नेपालमा ‘ऋषि सुनक’ उदाउलान् ?- विचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपालमा ‘ऋषि सुनक’ उदाउलान् ?

पटक–पटक जनताबाट अनुमोदित भई परीक्षणमा असफल पुरानै अनुहार दोहोर्‍याउने कि प्रस्ट योजना र ऊर्जा भएको नयाँलाई अवसर दिने ? हामीले प्रधानमन्त्रीको योग्यताको मुख्य आधार यही प्रश्नको निरूपणबाट खोज्नुपर्ने हुन्छ ।
राजाराम गौतम

गत साता भारतीय मूलका ४२ वर्षीर्य ऋषि सुनक बेलायतको प्रधानमन्त्री नियुक्त भएपछि दक्षिण छिमेकी तरंगित भयो । बेलायतको इतिहासमा पहिलो पटक एक जना ‘भारतवंशी’ प्रधानमन्त्री भएको भन्दै एक थरी भारतीय गौरवान्वित भए भने अर्का थरीले फरक कोणबाट प्रश्न उठाए, ‘गर्व गर्ने कि सिक्ने ?’

‘बेलायतमा हिन्दु अल्पसंख्यक सुनक प्रधानमन्त्री बन्दा भारतमा किन कोही मुस्लिम त्यो ओहोदामा पुग्न सक्दैन ?’ कांग्रेस–आईका नेताहरू शशि थरुर, पी. चिदम्बरम आदिको प्रश्नको प्रतिवादमा भारतीय जनता पार्टी (भाजपा) का नेताहरू उत्रिए । भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंह र पूर्वराष्ट्रपति अब्दुल कलाम आदिको नजिर अघि सारेर तिनले अल्पसंख्यकहरू नेतृत्वमा पुगेको दलिल पेस गरे । सुनकको नियुक्तिसँगै उठेको यो प्रश्नमा मिडिया–बहस चलिरहेको छ ।

भारतमा उब्जिएको यो बहसले नेपालको ध्यान नताने पनि बेलायती प्रधानमन्त्रीमा ४२ वर्षीय युवाको आगमनलाई बडो चाख मानेर हेरिएको छ । किनभने, निर्वाचनको संघारमा रहेको नेपालले मंसिर ४ पछि नयाँ प्रधानमन्त्री निर्वाचित गर्नेछ ।

अबको प्रधानमन्त्री को हुने ? चुनावी रस्साकस्सीबीच यो अहिलेको केन्द्रीय प्रश्न बनेको छ ।

‘पीएम इन वेटिङ’ को ?

संसदीय व्यवस्थामा प्रमुख प्रतिपक्षी दलको नेतालाई ‘पीएम इन वेटिङ’ भन्ने प्रचलन छ । तर, अहिले ‘वेटिङ पीएम’ को आकांक्षी कम्तीमा आधा दर्जन नेता छन्, जो घोषित–अघोषित रूपमा प्रधानमन्त्रीको दौडमा छन् ।

औपचारिक रूपमै प्रधानमन्त्री उम्मेदवारको घोषणा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मात्रै गरेको छ । उसले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेको छ । सत्तारूढ गठबन्धनभित्र भावी प्रधानमन्त्रीबारे कुनै औपचारिक छलफल भएको छैन । गठबन्धनको कुनै पनि दलले प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको छैन । तर, आ–आफ्नै हिसाबले प्रधानमन्त्रीको आकांक्षा प्रकट भएको छ ।

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफू प्रधानमन्त्री पदको प्रतिस्पर्धामा रहेको सार्वजनिक अभिव्यक्ति दिएपछि धेरैका कान ठाडा भएका छन् । उनको दाबीले भावी प्रधानमन्त्री को होला भन्ने कौतूहल जन्माइदिएको छ । कांग्रेसबाट उनीसँगै शेखर कोइराला, शशांक कोइराला, रामचन्द्र पौडेल आदिले पनि प्रधानमन्त्रीको आकांक्षा राखेका छन् ।

कांग्रेसका सभापति एवं वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाचाहिँ मौन छन् । चौधौं महाधिवेशनबाट बलियो सभापतिका रूपमा चुनिएका देउवा विश्राम लिने मुडमा छैनन् । औपचारिक दाबी नगरे पनि सबैले बुझेका छन्, उनी छैटौं पटक दोहोरिने सोचमा छन् । सत्तामा पुनरागमनको सुनिश्चितताकै लागि उनले पार्टीभित्रको विरोध र असन्तुष्टिलाई पन्छाएर कम्युनिस्टहरूसँगको गठबन्धनलाई निरन्तरता दिएका हुन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग ‘पावर सेयरिङ’ बाटै भए पनि छैटौं पटक प्रधानमन्त्री बन्ने देउवाको दाउ छ ।

