घोषणापत्रहरूको ‘वैतरणी पुराण’- विचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

घोषणापत्रहरूको ‘वैतरणी पुराण’

समस्याको गाम्भीर्यका दृष्टिले न्यून औद्योगिक उत्पादन, थेग्नै असम्भव हुँदै गएको व्यापार घाटा र श्रमशक्तिको निरन्तर विदेश पलायनबारे हरेक घोषणापत्रले चित्तबुझ्दा र क्रियान्वयन–सम्भव समाधानहरु सुझाउनु अपरिहार्य हुन्छ ।
अच्युत वाग्ले

संघीय र प्रदेश दुवै तहका विधायिकाहरू, प्रतिनिधिसभा र प्रदेशसभाका प्रमुख दुईवटा जिम्मेवारी मात्र छन्— विधि वा कानुन निर्माण र सरकार निर्माण । यी सीमा नेपालको संविधान र नेपालले अपनाएको वेस्टमिन्स्टर शैलीको लोकतन्त्रको अभ्यासद्वारा स्थापित मान्यताहरूले निर्धारण गरेका हुन् । तर आउँदो मंसिर ४ गतेका लागि तय भएको निर्वाचनको प्रचारशैली र माहोलले विधायिकाको आवश्यकता, महत्त्व र औचित्यलाई बिलकुलै फरक संकथन दिएको छ— सांसद र संसद् दुवैको मुख्य काम ‘विकास–निर्माण’ मा प्रत्यक्ष संलग्न हुनु हो । मानौं, विधि निर्माण दोस्रो र सरकार बनाउने वा भत्काउने आकस्मिक काम मात्र हुन् ।

यस्तो गलत अपेक्षा र यसैको परम्परा बसाल्नका लागि मतदाता, राजनीतिक दल र स्वयं सांसद वा त्यस पदका आकांक्षीहरू मात्र जिम्मेवार छैनन्; निर्वाचन आयोगजस्ता संवैधानिक निकाय र सार्वजनिक सञ्चार क्षेत्र पनि उत्तिकै जिम्मेवार छन् । निर्वाचन आयोगले नै ‘स्वच्छ निर्वाचन’ का उद्देश्यले सार्वजनिक गरेका प्रचार सामग्रीहरूमा ‘गाउँसहरको विकासका लागि’ योग्य र राम्रा उम्मेदवार जिताउने आह्वानहरू छन् । ‘जसलाई जिताएर पठाए पनि चुनाव जितेपछि फर्केर आउने र गरिबलाई हेर्ने कोही भएन’ भन्ने समान सन्देश प्रवाहित हुने सयौं समाचार दिनहुँ महत्त्वका साथ आइरहन्छन् । कुन विधायकले कुन विधेयक मस्यौदा वा पारित गर्न कस्तो भूमिका निर्वाह गर्‍यो अथवा कतिवटा निजी विधेयक ल्याउन प्रयास गर्‍यो आदि विषय उसलाई मतदाताले गर्ने मूल्यांकनको आधार बन्दैनन् ।

यही कारण सांसद विकास कोषमार्फत खर्च गर्ने विकृति चरम ढंगले मौलायो । सांसदहरूले विधेयकमाथि छलफल गर्नुको औचित्य देखेनन् । संसद्भवनमा उपस्थितिको हाजिर जनाएर आफ्नो निर्वाचन क्षेत्रका पटके र चटके योजनाका लागि बजेट पार्न मन्त्रीको निवास र मन्त्रालय धाउनु उनीहरूको मुख्य काम भयो । यसो नगरे चुनाव जितिँदैन भन्ने मान्यताले सांसदहरूको व्यवहार निर्देशित छ । विकास–निर्माणमा विधायकहरूको कुनै भूमिका हुन्छ भने त्यो असल विधि निर्माण र सकारात्मक क्रियाशीलता भएको सरकार निर्माणमार्फत अप्रत्यक्ष ढंगले अभिव्यक्त हुने हो । प्रत्यक्ष, आफ्नो निर्वाचन क्षेत्रका लागि योजना वा बजेट पार्न हस्तक्षेप गर्नु उनीहरूबाट अपेक्षित भूमिका बिलकुलै होइन । तर, भइरहेको त्यही छ, जुन गलत छ ।

घोषणापत्र पुराण

एक्काइसौं शताब्दीसुहाउँदो राजनीतिक परिष्कारमा विश्वास गर्ने राजनीतिक दलहरूले आफ्ना निर्वाचन घोषणापत्रहरूमार्फत लोकतन्त्रका यी सूक्ष्म मर्महरूबारे मतदातालाई बुझाउनुपर्ने हो । सबै प्रमुख दलहरूभित्र पनि आफ्नै कार्यकर्ता र पदाकांक्षीहरूलाई यसबारेको प्रशिक्षण दिन अब ढिलो भइसकेको छ ।

