टाक्सिँदो लोकतन्त्र, खस्किँदो चुनाव- विचार - कान्तिपुर समाचार

टाक्सिँदो लोकतन्त्र, खस्किँदो चुनाव

सरिता तिवारी

आजको व्यवस्थाको हजार दोषहरूले भरिए पनि हामीसँग तत्काल यसको विकल्प छैन । देखेभोगेकै कुरा हो, उन्नत लोकतन्त्रको आधारशिला स्थापित गर्दै त्यसको मूल्य र गरिमा कायम राख्न दलहरू असफल भइरहेका छन् । लोकतन्त्र दिन–प्रतिदिन क्षय र विनाश मात्रै भोग्दै छ ।

दलविशेष या नेतृत्वविशेषका आधारभूत परिचय र चरित्र झन्डै गायब भएका छन् । उनीहरूले एकअर्काभन्दा फरक देखिने विभाजक रेखा नै हराएका छन् । सत्ताभोगका लागि जोसुकै पनि साझेदार र सहकारी बन्न सक्ने, चुनावी जितका लागि जो–जोसँग पनि मिल्न सक्ने भएपछि दलहरू केवल सत्तासुखका साध्य साध्ने प्रोजेक्ट मात्रै साबित भइरहेका छन् । हुँदाहुँदा दलहरूप्रति आलोचनात्मक हुँदै, सुशासन र भ्रष्टाचारविरोधी क्याम्प बनाउने भन्दै खोलिएका ‘स्वतन्त्र पार्टी’ का कथित ‘स्वतन्त्र’ लाई समेत यही बाटो ठीक लागेको छ । यस्ता गतिविधिबाट विचार र लोकतान्त्रिक मूल्यको क्षय त भएकै छ, रोजगारी, आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको निर्माणका लागि उद्यमशीलताको विकास र आम वर्गलक्षित न्यायोचित सामाजिक समृद्धिको अपेक्षित गति पनि दिन–प्रतिदिन धीमा हुँदै कतिपय अवस्थामा त उल्टो बाटोतिर समेत मुखर हुन थालेको छ ।

२०६२–६३ को जनआन्दोलन, मधेश आन्दोलन लगायतको पृष्ठभूमिमा पहिलो संविधानसभाताका जुन उत्साह र जोसको वातावरण थियो, दोस्रो संविधानसभा हुँदै संविधान निर्माण र कार्यान्वयनको चरणमा संक्रमण हुँदा त्यो उत्साह र जोस क्रमैसँग धमिलिएको छ । आफैं हिँडेर आएको बाटामाथि घात गर्ने दलहरूकै प्रवृत्तिका कारण उनीहरूमाथिको विश्वास र भरोसा संकटमा छ । राज्यका सबै क्षेत्र र संस्थामा भ्रष्टाचार नाप्नै नसकिने गरी चुलिएको छ । पार्टीसत्ता वा सरकारसँग सम्बन्ध र स्वार्थ जोडिएका ‘बलिया’ हरूले जसलाई जे गरे पनि हुने स्थिति छ । थरीथरीका सत्ताहरूसँग स्वार्थ बाझिएको स्थितिमा बाहेक ऐन, नियम–कानुनमाथि कोही कसैप्रति जवाफदेह हुनुपर्दैन । यिनै स्थितिहरूबीच आइपुग्ने चुनावहरूले लोकतन्त्र–गणतन्त्रको हविगत छर्लंग देखाउन अझै बढी योगदान दिने गरेका छन् । दलहरूका फेर समातेरै जिन्दगी चलाउने केही मुठ्ठीभर मान्छेबाहेक धेरैलाई हर्ष न विस्मातको सामान्य घटना मात्रै हुने भएपछि राज्यकोषबाट अर्बौं खर्चिएर सम्पन्न हुने चुनावको उपादेयता के रह्यो त भन्ने प्रश्न हरेकपल्ट उठ्ने गरेको छ ।

चुनाव : हान्नेले जान्ने खेल

आफूले जित्न चुनावमा जेसुकै गर्न पनि पछि पर्नु हुन्न भन्ने कुरा सामान्य भैसकेको छ । ‘स्विङ भोटर’ हरूबीच पैसा छर्ने, भोजभतेर गर्ने वा दलाल र बाहुबली पाल्ने प्रचलित तरिकासँगै पछिल्लो समय स्थापित भइरहेको अर्को काइदा छ— राजनीतिक अगुवाहरूलाई नै किन्ने । घोषित गठबन्धन होस् या अघोषित तालमेल, सबै थरीले अपनाएको यो काइदाले साझेदार दलवाला नेता–कार्यकर्तालाई मात्रै होइन, विपक्षी दलका अगुवालाई पनि किनेर अर्को दलमा अन्तर्घात गराउने कामसमेत गर्छ । यसरी अगुवा खरिद्ने काम नगदै पनि हुन सक्छ वा तिनका आफन्तलाई चुनावी पद बाँडेर पनि गर्न सकिने अथवा निर्वाचित भएपछिको सम्भावित सत्तासमीकरण अन्तर्गत कुनै विशेष नियुक्ति दिलाउनेसम्मका समझदारी गर्न सकिने हुँदो रहेछ । कतिसम्म भने, स्थानीय स्तरमा चलायमान अर्धसरकारी संस्था वा सहकारी, वन, दुग्ध उत्पादनजस्ता ठाउँमा पदस्थापन गर्ने गरी समेत चुनावी माहोल आफ्नो पक्षमा पारिनु सामान्य भैसकेको छ । यो असाध्यै गोप्य र गुप्त समझदारीमा हुने भएकाले चुनावअघि यसका ‘क्लू’ हरूको अनुमान गर्नै सकिन्न । चुनावका परिणामदेखि राजनीतिक सामाजिक परिघटनाहरूसम्ममा आएर बल्ल देखिन्छ ।

