बौद्धिक वर्गको जिम्मेवारी छैन ?- विचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बौद्धिक वर्गको जिम्मेवारी छैन ?

जसरी दलहरू आ–आफ्ना विशिष्ट दार्शनिक आधारसहितका घोषणापत्र सूत्रपात गर्नबाट चुकेका छन्, त्यसै गरी नेपालको बौद्धिक भनिने वृत्त पनि ती घोषणा, प्रतिबद्धता वा संकल्पहरूको वैचारिक झुकावको आग्रह र पूर्वाग्रहरहित समीक्षा गर्न उत्तिकै अक्षम र उदासीन देखिएको छ ।
अच्युत वाग्ले

भारतको मुम्बईका नानाभाइ (नानी) पाल्किवाला (सन् १९२०–२००२) एक अद्भुत ‘पब्लिक इन्टेलेक्चुअल’ थिए । पेसाले कर सम्बन्धी कानुनका वकिल उनी आफ्नो ‘समानान्तर बजेट’ का लागि प्रख्यात भए । आफूलाई ‘अफर’ गरिएका सर्वोच्च अदालतको न्यायाधीश, महान्यायाधिवक्तासहित धेरैवटा उच्च सार्वजनिक पद अस्वीकार गरेका उनको इमानदारी र जनविश्वास अप्रतिम थियो ।

सन् १९५८ मा उनले भारत सरकारले बजेट प्रस्तुत गर्नेबित्तिकै त्यसको चिरफारसहित त्यो बजेट कस्तो हुनुपर्थ्यो वा हुन सक्थ्यो भनेर समानान्तर बजेट वक्तव्य दिन सुरु गरे । एउटा होटलको सानो हलबाट सुरु भएको उनको बजेट–वक्तव्य सुन्न भारतभरिबाट उद्योगपति, प्राज्ञ, कर्मचारी र सर्वसाधारण हजारौंको संख्यामा आउन थालेपछि पछिल्ला वर्षहरूमा मुम्बईको ब्रेबोर्न स्टेडियम बुक गर्न थालिएको थियो । ‘भारतमा दुईवटा बजेट भाषण हुन्छन्, नानीको र सरकारको’ भनिन्थ्यो । पाल्किवालाको बजेट सरकारको भन्दा धेरै लोकप्रिय हुन्थ्यो । उनको समीक्षापछि सरकार धेरैवटा कमजोरी सच्याउन बाध्य हुन्थ्यो ।

सार्वजनिक महत्त्वका दस्तावेजहरूमाथि बौद्धिक जगत्को यस्तो गम्भीर प्रकृतिको विश्लेषण, निर्भीक हस्तक्षेप र वैकल्पिक अवधारणा निर्माणले लोकतान्त्रिक प्रणाली सबल र प्रभावकारी हुन्छ । नेपाल संसदीय चुनावको संघारैमा छ । प्रतिस्पर्धी दलहरूले बाध्यतावश अन्तिम घडीमा घोषणापत्रहरू ल्याए । ती घोषणापत्रहरूमाथि ‘पब्लिक इन्टेलेक्चुअल’ हरूका गम्भीर समीक्षा र धारणा पटक्कै आएका छैनन् । ती घोषणापत्रहरूमा नवीनता विरलै रहेका, मुलुकका समस्याहरूको सम्बोधनमा दलहरू चुकेका, ती कर्मकाण्डी मात्र भएका केही प्रतिक्रिया अवश्य नै आएका छन् । तर, खास गरी सरकार बनाउने दाबी गरिरहेका दल वा दलका गठबन्धनहरूले कुनकुन क्षेत्रमा केकस्ता प्रतिबद्धता ल्याउने दूरदृष्टि र हिम्मत देखाउनुपर्थ्यो भन्ने विषय समेटेर नानी पाल्किवालाले जस्तै ती सतही घोषणाहरूलाई रौंचिरा विश्लेषण गरेर बौद्धिक जगत्ले पनि राजनीतिका सतही ढाकछोपलाई चुनौती दिन सक्नुपर्थ्यो ।

यस आलेखमा पाल्किवालाको प्रसंग उठाइनुको कारण गहन सार्वजनिक चासोका राष्ट्रिय मुद्दाहरूमा नेपाली बौद्धिक जगत्को चासो, क्षमता र भूमिकाको तुलना गर्नु हो । आन्तरिक लोकतन्त्रको अभ्यास शून्यप्रायः भएकाले दलहरूले अवलम्बन गर्ने अर्थ–सामाजिक नीतिहरू र मुलुकको उन्नयनका लागि आ–आफ्नो वैचारिक आवश्यकता अनुरूपको विधि निर्माणको प्राथमिकता ती दलको आन्तरिक संरचनाबाट निःसृत हुने उपक्रम ठप्प छ । राजनीतिक दलहरूले चुनावी घोषणापत्र लेखन वा अन्य कुनै गम्भीर दस्तावेज तयार गर्नुपरेमा बौद्धिक खेतालाहरूलाई जिम्मेवारी दिने गरेका छन् । यो भूमिका स्वीकार गर्ने बौद्धिकहरूले आफ्नो विवेक र बौद्धिक स्वतन्त्रता प्रयोग गर्ने क्षमता राखेको देखिँदैन । मुलुकका समस्याहरूको गाम्भीर्य र तिनको समधानका लागि आवश्यक विधि, कार्ययोजना र इच्छाशक्तिसहितको इमानदार प्रतिबद्धता ती दस्तावेजहरूमा समाविष्ट हुने सम्भावना असाध्यै कम छ । समस्याहरूको भित्री चुरोमा पुगेर समाधानहरू प्रस्ताव गर्नुको साटो आफ्नो दलको नेतृत्वले चुनाव जित्नका लागि जे आवश्यक भएको ठान्छ, त्यही लेखोट गर्ने बौद्धिक भाट प्रवृत्ति मौलाएको छ । खास विषयका विज्ञसँग लिइएका धारणाहरूलाई पनि सुविधा अनुसार तोडमरोड र काटछाँट गरेर घुसाइने गरेको छ ।

