चारैतिर सी चिनफिङ मात्रै

चिनियाँहरूलाई खोंगीभित्र राख्ता नै राष्ट्रिय एकता रहन्छ भन्नेमा पनि सी चिनफिङ सायद विश्वास गर्छन् । र नै, चीनमा ‘यो गर, त्यो गर, सब गर, तर राजनीति नगर’ भन्दै सरकारले सबै सुविधा हरेक चिनियाँका घरमै पुर्‍याइदिने गरेको छ । यो सायद प्रजातान्त्रिक राष्ट्रहरूमा हुनै सक्तैन ।
महेन्द्र पी‍. लामा

चीनमा फेरि अचम्मै भयो । विश्व नै चकित भयो । दस वर्षदेखिका राष्ट्रपति सी चिनफिङ अब लगभग जीवनभरिकै लागि राष्ट्रपति रहने भए । चीन सन् १९४९ मा गणतान्त्रिक राष्ट्र भएपछि केवल माओ त्सेतुङले यस्तो स्थान ओगटेका थिए । दस दिनअघि बेइजिङको तियानमेन स्क्वायरमा अवस्थित ग्रेट हलमा आयोजित कम्युनिस्ट पार्टीको २० औं कंग्रेसमा उपस्थित चीनका विभिन्न क्षेत्रका २ हजार ३ सय प्रतिनिधिले २ सय जना केन्द्रीय समिति सदस्य चुने । यिनीहरूले फेरि २५ जना पोलिटब्युरो सदस्य चुने । यी २५ जनाले अन्त्यमा गएर सातसदस्यीय सर्वोच्च पोलिटब्युरोको स्ट्यान्डिङ कमिटी चुने जहाँ प्रथम नेता फेरि सी चिनफिङ नै हुने भए, सी चिनफिङले फेरि चीनको सबैभन्दा माथिका तीन महत्त्वपूर्ण स्थान ओगट्ने भए ।

गत दस वर्षमा झैं, सी चिनफिङ कम्युनिस्ट पार्टीका मुख्य सचिव, चीनका राष्ट्रपति अनि चीनको सेन्ट्रल मिलिटरी कमिसनका अध्यक्ष हुने भए । अर्थात्, पार्टी, राष्ट्र र मिलिटरी सबैका अगुवा सी चिनफिङ नै हुने भए । कम्युनिस्ट पार्टीको सन् २०१७ को १९ औं कंग्रेसले, हरेक दस वर्षमा पार्टीको नेतृत्व परिवर्तन गर्ने चलिआएको संवैधानिक प्रावधानलाई हटाएपछि सी चिनफिङले त्यति बेलै आफू सधैं रहनका लागि संवैधानिक र कानुनी अड्चनहरू हटाएका थिए । र, आफूलाई माओ त्सेतुङकै बराबरी गराउँदै पार्टीको एक्लो–सर्वोच्च–सर्वमान्य (कोर) नेता घोषणा गरेका थिए । त्यसपछि सी चिनफिङका विचारहरू (थट) लाई व्यापक प्रचारप्रसार गर्दै कम्युनिस्ट पार्टीमा एउटा नयाँ शृंखला–सोच सुरु गरिएको थियो ।

भर्खरै भएको २० औं पार्टी कंग्रेसमा विश्वलाई नै थर्काउने छ–सातवटा कामकुरा भए । प्रथमतः, चीनमा रहेको एउटै राजनीतिक दल कम्युनिस्ट पार्टीमा अबोप्रान्त केवल सी चिनफिङमाथि पूर्ण आस्था–श्रद्धा–भरोसा राख्ने उच्चस्तरका सदस्यहरू मात्रै रहने भए । पार्टीलाई नै फुटाएर सी चिनफिङलाई हटाउँछौं भन्ने सदस्यहरूलाई एकएक गरी पछारियो । र, पार्टी नै तहसनहस पारेर चीनलाई सोभियत संघझैं टुक्राटुक्रा बनाउँछु भन्ने अमेरिकाको सपनालाई चकनाचुर बनाइयो । दोस्रो, सी चिनफिङलाई चुनौती दिने मुहान–संस्था–झुन्ड आदिलाई जरैबाट उखेल्ने स्थितिमा राष्ट्रलाई पुर्‍यायो यो २० औं कंग्रेसले । सी चिनफिङअघि दस वर्ष पार्टीका महासचिव र चीनका राष्ट्रपति रहेका, सबैले मानेका नेता हु चिन्ताओलाई कंग्रेसको मुख्य अधिवेशनबाट निकालियो, यो अति नै मर्माहत दृश्य थियो । उनीको छेवैमा बसेका राष्ट्रपति सी चिनफिङ र अलिक परतिर बसेका प्रधानमन्त्री ली खछ्याङले ट्वाल्ल परेर हेर्दै शिर हल्लाए पनि, हु चिन्ताओलाई यसरी लगभग अभद्रतापूर्वक बाहिर निकालिएको भिडियोले गर्दा विश्वमै अनेकन् अडकल काटिए । कसैले अस्वस्थ भए होलान् भने, कसैले सी चिनफिङले हु चिन्ताओलाई पोलिटब्युरोका नामहरू लेखिएको बन्द लिफाफा खोल्न नदिने प्रयास गरेका हुन् भने, कसैले वृद्ध हु चिन्ताओलाई त्यसरी निकाल्ने योजना पहिल्यैदेखि थियो पनि भने । तर कोही सदस्य उठेनन्, आक्रोश–संशय जनाएनन्, यति ठूलो जमघटमा सबै केही नभएझैं मौन धारण गरेरै अचल भएर बसिरहे । चीनमा कम्युनिस्ट पार्टी यति अनुशासित हुन्छ, एकएक मिनेटको कार्यक्रम पहिल्यै तय गरिन्छ । त फेरि राष्ट्रिय र अन्तर्राष्ट्रिय मिडियाका पत्रकारहरू त्यहाँ त्यस समय किन थिए भन्ने प्रश्नहरू पनि उठाइए ।

