । लुट र कमिसनको रात्रिभोज । राज्यदोहनको कक्टेल । यतै प्रितिभोज, उतै सहभोज । जसै स्वादिष्ठ भोजहरू चल्दै गए, तसै मान्छेको स्वरूप फेरिँदै गयो । प्रीतिभोजको चमत्कारले हुनुपर्छ, शनैःशनैः लोकतन्त्रवादी नेताहरू त खुँखार ब्वाँसोमा पो फेरिँदै गए । यसरी त्यो अनौठो देशमा ब्वाँसाहरूको कुशासन सुरु भयो । मान्छेको विद्रोह रोक्न ब्वाँसाहरूले भने, ‘हामीले मान्छेको रगत खान छोडिदियौं । हामीले निर्धा प्राणीको सिकार गर्न छोडिदियौं । हामी ज्ञानी भयौं । हामी लोकतान्त्रिक भयौं । अब सामाजिक न्याय र समृद्धिका नयाँ दिनहरू आउँछन् ।’ ब्वाँसाहरूको झुटलाई मान्छेले विश्वास गरे ।

त्यसपछि त्यो गजबको देशमा लगातार चुनावहरू आए र गए । तर जतिसुकै चुनाव भए पनि प्रतिस्पर्धामा थिए उनै सर्प, बिच्छी र ब्वाँसाहरू । र, भोट जित्थे उनै सर्प, बिच्छी र ब्वाँसाहरूले । कस्तो अनौठो कि हिजो सर्पहरू आफ्नो सत्तालाई लोकतन्त्र भन्थे, आज ब्वाँसाहरू आफ्नो सत्तालाई लोकतन्त्र भन्दै छन् ! हिजो सर्पहरू सांसद बन्थे, आज ब्वाँसाहरू । ब्वाँसाहरू नै मन्त्री, ब्वाँसाहरू नै प्रधानमन्त्री । कहिले कालो ब्वाँसो मन्त्री, कहिले पहेंलो । कहिले रातो ब्वाँसो मन्त्री, कहिले हरियो । कहिले राता र हरिया ब्वाँसाहरू मिलेर सरकार बनाउँथे, कहिले पहेंला र नीलाले मिलेर । तर जो जे भए पनि आखिर लुट्थे मान्छेकै सपना । ब्वाँसाहरू कहिले एकअर्कालाई अग्रगामी भनेर तारिफ गर्थे, कहिले एकअर्कालाई प्रतिगामी भनेर गर्थे गाली । वस्तुतः उनीहरू न अग्रगामी थिए, न त पश्चगामी । खासमा उनीहरू सबै थिए ब्वाँसाहरू । त्यसैले उनीहरूको राजनीति थियो— ब्वाँसो राजनीति । उनीहरूको पार्टी थियो— ब्वाँसो पार्टी । र, उनीहरूको सत्ता थियो— ब्वाँसो सत्ता ।

पाठकवृन्द ; तपाईंहरूलाई सुनाऊँ, यो वर्ष फेरि ब्वाँसाहरूको देशमा चुनाव आउँदै छ । चुनाव लड्न उनीहरूले रंगी–बिरंगी मोर्चा बनाएका छन् । कतै गठबन्धन गरेका छन्, कसैले तालमेल । वस्तुतः दुवै मोर्चामा नायक बनेर गजधम्म बसेका छन् उनै ब्वाँसाहरू । यहीँनेर तपाईंलाई सोच्नका लागि तीनवटा प्रश्न गर्छु । ब्वाँसाहरूले शासन गर्ने त्यो अनौठो देशमा मान्छेको मूल्य के होला ? त्यस देशको भविष्य के होला, जहाँ पटकपटक ब्वाँसाहरू सत्तामा पुग्छन् र मान्छेका सपनामाथि सत्ताको घोडा कुदाउँछन् ? के त्यस देशमा यो पटक पनि ब्वाँसाहरूले चुनाव जित्लान् ?

हाम्रो देशको कुरा

ब्वाँसाहरूको देशमा जस्तै हाम्रो देशमा पनि चुनाव आउँदै छ । मंसिर ४ गते । ब्वाँसाहरूको देशमा जस्तै हाम्रो देशमा पनि राजनीतिक दलहरूले चुनाव लड्न दुई ठूला मोर्चा बनाएका छन् । गणतन्त्रवादी र राजावादीको एउटा मोर्चा । माओवादी–समाजवादी र पुँजीवादी लोकतन्त्रवादीको अर्को मोर्चा । सुन्दै आश्चर्य लाग्ने मोर्चा । अर्थात्, सिद्धान्तहीन मोर्चा । एउटाले भन्छ, यो गठबन्धन हो । अर्कोले भन्छ, यो तालमेल हो । यस्तो लाग्छ, आगामी चुनावमा दलहरूले नभई बेढंगका अप्राकृतिक मोर्चाहरूले प्रतिस्पर्धा गरिरहेका छन्, जसको एक मात्र ध्येय छ— फगत सत्ता । अर्थात्, राज्यशक्ति र सम्पत्तिको ब्रह्मलुट ।

