यौनहिंसा र मिडिया ट्रायल - विचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

यौनहिंसा र मिडिया ट्रायल 

स्थापित र नाम चलेका मिडिया हाउसहरूले कुनै प्रकरण वा मुद्दा विशेषको आधारभूत तथ्य र प्रमाणबिना आफ्नो क्षेत्राधिकार नाघ्ने स्तरमा ओर्लेर समाचार प्रसारण नगरेका होलान्, यो फरक कुरा भयो, तर न्यायको अपिल गर्नेमाथि नै सार्वजनिक बेइज्जती गर्ने काम मिडियामार्फत शृंखलाबद्ध रूपमै भएका छन् ।
सरिता तिवारी

मिडिया अर्थात् सञ्चारमाध्यम । सूचना र ज्ञानको विस्तार गर्ने साधनका रूपमा झन्डै ६ सय वर्षअघि इटालीको भेनिसमा हस्तलिखित अखबारबाट थालिएको सञ्चारमाध्यमले छापा युग हुँदै आजसम्म ठूलै कायाकल्प गरिसकेको छ ।

अभिव्यक्ति स्वतन्त्रता र मानव अधिकारको मुखर पैरवी गर्दै मिडियाले लोकतन्त्र र आम नागरिक पंक्तिको रक्षाकवचका रूपमा निर्वाह गरेको भूमिकाको जति प्रशंसा गरे पनि कम हुन्छ ।

त्यसैले मिडियालाई कुनै पनि मुलुकको व्यवस्थाका व्यवस्थापिका, न्यायपालिका र कार्यपालिकापछिको चौथो स्तम्भ मानिन्छ । तर यही स्तम्भको दुरुपयोग गरेर संरचनाप्रदत्त शक्ति र साधन–स्रोतले सम्पन्न बलियाहरूको रक्षा गर्ने अनि निर्बलमाथि आधिकारिक तथ्यबिना नै सार्वजनिक अपमान, बेइज्जती र तिरस्कारको प्रवाह गर्ने काम पनि उल्लेख्य स्तरमा हुने गरेको छ । तिनै अपमान र बेइज्जतीका कारण कैयौंले असामान्य स्तरको नैतिक, मानसिक र भौतिक क्षति बेहोर्नुपरेका र कतिले त यसैकारण जीवनबाटै पलायन रोजेका, आत्महत्यासम्मै गरेका घटना पनि देखिएका छन् ।

यस्तो दुःखद परिणतिको जिम्मेवार हुने गरेको छ— मिडिया ट्रायल जसले कोर्ट ट्रायल अर्थात् अदालती न्यायिक प्रक्रियालाई ठाडो चुनौती मात्रै दिएको छैन, सबुत, प्रमाण र मसिना तथ्यमाथिको लामो न्यायिक अध्ययन, दुईपक्षीय बहस र न्यायाधीशको मुक्त विवेकको ठम्याइभन्दा अघि नै आफ्नो ‘फैसला’ सुनाइदिन्छ । यसरी फैसला गर्न अरू धेरै कुरा चाहिँदैन, पूर्वनिर्धारित एक पक्षप्रतिको आग्रह र अर्कोप्रतिको दुराग्रहका आधारमा खडा गरिएका अडकल, अनुमान र शंकाका सुई तेर्स्याइदिन सके पुग्छ । मिडियालाई दुरुपयोग गरेर कुनै घटनामाथि सनसनीपूर्ण समाचार बनाउँदै प्रक्षेपण गरिएका कथित ‘विश्लेषण’ र ठहरहरू कतिसम्म संगतिपूर्ण छन्, कति तथ्यपरक छन् भन्ने जाँचेर मात्रै पत्याउने फुर्सद र चेत तपाईं–हामीमध्ये कतिसँग होला ! अभिव्यक्ति स्वतन्त्रताको स्वच्छन्द उपयोग गरेर कसैको जिन्दगी र प्रतिष्ठामाथि खेल्ने यस्ता लेखोटहरू सही नहुन पनि सक्छन् है भनी छ्यानविचार गर्ने र तिनलाई ‘रिजेक्ट’ गर्ने न्यायसम्मत सोच पनि कतिसँग होला !

प्रहरी र अदालतसमक्ष पुगिसकेका मुद्दा होऊन् या हदम्यादको सीमा वा अन्य कारणले त्यहाँ पुग्न नसकेका, स्वच्छ अनुसन्धान र विवेकपूर्ण न्यायलाई प्रभावित पार्ने गरी मिडिया आफैंले बिनातथ्य मनोगत ठहरका आधारमा घटनासँग जोडिएका कसैलाई दोषी वा निर्दोष करार गरिदिनुलाई ‘मिडिया ट्रायल’ भनेर बुझिन्छ । मिडिया सूचना प्रसारण र विश्लेषण गर्ने क्षेत्र हो तर यो आफैं न्यायालय होइन जसले कुनै घटना या प्रकरणमा अविकल र अन्तिम विचार दिन सक्छ । न्यायालयभित्र ‘कोर्ट ट्रायल’ हुँदा एक स्तरबाट गरिएको न्यायसम्पादनमा प्रश्न उठ्न सक्छ र त्यसलाई पुनर्परीक्षण गर्नुपर्छ भनेर सुरु, पुनरावेदन र सर्वोच्च गरी तीन तहको संरचना बनाइएको हुन्छ जसमा एउटा मुद्दाले अन्तिम किनारा लाग्न वर्षौंको समय लिनुपर्ने हुन्छ ।

