कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

ब्वाँसाहरूको प्रीतिभोज

वस्तुतः यो निर्वाचन हो, निरन्तरका असफलताहरूविरुद्ध नयाँ र सृजनशील भविष्यको । यो निर्वाचन हो, भ्रष्टाचारविरुद्ध सुशासनको । यो निर्वाचन हो, नालायक नेतृत्वविरुद्ध ताजा र ऊर्जाशील नेतृत्वको । अर्थात्, यो निर्वाचन हो, अँध्यारोविरुद्ध उज्यालोको । उज्यालो अर्थात् परिवर्तन ।
केशव दाहाल

ब्वाँसाहरूको राजकाज
यो रहस्यमय ब्रह्माण्डमा एउटा अचम्मको देश छ । ब्वाँसाहरूको देश । त्यस देशमा तीन खाले प्राणीहरू बस्छन् । पहिलो श्रेणीमा छन् खुँखार रक्तपिपासु ब्वाँसाहरू । सत्ता, शक्ति र सम्पत्तिका मालिक । राता, नीला, पहेंला, खैरा ब्वाँसा, जो स्वयं रंग बदल्नमा माहिर छन् । खान्छन् मान्छेको रगत र पसिना । लुछ्छन् मान्छेका सपनाहरू । दोस्रो श्रेणीमा छन् उनका सेवकहरू, जो हरदम सत्ताको दलाली गर्छन्, मालिकको चाकडी गर्छन् र राज्यस्रोत मस्तीमा उडाउँछन् ।

ब्वाँसाहरूको प्रीतिभोज

तेस्रो श्रेणीमा छन् दुःखी मान्छेहरू । किसान, मजदुर, कामदार र गरिबहरू । अथवा, भुइँमान्छेहरू । यो यस्तो देशको कथा हो, जहाँ ब्वाँसाहरू आफैं कानुन बनाउँछन् र आफैं कानुन तोड्छन्, जो स्वयं कानुनभन्दा माथि बस्छन् र कानुनको घोडा चढ्छन्, जो आफूलाई भाग्यविधाता ठान्छन् र भुइँमान्छेका कोमल अपेक्षाहरूमा कोर्रा बजाउँछन् ।

रोचक के भने, ब्वाँसाहरूको देशमा पनि लोकतन्त्र छ । अझ भनौं, छ संघीय लोकतान्त्रिक गणतन्त्र । तर मात्र संविधानमा । व्यवहारमा छ ब्वाँसोतन्त्र । न लोक छ, न तन्त्र । ब्वाँसाहरू, जो दरबारमा बस्छन्, उनीहरूलाई लाग्छ, लोकतन्त्र भनेको उनीहरूको आदेश हो; गणतन्त्र भनेको उनीहरूको परमादेश । ब्वाँसाहरू जब सेता दरबारका अट्टालिकामा बसेर संघीयताको गीत गाउँछन्, तल प्रदेशमा गाईजात्रा चल्छ अधिकारको । आश्चर्य के भने, त्यस देशमा पनि पार्टीहरू छन् । कुनै लोकतन्त्रवादी, कुनै समाजवादी । तर पार्टीभित्र न लोकतन्त्र छ, न छ समाजवाद । मात्र छ गुटतन्त्र, लुटतन्त्र र झुटतन्त्र । हुनलाई त त्यहाँ पनि आवधिक निर्वाचन हुन्छ तर हुन्छ के भने, ब्वाँसाहरू चुनावमा उठ्छन्, उनका सेवकहरूले चुनाव प्रचार गर्छन् र जित्छन् ब्वाँसाहरू नै । कथंकदाचित् झुक्किएर कुनै विवेकी मान्छेले चुनाव जित्यो भने या त ऊ अर्को दिन सानो फ्याउरोमा रूपान्तरित हुन्छ, अथवा ब्वाँसाहरूको दरबारबाट बेदखल गरिइन्छ ।

