२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७८

हराउँदै खानाको मौलिक परम्परा

पुर्खाले बनाएको खाना र खेतीपातीको वार्षिक पात्रो र यसलाई व्यवस्थित गर्न अपनाइएका सुझबुझका आधारमा हामी सच्चिन पहल गर्ने हो भने खाद्य संकटको समाधानका सजिला उपायहरु फेला पार्न सकिन्छ ।
कृष्णप्रसाद पौडेल

हामीकहाँ जुनसुकै भूगोल र मौसमसापेक्ष खानाहरूको उत्पादन, जगेर्ना र उपभोगका फरकफरक समुदायका भिन्नभिन्न मौलिक संस्कृतिहरू छन् । यी संस्कृतिहरू हजारौं वर्षको खोज र परीक्षणबाट निरन्तर परिमार्जनसमेत हुँदै आएका छन् । प्रकृतिमा रहेका सबै जीवको खानेकुरा जोहो गर्ने नियमबाट सिकेर हाम्रा पुर्खाले निर्माण गरेका यी संस्कृति पुस्तौंपुस्ता हस्तान्तरण हुँदै यहाँसम्म आइपुगेका हुन् ।

हराउँदै खानाको मौलिक परम्परा

तर बितेका केही दशकदेखि अरूको देखासिकीमा आधुनिक र विकासे हुने तीव्र चाहनासँगै हाम्रो खानेकुराको जोहो गर्ने पुर्खाका यी संस्कृतिहरू कोक, रक्सी र पत्रु खाना अनि यिनैसँग भित्रिएको डिस्को र डीजेसँग साट्दै बिटुल्याउँदै यिनको मौलिकता मास्ने क्रम जारी छ । योसँगै पुर्खाहरूले निर्माण गरेको खाना र खेतीपातीका विवेकसम्मत ज्ञान र सीपहरूसमेत उपेक्षित हुँदै गएका छन् ।

यस अवधिमा आधुनिक जीवनशैलीका नाममा खाद्य संस्कृतिमा व्यापक फेरबदल आएको छ । विविधतापूर्ण, सन्तुलित र पोषणयुक्त खाना खानेभन्दा पनि तत्कालको स्वादको बखान र बहकाउमा बजारबाट किनेका, प्लास्टिक पोकामा राखेका तथाकथित मीठो–मसिनो खाएर सभ्य हुने लहड चलेको छ । किनेर पत्रु खाना नखाए असभ्य र पाखेमा दरिने त्रास सबैतिर व्याप्त छ । यो फेरबदलले खानेकुराबारे हाम्रो परम्परागत सकारात्मक सोच र ज्ञानसँगै पोषणयुक्त स्थानीय रैथाने खानेकुरासमेत ओझेलमा परेका छन् ।

आयातित र पत्रु खाना अनि यीसँगै भित्रिएको बाहिरको र विकासे मात्र राम्रो देख्ने सोच सबैतिर हावी छ । यसबाट एकातिर स्थानीय खाद्य प्रणाली तहसनहस भएको छ भने अर्कातर्फ आयातित र पत्रु खानाले गर्दा मानव स्वास्थ्य र अर्थतन्त्रमा गम्भीर संकट थपिएको छ । हाम्रा भान्सामा विषाक्त र पत्रु खानको बिगबिगी छ । आफ्नो मौलिक संस्कृति उन्नत बनाउने कुरा बिर्सेर अरूको देखासिकीको पछि लाग्दा हाम्रो कृषि तथा खाद्य प्रणाली अस्तव्यस्त बन्दै ध्वस्त हुँदै छ ।

त्यसो त अहिले मानिसलाई मात्र केन्द्रमा राखेर गरिएको विकासे उत्पादन प्रणालीले केही सीमित बाली र वस्तुभाउको त उत्पादन बढेको छ, तर समग्रमा खानेकुराको विविधतासँगै प्रकृतिको जैविक विविधता घटेको घट्यै छ । हाम्रो खानेकुराको उत्पादन, भण्डारण, प्रशोधन विषाक्त भएको छ जसका कारण प्रकृति र मानव स्वास्थ्य संकटग्रस्त छ । खान नपाएर मर्नेभन्दा धेरै खाएर नसर्ने रोग लाग्ने र यसैका कारण उमेर नपुग्दै ज्यान गुमाउनेको संख्या निरन्तर बढ्दै गइरहेको छ ।

यस्तो अवस्था किन आयो ? हामीले कहाँ र कसरी बाटो बिरायौं ? फर्केर हेर्ने र सच्याउने बेला घर्किंदै छ । यसैबारे छोटो चर्चा गरौं ।

