चाडपर्व र महिला- विचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चाडपर्व र महिला

सहकार्य र सहभावको संस्कृति हरेक पुरुषको मानसिकतामा विकसित हुने हो भने महिलाले हाम्रा मौलिक सांस्कृतिक पर्वहरूप्रति वितृष्णाबोध गर्नुपर्नेछैन । अझ, कामकाजी महिलाहरूले त दसैंतिहारजस्ता पर्वमा पाएको बिदामा रमाउँदै आफ्नो वर्षदिनभरिको थकान र तनावसमेत बिर्सन पाउनेछन् ।
साधना प्रतीक्षा

दसैंलगत्तै भेटिएकी एक परिचित दिदीलाई मैले सोधेकी थिएँ, ‘दसैं कस्तो भयो नि ?’ उनले उमंगरहित स्वरमा भनिन्, ‘कस्तो हुनु र बहिनी ! आइमाईको दसैं चुलो र जुठेल्नु त हो नि ! मलाई त यो दसैं कहिल्यै नआए पनि हुन्थ्योजस्तो लाग्छ ।’ यस्तै केही गुनासा अनि निराशाहरू पोखेर उनी बाटो लागिन् । पढे–लेखेकी अनि कामकाजी उनी दसैं मनाउन पुर्ख्यौली घर गएर आएकी थिइन् ।

यस्ती महिलाको त दसैं सम्बन्धी धारणा यस्तो छ भने आम महिलाको भोगाइ कस्तो होला, जसको जीवन नै ‘चुलो र जुठेल्नु’ मा अल्झिरहेको हुन्छ ? उनीहरूले चाडपर्वमा रमाइलो र आनन्दको अनुभूति कसरी गर्दा हुन् ? यही प्रश्नसँगै जोडिएर होला, अहिले हाम्रा चाडपर्वहरू रहर नभएर बाध्यताजस्तो बनिरहेका छन् । राष्ट्रको बहुसांस्कृतिक पहिचानका रूपमा रहेका यस्ता पर्वहरूप्रति यसरी वितृष्णा जाग्नुलाई सामान्य रूपमा लिइनु हुन्न ।

सनातन परम्पराले महिलालाई उच्च स्थानमा राखेको छ । यसको उदाहरण हो— शक्ति, वैभव, विद्याजस्ता जीवनका तीन महत्त्वपूर्ण पक्षमा महिलालाई प्रतिष्ठापित गरी महाकाली, महालक्ष्मी र महासरस्वतीका रूपमा देवीको पूजा गर्ने परम्परा । देवी वा शक्तिको आराधना गरिने दसैंमा घरघरका कति देवीहरू कामको चटारोले सताइएका हुन्छन् अनि मान्यजन तथा पुरुषहरूको सेवाटहल गर्दागर्दै अस्वस्थसमेत बन्न जान्छन् भन्नेतर्फ सायदै कसैको ध्यान जान्छ । किनकि, महिलाहरू पीडा लुकाएर हाँस्छन् अनि व्यथा बोकेर बाँच्छन् र त्यही व्यथाले किचिएर अन्ततः जीवनबाटै विमुख पनि हुन्छन् ।

दसैंकै सन्दर्भमा पुरुषहरूले गर्ने भनेका मार हान्ने वा मासुको व्यवस्था लगायत केही बाहिरी काम हुन्; त्यसपछि उनीहरूको काम साथीभाइसँग घुम्नु, गफ हाँक्नु, इच्छित परिकारको फर्माइस गरी खानु अनि तास खेलेर बस्नु हुन्छ । महिलाको काम भने मालताल जुटाउनु, पकाउनु–खुवाउनु, बालबच्चा स्याहार्नु, पाहुनाहरूको स्वागत सम्मान तथा भोजन आदिको व्यवस्था गर्नु हुन्छ । सम्पन्न वर्गका महिलाहरू भाँडा माझ्नबाट मुक्त भए पनि अधिकांश मध्यम तथा विपन्नवर्गीय महिलाहरू जुठा भाँडासँगै हुन्छन् । यस्तोमा उनीहरू कसरी खुसी हुन सक्लान् ? उनीहरूलाई खुसी बनाउने दायित्व परिवारका पुरुष सदस्यहरूको होइन ?