अन्तमा प्रायः सबैको चूडान्त यही थियो— सी चिनफिङ पहिले चिनियाँहरूलाई अनि विश्वसमुदायलाई नै आफूलाई कसैले कहीँ कहिल्यै चुनौती–धम्की दिन सक्तैन भन्ने सन्देश दिन चाहन्थे । हु चिन्ताओले कम्युनिस्ट पार्टीभित्रकै शक्तिशाली युथ लिगलाई नेतृत्व दिएका थिए तर सी चिनफिङ युथ लिगलाई पटक्क मन पराउँदैनन् । अबोप्रान्त पार्टीभित्र युथ लिगको अन्त नै भएको अर्को सन्देश सी चिनफिङले दिए ।

तेस्रो, सी चिनफिङले चीनभित्र कोरोना महामारीलाई लिएर भयानक अनि व्यापक रूपमा चलाइएको ‘शून्य सहनशीलता’ (जिरो टोलरेन्स) अभियान जारी नै रहनेछ भन्ने अर्को सन्देश दिए । बेइजिङदेखि सांघाई र तिब्बतदेखि फुचियानसम्मै हप्तौंहप्ता पूर्ण रूपले लकडाउन भएकाले चिनियाँहरू छटपटाए । कामधन्धा बन्दै भयो । एउटा नगरदेखि अर्को नगर पस्नासाथ क्वारेन्टिनमा थुन्न थालियो । खाने–घुम्ने सब कुरामा हाहाकार भयो । बेइजिङदेखि ल्हासासम्मै विरोध प्रदर्शनहरू भए तर चीन सरकार हल्लिएन, हल्लिएकै छैन । यस्तै स्थितिमा बेइजिङमा यो २० औं कंग्रेस भयो । सांघाईमा लकडाउन लगाएर जनताका आँखाको छारो बनेका, कम्युनिस्ट पार्टीको त्यहाँका सचिव ली चियाङ अब प्रधानमन्त्री हुने भए । कहिल्यै राष्ट्रिय स्तरमा कार्यभार नसम्हालेका ली चियाङमाथि सी चिनफिङको आशीर्वाद थियो । एउटा अर्को तीतो र सग्लो सन्देश हो— अबोप्रान्त सी चिनफिङको शक्ति सीमाहीन–अपरिमेय–बेरोकटोक हुनेछ । जसले टक्कर दिन्छ, ऊ विलीन हुन्छ ।

चौथो, राष्ट्रपति सी चिनफिङले चीनमा रहेको समाजवादमा चिनियाँ तौरतरिका–तत्त्व नै हुन्छ भन्ने एउटा सिद्धान्तलाई अघि बढाएपछि अबोप्रान्त चीनमा आर्थिक विकासको रूपरेखा र दिशा नै परिवर्तन हुने सम्भावना देखिन्छ । सन् २०००–२०२० को अवधिमा चीनको सबैभन्दा बढी आर्थिक वृद्धिदर राष्ट्रपति हु चिन्ताओको दसवर्षे कार्यकाल (सन् २००२–२०१२) मा थियो । त्यति बेला चिनियाँ आर्थिक वृद्धिदरले १४ प्रतिशतको उचाइ छोएको थियो । तर सी चिनफिङ राष्ट्रपति भएपछि यो विकासदर द्रुत गतिमा घट्दै गएर कोरोना महामारीको समय सन् २०२० मा २ प्रतिशत रह्यो । चीनलाई अमेरिकाको राष्ट्रिय आयलाई उछिन्न आर्थिक वृद्धिदर कमसेकम ५ प्रतिशत चाहिन्छ । सबैले भन्थे सन् २०२०–२०३० को अवधिमा चीन नै विश्वको अग्रिम राष्ट्र हुन्छ भनेर, तर आजको स्थितिमा चीनले अमेरिकालाई उछिन्न अझै ४० वर्षै लाग्न सक्ने अडकल पनि गरिन्छ ।