जितका लागि ‘ब्यालेट बक्स’ बोकेरै भाग्नेदेखि मतपत्र च्यात्नेसम्मका गतिविधिलाई नेपाली समाजले स्विकारिसकेको देखियो । यस्ता विषयमा तपाईंले गर्ने आलोचना र विरोध आदर्शवादी युटोपियाभन्दा बढी नठहरिने भएपछि कसले कतिन्जेल बोलिरहने भन्ने प्रश्न टडकारो हुने रहेछ । चुनावी जितकै लागि मान्छे मार्ने, भट्टीमा डढाउनेहरू नै बारम्बार योग्यताको सिँढी उक्लने भएपछि चुनाव द्रव्यबल र बाहुबलकै जित हो भन्नेमा अब धेरैको सहमति छ । विचार र नैतिक शक्तिले मत पाएर जितेका एकदुई अपवाद नभएका होइनन् तर चुनावलाई जसले हान्यो उसले जान्यो भन्ने भाष्यबाटै हेर्ने मान्यता कहिल्यै उखेलिएन बरु झन्झन् मौलाएको देखिन्छ । यसैकारण जवाफदेह र जिम्मेवार लोकतन्त्रको जग बस्नै नदिने एउटा बलियो कारक बनेको छ चुनाव । पछिल्लो कथित गठबन्धनकारी रणनीति र त्यसको ‘काउन्टर’ मा बनेको तालमेलको जालझेल दुवैको साध्य एउटै हो— जोसुकैसँग मिलेर होस्, चुनाव जित्नैपर्छ । यी दुवै थरीबाट लोकतन्त्र असुरक्षित र संकटापन्न छ । तर हाम्रो विडम्बना यस्तो छ कि, आगामी पाँच वर्षका लागि व्यवस्थाको चाबी यिनैलाई दिन हामी बाध्य छौं ।

फ्री भिसा र हेलिकप्टर ‘सिन्ड्रोम’

दलहरू विचार, सिद्धान्त र योजनाले शून्य र खोक्रा नाम मात्रै हुन् भन्ने पुष्टि हुन अब ठूला प्रकरण खोज्नैपर्दैन; पछिल्ला दिनमा चलेका फ्री भिसा, फ्री टिकट, बिना ढेउबा के, हेलिकप्टर लगायतबाट निस्कने प्रतीकात्मक अर्थ नै पर्याप्त छन् । हरेक दलभित्र व्यवहारवादी–समन्वयवादी–व्यक्ति (मुख्य नेतृत्व) केन्द्री राजनीतिको दबाब यति चर्को देखियो कि, त्यहाँभित्र रहेका रचनात्मक, वैचारिक र सृजनशील राजनीतिक सोचहरू दलभित्रै किनारीकृत भए । यसपछि बाँकी रहने स्तुति, चाप्लुसी र दासतन्त्रले सबैजसो दललाई खर्लप्पै निलिसकेको छ । ताजा, नयाँ र विचार–विवेकयुक्त नेतृत्व निर्माणलाई तगारो लगाइदिएपछि सम्भावित कुशल नेता पनि हेर्दाहेर्दै दलको मुख्य नेताको चाकरमै बदलिने स्थिति रहँदो रहेछ । नेतृत्वमा रहने व्यक्तिका परिवार र आसेपासे नै दलीय सत्तायन्त्रका ठेकेदार हुने र आफूलाई मुख्य नेतृत्वमा टिकाइराख्न चाकर वर्गको लामो शृंखला नै पाल्नुपर्ने स्थिति हेर्दा सिंगो व्यवस्थाको ध्वस्तीकरण कसरी भैरहेको छ यसै थाहा हुन्छ । यसैको अहिले प्रकट परिणाम हो— दलहरूसँग जनतासामु चुनावमा राख्ने आधारभूत एजेन्डासम्म नहुनु । आम वर्ग, उद्यमी– व्यवसायी, युवा, विद्यार्थी कसैलाई पनि आश्वस्त पार्न सक्ने नीति र लक्ष्य त कहाँ हो कहाँ ! देखाउनकै लागि त दलनिकट बुद्धिजीवीले तयार गरेका सुन्दर शब्दशिल्पका घोषणापत्र छन्, तर तिनै शब्दलाई जनताले बुझ्ने भाषामा व्यक्त गर्ने सामान्य सुझसम्म नेता र उम्मेदवारमा देखिएको छैन ।