उत्तरी गोलार्द्धमा अवस्थित हाम्रो भूगोलको वार्षिक खानाको बन्दोबस्तको आफ्नै समृद्ध मौलिक परम्परा र संस्कृति छ । यो संस्कृति पुस्तौं लामो परीक्षण र अनुभवबाट परिष्कृत ऋतु अनुसारको खेतीपाती र खानाको पात्रोसँगै विकसित भएको हो । प्रकृतिको जैविक जीवन सम्भव बनाउने नियमबाट सिकेर हाम्रा पुर्खाले परिष्कृत गरेको यो विशिष्ट व्यवस्था हो भन्दा फरक पर्दैन ।

सर्वविदितै छ, पृथ्वी ६६ डिग्रीको कोणमा ढल्किएर सूर्यको परिक्रमा गर्छ । यो उत्तरतर्फ ढल्केसँगै हाम्रो भूगोलमा प्रकृतिले सबै जीवका लागि खानाको बन्दोबस्त मिलाउन सुरु गर्छ र दक्षिण ढल्किन थालेसँगै ऊर्जा सञ्चितिको व्यवस्था मिलाउँछ । यो प्राकृतिक व्यवस्थालाई खेतीपाती गर्ने हाम्रा पुर्खाले ऋतु विचारसँगै वार्षिक मौसमी पात्रो बनाएर थप व्यवस्थित गरेका हुन् । यसैका आधारमा वसन्त, ग्रीष्म, वर्षा, शरद्, हेमन्त र शिशिर गरी छवटा ऋतु र यी बेला वार्षिक ऊर्जाको बन्दोबस्त गर्ने खेतीपाती र खाने संस्कृति विकसित गरिएका हुन् ।

वर्षैभरि खानाको जोहो गर्न खानेकुराको वार्षिक पात्रो व्यवस्थित गर्ने मौलिक तरिका अपनाइएका छन् । यी मुख्यतः हिउँदका लागि चाहिने खानेकुरा जगेर्ना गर्ने व्यवस्था मिलाउन अपनाइएका खेतीपाती र खानाका विभिन्न तौरतरिका हुन् । यी तौरतरिका मौसममा फलाउने र बेमौसममा खाने, प्रशस्त भएका बेला पर्याप्त र पोषिलो खाने अनि आवश्यक परे अन्नपात सजिलै पाउन सकिने ठाउँमा बसाइँ सर्ने वा हिउँदका लागि अन्नपातको जोहो गर्न आपसी लेनदेन गर्ने सिद्धान्तमा आधारित छन् । यी सबै हिउँदका लागि ऊर्जा सञ्चित गर्ने प्रकृतिको व्यवस्थाबाट सिकेर बनाइएका सिद्धान्त हुन् । प्रकृतिको यही व्यवस्थाबाट सिकेरै मानिस अहिलेजस्तो घरमै बस्न सम्भव भएको हो ।

जस्तो, वर्षा मौसममा सहजै उत्पादन हुने खानेकुरा सञ्चित गर्न प्रशोधन र भण्डारणका सयौं सरल तरिका विकसित भएका छन् । खेतीपाती र खानेकुरामा व्यापार गरेर नाफा मात्र कमाउने ध्याउन्नले अहिलेचाहिँ यी सबै उपाय उपेक्षित भएका छन् । सजिलै अन्नपात र बस्तुभाउ हुर्काउन सकिने मौसममा सकेसम्म धेरै उत्पादन लिने, यो बेलाका उपज जोगाउने र हिउँदमा यिनका परिकार बनाउने सोच हराउँदै जाँदा हामी हजारौं कोष टाढाबाट आउने प्रशोधित पत्रु खाना खान बाध्य भएका छौं । अर्कातिर, खेती गरेर खाने किसानी संस्कृतिसमेत हराउँदै गएको छ ।

दोस्रो, शरद् याम चाडबाडको मौसम मात्र हैन, हिउँदका लागि हामीलाई चाहिने ऊर्जा बन्दोबस्त गर्ने उपयुक्त समय पनि हो । त्यसैले हामी यो बेलाका सबै चाडबाडमा सन्तुलित तर पोषणयुक्त खाना खान्छौं । हिउँदका दिनमा चाहिने ऊर्जाको जगेर्ना गर्न हाम्रो शरीरमा रहेका बोसोजन्य भण्डार/कोष भर्ने पोषिलो खानाको बन्दोबस्त गर्ने यी चाडबाड हिउँदको ऊर्जा सञ्चितिको तयारीका अवसर हुन् ।

हाम्रो परम्परागत खानेकुराको संस्कृतिबाट समेत यो प्रस्ट हुन्छ । उदाहरणका लागि, अहिले सकिँदै गरेका सबै चाडबाडका परम्परागत परिकारहरू र यी खाने संस्कृतिलाई लिन सकिन्छ । प्रकृतिले मिलाएको खाद्य चक्रको विशिष्ट व्यवस्थाबाट सिकेर हाम्रा पुर्खाले निर्माण र परिष्कृत गरेको समृद्ध खाद्य संस्कृति हो यो ।