पाँचौं, सी चिनफिङले गत दस वर्षमा अति नै महत्त्वपूर्ण कार्यहरू गरे । राष्ट्रलाई चीनभित्र गरिबीको नामोनिसान नराख्ने स्थितिमा पुर्‍याए । विश्वभरि नै बेल्ट एन्ड रोडको व्यापक परियोजना अघि बढाए । एसिया, युरोप, अफ्रिका, दक्षिण अमेरिका कहाँ पुगेन यो ! बर्मादेखि पाकिस्तानसम्म, नेपालदेखि श्रीलंकासम्म बीआरआई (बेल्ट एन्ड रोड इनिसिएटिभ) को नारा गुन्जियो । भारत लगायतका अन्य छिमेकी राष्ट्रहरू चकित भए, अन्योलमा परे । अझै घतलाग्दो काम त, सी चिनफिङले चीनमा भ्रष्टाचारको विरोधमा यति भीषण अभियान चलाए कि भ्रष्टाचारीहरू हाम फालेर मर्न थाले । कम्युनिस्ट पार्टीका १ सयभन्दा बढी उच्चस्तरीय सदस्य, मध्य र निम्नस्तरका १ लाखभन्दा बढी कर्मचारी आदिलाई थुनिदिए । भ्रष्टाचार गरेको धन वापस गर्न लगाए । पूर्वप्रधानमन्त्री वेन चियाबाओकी श्रीमती झाङ पेली, चोङकिङका शक्तिशाली नेता बो जिलाई, सर्वोच्च पदमा रहेका सुरक्षा कर्मचारी सबै भ्रष्टाचारीलाई एउटै डोकामा हालिदिए । देङ स्याओपिङले सन् १९७९ मा विकास ल्याउने अभियान द्रुत गतिमा सुरु गरेपछि चीनमा भ्रष्टाचारले जरै गाड्यो । पार्टीका सदस्यहरू, सरकारी अधिकारी–कर्मचारी र निजी कम्पनीबीच भ्रष्टाचारको गठबन्धन नै सुरु भयो । सी चिनफिङले नाङ्लोको चामलबाट घुन र बिया निफनेझैं, सबैलाई एकएक गरी फालिदिए । यी सब गरेर सी चिनफिङले चीन र विश्वलाई सन्देश दिए— भ्रष्टाचार र भ्रष्टाचारीहरू राष्ट्रका निम्ति संक्रामक रोग मात्रै नभएर बोझ पनि हुन् । यो अभियान अझै चर्कने नै भयो ।

छैटौं, २० औं कंग्रेसमा सी चिनफिङले दिएको कार्य रिपोर्ट सम्भाषणले अर्को के कुरो स्पष्ट गर्‍यो भने, चीन आफ्नो सार्वभौमिकता र राष्ट्रिय भौगोलिक एकतालाई बचाउन कुनै पनि हदसम्म जान तयार रहनेछ । राष्ट्र गणतन्त्र भएको १ सय वर्ष अर्थात् सन् २०४९ भित्र ताइवानलाई अभिन्न अंग बनाउने अभिप्रायमा कसैले अड्चन पुर्‍याए त्यसको भीषण र सामरिक रूपमा विरोध गर्ने कुराले अमेरिका र युरोप फेरि काम्न थाले । सी चिनफिङले यस्तो सन्देश पहिल्यै दिइसकेका थिए, रुसलाई युक्रेन हमलामा साथ दिएर । चीनको यस्तो घोषणाले अमेरिका अतालिएको छ । र नै, चीन र अमेरिकाबीच तीनवटा क्षेत्र (व्यापार, टेक्नोलजी, सामरिक) लाई लिएर लगभग युद्ध नै हुने सम्भावना अघि आएको छ । अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरु गरेको यो अघोषित युद्धमा हालका राष्ट्रपति बाइडेनले माथिल्लो स्तरका सेमी–कन्डक्टर बनाउने, निर्यात गर्ने, अन्वेषण गर्ने टेक्नोलजीमा भर्खरै धेरै नियन्त्रण र प्रतिबन्ध लगाएपछि र चीनले ‘मेड इन चाइना–२०२५’ को कार्यक्रम अघि ल्याएपछि, युद्ध सुरु नै भएको महसुस गरिन्छ । अमेरिकाका विभिन्न वैज्ञानिक प्रयोगशाला, विशिष्ट विश्वविद्यालय र तकनिकी संस्थाहरूमा अध्ययनरत–कार्यरत चिनियाँहरूमाथि कडा निगरानी राखिने रोग अब युरोप र अन्य राष्ट्रमा पनि फैलिने सम्भावना छ । भारतले त कैयन् चिनियाँ एप्सहरू बन्दै गरिदियो, ठूला मोबाइल कम्पनीहरू सियोमी आदिलाई सरकारी वित्तीय कानुन उल्लंघन गरेकामा करोडौंको जरिवाना र चीनबाट आउने विदेशी पुँजी निवेशमाथि लगभग प्रतिबन्ध नै लगाइदियो । भारत–चीन मित्रता र सद्भाव सर्वोच्च स्तरमा पुग्दापुग्दै जस्तो प्रकारले चीनले भारतीय भूमि हत्याउने दुष्प्रयास गर्‍यो, भारतको चीनमाथिको विश्वसनीयता नै छिन्नभिन्न भयो ।

अनि सातौं, चीनभित्रै र बाहिर अड्डै जमाउने चिनियाँ कम्पनीहरू पनि अब राष्ट्र, राष्ट्रपति र कम्युनिस्ट पार्टीको चपेटा र नियन्त्रणमा पर्ने नै भए । विश्वप्रसिद्ध अलिबाबा कम्पनीका मालिक ज्याक मा, उनकी दिदी, मिनहाङ शैक्षिक प्रणाली आदि बिजिनेसहरूलाई निकै आघात पुग्यो । यति मात्रै कहाँ हो र, बुद्धिजीवी–पार्टी–सरकारबीचको मेलमिलाप अब नरहला जस्तो छ ! रेन चियाचिङजस्ता बुद्धिजीवीलाई सी चिनफिङको कार्यशैली मन नपराएको बारे लेख लेख्दा र कम्युनिस्ट पार्टीकै शिक्षादीक्षा स्कुलका अध्यक्ष साई पनि कारबाहीको चपेटामा परे । रेलाई कारावासमा हालियो, साई राष्ट्र नै छोडेर हिँडे । अर्कातिर, फालुङ गोङ, ख्रिस्टान धर्मावलम्बीहरू तिरस्कृत छन् ।