कुनै कालखण्डमा बाध्यकारी परिवेशका कारण महिलाले निर्वाह गरेको पारिवारिक भूमिकालाई कालान्तरमा पितृसत्ताले सदाका लागि अनुमोदन गरिदियो । त्यसपछि घरेलु भूमिका केवल महिलाका लागि हो भन्ने मान्यता स्थापित हुन गयो । महिलाहरू घरभित्र मात्र सीमित भएको अवस्थामा यस प्रकारको श्रम विभाजन उपयुक्त भए पनि अधिकांश महिला पुरुष हाराहारी बाहिरी भूमिकामा रहेको वर्तमानमा पनि महिलाको घरेलु भूमिकामा परिवर्तन नहुनु न्यायोचित देखिँदैन । यसबाट महिलाहरू श्रमको दोहोरो मारमा परिरहेका छन् ।

केही समययता हाम्रो सनातन संस्कृति तथा त्यससँग सम्बन्धित पर्वहरू महिलाप्रति अनुदार तथा विभेदकारी भएको विचारले ठाउँ पाइरहेको छ । जुन संस्कृतिले नारीलाई आदिशक्तिका रूपमा मानेको छ र नारीको सम्मान हुने ठाउँमा मात्र देवता रमाउँछन् भन्ने मान्यता राखेको छ, त्यो कसरी महिला–उत्पीडक हुन सक्छ ? आखिर कसले बनायो त हाम्रो संस्कृतिलाई नारीद्वेषी ? तिहारमा लक्ष्मीको पूजा गर्ने पुरुषले घरकी लक्ष्मीलाई कुटपिट गरी उसका गहना जुवा खेल्न लैजानु कहाँ भनिएको छ ?

कुन शास्त्रमा लेखिएको छ, चाडपर्वमा पुरुषहरूले खाएको खायै अनि महिलाहरूले पकाउने र जुठा भाँडा माझ्ने काम मात्र गर्नु ? कुन ग्रन्थमा लेखिएको छ, रजस्वला तथा प्रसूति स्त्रीलाई छाउगोठमा राखी यातना दिनु भनेर ? कुन संहितामा उल्लेख छ, पुरुषले घरेलु काममा महिलासँग साझेदारी नगर्नू भनेर ? महिलालाई आराम तथा मनोरञ्जनबाट वञ्चित गराउनुपर्ने अनि परिवारभित्र उसको स्थान केवल दासी, त्यो पनि बिनाश्रमको बनाउनू भनेर हाम्रो धर्मग्रन्थको कुन सूक्तमा उल्लेख छ ? खोजीको विषय यही हो ।

सामन्ती युगदेखि विकसित पुरुषसत्ता एवम् कर्मकाण्डीय पद्धतिले हाम्रो उदार संस्कृतिलाई विकृत पार्दै आयो अनि नारीलाई सदा पुरुषकी दासीका रूपमा राखिराख्नका लागि बनाइए अनेकन् विभेदकारी मान्यताहरू । पाप र धर्मको सही परिभाषा नै नजानेकाहरूले बनाएका त्यस्ता मान्यताको अनुसरण गरेर हामीले आफ्नो संस्कृतिलाई नै विभेदकारी बनाइरहेछौं । नारी र पुरुषबीचको सहकार्य तथा सहअस्तित्वबाट प्रारम्भ तथा विकसित यो मानव सभ्यता र समाज यसरी विभेदकारी बन्नु मानवताकै दुर्नियति हो । यसमा पुरुषहरू मात्र दोषी भने पक्कै छैनन् ।

धर्म र संस्कृतिका नाममा महिलाहरूका लागि सिर्जिएका अनेक वर्जना र बाध्यकारी नियमहरूको अन्त्यका लागि महिला स्वयम्कै अग्रसरता नदेखिनुले पनि विभेदकारी मूल्यकै पृष्ठपोषण गरेको देखिन्छ । घरभित्रको काममा पुरुषलाई निषेध गरी महिलालाई मात्र जोताउने पनि महिलाहरू नै बढी हुने गर्छन् । धर्म र संस्कृतिका नाममा महिलाहरूका लागि सिर्जिएका अनेक वर्जना र बाध्यकारी नियमहरूको अन्त्यका लागि महिला स्वयम्कै अग्रसरता नदेखिनुले पनि विभेदकारी मूल्यकै पृष्ठपोषण गरेको देखिन्छ ।