यसअन्तर्गत प्रहरीमा जाहेरी पुगिसकेपछि तथ्यमाथिको मसिनो चरणबद्ध अनुसन्धान नभई प्रतिवादीमाथि अभियोजन नै बन्न सक्दैन । अभियोजन तयार भइसकेपछि पनि पक्षहरूलाई पालैपालो इजलाससमक्ष पेस गर्दै बयान, बकपत्र र बहसको लामो चरण पार गरिसकेपछि मात्र बेन्च (न्यायाधीश) एउटा ठोस निष्कर्षमा पुग्छ । सुरु अदालतको ठहर अन्यायपूर्ण भयो भन्ने पक्षले पुनरावेदन गर्न उच्च अदालत जान सक्छ । उच्च अदालतको फैसलासँग पनि सन्तुष्ट हुन नसके सर्वोच्च अदालतसमक्ष पुग्न सक्छ । सर्वोच्चले गरेकै फैसलामाथि पनि प्रश्न उठ्ने ठाउँ रहे पुनः एकपटक सर्वोच्चमै मुद्दा दोहोर्‍याएर हेर्ने वा पुनरवलोकन गर्नेसम्मको व्यवस्था छ ।

कुनै संवैधानिक वा कानुनी त्रुटि नगरी, स्थापित कानुनी सिद्धान्त र नजिरको सही पालना र व्याख्यासहित आएको फैसलापछि मात्रै सार्वजनिक वृत्तमा को दोषी वा निर्दोष भन्ने छलफल गर्न मिल्छ । अन्यथा, सञ्चारमाध्यमजस्तो जनमानसमा तत्काल प्रभाव पार्ने क्षेत्रबाट केही दिन वा घण्टाको अध्ययनका भरमा कुनै मुद्दाको पक्षमाथि अनुमानको खेती गर्दै शंकाका सुई घुमाइदिने र पूरै विषयान्तर गरी सनसनीको बजार चलाउनु विवेकहीन हर्कत मात्रै होइन, पत्रकारिताको क्षेत्राधिकारभन्दा बाहिरको अनुचित कार्यसमेत हो ।

पछिल्ला केही उल्लेख्य मुद्दाहरूका दृष्टान्त हेरौं, नेपालमा मुद्दाका पक्षहरूको स्वच्छ सुनुवाइको हकमाथि मिडियाको हस्तक्षेप भयावह रूपले विस्तार भएको देखिन्छ । त्यसमा पनि यौनहिंसाजन्य प्रकरणहरूमा त मिडिया ट्रायलको अवस्था सबैभन्दा सकसपूर्ण र डरलाग्दो देखिएको छ । यद्यपि, स्थापित र नाम चलेका मिडिया हाउसहरूले कुनै प्रकरण वा मुद्दाविशेषको आधारभूत तथ्य र प्रमाणबिना आफ्नो क्षेत्राधिकार नाघ्ने स्तरमा ओर्लेर समाचार प्रसारण नगरेका होलान्, यो फरक कुरा भयो । तर सनसनीपूर्ण समाचार र कथित ‘विश्लेषण’ को खेती गरेर सांस्कृतिक संरचनामा ‘भल्नरेबल’ स्थितिमा रहेका महिला र नाबालिगलाई नै निशानामा पार्ने र पीडित हुँ भन्दै न्यायको अपिल गर्नेमाथि नै सार्वजनिक बेइज्जती गर्ने काम मिडियामार्फत शृंखलाबद्ध रूपमै भएका छन् । सेलेब्रिटीका रूपमा ख्यातिप्राप्त पल शाह र सन्दीप लामिछाने प्रतिवादी रहेको जबर्जस्ती करणीका दुई अलग मुद्दाका जाहेरीवाला नाबालिगहरूमाथिका सार्वजनिक हुर्मत र अपमानका स्रोत यस्तै मिडिया ट्रायल हुन् ।

समाजका सबै संरचना र मानिसहरूका सोच्ने ग्रन्थी पुलिङकेन्द्री मनोविज्ञानले चलाएको छ भन्न धेरै ऐतिहासिक र समकालीन तथ्यहरू पर्याप्त छन् । यसको प्रभाव सञ्चारमाध्यमभित्र पनि जबर्जस्त छ । कति जबर्जस्त छ भन्न दैनिक समाचारहरूका शीर्षकहरू मात्रै नियाले पुग्छ । यसबारेमा भएका तिखा आलोचनात्मक टिप्पणीहरू र सम्भवतः नयाँ पुस्ताका सम्पादकहरूको फेरिँदो मूल्य पद्धतिको परिणामले हुन सक्छ, हालैका वर्षहरूमा केही सञ्चारगृहले संरचनागत अन्याय र सांस्कृतिक मनोद्वेषलाई चिर्ने गरी लैंगिक विभेदजन्य विषयमा स्त्रीमैत्री कोणलाई प्राथमिकतामा राख्न थालेका छन् । यो केही हदसम्म राहतको कुरा हो तर मूलतः खासखास पक्ष र साध्यका खातिर रोजै उम्रिरहेका मध्ये कतिपय अनलाइन पोर्टल र युट्युब च्यानलहरूबाट प्रसारित विचार अत्यधिक स्त्रीद्वेषी मनोशास्त्रमा उभिएका छन् ।