सी चिनफिङको आगामी दशक कस्तो होला भन्ने विषयमा व्यापक चर्चा–परिचर्चा हुँदै छ । सी चिनफिङले सोभियत संघ टुक्राटुक्रा हुनुका कारणहरू अनि यसमा अमेरिका र युरोपेली राष्ट्रहरूको भूमिकालाई नियालेर हेरेका पनि छन् । तसर्थ उनी माओ त्सेतुङले चीनलाई ‘सांस्कृतिक क्रान्ति’ को दसवर्षे अवधि (सन् १९६६–१९७६) मा छियाछिया बनाएका भए पनि त्यो कदमलाई कदापि धिक्कार्दैनन् । किनकि उनलाई सोभियत संघका नेता ख्रुस्चेभले अर्का महान् नेता स्टालिनलाई धिक्कार्दाको प्रतिफल थाहा छ । सी चिनफिङलाई सोभियत संघ टुक्राउनमा त्यहाँको कम्युनिस्ट पार्टीभित्रकै धनाढ्य र भ्रष्टाचारी ओलीगार्कीहरूको भूमिका थाहा थियो र नै उनले चिनियाँ कम्युनिस्ट पार्टीमा रहेका ओलीगार्कीहरूको झुन्डलाई लगभग शेष नै गरिदिए । यसभित्र अलिबाबा कम्पनीका ज्याक मा पनि पर्ने नै भए । अमेरिकाले सोभियत संघका तिनताकका नेता मिखाइल गोर्वाचोभलाई कसरी ग्लासनोस्त (खुलापन) र पेरेस्त्रोइका (पुनःसंरचना) अन्तर्गत राष्ट्रव्यापी कार्यक्रम चलाउन लगायो र जनताका आँखा उग्रिएपछि कसरी आआफ्नै राष्ट्रहरूको माग गर्दै सोभियत संघ नै टुक्रा पारिदियो भन्नेबारे पनि सी चिनफिङ पूर्ण रूपमा अवगत छन् । चिनियाँहरूलाई खोंगीभित्र राख्ता नै राष्ट्रिय एकता रहन्छ भन्नेमा पनि उनी सायद विश्वास गर्छन् । र नै, चीनमा ‘यो गर, त्यो गर, सब गर, तर राजनीति नगर’ भन्दै सरकारले सबै सुविधा हरेक चिनियाँका घरमै पुर्‍याइदिने गरेको छ । यो सायद प्रजातान्त्रिक राष्ट्रहरूमा हुनै सक्तैन ।

सी चिनफिङले आफ्नो सर्वशक्तिमान् ओहोदालाई कुन दिशातर्फ लैजालान्, यो विषय नै चाखलाग्दो छ । ‘यहाँ हमला, त्यहाँ आक्रमण गर्छु’ भन्नासाथ इन्डो–प्यासिफिकका प्रमुख राष्ट्रहरू अमेरिका, जापान, भारत, अस्ट्रेलिया र युरोप एकत्रित हुनेछन् । आजको रुसले यही कारण युक्रेनजस्तो सानो राष्ट्रलाई पनि जित्नै सकेको छैन । ‘मार्क्सवादी कम्युनिस्ट विचारधाराले संसार र छरछिमेकी पिट्छु र भिजाउँछु’ भन्नासाथ प्रजातान्त्रिक राष्ट्रहरू एकत्रित भएर सी चिनफिङको खेदो गर्नेछन् । र चीनभित्रै कम्युनिस्ट पार्टीलाई फुटाउने षड्यन्त्र रच्नेछन् । ‘विश्वकै अर्थव्यवस्था नियन्त्रणमा ल्याउँछु’ भन्नासाथ विश्व व्यापार संघ, अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैंकदेखि अमेरिका र जापानसम्मले व्यापार वाणिज्यमा रोकटोक आदि गर्नेछन् । ‘बीआरआईलाई, चीनको विदेशनीतिलाई अझै व्यापक रूपमा अघि बढाउँछु’ भन्नासाथ श्रीलंका र पाकिस्तानमा चिनियाँ ऋणको बोझले ल्याएको राजनीतिक उथलपुथलको कथाव्यथा अघि आउने नै छ ।

सी चिनफिङको अघि–बढाई सबैले ध्यानै लाएर हेर्दै छन् । अमेरिकाजस्तो निर्धक्क हमला गर्ने राष्ट्र, युक्रेनलाई उल्काएर विध्वंसमा हालिदिने देश अनि विश्व अर्थव्यवस्था र सञ्चारमञ्चलाई आफ्ना बहुराष्ट्रिय कम्पनीद्वारा आफूमुनि राख्ने शक्ति–प्रवृत्तिलाई ठीक गर्न सी चिनफिङजस्तै नेता चाहिन्छन् भन्ने मत पनि चारैतिर फैलिँदै छ । चीन र सी चिनफिङ साँच्चै अघि बढ्ने हो भने आफ्ना छिमेकी राष्ट्रहरूलाई अति नै नजिक राखेर निःस्वार्थ रूपमा काम गर्नैपर्छ । भारतसँगको सीमा विवादलाई समयसीमा तोकेर सद्भावनाका साथ सुल्झाउनैपर्ने हुन्छ । चीन अघि बढ्दा, भारत माथि पुग्दा हरेक एसियाली खुसी–गर्वित हुन्छन् । अनि पो एसियाली शताब्दीको सुरुआत भएको महसुस गर्छन् !