प्रचण्डचाहिँ सत्ताको साँचो आफ्नो हातमा लिन उद्यत देखिन्छन् । एकल बहुमत कुनै पनि पार्टीको पोल्टामा जाने सम्भावना नदेखेका प्रचण्डको दाउ संसद्भित्रको अंकगणितमा ‘किङमेकर’ बन्ने हो । उनले भनेजस्तै संसद्को शक्तिसन्तुलनमा माओवादी निर्णायक तेस्रो शक्ति बन्यो भने प्रधानमन्त्री पदको चिट्ठा उनलाई नपर्ला भन्न सकिँदैन । अर्को उपाय, कांग्रेससँग आलोपालो गरेर भए पनि उनी फेरि प्रधानमन्त्रीमा दोहोरिन चाहन्छन् । तर, प्रकट रूपमा त्यसो भन्दैनन् । ‘मानिसले मलाई वेटिङ प्रधानमन्त्री भने पनि मेरो ध्यान लोकतन्त्रको सुदृढीकरण, संविधान कार्यान्वयन र जनताको आकांक्षा अनुसार विकास–निर्माण होस् भन्नेतिर छ ।’ सँगै यसो पनि भन्छन्, ‘एउटा विन्दुमा आलोपालो प्रधानमन्त्रीको कुरा हुन्छ ।’ (कान्तिपुर दैनिक, २०७९ साउन २)

जजसले दाबी गरे पनि मंसिर ४ पछि बन्ने संसद्को अंकगणितले भावी प्रधानमन्त्री को हुने भन्ने निर्धारण गर्नेछ । एउटै दलले बहुमत ल्याउने सम्भावना न्यून भएकाले फेरि दलहरूबीचको गठबन्धनबाटै सरकार गठन हुन सक्छ । अहिलेकै गठबन्धनले निरन्तरता पाउँछ कि नयाँ ढंगबाट दलहरू ध्रुवीकृत हुन्छन् ? भावी प्रधानमन्त्रीको भविष्य निर्धारण यो प्रश्नले पनि गर्नेछ ।

संविधानको धारा ७६ मा बहुमतप्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री तोक्ने, कसैको पनि बहुमत नआएको अवस्थामा दुई वा दुईभन्दा बढी दल मिली बनेको गठबन्धन दलका बहुमत सदस्यले समर्थन गरेको व्यक्तिलाई प्रधानमन्त्री चुन्ने, गठबन्धन नबनेमा सबैभन्दा ठूलो दलको संसदीय दलको नेतालाई प्रधानमन्त्री बनाउने प्रावधान छ । यी विकल्पमध्ये सरकार गठन प्रक्रिया कसरी बढ्छ र दलहरूको संसद्मा कसको कस्तो उपस्थिति हुन्छ, त्यसले अहिले देखिएका ‘वेटिङ पीएम’ हरूको भाग्य निर्धारण गर्नेछ । त्यो बेला अहिले देखिएका आकांक्षीहरूको सूची घटबढ पनि हुन सक्छ ।

कस्तो प्रधानमन्त्री ?

तर, यति बेलाको मुख्य प्रश्न अब को प्रधानमन्त्री भन्ने होइन । हामीलाई कस्तो प्रधानमन्त्री चाहिएको हो ? विमर्श गर्नुपर्ने विषय यो हो । प्रधानमन्त्री हुने व्यक्तिमा कम्तीमा शासन व्यवस्था सञ्चालनको ल्याकत हुनुपर्छ । प्रधानमन्त्री बनेर के गर्ने ? शासन व्यवस्था सञ्चालनको सुस्पष्ट योजना भएको ‘भिजनरी’ व्यक्ति मात्रै यो ओहोदाको हकदार हो ।

बेलायतमा ऋषि सुनकको उदय भएको सन्दर्भ हाम्रा लागि पनि गतिलो प्रेरणा बन्न सक्छ । संसदीय व्यवस्थाको जननी मानिएको बेलायतमा दुई महिनामा तीन प्रधानमन्त्री बने । सत्तारूढ दलभित्र गुटबन्दी छ, मुलुक आर्थिक संकटको चपेटामा पर्दै गएको छ । यो पृष्ठभूमिमा बेलायतको संसद्ले एक जना नवोदित नेतालाई शक्तिशाली पदमा पुर्‍याएर परीक्षण गर्न चाहेको सन्दर्भचाहिँ हाम्रा लागि पाठ हुन सक्छ ।

पटक–पटक जनताबाट अनुमोदित भई परीक्षणमा असफल पुरानै अनुहार दोहोर्‍याउने कि प्रस्ट योजना र ऊर्जा भएको नयाँलाई अवसर दिने ? हामीले प्रधानमन्त्रीको योग्यताको मुख्य आधार यही प्रश्नको निरूपणबाट खोज्नुपर्ने हुन्छ ।