पुँजीवादी लोकतन्त्र अवलम्बन गर्ने तर पुँजी निर्माणका न्यूनतम राष्ट्रिय विकल्पको प्रयत्न नै नगरी दाता देशका रणनीति र अह्रनखटनले चलेरै लोकतन्त्र जगेर्ना गरेको भ्रम छर्ने आजको हरेक दल साम्राज्यवादी दुश्चक्रका रक्षाकवच मात्रै भएको छ भन्न एक सेकेन्ड पनि सोच्नुपर्दैन । ठूलठूला परियोजनाको नाम लिएर हाम्रो सामूहिक सतर्कतामाथि शासन गर्ने यिनै दल ‘फ्री भिसा’ नामको हड्डी फ्याँकेर गरिब जनताको औकात नाप्ने धृष्टता गर्छन् । जजसका मुखबाट फुत्के पनि ‘फ्री भिसा’ नेपालको समकालीन राजनीतिको निकृष्टतम परिणतिको नमुना हो । यस्तो राजनीतिलाई विस्थापन गर्न तत्काल कुनै नयाँ तिलस्मी शक्तिको उदय हुन्छ भन्ने कल्पना त नगरौं तर कम्तीमा दलहरूले आफैंभित्रबाट निफनेर रचनात्मक र प्रखर विवेकशील नेतृत्व स्थापित गर्ने कामको सुरुआतचाहिँ गर्न सक्छन् कि ?

प्रतिनिधित्वको प्रश्न

कतै पढेकी थिएँ— चुनाव लोकतन्त्रका अनेकौं डब्बा बोकेर हिँडेको ट्रेन हो, गन्तव्य होइन । तर नेपालको लोकतन्त्र भने चुनावदेखि चुनावसम्मको सफर मात्रै भएको छ जहाँ चुनाव नामक ट्रेन छ तर ट्रेनले बिसौनी लिने गन्तव्य नै छैन । रमाइलो कुरा त, यो ट्रेन कहाँ जान हिँडेको हो, यसका कथित चालकहरूलाई नै थाहा छैन ! प्रत्यक्षतर्फका चुनावको कुरा गर्दा महिला, दलित या अल्पसंख्यकको प्रतिनिधित्व गर्ने व्यक्तिसँग ‘सामाजिक र सांस्कृतिक पुँजी नहुने’ भनेरै हारिने भय देखाएर टिकटका लागि अयोग्य ठहर गरिने प्रवृत्ति त आजसम्म चलेकै छ; यी वर्गलाई टिकट दिइँदा नै पनि ठूला नेताका छोरी, दिदी–बहिनी वा नेतृत्व रिझाउन सफल र राजनीतिक संघर्षको पृष्ठभूमिसम्म नभएका व्यक्तिहरूकै नाम अगाडि आउने गरेका देखिन्छन् । एकदुई ठाउँमा उम्मेदवार हुने व्यक्तिकै भगीरथ संघर्ष र प्रयत्नले लिएका उम्मेदवारीबाहेक अधिकांश प्रतिनिधित्वमा मुख्य नेतृत्वको मर्जी र शक्तिकै हात देखिन्छ । यस्तो प्रतिनिधित्वलाई उत्पीडित वर्गको प्रतिनिधित्व मान्ने कि नमान्ने ? अझ समानुपातिक र समावेशीजस्तो उत्पीडित समुदाय, क्षेत्र र लिंग समेट्ने गरी बनेको प्रावधानको दुरुपयोग गरेर सांसद पद नै खरिद–बिक्री गर्ने; पहुँचवालाका श्रीमती, आसेपासे र आफन्तलाई ल्याएर स्थापित गर्ने कुराले व्यवस्था परिवर्तनका सबै किसिमका आन्दोलनको मर्म र कर्मलाई उपहास गरेका छन् ।

जब प्रतिनिधित्वमाथि नै गम्भीर अतिक्रमण हुन्छ र त्यस्तो अतिक्रमण अरू कोहीबाट होइन, स्वयं मुख्य नेतृत्वबाटै हुने गर्छ, यो लोकतन्त्र हुनेखाने पहुँचधारी शक्तिशालीहरूकै कृपातन्त्र र गुलामतन्त्र हो भन्ने सिद्ध हुन्छ । मुख्य दलका नेतृत्वहरूले यसलाई बारम्बार पुष्टि गरिसकेका छन् ।