यौनहिंसाका मुद्दामा मिडिया ट्रायलको जग यही मनोशास्त्र हो जसले हरेकजसो पीडितलाई ‘पुरुष फसाउने गिरोह’ र ‘व्यावसायिक सर्भाइभर’ का रूपमा प्रचार गर्छ । हुँदै नभएका कल्पित तथ्य खडा गरेरै समेत ‘त्रिया चरित्रम्’ (‘भर्तृहरि शतक’ को एक श्लोक छ, जसमा स्त्रीको चरित्र दैवले पनि जान्न सक्दैन भन्ने उल्लेख छ, ‘त्रिया चरित्रम्’ त्यसैलाई आधार बनाएर चलेको स्त्रीद्वेषी भाष्य हो) सिद्ध गर्न मिडियाहरूले कुन तहको अपराध गर्छन् भन्ने उदाहरण केही वर्षअघि आफ्नै फ्ल्याटमा मृत भेटिएका भारतीय अभिनेता सुशान्त सिंह राजपूतकी प्रेमिका रिया चक्रवर्तीको मुद्दामा भेटिन्छ । समाजका अन्य सबै मुद्दालाई किनारा लगाएर महिनौंसम्म रियाको पछि लागेका कथित मुख्य धाराका टेलिभिजन च्यानलले निर्माण गरेको उनको आपराधिक र षड्यन्त्रकारी छवि यति भीमकाय बन्यो कि अदालतले उनको निर्दोषिता ठहर गरुन्जेल उनीमाथि मिडियाले गरेको बेइज्जतीले सम्पूर्ण सीमा नाघिसकेको थियो ।

नेपालमा यौनहिंसाका पछिल्ला मुद्दाहरूमा पनि मिडियाले पीडितको त्यस्तै हालत बनाइदिएका छन् । त्यसको भौतिक र मानसिक क्षतिभरण हुन कति वर्ष लाग्ला या यसको प्रकोप आजीवन नै रहला, यकिन भन्न सकिन्न । उत्तिखेरको उत्तिखेरै प्रभाव पारेर आम समाजको धारणा निर्माण गराउने सञ्चारमाध्यमभित्र बसेर कसैको पनि निजत्व र प्रतिष्ठामाथि कौडा–पासा खेल्ने नियतलाई ‘पत्रकारिता’ भनेरै हेर्ने कि सार्वजनिक अपराधका रूपमा लिएर त्यसलाई दण्डनीयसमेत बनाउने भन्ने विषयमाथि कानुनकर्मी र कानुननिर्माताहरूले व्यापक रूपमा सोच्नुपर्ने र रिट वा विधेयकजस्ता कुनै न कुनै माध्यमबाट प्रयत्न गर्नैपर्ने देखिन्छ ।

छन त आफूमाथि अन्याय र बेइज्जतीपूर्ण समाचार प्रसारण गरिएको भनेर यस्ता मुद्दामा सम्बन्धित सञ्चारमाध्यमविरुद्ध उजुरी गर्ने ठाउँ नभएको होइन, संसारभर नै सरकारमातहत रहने प्रेस काउन्सिल नामको सार्वजनिक संस्थाले यस्ता उजुरी लिन्छ र न्यायिक प्रक्रिया पनि अगाडि बढाउँछ, नेपालमा पनि यो संस्थाको अस्तित्व छ, तर यसले कसरी काम गरिरहेको छ भन्ने थाहा पाउन तपाईं एउटा साधारण उजुरीकर्ताका रूपमा यहाँभित्र पुग्नुपर्छ । अर्धन्यायिक निकायका रूपमा काम गर्ने यो संस्था आफैं दलीय राजनीतिको दुश्चक्रभित्र फसेको छ । सूचना र समाचारजस्तो सबैभन्दा संवेदनशील क्षेत्रको नियमन गर्न र पीडितको अपिल सुन्न, उसलाई न्याय दिन खडा भएको संस्था नै सबैभन्दा लाचार बनेर शक्तिको सेपमुनि बाँच्ने मुलुकमा मिडिया ट्रायलको उपचार कति कठिन छ, अनुमानबाहिर छैन ।

उजुरीकर्ताको मुद्दाका विपक्षसँग सोधपुछ गर्ने र जवाफ माग्ने सामान्य प्रक्रियाकै लागि अनेकौंपल्ट सम्पर्क र नमस्कार टक्य्राउनुपर्ने अनुभव पंक्तिकार स्वयंसँग छ । यस्तो मुलुकमा बसेर अभिव्यक्ति स्वतन्त्रताको आडमा कसैले पनि पीडित हुँ भन्नेमाथि नै बेइज्जतीको खेतीपाती चलाएर सूचना र सञ्चारको व्यवसाय धान्न सक्छ । यस्तो विषयमा कुनै दल या नेतृत्वको नजर किन जाँदैन ? उत्तर प्रस्ट छ, यी कुनै पनि दल र यिनका नेताहरू आफ्ना असंख्य साँठगाँठ र लेनदेनका गुप्त सूचनाहरूको जन्जालमा यसरी बेरिएका छन् कि ती चुहिन्छन् भन्ने भयले आफू सत्तामा रहँदा होस् या विपक्षमा रहँदा, त्यस्ता मिडियाविरुद्ध यी चुइँक्क पनि बोल्दैनन् । अरू त अरू, यौन हिंसाका मुद्दामा पीडितद्वेष वमन गर्ने मिडियाविरुद्ध स्वयं महिला सांसद पनि बोल्दैनन् ।