प्रकाशित : कार्तिक १५, २०७९ ०८:३५
प्रतिक्रिया
पठाउनुहोस्

नो नट अगेन !

निर्वाचन आयोगले नैसर्गिक अभिव्यक्ति स्वतन्त्रतासँगै मत–अधिकार वा मत–बहिष्कारको अधिकारमाथि बन्देज लगाउन खोजे पनि सनातनी अलोकतान्त्रिक नेतृत्वलाई ‘नो नट अगेन’ भन्नैपर्ने भएको छ, चाहे त्यो कम खराबलाई मतदान गरेर होस् या मतदान बहिष्कार गरेर होस् वा ‘नो भोट’ को प्रावधान राखेर होस् ।
राजेन्द्र महर्जन

राजनीतिक संसारमा नीति र नैतिकताबिनाको राज कस्तो हुन्छ ? सवाल, मुद्दा र एजेन्डाशून्य भएको तन्त्र कस्तो हुन्छ ? यस्तो राज वा तन्त्रमा मतहीन निर्वाचन कस्तो हुन्छ ? राजनीतिक दल भिन्नाभिन्नै भए पनि अलग–अलग विचारहीन चुनाव कस्तो हुन्छ ? अग्रगामी मत, न्यायिक विचार, समतामूलक काल्पनिकीको खडेरीबीच सामाजिक पुनःसंरचनाबिनाका आर्थिक विकास, समृद्धि र क्रान्तिको गफ हाँक्ने राजनीतिक गफाडीहरूबीचको छनोट कस्तो हुन्छ ?

असैद्धान्तिक राजनीतिक गठबन्धन गर्दै, नेतृत्वको चुनावी जित सुरक्षित गर्दै, एकले अर्कालाई गलाउने र गिज्याउने गरी अराजनीतिक आरोप–प्रत्यारोपको प्रतिस्पर्धाका क्रममा तरबार–बेचुवा र घीउ–बेचुवाजस्ता राजनीतिक व्यापारीहरूबीच एकलाई चुन्ने काम कस्तो हुन्छ ? मुकुन्डो फरक–फरक भए पनि करिब–करिब एकलजातीय हित र सम्भ्रान्तवर्गीय स्वार्थ भएका नेताहरूबीचको छनोट कस्तो हुन्छ ? यस्ता धेरै प्रश्नको एउटै जवाफ हुन्छ— मंसिर ४ को निर्वाचनजस्तो हुन्छ ।

छानिएकाहरूबीच ‘छनोटको स्वतन्त्रता’

सामान्यतः निर्वाचन भनेको त विभिन्न दलका नीति, नेतृत्व र नैतिकता परख गर्ने कसी हुनुपर्ने हो; उन्नत नीति र नैतिकता जाँच्ने र नेतृत्व चयन गर्ने उत्सव हुनुपर्ने हो । आफ्नो जीवनको भविष्य तय गर्ने नीति–निर्धारकहरूको छनोट गर्ने तथा बेकम्मा उम्मेदवारहरूलाई पाखा लगाउने र कर्मशील–विवेकशील व्यक्तित्वहरूलाई काखमा राख्ने लोकतान्त्रिक प्रक्रिया हुनुपर्ने हो । तर, यस्तो राजनीतिक सामान्य समझ (पोलिटिकल कमन–सेन्स) लाई लात मार्ने दुष्कर्ममा आफूलाई सबैभन्दा प्रबुद्ध, सचेत र अगुवा भन्ने दलका नेताहरू सफल भएका छन् । कुनै न कुनै रूपमा देउवा, प्रचण्ड, ओली वा नेपालकै फोटोकपी उम्मेदवार हुने र विजयी हुने अवस्था बनाउने गरी उनीहरूले सम्पूर्ण चुनावी प्रक्रियालाई नै अलोकतान्त्रिक कलाबाजीमा सीमित गरेका छन् । सकेसम्म आआफ्ना दलका तस्कर, ठेकेदार, व्यापारी, बिचौलिया र अपराधीहरूबीच मात्रै चुनाव गर्न दिने दुश्चक्र रचेर उनीहरूले आफ्ना असल प्रतिनिधि छान्ने बालिग जनताको मताधिकारलाई नै खुम्च्याइसकेका छन् । जनआन्दोलनबाट स्थापित समानुपातिक समावेशी सिद्धान्तलाई पनि आफ्नो वर्ण–जात–जाति–समुदायकै आफन्त सँगेट्ने, अर्को भाषामा, श्रीमतीदेखि गर्लफ्रेन्डसम्मलाई समेट्ने नातेदारी अस्त्रका रूपमा दुरुपयोग गरिसकेका छन् । यसरी मताधिकार, मतदानद्वारा चुन्ने प्रक्रिया र समग्रमा निर्वाचनको लोकतान्त्रिक अभ्यासकै अपहरणको क्रियाकर्ममा दलपतिहरू कदाचित् सफल हुनुको अर्थ हो— ‘सार्वभौम जनता’ को लोकतन्त्र नाम मात्रैको बाँकी छ । यसमा उनीहरू सफल हुनुको मतलब यस निर्वाचनमा सार्वभौम जनता मुकदर्शक वा मौन अनुयायी (फलोअर) वा निष्क्रिय भोटर हुने करिब–करिब पक्का छ, एकाध अपवादबाहेक ।