बाहिर बहिष्कार, भित्र स्वीकार

अघिअघिजस्तै यसपल्ट पनि केही दलले संसदीय व्यवस्थालाई दलालमुखी र जनद्वेषी भन्दै निर्वाचन बहिष्कार गर्ने घोषणा दोहोर्‍याएका छन् । लोकतन्त्रका नाम र आवरणमा चलिरहेको संस्थागत लुट र हरेक क्षेत्रका बेथितिमाथि आलोचनात्मक धारणा राख्ने यी दलले यो व्यवस्थाको विकल्प खोज्नैपर्ने ठहर पनि दोहोर्‍याइरहने गर्छन् । व्यवहारतः यी आफैं कहाँनेर कसरी उभिएका छन् भन्ने समीक्षा पनि इतिहासले गरेकै छ । तैपनि जाततन्त्र, सत्ता–सरकार र समाज संरचना सबैको पितृसत्तावादी चरित्र, राज्यको हरेक तह र संस्थाभित्र रहेको सघन दलालतन्त्रमा टिकेर दमनकारी सामन्ती व्यवस्थाको समेत ‘ह्याङ’ बोक्दै आफूलाई बचाइरहेको यो व्यवस्थाप्रति आक्रोशित भएर यी दलले चुनाव बहिष्कार गर्नुलाई अन्यथा मान्ने कुरा हुँदैन । ‘हार्ने भएपछि बहिष्कार गरेको’ जस्ता ओठे तर्कले कुनै पार्टी या आन्दोलनको अस्तित्वलाई चुनौती दिनु पनि युक्तिसंगत होइन । तर केन्द्रीय नेतृत्वले जेजस्ता निर्णय सार्वजनिक गरेको भए पनि तिनै दलका नेता–कार्यकर्ता भने स्थानीय होस् या प्रदेश र संघीय चुनाव होस्, हरेकपल्ट यिनै चुनावका परोक्ष सहकारी हुने गरेका अनेकौं तथ्य छन् । कतिपय व्यक्तिगत इबी साध्न हिजो सहकर्मी रहेकै मित्रवर्गविरुद्ध जोसुकैसँग पनि साँठगाँठ र सहयोग गर्ने गरी उपयोगितावादी रणनीति तय गरिएका सूचनाहरू चुनावी ‘ग्राउन्ड’ मा यत्रतत्र छन् ।

बाहिर सार्वजनिक नीतिले बहिष्कार गर्ने तर भित्रभित्रै कसैलाई जिताउन वा कसैलाई हराउन चुनावी खेलको एउटा पार्टनर नै बन्ने स्थिति छ । यो स्थानीय राजनीतिको मात्रै प्रवृत्ति हो वा छद्म चुनावी राजनीति गर्न सम्बन्धित दलहरूले अघोषित रूपमा लिएको केन्द्रीय नीतिसमेत हो, थाहा भएन, तर दुवै अवस्थाले यी दलहरूलाई कसरी हेर्ने भन्नेमा शंकाको सुविधा लिने ठाउँ बनेको छ ।

०००

नयाँ संविधानपछिको संघीय र प्रदेशसभाको दोस्रो चुनाव नजिकै आइसकेको छ । चुनाव राजनीतिक मूल्य बोक्ने केवल एउटा परिघटना मात्रै होइन, नागरिक दायित्व र विवेकको अधिकतम उपयोग गरेर लोकतान्त्रिक संस्कृति धान्ने विशेष पर्व नै हुनुपर्ने हो । तर यसलाई हुँदो–नहुँदो जे पनि आश्वासन बाँड्ने, हुने–नहुने जस्तासुकै गठजोड र साँठगाँठ गर्ने अनि त्यसलाई पुष्टि गर्न अनेक थरी भाष्य खडा गर्नुपर्ने अन्तर–बाह्य चापका बीचबाट न दलहरूले वास्तविक लोकतान्त्रिक अभ्यास बन्न दिएका छन् न त मतदाता पंक्तिले नै यस्ता दलहरूलाई अस्वीकार गर्ने खुला चुनौती दिन सकेका छन् । यस्तै दलहरू, यही चरित्र बोकेको भद्रगोल लोकतन्त्र र आजकै शैलीका चुनाव दोहोरिने हो भने लोकतन्त्र अरू कसैका कारण होइन, लोकतन्त्रकै भजन गाएर नथाक्नेहरूका कारण विनाश हुन सक्छ ।

प्रकाशित : कार्तिक २२, २०७९ ०८:१४
प्रतिक्रिया
पठाउनुहोस्

यौनहिंसा र मिडिया ट्रायल 

स्थापित र नाम चलेका मिडिया हाउसहरूले कुनै प्रकरण वा मुद्दा विशेषको आधारभूत तथ्य र प्रमाणबिना आफ्नो क्षेत्राधिकार नाघ्ने स्तरमा ओर्लेर समाचार प्रसारण नगरेका होलान्, यो फरक कुरा भयो, तर न्यायको अपिल गर्नेमाथि नै सार्वजनिक बेइज्जती गर्ने काम मिडियामार्फत शृंखलाबद्ध रूपमै भएका छन् ।
सरिता तिवारी

मिडिया अर्थात् सञ्चारमाध्यम । सूचना र ज्ञानको विस्तार गर्ने साधनका रूपमा झन्डै ६ सय वर्षअघि इटालीको भेनिसमा हस्तलिखित अखबारबाट थालिएको सञ्चारमाध्यमले छापा युग हुँदै आजसम्म ठूलै कायाकल्प गरिसकेको छ ।