त्यो अनौठो देशको इतिहासमाथि थोरै परिचर्चा गरौं । कुनै बेला त्यस देशमा सर्पहरूको शासन थियो । गोमन, करेत, धामन, हरेउ आदि अनेक सर्प र अजिंगरहरू सत्तामा बस्थे । उनीहरूको साथमा थिए डरलाग्दा दाह्रे गोहीहरू । उनीहरू ठूलठूला रहस्यमय दरबारमा बस्थे । दुलाजस्ता । ओडारजस्ता । त्यहीँ बसेर उनीहरू आफ्नो चिसो जिब्रो लपलपाउँथे । डस्नु उनीहरूको काम थियो । दरबारनजिकै मैलो र कालो पोखरी थियो । त्यहाँ अजिंगरहरू ढुकेर बस्थे । र, पानी पिउन आउने निर्धा मृग र खरायोहरू समाउँथे । त्यसैलाई उनीहरू सुशासन भन्थे । बेला–कुबेला त्यहाँ पनि चुनाव हुन्थ्यो । सर्पहरू उम्मेदवार हुन्थे । गोमनको प्रतिस्पर्धामा करेत । अजिंगरको प्रतिस्पर्धामा धामन । त्यो यस्तो समय थियो कि मान्छेहरू बोल्न डराउँथे । सर्वत्र अँध्यारो थियो । सर्वत्र छलछाम थियो । अध्यारोमै मान्छेहरू भोट हाल्थे र चुनाव जित्थे सर्पहरूले ।

एक दिन, त्यस देशका मान्छेहरूले विद्रोह सुरु गरे । विषालु सर्पविरुद्ध मान्छेको विद्रोह । अँध्यारोविरुद्ध उज्यालोको विद्रोह । अन्यायविरुद्ध न्यायको विद्रोह । आन्दोलनकारीहरू प्रजातन्त्र ल्याउन चाहन्थे । जीवनमा उज्यालो बाल्न चाहन्थे । र, एक दिन लगभग तीस वर्षको अथक संघर्षपछि मान्छेले जित्यो । अर्थात्, उज्यालोको जित भयो । न्यायको जित भयो । त्यस देशमा प्रजातन्त्र आयो ।

तर दुर्भाग्य, विजयको अबिर नपखालिँदै, सबै कुरा उलटफेर भयो । सडकमा पोखिएको सहिदको रगत नसुक्दै, सर्पहरू भेष बदलेर मान्छेको गोलामा मिसिए । विजयोत्सवमा सर्पहरूले समेत अबिरजात्रा गरे । चोकचोकमा भव्य प्रीतिभोजहरू आयोजना गरिए । भोजमा सर्पहरू पनि आमन्त्रित थिए । त्यसपछि, कतै सर्पले मान्छेसँग मीत लगाए, कतै सर्पले मान्छेलाई सत्ता र सम्पत्तिको सम्मोहनले बाँधे । र, यसरी एउटै आन्दोलनका नायक र खलनायकहरूबीच साइनो कसिँदै गयो । त्यसपछी अनौठो भयो । यस्तो भयो कि बिस्तारै सत्ताको सिंहासनमा बस्ने मान्छेहरू विषालु बिच्छीमा फेरिए । र, त्यो अचम्मको देशमा सुरु भयो बिच्छीहरूको साम्राज्य ।

जब बिच्छीहरूको शासन सुरु भयो, मान्छेहरू फेरि जागे । सडकमा न्यायका नाराहरू घन्कन थाले । लोकतन्त्रको स्वर अजेय बनेर उठ्यो । बिच्छीहरूविरुद्ध मान्छेले विद्रोहको मसाल बाल्यो । र, अन्ततः बिच्छीहरूको कुशासन पनि ढल्यो । त्यस देशमा संघीय लोकतान्त्रिक गणतन्त्र आयो ।

तर दुर्भाग्य सकिएन । आन्दोलन सकिएको अर्को दिनदेखि नै सर्प र बिच्छीले घाँटी जोडे । फेरि यत्रतत्र सत्ताको प्रीतिभोज आयोजना भयो । ठेकेदारीको दिवाभोज । लुट र कमिसनको रात्रिभोज । राज्यदोहनको कक्टेल । यतै प्रितिभोज, उतै सहभोज । जसै स्वादिष्ठ भोजहरू चल्दै गए, तसै मान्छेको स्वरूप फेरिँदै गयो । प्रीतिभोजको चमत्कारले हुनुपर्छ, शनैःशनैः लोकतन्त्रवादी नेताहरू त खुँखार ब्वाँसोमा पो फेरिँदै गए । यसरी त्यो अनौठो देशमा ब्वाँसाहरूको कुशासन सुरु भयो । मान्छेको विद्रोह रोक्न ब्वाँसाहरूले भने, ‘हामीले मान्छेको रगत खान छोडिदियौं । हामीले निर्धा प्राणीको सिकार गर्न छोडिदियौं । हामी ज्ञानी भयौं । हामी लोकतान्त्रिक भयौं । अब सामाजिक न्याय र समृद्धिका नयाँ दिनहरू आउँछन् ।’ ब्वाँसाहरूको झुटलाई मान्छेले विश्वास गरे ।