आफूलाई जनवादी, लोकतन्त्रवादी र समाजवादी ठान्ने नेताहरू जनताको सार्वभौम–सत्ता खोस्न सफल भइसकेका छन् र मतदातालाई आफूले छानेका उम्मेदवारलाई मात्र छान्न दिने ‘छनोटको स्वतन्त्रता’ दिन तम्तयार छन् । सभापति वा अध्यक्षका कोटको अँध्यारो खल्तीबाट फुत्त–फुत्त निस्केका दलीय उम्मेदवारहरूसँग मतदातालाई दिने कुनै आशा र उम्मिद बाँकी छैनन् । न उनीहरू जनतालाई सुशासनको प्रत्याभूति दिलाउन सक्छन्, न रोजगारी सृजना गर्ने योजना पेस गर्न सक्छन्, न सामाजिक सुरक्षाको अनुभूति दिलाउने वाचा गर्न सक्छन्, न त न्यायिक विकासलाई तीव्रता दिने सपना देखाउन सक्छन् । तिनको क्षतिपूर्तिस्वरूप उनीहरू संघीयता, धर्मनिरपेक्षता, गणतन्त्रकै विरोध चर्काउनेदेखि लिएर हिन्दुत्व र राष्ट्रवादमिश्रित प्रज्वलनशील पदार्थ बेच्नेसम्मका राजनीतिक व्यापारीहरूका पश्चगामी माल बिक्री–वितरण गर्दै छन् । जम्माजम्मीमा, भिन्नाभिन्नै दलमा बाँडिएका नीति, मुद्दा र सपनाविहीन अनुहार हेरेर मतदान गर्नु भनेकै सर्वोत्तम लोकतान्त्रिक अभ्यास हो भन्दै व्याख्या गरिने खतरा बढ्दो छ । जनता र मतदाताको लोकतन्त्र अपहरण गर्ने दलपतिहरूले दिएका बकम्फुसे विकास र हावादारी समृद्धिका नाराले लोक र लोकतन्त्रलाई गिज्याइरहनु नै यतिखेरको राजनीतिक त्रासदी हो ।

आन्तरिक लोकतन्त्रको हत्या

आ–आफ्नो युगमा सम्पूर्ण रूपमा सामाजिक परिवर्तनको सपना बेच्दै, संगठनको जालो बनाउँदै, सशस्त्र र शान्तिपूर्ण संघर्षको बाटो अँगाल्दै स्थायी सत्ताका अंग हुन पुगेका राजनीतिक दलहरू र तिनका नेतृत्व कसरी यो राजनीतिक त्रासदीका (खल)नायक हुन पुगे, अहिलेको अहं सवाल हो । आफ्नो दलभित्र र आफ्ना जनवर्गीय वा भ्रातृ संगठनमा समेत आन्तरिक लोकतन्त्रको अभ्यास नगर्ने र

आफ्नो नेतृत्व आफैंले चुन्ने अधिकार लागू गर्न नदिने दलपतिहरूले आम जनतालाई स्वतन्त्र रूपमा लोकतान्त्रिक अभ्यास गर्न कसरी दिन सक्छन्, यो बेवास्ता गर्न नसकिने प्रश्न हो ।

भुवनलाल जोशी र लियो ई. रोजका अनुसार, नेपालमा राजनीतिक दलहरूको इतिहास एक सय वर्ष पनि लामो छैन । राजनीतिक आन्दोलनको अगुवाइ गरेका दलहरूमै संगठन र पद्धति गौण हुने गरेको छ भने तात्कालिक लक्ष्यका रूपमा सत्ता–शक्ति प्राप्ति र नेतृत्वमाथि एकाधिकारचाहिँ प्रमुख हुने गरेको छ । राजनीतिक आन्दोलनलाई व्यापक जनाधार, बलियो संगठन र लोकतान्त्रिक नेतृत्व भएको राजनीतिक दलमा फेर्नमा अनेक अड्चन देखिएका छन् । यस्ता अड्चन आउनुमा पाँच कारकतत्त्व पाइन्छन् । एक, राजनीतिक जीवनको थालनीमा भूमिगत संगठनका रूपमा क्रियाशीलता । दुई, हिंसात्मक उपायबाट राजनीतिक परिवर्तनको लक्ष्य । तीन, आन्तरिक लोकतन्त्रको सट्टा एकल नेतृत्वको प्राधिकार । चार, अधिकांश राजनीतिक दलमा एक वर्ण–जात–लिङ्गको प्रभुत्व । पाँच, एकल भाषा–संस्कृतिसँगै प्रभुत्वशालीकै भाष्यको वर्चस्व ।