निर्वाचनमा होमिएका प्रमुख दलहरूले घोषणापत्र सार्वजनिक गर्ने ‘रीत पुर्‍याइरहेका’ छन्, मतदानका लागि मुस्किलले तीन हप्ताको समय मात्र बाँकी रहँदा । सरकार बनाउने अभिलाषा पनि चुनावमै व्यक्त हुने हुनाले आफ्नो दलको सरकार बनेमा विकास–निर्माणका केके काम गर्ने भन्ने फेहरिस्तमार्फत जनतालाई सुनाउनु स्वाभाविक हो । तर, घोषणापत्रहरूमा दलहरूको विधायिकी अनिवार्य भूमिका र सरकार बनाउन पाएका खण्डमा लागू गराउने झिनो र ससर्त सम्भावनाहरूलाई एकै ठाउँमा तिल–चामले रंगमा छ्यासमिस पारेर प्रस्तुत गर्ने गरिएको छ ।

यो कोणबाट हेर्दा पनि, दलहरूका घोषणापत्रहरूले मुलुकमा जटिल बन्दै गएका सुशासन र समृद्धिका समस्या र तिनको मार्गमा पत्थरको पहाड बनेर उभिएका चुनौतीहरूमाथि सिधै धावा बोल्न सक्नुपर्छ । खास गरी प्रमुख दलहरू, नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका घोषणापत्रहरूबाट यत्ति अपेक्षा त जनताको थियो/छ । तर दलहरू झारा टार्ने, अथवा गौदानको कर्मकाण्ड गराएर ‘वैतरणी पार लगाउने’ वाचायुक्त, अनन्त दोहोर्‍याइरहिने पुराण वाचन शैलीमै आइरहेका छन् ।

पहिलो कुरा त, स्थापित भनिएका सबै दलले घोषणापत्र लेख्नु र सार्वजनिक गर्नुलाई एउटा अनिच्छित बाध्यताका रूपमा लिएका छन् । आखिर यो कार्य एउटा अनावश्यक बुद्धिविलास मात्र हो र यसले चुनाव जिताउन कुनै भूमिका खेल्दैन भन्नेमा मतैक्य रहेको उनीहरूको व्यवहारले देखाएको छ । यही कारण, अहिले यो वा त्यो रंगका गठबन्धन बनाएर सरकार बनाउने दाबी गरिरहेका दलहरूबीच आफ्नो गठबन्धनभित्र कम्तीमा अहं राष्ट्रिय मुद्दाहरूमा साझा अवधारणा झल्किने गरी घोषणापत्र लेख्नेसम्म चासो पनि तिनका नेतृत्वले देखाएनन् । आफ्नो दलका घोषणापत्र लेख्ने जिम्मा दिइएका टोलीहरूलाई यस्तो सहकार्य गर्ने निर्देशनसमेत दिइएन । साझा घोषणापत्र सार्वजनिक गर्ने चासो त झन् परकै विषय भयो । मुलुकलाई गाँजेका उनै समस्यालाई हेर्ने फरक दार्शनिक दृष्टिकोण पनि र गठबन्धन पनि एकैसाथ कायम राख्ने सत्ता वा प्रतिपक्षी गठबन्धनहरूभित्रको विरोधाभासको मुंग्रे मार मुलुकको भविष्यमाथि पर्नेछ । गठबन्धनहरू बन्दा पनि यसरी खण्डित रूपमा आएका वाचा र कार्यक्रमहरू मुलुकका गहिरिँदा शासकीय र आर्थिक विकासका चुनौतीहरूलाई एकताबद्ध भएर सामना गर्न सफल हुनेमा जनताको गम्भीर आशंका रहनु स्वाभाविक हो ।

त्योभन्दा पनि ठूलो चिन्ताको विषय हो, दलहरूले केही विज्ञ ‘खेताला’ लगाएर घोषणापत्रहरू लेखाएका छन् । तर तिनको नैतिक र राजनीतिक स्वामित्व लिन तत्तत् दलको नेतृत्व नै उत्सुक र तत्पर देखिँदैन । मुलुकका जटिलतम समस्याहरू उजागर गर्ने र तिनको समाधान सुझाउनेमा सबै दलका घोषणापत्रहरूले टालटुले र चिल्ला कुरा मात्र गरेर उम्किने रणनीति लिएको बुझ्न कठिन छैन । यसमा असल नियत र समयले मागेको सृजनशीलता दुवैको अभाव प्रस्ट खट्किन्छ ।