संस्कृति र परम्पराको मूलमा हुँदै नभएको विभेदकारी मूल्यलाई अनुसरण गर्दै महिलामाथि गरिने विभेदपूर्ण विधि–व्यवहारको अब अन्त्य गरिनुपर्छ । औद्योगिकीकरणको वर्तमान युग तथा हरेक परिवारले सामना गर्नुपरेको आर्थिक जटिलताबीच परिवार धान्न जसरी महिला–पुरुष दुवै आय आर्जनमा लागेका हुन्छन्, त्यसरी नै घरेलु दायित्व निर्वाहमा पनि दुवैको सहभागिताको आवश्यकता हुन्छ । पुरुषहरू घरेलु भूमिकामा सक्षम हुँदैनन् भन्ने मान्यता पितृसत्तात्मक सोचको उपज हो । त्यसैले त नारीवादीहरू पुरुषलाई नारीकरण गर्नुपर्छ भन्छन् । अहिले होटल म्यानेजमेन्ट पढ्ने अनि सामान्यदेखि तारे होटलहरूमा कुकसम्मको भूमिका निर्वाह गर्ने पुरुषहरू नै हुन्छन् भने पुरुष घरेलु भूमिकामा अदक्ष कसरी हुन्छ ? यो त केवल पुरातन दृष्टिकोणमा परिवर्तन आउन नसक्नुको उपज मात्र हो ।

अहिले जब सामाजिक भूमिकामा नारी–पुरुष सहकार्य गर्दै अघि बढिरहेका छन्, पारिवारिक भूमिकामा पनि किन हातेमालो नगर्ने ? अबका पर्वहरूमा महिलाले बनाएका परिकार खाँदै र उनीहरूको सेवाले मक्ख पर्दै पुरुष रमाएजस्तै पुरुषले बनाएका परिकारको स्वाद लिँदै तथा उनीहरूको थोरै साथ र सहयोगमा महिलाका पसिना पुछिएमा उनीहरूले पनि चाडपर्वको रमाइलो अनुभव गर्न पाउँथे होला ।

सहकार्य र सहभावको संस्कृति हरेक पुरुषको मानसिकतामा विकसित हुने हो भने महिलाले हाम्रा मौलिक सांस्कृतिक पर्वहरूप्रति वितृष्णाबोध गर्नुपर्नेछैन । अझ, कामकाजी महिलाहरूले त दसैंतिहारजस्ता पर्वमा पाएको बिदामा रमाउँदै आफ्नो वर्षदिनभरिको थकान र तनावसमेत बिर्सन पाउनेछन् ।

प्रकाशित : कार्तिक ७, २०७९ ०८:४६
प्रतिक्रिया
पठाउनुहोस्

राजनीतिक अभिनेताहरूको मौसमी नाटक

'पटकपटक आफ्नो आस्थासँग खेलबाड गर्नेलाई चिन्न नसक्नु भने हाम्रै कमजोरी हो । त्यसैले विजयोत्सवमा पहिराइएका माला ओइलाउन नपाउँदै भोट माग्दा जनतासँग गरेका वाचा बिर्सने हाम्रो राजनीतिका धर्मछाडा नायकहरूलाई अब हामीले निषेध गर्नैपर्छ । '
साधना प्रतीक्षा

वर्षौं भयो यो देशको डबलीमा अनेकथरि राजनीतिक नाटक मञ्चन भइरहेको । यस्ता नाटक सदावहार नभएर मौसमी हुने गर्छन् । हो, अहिले पनि त्यस्तै नाटक मञ्चनको मौसम छ । हाम्रो राजनीतिका असंख्य कुशल अभिनेताहरू जनताको घरदैलो र चोकगल्लीमा आकर्षक नाटक मञ्चन गरिरहेका छन् ।

उनीहरू सहरका भव्य महलबाट निस्केर, आफ्ना महँगा सवारीसाधन ग्यारेजमा थन्क्याएर पैदल हिँडिरहेका छन् । जातभात, उचनीच केही नभनी जसको भान्सामा जे पाक्छ हातै र पातै खाइदिन्छन् । गरिबका गन्हाउने गुन्द्रीमा निःसंकोच पलेंटी मारेर बसिदिन्छन् ।

अभिनय कलामा विछट्टै सिपालु छन् यी राजनीतिका अभिनेताहरू । आफ्नो चुनावी दौडाहमा किसानसँग हातेमालो गरी काम गर्न सक्छन् । रोगी र अशक्त वृद्धवृद्धालाई ओखतीमुलोको आस देखाउँछन् । सुकुम्बासीलाई जग्गाको, बूढाबूढीलाई भत्ताको, बेरोजगारलाई रोजगारीको, विद्यार्थीलाई बिनाशुल्क शिक्षाको आश्वासन बाँड्छन् । आफ्नो मनचिन्ते झोलीबाट कतै बाटो, कतै पुल, कतै तटबन्ध त कतै सिँचाइ अनि उन्नत बीउबिजन र वैज्ञानिक खेतीका प्रसाद झिकेर पनि बाड्दै हिँड्छन् यी सन्त–अभिनेताहरू । तिनका चिल्ला र गुलिया कुराले लठ्ठिएर हामी आफ्नो अमूल्य मत पटक–पटक दिन्छौं ।