अभिव्यक्ति स्वतन्त्रता र मानव अधिकारको मुखर पैरवी गर्दै मिडियाले लोकतन्त्र र आम नागरिक पंक्तिको रक्षाकवचका रूपमा निर्वाह गरेको भूमिकाको जति प्रशंसा गरे पनि कम हुन्छ ।

त्यसैले मिडियालाई कुनै पनि मुलुकको व्यवस्थाका व्यवस्थापिका, न्यायपालिका र कार्यपालिकापछिको चौथो स्तम्भ मानिन्छ । तर यही स्तम्भको दुरुपयोग गरेर संरचनाप्रदत्त शक्ति र साधन–स्रोतले सम्पन्न बलियाहरूको रक्षा गर्ने अनि निर्बलमाथि आधिकारिक तथ्यबिना नै सार्वजनिक अपमान, बेइज्जती र तिरस्कारको प्रवाह गर्ने काम पनि उल्लेख्य स्तरमा हुने गरेको छ । तिनै अपमान र बेइज्जतीका कारण कैयौंले असामान्य स्तरको नैतिक, मानसिक र भौतिक क्षति बेहोर्नुपरेका र कतिले त यसैकारण जीवनबाटै पलायन रोजेका, आत्महत्यासम्मै गरेका घटना पनि देखिएका छन् ।

यस्तो दुःखद परिणतिको जिम्मेवार हुने गरेको छ— मिडिया ट्रायल जसले कोर्ट ट्रायल अर्थात् अदालती न्यायिक प्रक्रियालाई ठाडो चुनौती मात्रै दिएको छैन, सबुत, प्रमाण र मसिना तथ्यमाथिको लामो न्यायिक अध्ययन, दुईपक्षीय बहस र न्यायाधीशको मुक्त विवेकको ठम्याइभन्दा अघि नै आफ्नो ‘फैसला’ सुनाइदिन्छ । यसरी फैसला गर्न अरू धेरै कुरा चाहिँदैन, पूर्वनिर्धारित एक पक्षप्रतिको आग्रह र अर्कोप्रतिको दुराग्रहका आधारमा खडा गरिएका अडकल, अनुमान र शंकाका सुई तेर्स्याइदिन सके पुग्छ । मिडियालाई दुरुपयोग गरेर कुनै घटनामाथि सनसनीपूर्ण समाचार बनाउँदै प्रक्षेपण गरिएका कथित ‘विश्लेषण’ र ठहरहरू कतिसम्म संगतिपूर्ण छन्, कति तथ्यपरक छन् भन्ने जाँचेर मात्रै पत्याउने फुर्सद र चेत तपाईं–हामीमध्ये कतिसँग होला ! अभिव्यक्ति स्वतन्त्रताको स्वच्छन्द उपयोग गरेर कसैको जिन्दगी र प्रतिष्ठामाथि खेल्ने यस्ता लेखोटहरू सही नहुन पनि सक्छन् है भनी छ्यानविचार गर्ने र तिनलाई ‘रिजेक्ट’ गर्ने न्यायसम्मत सोच पनि कतिसँग होला !

प्रहरी र अदालतसमक्ष पुगिसकेका मुद्दा होऊन् या हदम्यादको सीमा वा अन्य कारणले त्यहाँ पुग्न नसकेका, स्वच्छ अनुसन्धान र विवेकपूर्ण न्यायलाई प्रभावित पार्ने गरी मिडिया आफैंले बिनातथ्य मनोगत ठहरका आधारमा घटनासँग जोडिएका कसैलाई दोषी वा निर्दोष करार गरिदिनुलाई ‘मिडिया ट्रायल’ भनेर बुझिन्छ । मिडिया सूचना प्रसारण र विश्लेषण गर्ने क्षेत्र हो तर यो आफैं न्यायालय होइन जसले कुनै घटना या प्रकरणमा अविकल र अन्तिम विचार दिन सक्छ । न्यायालयभित्र ‘कोर्ट ट्रायल’ हुँदा एक स्तरबाट गरिएको न्यायसम्पादनमा प्रश्न उठ्न सक्छ र त्यसलाई पुनर्परीक्षण गर्नुपर्छ भनेर सुरु, पुनरावेदन र सर्वोच्च गरी तीन तहको संरचना बनाइएको हुन्छ जसमा एउटा मुद्दाले अन्तिम किनारा लाग्न वर्षौंको समय लिनुपर्ने हुन्छ ।

यसअन्तर्गत प्रहरीमा जाहेरी पुगिसकेपछि तथ्यमाथिको मसिनो चरणबद्ध अनुसन्धान नभई प्रतिवादीमाथि अभियोजन नै बन्न सक्दैन । अभियोजन तयार भइसकेपछि पनि पक्षहरूलाई पालैपालो इजलाससमक्ष पेस गर्दै बयान, बकपत्र र बहसको लामो चरण पार गरिसकेपछि मात्र बेन्च (न्यायाधीश) एउटा ठोस निष्कर्षमा पुग्छ । सुरु अदालतको ठहर अन्यायपूर्ण भयो भन्ने पक्षले पुनरावेदन गर्न उच्च अदालत जान सक्छ । उच्च अदालतको फैसलासँग पनि सन्तुष्ट हुन नसके सर्वोच्च अदालतसमक्ष पुग्न सक्छ । सर्वोच्चले गरेकै फैसलामाथि पनि प्रश्न उठ्ने ठाउँ रहे पुनः एकपटक सर्वोच्चमै मुद्दा दोहोर्‍याएर हेर्ने वा पुनरवलोकन गर्नेसम्मको व्यवस्था छ ।

