कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

सी र लुला : वामपन्थका दुई विकल्प

विश्वकै दोस्रो र नवौं शक्तिशाली अर्थतन्त्र भएका चीन र ब्राजिलको वामपन्थी झुकावले आउने वर्षहरूमा विश्वराजनीतिलाई पश्चिमी विचारधारा र आर्थिक सामरिक वर्चस्व कम बनाउन अवश्य पनि भूमिका खेल्नेछन् ।
झलक सुवेदी

यो वर्षको अक्टोबरमा विश्व वामपन्थी दुनियाँमा दुइटा महत्त्वपूर्ण घटना भए । पछिल्लो घटना ब्राजिलको निर्वाचन थियो जहाँ दक्षिणपन्थी पपुलिस्ट राष्ट्रपति जायर बोल्सोनारोलाई हराउँदै वामपन्थी नेता तथा पूर्वराष्ट्रपति इनासियो लुलाले निर्वाचन जिते । आफ्नो पहिलो र दोस्रो कार्यकालमा ब्राजिलमा आर्थिक वृद्धि र जनमुखी सुधारका कारण श्रमिक र मध्यम वर्गको समेत समर्थन हासिल गरेका लुला खास गरी गरिखाने वर्गका अति प्यारा थिए ।

सी र लुला : वामपन्थका दुई विकल्प

लुलाका सुधारहरूलाई निरन्तरता दिन उदारवादी व्यवस्थामा सम्भव छ कि छैन भन्ने प्रश्न बेलाबेला उठ्ने गरे पनि खुला समाजमा जनताको विश्वास जितेर पनि वामपन्थी विकल्प दिन सम्भव छ भन्ने उदाहरण उनले प्रस्तुत गरेका छन् । उनी केवल वामपन्थी मात्र होइन, दक्षिणपन्थी फासीवादको विपक्षमा रहेका उदारवादीहरूको पनि आशाको झिल्को बनेका छन् ।

यता १६ अक्टोबरमा थालिएको चिनियाँ कम्युनिस्ट पार्टीको २० औं महाधिवेशन २२ अक्टोबरमा सी चिनफिङलाई अर्को कार्यकालका लागि महासचिव निर्वाचित गर्दै सकिएको छ । दस वर्षपहिले पार्टी र सरकारको नेतृत्वमा आइसकेपछि सीले माओकालीन अस्तव्यस्तता र अनिश्चितता चिर्दै देङ स्याओपिङले स्थापित गरेका विधि र प्रणाली भत्काइदिएका छन् । दस वर्षमा महासचिव बदलिने परम्परा भत्काएका छन् । राष्ट्रपतिको दुई कार्यकालको सीमा तोडेका छन् । ७० वर्षपछि रिटायर्ड हुने अथवा ६८ वर्ष पुगेकालाई नयाँ पदीय जिम्मेवारी नदिने अर्थात् अनिवार्य अवकाशमा पठाउने परम्परा पनि अस्वीकार गरेका छन् । र तेस्रो कार्यकालका लागि महासचिव हुँदै गर्दा उनी कहिलेसम्म चीनका शासक रहने हुन् भन्ने कसैले पनि अनुमान गर्न सकेको छैन । संगठन सोपानमा उत्तराधिकारीहरूको अनुमान गर्न सकिने शृंखला पनि कायम गरेका छैनन् । यी त्यस्ता विधि र परम्परा थिए जसले चीनमा सहज सत्ता हस्तान्तरणको परम्परा बसेको थियो, पार्टीभित्रका स्वार्थ समूहहरूको सम्झौता तय हुने गरेको थियो र भिन्न विचारहरूबीच अन्तरक्रियालाई सम्भव तुल्याएको थियो । सीको यो नीति परिवर्तनलाई शक्तिशाली चीनको आवश्यकताका रूपमा व्याख्या गरिएको छ ।