यस्तो ऊर्जा सञ्चितिको प्रकृतिको नियम नबुझी खानाका लागि गरिने खेतीपातीको बन्दोबस्त गर्ने पुर्खाको बुद्धिमत्ता र विवेकको मर्म बुझिँदैन । यो नै अहिले हामीले बेवास्ता गरेको खानाका लागि खेतीपातीको महत्त्वपूर्ण आयामसमेत हो ।

खाना प्रशस्त पाइने समयमा सबै जीवले पर्याप्त खाने र बोसो बढाउने गर्छन् । शरीरमा बढी भएको खाना जगेर्ना गर्ने प्रकृतिले मिलाएको शारीरिक बन्दोबस्त हो यो । यस्तो बन्दोबस्त प्रकृतिले सबै जीवहरूका लागि मिलाएको छ । उदाहरणका लागि, हिउँदमा राम्रोसँग खान नपाउने जीवहरूले पर्याप्त खानेकुरा खान पाउने समयमा टन्न खाएर बोसो जम्मा गरेका हुन्छन् । यिनै बोसोजन्य कोषले वातावरणीय फेरबदलको सामना गर्न र खान नपाइने हिउँदका दिनहरूमा सञ्चित बोसोबाट आफ्नो शरीरलाई चाहिने ऊर्जाको बन्दोबस्त मिलाउन सघाउँछन् ।

यो प्रकृतिको नियमित ऊर्जा चक्र हो र चलिरहन्छ । यस्तै बन्दोबस्त प्रकृतिले बच्चा जन्माउने सबै आमाहरूका लागि मिलाएको हुन्छ । भविष्यमा बच्चा जन्माउने भएकाले पछि शिशुको ऊर्जाको बन्दोबस्त गर्न प्रकृतिले आमाहरूको शरीरमा आवश्यक बोसो जगेर्ना गर्ने व्यवस्था गरेको छ । अहिले मानिसले भने खराब र चाहिनेभन्दा बढी खाना खाएसँगै प्रकृतिको यो प्रणालीसमेत विषाक्त भएको छ ।

तेस्रो, शरद् यामपछि सुरु हुने हिउँदका कठिन दिनहरू काट्न हामी ऊर्जा सञ्चितिका अन्य उपायसमेत अपनाउने गर्छौं । बसाइँसराइ हाम्रो भूगोलको विशेषतामा आधारित खानेकुरा बन्दोबस्तीको अस्थायी वार्षिक व्यवस्था हो, जसलाई उँधौली–उँभौली भनिन्छ । यसले हिउँदको कठिन समयमा खानाको बन्दोबस्त गर्न मात्र सघाउँदैन, खाना र खेतीपाती उत्पादन, जगेर्ना र उपभोगको संस्कृतिलाई उन्नत बनाउन सामुदायिक ज्ञान, सीप बढाउन थप सघाउ पुग्छ ।

प्रकृतिबाट मानिसले सिकेको यस्तो अनुपम व्यवस्थालाई बेवास्ता गरेसँगै खानेकुराकै कारण मानिस संकटको भुमरीमा फस्दै गएको छ । पुर्खाले बनाएको खाना र खेतीपातीको वार्षिक पात्रो र यसलाई व्यवस्थित गर्न अपनाइएका सुझबुझका आधारमा हामी सच्चिन पहल गर्ने हो भने अहिलेको खाद्य संकटको समाधानका सजिला उपायहरू फेला पार्न सकिन्छ । यिनलाई समाज र प्रकृतिमा आएको फेरबदलसँगै उन्नत बनाएर हाम्रो खाद्य प्रणालीलाई सबैका लागि र सधैंका लागि दिगो बनाउन सकिन्छ ।

विडम्बना, यसतर्फको पाइला चाल्न आँट गर्नुपर्ने समाजका नेताहरू एकआपसमा गालीगलौज गर्दै बरालिएर बसेका छन् भने, बौद्धिक जमात तिनैको दलालीमा रमाएको छ या त रमिते बनेको छ । आम मानिसले समेत यस्तो संस्कृतिका बारेमा अचेल विरलै चिन्ता, चासो र चर्चा गर्छन् । यस्ता संस्कृतिलाई हाम्रा पुर्खाले भावी पुस्तालाई बुझाउन दिएको नासो सम्झेर फर्केर हेर्न र आफ्ना लागि सान्दर्भिक भए जोगाउन मात्र सके पनि हामीले बिराउँदै गएको बाटो फेर्न केही समझ पलाउँथ्यो कि ?

प्रकाशित : कार्तिक २८, २०७९ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

केन्द्रमा सत्ता गठबन्धन फेरबदल हुँदा प्रदेश सरकारमा समेत त्यसको असर पर्नुको सन्देश के हो ?