कुनै संवैधानिक वा कानुनी त्रुटि नगरी, स्थापित कानुनी सिद्धान्त र नजिरको सही पालना र व्याख्यासहित आएको फैसलापछि मात्रै सार्वजनिक वृत्तमा को दोषी वा निर्दोष भन्ने छलफल गर्न मिल्छ । अन्यथा, सञ्चारमाध्यमजस्तो जनमानसमा तत्काल प्रभाव पार्ने क्षेत्रबाट केही दिन वा घण्टाको अध्ययनका भरमा कुनै मुद्दाको पक्षमाथि अनुमानको खेती गर्दै शंकाका सुई घुमाइदिने र पूरै विषयान्तर गरी सनसनीको बजार चलाउनु विवेकहीन हर्कत मात्रै होइन, पत्रकारिताको क्षेत्राधिकारभन्दा बाहिरको अनुचित कार्यसमेत हो ।

पछिल्ला केही उल्लेख्य मुद्दाहरूका दृष्टान्त हेरौं, नेपालमा मुद्दाका पक्षहरूको स्वच्छ सुनुवाइको हकमाथि मिडियाको हस्तक्षेप भयावह रूपले विस्तार भएको देखिन्छ । त्यसमा पनि यौनहिंसाजन्य प्रकरणहरूमा त मिडिया ट्रायलको अवस्था सबैभन्दा सकसपूर्ण र डरलाग्दो देखिएको छ । यद्यपि, स्थापित र नाम चलेका मिडिया हाउसहरूले कुनै प्रकरण वा मुद्दाविशेषको आधारभूत तथ्य र प्रमाणबिना आफ्नो क्षेत्राधिकार नाघ्ने स्तरमा ओर्लेर समाचार प्रसारण नगरेका होलान्, यो फरक कुरा भयो । तर सनसनीपूर्ण समाचार र कथित ‘विश्लेषण’ को खेती गरेर सांस्कृतिक संरचनामा ‘भल्नरेबल’ स्थितिमा रहेका महिला र नाबालिगलाई नै निशानामा पार्ने र पीडित हुँ भन्दै न्यायको अपिल गर्नेमाथि नै सार्वजनिक बेइज्जती गर्ने काम मिडियामार्फत शृंखलाबद्ध रूपमै भएका छन् । सेलेब्रिटीका रूपमा ख्यातिप्राप्त पल शाह र सन्दीप लामिछाने प्रतिवादी रहेको जबर्जस्ती करणीका दुई अलग मुद्दाका जाहेरीवाला नाबालिगहरूमाथिका सार्वजनिक हुर्मत र अपमानका स्रोत यस्तै मिडिया ट्रायल हुन् ।

समाजका सबै संरचना र मानिसहरूका सोच्ने ग्रन्थी पुलिङकेन्द्री मनोविज्ञानले चलाएको छ भन्न धेरै ऐतिहासिक र समकालीन तथ्यहरू पर्याप्त छन् । यसको प्रभाव सञ्चारमाध्यमभित्र पनि जबर्जस्त छ । कति जबर्जस्त छ भन्न दैनिक समाचारहरूका शीर्षकहरू मात्रै नियाले पुग्छ । यसबारेमा भएका तिखा आलोचनात्मक टिप्पणीहरू र सम्भवतः नयाँ पुस्ताका सम्पादकहरूको फेरिँदो मूल्य पद्धतिको परिणामले हुन सक्छ, हालैका वर्षहरूमा केही सञ्चारगृहले संरचनागत अन्याय र सांस्कृतिक मनोद्वेषलाई चिर्ने गरी लैंगिक विभेदजन्य विषयमा स्त्रीमैत्री कोणलाई प्राथमिकतामा राख्न थालेका छन् । यो केही हदसम्म राहतको कुरा हो तर मूलतः खासखास पक्ष र साध्यका खातिर रोजै उम्रिरहेका मध्ये कतिपय अनलाइन पोर्टल र युट्युब च्यानलहरूबाट प्रसारित विचार अत्यधिक स्त्रीद्वेषी मनोशास्त्रमा उभिएका छन् ।

