कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

जंगली याक संरक्षित हो कि होइन ?

वन र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले जंगली याकको स्थितिबारे केकति अध्ययन–अनुसन्धान गर्‍यो ? यसबारे हुम्लाका बासिन्दालाई सुसूचित गरियो ?
कमल मादेन

जंगली याक नेपालको कानुन अनुसार संरक्षित वन्यजन्तु हो । एक दशकअघिसम्म यो वन्यजन्तु नेपालमा पाइन्छ वा पाइन्न भन्ने स्पष्ट थिएन । नेपालमा कसैले देखेको विवरणसमेत प्रकाशित भएको थिएन । सन् २०१३ मा ‘प्रकृतिका साथीहरू’ संस्थाका अनुसन्धानकर्ताहरू हुम्लाको लिमी उपत्यका पुगेका थिए । उनीहरूले त्यहाँको थुंगलिङ गाउँमा जंगली याकको टाउको र छाला फेला पारे ।

जंगली याक संरक्षित हो कि होइन ?

त्यसको केही वर्षपछि नरेश कुसी र जेराल्डिन वेरहानले सोही उपत्यकामा जंगली याक देखेका थिए । सन् २०२१ मा पनि हुम्लामा जंगली याकको तस्बिर खिचिएको थियो । वाइल्ड लाइफ फोटोग्राफर चुङ्बा शेर्पा केही महिनाअघि जंगली याकको तस्बिर खिच्नकै लागि हुम्ला पुगे । सफल पनि भए । नेपालमा जंगली याक भएको प्रमाण हुम्लामा मात्र फेला परेको छ । नेपालका घरपालुवा याक गोठालाहरू चाहिँ जंगली याक हुन्छ भन्नेमा विश्वास गर्दैनन् ।

तथापि घरपालुवा याक भएपछि जंगली याक हुँदैन भन्नु विज्ञान नबुझ्नु हो । घरपालुवा जनावरहरू जंगली जनावरकै घरेलु संस्करण हुन् । मानिसले करिब १० हजार वर्ष पहिलेदेखि केही जंगली जनावरलाई पाल्न सुरु गरेका हुन् । सबै जनावर सबै ठाउँमा एकै समयमा पाल्न सुरु भएको भने होइन । बासस्थान र रहनसहन फरक पर्दा, हजारौं वर्षको अन्तरालमा कुनै पनि जीवको स्वरूपमा परिवर्तन हुन्छ, जुन वातावरण अनुकूलनको परिणाम हो । दुर्भाग्य भनौं, ठूलै संख्यामा घरपालुवा जनावरका पूर्वजको अस्तित्व समाप्त भइसकेको छ । एसियाका विभिन्न देशमा याकलाई जंगलीबाट घरपालुवा बनाइएको भेटिएको छ । तर, जंगली याकहरू तिब्बत र भारतको लद्दाखमा मात्र बचेका छन् । ती तिब्बतबाट हुम्लामा आउने गरेका छन् । जंगली याक पहिले मुस्ताङमा पनि पाइन्थ्यो । ताप्लेजुङको ओलाङचुङगोलाका छितेन शेर्पा भन्छन्, ‘हजुरबुबाले हिउँदमा ठूलो र बलियो जंगली याक उत्तरतिरबाट आउँथ्यो भनेको सुनेको छु ।’

प्रजाति अवधारणा

जंगली वा घरपालुवा याक र गाईबीच संसर्ग भएपछि चौंरी जन्मन्छ । पोथी चौंरीले भाले याक र बहरको संसर्गबाट बच्चा जन्माउँछ । भाले चौंरीको संसर्ग क्षमता हुन्छ तर गर्भाधान गराउने सामर्थ्य राख्दैन । चौंरीबाट जन्मिएको बच्चा कमजोर हुन्छ, प्रजनन क्षमता हुँदैन । यो जन्तुहरूमा हुने जीवन प्रक्रियाको एक महत्त्वपूर्ण कडी हो । दुई भिन्न स्वरूपका जनावरबीच संसर्ग हुँदा बच्चा जन्मने र नजन्मने तथा जन्मेको बच्चा नपुंसक रहने आधारमा प्रजाति परिभाषित गरिन्छ । यसलाई ‘बायोलोजिकल स्पेसिस कन्सेप्ट’ भनिन्छ । यो अवधारणा जर्मनीका क्रमविकास जीवविज्ञ अर्नस्ट मायरले ‘सिस्टेम्याटिक्स एन्ड द ओरिजिन अफ स्पेसिस’ (सन् १९४२) पुस्तकमा सर्वप्रथम उल्लेख गरेका थिए, जुन अहिलेसम्म सर्वस्वीकार्य छ । फेनेटिक स्पेसिस, फाइलोजेनेटिक स्पेसिस र कोहेसन स्पेसिस अवधारणाबाट पनि प्रजाति परिभाषित गरिन्छ ।