नेपालको कानुनमा ‘डिफेमेसन’ (मानहानि/बेइज्जती) को मुद्दा बनाएर पीडित साइबर ब्युरो वा अदालतसमक्ष जान सक्ने प्रावधान पनि नभएको होइन । तर यसो गर्दा दलीय राजनीतिको माखेजालकै कारण बलिया बनेका कतिपय सञ्चारमाध्यमले दलकै पक्षपोषणका कारण प्रहरी र अदालतसम्मलाई प्रभावित पार्न सक्ने र पीडित तारेख–पेसीलगायतका प्रक्रियाको व्यूहभित्र फसेर दुःख मात्रै पाउने स्थिति भएकाले जोकोही यो प्रक्रियामा छिर्नै हम्मेहम्मे छ । एउटा मिडियाविरुद्ध मुद्दा लिएर अदालत पस्दा त्यस्तै अर्को मिडियाले पीडितद्वेषको अर्को चक्र सुरु गर्ने अवस्था पनि नआउला भन्न सकिन्न । तब को–कोसँग लड्ने ? अधिकांशतः पीडित एक्लो पारिएर अन्तसम्ममा थाकेर थङथिलो हुने यस्तो समाजमा ऊ कुन तागतले कतिन्जेल लडिरहने ?

पल शाह, सन्दीप लामिछाने या यस्तै अन्य ‘ठूला’ नाम जोडिएका मुद्दा त यहाँ प्रसंगवश दृष्टान्त पेस गर्ने सजिलोका लागि मात्रै आएका हुन् । मुद्दाका रूपमा अदालत पुग्न नसकेका वा पुगेरै पनि त्रुटिपूर्ण न्यायिक प्रक्रियाको सिकार भएका कैयौं मुद्दामा पीडितकै अपराधीकरण गरिदिने, पीडितको अपिललाई ‘फसाउने नियत’ वा प्रतिशोध साध्ने बहानाका रूपमा प्रस्तुत गरिदिने तर आरोपित व्यक्तिलाई भने आश्चर्यजनक रूपले पूरै चोख्याइदिने अनलाइन पोर्टल र युट्युब च्यानलहरूको बिगबिगी जसरी बढेर गएको छ, तिनलाई नियमन गर्ने राज्यको आधिकारिक संस्थागत हस्तक्षेप भने लगभग शून्य छ । यस्तो स्थितिमा मिडिया ट्रायललाई नियन्त्रण गर्ने स्पष्ट कानुनी प्रावधान नहुने हो भने पीडितलाई थप पीडित बनाएर पराजित मनोविज्ञानमा भित्ता लगाइदिने सिलसिला जारी रहनेछ । यौनहिंसाजस्ता अत्यन्तै संवेदनशील मुद्दामा आरोपी होस् या आरोपित, दुवै पक्षलाई अनावश्यक सनसनीको विषय बनाउने, तथ्य र आधारबिना कसैको पनि निजत्वलाई आक्रमण गर्ने वा मुद्दाको गोपनीयतामाथि अतिक्रमण गर्ने कामले समाजलाई दिग्भ्रम र पूर्वाग्रहको सिकार बनाइरहेको तथ्यमाथि न्याय क्षेत्रको ध्यानाकर्षण हुन ढिलो भइसकेको छ ।

कतिपय मुलुकले कानुन नै बनाएर मिडिया ट्रायललाई निषेध गरेका छन् । हामीकहाँ भने यौन हिंसा, बलात्कार र हत्या जस्ता प्रकरणलाई नै खाईखेती बनाएर उल्टै पीडित भनिएको व्यक्तिविरुद्ध सार्वजनिक बेइज्जतीको भाष्य नै स्थापित गर्न शृंखलाबद्ध लेखन र प्रसारण अविच्छिन्न चलिरहेको छ । यसले आफूविरुद्धको अपराधमा मुख खोल्न चाहने अरू पीडितलाई अपराधविरुद्ध उभिन निरुत्साहित मात्रै गर्दैन, पीडितद्वेषको प्रदूषित सोचविरुद्ध खडा हुनुपर्ने विवेकसम्मत तर्कलाई नै किनारामा धकेलिरहन्छ ।