प्रधानमन्त्रीका रूपमा सुनकको परीक्षण हुन बाँकी छ । परीक्षणमा उनी के–कति सफल होलान् ? त्यो हेर्न कुर्नुपर्नेछ । तर, राजनीतिक–आर्थिक संकट बेहोरिरहेको बेलायतमा दुई शताब्दीयताका सबैभन्दा कान्छा प्रधानमन्त्रीप्रति बेलायती संसद्ले आशा अनि अपेक्षा राखेको देख्दा भन्न करै लाग्छ, उनी ‘कालो बादलमा चाँदीको घेरा’ बनेर आएका छन् ।

बेलायतको राजनीतिमा हिन्दु अल्पसंख्यक समुदायबाट भारतीय मूलका व्यक्ति राजनीतिको सर्वोच्च पदमा पुग्नु निश्चय पनि दुर्लभ सन्दर्भ हो । तर, सुनक उल्लिखित कारणले प्रधानमन्त्री चुनिएका होइनन्Ù यसअघि वित्तमन्त्री हुँदा देखिएको योग्यता र सात वर्षकै अन्तरालमा नेतृत्वमा पुग्न सक्ने उनको अद्भुत क्षमताका कारण प्रधानमन्त्री बनेका हुन् । गुटबन्दीले कमजोर बनेको कन्जरभेटिभ पार्टी र आर्थिक संकटले थिलथिलिएको बेलायतलाई यति बेला एउटा योग्य नेताको खाँचो छ । त्यो खाँचो सुनकले पूर्ति गर्लान् भनेर कन्जरभेटिभ पार्टीका सांसदहरूले उनलाई नेता चुनेका हुन् ।

यस्तै आशा जगाउने नेतृत्वको खाँचो नेपाललाई पनि छ । विकसित बेलायत र विकासशील नेपालको राजनीतिका संकट झन्डै उस्तै लाग्छन् । दलहरू व्यक्तिवाद र गुटबन्दीका कारण कमजोर हुँदै छन् । आर्थिक संकट, राजनीतिक अस्थिरता, कुशासनले मुलुक आक्रान्त छ । सत्ताका लागि जुनै हदमा पनि ओर्लन तयार नेताहरूको बिगबिगीका बीच योग्य र क्षमतावान् नेतृत्व नेपाली राजनीतिको पहिलो आवश्यकता भएको छ । अर्थात्, हामीलाई सुनकको नेपाली अवतार चाहिएको छ । ४२ वर्षीय युवा राजनीतिको शक्तिशाली ओहोदामा पुग्दा नेपालीले चाख मानेर बेलायततिर सायद त्यसैले हेरेका हुन् ।

सुनकको नेपाली अवतार

के यो आम निर्वाचनले सुनकको नेपाली अवतार जन्माउला ?

सुनकजस्तै ऊर्जाशील नेतृत्वको आकांक्षा विभिन्न ढंगले जनस्तरमा प्रकट भइरहेको छ । तर, त्यो आकांक्षा कति पूरा होला, यसै भन्न सकिने अवस्था छैन ।

आशावादी हुन नक्सनुको एउटा मुख्य कारण हो— प्रधानमन्त्री चुन्ने विधि । मतदाताले प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत प्रधानमन्त्री चुन्ने अवसर पाउँथे भने आशावादी हुन सकिन्थ्यो पनि होला । तर, मतदाताले प्रत्यक्ष मतदानबाट प्रधानमन्त्री चुन्न पाउनुपर्छ भन्ने मुद्दा राजनीतिक विमर्शमै सीमित छ ।

प्रश्न उठ्न सक्छ, जसरी सुनक चुनिए, नेपालमा पनि प्रधानमन्त्री चुन्ने विधि उही त हो ?

हो, नेपालमा बेलायतमा जस्तै संसदीय अभ्यासबाट प्रधानमन्त्री चुनिन्छ । संसदीय दलका नेतालाई बहुमत सांसदले समर्थन दिएपछि प्रधानमन्त्री चुनिने पद्धति हामीले पनि अंगीकार गरेका छौं । तर, यहाँ बेलायतमा जस्तो लामो संसदीय अभ्यासको विरासत छैनÙ सुदृढ संसदीय परम्पराहरूको इतिहास छैन । हामीले यी तीन दशकमा संसदीय अभ्यासमार्फत प्रधानमन्त्री चुन्ने विधिलाई व्यवहारमा कति विकृत बनायौं भने, त्यो फगत ‘म्युजिकल चेयर’ मा परिणत भयो ।

आज प्रधानमन्त्रीजस्तो महत्त्वपूर्ण र शक्तिशाली ओहोदामा पुग्ने व्यक्तिको सबैभन्दा ठूलो चिन्ता ‘कुर्सी कसरी बचाउने’ भन्ने हुन्छ । बहुमतप्राप्त दलको नेताले समेत यो नियति बेहोरेको दृष्टान्त ताजै छ । २०४६ सालमा प्रजातन्त्रको पुनर्बहालीपछिका सुरुआती दिनमा संसदीय अभ्यासका क्रममा सत्ता राजनीतिका अनेक विकृति–विसंगति भित्रिए, जसलाई शिशु प्रजातन्त्रकालको सिकाइ भनेर ढाकछोप गरियो । संसदीय प्रजातन्त्रको बलियो अभ्यास हुन नसक्दा एकातिर जनस्तरमा निराशा बढ्यो, अर्कातिर निरंकुशताले टाउको उठायो । जनताले फेरि संघर्षबाट लोकतन्त्रको स्थापना गरे र मुलुक अग्रगामी राजनीतिको बाटामा हिँड्यो । तर, व्यवहारमा सत्ता राजनीतिकै विकृतिबाट दलीय नेतृत्व मुक्त हुन सकेन ।