चुनौती : सुशासन र समृद्धि

‘पुराण’ जत्ति नै लामो भनिए पनि सारमा मुलुकको अबको कार्यदिशा र चुनौती सुशासन कायम गर्ने र समृद्धि हासिल गर्ने नै हो । यी मुद्दाहरूलाई दलका घोषणापत्रहरूले कसरी लिए/लिन्छन् र तिनमा के नवीनता छ ? यो छोटो आलेखमा त्यो पर्गेल्न सम्भव छैन । तथापि, केही सांकेतिक उदाहरणहरू सान्दर्भिक हुनेछन् । निर्विवाद छ, सुशासन राष्ट्र, व्यवस्थाको अस्तित्व र समृद्धिका लागि अपरिहार्य पूर्वसर्त हो । नेपालको सुशासनको अवस्था र सम्भावना दुवैलाई गर्तमा पुर्‍याउने एकल मुख्य कारण भ्रष्टाचार हो ।

राजनीतिकर्मी–ठेकेदार–कर्मचारीतन्त्रको त्रिकोणीय स्वार्थ साझेदारीमा यसले गहिरो जरा गाडेको छ । र, भ्रष्टाचार नियन्त्रणका राज्यका सबै निकाय यो माखेसाङ्लोको जकडमा परेका छन् । कर्मचारी हुँदा राजनीतिक नेतालाई भ्रष्टाचार गर्न सघाएको पुरस्कारस्वरूप पूर्वकर्मचारीहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगजस्ता भ्रष्टाचार नियन्त्रण गर्ने निकायमा नियुक्ति पाउँछन् । सरकार जुनसुकै पार्टीको होस्, घूस आउने पक्का भएका संवैधानिक, प्रशासनिक र कूटनीतिक नियुक्ति नै ठूलो लेनदेनका आधारमा हुने गरेको विषय अब गोप्य छैन । भ्रष्टाचार नियन्त्रण गर्ने र यो माखेसाङ्लो चुँडाउन यस्ता नियुक्तिमा सम्बन्धित क्षेत्रको प्रामाणिक योग्यता (जस्तै, पीएचडी) भएको अवस्थामा बाहेक पूर्वकर्मचारी नियुक्ति नगर्ने प्रतिबद्धतासम्म अहिलेसम्म सार्वजनिक कुनै पनि दलको घोषणापत्रले गरेन । सार्वजनिक खरिद र ठेक्का प्रक्रिया पारदर्शी बनाउने प्रतिबद्धता र रणनीति कुनै दलले दिएन ।

संघीय शासनमा ‘सर्भिस डेलिभरी’ को अग्रभागमा स्थानीय तहका सरकारहरू छन् । तिनको क्षमता विस्तार गर्ने आवश्यकता र मार्गचित्र पनि कब्जियतपूर्ण भएर आएका छन् । दलका घोषणापत्रले उनीहरूमाथि बिनासर्त विश्वास गर्न नसकेको देखिन्छ । राज्यशक्तिको प्रयोग गर्नेहरूले स्वार्थ बाझिने गरी लाद्ने निर्णयहरूको नियन्त्रणका लागि आवश्यक कानुनी र संरचनागत सुधारको खाका घोषणापत्रहरूमा छैन/हुन्न । जनताले सहजै पाउनुपर्ने नागरिकता, सवारीचालक अनुमतिपत्र, राहदानी, राष्ट्रिय परिचयपत्र र व्यवसाय दर्ताजस्ता सुविधाहरू घूस असुल्नकै लागि झन्झटिलो बनाइएको तथ्य कसैबाट लुकेको छैन । ठूला दलका उच्च राजनीतिक नेतृत्वहरू तिनमा सुधारको पहल गर्नै इच्छुक नदेखिनुको कारण यही स्वार्थको बाँडफाँट हो । त्यसैले घोषणापत्रहरूमा आम जनताका यी पीडा छिटफुट उल्लेखसम्म हुन्छन्, समाधानका उपाय र रणनीति हुन्नन् ।

समृद्धिका दुई अवयव छन् । पहिलो, शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधार विकासमा भविष्यमुखी लगानी । दोस्रो, वस्तु र सेवा दुवै क्षेत्रमा लगानी आकर्षण, उत्पादकत्व वृद्धि, रोजगारी सजिना । र, यी सबैका लागि पर्याप्त आर्थिक स्रोत परिचालन ।

नेपालको खास गरी उच्च शिक्षा प्रणाली केही वर्षमै धराशायी हुँदै छ । यो गाम्भीर्यको अनुभूति घोषणापत्रहरूमा प्रतिविम्बित पटक्कै हुन सकेको छैन । स्नातक र स्नातकोत्तर पढ्न थोरै मात्रै आर्थिक हैसियत भएकाहरू ऋण काढेरै भए पनि विदेशिने क्रम तीव्र भएको छ । सरकारी खर्चमा चलेका उच्च शिक्षाप्रदायक संस्थाहरू शिक्षक–कर्मचारीहरूलाई फगत तलब खुवाउने र यसरी बिदेसिन नसक्ने र कमजोर शैक्षिक एवम् आर्थिक पृष्ठभूमिबाट आएकाहरूलाई सीपरहित प्रमाणपत्र बाँड्ने निकायमा रूपान्तरण भएका छन् । आश्चर्य, दलहरूका घोषणापत्रमा उच्च शिक्षालाई खोज, अनुसन्धान र युगसापेक्ष ढंगले रोजगारमुखी बनाउने कार्ययोजना उल्लेखसम्म गरिएको हुन्न । उही निःशुल्क र ‘गुणस्तरीय बनाउने’ थोत्रा वाक्यहरू मात्र दोहोरिएका हुन्छन् ।