यस्तो लथालिंग हुँदाहुँदै भद्रो हेरेर बस्ने पत्रकार महासंघ वा प्रेस काउन्सिलबाट यस्ता मामिलामा केही पनि हुनेवाला छैन भन्ने स्पष्टै छ । यसका लागि न्यायक्षेत्रमा समर्पित कानुनकर्मी र विधायकहरू, स्वस्थ चेतनाले स्थितिको परख गर्ने राजनीतिक दल, तिनका कार्यकर्ता, नागरिक पंक्ति र लेख्ने–बोल्ने आम समुदायलगायत स्वच्छ पत्रकारिता गरिरहेका न्यायप्रेमी पत्रकारसमेतको एउटा यस्तो प्रयत्न अपरिहार्य छ जसले मिडिया ट्रायलमार्फत पीडित खेद्ने कुत्सित गतिविधिलाई अविलम्ब रोक्न सकोस् ।

प्रकाशित : कार्तिक ८, २०७९ ०८:१४
प्रतिक्रिया
पठाउनुहोस्

व्यक्तिगत स्वतन्त्रताको अर्थ

श्रीमान् र श्रीमती जीवनसाथी हुन् । सहगामी हुन् । जिन्दगीको विकटभन्दा विकट यात्राका पार्टनर हुन् । त्यहाँ स्थानमान होइन, सम(बराबरी)भाव हुन्छ ।
सरिता तिवारी

नेपाली सिनेमाका चर्चित अभिनेता राजेश हमालले यस पटक फेसबुक पेजमार्फत दसैंका क्रममा खिचिएका पारिवारिक तस्बिरहरू सार्वजनिक गर्दै श्रीमतीले आफ्ना गोडा ढोगेको फोटो पनि राखेका थिए ।

स्वाभाविक थियो, सिने क्षेत्रमै उच्च बौद्धिक क्षमता भएका ठानिने हमालको यो तस्बिर ’निजी’ मात्रै ठहरिने र यत्तिकै छोडिने विषय रहेन । उनी जनसाधारणमध्येकै एक व्यक्ति हुन्थे भने यो प्रसंग उनैको चिनजानको सानो वृत्तभित्र मात्रै चर्चामा आउँथ्यो या नआउन पनि सक्थ्यो । तर व्यापक परिचय र प्रभाव बनाएका व्यक्ति भएकाले उनीमाथि उल्लेख्य स्तरमा आलोचनात्मक टिप्पणी बाहिर आए । केहीअघि मात्रै ‘जातको प्रश्न’ जस्तो सामाजिक न्यायको गम्भीर विमर्शका ‘होस्ट’ भएर टेलिभिजनमार्फत मनग्गे प्रशंसा (र यथास्थितिवादीहरूका कटु आलोचनासमेत) बटुलेका हमालले लैंगिक प्रश्नमा किन सामन्ती घेरो नाघ्न नसकेका होलान् भन्ने प्रश्न उठ्नु अस्वाभाविक थिएन । तर यसरी उठेका प्रश्नहरू कठोर पुरातन मनोवृत्तिको एउटा पंक्तिलाई यति बिझायो कि तीमध्ये कतिपयले विवेक र शिष्टताका सबै हद पार गर्ने गरी प्रश्नकर्ताको हुर्मत लिने कुचेष्टा गरे, गर्दै छन् । यसो गर्नेमा कथित ‘शिक्षित र

सुसंस्कारी’ र अझ कतिपय त लेखक/साहित्यकार भनिनेहरू नै छन् जो लोग्नेलाई स्वास्नीले ढोग्नु वा नढोग्नु महिलाको ‘व्यक्तिगत स्वतन्त्रता’ हो भन्ने ठान्छन् तर व्यक्तिगत स्वतन्त्रताका लागि व्यक्तिको निजत्व-निर्माण र सामाजिकीकरणको प्रक्रिया जिम्मेवार हुन्छ भन्नेचाहिँ मान्दैनन् ।

यिनैमध्ये पनि आफूलाई लेखकको कोटिमा राख्ने, साहित्यसेवी भन्न रुचाउने एक जना पाकी महिलाले त ‘बिहे गर्दा नै लोग्नेको गोडा ढोगेर, दासी हुन स्वीकार गरेर आएकाहरूलाई खुब नारीवादी बन्नुपर्ने ? अर्काको निजी विषयमा निन्दोचर्चो गर्नुपर्ने’ भन्दै ढोग्नुलाई आनन्दको स्रोत नै करार गर्न भ्याइन् । नेपाली समाजमा आज पनि विवाह अपवादबाहेक महिलाको स्वतन्त्र निर्णय र नियन्त्रणको संस्कार बनेको छैन भने, बीसौं-तीसौं वर्षअघि अधिकांश:

बाबुआमाले रोजेका मान्छेसँग बिहे गरेका महिलाहरूले हिजो कुन शैलीले कसरी बिहे गरे भन्ने आधारमा आज विभेदकारी चलनलाई सार्वजनिक नुमाइस गरिएको विषयमा बोल्न नपाउने हुन्छ ? ल, लोग्नेलाई ढोग गर्ने कि नगर्ने भन्ने प्रश्नमा महिलाले व्यक्तिगत स्वतन्त्रता प्रयोग गरे भनेरै पनि मानौंला, के हाम्रो समाजमा वा हाम्रा परिवारहरूमा आफ्नै मुक्त चेतले यस्तो स्वतन्त्रताको उपयोग गर्ने निरपेक्ष स्थिति उपलब्ध छ ? श्रीमतीले श्रीमान्लाई ढोग्नुपर्छ, यसो गरे मात्रै श्रीमतीले असली अर्थमा श्रीमान्लाई सम्मान गरेको ठहर्छ भन्ने भाष्य बनेको हुँदैनथ्यो भने यसै गरी ढोग गर्ने चलन स्थापित भएको हुन्थ्यो ? त्यसकारण सबैभन्दा पहिले ‘व्यक्ति’ कसरी बन्छ र उसले स्वतन्त्रताको उपयोग गर्ने अवस्था कतिखेर सृजना हुन्छ भन्ने छलफल आवश्यक देखिएको छ ।

...