त्यसपछि त्यो गजबको देशमा लगातार चुनावहरू आए र गए । तर जतिसुकै चुनाव भए पनि प्रतिस्पर्धामा थिए उनै सर्प, बिच्छी र ब्वाँसाहरू । र, भोट जित्थे उनै सर्प, बिच्छी र ब्वाँसाहरूले । कस्तो अनौठो कि हिजो सर्पहरू आफ्नो सत्तालाई लोकतन्त्र भन्थे, आज ब्वाँसाहरू आफ्नो सत्तालाई लोकतन्त्र भन्दै छन् ! हिजो सर्पहरू सांसद बन्थे, आज ब्वाँसाहरू । ब्वाँसाहरू नै मन्त्री, ब्वाँसाहरू नै प्रधानमन्त्री । कहिले कालो ब्वाँसो मन्त्री, कहिले पहेंलो । कहिले रातो ब्वाँसो मन्त्री, कहिले हरियो । कहिले राता र हरिया ब्वाँसाहरू मिलेर सरकार बनाउँथे, कहिले पहेंला र नीलाले मिलेर । तर जो जे भए पनि आखिर लुट्थे मान्छेकै सपना । ब्वाँसाहरू कहिले एकअर्कालाई अग्रगामी भनेर तारिफ गर्थे, कहिले एकअर्कालाई प्रतिगामी भनेर गर्थे गाली । वस्तुतः उनीहरू न अग्रगामी थिए, न त पश्चगामी । खासमा उनीहरू सबै थिए ब्वाँसाहरू । त्यसैले उनीहरूको राजनीति थियो— ब्वाँसो राजनीति । उनीहरूको पार्टी थियो— ब्वाँसो पार्टी । र, उनीहरूको सत्ता थियो— ब्वाँसो सत्ता ।

पाठकवृन्द ; तपाईंहरूलाई सुनाऊँ, यो वर्ष फेरि ब्वाँसाहरूको देशमा चुनाव आउँदै छ । चुनाव लड्न उनीहरूले रंगी–बिरंगी मोर्चा बनाएका छन् । कतै गठबन्धन गरेका छन्, कसैले तालमेल । वस्तुतः दुवै मोर्चामा नायक बनेर गजधम्म बसेका छन् उनै ब्वाँसाहरू । यहीँनेर तपाईंलाई सोच्नका लागि तीनवटा प्रश्न गर्छु । ब्वाँसाहरूले शासन गर्ने त्यो अनौठो देशमा मान्छेको मूल्य के होला ? त्यस देशको भविष्य के होला, जहाँ पटकपटक ब्वाँसाहरू सत्तामा पुग्छन् र मान्छेका सपनामाथि सत्ताको घोडा कुदाउँछन् ? के त्यस देशमा यो पटक पनि ब्वाँसाहरूले चुनाव जित्लान् ?

हाम्रो देशको कुरा

ब्वाँसाहरूको देशमा जस्तै हाम्रो देशमा पनि चुनाव आउँदै छ । मंसिर ४ गते । ब्वाँसाहरूको देशमा जस्तै हाम्रो देशमा पनि राजनीतिक दलहरूले चुनाव लड्न दुई ठूला मोर्चा बनाएका छन् । गणतन्त्रवादी र राजावादीको एउटा मोर्चा । माओवादी–समाजवादी र पुँजीवादी लोकतन्त्रवादीको अर्को मोर्चा । सुन्दै आश्चर्य लाग्ने मोर्चा । अर्थात्, सिद्धान्तहीन मोर्चा । एउटाले भन्छ, यो गठबन्धन हो । अर्कोले भन्छ, यो तालमेल हो । यस्तो लाग्छ, आगामी चुनावमा दलहरूले नभई बेढंगका अप्राकृतिक मोर्चाहरूले प्रतिस्पर्धा गरिरहेका छन्, जसको एक मात्र ध्येय छ— फगत सत्ता । अर्थात्, राज्यशक्ति र सम्पत्तिको ब्रह्मलुट ।