सी चिनफिङ कम्युनिस्ट दुनियाँमा अक्टोबर क्रान्तिले स्थापित गरेको समाजवादी परम्पराका प्रतिनिधि पात्र हुन् । लेनिनले पार्टीभित्र गुटहरू चलाउन र वैचारिक संघर्ष गर्न छुट दिएका थिए तर सत्तामा कम्युनिस्ट पार्टीको एकलौटी अधिकार स्थापित गरिएको थियो । माओको नेतृत्वमा भएको जनवादी क्रान्तिपछि चीनले पनि यही बाटो अपनायो— कम्युनिस्ट पार्टीको अधिनायकत्वको स्थापना । रसियाली र चिनियाँ कम्युनिस्टहरूले एकदलीय अधिनायकत्वलाई समाजवाद निर्माणको अनिवार्य सर्तका रूपमा व्याख्या गरे, सर्वहारा अधिनायकत्वका नाममा पार्टी अधिनायकत्व स्थापित गरे । कम्युनिस्टहरूबीच यसबारे आरम्भदेखि नै बहस थियो । रोजा लक्जमबर्गले लेनिन र त्रोत्स्कीसँग गरेका बहसहरूलाई अहिले पनि मार्क्सवादी अध्ययनको गतिलो

पाठ्यक्रमका रूपमा लिइन्छ । सक्रिय राजनीतिमा सामेल भएको आम श्रमिक वर्ग अर्थात् आम लोकतन्त्रबिना समाजवाद सम्भव छैन भन्ने रोजाको तर्क थियो । लेनिनहरूले समाजवादी क्रान्तिलाई जोगाउन पनि तत्कालका लागि लोकतन्त्र हैन अधिनायकत्व अवश्यम्भावी छ भन्ने तर्कमा जोड दिएका थिए । राज्य र क्रान्ति तथा सोभियत समाजवादी जनवाद सम्बन्धी लेनिनका व्याख्यानहरू अधिनायकत्वको अनिवार्यताबारेका प्रसिद्ध शास्त्रीय सृजनाका रूपमा रहेका छन् ।

यति बेला भने हामीसँग तुलनात्मक अध्ययनका लागि प्रामाणिक सन्दर्भ सामग्रीहरू उपलब्ध छन् । पहिले लुला र सीले नेतृत्वमा आएपछि गरेका कामहरू तुलना गरेर हेरौं । लुला सन् २००२ देखि २०१० सम्म दुई कार्यकाल ब्राजिलको राष्ट्रपति भएर काम गरिसकेका एक विद्रोही नेता हुन् । मजदुर पृष्ठभूमिबाट संगठन र आन्दोलनहरूको नेतृत्व गर्दै राष्ट्रपति बनेका लुलाका पहिलेका दुई कार्यकालमा २ करोड ब्राजिलीहरू गरिबीबाट मुक्त भएका थिए । सार्वजनिक ऋण जीडीपीको ६० प्रतिशतबाट घटाएर ४० मा झारिएको थियो । गरिबहरूलाई खाना, विद्यालय र विश्वविद्यालयको शिक्षामा पहुँच बढाइएको थियो । शिशु मृत्युदर उल्लेख्य रूपमा घटेको थियो । सरदर साढे ४ प्रतिशतको वृद्धिदर हासिल भएको थियो ।

ब्राजिलमा उदार लोकतन्त्र इतिहासकै समृद्ध अवस्थामा थियो । विश्वव्यवस्थामा सीमित पश्चिमी देशहरूको वर्चस्वका विकल्पमा उभिन उनले ब्रिक्समार्फत योगदान दिएका थिए । द इकोनोमिस्टका अनुसार, सन् २०१० मा दोस्रो कार्यकाल सकिएर बिदा हुँदा लुला सर्वाधिक लोकप्रिय थिए । उनको उत्तराधिकारी बनेकी दिल्मा रुसेफको समय भने उतिको सफल भएन । ब्राजिलको परम्परागत सम्भ्रान्त वर्गले अदालत, संसद् र बाह्य साझेदारहरूको सहयोगमा बनाएको गठबन्धनको नेतृत्व गर्दै फासीवादी रुझानका जायर बोल्सोनारो सत्तामा आएपछि ब्राजिल झन् थला पर्‍यो । यसपालि फेरि लुला सत्तामा फर्केका छन्, ७७ वर्षको उमेरमा । ब्राजिल र समग्र ल्याटिन अमेरिकी श्रमिक वर्ग र प्रगतिशील विचार राख्नेहरूमा आशा जगाएका छन् । कोलम्बियापछि ब्राजिलमा भएको यो जित केवल त्यहाँका रैथाने मुद्दाका सम्बन्धमा जनताको अभिमतको विषय मात्र अवश्य होइन । यो त नवउदारवादी आर्थिक हतियारका माध्यमबाट अमेरिकी धुरीको विश्वव्यवस्थाले लादेका विभेदकारी शोषणको माखेसाङ्लो तोड्ने सम्भावनायुक्त विकल्प पनि हो । हाम्रो विकल्प पनि हो ।