सत्ता राजनीतिको विकृत रूप निर्वाचनका बेला अझ सतहमै देखिन्छ । त्यो उम्मेदवार छनोट प्रक्रियादेखि नै सुरु हुन्छ । मंसिर ४ कै निर्वाचनका लागि दलहरूले पारदर्शी मापदण्डबिनै उम्मेदवार छनोट गरे, जहाँ सक्रियता र योग्यता होइन, गुटगत र व्यक्तिगत निकटता हेरियो ।

वर्षौंदेखि पार्टीको निर्णय प्रक्रियामा हालीमुहाली गर्दै आएको शीर्ष नेतृत्वले आफूअनुकूल उम्मेदवार छनोट गरेर नवोदित नेतृत्व स्थापित हुने सम्भावना न्यून बनाइदिएको छ । ठूला राजनीतिक दलमा विकसित ‘ठालुतन्त्र’ र ‘दासप्रथा’ नवीन नेतृत्व जन्माउने बाटाका तगारा बनेका छन् । मुखमा लोकतन्त्र र व्यवहारमा अलोकतान्त्रिक चरित्र भएका शीर्ष नेताहरूको सत्तालिप्साले ‘नेपाली ऋषि सुनक’ हरू छायामा परेका छन् ।

तर, यसमा दोष शीर्ष नेतृत्वको जति छ, नयाँ पुस्ता पनि दोषमुक्त छैन । झन् यो पुस्ता जोखिम नै उठाउन नचाहने चरित्रको छ । प्रायः शीर्ष नेताहरूकै फेरो समातेर राजनीतिक सुरक्षाको छाता ओढ्न चाहने अवसरवादीहरूको झुन्डमा सीमित भएको छ, नवोदित पुस्ता । यो पुस्ताले शीर्ष नेतृत्वलाई राजनीतिक रूपमा हाँक दिन नसकेकै कारण दलभित्र केही सीमित शीर्ष नेताहरूको ‘अधिनायकवाद’ हावी भएको हो । आन्तरिक लोकतन्त्रको अभ्यास र नयाँ नेतृत्व विकासमा यही चरित्र बाधक भएको छ ।

प्रधानमन्त्री चुन्ने विधि फेर्ने विषयलाई दलहरूले पनि चुनावी मुद्दा बनाएका छन् । जनताको प्रत्यक्ष मतद्वारा मुलुकको कार्यकारी चुन्ने प्रणालीले योग्य र ऊर्जावान् नेतृत्व स्थापनाका लागि महत्त्वपूर्ण अवसर सृजना गर्न सक्छ । यो मुद्दामा अझ गम्भीर बहस आवश्यक छ ।

तर, यति बेलाको मुख्य अभिभाराचाहिँ विद्यमान विधिबाटै कसरी योग्य व्यक्तिलाई कार्यकारी नेतृत्वमा पुर्‍याउने भन्ने हो । पार्टीभित्रका गुटहरूको शक्तिसन्तुलन, टिकट वितरण, सत्तारूढ गठबन्धनको निर्णय प्रक्रियामा वृद्ध पुस्ताका नेताहरूको बोलवाला आदि अवस्था हेर्दा भावी कार्यकारी प्रमुखमा आशा जगाउने नेता चयन हुने सम्भावना कम छ ।

यद्यपि, दुइटा कुरामा मतदाताले ध्यान दिएर आ–आफ्ना क्षेत्रमा सांसद चुन्ने हो भने परिदृश्य फेरिन सक्छ । पहिलो, राजनीतिमा पुस्तान्तरण हुनुपर्छ भन्ने प्रगतिशील सोच भएको युवा पुस्तालाई चुन्ने । दोस्रो, परीक्षण भइसकेर असफलसिद्ध नेतालाई नचुन्ने (‘नो नट अगेन’) ।

यति गरे संसद्मा पुस्तान्तरण पक्षधरहरूको वर्चस्व हुनेछ र त्यो नवोदित नेतृत्व स्थापनाको ऐतिहासिक घुम्ती बन्न सक्छ । र, बेलायतमा ऋषि सुनक परीक्षण भइरहँदा हाम्रोमा गगन थापाहरूको पुस्ताले परीक्षण हुने अवसर पाऊन सक्छ । सोचौं ।

