कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

‘पुरुष क्लब’ बन्दै हो सीपीसी ?

सन् १९४९ पछि पोलिटब्युरोमा ६ जना महिला मात्र पुगेका र तीमध्ये ३ जना संस्थापकका श्रीमती नै थिए ।
उषा थपलिया

माओ त्सेतुङको नेतृत्वमा चीनमा कम्युनिस्ट पार्टी अफ चाइना (सीपीसी) स्थापित भएको १०१ वर्ष भैसकेको छ । सन् १९४९ मा जनगणतान्त्रिक मुलुक बनेको चीनमा त्यसयता सोही कम्युनिस्ट पार्टीको एकल शासन निरन्तर छ । ७३ वर्षदेखि आफ्नै नेतृत्वमा स्थिर र तीव्र विकास गर्दै आएको सीपीसीप्रति ९५ प्रतिशत चिनियाँ जनता सन्तुष्ट रहेको सर्भे प्रतिवेदन सन् २०२० मा हार्वर्ड केनेडी स्कुल अफ गभर्नमेन्टले सार्वजनिक गरेको थियो ।

‘पुरुष क्लब’ बन्दै हो सीपीसी ?

यसमा चिनियाँ नागरिकको पनि स्वीकारोक्ति देखिन्छ । मौलिक विशेषतासहितको समाजवादको राजनीतिक सिद्धान्त अंगीकार गर्दै आएको चीनले विकासका क्षेत्रमा आश्चर्यजनक सफलता हासिल गरिरहेको छ । अमेरिकापछि विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको मुलुकमा चीन दरिसकेको छ । तर लैंगिक समानताको सवालमा भने चीन झन् पछि पर्दै गएको सीपीसीको हालै सम्पन्न बीसौं महाधिवेशनबाट समेत झल्किएको छ ।

गत अक्टोबर १६ देखि २२ सम्म बेइजिङको तियानमेन स्क्वायरमा भएको महाधिवेशनले चिनियाँ राजनीतिको माथिल्लो तहमा स्पष्ट लैंगिक असन्तुलनलाई उजागर गरेको छ । महाधिवेशनले २ सय ५ पूर्ण सदस्यीय केन्द्रीय कमिटी घोषणा गर्दा ११ जना महिला मात्र अटाउन सके । केन्द्रीय कमिटीभन्दा माथिको २५ सदस्यीय पोलिटब्युरोमा यस पटक महिलाको सहभगिता शून्य रह्यो । अठारौं महाधिवेशनमा २ जना र उन्नाइसौं महाधिवेशनमा १ जना महिला सहभागी रहेको पोलिटब्युरो अहिले पूर्णतः महिलाविहीन छ । २५ वर्षपछि पोलिटब्युरोमा महिला सहभागिता शून्यमा पुगेको हो । त्यसो त सन् १९४९ पछि पोलिटब्युरोमा ६ जना महिला मात्र पुगेका र तीमध्ये ३ जना संस्थापकका श्रीमती नै थिए । पोलिटब्युरो स्ट्यान्डिङ कमिटी भने अहिलेसम्म ‘पुरुष क्लब’ नै बनिरहेको छ ।

‘आइरन लेडी अफ चाइना’ का रूपमा पनि परिचित सन चुनलान यसअघि पोलिटब्युरोमा थिइन् । उनी पहिलो पटक महिला सदस्यका रूपमा स्ट्यान्डिङ कमिटीमा पुग्ने आकलन पनि कतिपयले गरेका थिए । तर उमेरका कारण उनले यो महाधिवेशन चलिरहँदा राजनीतिबाट अवकाश लिइन् । अघिल्लो पाँचवर्षे कार्यकालमा पोलिटब्युरो सदस्यको हैसियतले प्रतिष्ठायुक्त भाइस प्रिमियर (उप–प्रधानमन्त्री) पद उनले पाएकी थिइन् । राष्ट्रपति सी चिनफिङले उनलाई ‘शून्य कोभिड नीति’ कार्यान्वयनको प्रमुख जिम्मेवारी पनि सुम्पेका थिए । चुनलानको बहिर्गमनले राजनीतिमा महिलाको हस्तक्षेपलाई ठूलो धक्का लाग्नेछ नै ।