दलहरू आफ्ना असफलताहरूको सैद्धान्तिकीकरण गर्न माहिर छन् । झुटको सैद्धान्तिकीकरण । झुट नै राजनीति हो भन्ने उनीहरूले सिकेका छन् । त्यसैले उनीहरू झुटलाई ढाकछोप गर्न अनेक पत्रु भाष्यहरू बनाइरहेका छन् । एउटा मोर्चाले भन्छ— हामीले हार्‍यौं भने परिवर्तनले हार्छ, गणतन्त्रले हार्छ, अग्रगमनले हार्छ । अर्कोले भन्छ— हामीले हार्‍यौं भने देशले हार्छ, राष्ट्रवादले हार्छ, चुच्चे नक्साले हार्छ । एउटाले भन्छ— हामी अग्रगामी हौं । अर्कोले भन्छ— हामी राष्ट्रवादी हौं । सबै झुट । महाझुट । खासमा यी दुवै मोर्चाहरू न अग्रगामी हुन्, न त राष्ट्रवादी । उनीहरूलाई न देशको चिन्ता छ, न त परिवर्तनको । मान्छेका दुःखहरूबाट यति धेरै निरपेक्ष नेतृत्व कसरी अग्रगामी र राष्ट्रवादी हुन

सक्छ ? खासमा उनीहरू दुवै सिद्धान्तहीन छन् । दुवै असफल छन्, पूर्वाग्रही छन् र बेइमान छन् । अर्थात्, उनीहरू मात्र सत्ताका भोका हुन् । उनीहरूका लागि सत्ता, शक्ति र सम्पत्तिबाहेक देश, जनता, परिवर्तन र समृद्धि सबै भ्रम हो । अन्यथा बितेका तीस वर्षमा उनीहरूले देश, जनता, परिवर्तन र समृद्धिका लागि के गरे ? मात्र कमिसन, लुट र भ्रष्टाचारको प्रीतिभोज । मान्छेको रगत र पसिनाको होली । यो अर्थमा उनीहरूका लागि ब्वाँसाको विम्ब एउटा सान्दर्भिक विम्ब हो ।

वस्तुतः यो निर्वाचन हो, निरन्तरका असफलताहरूविरुद्ध नयाँ र सृजनशील भविष्यको । यो निर्वाचन हो, भ्रष्टाचारविरुद्ध सुशासनको । यो निर्वाचन हो, नालायक नेतृत्वविरुद्ध ताजा र ऊर्जाशील नेतृत्वको । अर्थात्, यो निर्वाचन हो, अँध्यारोविरुद्ध उज्यालोको । उज्यालो अर्थात् आशा । उज्यालो अर्थात् परिवर्तन । यस्तो उज्यालो जसले भविष्यका लागि नयाँ सम्भावना उद्घाटित गर्न सकोस् । अतः यो बेला, हामी मतदाता स्वयंले सोच्नुपर्ने प्रश्न छ— आगामी निर्वाचनमा परम्परागत असफलताको जालो तोड्ने कि पुरानै असफलतालाई अनुमोदन गरेर फेरि बरबार हुने ? अर्थात्, आगामी निर्वाचनमा तिनै सर्प, बिच्छी र ब्वाँसाहरूलाई भोट हालेर पछुताउने कि परिणामुखी नयाँ नेतृत्वको खोजी गर्ने ?

खासमा ब्वाँसाहरूको भ्रमबाट मुक्त हुने समय हो यो । मान्छेले आफ्नो चेतनाको बिर्को खोल्ने समय हो यो । अर्थात्, यो निर्वाचन एउटा विद्रोह हो । यथास्थितिविरुद्ध मतदाताहरूको विद्रोह । भ्रष्टाचारविरुद्ध मतदाताको विद्रोह । ब्वाँसाहरूविरुद्ध, मान्छेको विद्रोह । विचार गरौं, हाम्रो प्रत्येक मत परिवर्तनको संवाहक हुन सक्छ । अतः यस निर्वाचनमा विवेकले काम गरौं । नभुलौं, ब्वाँसाहरूले कहिल्यै मान्छेका सपनाहरूको प्रतिनिधित्व गर्न सक्दैनन् ।

प्रकाशित : कार्तिक १८, २०७९ ०७:५२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×