पूर्वाधारबारे भने चाखलाग्दा फरक धारणाहरू देखिएका छन् । नेपाली कांग्रेसले ऋणै लिएर चिनियाँ रेल ल्याउने र निजगढ विमानस्थल बनाउने विषयमा थप सजगतापूर्ण वाक्यांशहरू राखेको छ । प्रतिपक्षी एमालेले विगतकै उत्ताउलो पूर्वाधार राष्ट्रवादलाई निरन्तरता दिएको छ । भैरहवा र पोखरा विमानस्थलहरूलाई कसरी ‘ब्रेक–इभन’ सम्म बनाउने भन्ने रणनीति कसैले दिएको छैन । संघीयतामा राष्ट्रिय गौरवको आयोजनाको अवधारणा नै अनावश्यक हो भन्ने पनि कसैले स्वीकार गरेको छैन । व्यवस्थित र योजनाबद्ध सहरी विकासको आवश्यकता बहसबाहिरको विषय भएको छ । देशका ठूला उपत्यकाहरू दलालहरूले प्लटिङ गरिसकेकाले अब त्यो सम्भावना सकिएको अप्रत्यक्ष स्वीकारोक्ति दलहरूको होला ।

समस्याको गाम्भीर्यका दृष्टिले न्यून औद्योगिक उत्पादन, थेग्नै असम्भव हुँदै गएको व्यापार घाटा र श्रमशक्तिको निरन्तर विदेश पलायनबारे हरेक घोषणापत्रले चित्तबुझ्दा र क्रियान्वयन–सम्भव समाधानहरू सुझाउनु अपरिहार्य हुन्छ । वास्तवमा, मुलुकमा अब समाधान हुन बाँकी कुनै राजनीतिक मुद्दा थाती नरहेकाले हरेक दलको घोषणापत्रको मूल अंश नै यसमा समर्पित हुनुपर्छ । निर्यातका लागि के उत्पादन गर्ने र आयात प्रतिस्थापनका लागि पहिलो र क्रमिक प्राथमिकताहरू के हुन सक्छन् भन्ने प्रस्ट दृष्टिकोण दलहरूले दिन सकेका छैनन् । दुई दशक पुराना व्यापार घाटा घटाउने खोक्रा वाचा दोहोरिने गरेका छन्, कसरी गर्ने भन्ने उपाय कतै सुझाइएको हुन्न ।

निजी लगानी भित्र्याउने विषयमा दलका धारणा समान छैनन् ।

सबैको चेतलाई ‘समाजवाद’ शब्दको कोर्राले बेस्सरी हिर्काएको जस्तो देखिन्छ । २०४८ सालपछि अपनाइएको उदार आर्थिक नीतिको परिणामस्वरूप अहिलेको फराकिलो आर्थिक आधार निर्माण भएको घोषणापत्रमा दाबी गर्ने कांग्रेसले समेत अबको आर्थिक उन्न्तिको द्विविधारहित बाटो खुला बजार र आर्थिक उदारीकरण नै हो भनी निर्धक्क घोषणा गर्न सकेको छैन । अरू बल्ल लोकतन्त्रीकरणको प्रक्रियामा अभ्यस्त हुँदै गरेका र ‘कम्युनिस्ट’ फुँदो छोड्न तर्सिएका दलहरूबाट त यो दिशामा धेरै आशा गर्ने ठाउँ छैन नै ।

अन्त्यमा, सबभन्दा निर्णायक धरापबारे भन्नैपर्छ । सबै दलले पूर्वाधार विकास, दिगो विकास लक्ष्य र सामाजिक सुरक्षा योजनाहरू आदिमा धेरै महत्त्वाकांक्षी वाचा गर्दै आएका छन् । तर, विशेष गरी वितरणमुखी कार्यक्रमहरूलाई पुग्ने आर्थिक स्रोत जुटाउने उपाय के हो भन्ने प्रस्टता दिनचाहिँ चुकेका छन् । राजस्व आयको अहिलेको दरले बल्ल चालु खर्च धानिने अवस्था छ । पूर्वाधार र सामाजिक सुरक्षामा थप लागत लाग्ने कार्यक्रमहरू धान्न सकिने अवस्था छैन । राष्ट्रको ऋण विगत पाँच वर्षमा मात्रै तीन गुणा बढेको छ । वैदेशिक ऋण र प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउनेमा साझा राष्ट्रिय दृष्टिकोण नबनी कुनै खास लाभ अभिवृद्धि हुने देखिँदैन । मुलुकलाई बढ्दो भूराजनीतिक प्रतिस्पर्धाको सिकार हुनबाट जोगाउन पनि यस्तो राष्ट्रिय दृष्टिकोण आवश्यक छ । दलहरूबीचका फरक अडानहरू अझै टड्कारा छन् । सायद यहीँनेर संसद्को विधायिकी भूमिकाको प्राधान्य उपयोगी र अपरिहार्य हुन्छ ।