विश्वकै ठूलो राजनीतिक पार्टीको कुल सदस्य संख्याको लगभग २९ प्रतिशत महिला रहे पनि उनीहरूको हैसियत तल्लो तहका कमिटीतिरै सीमित छ । सीपीसीका संस्थापक अध्यक्ष माओ महिला सहभागिताको सवालमा उदार देखिन्थे । उनको ‘विमेन होल्ड अप हाफ द स्काई’ (महिलाले आधा आकाश ओगट्छन्) भनाइ चीनमा अझै चर्चित छ । समाजवादी मुलुकको हैसियतले स्वतः अंगीकार गर्नुपर्ने लैंगिक नीतिको झल्को माओको यो भनाइले जरुर दिलाउँछ । तर राजनीतिक क्षेत्रमै लैंगिक समानता अझै कार्यान्वयनमा नआउनुले माओको भनाइको औचित्य नरहनु मात्र हैन, चीनमा समाजवाद स्थापना गर्नदेखि अहिलेसम्म पुरुषसरह योगदान दिएका महिला नेताहरूको भूमिकालाई समेत अवमूल्यन गरिएको टिप्पणी भइरहेको छ । राजनीतिमा रुचि राख्ने महिला चीनमा बढिरहेका छन् भन्ने कुरा जनवरी २०२० देखि जुन २०२१ बीच पार्टीको नयाँ सदस्यता लिनेहरूमध्ये आधाभन्दा बढी महिला भएबाट पुष्टि हुन्छ । तर राजनीतिक सिँढीको शीर्षस्थानमा उक्लिनका लागि नेतृत्वको सहयोग र समर्थन नहुँदा जति माथिल्लो तह, त्यति महिला सहभागिता कम हुने स्थितिले सीपीसीलाई गाँजेको छ ।

महाधिवेशनका २ हजार ३ सय प्रतिनिधिमध्ये महिलाको संख्या एकतिहाइभन्दा कम भएका कारण केन्द्रीय कमिटीमा उल्लेख्य महिला पुग्न सकेनन्, जसको असर पोलिटब्युरो र स्थायी समिति चयनमा देखियो । संयुक्त राष्ट्रसंघको सन् २०२१ को तथ्यांक अनुसार चीनमा महिलाको संख्या समग्र जनसंख्याको ४८ दशमलव ७ प्रतिशत छ । पार्टीको सदस्यता विस्तार गर्दा पछिल्लो समय पुरुष संख्याकै सरह महिलाहरू समाहित हुने गरेका छन् । तैपनि महिलालाई जिम्मेवारी दिँदै अघि बढाउने नेतृत्वको योजना नहुँदा राजनीतिबाट पलायन हुने महिलाको संख्या उति नै बढिरहेको र सक्रिय हुनेहरू पनि स्थानीय तहबाट माथि उक्लिन नपाएको देखिन्छ । राष्ट्रपति सी चिनफिङका धेरै विश्वासपात्र तथा पूर्वसहकर्मी पोलिटब्युरोमा अटाएका छन् तर महिला सहकर्मी भने शीर्ष प्रान्तीय पदहरूमा समेत उल्लेखनीय रूपमा पुगेका छैनन् ।

सन् २०१२ मा पार्टी महासचिव भएपछि राष्ट्रपति सी चिनफिङले आफूमाथि सम्पूर्ण शक्ति केन्द्रित गरेका छन् । पार्टी, सरकार र सेना तीनै क्षेत्रको प्रमुखका हैसियतले उनी सर्वशक्तिमान् छन् । अघिल्लो महाधिवेशनबाट १० वर्षमा पार्टीको नेतृत्व परिवर्तन गर्ने संवैधानिक प्रावधान हटाएपछि उनले जे चाहन्छन् त्यो लागू गर्न कुनै अप्ठेरो छैन । तर पार्टी संरचनामा महिलाको सहभागितातर्फ उनले ध्यान दिनु जरुरी ठानेका छैनन् । अझ पार्टीको निर्णायक तहमा महिलालाई पुर्‍याउने ध्येयमा उनी उदासीन रहेको चिनियाँ राजनीतिका जानकारहरू स्विकार्छन् । यो महाधिवेशनमार्फत माथिल्ला निर्णायक कमिटीहरूमा आफ्ना विश्वासपात्रको ‘मण्डली’ बनाउन उनी जसरी अग्रसर रहे, त्यसरी नै महिला सहभागिताको सवालमा पनि सकारात्मक हुन्थे भने पोलिटब्युरो महिलाविहीन हुने थिएन ।