जब निर्वाचनको अनुष्ठान सम्पन्न हुन्छ, विजयको माला पहिरिनासाथ अभिनेताहरू सर्पले काँचुली फेरेजस्तै आफ्नो धर्म त्यही गाउँघरका कुनाकन्दरामा छाडेर सिंहदरबार छिर्छन् । जनप्रतिनिधिको धर्म हो जनचाहना अनुरूपको नीति निर्माण गरी त्यसको सही कार्यान्वयन गर्नु तर उनीहरू यसको पालना गर्दैनन् । उनीहरू त सत्तामा पुगेर दीर्घकालसम्म सुविधा भोग गर्न तँछाडमछाड गरिरहन्छन् । दैनिक सयौंको संख्यामा विदेश पलायन हुने युवाका विवश अनुहारले पीडा दिँदैन उनीहरूलाई न त जनशून्य भएका उजाड गाउँ र खण्डहर बनेका बस्तीहरूले नै चस्काउन सक्छ उनीहरूको मुटु । साहुको मिटरब्याजी ऋणले थिचिएका गरिबको आँसुले पगाल्दैन उनीहरूलाई न त अकासिँदो महँगीले थिल्थिलिएका विपन्नहरूको सुस्केराले नै झस्काउन सक्छ । पछि फर्केर हेर्ने फुर्सद नै हुँदैन उनीहरूसँग किनकि कमाउधन्दामा जो लाग्नुपर्छ ।

नेता–कार्यकर्ता मात्र कहाँ हो र ? अब त हाम्रो समग्र राजनीति नै धर्मछाडा बनिसकेको छ । दलीय राजनीतिमा सत्ता र प्रतिपक्ष दुवै बलियो र महत्त्वपूर्ण हुने, हरेक दलका आआफ्नै नीतिकार्यक्रम हुनुपर्ने, दलहरू आआफ्ना एजेन्डा लिएर जनतामाझ जानु अनि जनताले आफ्नो मनले खाएको दलको उम्मेदवारलाई मतदान गर्नु नै हो दलीय राजनीतिको धर्म हो । तर यहाँ अब दलहरूले आफ्नो दलको सैद्धान्तिक मर्म बिर्सिएका छन् ।

दलीय नीति–सिद्धान्तलाई समयानुकूल परिमार्जनका नाममा त्यसका आधारभूत मान्यताकै परित्याग गरिसकेका छन् । आफूलाई सर्वहाराको पक्षधर मान्नेहरूसमेत अहिले पुँजीवादका अनुयायीजस्ता देखिएका छन् । नेताले आफूलाई मालिक र जनतालाई दासका रूपमा हेर्न थालेका छन् । यही मालिक बन्ने महत्त्वाकांक्षाका कारण अहिले हरेक दल र तिनका नेताको अभीष्ट सत्ताप्राप्ति नै बनेको छ । यसको ज्वलन्त उदाहरण गत स्थानीय निर्वाचनदेखि आरम्भ भएको सत्तारूढ चुनावी गठबन्धन हो । यो गठबन्धनले बहुदलीय प्रजातन्त्रमा जनताको मताधिकारमाथि अतिक्रमण गरेको छ किनकि, यस्तो अवस्थामा जनताले आफूले चाहेको दलको उम्मेदवारलाई नभई दलीय निर्देशनमा अन्यलाई मत दिनुपर्ने बाध्यता हुन्छ ।

यसका साथै दल आफ्ना एजेन्डा लिएर जनतासामु जाने, जनमतअनुरूप प्राप्त गरेको स्थानमा रहेर भूमिका निर्वाह गर्ने धर्मबाट च्युत हुन्छन् । जेजसरी हुन्छ सत्तामा पुग्नका लागि दल तथा नेतामा देखिएको यस्तो धर्मछाडा प्रवृत्तिका कारण आसन्न निर्वाचनप्रति आम जनताको उत्साह घट्दो छ । साथै यस प्रकारको प्रवृत्तिले प्रजातन्त्रको सुदृढीकरण गर्न पनि सक्दैन किनकि प्रजातन्त्रमा इमानदार सत्ता मात्र होइन, बलियो प्रतिपक्षको पनि उत्तिकै महत्त्व हुन्छ ।