तस्बिर : चुङ्बा शेर्पा

बायोलोजिकल स्पेसिस कन्सेप्ट अनुसार दुई भिन्न प्रजातिबीच संसर्ग हुँदा सामान्यतः बच्चा जन्मँदैन । जन्मिहाले पनि प्रजनन क्षमता (फर्टाइल) हुँदैन । यस अनुसार केही प्रजातिबीच संसर्ग हुँदा बच्चा त जन्मन्छ तर नपुंसक हुन्छ । याक र गाई दुई भिन्न प्रजाति हुन् । तिनबाट बच्चा त जन्मिन्छ तर जन्मेको भाले चौंरी पूर्ण रूपमा नपुंसक र पोथी चौंरी अर्ध–नपुंसक हुन्छन् । हामीकहाँ भएको खच्चर यस्तै नपुंसक जनावर हो । यो घोडा र गधाबीच संसर्ग भएर जन्मन्छ । तर, खच्चरमा प्रजनन क्षमता हुँदैन । भाले सिंह र पोथी बाघबीचको संसर्गबाट जन्मिएको बच्चा ‘लाइगर’ हो । यस्तै, पोलार भालु र उच्च हिमाली भेगमा बस्ने खैरो भालुबीचको सन्तानलाई ‘ग्रोलार’ भनिन्छ ।

वैज्ञानिक जगत्मा जंगली र घरपालुवा याकलाई दुई फरक प्रजाति मानिएको छ । तर, बायोलोजिकल स्पेसिस कन्सेप्ट अनुसार यी दुवैलाई फरक प्रजाति मान्न सकिँदैन । किनभने यिनीहरूबीच संसर्ग हुँदा प्रजनन क्षमता भएको याक नै जन्मिन्छ । सन्तान नजन्मिने वा जन्मिए पनि नपुंसक हुने भए यिनीहरू फरक प्रजातिको दायरामा पर्थे । तर, प्रजनन क्षमतायुक्त सन्तान जन्मने भएकाले अहिलेसम्म यिनीहरूलाई फरकफरक प्रजाति मानिएको भए पनि भोलिका दिनमा कि बायोलोजिकल स्पेसिस कन्सेप्टको परिभाषा बदलिनुपर्छ वा जंगली र घरपालुवा याक एकै प्रजाति मान्नुपर्छ । अहिलेकै सन्दर्भमा बायोलोजिकल स्पेसिस कन्सेप्ट अनुसार तिनीहरूमध्ये एकलाई प्रजाति र अर्को त्यसैको उपप्रजाति भन्नु उपयुक्त हुन्छ ।

याकका विशेषता

कार्ल निन्नियसले सन् १७६६ मा घरपालुवा याकको वैज्ञानिक नामकरण ‘बोस ग्रन्नियनस’ भनेर गरे । रुसी भूगोलिविद् तथा अन्वेषक निकोलाई एम. फ्रवस्कीले जंगली याकलाई सन् १८८३ मा ‘बोस म्युटस’ भने । यी दुवैलाई याक भन्ने गरिन्छ । ‘म्यामलियन स्पेसिस’ जर्नलमा २७ मे २००९ मा प्रकाशित एउटा लेख अनुसार घरपालुवा पोथी याकमा जंगली याकको करिब ३५ प्रतिशत हिस्सा मात्र हुन्छ । यसको खुट्टा बलिष्ठ र शरीरको आकारका तुलनामा छोटो तथा खँदिलो हुन्छ । कान साना हुन्छन् । गाईगोरुको च्यापुदेखि ह्याकुलोसम्म झुन्डिने छालाजस्तो आकृति जंगली याकमा हुँदैन । खुर ठूलो, चिरिएको र गोलो हुन्छ । गर्दनदेखि जुरोसम्मको भाग केही फराकिलो र उचो हुन्छ । रौं कालो, खिया–खैरो हुन्छ । घाँटी तथा टाउकाको रंग पनि प्रायः खैरो हुन्छ । लामो झुन्डिएको रौं छातीदेखि पछाडिको फिलासम्म हुन्छ । यस्तो झुन्डिएको लामो भुत्ला जवान भालेमा ७० सेन्टिमिटरसम्म लामो हुन्छ । यस्तै, घरपालुवाको रंग कालो, खैरो र सेतो छिर्केमिर्के हुन्छ । पुच्छर लामो हुन्छ, टुप्पोमा झुप्पो हुन्छ । गाई, गोरु, मृग, बँदेल, जरायो आदि जनावरका आँखाअघिल्तिर मासु चिरिएको जस्तो भाग हुन्छ, जसलाई ‘प्रिअर्बिटल ग्लान्डस’ भनिन्छ, जुन जंगली याकमा चाहिँ हुँदैन ।

