कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

चुनावमा मात्र सम्झिइने डोल्पा

अखण्ड उपाध्याय

आजका दिनसम्म पनि डोल्पा सडक मार्गसँग जोडिएको छैन । जिल्लाका नेताहरू काठमाडौंबाट हेलिकप्टर चढेरै आउँछन् र अर्कोपालि सडक मार्ग हुँदै आउने वाचा गर्छन् । तर ती वाचा कहिल्यै पूरा भएनन् । जिल्लामा भरपर्दो यातायात सुविधा छैन । सडक धरापजस्तै छ, दुर्घटना भइरहन्छ ।

चुनावमा मात्र सम्झिइने डोल्पा

डोल्पावासीको मृत्युको कारण पनि भइरहेको छ यो । सडक अभावका कारण डोल्पावासी महँगो सरकारी तथा निजी हवाइजहाजकै भर पर्नुपर्छ । तिनको सेवा पनि बेलाबेला बन्द हुने गर्छ । यस्तो हुँदा उनीहरू नेपालगन्ज र काठमाडौंसँग टाढिन्छन् । विश्वप्रसिद्ध पर्यटकीय स्थल भए पनि त्यहाँसम्म पुग्ने गतिलो गोरेटो बाटोसमेत छैन ।

यस्तो अवस्थामा परिवर्तन हुने आशामा प्रत्येक चुनावमा डोल्पावासी उत्साहजनक रूपमा सहभागी हुने गरेका छन् । तिनले धेरै नेतालाई संसद्मा पुर्‍याए । कति त संघीय र प्रदेश सरकारका मन्त्री पनि बने । तिनले पूर्वाधार, आर्थिक विकास एवं पर्यावरण र सामाजिक क्षेत्रलाई ध्यान दिई योजना तर्जुमा गर्नुपर्थ्यो । तर विकास गर्ने भनेर वातावरणीय अध्ययन र प्राविधिक तयारीबिनै हतारहतारमा सबैतिर ‘डोजर’ चलाए । ‘डोजरे विकास’ लाई नै विकास हो भनेर आम मतदातामा भ्रम पैदा गर्न खजे, खोजिरहेका छन् । वफादार कार्यकर्ता राखेर उपभोक्ता समिति बनाई कतिपय योजनाका बजेट दुरुपयोग पनि गरिएको छ ।

सत्तामा पुगेका जिल्लाका धेरै नेतालाई डोल्पावासीको दुःख थाहा भए पनि उनीहरूले आफ्नै सेवासुविधालाई मात्र ध्यान दिएका छन् । त्यसैले डोल्पा आजसम्म पनि पिछडिएकै छ । सुविधासम्पन्न अस्पताल छैन । उपचारका लागि सहर जाऊँ भन्दा सडकमार्ग भरपर्दो छैन । हवाई यातायातको पनि पर्याप्त सुविधा छैन । अझ उपल्लो डोल्पावासीलाई सदियौंदेखि मतका लागि मात्र सम्झने गरिन्छ । उपल्लो डोल्पावासी आफू समस्याका चाङमा पुरिँदै गए पनि वर्षौंदेखि नेता चुन्दै राजधानी काठमाडौंसम्म पुर्‍याउँदै आएका छन् । तर तिनले समस्याको थुप्रोलाई कहिल्यै पन्छाएनन् ।

संघीय व्यवस्था लागू भइसकेपछि पनि डोल्पावासी उपचारका लागि काठमाडौं नै आउनुपर्छ । यातायात, सञ्चार र शिक्षा क्षेत्रमा विश्वले अकल्पनीय विकास गरिसक्दासमेत डोल्पावासी भने आधारभूत आवश्यकता पूरा गरिदेऊ भनेर आफ्ना प्रतिनिधिसँग हारगुहार गरिरहनुपरेको छ । आधा वर्ष चिसोका कारण विकास रोकिन्छ डोल्पामा । राज्यले विकास योजना वा बजेट विनियोजन गर्दा यस्तो भू–जटिलतालाई ध्यानमा राख्नुपर्छ । अन्य हिमाली तथा पहाड र तराईका जिल्लालाई जसरी हेरेर हुन्न ।