प्रकाशित : कार्तिक १७, २०७९ ०७:५०
प्रतिक्रिया
पठाउनुहोस्

निर्वाचन : लोकतन्त्रको सौन्दर्य कि राजनीतिक हतियार 

सिद्धान्त र कागजका ठेलीमा निर्वाचनलाई लोकतन्त्रको सौन्दर्य मानिए पनि व्यवहारको कसीमा यो कुरूप राजनीतिको हतियार बन्दै गएको आजको तीतो सत्य हो । 
राजाराम गौतम

रमिता, चटक, तमासा आदि पर्यायवाची शब्द हुन् । यी पर्यायवाची शब्दहरूको सूचीमा अब ‘नेपाली राजनीति’ पनि थपिदिए हुने भयो । किनकि, हाम्रो राजनीति र रमितामा भेद छुट्याउन कठिन हुन थालेको छ । राजनीतिका सञ्चालकहरू चटके र राजनीति तिनले देखाउने चटकमा सीमित हुँदै गएको छ । जनसाधारण तमासे बन्न विवश छन् ।

संघीय र प्रदेशस्तरीय निर्वाचनका लागि उम्मेदवार मनोनयनको पूर्वसन्ध्यामा जे–जस्ता अराजनीतिक परिदृश्य देखिए, ती सस्ता र भद्दा तमासा नै थिए ।

तमासाको एउटा केन्द्र बन्यो प्रधानमन्त्री निवास बालुवाटार, जहाँ दिनहुँ केही थान नेताहरूको जमघट हुन्छ । दिनमा मात्रै होइन, रात–रातभर बैठक हुन्छ । आमसरोकार ती बैठकका मुद्दा कहिल्यै बन्दैनन् । नेता–कार्यकर्ताको मोल बढाबढ हुन्छ । सार्वभौम मतदाताको विवेक र स्वाभिमानमाथि प्रहार गरिन्छ । बगरेले मासुको भाग लगाएजस्तो पद र सत्ताको भागबन्डा गरिन्छ । अनि थोरै पनि लज्जाबोध नगरी नेताहरू भन्ने गर्छन्— निर्वाचन लोकतान्त्रिक विधि हो, यो लोकतान्त्रिक शासन व्यवस्थाको महत्त्वपूर्ण आधार हो, यसले लोकतन्त्रलाई मजबुत बनाउँछ, पद्धतिलाई संस्थागत गर्छ ।

तर, अभ्यासमा निर्वाचनको राजनीति माछाबजारमा परिणत भइसकेको छ । लाग्छ, यहाँ सत्ताबाहेक सब थोक भ्रम हुन् । विचार, योग्यता, क्षमता, विधि/पद्धति सबै गौण हुँदै गुटको गणित, नातावाद, कृपावाद, सिन्डिकेट, अराजनीतिक गठबन्धन राजनीतिको नियति बनेको छ । सिद्धान्त र कागजका ठेलीमा निर्वाचनलाई लोकतन्त्रको सौन्दर्य मानिए पनि व्यवहारको कसीमा यो कुरूप राजनीतिको हतियार बन्दै गएको आजको तीतो सत्य हो ।

अपवित्र गठबन्धनको होड

विषाक्त राजनीतिको एउटा घीनलाग्दो दृश्य शुक्रबार बालुवाटारमै देखियो । सत्तारूढ गठबन्धनको एउटा घटक जनता समाजवादी पार्टी (जसपा) भनेजति उम्मेदवारको ‘भाग नपाएर’ बाहिरिएलगत्तै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ‘भाग खोज्न’ बालुवाटार भित्रियो ।

सत्ता गठबन्धनबाट बाहिरिएको जसपाले शनिबार एमालेसँग चुनावी तालमेल गर्ने निर्णय गर्‍यो । लोसपा एमालेको बुईबाट ओर्लेर सत्तारूढ गठबन्धनको फेर समात्न आइपुग्यो । केपी ओलीको प्रतिगमनविरुद्ध आन्दोलित जसपाचाहिँ एमालेको शरण पर्यो । बालुवाटारसँग उम्मेदवार भागबन्डाको मोलमोलाइ गरिरहेको जसपाले एमालेसँग पनि समानान्तर संवाद गरिरहेको थियो । एमालेसँग भागबन्डा मिलेपछि ऊ गठबन्धनबाट बाहिरियो ।

कुनै पनि राजनीतिक दलका लागि आवधिक निर्वाचन जनमतबाट परीक्षण भई अनुमोदन हुने महत्त्वपूर्ण अवसर हो । यो यस्तो अवसर हो, जसबाट दलले आफ्नो खास सामर्थ्य पहिचान गर्न सक्छ । तर, दलहरूले यो निर्वाचनमा आफ्नो वास्तविक सामर्थ्यको परीक्षण गर्ने अवसर पाउनेछैनन् । किनभने दलहरू आफ्नै बलबुतामा होइन, एकअर्काको बुई चढेर निर्वाचनको मैदानमा छन् ।