प्रकाशित : कार्तिक १४, २०७९ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्

वैदेशिक लगानी : धेरै कथा, थोरै उपलब्धि

‘वैदेशिक लगानी ल्याउनुपर्छ’ भन्ने कोरा वाक्यांश घोषणापत्रमा मात्र दोहोर्‍याएर पुग्दैन; कहाँबाट, कस्तो लगानी, कसरी ल्याउने कार्ययोजना हो, त्यो पनि राजनीतिक दूरदृष्टिका साथ प्रस्ट्याइनुपर्छ ।
अच्युत वाग्ले

नेपाल राष्ट्र बैंकले गत साता विदेशी प्रत्यक्ष लगानी गर्न पाउने न्यूनतम रकमको सीमा ५ करोड रुपैयाँबाट घटाएर २ करोड रुपैयाँ बनाएको छ । गत जेठमा मात्रै यसलाई ५० लाखबाट बढाएर ५ करोड रुपैयाँ पुर्‍याइएको थियो । अहिले रकमको सीमा घटाउने निर्णयको बचाउमा ‘ससाना लगानीले प्रविधि भित्र्याउन मद्दत गर्ने’ तर्क राष्ट्र बैंकका अधिकारीहरूले गरेका छन् । तर, यो सीमालाई दस गुणा बढाउने समयमा, ‘नेपालमा प्रविधि भित्र्याउने नाममा खुद्रे लगानी ल्याएर भिसा अवधि लम्ब्याउने नियत मात्र देखिएको र यस्ता साना लगानीले अर्थतन्त्रको विकासमा उल्लेख्य योगदान नगर्ने’ तर्क गरिएको थियो । नेपालमा झाँगिएको नीतिगत अस्थिरताको यो एउटा उदाहरण मात्रै हो । त्यसको प्रतिकूल परिणाम नेपालले भोगी नै रहेको छ । वैदेशिक लगानीका लागि आवश्यक पूर्वसर्त नै पूर्वगम्य नीतिगत व्यवस्था (पोलिसी प्रेडिक्टिबिलिटी…) हो ।

नसुध्रिएको परिदृश्य

नेपालले आर्थिक उदारीकरणको नीति अवलम्बन गरेपछि थोरै मात्रामा २०४० सालदेखि र खास गरी २०४८ सालपछि बहुदलीय व्यवस्था अनुरूप बनेको निर्वाचित सरकारले प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गर्ने विषय राष्ट्रिय प्राथमिकतामा पार्न थालेको हो । यस दृष्टिले, नेपालले भारतले उदारीकरणलाई मूल आर्थिक नीति बनाउनुभन्दा छ–सात वर्षपहिले नै अर्थतन्त्रका केही क्षेत्रलाई लगानीका लागि खुला गरेको थियो । नेपालमा विदेशी लगानीमा बैंकहरू खुल्ने क्रम यहीँदेखि आरम्भ भएको हो । यसरी, नेपालकै आफ्नो यससम्बद्ध नीतिगत प्राथमिकताको इतिहास पनि चार दशक लामो हुनै लागेको छ । तर, नेपालमा वास्तविक रूपले भित्रिएको रकमको परिमाणका दृष्टिले प्रत्यक्ष वैदेशिक लगानीको कथा बिलकुलै आकर्षक छैन । वास्तवमा यो निरन्तर अधिक चर्चा–बहसमा रहेको तर अत्यन्त कम मात्र उपलब्धि भएका विद्यमान थोरै आर्थिक गतिविधिहरूमध्ये एक हो ।

उदाहरणका लागि, गत आर्थिक वर्षमा जम्मा १८ अर्ब ५६ करोड रुपैयाँ बराबरको मात्र वैदेशिक लगानी नेपाल भित्रियो जुन नेपालको कुल गार्हस्थ्य उत्पादनको शून्य दशमलव ५ प्रतिशतभन्दा पनि कम हो । नेपालको आर्थिक इतिहासमै यस्तो लगानी कुनै पनि आर्थिक वर्षमा कुल गार्हस्थ्य उत्पादनको २ प्रतिशत विरलै नाघेको छ । लगानीका केही प्रवृत्ति पनि छन् । कुल प्रतिबद्धताको औसतमा ३५ प्रतिशत हाराहारी मात्रै लगानी आउने गरेको छ । गत आर्थिक वर्षमा पनि ३३ अर्बको प्रतिबद्धतामध्ये १८ अर्ब रुपैयाँ मात्र आउन सक्यो ।

