कक्षाकोठामा अभिभावक

पविता मुडभरी पुडासैनी

गोरखाको मणिकामादेवी माविले केही अघिदेखि अभिभावकलाई कक्षाकोठामा बसेर शिक्षण सिकाइ क्रियाकलापको अवलोकन गर्ने अवसर जुराएको खबर बाहिरियो । छोराछोरीले कसरी सिक्छन् तथा पढ्छन् भन्ने खुल्दुली प्रत्येक अभिभावकमा हुनु स्वाभाविक हो । विद्यालय तहको शैक्षिक गुणस्तर खस्कँदै गएको अवस्थामा अन्य विद्यालयले पनि यसको सिको गर्न सक्छन् । 

कक्षाकोठामा अभिभावक

अधिकांश निजी विद्यालयले योग्य तथा दक्ष शिक्षकको व्यवस्थापन गर्न र विद्यार्थीलाई अनुशासित बनाउन नसक्दा अभिभावकलाई कक्षाकोठा प्रवेश गराउन हच्कन्छन् । त्यसो त विद्यालयमा प्रभावकारी र नियमित पठनपाठन भए नभएको निरीक्षण गर्नका लागि विद्यालय निरीक्षकको व्यवस्था हुने गर्छ । तर तिनको कार्य नियमित र प्रभावकारी नहुँदा कक्षाकोठाको अवलोकनमा अभिभावकको चासो बढ्नु स्वाभाविकै हो । सचेत अभिभावकले छोराछोरीको पठनपाठनबारे प्रधानाध्यापकलाई भेटेर जानकारी लिइरहेको र आवश्यक सुझाव दिइरहेको पनि भेटिन्छ । तर कक्षामै अभिभावक राखेर पढाउँदा विद्यालयको कमीकमजोरी तथा वास्तविक शैक्षिक गुणस्तर अभिभावकले थाहा पाउने र भविष्यमा विद्यार्थी टिकाउन र पाउन मुस्किल पर्ने डर सबैजसो विद्यालयलाई छ ।

गत एसईई परीक्षामा उच्च जीपीए ल्याउने विद्यार्थी संख्या अत्यन्त न्यून रहेबाट कक्षाकोठाको शिक्षण सिकाइ कमजोर बन्दै गएको स्पष्ट हुन्छ । नियमित तथा प्रभावकारी पठनपाठन नहुने बहुसंख्यक विद्यालयले वास्तविक शैक्षिक गुणस्तर लुकाएर अभिभावकलाई झुक्काइरहेका हुन्छन् । परीक्षामा अनुत्तीर्ण भएका बालबालिकालाई पनि राम्रो नतिजा ल्याएको प्रमाणपत्र देखाउँदै ठगिरहेका हुन्छन् । निजी विद्यालयको शिक्षा सेवा नभई व्यापार भएकाले तिनले आफ्ना विद्यालयको आन्तरिक अवस्था शिक्षकहरूलाई समेत खुलाउन चाहँदैनन् । त्यसैले पनि अभिभावक कक्षामा उपस्थित हुनुपर्छ ।

कक्षाकोठामा विद्यार्थीसँगै अभिभावक पनि हुँदा शिक्षक र विद्यार्थी दुवैको ध्यान शिक्षण र सिकाइमा बढ्न सक्छ । आफ्ना छोराछोरीले पढ्न मन नगरेको हो वा शिक्षकले अल्छी गरेका हुन् भन्ने पनि अभिभावकले प्रत्यक्ष बुझ्न पाउँछन् । अझ बालबालिकाले गृहकार्य गरे–नगरेको वा बुझाए–नबुझाएको पनि अभिभावकले प्रस्ट देख्न पाउँछन् । कक्षामा शिक्षक विद्यार्थीका क्रियाकलाप नियालेर अधिकांश सचेत सक्षम अभिभावकले त तिनलाई सुझाव–सल्लाहसमेत दिन सक्छन् । आफूले पनि केही सिकेर जान्छन् ।

नर्सरी कक्षादेखि कक्षा १२ सम्मका हरेक अभिभावकले कक्षाकोठाको निरीक्षण गर्नु जरुरी छ । कक्षा कस्तो छ, विद्यार्थी कसरी बसेका छन्, किताव–कपी कति बोक्छन्, विद्यार्थीको ध्यान कतातिर छ, शिक्षकले कस्तो पढाउँछन् आदिको प्रत्यक्ष अवलोकन अभिभावले गर्न पाउँछन् र प्रध्यानाध्यापकलाई समेत सुधारका उपाय सुझाउन सक्छन् । यसको सकारात्मक प्रभाव विद्यार्थीको सिकाइमा पर्न जान्छ । विद्यार्थीले पढ्न अल्छी गर्ने वा गृहकार्य नगर्ने परिपाटी पनि घट्दै जान्छ । शिक्षकले पूर्वतयारी गरी पढाउन आउने र विद्यार्थीले पनि गृहकार्य गर्न ध्यान दिने परिपाटी बस्दै जान्छ ।