मूलतः यो निर्वाचनमा दुइटा गठबन्धनबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । पहिलो, सत्तारूढ गठबन्धन । नेपाली कांग्रेसको नेतृत्वमा रहेको गठबन्धनमा माओवादी, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र लोसपा छन् । दोस्रो, नेकपा एमाले नेतृत्वको गठबन्धनमा जसपा, राप्रपा लगायत छन् ।

बहुदलीय व्यवस्थामा दलहरूबीच मोर्चाबन्दी हुनु अस्वाभाविक होइन । संसदीय लोकतान्त्रिक व्यवस्था भएका अरू मुलुकमा पनि संयुक्त मोर्चा बनाएर चुनावी प्रतिस्पर्धामा जाने, सरकार गठन गर्ने प्रचलन छ । हाम्रोमा पनि आन्दोलनका बेला, सरकार बनाउँदा गठबन्धनको अभ्यास भएको पाइन्छ । यद्यपि यति बेला दलहरूबीच जसरी चुनावलक्षित गठबन्धन बनाउने होड चल्दै छ, यसले यसको राजनीतिक आधार र औचित्य प्रमाणित गर्दैन । बरु थुप्रै प्रश्न उब्जाउँछ ।

यी गठबन्धनहरूको राजनीतिक र सैद्धान्तिक आधार के हो ? चुनावी साझा कार्यक्रम/कार्यनीति के हुन् ? कुन वैचारिकी र राजनीतिक कार्यक्रमको धरातल टेकेर यी गठबन्धन बनेका हुन् ? यस्ता कैयन् प्रश्नको जवाफ दिन नसकेका यी सबैजसो नेताको एकसूत्रीय अभियान छ— जसरी पनि चुनाव जित्ने ।

लोकतान्त्रिक पद्धतिका ठूलठूला कुरा फलाक्ने नेताहरूको इमान किन चुनावकै बेला डगमाउँछ ? किनकि तिनलाई लाग्छ, निर्वाचन जसरी पनि सत्तामा पुग्ने भर्‍याङ हो, चढ्नुपर्छ ।

सत्तारूढ गठबन्धनका एक प्रमुख नेता शेरबहादुर देउवालाई पाँच पटक प्रधानमन्त्री भइसक्दा पनि सत्तास्वादको धीत मरेको छैन । माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सत्ताको लिगलिगे दौडमै छन् । एकीकृत समाजवादीका माधव नेपाल सत्ताकै च्याँखे दाउ थापेर बसेका छन् । यही सत्ता–दाउपेचका कारण यो गठबन्धन जीवित छ । जबकि यति बेला यो गठबन्धनको औचित्य छैन ।

जति बेला तत्कालीन प्रधानमन्त्री ओलीले विधि मिचेर संविधानलाई मूर्च्छित बनाए, त्यो बेला सडक र सदनमा खबरदारी गर्न यो गठबन्धन बनेको थियो । सर्वोच्च अदालतले कोमामा पुगेको संविधानलाई ब्युँताएर राजनीतिलाई लिकमा फर्काएपछि यसको औचित्य स्थापित पनि भयो । मुलुक आवधिक निर्वाचनकै बाटामा अघि बढिसकेको अवस्थामा यो गठबन्धनको औचित्य थिएन/छैन । तथापि, फेरि सत्तामा पुग्ने शीर्ष नेताको लालसाले यो साँठगाँठले निरन्तरता पाएको छ ।

विपक्षी गठबन्धनका नेता ओलीको दम्भी महत्त्वाकांक्षा उस्तै छ । सत्तारूढ गठबन्धनको औचित्यमाथि दर्जनौं प्रश्न उठाएका उनी आफैं अपवित्र मोर्चाबन्दी गर्दै छन् । पार्टीभित्रका आलोचक मन नपराउने, व्यक्तिपूजामा विश्वास राख्ने ओली घनश्याम भुसालहरूलाई पाखा लगाएर कमल थापा, राजेन्द्र लिङ्देन र रवीन्द्र मिश्रहरूलाई काखी च्याप्दै छन् । आफूलाई मूलधारको वामपन्थी पार्टी दाबी गर्न नछोडेका ओलीको दक्षिणपन्थी सहकार्यको निहित उद्देश्य पनि उही चुनावलाई सत्ताको सिँढी बनाउने नै हो ।

समानुपातिकको चीरहरण

उतारचढावका बीच नेपाली सट्टाबजारले अपेक्षाकृत गति लिन नसके पनि ‘सत्ताबजार’ चाहिँ गर्माउन थालेको छ । उम्मेदवार मनोनयनसँगै निर्वाचनको प्रक्रिया सुरु भएको छ । यद्यपि त्यसले आम मतदातामा उत्साहको सञ्चार गर्न सकेको छैन ।