‘व्यक्ति’ र ‘व्यक्तित्व’ एक्लै निर्माण हुन गाह्रो छ । अपवादहरूलाई छोडेर कुरा गर्दा व्यक्ति परिवार र समाजको निर्माण हो जहाँभित्र उसले भाषा, संस्कार र जीवनशैलीसहितको निजत्व पाउँछ तर उक्त निजत्व आफैंमा स्वायत्त र स्वतन्त्र हुँदैन समाजका प्रतिक्रियाहरूमा अन्तरनिर्भर हुन्छ । अझ व्यापक स्तरमा भन्नुपर्दा ‘व्यक्ति’ कस्तो बन्ने, उसले कसरी सोच्ने भन्ने कुरा पारिवारिक र सामाजिक आयामले मात्रै होइन, समग्रमा राज्यको चरित्र र त्यसभित्र पनि प्रभुत्वशाली/शासकवर्गीय विचार र मूल्यपद्धतिमा भर पर्छ । त्यस्तो पद्धतिका प्रतिमान धेरै हुन्छन्; जस्तो— भाषा र त्यसको शब्दकोश (व्याकरणसमेत), सामाजिक अन्तरक्रियाका नियमित चक्र, समाजले ‘रोल मोडल’ ठानेका प्रभावशाली व्यक्तिहरू, वर्चस्वशालीका अनुकूलित र स्वीकृत सामूहिक आचरण, धर्म-संस्कारजन्य क्रियाकलापहरू, कानुन र सामाजिक सुरक्षाको स्थिति, लैंगिक वा अन्य आधारमा बनेका कसरी हिँड्ने र कसरी उठबस गर्ने जस्ता कुराका मापदण्ड, औपचारिक शिक्षाका पाठ्यक्रम र तीभित्र नियतपूर्वक वा अनजानमै खिपिएका विभेदजन्य भाष्य आदि । तिनैमध्ये चाडबाड र तिनमा गरिने गतिविधि पनि पर्ने भए ।

जहाँ लिंगका आधारमा पूर्वनिर्धारित भयावह विभेद र हिंसाका अनेकौं रूप छन्, तिनै आधारमा बनेका निषेध र स्वीकारका बेहिसाब प्रपञ्च छन्, त्यहाँ राजेश हमाल दम्पतीको ढोग प्रकरण त एउटा ‘फेनोमेना’ मात्रै हो । मुख्य कुरा हो, नेपाली समाजभित्र व्यक्तिको निजत्व र विवेकको निर्माण कुन स्तरबाट हुने गरेको छ भन्ने । यसरी बन्ने ‘निजत्व’ को निर्धारक के हो र को हो भन्ने । जब कुनै महिला आफ्नो नैतिक र विवेकसम्मत प्रयासले त्यस्ता निर्धारक तत्त्वबाटै स्वतन्त्र बन्ने चेष्टा गर्छिन्, उनको व्यक्तिगत स्वतन्त्रता ‘स्टिरियोटाइप्ड’ मूल्यलाई समीक्षा गर्दै ‘स्व’ या ‘आफू’ बन्ने प्रक्रिया र प्रयोगभित्र छिरेपछि मात्रै सम्भव छ । जहाँ महिला आज पनि व्यक्ति होइन अधीनस्थ एकाइका रूपमा छन्, त्यहाँ व्यक्तिगत स्वतन्त्रताको उपयोग गरेरै कोही पददलित बन्न स्वीकार गर्छ भन्ने मान्ने र अर्कालाई जबर्जस्ती मनाउने कुचेष्टा गर्ने काम कि त रोग हो कि अपराध । यस्तो रोग र अपराधलाई प्रश्रय दिँदा समाज झन् रुग्ण र विभेदकारी बन्न पुग्छ । त्यसैले श्रीमान-श्रीमतीजस्तो सहअस्तित्वको सम्बन्धमा ढोगसँग जोडिएका पाखण्डी वक्तव्यहरूलाई ठाउँका ठाउँ चिर्नु जरुरी छ ।