लाखौं बालबालिकालाई आजको दिनमा पनि परम्परागत शिक्षण सिकाइ प्रक्रिया अपनाएर कमजोर बनाइँदै छ । विज्ञान, प्रविधि र विकासको गतिलाई सहज रूपमा अघि बढाउने जनशक्ति तयार पार्न विद्यालयहरू अझै सक्षम छैनन् । विज्ञान प्रविधिको यो विश्वव्यापी युगमा पनि शिक्षित जनशक्ति नै बेरोजगार बस्नुपर्ने कस्तो शिक्षा प्रणाली अवलम्बन गरिरहेका छौं हामीले ? शिक्षाका नीति कार्यक्रम कमजोर भएपछि अनुसन्धान, आविष्कार र उत्पादनमूलक शिक्षा असम्भव हुन पुग्छ । सिकाइलाई शिक्षाको उद्देश्यसँग जोड्दै उत्पादन, सृजना र सीप विकास गर्नु आजको आवश्यकता हो । ‘गुणस्तरीय शिक्षा दिएका छौं’ भनेर कुर्लने निजी शैक्षिक संस्थाहरूले युवा जनशक्ति बिदेसिने शिक्षा होइन ‘स्वदेशमै केही गरौं’ भन्ने बनाउन खोज, अनुसन्धान र उत्पादनमुखी शिक्षामा जोड दिनुपर्छ ।

हाल गुणस्तरीय शिक्षाका लागि अनेक माध्यम सहजै उपलब्ध छ । इन्टरनेटमार्फत विभिन्न ज्ञान–सीप हासिल गर्ने, गराउने अवसर शिक्षक र विद्यार्थी दुवैलाई छ । प्रधानाध्यापकले एक ठाउँमा बसेर सीसीटीभीमार्फत कक्षाका क्रियाकलाप नियाल्न मिल्छ । शिक्षकको भरमा मात्र विद्यार्थीले सिकाइ आर्जन गर्नुपर्ने अवस्था रहेन अब । शिक्षकले सहजै विश्वजगत्ले अपनाएको आधुनिक शिक्षण सिकाइ प्रणाली अपनाउन सक्ने अवस्था छ । विद्यार्थीले पाठ्यपुस्तकको नबुझेका विषय इन्टरनेटमा हेरेर सिक्ने अवसर यथेष्ट हुँदाहुँदै पनि शैक्षिक गुणस्तर किन खस्किरहेको छ ? सरोकारवालाका लागि गम्भीर प्रश्न हो यो ।

अहिले राजनीतिक दलहरूले घोषणापत्रमार्फत गुणस्तरीय र निःशुल्क शिक्षा, सीप, सृजना र आयमूलक शिक्षामा जोड दिने प्रतिबद्धता व्यक्त गरिरहेका छन् । विगतका घोषणापत्रमा उठाइएका शिक्षा सम्बन्धीका मुद्दाहरू अझै कार्यान्वयन नभएको सन्दर्भमा नयाँ आश्वासन कसरी लागू हुन्छ हेर्न बाँकी छ । अस्तव्यस्त बनिरहेको विश्वविद्यालय शिक्षामा सुधार गर्ने विषयमा दलहरूको रत्तिभर चासो देखिँदैन । उच्च शिक्षा अध्यननका नाममा बिदेसिने नेपाली युवाको लर्कोले केही वर्षमै हाम्रा विश्वविद्यालय रित्तिने डरलाग्दो अवस्था सृजना भइसकेको छ । व्यापारीको चंगुलमा फसेको शिक्षाबाट आमूल परिवर्तनको अपेक्षा गर्न सकिँदैन । सार्वजनिक शिक्षा सुधार्ने सरकारको नीति तथा कार्यक्रम असफल भएकै कारण अभिभावक आफैं कक्षाकोठामा पसेर शिक्षण क्रियाकलाप नियाल्नुपर्छ ।

स्थानीय सरकारको ध्यान विद्यालय शिक्षा सुधारका उपाय अवलम्बनतिर छैन । सरकारले ‘पढ्दै कमाउँदै’ कार्यक्रम केही विद्यालयमा लागू गरे पनि शिक्षालाई उत्पादनशीलतासँग जोड्ने नीति अवलम्बन गरेको छैन । शिक्षक उत्पादन गर्ने हाम्रो शिक्षा नीति, प्रणाली र प्रशासन नै परम्परागत प्रवृत्तिबाट माथि उठ्न नसकेकाले तिनका योग्यता र दक्षतामाथि नै प्रश्न उठ्ने अवस्था छ । राजनीतिक हस्तक्षेप र मनोमानीले शैक्षिक गतिविधि ध्वस्त हुँदै छ । गुणस्तरीय शिक्षाका लागि योग्य शिक्षक र योग्य शिक्षकका लागि योग्य शिक्षालय आवश्यक हुन्छ, र यस्तो नेपालमा भइरहेको छैन । त्यसैले पनि कक्षाकोठामा अभिभावक उपस्थित हुनुपर्ने वातावरण बनिरहेको छ ।

प्रकाशित : कार्तिक २१, २०७९ ०७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?