यो चुनाव पनि अपेक्षित बौद्धिक हस्तक्षेपका यी सबै कसीमा परम्पराभन्दा फरक हुन सकेन । मुलुकको भविष्यलाई सीधै चुनौती दिइरहेका गम्भीर मुद्दाहरूमाथि सके सबै दलको साझा समाधान, नसके चुनावी गठबन्धन गरेका दलबीचको साझा कार्यक्रम र त्यति पनि हुन नसके एकल दलकै भए पनि ती दिनानुदिन जटिल बन्दै गएका र दूर क्षितिजमा पनि समाधान नदेखिएका राष्ट्रिय समस्याहरूको समाधानको बाटो सुझाउनु आवश्यक थियो । यसमा दलहरू नराम्ररी चुकेपछि बौद्धिक जगत्ले मतदातामा मुद्दाहरूमा आधारित सुझबुझ अभिवृद्धि गराउने अभियानमार्फत जनमतलाई समग्र राष्ट्रहिततर्फ अभिप्रेरित गर्नु अपरिहार्य थियो । खास गरी मुलुकको शिक्षा, सुशासन र समृद्धिका तीनवटा पक्षमा उल्टो बाटामा तीव्र गतिमा भइरहेको यात्रालाई रोक्ने र सके सुधार पनि गर्ने प्रस्तावना नै कुनै निर्णायक दलको घोषणाले प्रस्टसँग नसमेटेपछि त्यसको तथ्यगत बौद्धिक प्रतिवाद हुन नसक्नु मुलुकको भविष्य वास्तवमै संकटापन्न भएको प्रमाण हो ।

१. शिक्षा

नेपालको खास गरी विश्वविद्यालय तहको शिक्षा सम्पूर्ण रूपले थला बस्ने अवस्थामा आइपुग्दा सबभन्दा बढी चासो र चिन्ता बौद्धिक जगत्ले नै राख्नुपर्ने हो । उच्च शिक्षा दिने शैक्षिक संस्थाको संख्या २० को हाराहारी पुग्दा ‘प्लस टु’ उत्तीर्ण गर्नेहरूको संख्या वार्षिक २ लाख हाराहारी झरेको छ । तीमध्ये आधाभन्दा बढी उच्च अध्ययनमा जाँदैनन् भनेर मान्ने हो भने, एउटा शैक्षिक संस्थाको भागमा औसत ५ हजार विद्यार्थी भर्नाका लागि आउने अनुमान गरौं । त्यो संख्या पनि सानो आकारका विश्वविद्यालयहरूका लागि ठीकै हुँदो हो । तर वार्षिक सवा लाख विद्यार्थी पढ्नकै लागि विदेश गइरहेका छन् । अध्ययन सकेर फर्कनेको संख्या शून्य बराबर छ ।

नेपालका सबै उच्च शिक्षाप्रदायक संस्थाहरूमा यही कराण विद्यार्थीको चरम अभाव हुन थालेको छ । यो सम्पूर्ण शैक्षिक प्रणाली छिट्टै धराशायी हुने संकेत त हुँदै हो, शिक्षा नै मुलुकको विकासका लागि आवश्यक सीपयुक्त जनशक्तिÙ नैतिक, राष्ट्रप्रेमी एवम् जिम्मेवार नागरिक उत्पादनको पूर्वसर्त भएकाले यसमा निर्णायक र तत्काल हस्तक्षेप भएन भने, मुलुकले अहिले भोगिरहेको सर्वाङ्गीण दुरवस्थामा सुधार आउँदैन ।