दलहरू आफ्ना असफलताहरूको सैद्धान्तिकीकरण गर्न माहिर छन् । झुटको सैद्धान्तिकीकरण । झुट नै राजनीति हो भन्ने उनीहरूले सिकेका छन् । त्यसैले उनीहरू झुटलाई ढाकछोप गर्न अनेक पत्रु भाष्यहरू बनाइरहेका छन् । एउटा मोर्चाले भन्छ— हामीले हार्‍यौं भने परिवर्तनले हार्छ, गणतन्त्रले हार्छ, अग्रगमनले हार्छ । अर्कोले भन्छ— हामीले हार्‍यौं भने देशले हार्छ, राष्ट्रवादले हार्छ, चुच्चे नक्साले हार्छ । एउटाले भन्छ— हामी अग्रगामी हौं । अर्कोले भन्छ— हामी राष्ट्रवादी हौं । सबै झुट । महाझुट । खासमा यी दुवै मोर्चाहरू न अग्रगामी हुन्, न त राष्ट्रवादी । उनीहरूलाई न देशको चिन्ता छ, न त परिवर्तनको । मान्छेका दुःखहरूबाट यति धेरै निरपेक्ष नेतृत्व कसरी अग्रगामी र राष्ट्रवादी हुन

सक्छ ? खासमा उनीहरू दुवै सिद्धान्तहीन छन् । दुवै असफल छन्, पूर्वाग्रही छन् र बेइमान छन् । अर्थात्, उनीहरू मात्र सत्ताका भोका हुन् । उनीहरूका लागि सत्ता, शक्ति र सम्पत्तिबाहेक देश, जनता, परिवर्तन र समृद्धि सबै भ्रम हो । अन्यथा बितेका तीस वर्षमा उनीहरूले देश, जनता, परिवर्तन र समृद्धिका लागि के गरे ? मात्र कमिसन, लुट र भ्रष्टाचारको प्रीतिभोज । मान्छेको रगत र पसिनाको होली । यो अर्थमा उनीहरूका लागि ब्वाँसाको विम्ब एउटा सान्दर्भिक विम्ब हो ।

वस्तुतः यो निर्वाचन हो, निरन्तरका असफलताहरूविरुद्ध नयाँ र सृजनशील भविष्यको । यो निर्वाचन हो, भ्रष्टाचारविरुद्ध सुशासनको । यो निर्वाचन हो, नालायक नेतृत्वविरुद्ध ताजा र ऊर्जाशील नेतृत्वको । अर्थात्, यो निर्वाचन हो, अँध्यारोविरुद्ध उज्यालोको । उज्यालो अर्थात् आशा । उज्यालो अर्थात् परिवर्तन । यस्तो उज्यालो जसले भविष्यका लागि नयाँ सम्भावना उद्घाटित गर्न सकोस् । अतः यो बेला, हामी मतदाता स्वयंले सोच्नुपर्ने प्रश्न छ— आगामी निर्वाचनमा परम्परागत असफलताको जालो तोड्ने कि पुरानै असफलतालाई अनुमोदन गरेर फेरि बरबार हुने ? अर्थात्, आगामी निर्वाचनमा तिनै सर्प, बिच्छी र ब्वाँसाहरूलाई भोट हालेर पछुताउने कि परिणामुखी नयाँ नेतृत्वको खोजी गर्ने ?

खासमा ब्वाँसाहरूको भ्रमबाट मुक्त हुने समय हो यो । मान्छेले आफ्नो चेतनाको बिर्को खोल्ने समय हो यो । अर्थात्, यो निर्वाचन एउटा विद्रोह हो । यथास्थितिविरुद्ध मतदाताहरूको विद्रोह । भ्रष्टाचारविरुद्ध मतदाताको विद्रोह । ब्वाँसाहरूविरुद्ध, मान्छेको विद्रोह । विचार गरौं, हाम्रो प्रत्येक मत परिवर्तनको संवाहक हुन सक्छ । अतः यस निर्वाचनमा विवेकले काम गरौं । नभुलौं, ब्वाँसाहरूले कहिल्यै मान्छेका सपनाहरूको प्रतिनिधित्व गर्न सक्दैनन् ।

प्रकाशित : कार्तिक १८, २०७९ ०७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?