स्थिर राजनीति र सुशासनबाटै राष्ट्रका अन्य पक्ष सुव्यवस्थित र जनउत्तरदायी हुन्छन् तर जब देशको राजनीति नै धर्मछाडा बन्छ तब अन्य निकायमा धर्म, इमानदारी र नैतिकताको अपेक्षा निरर्थक बन्छ । यस्तै धर्मछाडा प्रवृत्तिको एउटा उदाहरण हो खोला दबाएर निर्माण गरिएको व्यापारिक संरचना । हराएको टुकुचाको त खोजी गर्दै महानगरले त्यसको उद्धार गरेको छ तर यस्ता कुकृत्य अझै कति लुकेका होलान् ? माफियाको सञ्जाल यसरी फैलिएको छ कि यसले वन, ढुंगा–बालुवादेखि लिएर सार्वजनिक जग्गा हुँदै खोलानाला पनि बाँकी राखेन । यस्तो प्रवृत्ति रहिरहने हो भने अझै कति खोलानाला र प्राकृतिक सम्पदाको अपहरण हुने हो ।

हामीकहाँ धर्मछाडा प्रवृत्ति यसरी मौलाइरहेको छ कि यसबाट राजनीति मात्र होइन, सामाजिक, आर्थिक, शैक्षिक लगायत कुनै पनि क्षेत्र अछुतो छैन । समाजमा भ्रष्टाचार र कमिसनतन्त्र झांगिएको हुनाले राजस्वको अधिकांश भाग यसैभित्र हराउने गरेको देखिन्छ । कालोबजारी र बिचौलियाहरूले उपभोक्ताको ढाड निरन्तर सेकिरहेका छन् जबकि, व्यापारको धर्म हो सेवासुविधा बेचेर मुनाफा आर्जन गर्नु तर हामीकहाँको व्यापारले ठगीबाट मुनाफा कमाइरहेछ । शैक्षिक क्षेत्रले आफ्नो सेवामुखी धर्म छाडेर व्यवसाय गर्न थालेकाले अहिले गुणस्तरीय शिक्षा सर्वसाधारणको पहुँचभन्दा निकै टाढा बन्दै छ । पैसा र पहुँचका आधारमा अपराधीले उन्मुक्ति पाउने दण्डहीनताको संस्कृति विकसित हुँदै गरेका कारण समाज अपराध, भ्रष्टाचार तथा अनेक हिंसामा जेलिँदै छ । व्यावसायिक, प्रशासनिक, न्यायिक तथा शैक्षिक निकायले सेवामुखी धर्म छाडेर राजनीतिमा मुछिनाले पनि यिनको विश्वसनीयता घट्दो छ ।

यी सबै बेथिति र विसंगतिको जड हाम्रो राजनीतिमा स्थापित धर्मछाडा प्रवृत्ति नै हो । राजनीतिलाई केवल दलीय र व्यक्तिगत स्वार्थमा सीमित गरिनाले आम जनतामा यसप्रति वितृष्णा जाग्नु स्वाभाविकै हो किनभने अहिलेको हाम्रो राजनीतिको गन्तव्य देश र जनतालाई प्रगतिपथमा डोर्‍याउनु नभएर दलविशेष र त्यसका शीर्ष नेतालाई सत्तामा पुर्‍याउनु अनि त्यो सत्ता जसरी हुन्छ दीर्घकालीन बनाउनु हो । आगामी निर्वाचनमा प्रत्यासीका रूपमा उही पुराना (निवृत्त हुनुपर्ने अवस्थाका समेत) अनुहार देखिनु तथा समानुपातिक उम्मेदवारीमा देखिएको नाता, पैसा र पहुँचको खेलले पनि यसको पुष्टि गर्दैन र ?

तर पटकपटक आफ्नो आस्थासँग खेलबाड गर्नेलाई चिन्न नसक्नु भने हाम्रै कमजोरी हो । त्यसैले विजयोत्सवमा पहिराइएका माला ओइलाउन नपाउँदै भोट माग्दा जनतासँग गरेका वाचा बिर्सने हाम्रो राजनीतिका धर्मछाडा नायकहरूलाई अब हामीले निषेध गर्नैपर्छ । सच्चा राजनीतिज्ञको धर्म जनताको सेवा गर्दै देशलाई अग्रगमनतर्फ डोर्‍याउनु हो भन्ने मूल धर्मलाई बिर्सने धर्मछाडा प्रवृत्तिलाई आगामी निर्वाचनका प्रत्याशीहरूले परित्याग गरेर आत्मालोचना गर्नैपर्छ । कदाचित गरेनन् र उही प्रवृत्तिको पोषण गरिरहे भने हामीले पनि उपयुक्त विकल्प खोज्ने कि ? किनकि प्रजातन्त्रमा जनता नै सर्वोपरि शक्ति हो ।

प्रकाशित : आश्विन १०, २०७९ ०७:५९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×