यौनहिंसाका मुद्दामा मिडिया ट्रायलको जग यही मनोशास्त्र हो जसले हरेकजसो पीडितलाई ‘पुरुष फसाउने गिरोह’ र ‘व्यावसायिक सर्भाइभर’ का रूपमा प्रचार गर्छ । हुँदै नभएका कल्पित तथ्य खडा गरेरै समेत ‘त्रिया चरित्रम्’ (‘भर्तृहरि शतक’ को एक श्लोक छ, जसमा स्त्रीको चरित्र दैवले पनि जान्न सक्दैन भन्ने उल्लेख छ, ‘त्रिया चरित्रम्’ त्यसैलाई आधार बनाएर चलेको स्त्रीद्वेषी भाष्य हो) सिद्ध गर्न मिडियाहरूले कुन तहको अपराध गर्छन् भन्ने उदाहरण केही वर्षअघि आफ्नै फ्ल्याटमा मृत भेटिएका भारतीय अभिनेता सुशान्त सिंह राजपूतकी प्रेमिका रिया चक्रवर्तीको मुद्दामा भेटिन्छ । समाजका अन्य सबै मुद्दालाई किनारा लगाएर महिनौंसम्म रियाको पछि लागेका कथित मुख्य धाराका टेलिभिजन च्यानलले निर्माण गरेको उनको आपराधिक र षड्यन्त्रकारी छवि यति भीमकाय बन्यो कि अदालतले उनको निर्दोषिता ठहर गरुन्जेल उनीमाथि मिडियाले गरेको बेइज्जतीले सम्पूर्ण सीमा नाघिसकेको थियो ।

नेपालमा यौनहिंसाका पछिल्ला मुद्दाहरूमा पनि मिडियाले पीडितको त्यस्तै हालत बनाइदिएका छन् । त्यसको भौतिक र मानसिक क्षतिभरण हुन कति वर्ष लाग्ला या यसको प्रकोप आजीवन नै रहला, यकिन भन्न सकिन्न । उत्तिखेरको उत्तिखेरै प्रभाव पारेर आम समाजको धारणा निर्माण गराउने सञ्चारमाध्यमभित्र बसेर कसैको पनि निजत्व र प्रतिष्ठामाथि कौडा–पासा खेल्ने नियतलाई ‘पत्रकारिता’ भनेरै हेर्ने कि सार्वजनिक अपराधका रूपमा लिएर त्यसलाई दण्डनीयसमेत बनाउने भन्ने विषयमाथि कानुनकर्मी र कानुननिर्माताहरूले व्यापक रूपमा सोच्नुपर्ने र रिट वा विधेयकजस्ता कुनै न कुनै माध्यमबाट प्रयत्न गर्नैपर्ने देखिन्छ ।

छन त आफूमाथि अन्याय र बेइज्जतीपूर्ण समाचार प्रसारण गरिएको भनेर यस्ता मुद्दामा सम्बन्धित सञ्चारमाध्यमविरुद्ध उजुरी गर्ने ठाउँ नभएको होइन, संसारभर नै सरकारमातहत रहने प्रेस काउन्सिल नामको सार्वजनिक संस्थाले यस्ता उजुरी लिन्छ र न्यायिक प्रक्रिया पनि अगाडि बढाउँछ, नेपालमा पनि यो संस्थाको अस्तित्व छ, तर यसले कसरी काम गरिरहेको छ भन्ने थाहा पाउन तपाईं एउटा साधारण उजुरीकर्ताका रूपमा यहाँभित्र पुग्नुपर्छ । अर्धन्यायिक निकायका रूपमा काम गर्ने यो संस्था आफैं दलीय राजनीतिको दुश्चक्रभित्र फसेको छ । सूचना र समाचारजस्तो सबैभन्दा संवेदनशील क्षेत्रको नियमन गर्न र पीडितको अपिल सुन्न, उसलाई न्याय दिन खडा भएको संस्था नै सबैभन्दा लाचार बनेर शक्तिको सेपमुनि बाँच्ने मुलुकमा मिडिया ट्रायलको उपचार कति कठिन छ, अनुमानबाहिर छैन ।

उजुरीकर्ताको मुद्दाका विपक्षसँग सोधपुछ गर्ने र जवाफ माग्ने सामान्य प्रक्रियाकै लागि अनेकौंपल्ट सम्पर्क र नमस्कार टक्य्राउनुपर्ने अनुभव पंक्तिकार स्वयंसँग छ । यस्तो मुलुकमा बसेर अभिव्यक्ति स्वतन्त्रताको आडमा कसैले पनि पीडित हुँ भन्नेमाथि नै बेइज्जतीको खेतीपाती चलाएर सूचना र सञ्चारको व्यवसाय धान्न सक्छ । यस्तो विषयमा कुनै दल या नेतृत्वको नजर किन जाँदैन ? उत्तर प्रस्ट छ, यी कुनै पनि दल र यिनका नेताहरू आफ्ना असंख्य साँठगाँठ र लेनदेनका गुप्त सूचनाहरूको जन्जालमा यसरी बेरिएका छन् कि ती चुहिन्छन् भन्ने भयले आफू सत्तामा रहँदा होस् या विपक्षमा रहँदा, त्यस्ता मिडियाविरुद्ध यी चुइँक्क पनि बोल्दैनन् । अरू त अरू, यौन हिंसाका मुद्दामा पीडितद्वेष वमन गर्ने मिडियाविरुद्ध स्वयं महिला सांसद पनि बोल्दैनन् ।