के लुलाले पहिलो कार्यकालमा झैं जनपक्षीय सुधारहरू कायम राख्न सक्लान् ? एउटा कार्यकालमा वामपन्थी सरकारले गर्ने सुधार अर्को पटक आउने बोल्सोनारोहरूले नखोसून् भनी सुनिश्चित गर्न सकिन्छ ? यी प्रश्नहरू अहिले पनि बहसमा छन् ।

यता चीनको कुरो बेग्लै छ । सन् १९४९ यता लगातार कम्युनिस्ट पार्टीको एकलौटी सत्ता चलेको छ । यी ७३ वर्षमा चीनमा जेजस्ता दुर्गति–प्रगति भए, ती सबैका लागि कम्युनिस्ट पार्टी जिम्मेवार छ । राजनीतिक आलोचनाको अधिकार नभएको, सरकारमा जान प्रतिस्पर्धा गर्न पाउने र वैकल्पिक शक्ति बनाउन पाउने अधिकार नभएको चीनमा समाजवादकै भिन्न मोडलहरू अपनाइए । माओले छिटै समाजवाद ल्याउन ग्रेट लिप फरवार्डको नीति लिए । त्यसले समानता बढायो तर उत्पादकत्व बढाएन, मानवसृजित अनिकाल लाग्यो र लाखौं चिनियाँ भोकले मरे ।

अहिलेका शक्तिशाली महासचिव सी चिनफिङ पनि खोले र रूखका बोक्रा खाएर बाँचेका थिए । चीन पछि पर्‍यो, गरिबी बढायो । त्यसको उपचारका लागि देङको नेतृत्वमा थालिएका सुधारहरूले आर्थिक वृद्धिको अभूतपूर्व आँधी ल्याए । ४० वर्षमा ८० करोड चिनियाँ गरिबीबाट मुक्त भए । तर संसारले नपत्याउने गरी भएको आर्थिक वृद्धिसँगै भ्रष्टाचार र असमानताका चिनियाँ पर्खालहरू पनि खडा भए । फेरि कम्युनिस्टहरूकै नेतृत्वमा भ्रष्टाचारको नामै सुन्नबाट तर्सिने कारबाहीहरू भए । सी सत्तामा आएको ८ वर्षमै ९ करोड जनतालाई गरिबीबाट मुक्त गराइयो । अधिक कमाउने व्यक्ति, कम्पनी र क्षेत्रहरूले गरिब र पिछडिएका क्षेत्रहरूको विकासमा योगदान गर्नैपर्ने बाध्यता सृजना गरियो । आधारभूत समृद्धि हासिल गर्दै कम्युनिस्ट पार्टी स्थापनाको सय वर्ष उल्लासमय बनाएर मनाइयो । ६८ वर्षे सी २० औं महाधिवेशनबाट पनि महासचिव बनेपछि उनको नाम रहेको विचारलाई पार्टी विधान र देशको संविधानमा सामेल गरिएको छ । दलमा उनका प्रतिस्पर्धीहरूलाई पाखा लगाइएको छ । उनले निष्कण्टक रूपमा चीनलाई आफ्नो विचारअनुरूप हिँडाउने मेसो मिलाएका छन् ।

कम्युनिस्ट पार्टीको नेतृत्वमा स्थापित अधिनायकत्वमा उदारवादी व्यवस्थामा जस्तो राजनीतिक अधिकार त पाइँदैन तर अरू मानवीय समृद्धिका सम्भावनाहरू उजागर गर्न र तरक्की गर्न सकिन्छ भन्ने सन्देश चीनले दिएको छ । महासचिव सीले प्रस्तुत गरेको प्रतिवेदनलाई आधार बनाउँदा दुईवटा महत्त्वपूर्ण विचारधारात्मक पाटा देखिन्छन् जसले आउने वर्षहरूमा चीन र विश्वभरि नै वैचारिक ध्रुवीकरणलाई बढाउनेछ । पहिलो हो, अब चीनले आर्थिक वृद्धिको वितरण गरेर साझा समृद्धिको बाटो अँगाल्नेछ । यो ठीक ६४ वर्षपहिले माओले समाजवादको परिकल्पना गर्दै गरेको गरिबीको वितरणभन्दा ठीक उल्टो हो ।