समाजवादी मुलुक हुँदाहुँदै पनि चीनमा महिलाहरूको मुख्य पहिचान राजनीति नभएर कला, संगीत, एक्रोब्याट्स, जिम्न्यास्टिक, सर्कस जस्ता क्षेत्रमा सीमित हुने गरेको छ । यसका निम्ति बाल्यकालदेखि नै उनीहरूको गन्तव्य निर्धारण गर्न सरकारसमेत लागिरहेको छ । तसर्थ प्राज्ञिक तहमा समेत महिलाको उपस्थिति यथेष्ट हुन सकेको छैन । पार्टी नेतृत्वमा महिलाको कमजोर उपस्थितिको प्रभाव अन्तर्राष्ट्रिय संस्थाहरूमा समेत परेको छ । संयुक्त राष्ट्रसंघको एक सर्वेक्षण अनुसार अन्तर्राष्ट्रिय संस्थाहरूमा नेतृत्व गरिरहेका ३१ चिनियाँ नागरिकमध्ये ४ जना मात्र महिला छन् । चिनियाँ समाज पितृसत्तात्मक भएकाले ठूला कम्युनिस्ट नेताहरूसमेत महिलालाई कार्यालयमा भन्दा घरमै बसेको हेर्न रुचाउने तथ्य स्थापित छ ।

सिद्धान्तमा कम्युनिस्ट चीनले संसारकै सबैभन्दा समतावादी शासन भएको दाबी गर्छ । जनवादी गणतन्त्रको स्थापना भएदेखि नै सीपीसीले लैंगिक समानताको प्रत्याभूतिका लागि ‘पुरानो चीन’ भन्दा समाजवादी शासन व्यवस्था हरतरहले उत्कृष्ट भएको देखाउन पछि नपरेको ‘चिनियाँ राजनीतिमा महिला प्रतिनिधित्व सम्बन्धी प्रतिवेदन’ ले बताउँछ । यो महाधिवेशनको उद्घाटन सत्रमा पनि आधुनिक समाजवादी देश निर्माण गर्ने राष्ट्रपति सी चिनफिङले उद्घोष गरे । तर समाजवादी देशका आवश्यक पूर्वसर्त केके हुन् भन्नेबारे चीन आफैं अन्योलग्रस्त छ । लोकतान्त्रिक मुलुकमा महिलालाई अधिकारका लागि विद्रोह गर्ने छुट भए पनि एकल पार्टीको अधिनायकत्व भएको मुलुकमा यो सुविधा नहुँदा चीनमा महिला सहभागिता वृद्धि हुन नसकेको पश्चिमा राजनीतिक विश्लेषकहरूको तर्क छ । तिनै तर्कलाई बल पुर्‍याउने एक घटना यहाँ सान्दर्भिक देखिन्छ । पश्चिमा देशहरूमा ‘मी टु’ अभियानले धेरै राजनीतिक नेता तथा सरकारी अधिकारी कारबाहीमा परे तर चीनको एक घटनामा पीडित झनै पीडित हुनुपर्ने अवस्था आयो । केहीअघि टेनिस स्टार पेङ सुईले एक शीर्ष चिनियाँ अधिकारीलाई यौन दुर्व्यवहारको आरोप लगाएपछि धेरै हप्तासम्म पीडित आफैं गायब हुनुपर्‍यो । हाल सेवानिवृत्त आरोपित अधिकारी झाङ गाओली भने यो अधिवेशनको उद्घाटन सत्रअगाडिको लाइनमा प्रमुख सिटमा विराजमान थिए । समाजवादसँग असंगत हुने यी र यस्तै व्यवहार नसच्चिए सीपीसी पुरुष नेताहरूको क्लब मात्रै बन्न के बेर ?

(एजेन्सीहरूको सहयोगमा)

प्रकाशित : कार्तिक २४, २०७९ ०८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?