लोकतान्त्रिक परिपाटीमा निर्वाचन एउटा महत्त्वपूर्ण पर्व हो । यस्तो पर्वले उल्लास, अपेक्षा अनि आशा जगाउन नसक्नु दुर्भाग्य हो । खासमा उम्मेदवार चयनका क्रममा दलहरूले जे–जस्ता प्रवृत्ति देखाए, विधि अपनाए, त्यसले निराशा अरू बढायो । दलहरूले समानुपातिक र प्रत्यक्ष दुवै प्रणालीमा उम्मेदवार छनोटको मापदण्ड बनाए पनि त्यसको यथोचित कार्यान्वयन गरेनन् । उम्मेदवार चयनको मुख्य आधार योग्यता होइन; पहुँच, पैसा र परिवारवाद भयो ।

समानुपातिक प्रणालीकै कुरा गरौं न ।

यो प्रणाली लागू भएको डेढ दशक भयो । तर, कार्यान्वयन सही ढंगले नहुँदा यो प्रणाली विकृतिको जड बन्दै छ । २०६३ सालअघिको संसदीय अभ्यास प्रत्यक्ष निर्वाचन प्रणालीकै आधारमा हुन्थ्यो । दोस्रो जनआन्दोलनले ल्याएको राजनीतिक परिवर्तनपछि समावेशी प्रतिनिधित्वको मुद्दा बलियो गरी उठ्यो । राजनीतिक निर्णय प्रक्रियामा सीमान्तकृत र किनारा पारिएका समुदायहरूको प्रतिनिधित्व सुनिश्चित गर्ने पवित्र उद्देश्य राखेर मिश्रित निर्वाचन प्रणाली रोजियो ।

समानुपातिक प्रतिनिधित्वको व्यवस्था गर्नुको मुल उद्देश्य समाजमा विद्यमान विविधताको सहभागिता सुनिश्चित गर्नु थियो । महिला, दलित, मधेशी, जनजाति, मुस्लिम आदि पिछडिएका वर्ग र समुदायलाई मूलधारको राजनीतिक प्रक्रियामा सहभागी गराउँदै समावेशी चरित्रको संसद् बनाउने उद्देश्यले समानुपातिक निर्वाचन प्रणाली अंगीकार गरिएको हो । तर, परिवारवाद, पहुँच र पैसाका आधारमा उम्मेदवार तय गर्ने प्रवृत्ति बढ्दा यो विकृत बन्यो । योग्य र क्षमता भएका छुटिरहे, पहुँच र पैसा हुनेले बारम्बार अवसर पाइरहे । एक हिसाबले समानुपातिक प्रणालीको जुन मर्म र उद्देश्य हो, दलहरूले त्यसको चीरहरण गरेर विकृत बनाए ।

प्रत्यक्ष निर्वाचनका लागि उम्मेदवार छान्दा पनि शीर्ष नेताहरू व्यक्तिगत आग्रहबाट माथि उठ्न सकेनन् । कांग्रेस र एमाले दुवै पार्टीमा शीर्ष नेतृत्वप्रति आलोचनात्मक धारणा राख्ने पंक्ति उम्मेदवारका लागि ‘अयोग्य’ साबित भए । विवादित र योग्यतामाथि प्रश्न उठेका अरू धेरै पात्र छानिँदा घनश्याम भुसाल, भीम रावल, मीनेन्द्र रिजालहरू शीर्ष नेतृत्वको सूचीमा नपर्नुको कारण अर्को केही थिएन, व्यक्तिगत इबी र पूर्वाग्रह नै थियो । उम्मेदवार चयनका बेला देखिएका यी प्रवृत्ति निराशा थप्ने कारक बनेका छन् ।

यो निर्वाचनमा उत्साह नजाग्नुको अर्को कारण हो— दलहरू मुद्दाविहीन हुनु । भागबन्डामै अल्झिएका दलहरूमध्ये कसको चुनावी मुद्दा के, मतदाताहरू जानकार छैनन् । २०७४ सालको चुनावमा राजनीतिक स्थिरता र समृद्धि मुद्दा अघि सार्दा मतदाताहरू आकर्षित भएका थिए । फलतः वामपन्थी पार्टीहरूले बलियो जनमत पाए र कम्युनिस्ट पार्टीले बलियो सरकार बनायो । तर, सरकार अल्पायुमै ढल्यो र एउटा अभूतपूर्व अवसरबाट चुक्यो । यो अवसर गुम्नुमा धेरथोर दोषी सबै शीर्ष पात्र छन् । अब ती पात्र के मुद्दा लिएर मतदातासमक्ष जालान् ? तिनले घोषणापत्रको कागजी खोस्टो त जारी गर्लान् तर मतदातालाई आकर्षित गर्ने र विश्वास जगाउने मुद्दा तीसँग भएको देखिँदैन ।

महँगो महोत्सव

दलहरूका मुद्दाप्रति मतदाताहरूको आकर्षण र विश्वास घट्नुको मुख्य कारण हो— जसले बढी खर्च गर्न सक्छ, त्यसैले चुनाव जित्छ भन्ने आम मनोविज्ञान स्थापित हुँदै जानु ।