नेपालको कानुनमा ‘डिफेमेसन’ (मानहानि/बेइज्जती) को मुद्दा बनाएर पीडित साइबर ब्युरो वा अदालतसमक्ष जान सक्ने प्रावधान पनि नभएको होइन । तर यसो गर्दा दलीय राजनीतिको माखेजालकै कारण बलिया बनेका कतिपय सञ्चारमाध्यमले दलकै पक्षपोषणका कारण प्रहरी र अदालतसम्मलाई प्रभावित पार्न सक्ने र पीडित तारेख–पेसीलगायतका प्रक्रियाको व्यूहभित्र फसेर दुःख मात्रै पाउने स्थिति भएकाले जोकोही यो प्रक्रियामा छिर्नै हम्मेहम्मे छ । एउटा मिडियाविरुद्ध मुद्दा लिएर अदालत पस्दा त्यस्तै अर्को मिडियाले पीडितद्वेषको अर्को चक्र सुरु गर्ने अवस्था पनि नआउला भन्न सकिन्न । तब को–कोसँग लड्ने ? अधिकांशतः पीडित एक्लो पारिएर अन्तसम्ममा थाकेर थङथिलो हुने यस्तो समाजमा ऊ कुन तागतले कतिन्जेल लडिरहने ?

पल शाह, सन्दीप लामिछाने या यस्तै अन्य ‘ठूला’ नाम जोडिएका मुद्दा त यहाँ प्रसंगवश दृष्टान्त पेस गर्ने सजिलोका लागि मात्रै आएका हुन् । मुद्दाका रूपमा अदालत पुग्न नसकेका वा पुगेरै पनि त्रुटिपूर्ण न्यायिक प्रक्रियाको सिकार भएका कैयौं मुद्दामा पीडितकै अपराधीकरण गरिदिने, पीडितको अपिललाई ‘फसाउने नियत’ वा प्रतिशोध साध्ने बहानाका रूपमा प्रस्तुत गरिदिने तर आरोपित व्यक्तिलाई भने आश्चर्यजनक रूपले पूरै चोख्याइदिने अनलाइन पोर्टल र युट्युब च्यानलहरूको बिगबिगी जसरी बढेर गएको छ, तिनलाई नियमन गर्ने राज्यको आधिकारिक संस्थागत हस्तक्षेप भने लगभग शून्य छ । यस्तो स्थितिमा मिडिया ट्रायललाई नियन्त्रण गर्ने स्पष्ट कानुनी प्रावधान नहुने हो भने पीडितलाई थप पीडित बनाएर पराजित मनोविज्ञानमा भित्ता लगाइदिने सिलसिला जारी रहनेछ । यौनहिंसाजस्ता अत्यन्तै संवेदनशील मुद्दामा आरोपी होस् या आरोपित, दुवै पक्षलाई अनावश्यक सनसनीको विषय बनाउने, तथ्य र आधारबिना कसैको पनि निजत्वलाई आक्रमण गर्ने वा मुद्दाको गोपनीयतामाथि अतिक्रमण गर्ने कामले समाजलाई दिग्भ्रम र पूर्वाग्रहको सिकार बनाइरहेको तथ्यमाथि न्याय क्षेत्रको ध्यानाकर्षण हुन ढिलो भइसकेको छ ।

कतिपय मुलुकले कानुन नै बनाएर मिडिया ट्रायललाई निषेध गरेका छन् । हामीकहाँ भने यौन हिंसा, बलात्कार र हत्या जस्ता प्रकरणलाई नै खाईखेती बनाएर उल्टै पीडित भनिएको व्यक्तिविरुद्ध सार्वजनिक बेइज्जतीको भाष्य नै स्थापित गर्न शृंखलाबद्ध लेखन र प्रसारण अविच्छिन्न चलिरहेको छ । यसले आफूविरुद्धको अपराधमा मुख खोल्न चाहने अरू पीडितलाई अपराधविरुद्ध उभिन निरुत्साहित मात्रै गर्दैन, पीडितद्वेषको प्रदूषित सोचविरुद्ध खडा हुनुपर्ने विवेकसम्मत तर्कलाई नै किनारामा धकेलिरहन्छ ।

यस्तो लथालिंग हुँदाहुँदै भद्रो हेरेर बस्ने पत्रकार महासंघ वा प्रेस काउन्सिलबाट यस्ता मामिलामा केही पनि हुनेवाला छैन भन्ने स्पष्टै छ । यसका लागि न्यायक्षेत्रमा समर्पित कानुनकर्मी र विधायकहरू, स्वस्थ चेतनाले स्थितिको परख गर्ने राजनीतिक दल, तिनका कार्यकर्ता, नागरिक पंक्ति र लेख्ने–बोल्ने आम समुदायलगायत स्वच्छ पत्रकारिता गरिरहेका न्यायप्रेमी पत्रकारसमेतको एउटा यस्तो प्रयत्न अपरिहार्य छ जसले मिडिया ट्रायलमार्फत पीडित खेद्ने कुत्सित गतिविधिलाई अविलम्ब रोक्न सकोस् ।

प्रकाशित : कार्तिक ८, २०७९ ०८:१४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×