तिब्बतमा जंगली याक ३ हजारदेखि ५ हजार ५ सय मिटर उचाइसम्म, विशेषतः चिसो, फराकिलो र रूखरहित हिमाली क्षेत्रमा पाइन्छ । यस्तो भौगोलिक बनावट तिब्बती पठारमा हुन्छ । नेपालमा तिब्बती पठार हुम्ला र मुस्ताङसम्म फैलिएको छ । जंगली याक यस्तो उच्च तथा फराकिलो भूभागमा विचरण गर्छ । हुम्ला र मुस्ताङबाहेक पनि नेपालका अन्य हिमाली जिल्लामा तिब्बती पठार भएको भए वा त्यस्तो भूभाग भए जंगली याक आवतजावत गर्ने गरेको हुनुपर्छ । माथि चर्चा गरिएको म्यामलियन स्पेसिस जर्नलको लेखमा तिब्बती पठारमा जंगली याक विचरण गर्ने बीस वटा क्षेत्रको नक्सांकन गरिएको छ, त्यसमध्ये एउटा हुम्लाको लिमी उपत्यकासँग जोडिएको तिब्बती भूभाग पर्छ ।

बर्खा याममा जंगली भाले याक हुम्लाको उच्च भूभागमा रहेको घरपालुवा याकसँग संसर्गका निम्ति आइपुग्छ । यसबाट जन्मिएको याक अन्यभन्दा ठूलो र बलिष्ठ हुन्छ । गोठालाका निम्ति जंगली याक आउनु चुनौतीपूर्ण हुन्छ, ज्यान जोगाउन मुस्किल हुन्छ । यसले घरपालुवा याकलाई हानेर, खेदेर घायल पनि बनाउँछ । चुङ्बा शेर्पा भन्छन्, ‘जंगली याकले लखेटेर भाग्यले बाँचें ।’ उनले त्यस बेला तीन वटा भाले याक देखेका रहेछन् । उनका सहयोगीले भने चार वटा देखेछन् ।

बेखबर विभाग

घरपालुवा याक बढीमा २० वर्षसम्म बाँच्छ । बेइजिङको एउटा चिडियाखानामा जंगली याक २२ वर्ष ९ महिनासम्म बाँचेको थियो । यो वन्यजन्तु भिरालो भूभागमा विचरण गर्न सहज मान्दैन । जर्ज बिल्स सेलरका अनुसार जंगली याक ‘माइग्रेटोरी’ प्रकृतिको हुँदैन । यद्यपि, यसले लामो दूरी यात्रा गर्ने सामर्थ्य भने राख्छ । यस्तै, यसको गतिविधि अप्रत्याशित हुन्छ । यो आहारको खोजीमा भिन्न स्वरूपका भूभागमा पुग्ने गर्छ । अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आईयूसीएन) ले जंगली याकलाई लोपोन्मुखमा सूचीकृत गरेको छ । नेपालसहित भारत र चीनले यसलाई संरक्षित वन्यजन्तु मानेका छन् ।

हुम्लाका बासिन्दाका अनुसार तिब्बतबाट आएका जंगली याकहरू विरलै फर्कन्छन् । अघिल्लो वर्ष आएका तीनवटै जंगली याक मारिए । वन्यजन्तुको व्यवस्थापन र संरक्षण गर्ने जिम्मा वन मन्त्रालय अन्तर्गतको वन र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागको हो । यो विभागबाट जंगली याकको स्थितिबारे केकति अध्ययन अनुसन्धान गरिए ? हुम्लाका बासिन्दालाई सुसूचित गरियो ? हाम्रो कानुनमा संसर्ग अवधिमा मात्र आवतजावत गर्ने वन्यजन्तुलाई संरक्षित मान्नु केकति मनासिब छ ? यस्ता प्रश्नको जवाफ सम्बन्धित निकायले दिनु जरुरी छ ।

प्रकाशित : कार्तिक १४, २०७९ ०८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?