व्यक्ति आफूले के सोच्ने हो, कसरी सोच्ने हो भन्ने कुराको निर्क्योल गर्न साधारण इच्छाशक्ति र प्रयत्नले पुग्दैन; स्वयंप्रति पनि कठोर आलोचनात्मक बन्न सक्ने सामर्थ्य बनाउनुपर्ने हुन्छ । त्यसैले व्यक्तिगत स्वतन्त्रता आफैंमा कैयौं चीजभित्र जेलिएको र अधीनस्थ स्थितिमा छ भन्ने स्वत: बुझिन्छ । महिलाको हकमा त यो कति हो कति विकट र दुर्गम प्रक्रिया हो, भनिसाध्य छैन । ढोग प्रकरणमा उठेका प्रश्नहरूको हुर्मत लिनेहरूले के बुझेनन् भने, उनीहरूको हुर्मत-लियाइ समेत समाज र राज्यको आधारभूत विचारबाट बनेको हो । ती त बिचरा त्यसका निमित्त मात्रै हुन् । ती आफैं शासकीय विचारधाराका कैदी, त्यसका अधीनस्थ हुन् । ती आफैंले भनिरहेको कथित ‘व्यक्तिगत स्वतन्त्रता’ उपभोग गर्न नसकेका निरीह पात्रसमेत हुन् । तिनले बोलेकै कुरा नै तिनको ‘स्वतन्त्र अभिव्यक्ति’ होइन, प्रश्नसँगको भय र विभेदकारी परम्परा नासिने असुरक्षाले जन्मेको संस्कारजन्य स्वस्फूर्तता मात्रै हो ।

जे चलिरहेको छ त्यसैलाई अक्षरश: मान्नकै लागि पनि ‘अरूलाई के बाल, म मान्छु’ भन्ने एकोहोरो मूढ तर्क होइन, विवेकसंगत आधार त चाहिन्छ नै । त्यसैले व्यक्तिगत स्वतन्त्रताको स्थिति अरूमाथि र आफैंमाथि पनि प्रश्न गर्ने चेतनाबिना आर्जन गर्न सम्भवै छैन । आम महिलाले श्रीमान्लाई ढोग्ने ‘स्वतन्त्रता’ को निर्धारक के हो ? लोग्नेलाई ढोग्दा त्यो ढोगमा सुख र सन्तुष्टि देख्ने ‘न्यारेटिभ’ कहाँबाट कसले चलाएको हो ? किन चलाएको हो ? त्यस्तो न्यारेटिभ ककसले कुनकुन क्षण र समयमा कस्ताकस्ता माध्यमबाट उनीहरूभित्र ‘इन्जेक्ट’ गरेका थिए वा छन् ? त्यसबाट सांस्कृतिक विशेषाधिकार र लाभ कसैलाई छ भने त्यो लाभ लिने को हो ? तीजमा ऋषिपञ्चमीको व्रत गर्ने महिलाहरू दिनको पूजाविधि सकिएपछि साँझ लोग्नेका गोडा धुँदै त्यही पानी खान्छन् । कतिपयले यस्तो क्रियालाई पनि ‘व्यक्तिगत स्वतन्त्रता’ भन्ने गरेका छन् । लोग्नेलाई ढोग्नु र उसका गोडाको पानी खानुलाई ‘शास्त्रसम्मत र अलौकिक सुखकारी’ भन्दै प्रवचनसमेत दिने ‘विद्वान्/विदुषी’ पनि यहीँ छन् ।

जुन समाजमा ‘खुट्टा भए जुत्ता जति पनि पाइन्छन्’ भन्दै स्त्री जातिको मानमर्दन गर्ने उखान पुस्तापुस्तादेखि प्रचलित छ, त्यहाँ खुट्टा र जुत्ताको परिभाषा दोहोर्‍याइरहन आवश्यक परेन । त्यही समाजमा ‘मलाई जुत्ता बन्नुमा दिव्य सुख छ’ भन्नु कति मूर्ख र आत्मघाती तर्क हो, व्याख्या नै चाहिएन । सांस्कृतिक ‘बँधुवा’ का रूपमा आत्मघातले बाँधिएको दासतुल्य अस्तित्वलाई नै निजी स्वतन्त्रता भन्दै त्यही आत्मरतिमा बाँच्नेलाई त्यसो गर्न कसैले रोक्ने कुरा भएन । त्यसैलाई ‘स्त्रीत्वको मानक’ मान्नुपर्छ भनेर जिकिर गर्ने प्रेरणा आफैंमा स्वतन्त्र प्रेरणा हुँदै होइन भन्नेमा पनि दुईमत नै छैन । त्यो त हाड र नसाका भित्तादेखि दिमागका जरासम्म पुगेर टाँसिएका पितृसत्ताका संस्कारजन्य प्रतिमानको अभिव्यक्ति हो । यी प्रतिमान व्यक्तिको सामाजिकीकरणसँग यसरी जोडिन्छन् कि तिनबाट छुट्टिएर अलग्ग एक व्यक्तिसत्ताका रूपमा आफ्नो अस्तित्व निर्माण गर्न असामान्य स्तरको आत्मसंघर्षले मात्रै सम्भव छ जुन विद्यमान व्यवस्था र मूल्यपद्धतिमा अत्यन्तै कम महिलाले मात्रै गर्न सक्छन् ।

हो, त्यही आत्मसंघर्षका क्रममा वा त्यसपछि मात्रै बन्छ व्यक्तिगत स्वतन्त्रताको उपयोग गर्ने कर्तापन अर्थात् एजेन्सी । सहरबजारमा बस्दैमा, लेखपढ गरेर कुनै ठूलो संस्थामा जागिर खाँदैमा वा व्यवसाय धानेर पैसा कमाउँदैमा, शास्त्रका ठेली पढ्दैमा वा शास्त्रका व्याख्या गर्दैमा, सुकिला महँगा लुगा लगाउँदैमा, भरपुर सुखसयलका आलिसान घरमा बस्दैमा वा आफैं मोटर गाडी हाँक्दैमा, हिरो/हिरोइन वा हिरोकी श्रीमती हुँदैमा व्यक्तिगत स्वतन्त्रता उपभोगको ‘एजेन्सी’ बन्छ भन्ने हुँदैन । यो कसैमा पनि बन्न सक्छ; लेखपढ गर्नै नजान्ने अपठित, असाक्षर सुदूर ग्रामीण महिलामा समेत ।

...