त्यसैले, जिम्मेवार दलहरूका घोषणापत्रमा नेपालमा उच्च शिक्षा पढाइ नहुने विषय अध्ययन गर्न विदेशी मुद्रा सटही लिएर वा विदेशबाट छात्रवृत्ति पाउनेले मात्र विदेश पढ्न जान पाउने व्यवस्थाको घोषणा गराउन तिनलाई सूत्रबद्ध गर्न खटिएका बौद्धिकहरू सक्षम हुनुपर्थ्यो । साथमा, गुणस्तरलाई सुधार्न उत्तिकै निर्मम निर्णय गर्नु आवश्यक छ । विदेशी राम्रा विश्वविद्यालयमा पढेका नेपाली वा विदेशी शिक्षक–प्राध्यापकहरूलाई उदारतापूर्वक स्वागत गर्ने र शैक्षिक पूर्वाधारमा लगानी गर्ने राजनीतिक प्रतिबद्धताले मात्रै सुधारको आरम्भ गर्न सक्छ । ‘ट्रेड युनियन’ सिफारिसको विकल्पमा योग्यता फद्धति (मेरिटोत्रेसी) को कदर गर्ने परिपाटी बसाउने अग्रणी चासो बौद्धिकहरूबाटै अपेक्षा गरिनु स्वाभाविक हो । सार्वजनिक पदमा बस्नेहरूले आम्दानीको स्रोत नदेखाई छोराछोरी विदेश पढाउने अभ्यासमा सम्पूर्णतः रोक लगाउनु अब अपरिहार्य छ । चिकित्सा, आईटी र इन्जिनियरिङ शिक्षा पूर्णतः नाफाखोरहरूको पन्जामा परेको छ । त्यसलाई तोड्ने इमानदार वाचा चाहिएको छ । अंग्रेजी माध्यममा विद्यालय शिक्षाको अवसर नपाउनेहरूका लागि यी विषयहरू ‘वीरबलको खिचडी’ सरह भइसकेका छन् । शिक्षा नीतिको आमूल सुधारबिना यी सुधारहरू सम्भव छैनन् । कुनै पनि दलले यसको प्रस्तावना गरेको छैन । यसको प्रतिवादसम्म पनि बौद्धिकहरूले गरेनन् ।

वस्तु उत्पादन गरेर छिमेकी अर्थतन्त्रका ठूला बजारहरूसँग प्रतिस्पर्धाको सम्भावना न्यून रहेकाले नेपाललाई उच्च शिक्षाको आकर्षक गन्तव्य बनाउने सम्भावनातर्फ ध्यान जान ढिला भएको छ । सस्तो शुल्क तिरेर अंग्रेजी माध्यममा उच्च शिक्षा लिन आतुर ठूलो चिनियाँ जनसंख्या र नेपालसँग आवतजावत सहज भएका भारतका छिमेकी राज्यका विद्यार्थीहरूलाई लक्षित गरेर पाठ्यक्रम र शैक्षिक पूर्वाधार विकास गर्ने अवसर नेपालले चुकाएको छ । शिक्षा आर्जनपछि राज्यले रोजगारी दिने अवधारणाबाट शिक्षाले नै स्वतः रोजगारी र स्वरोजगारी सृजना गर्ने स्वचालित पद्धति निर्माण गर्ने अवधारणा पनि घोषणापत्रहरूमा परेनन् ।

स्वास्थ्य क्षेत्रका समस्या र सम्भावना शिक्षाका भन्दा धेरै फरक छैनन् । अझ, मुलुकको राजनीतिक बहसको केन्द्रभागमा रहिरहने चिकित्सा शिक्षाको प्रश्न त सीधै जनस्वास्थ्यको गुणस्तर र पहुँचसँग सम्बन्धित छ । नेपालका करिब आधा दर्जन, भारतसँगका सीमावर्ती, सहरमा ठूलो क्षमताका स्तरीय अस्पताल र मेडिकल एवम् प्राविधिक शिक्षालयहरूको स्थापनाले स्वास्थ्य र शैक्षिक पर्यटनका असीमित ढोका खोल्ने सम्भावनाको पहिचान वर्षौंपहिले नै भएको हो । ती विषयले यस पटकका चुनावी प्रतिबद्धताहरूमा पनि प्रस्ट र यथेष्ट स्थान पाएनन् ।

२. सुशासन

सुशासनलाई अनेकौं आयाममा बुझ्न र विश्लेषण गर्न सकिन्छ । एकातर्फ मुलुकको संविधानले परिकल्पना गरेको शासकीय स्वरूपको सबलीकरण र अर्कातर्फ सार्वजनिक सेवाप्रदायमा सहज पहुँचलाई सुनिश्चित गर्न सके सुशासन स्वतः प्रत्याभूत हुन्छ । तर, यी दुवै अहिले खण्डित अवस्थामा छन् । उपल्लो तहमा राजनीतिक अपराधीकरणको घना छाया परेको छ । सबै दलका उच्च नेतृत्वलाई आफूले आर्जन नगरेको, स्रोत नखुलेको र कर नतिरिएको आम्दानीमा ठाँट–रवाफको जीवनयापन गर्ने कुलत लागेको छ । सेवाप्रदायका सबै तहमा भ्रष्टाचार व्याप्त छ । नागरिकले घरदैलोमा पाउनुपर्ने सेवा पाउन ठूलो कष्ट बेहोर्नु र मूल्य चुकाउनुपरिरहेको छ ।