यो मनोविज्ञानले यति दह्रोसँग जरा गाड्दै छ, उम्मेदवारको पहिलो प्राथमिकता खर्चको जोहो नै हुन थालेको छ । व्यापारी अथवा शक्तिकेन्द्रबाट पैसाको जोहो गर्न नसक्ने कैयौं उम्मेदवारले घरघडेरी बिक्री गरेका, ऋण लिएका दृष्टान्तहरू राजनीतिक वृत्तमा प्रशस्तै सुनिन्छन् । राजनीतिक योग्यताभन्दा वित्तीय व्यवस्थापन गर्न सक्ने पात्रले उम्मेदवार हुने अवसर पाउनुको एउटा कारण सम्भवतः यो पनि हो ।

निर्वाचनमा जुन स्तरमा वित्तीय अपारदर्शिता र अराजकता भित्रिँदै छ, त्यसले अन्ततः निर्वाचन प्रणालीमाथि अविश्वास मात्रै होइन, दलीय तन्त्रप्रति नै निराशा बढाउनेछ ।

उसै पनि निर्वाचन महँगो हुँदै गएको यथार्थ हो । सरकारले निर्वाचनका लागि १० अर्बको धनराशि छुट्याएको छ । मंसिर ४ गतेको संघीय र प्रादेशिक निर्वाचनका लागि आयोगले १० अर्ब ९८ करोड मागेपछि सरकारले १० अर्ब ४ करोड बजेटको सीमा तोकिदिएको छ ।

यसअघि स्थानीय तह निर्वाचनमा ५ अर्ब ४ करोड खर्च भएको थियो । २०७४ सालको स्थानीय तह निर्वाचन तीन चरणमा गरिएकाले ७ अर्ब १५ करोड खर्च भएको थियो । यस पटक एकै चरणमा चुनाव हुन सकेकाले कम खर्च भएको हो । अघिल्लो स्थानीय तहका तुलनामा खर्च कम भए पनि सानो अर्थतन्त्र भएको मुलुकका लागि यो निर्वाचन बजेट ठूलो हो ।

सरकारले विनियोजन गरेको बजेटबाहेक दल र उम्मेदवारहरूले गर्ने खर्च बेग्लै हो, जसको नियमन र पारदर्शी लेखाजोखा भएको पाइँदैन । निर्वाचन आयोगले उम्मेदवारहरूलाई खर्चको सीमा तोकिदिएको छ । उम्मेदवारहरूले सीमाभित्रै रहेर खर्चको विवरण पेस गर्ने गरेका छन् तर खर्च त्यसभन्दा कैयौं गुणा बढी हुने गरेको पाइन्छ । कांग्रेस नेता शशांक कोइरालाले गएको चुनावमा २१ लाख ७५ हजार खर्च गरेको हिसाब निर्वाचन आयोगलाई बुझाए तर एउटा सार्वजनिक कार्यक्रममा उनले हाकाहाकी ६ करोड खर्च भएको बताए । उम्मेदवारको खर्चको अपारदर्शिता कुन स्तरमा छ भन्ने बुझ्न यही एउटा उदाहरण काफी छ ।

यसरी एकातिर निर्वाचन आर्थिक अपारदर्शिताको दलदलमा फस्दै जानु र अर्कातर्फ राजनीतिक दलहरूको सत्ताकांक्षाको साधनमा सीमित हुनु गम्भीर चिन्ताको विषय हो । त्यो किन पनि भने, हामीसँग राजनीतिक व्यवस्था फेर्ने सुविधा छैन । विश्वमै अभ्यास भएकामध्ये उत्कृष्ट राजनीतिक व्यवस्था हामीले अपनाएका छौं । योभन्दा उन्नत व्यवस्था कहाँ खोज्ने, जहाँ बहुलवाद, प्रतिस्पर्धात्मक राजनीतिलाई अंगीकार गरिएको छ ? आजको संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउन ठूलो राजनीतिक संघर्ष र बलिदान गर्नुपरेको यथार्थ कहीँकतै छिपेको छैन । यो पृष्ठभूमिमा पाएको उपलब्धिमाथि यो स्तरको खेलबाड सह्य हुन सक्दैन ।

त्यसैले आम मतदाता सचेत हुने बेला यही हो । सत्ताको निहित स्वार्थमा वशीभूत पात्रहरूलाई दण्डित गर्ने उचित अवसर आएको छ । लोकतन्त्रमा विश्वास गर्नेहरूका लागि निर्वाचन महत्त्वपूर्ण महोत्सव हो । यसका माध्यमबाट मतदाताले आफ्ना सही प्रतिनिधि छानी शासनलाई वैधानिकता प्रदान गर्छन् । यो चानचुने जिम्मेवारी होइन । राजनीतिलाई सत्तास्वार्थको खेल र तमासा बनाउने पात्रहरूलाई ‘तमाचा’ मार्ने सुवर्ण अवसर विवेकी मतदाताहरूले नगुमाऊन् ।

@Rajaramgautam

प्रकाशित : आश्विन २६, २०७९ ०८:३५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×