व्यक्तिगत स्वतन्त्रता व्यक्तिको सामाजिकीकरणको प्रक्रियामै अभिन्न भएर गाँसिन्छ तर व्यक्तिको आफ्नो सामाजिकीकरणका प्रक्रियामा स्वयं उसैको भूमिका भने केही पनि छैन । हाम्रो सामाजिकीकरण हामी जन्मनुअघिदेखि नै निश्चित गरिएको हुन्छ । जस्तै— हामी जुन परिवारमा जन्मेका हौं, त्यो हाम्रो छनोट होइन । उक्त परिवारले बोल्ने भाषा र गर्ने व्यवहार पनि हाम्रो रोजाइ होइन । त्यसै गरी समाज, संरचना र राज्यसमेत हाम्रा छनोट होइनन् । जैविक आकस्मिकताले एउटा निश्चित परिवारमा हामी जन्मन्छौं । खासखास आग्रहको वर्चस्व र शासनले बनेको समाजमा हुर्कन्छौं । अबोध बच्चाका रूपमा बाआमा र आफन्तबाट प्राप्त सिकाइका घेराभित्रै हामी सीमित

हुन्छौं । उहाँहरूले जानेर/नजानेर जे सिकाउनुहुन्छ, त्यसैलाई सत्य ठान्नु हाम्रा लागि निर्विकल्प बनिदिन्छ । स्कुल जान्छौं, त्यहाँ पनि पाठ्यक्रम र शिक्षकसँगको अन्तरक्रियामा जे सिकिन्छ, त्योसमेत हाम्रो छनोटमा नियन्त्रित हुँदैन । यही प्रक्रियामा हाम्रो चेतन र अवचेतन विवेक (कन्साइन्स) ले आकार लिन्छ । अब विचार गरौं, हाम्रा बाआमा, दाजु-दिदी, आफन्त, शिक्षक लगायतको चेतना जेले आकारित थियो, हामी त्यसैबाट आकारित हुन बाध्य बन्छौं कि बन्दैनौं ? के उहाँहरूको चेतना पूर्ण रूपले विवेकसम्मत, निर्विकार र विभेदरहित, पक्षपातरहित बन्न सम्भव छ ? के त्यो चेतना समग्र सामाजिक परिपाटी, उचनीचमय सामन्ती व्यवस्था र त्यसका कैयौं हिंसक दलीलहरूबाट निर्मित हुन असम्भव छ ?

‘साइकल अफ सोसलाइजेसन’ की लेखक बबी ह्यारो यसबारे बडो रोचक र सरल शब्दमा भन्छिन्— जुन लैंगिक स्थिति, वर्ग, समुदाय, संस्कृति, धर्म, सामाजिक अवस्थामा हामी जन्मन्छौं, त्यसको आधारभूत सिकाइमा कैयौं पूर्वाग्रह हुन्छन् । त्यहाँ विभेदका चरम रूप हुन्छन् र त्यसलाई टिकाउने भाष्य पनि सँगै हुन्छन् ।

तर जसले सामाजिकीकरणको यो प्रक्रियाभित्र आफू कहाँ छु भन्ने बोध गर्छ, त्यसले इतिहास खोतल्न थाल्छ, समाज पढ्न र बुझ्न थाल्छ, अरूलाई मात्र नभई आफूलाई समेत भित्रैदेखि चिन्ने र बदल्ने कठोर आत्मसंघर्ष थाल्छ । त्यहीँबाट उसको प्रश्नमुखी र उत्तरभेदी यात्रा सुरु हुन्छ ।

यस्तो अवस्थामा दुइटा कुरा हुन्छन्, कि त सचेत प्रयत्नले ऊ स्थितिहरूसँग लड्छ कि स्थितिसँग सम्झौता गर्छ । सम्झौता गर्नु व्यक्तिगत छनोट हुन सक्छ तर उसको मुक्त स्थिति र स्वतन्त्रताको अभिव्यक्ति हुन सक्दैन । यसबीच भय, द्विविधा र अनिर्णयका अनेक चरण पार गरेर जजसले स्वतन्त्रताको उपभोग गर्छन्, तिनले लोग्नेका चरण ढोगेर होइन माथ चुमेर प्रेम व्यक्त गर्छन् । श्रीमान् र श्रीमती जीवनसाथी हुन् । सहगामी हुन् । जिन्दगीको विकटभन्दा विकट यात्राका पार्टनर हुन् । त्यहाँ स्थानमान होइन, सम(बराबरी)भाव हुन्छ । त्यहाँ ढोगको ढोंगले होइन, जीवन्त अंकमालले प्रेम र समर्पणको बुलन्दी छुन्छ ।

प्रकाशित : आश्विन २५, २०७९ ०८:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×