बौद्धिक भनिन रुचाउने वर्ग यस्तो भ्रष्टाचारको साङ्लोमा नजोडिनुपर्ने हो । आफूहरूले सबै ऊर्जा खन्याएर देवत्वकरण गरेका राजनीतिकर्मीहरूमध्ये को कति भ्रष्ट र शुद्ध छ भन्ने भेउ पाउन, परख गर्न पनि बौद्धिकहरूले नै सबभन्दा राम्ररी सक्दा हुनन् । तर, त्यसको झल्कोसम्म पनि यस पटकका घोषणापत्रहरूमा पाइएको छैन । सबै तहका सार्वजनिक पदमा बस्नेहरूले वैध आम्दानीको स्रोत बराबरभन्दा बढी जम्मा गरेको सम्पत्ति स्वतः राष्ट्रियकरण हुने प्रस्ताव गर्न कुनै दलले सकेन । भ्रष्टाचारभन्दा बढी सबै प्रकृतिका अपराधमा दण्डहीनता चरममा छ । जनतालाई यो सबै अनुभूति छ । त्यसको आक्रोश राजनीतितिर मात्रै होइन, आफूलाई बौद्धिक भनाउने तर विवेकको स्वतन्त्र प्रयोग नगर्नेहरूतिर पनि सोझिएको छ ।

३. समृद्धि

समृद्धि एक सापेक्ष शब्द हो । यसले मनोवैज्ञानिक भलाइ (साइकोलोजिकल वेलबिइङ) देखि प्रतिव्यक्ति आय, जीवनस्तर, भौतिक पूर्वाधारहरूको उपलब्धता र विकासका अन्य सूचकहरूसम्मको प्रतिनिधित्व गर्न सक्छ । तर यी सबैका लागि पूर्वसर्त चाहिँ समान छ- उत्पादकत्वकेन्द्रित आर्थिक प्रभावकारिता (इकोनोमिक इफिसियन्सी) । नेपालमा यथार्थमा वस्तुहरूको उत्पादकत्व शून्य र सेवाहरूको उत्पादकत्वको लगभग सम्पूर्ण हिस्सा आयातित वस्तुहरूमा आधारित छ ।

नेपालको अर्थतन्त्र झन्डै ७९ प्रतिशत छाया वा अवैध छ । उदाहरणका लागि, २०६८ सालको जनगणनाले नै ५३.९ प्रतिशत जनता पक्की घरमा बसोबास गर्ने देखाएको थियो । यो संख्या विगत दस वर्षमा उल्लेख्य बढेको छ जुन २०७८ सालको जनगणनाको परिष्कृत तथ्यांक आएपछि यकिन होला । अहिले ३२ लाखभन्दा बढी सवारीसाधन दर्ता छन् । तर स्थायी लेखा नम्बर र मूल्य अभिवृद्धि करमा दर्ता हुनेको जम्मा संख्या ५३ लाख पुगेको देखिए पनि वास्तविक प्रत्यक्ष कर तिर्नेहरूको संख्या १५ लाख हाराहारी मात्रै छ । यो ठूलो विडम्बना हो । पक्की घर बनाउने र सवारी साधन खरिद गर्ने हैसियतको आम्दानी हुनेहरू पनि करको दायरामा छैनन् । सामान्यतः धेरैको जीवनस्तर देखिने आम्दानीका तुलनामा धेरै माथि छ । घरजग्गा लगायतमा सट्टेबाजी (स्पेकुलेटिभ) प्रकृतिको लगानी अत्यधिक छ । तिनमा मूल्य नियामकहरू छैनन् ।

यो अवैध अर्थतन्त्रलाई वैध बनाउने कार्ययोजना कुनै दलको घोषणापत्रले प्रस्तुत गरेन । अर्थशास्त्री र विज्ञहरू नेपाल कुल गार्हस्थ्य उत्पादनको २५ प्रतिशत बराबर कर उठाउने मुलुक हुनु आफैं उच्च करको दरको संकेत हो भनेर उम्किरहेका छन् । एकतिहाइ अर्थतन्त्र मात्र वैध गणनामा समेटिएपछि यो अनुपात यसरी अस्वाभाविक देखिने नै भयो । सामान्य उपभोगका वस्तुलगायत सम्पूर्ण आयात निर्भरता, अत्यन्त कम रोजगारी सृजना र आयातमा आधारित प्रतिगामी राजस्वबाहेक अन्य आर्थिक स्रोत वा लगानी नगण्यमा पुगेको अर्थतन्त्र उकास्ने कुनै आशालाग्दो कार्यक्रम कुनै पनि दलको घोषणापत्रमा उल्लेखसम्म छैनÙ अवैध अर्थतन्त्रलाई वैधताको परिधिमा ल्याउनु त धेरै परको कुरा भयो । बौद्धिकहरू पनि यस्ता गम्भीर विश्लेषणभित्र छिर्नुभन्दा भोट खसाल्ने रमाइलोमै बढी रुमलिएका छन् । जसरी दलहरू आ–आफ्ना विशिष्ट दार्शनिक आधार (फिलोसोफिकल अन्डरपिनिङ्स) सहितका घोषणापत्र सूत्रपात गर्नबाट चुकेका छन्, त्यसै गरी नेपालको बौद्धिक भनिने वृत्त पनि ती घोषणा, प्रतिबद्धता वा संकल्पहरूको वैचारिक झुकावको आग्रह र पूर्वाग्रहरहित समीक्षा गर्न उत्तिकै अक्षम र उदासीन देखिएको छ ।