त्यस्तै, अहिलेसम्म नेपालमा भित्रिएको कुल वैदेशिक लगानी बल्ल ३ खर्ब रुपैयाँ पुगेको छ । त्यसमध्ये, उद्योग विभागको तथ्यांक अनुसार, भारत र चीन प्रत्येकको १ खर्ब रुपैयाँ हाराहारी अथवा कुल दुईतिहाइ बराबर छ । जलविद्युत् क्षेत्रमा मात्रै कुल लगानीको करिब ५२ प्रतिशत, उत्पादनमूलक क्षेत्रमा १४, सेवा क्षेत्रमा १३ र पर्यटनमा ११ प्रतिशतजति छ । कुनै पनि कोणबाट यी आँकडाहरू पटक्कै चित्तबुझ्दा होइनन् ।

नेपालले प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गर्ने अपेक्षामा जति महत्त्वाकांक्षी भएर आफ्ना नीति, योजना र वार्षिक बजेटमा स्थान दिने र चर्चा गर्ने गरेको छ, ती प्रभावकारी नभएको सत्य त तथ्याङ्कहरूले उजागर गरी नै सकेका छन् । विगतमा सरकारले नै आयोजन वा प्रायोजन गरेका लगानी सम्मेलन, पूर्वाधार सम्मेलन आदिले पनि वैदेशिक लगानीको प्रतिबद्धता नै न्यून हुने प्रतिबद्धता भएकामध्ये आधा पनि प्रत्याभूत नहुने परिस्थितिलाई तात्त्विक सुधार गर्न सकेनन् । तर, लामो समयसम्म आफूले लिएका नीतिहरूले के कारण परिणाम दिइरहेका छैनन् भन्नेतर्फ राजनीतिक नेतृत्व र नीति निर्माण तहमा बस्नेहरूको ध्यान जान नसक्नु अर्को चुनौती देखिएको छ ।

आकर्षण के ?

नेपालमा अत्यन्त कम परिमाणमा वैदेशिक लगानी भित्रिएको गनगन र गुनासो गरेर मात्र यो परिस्थितिमा सुधार आउँदैन । अवरोध वा अनाकर्षणका बा≈य र आन्तरिक दुवै कारणहरूको जरोमै पुगेर यथार्थपरक विश्लेषण गर्नु आवश्यक छ । साथमा, नेपाललाई कस्तो वैदेशिक लगानी कुनकुन क्षेत्रमा, कस्ता सर्त, साझेदारी वा मोडलमा र कति परिमाणमा आवश्यक छ भन्ने विषयमा एउटा प्रस्ट दृष्टिकोण र त्यो दृष्टिकोणप्रति बृहत् राष्ट्रिय स्वामित्व अपरिहार्य छ ।

नेपाल विश्वका दोस्रो र तेस्रो ठूला अर्थतन्त्रहरू चीन र भारतका बीचमा छ । चीनको अर्थतन्त्र १४ हजार ८ सय अर्ब डलर र भारतको अर्थतन्त्र २ हजार ७ सय अर्ब डलर बराबरका भएका छन् । नेपाल बल्ल ३६ अर्ब डलरको अर्थतन्त्र भएको छ । दुवैको जनसंख्या सवा–सवा अर्ब भन्दा धेरै भइसकेको छ, जसले उनीहरूको आन्तरिक उपभोगका लागि नै मात्र पनि वस्तु र सेवाहरूको ठूलो बजार उपलब्ध गराएको छ । त्यस्तो उपभोगका लागि खर्च गर्न सक्ने गरी प्रतिव्यक्ति आयमा पनि वृद्धि भइरहेको छ । अथवा, वैदेशिक लगानीबाट वृद्धि हुने उत्पादकत्वको ठूलो मात्राको खपतका लागि उनीहरूको आन्तरिक अर्थतन्त्र र बजार नै आकर्षक छ । वैदेशिक लगानीका लागि यो निकै आकर्षक पक्ष हो । दोस्रो, आकर्षणको पक्ष उत्पादन लागत हो । सस्तो तर सीपयुक्त श्रम, उत्पादनका साधन र ऊर्जाको सहज उपलब्धता आपूर्ति सञ्जालका भरपर्दा पूर्वाधार हुन् । लगानीकर्ताले लगानीको निर्णय यी सबैको कुल सम्भावित लागत–लाभको दरका आधारमा गर्छन् । नेपालको नाफा कमाउने दर सामान्यतः आकर्षक मानिए पनि विद्युत्को मूल्य उद्योगमैत्री र यसको अविच्छिन्न आपूर्ति प्रश्नातीत हुन सकेको छैन ।