विकटतालाई विकाससँग जोड्नुभन्दा पनि नेताहरूले कमाउने बाटो बनाइदिँदा आज डोल्पावासी राज्यले दिने सेवासुविधाबाट वञ्चित नै छन् । समग्र डोल्पाको विकासका लागि लागेका छौं भन्दै डोल्पा आउने अनि चुनाव जितेर फेरि काठमाडौं फर्कनेहरूले आफ्नो स्वार्थ मात्र हेर्छन् । तिनलाई चुनाव सकिएपछि डोल्पावासीका समस्या सुन्ने फुर्सदसम्म हुँदैन ।

डोल्पामा गर्नुपर्ने काम धेरै छन् । पहिलो त स्वास्थ्य क्षेत्रको स्तरोन्नति गर्नुपर्छ । जिल्ला अस्पतालको आफ्नै एम्बुलेन्स त छ तर पुल नबनेकाले बिरामीलाई हिँडाउनु वा बोकाउनुपर्छ । बिरामीलाई सहज हुने बाटोसम्म छैन । कुनै समय जिल्ला अस्पतालमा समेत स्वास्थ्यकर्मी भेटिन मुस्किल थियो तर पछिल्लो केही वर्षदेखि भने स्वास्थ्यकर्मीको उपस्थित नियमित छ । सामान्य उपकरणको अभावमा बिरामीलाई नचाहँदानचाहँदै पनि ‘रिफर’ गर्नुपर्ने बाध्यता भने विद्यमान छ । बिरामीहरूले पनि महँगो हवाई भाडा तिरेर सहर जानुपरिरहेको छ । यस्तोमा अस्पताल भए–नभएको के फरक ?

डोल्पालाई यस्तो हालतमा पुर्‍याउने नेताहरू पटकपटक चुनिँदै आएका छन् । उनीहरू निविकल्पजस्तै हुनु विडम्बनापूर्ण छ । स्थानीय सरकारको नजरमा पनि स्वास्थ्य क्षेत्र परेको छैन । अझ उदेकलाग्दो त, राजधानी काठमाडौंले भारतलाई बिजुली बेचिरहँदा डोल्पा अन्धकारमै छ । काठमाडौं पठाएका जनप्रतिनिधिले डोल्पालाई चाहिन्छ पनि भन्दैनन् । जिल्ला अस्पताल डोल्पामा आज पनि बिजुली जाँदा मोबाइलको लाइट बालेर बिरामीको उपचार गर्नुपर्ने बाध्यता छ । यस्तो अवस्था कहिलेसम्म रहिरहने ?

स्वास्थ्य मात्र होइन, जिल्लाको शिक्षा क्षेत्र पनि उस्तै छ । उच्च शिक्षाका लागि गरिब विद्यार्थीहरू घर छोड्नुपर्ने बाध्यता यथावतै छ । धन्न माध्यमिक तहका केही विद्यालयमा ओभरसियर र जेटीए पढाइ हुन थालेकाले केही राहत मिलेको छ । तर आज पनि समयमै पाठ्यपुस्तक आइपुग्दैन । उपल्लो डोल्पामा पढाउन जानुपर्ने शिक्षकहरू वर्षौंदेखि सदरमुकाम र अझ आफ्नै घरमा बसेर तलब बुझिरहेका छन् । कतिपयलाई त आफ्नो विद्यालय कहाँ छ भन्ने थाहा पनि हुन्न ।

यस्ता आधारभूत समस्याको समाधान डोल्पावासीले वर्षौंदेखि खोजिरहेका छन् । माथि उपल्लो डोल्पाका हुन् या तल्लो डोल्पाका बासिन्दा, तिनको रेल चढ्ने चाहना छैन, सेफोक्सुन्डो र सेगुम्बा जान केबलकार खोजेका छैनन् । भरपर्दो सडक, स्वास्थ्य सेवा, शिक्षा, सफा खानेपानी र मोबाइल नेटवर्क हो । दैनिक जीवनलाई सहज बनाउन उनीहरूलाई सामान्य सुविधा चाहिएको छ । तसर्थ आसन्न चुनावमा डोल्पालीका यस्ता मुद्दामा उम्मेदवारहरूको ध्यान जानु जरुरी छ । मनोनयन दर्ता गर्न राजधानीबाट हेलिकप्टरमै डोल्पा पुग्ने तथा पटकपटक वाचा गरेर पनि काम नगर्ने नेताहरूको पहिचान मतदाताले गर्नुपर्छ र तिनलाई सजाय दिनु आवश्यक छ ।

उपाध्याय डोल्पा जिल्ला अस्पतालका मेडिकल अधिकृत हुन् ।

प्रकाशित : कार्तिक २२, २०७९ ०८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?