प्रकाशित : कार्तिक २८, २०७९ ०८:२३
प्रतिक्रिया
पठाउनुहोस्

घोषणापत्रहरूको ‘वैतरणी पुराण’

समस्याको गाम्भीर्यका दृष्टिले न्यून औद्योगिक उत्पादन, थेग्नै असम्भव हुँदै गएको व्यापार घाटा र श्रमशक्तिको निरन्तर विदेश पलायनबारे हरेक घोषणापत्रले चित्तबुझ्दा र क्रियान्वयन–सम्भव समाधानहरु सुझाउनु अपरिहार्य हुन्छ ।
अच्युत वाग्ले

संघीय र प्रदेश दुवै तहका विधायिकाहरू, प्रतिनिधिसभा र प्रदेशसभाका प्रमुख दुईवटा जिम्मेवारी मात्र छन्— विधि वा कानुन निर्माण र सरकार निर्माण । यी सीमा नेपालको संविधान र नेपालले अपनाएको वेस्टमिन्स्टर शैलीको लोकतन्त्रको अभ्यासद्वारा स्थापित मान्यताहरूले निर्धारण गरेका हुन् । तर आउँदो मंसिर ४ गतेका लागि तय भएको निर्वाचनको प्रचारशैली र माहोलले विधायिकाको आवश्यकता, महत्त्व र औचित्यलाई बिलकुलै फरक संकथन दिएको छ— सांसद र संसद् दुवैको मुख्य काम ‘विकास–निर्माण’ मा प्रत्यक्ष संलग्न हुनु हो । मानौं, विधि निर्माण दोस्रो र सरकार बनाउने वा भत्काउने आकस्मिक काम मात्र हुन् ।

यस्तो गलत अपेक्षा र यसैको परम्परा बसाल्नका लागि मतदाता, राजनीतिक दल र स्वयं सांसद वा त्यस पदका आकांक्षीहरू मात्र जिम्मेवार छैनन्; निर्वाचन आयोगजस्ता संवैधानिक निकाय र सार्वजनिक सञ्चार क्षेत्र पनि उत्तिकै जिम्मेवार छन् । निर्वाचन आयोगले नै ‘स्वच्छ निर्वाचन’ का उद्देश्यले सार्वजनिक गरेका प्रचार सामग्रीहरूमा ‘गाउँसहरको विकासका लागि’ योग्य र राम्रा उम्मेदवार जिताउने आह्वानहरू छन् । ‘जसलाई जिताएर पठाए पनि चुनाव जितेपछि फर्केर आउने र गरिबलाई हेर्ने कोही भएन’ भन्ने समान सन्देश प्रवाहित हुने सयौं समाचार दिनहुँ महत्त्वका साथ आइरहन्छन् । कुन विधायकले कुन विधेयक मस्यौदा वा पारित गर्न कस्तो भूमिका निर्वाह गर्‍यो अथवा कतिवटा निजी विधेयक ल्याउन प्रयास गर्‍यो आदि विषय उसलाई मतदाताले गर्ने मूल्यांकनको आधार बन्दैनन् ।

यही कारण सांसद विकास कोषमार्फत खर्च गर्ने विकृति चरम ढंगले मौलायो । सांसदहरूले विधेयकमाथि छलफल गर्नुको औचित्य देखेनन् । संसद्भवनमा उपस्थितिको हाजिर जनाएर आफ्नो निर्वाचन क्षेत्रका पटके र चटके योजनाका लागि बजेट पार्न मन्त्रीको निवास र मन्त्रालय धाउनु उनीहरूको मुख्य काम भयो । यसो नगरे चुनाव जितिँदैन भन्ने मान्यताले सांसदहरूको व्यवहार निर्देशित छ । विकास–निर्माणमा विधायकहरूको कुनै भूमिका हुन्छ भने त्यो असल विधि निर्माण र सकारात्मक क्रियाशीलता भएको सरकार निर्माणमार्फत अप्रत्यक्ष ढंगले अभिव्यक्त हुने हो । प्रत्यक्ष, आफ्नो निर्वाचन क्षेत्रका लागि योजना वा बजेट पार्न हस्तक्षेप गर्नु उनीहरूबाट अपेक्षित भूमिका बिलकुलै होइन । तर, भइरहेको त्यही छ, जुन गलत छ ।

घोषणापत्र पुराण

एक्काइसौं शताब्दीसुहाउँदो राजनीतिक परिष्कारमा विश्वास गर्ने राजनीतिक दलहरूले आफ्ना निर्वाचन घोषणापत्रहरूमार्फत लोकतन्त्रका यी सूक्ष्म मर्महरूबारे मतदातालाई बुझाउनुपर्ने हो । सबै प्रमुख दलहरूभित्र पनि आफ्नै कार्यकर्ता र पदाकांक्षीहरूलाई यसबारेको प्रशिक्षण दिन अब ढिलो भइसकेको छ ।