त्यस्तै, सरकार परिवर्तनसँगै नीतिगत परिवर्तन हुने जोखिम बढी नै देखिएको छ । पहिलो, वैदेशिक लगानी र निजी सम्पत्तिमाथिको अधिकारलाई हेर्ने राजनीतिक–दार्शनिक दृष्टि नै विपरीत ध्रुवको भएका राजनीतिक दलहरू छोटो अवधिका लागि सत्तामा पुग्ने वा हट्ने क्रम वर्षौंदेखि चलिरहेकाले नीतिगत स्थिरता र अग्रगम्यतामा अनिश्चितता हुने गरेको छ । दोस्रो, विगत केही महिनाको अन्तरालमा गरिएजस्तो वैदेशिक लगानीको न्यूनतम सीमा बढाउने र घटाउने हचुवा निर्णयहरूले दीर्घकालीन व्यावसायिक सोच बोकेर आउन चाहने लगानीकर्ताहरूलाई अक्सर अनिश्चयको कुहिरोमा राख्ने गरेको छ ।

सरकारी वा राजनीतिक दस्तावेजहरूले वैदेशिक लगानी प्रोत्साहन गर्ने दाबीलाई जति नै दोहोर्‍याए पनि नेपाली बजारमा प्रवेश (मार्केट इन्ट्री) गर्न, आयोजना सञ्चालन गर्न र त्यसलाई समयमै पूरा गर्न नेपालको कर्मचारीतन्त्र र निर्णय प्रक्रिया सहयोगी नभएको गुनासो अक्सर सुनिने गरेको छ । सरकारका निकायहरूबीचको समन्वय दयनीय छ । एकद्वार प्रणाली सांकेतिक रूपमा सुरु भए पनि व्यवसायीमैत्री र प्रभावकारी हुन सकेको छैन । लगानी गरेपछि आफ्नो नाफा लैजान (रिप्याट्रिएसन) र कम्पनी बन्द (एक्जिट) नै गरेर आफ्नो सम्पत्ति लैजान असाध्यै कठिन भएको अनुभव भुक्तभोगीहरूको छ । यदि अवस्था त्यति नै नकारात्मक छैन भने पनि राज्य त्यही अनुरूपको सकारात्मक प्रचार गर्नबाट चुकेको छ । ट्रेडमार्क, प्याटेन्ट, प्रतिलिपि अधिकारजस्ता बौद्धिक सम्पत्तिमाथिको अधिकारको रक्षा हुन नसकेका केही घटनाले राम्रो सन्देश प्रवाह गरेका छैनन् ।

नेपालको सार्वझौम त्रेडिट रेटिङ हुन नसकेको र आर्थिक कूटनीतिको महत्त्वलाई लगभग पूर्ण बेवास्ता गरिएका कारण पनि कुनै उल्लेख गर्नलायक वैदेशिक लगानी आउन नसकेको हो । नेपाललाई केन्द्रमा राखेर खास गरी क्षेत्रीय भूराजनीतिक प्रतिस्पर्धा बढेकाले पनि नेपालले आर्थिक कूटनीति सञ्चालनलाई प्राथमिकतामा राखेर मात्र नपुग्ने र यसलाई राष्ट्रिय हितरक्षाको सन्तुलित रणनीतिसँग तालमेल गराउनुपर्ने आवश्यकता छ । जस्तै, चिनियाँ लगानीमा बनेका जलविद्युत् आयोजनाहरूबाट उत्पादित विद्युत् भारतले खरिद नगर्ने रणनीति लिने देखिएको छ भने हवाई रुट व्यवस्थापनमा पनि कूटनीतिक खेल देखिएको छ । यस्तो अन्योलबीच राष्ट्रिय लगानी नै कम आएका बेला विदेशीहरूले नेपालमा लगानी गर्ने चासो नदेखाउनु आश्चर्यको विषय पनि होइन । यी सबै पक्षलाई समुच्चमा सम्बोधन गर्न साझा राष्ट्रिय दृष्टिकोण बन्नु र त्यो खास समयावधिका लागि स्थिर हुनु आवश्यक छ ।