अधिकांश दल सुरुमा भूमिगत संगठनको बलमा हिंसात्मक उपायबाट राजनीतिक परिवर्तनका लागि क्रियाशील भएको इतिहास छ । प्रचण्ड गोर्खा र रक्तपात कमिटीदेखि माओवादी केन्द्रको इतिहास मात्रै होइन, कांग्रेस र एमालेसम्मका दलको विगत भूमिगत संगठन र हिंसात्मक उपायसँग जोडिएको छ । भूमिगत संगठन र हिंसात्मक उपायको पक्षपाती भएपछि आन्तरिक गोप्यता, कडा अनुशासनसँगसँगै केन्द्रीयता प्रभावी हुने समस्या देखिन्छ । यसको खास अर्थ संरचना, प्रणाली र लक्ष्यकै कारण त्यस्ता दलको गठनमा माथि केन्द्रमा रहने मुट्ठीभर एकलजातीय राजनीतिक नेताको भूमिका प्रधान रहने निश्चित हुन्छ । र, जनताका विभिन्न मुद्दामा आधारित सार्वजनिक संघर्ष, ती संघर्षका आधारमा लोकतान्त्रिक नेतृत्वको निर्माण र व्यापक संगठन विस्तार नभएकै परिणामस्वरूप नेतृत्वमा रहने व्यक्तिहरू हैकमवादी र अलोकतान्त्रिक हुन्छन् । त्यसैले नै प्रदीप गिरिले राजनीतिक पार्टीहरू विचारधाराका आधारमा होइन, व्यक्तिगत र समूहगत स्वार्थका आधारमा प्राइभेट कम्पनी वा डाँकुहरूका गिरोहजस्तै बनेको खरो टिप्पणी गरेका हुन् ।

कुलीन पुरुषको अल्पतन्त्र

विश्वका अधिकांश दलजस्तै यहाँका पार्टीहरूको संगठनात्मक संरचना पनि केन्द्रीकृत छ । त्यस्ता संरचनाको नेतृत्व कुलीन पुरुषको अल्पतन्त्र (ओलिगार्की) का रूपमा क्रियाशील छ । नेपालमा त एक वर्ण–जात–लिङ्गको प्रभुत्व तथा एकल भाषा–संस्कृति र भाष्यको वर्चस्वको पक्ष थपिएको छ । उनीहरूका नेतृत्वमा रहेका सबैजसो दलको सांगठनिक संरचनामा केन्द्र र एकाइ, माथि र तल, नेता र कार्यकर्ता, नेता–कार्यकर्ताबीच पनि पदाधिकारी र गैरपदाधिकारीको विभाजन छ । यस्तो संरचना भनेको पार्टी संगठनलाई पनि तह वा श्रेणीमा विभाजन गर्ने सनातन धार्मिक राजनीतिक उपक्रम नै हो, जुन दक्षिण एसियामा व्यक्ति, परिवार, समाज र राज्यलाई वर्ण/जातमा विभाजित गर्दै शासन गर्ने ब्राह्मणवादी शास्त्र–शस्त्रकै भिन्न रूप हो । यो त्यस्तो सनातन धार्मिक राजनीतिक उपक्रम हो, जहाँ वास्तवमा कोही ‘सर्वोच्च’ हुन्छ त कोही ‘गौण’ वा ‘अधीनस्थ’ । त्यस्ता संरचना र नेतृत्व भएका दलहरूमा एक थरीले आज्ञा–आदेश–निर्देश दिन्छ र शासन गर्छ; अर्को थरीले आज्ञा–आदेश–निर्देश मान्छ, लागू गर्छ र शासित हुन्छ । दलभित्रको सत्तामा पनि शासक र शासितको संरचना र सम्बन्ध कायम रहन्छ । ती विपरीत शब्दको प्रयोग दल र दलपतिका लागि मन पर्दैन, तर दलगत जीवनमा अभ्यास गर्न भने खुब मन पर्छ ।

अनेक नाममा पार्टीलाई तह वा श्रेणी वा अर्को अर्थमा वर्ण/जातमा विभाजन गर्नु भनेको श्रेणीबद्ध संरचना (हायरार्कियल स्ट्रक्चर) मा ढाल्नु हो । र, अनेक जातीय खुड्किला भएका भरेङजस्तो संरचना दलमा पनि पुनः उत्पादन गर्नु हो । पुरानै खालका परिवार, समाज, राज्य र प्रशासनलाई निरन्तरता दिनु हो, तिनलाई रूपान्तरण गर्न खोज्नु पक्कै होइन । आधुनिक भनिने राजनीतिक संस्थाको आन्तरिक जीवन हेरियो भने लोकतन्त्र पाउन कठिन छ । र, नेतृत्वको चरित्र हेर्नासाथ पुराना परिवारको प्रभुत्वशाली मूलीको भन्दा भिन्न देखिन नै गाह्रो छ । टिकट वितरण, उम्मेदवारको छनोट र जित–हारका लागि अह्रनखटनमा मुलीहरूको हैकमले राजतन्त्रकै शैली पछ्याएको छ । यसरी एकलौटी रूपमा पार्टी चलाएको हैकमवादी नेतृत्वले दलबाहिर मात्रै लोकतन्त्रको पद्धति बसाल्छ, जनजीवनका सबै तह–तप्कामा लोकतन्त्रको विस्तार गर्छ, लोकतन्त्रलाई संस्कृतिका रूपमा सघनता प्रदान गर्छ भनेर सोच्न सम्भव छैन ।