निर्वाचनमा होमिएका प्रमुख दलहरूले घोषणापत्र सार्वजनिक गर्ने ‘रीत पुर्‍याइरहेका’ छन्, मतदानका लागि मुस्किलले तीन हप्ताको समय मात्र बाँकी रहँदा । सरकार बनाउने अभिलाषा पनि चुनावमै व्यक्त हुने हुनाले आफ्नो दलको सरकार बनेमा विकास–निर्माणका केके काम गर्ने भन्ने फेहरिस्तमार्फत जनतालाई सुनाउनु स्वाभाविक हो । तर, घोषणापत्रहरूमा दलहरूको विधायिकी अनिवार्य भूमिका र सरकार बनाउन पाएका खण्डमा लागू गराउने झिनो र ससर्त सम्भावनाहरूलाई एकै ठाउँमा तिल–चामले रंगमा छ्यासमिस पारेर प्रस्तुत गर्ने गरिएको छ ।

यो कोणबाट हेर्दा पनि, दलहरूका घोषणापत्रहरूले मुलुकमा जटिल बन्दै गएका सुशासन र समृद्धिका समस्या र तिनको मार्गमा पत्थरको पहाड बनेर उभिएका चुनौतीहरूमाथि सिधै धावा बोल्न सक्नुपर्छ । खास गरी प्रमुख दलहरू, नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका घोषणापत्रहरूबाट यत्ति अपेक्षा त जनताको थियो/छ । तर दलहरू झारा टार्ने, अथवा गौदानको कर्मकाण्ड गराएर ‘वैतरणी पार लगाउने’ वाचायुक्त, अनन्त दोहोर्‍याइरहिने पुराण वाचन शैलीमै आइरहेका छन् ।

पहिलो कुरा त, स्थापित भनिएका सबै दलले घोषणापत्र लेख्नु र सार्वजनिक गर्नुलाई एउटा अनिच्छित बाध्यताका रूपमा लिएका छन् । आखिर यो कार्य एउटा अनावश्यक बुद्धिविलास मात्र हो र यसले चुनाव जिताउन कुनै भूमिका खेल्दैन भन्नेमा मतैक्य रहेको उनीहरूको व्यवहारले देखाएको छ । यही कारण, अहिले यो वा त्यो रंगका गठबन्धन बनाएर सरकार बनाउने दाबी गरिरहेका दलहरूबीच आफ्नो गठबन्धनभित्र कम्तीमा अहं राष्ट्रिय मुद्दाहरूमा साझा अवधारणा झल्किने गरी घोषणापत्र लेख्नेसम्म चासो पनि तिनका नेतृत्वले देखाएनन् । आफ्नो दलका घोषणापत्र लेख्ने जिम्मा दिइएका टोलीहरूलाई यस्तो सहकार्य गर्ने निर्देशनसमेत दिइएन । साझा घोषणापत्र सार्वजनिक गर्ने चासो त झन् परकै विषय भयो । मुलुकलाई गाँजेका उनै समस्यालाई हेर्ने फरक दार्शनिक दृष्टिकोण पनि र गठबन्धन पनि एकैसाथ कायम राख्ने सत्ता वा प्रतिपक्षी गठबन्धनहरूभित्रको विरोधाभासको मुंग्रे मार मुलुकको भविष्यमाथि पर्नेछ । गठबन्धनहरू बन्दा पनि यसरी खण्डित रूपमा आएका वाचा र कार्यक्रमहरू मुलुकका गहिरिँदा शासकीय र आर्थिक विकासका चुनौतीहरूलाई एकताबद्ध भएर सामना गर्न सफल हुनेमा जनताको गम्भीर आशंका रहनु स्वाभाविक हो ।

त्योभन्दा पनि ठूलो चिन्ताको विषय हो, दलहरूले केही विज्ञ ‘खेताला’ लगाएर घोषणापत्रहरू लेखाएका छन् । तर तिनको नैतिक र राजनीतिक स्वामित्व लिन तत्तत् दलको नेतृत्व नै उत्सुक र तत्पर देखिँदैन । मुलुकका जटिलतम समस्याहरू उजागर गर्ने र तिनको समाधान सुझाउनेमा सबै दलका घोषणापत्रहरूले टालटुले र चिल्ला कुरा मात्र गरेर उम्किने रणनीति लिएको बुझ्न कठिन छैन । यसमा असल नियत र समयले मागेको सृजनशीलता दुवैको अभाव प्रस्ट खट्किन्छ ।

चुनौती : सुशासन र समृद्धि

‘पुराण’ जत्ति नै लामो भनिए पनि सारमा मुलुकको अबको कार्यदिशा र चुनौती सुशासन कायम गर्ने र समृद्धि हासिल गर्ने नै हो । यी मुद्दाहरूलाई दलका घोषणापत्रहरूले कसरी लिए/लिन्छन् र तिनमा के नवीनता छ ? यो छोटो आलेखमा त्यो पर्गेल्न सम्भव छैन । तथापि, केही सांकेतिक उदाहरणहरू सान्दर्भिक हुनेछन् । निर्विवाद छ, सुशासन राष्ट्र, व्यवस्थाको अस्तित्व र समृद्धिका लागि अपरिहार्य पूर्वसर्त हो । नेपालको सुशासनको अवस्था र सम्भावना दुवैलाई गर्तमा पुर्‍याउने एकल मुख्य कारण भ्रष्टाचार हो ।