अवसरहरू सृजना गर्ने हो

नेपाल संसदीय चुनावको संघारमा छ र मुलुकमा संघीय शासन प्रणाली लागू भएको छ । सबै दल आगामी पाँचवर्षे योजनाहरू समावेश गर्दै आ–आफ्ना घोषणापत्र लेखिरहेका छन् । सत्तापक्ष र प्रतिपक्ष दुवैतिर ठूला गठबन्धन बनेका छन् र मुलुकको राजनीति सारमा दुईध्रुवीयजस्तो मात्रै भएको देखिएको छ । यी सबै विशेष गरी वैदेशिक लगानी (लगायतका) आर्थिक नीतिहरूको छिनोफानो गर्नका लागि महत्त्वपूर्ण अवसरहरू हुन् । चुनावमार्फत यो लगायतका जुन आर्थिक मुद्दाहरूलाई जनमतद्वारा अनुमोदन गरिन्छ, अर्को पाँच वर्षका लागि त्यही राष्ट्रिय नीति हुन्छ । यो यथार्थलाई राजनीतिक दल र मतदाता दुवैले उचित महत्त्व दिनु आवश्यक छ । मुलुक संघीय स्वरूपमा गएको भए पनि खास गरी विदेशी लगानी भित्र्याउने कानुनी संरचना र चिन्तन एकात्मक नै छ । प्रदेश र स्थानीय सरकारहरूलाई योजना बैंक बनाउने, विदेशी लगानीका लागि योजनाहरूको प्राथमिकीकरण गर्ने, तिनका लागि लगानीका स्रोत खोज्ने आदि पक्षमा आवश्यक स्वतन्त्रता नदिने मानसिकता अझै व्याप्त छ । अन्त्यमा संघीय सरकारबाट स्वीकृति लिने एउटा मात्रै सर्त राखेर तत्तत् तहका सरकारहरूलाई लगानी भित्र्याउन सबलीकृत गर्नुपर्नेमा प्रक्रिया प्रारम्भ गर्दा नै स्वीकृति लिनुपर्ने अभ्यासलाई संस्थागत गर्न खोजिएको जस्तो देखिन्छ ।

गठबन्धनहरू बनाएर चुनावमा जाँदा धेरै दलको स्वतः साझा धारणा बन्छ । दुवै ध्रुवका गठबन्धनहरूले वैदेशिक लगानीजस्तो संवेदनशील विषयमा आफ्ना प्रस्ट धारणाहरू राखिदिन सके भने कम्तीमा अरू पाँच वर्षका लागि नीतिगत खाकाको तुलनात्मक स्वरूप प्रस्तुत हुन्छ । सम्भावित लगानीकर्ताहरूले यसलाई गम्भीर दृष्टिले आकलन गरिरहेका छन् भन्ने कुरा राजनीतिक दलहरूले मनन गर्ने र आफूलाई प्रस्ट्याउने मौका पनि यो हो । अब, ‘वैदेशिक लगानी ल्याउनुपर्छ’ भन्ने कोरा वाक्यांश घोषणापत्रमा मात्र दोहोर्‍याएर पुग्दैनÙ कहाँबाट, कस्तो लगानी, कसरी ल्याउने कार्ययोजना हो, त्यो पनि राजनीतिक दूरदृष्टिका साथ प्रस्ट्याइनुपर्छ ।

मुलुक अब केही भ्रमबाट पनि मुक्त हुनुपर्छ वा रणनीतिहरू बदल्नुपर्छ । डेढ दशकयता गैरआवासीय नेपाली (एनआरएन) हरूमार्फत ठूलो लगानी, व्यवस्थापन र प्रविधि भित्रिने आशामा नेपाली जनता बसे । अहिलेका अनुभवहरूले के देखाएका छन् भने, एनआरएनको राजनीति गर्नेहरूको मुख्य ध्येय नेपालको नेतृत्वमा पहुँच वृद्धि गर्ने र, केही अपवादलाई छोडेर, त्यो पहुँचलाई मुलुकको भन्दा आफ्नो व्यक्तिगत स्वार्थसिद्धिमा प्रयोग गर्ने भइरहेको छ । विदेशबाट लगानी ल्याउनभन्दा एनआरएन सञ्जाल मुलुकबाट पुँजी बाहिर लैजान उद्यत भएको आरोप लाग्न थालेको छ । यस्तो पुँजी बाहिरिने र लगानी भित्रिने ‘ट्रेन्ड’ बारे तुलनात्मक अध्ययनबिना निष्कर्षमा पुग्नु उचित हुँदैन । तर, कुल विदेशी लगानी भित्रिएको जुन दयनीय आँकडा छ, त्यसले नेपालमा लगानी भित्र्याउन एनआरएनले पनि कुनै थप योगदान गर्न नसकेको प्रस्ट हुन्छ । निश्चय नै, द्रुत रूपमा विश्वमा फैलिइरहेको नेपाली डायस्पोराको उपस्थिति र प्रभावलाई मुलुकको हितमा परिचालन गर्ने रणनीति राज्यसँग पनि हुनैपर्छ ।

सबभन्दा महत्त्वपूर्ण, विदेशी लगानी भित्र्याउने रणनीतिको उद्देश्य उत्पादकत्व वृद्धि र आर्थिक विस्तारकै लागि हुनुपर्छ । अहिले राष्ट्र बैंकले सीमा घटाउन गरेको नीतिगत परिवर्तन यी उद्देश्यभन्दा तत्काल विदेशी मुद्रा सञ्चितिमा परेको चापलाई कम गर्न प्रेरित देखिन्छ । लगानी नीतिलाई उत्पादकत्वभन्दा फरक उद्देश्यप्राप्तिको औजार बनाइयो भने त्यसले परिणाम दिँदैन र थप विकृतिहरूलाई जन्म दिन्छ ।

प्रकाशित : आश्विन ३१, २०७९ ०८:११
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×