लोकतान्त्रिक र मानवीय सपनाबाट मुक्त व्यक्ति–शक्ति

नेपालको निर्वाचकीय लोकतन्त्र (इलेक्टोरल डेमोक्रेसी) मा आफ्नै सनातनी जटिलता छँदै छन्, त्यसलाई थप गुजुल्टो पार्ने कसरत यही अलोकतान्त्रिक राजनीतिक नेतृत्वबाट हुँदै आएको छ । अलोकतान्त्रिक राजनीतिक नेतृत्वबाट निर्वाचकीय लोकतन्त्रमा सुधार गर्न त असम्भवप्रायः छ, जनतालाई साँच्चै सार्वभौम नागरिक बनाउने हदसम्म लोकतान्त्रिक परिवर्तन र अभ्यास होला भनेर कल्पनासम्म गर्न सकिँदैन । यस्तो अवस्थामा निर्वाचकीय लोकतन्त्रमा सुधारका लागि मात्रै सोच्ने हो भने सनातनी अलोकतान्त्रिक नेतृत्वलाई विस्थापन गर्नु जरुरी भइसकेको छ । निर्वाचन आयोगले नैसर्गिक अभिव्यक्ति स्वतन्त्रतासँगै मत–अधिकार वा मत–बहिष्कारको अधिकारमाथि बन्देज लगाउन खोजे पनि सनातनी अलोकतान्त्रिक नेतृत्वलाई ‘नो नट अगेन’ भन्नैपर्ने भएको छ, चाहे त्यो कम खराबलाई मतदान गरेर होस् या मतदान बहिष्कार गरेर होस् वा ‘नो भोट’ को प्रावधान राखेर होस् ।

फेरि, त्यसको मतलब कोही युवा हुँदैमा, नयाँ हुँदैमा, स्वतन्त्र हुँदैमा पुरातन दृष्टिकोण र पश्चगामी दिल–दिमागबाट मुक्त जीवन्त आशा–उम्मिदका प्रतिमूर्ति भइहाल्छन् भन्ने नवीन अन्धविश्वासबाट मुक्तिको जरुरत पनि छँदै छ । आम जनताका हितबाट, गरिखाने वर्गका स्वार्थबाट, लोकतान्त्रिक र मानवीय सपनाबाट मुक्त रहेका ती स्वतन्त्र व्यक्ति र शक्ति पनि पुराना दल र दलपतिहरूभन्दा कुन अर्थमा भिन्न, उन्नत र अग्रगामी छन् ? उनीहरूले आम जनताबीच आशा–उम्मिदको कति खेतीपाती गरे; जनमुखी कामको अगुवाइ कति गरे; भुइँतहका विभिन्न थरी जनताको जीवनमा राहत, सुधार र परिवर्तनका लागि केकतिवटा संघर्षको नेतृत्व गरे; वर्ग–वर्ण–जात–लिङ्गको शासन चल्ने समाजको रूपान्तरणका लागि जारी अभियानका क्रममा आफू र आफ्नो परिवारलाई कति हदसम्म फेरे भन्ने प्रश्नले खासमा कोही युवालाई निर्वाचकीय लोकतन्त्रमा पनि खाँटी उम्मिदको हकदार बनाउने हो, जसको आजसम्म पनि दुर्भिक्ष नै छ ।

यस्तो अलोकतान्त्रिक नेतृत्वले फैलाएको दलदलबाट उम्किएर केही स्वतन्त्र, केही बागी–विद्रोही, केही बौद्धिक युवा जनमतबाट संसद्मा पुग्न सक्ने सम्भावनालाई इन्कार गर्न सकिँदैन, जसलाई सनातन नेतृत्वप्रतिको अनास्था, अविश्वास र विद्रोह भन्न सकिएला । तर, सांसदले राज्यको नीति र विधि बनाउने कि विकासे ठेकेदारको भूमिका खेल्ने भन्ने सामान्य ज्ञानसम्म नभएका केही व्यक्ति प्रतिनिधिसभामा पुगिहाले पनि सनातनी अलोकतान्त्रिक नेताहरूको प्रभुत्व घट्ने अवस्था छैन । जनताप्रतिको प्रतिबद्धताबाट मुक्त, कुनै लोकतान्त्रिक सैद्धान्तिक–राजनीतिक दर्शनबाट स्वतन्त्र व्यक्ति–व्यक्तिको नयाँ दल व्यवस्थापिकामा प्रवेश नै गर्‍यो भने पनि पुरातन दलहरूको अराजनीतिक गठबन्धन र मिलीजुली खाने सम्भ्रान्त परम्परामा खासै फरक आउनेवाला छैन ।

आवश्यकता–बोधको हिसाबले अबको युगका लागि त्यस्तो अभियान वा आन्दोलनको जरुरत छ, जसले भुइँतहका जनजीवनका मुद्दा उठाओस्, जसले आफ्नो जीवनमाथि आफैं शासन गर्ने स्वायत्त संरचना बनाओस्, आफ्नो जीवनलाई लोकतन्त्रीकरण गर्ने संस्कृति थालोस् र फरक–फरक ठाउँमा बनेका सिंहदरबारका कुर्सीमा आसीन र सत्ताकांक्षी सनातनी अलोकतान्त्रिक नेतृत्वलाई पनि विस्थापन गरोस् । राजनीतिक दलबाट स्वतन्त्र उम्मेदवार वा स्वतन्त्रका नाममा आम जनताका अग्रगामी आकांक्षाबाट मुक्त नयाँ दलहरूसँग त्यस्तो लोकतान्त्रिक दृष्टि र जनमुखी लक्ष्य देखिएको छैन, जसले सनातनी अलोकतान्त्रिक नेतृत्वभन्दा झिन्न लोकतान्त्रिक र मानवीय रेखा कोरोस् ।

प्रकाशित : कार्तिक १५, २०७९ ०८:३१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×