राजनीतिकर्मी–ठेकेदार–कर्मचारीतन्त्रको त्रिकोणीय स्वार्थ साझेदारीमा यसले गहिरो जरा गाडेको छ । र, भ्रष्टाचार नियन्त्रणका राज्यका सबै निकाय यो माखेसाङ्लोको जकडमा परेका छन् । कर्मचारी हुँदा राजनीतिक नेतालाई भ्रष्टाचार गर्न सघाएको पुरस्कारस्वरूप पूर्वकर्मचारीहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगजस्ता भ्रष्टाचार नियन्त्रण गर्ने निकायमा नियुक्ति पाउँछन् । सरकार जुनसुकै पार्टीको होस्, घूस आउने पक्का भएका संवैधानिक, प्रशासनिक र कूटनीतिक नियुक्ति नै ठूलो लेनदेनका आधारमा हुने गरेको विषय अब गोप्य छैन । भ्रष्टाचार नियन्त्रण गर्ने र यो माखेसाङ्लो चुँडाउन यस्ता नियुक्तिमा सम्बन्धित क्षेत्रको प्रामाणिक योग्यता (जस्तै, पीएचडी) भएको अवस्थामा बाहेक पूर्वकर्मचारी नियुक्ति नगर्ने प्रतिबद्धतासम्म अहिलेसम्म सार्वजनिक कुनै पनि दलको घोषणापत्रले गरेन । सार्वजनिक खरिद र ठेक्का प्रक्रिया पारदर्शी बनाउने प्रतिबद्धता र रणनीति कुनै दलले दिएन ।

संघीय शासनमा ‘सर्भिस डेलिभरी’ को अग्रभागमा स्थानीय तहका सरकारहरू छन् । तिनको क्षमता विस्तार गर्ने आवश्यकता र मार्गचित्र पनि कब्जियतपूर्ण भएर आएका छन् । दलका घोषणापत्रले उनीहरूमाथि बिनासर्त विश्वास गर्न नसकेको देखिन्छ । राज्यशक्तिको प्रयोग गर्नेहरूले स्वार्थ बाझिने गरी लाद्ने निर्णयहरूको नियन्त्रणका लागि आवश्यक कानुनी र संरचनागत सुधारको खाका घोषणापत्रहरूमा छैन/हुन्न । जनताले सहजै पाउनुपर्ने नागरिकता, सवारीचालक अनुमतिपत्र, राहदानी, राष्ट्रिय परिचयपत्र र व्यवसाय दर्ताजस्ता सुविधाहरू घूस असुल्नकै लागि झन्झटिलो बनाइएको तथ्य कसैबाट लुकेको छैन । ठूला दलका उच्च राजनीतिक नेतृत्वहरू तिनमा सुधारको पहल गर्नै इच्छुक नदेखिनुको कारण यही स्वार्थको बाँडफाँट हो । त्यसैले घोषणापत्रहरूमा आम जनताका यी पीडा छिटफुट उल्लेखसम्म हुन्छन्, समाधानका उपाय र रणनीति हुन्नन् ।

समृद्धिका दुई अवयव छन् । पहिलो, शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधार विकासमा भविष्यमुखी लगानी । दोस्रो, वस्तु र सेवा दुवै क्षेत्रमा लगानी आकर्षण, उत्पादकत्व वृद्धि, रोजगारी सजिना । र, यी सबैका लागि पर्याप्त आर्थिक स्रोत परिचालन ।

नेपालको खास गरी उच्च शिक्षा प्रणाली केही वर्षमै धराशायी हुँदै छ । यो गाम्भीर्यको अनुभूति घोषणापत्रहरूमा प्रतिविम्बित पटक्कै हुन सकेको छैन । स्नातक र स्नातकोत्तर पढ्न थोरै मात्रै आर्थिक हैसियत भएकाहरू ऋण काढेरै भए पनि विदेशिने क्रम तीव्र भएको छ । सरकारी खर्चमा चलेका उच्च शिक्षाप्रदायक संस्थाहरू शिक्षक–कर्मचारीहरूलाई फगत तलब खुवाउने र यसरी बिदेसिन नसक्ने र कमजोर शैक्षिक एवम् आर्थिक पृष्ठभूमिबाट आएकाहरूलाई सीपरहित प्रमाणपत्र बाँड्ने निकायमा रूपान्तरण भएका छन् । आश्चर्य, दलहरूका घोषणापत्रमा उच्च शिक्षालाई खोज, अनुसन्धान र युगसापेक्ष ढंगले रोजगारमुखी बनाउने कार्ययोजना उल्लेखसम्म गरिएको हुन्न । उही निःशुल्क र ‘गुणस्तरीय बनाउने’ थोत्रा वाक्यहरू मात्र दोहोरिएका हुन्छन् ।