चीनलाई थप समृद्ध बनाउने, निजी क्षेत्रलाई पर्याप्त कमाउन अवसर दिने, तर कर र अन्य नीतिगत व्यवस्थाका माध्यमबाट यस्तो कमाइलाई कम कमाइ हुने क्षेत्र र परिवारसम्म पुर्‍याउने अनि सबैलाई समृद्ध बनाउने । चिनियाँ विशेषतासहितको समाजवादको नाम दिइएको यस परिकल्पनाले निजी क्षेत्रका ठूला उद्योग–व्यवसायलाई प्रोत्साहित गरिरहन सक्यो भने चीनले आउने केही दशकमा विश्वलाई एउटा सन्देश दिनेछ— एकल अधिनायकत्वसहित चलाइने कम्युनिस्ट व्यवस्थाले आर्थिक समृद्धि ल्याउँछ, वातावरणीय विनाश जोगाउँदै आर्थिक वृद्धिलाई निरन्तरता दिन सम्भव छ र तीव्र आर्थिक परिवर्तनसहितको समृद्धिको झोक्काबाट कसैले पाखामा पछारिनु पर्दैन । ट्रिकल डाउनको समय सकियो भन्ने सन्देश पनि यहीँ छ । चीनमा राजनीतिक सुधारको आशा कमसेकम अहिलेलाई सकिएको छ । यसले विश्वव्यापी रूपमा विचारधारात्मक संघर्ष कायम छ भन्ने प्रस्ट सन्देश दिन्छ । यसका साथै यी नीतिहरू लागू गर्दा वर्तमान विश्वव्यवस्थाका कतिपय प्रावधान र संस्थासँग चीनको टक्कर हुनेछ । प्रकारान्तरले यो समाजवादी विश्व र पुँजीवादी विश्वबीचको संघर्षमा बदलिने निश्चित छ ।

उदारवादी व्यवस्थाका सीमाभित्र प्रतिस्पर्धा गरेर निर्वाचन जित्न र सुधार गर्न सम्भव छ भन्ने लुला र कम्युनिस्टहरूको एकल अधिनायकत्वबाट समाजवाद लागू गर्न (राजनीतिक स्वतन्त्रताका हकमा बाहेक) सम्भव छ भन्ने सीको विचार सोलोडोलो रूपमा वर्तमान विश्व वामपन्थी आन्दोलनका दुइवटा भिन्न प्रवृत्ति हुन् । राज्य सम्बन्धी मार्क्सेली अवधारणा वर्गहरूको विलोपसँगै राज्य विलोप हुन्छ भन्ने मान्यतामा आधारित छ, त्यो लुलाको बाटोबाट कि सीको बाटोबाट भन्ने प्रश्नको उत्तर भने सजिलो छैन ।

नेपालमा नेकपा एमाले र नेकपा माओवादी दुवै स्कुल एकल अधिनायकत्वको बाटो पछ्याउँदै जाँदा असफल भएर प्रतिस्पर्धाको बाटामा आएका हुन् । एमालेको बहुदलीय जनवाद (डकुमेन्टमा) उदारवादी व्यवस्थाका सीमाभित्र समाजवादको सपना बाँडिरहेको दस्तावेज हो । वर्तमान संविधानका व्यवस्थाहरूभित्र प्रतिस्पर्धा गरेर अघि बढ्न स्वीकार गरिसकेको माओवादी केन्द्रको बाटो पनि लुलाकै वरपर पुग्छ । विश्वकै दोस्रो र नवौं शक्तिशाली अर्थतन्त्र भएका यी देशहरूको वामपन्थी झुकावले आउने वर्षहरूमा विश्वराजनीतिलाई पश्चिमी विचारधारा र आर्थिक सामरिक वर्चस्व कम बनाउन अवश्य पनि भूमिका खेल्नेछन् । श्रमजीवी जनताका पक्षबाट न्यायपूर्ण विश्व सम्भव छ भन्ने आशा पनि यसले जगाएको छ । सी र लुला दुई विकल्प हुन्, कुन रोज्ने भन्नेचाहिँ तपाईंमा निर्भर गर्छ ।

सच्याइएको : यस लेखमा 'शिशु मृत्युदर उल्लेख्य रूपमा घटेको' हुनुपर्नेमा अन्यथा उल्लेख हुन गएकोमा सच्याइएको छ ।


प्रकाशित : कार्तिक १८, २०७९ ०७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?