पूर्वाधारबारे भने चाखलाग्दा फरक धारणाहरू देखिएका छन् । नेपाली कांग्रेसले ऋणै लिएर चिनियाँ रेल ल्याउने र निजगढ विमानस्थल बनाउने विषयमा थप सजगतापूर्ण वाक्यांशहरू राखेको छ । प्रतिपक्षी एमालेले विगतकै उत्ताउलो पूर्वाधार राष्ट्रवादलाई निरन्तरता दिएको छ । भैरहवा र पोखरा विमानस्थलहरूलाई कसरी ‘ब्रेक–इभन’ सम्म बनाउने भन्ने रणनीति कसैले दिएको छैन । संघीयतामा राष्ट्रिय गौरवको आयोजनाको अवधारणा नै अनावश्यक हो भन्ने पनि कसैले स्वीकार गरेको छैन । व्यवस्थित र योजनाबद्ध सहरी विकासको आवश्यकता बहसबाहिरको विषय भएको छ । देशका ठूला उपत्यकाहरू दलालहरूले प्लटिङ गरिसकेकाले अब त्यो सम्भावना सकिएको अप्रत्यक्ष स्वीकारोक्ति दलहरूको होला ।

समस्याको गाम्भीर्यका दृष्टिले न्यून औद्योगिक उत्पादन, थेग्नै असम्भव हुँदै गएको व्यापार घाटा र श्रमशक्तिको निरन्तर विदेश पलायनबारे हरेक घोषणापत्रले चित्तबुझ्दा र क्रियान्वयन–सम्भव समाधानहरू सुझाउनु अपरिहार्य हुन्छ । वास्तवमा, मुलुकमा अब समाधान हुन बाँकी कुनै राजनीतिक मुद्दा थाती नरहेकाले हरेक दलको घोषणापत्रको मूल अंश नै यसमा समर्पित हुनुपर्छ । निर्यातका लागि के उत्पादन गर्ने र आयात प्रतिस्थापनका लागि पहिलो र क्रमिक प्राथमिकताहरू के हुन सक्छन् भन्ने प्रस्ट दृष्टिकोण दलहरूले दिन सकेका छैनन् । दुई दशक पुराना व्यापार घाटा घटाउने खोक्रा वाचा दोहोरिने गरेका छन्, कसरी गर्ने भन्ने उपाय कतै सुझाइएको हुन्न ।

निजी लगानी भित्र्याउने विषयमा दलका धारणा समान छैनन् ।

सबैको चेतलाई ‘समाजवाद’ शब्दको कोर्राले बेस्सरी हिर्काएको जस्तो देखिन्छ । २०४८ सालपछि अपनाइएको उदार आर्थिक नीतिको परिणामस्वरूप अहिलेको फराकिलो आर्थिक आधार निर्माण भएको घोषणापत्रमा दाबी गर्ने कांग्रेसले समेत अबको आर्थिक उन्न्तिको द्विविधारहित बाटो खुला बजार र आर्थिक उदारीकरण नै हो भनी निर्धक्क घोषणा गर्न सकेको छैन । अरू बल्ल लोकतन्त्रीकरणको प्रक्रियामा अभ्यस्त हुँदै गरेका र ‘कम्युनिस्ट’ फुँदो छोड्न तर्सिएका दलहरूबाट त यो दिशामा धेरै आशा गर्ने ठाउँ छैन नै ।

अन्त्यमा, सबभन्दा निर्णायक धरापबारे भन्नैपर्छ । सबै दलले पूर्वाधार विकास, दिगो विकास लक्ष्य र सामाजिक सुरक्षा योजनाहरू आदिमा धेरै महत्त्वाकांक्षी वाचा गर्दै आएका छन् । तर, विशेष गरी वितरणमुखी कार्यक्रमहरूलाई पुग्ने आर्थिक स्रोत जुटाउने उपाय के हो भन्ने प्रस्टता दिनचाहिँ चुकेका छन् । राजस्व आयको अहिलेको दरले बल्ल चालु खर्च धानिने अवस्था छ । पूर्वाधार र सामाजिक सुरक्षामा थप लागत लाग्ने कार्यक्रमहरू धान्न सकिने अवस्था छैन । राष्ट्रको ऋण विगत पाँच वर्षमा मात्रै तीन गुणा बढेको छ । वैदेशिक ऋण र प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउनेमा साझा राष्ट्रिय दृष्टिकोण नबनी कुनै खास लाभ अभिवृद्धि हुने देखिँदैन । मुलुकलाई बढ्दो भूराजनीतिक प्रतिस्पर्धाको सिकार हुनबाट जोगाउन पनि यस्तो राष्ट्रिय दृष्टिकोण आवश्यक छ । दलहरूबीचका फरक अडानहरू अझै टड्कारा छन् । सायद यहीँनेर संसद्को विधायिकी भूमिकाको प्राधान्य उपयोगी र अपरिहार्य हुन्छ ।

प्रकाशित : कार्तिक १४, २०७९ ०८:२१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×